पोखरा: गायिका सुनिता थापाको नयाँ गीत र म्युजिक भिडिओ ‘जुनी जुनीलाई’ सार्वजनिक भएको छ । गीतमा सुनिता तथा राजेन्द्र बाराजुलीको स्वर रहेको छ । सुनिताको यो पहिलो गीत हो । यसअघि उनले केही ट्र्याकहरुमा गीत रेकर्ड गर्दै सामाजिक सन्जालमा पोस्ट गर्दै आइरहेकी थिइन । अष्ट्रेलियामा बसोबास गर्ने सुनिता गीत संगीतमा निकै समय बिताउने गर्छिन । पहिलो प्रयास बाट आफुलाई थुप्रै हौसला मिलेको आफ्नो अनुभव सुनाउदै हरेक पटक नेपाल आउँदा एउटा गीत रेकर्ड गर्ने मनसाय रहेको कुरा गीत सार्बजिकको अवसरमा बताइन । म्युजिक भिडिओमा गायिका सुनिता र खिम लामिछाने काजीको अभिनय छ । काजी पोखरामा रहेर सामाजिक कार्य गर्नुका साथै फोटोग्राफी र साहित्यमा रुची राख्छन । गीतको लेखन र संगीत टेक नारायण चापागाइले गरेका छन् भने एरेञ्ज राजेन्द्र बराजुलीको छ । युवाहरुमा हुने प्रेम तथा रोमान्सलाई गीतमा उनेर संगीत बद्द गरिएको छ भने सोही अनुसारको कथामा आधारित रहेर निर्देशक तारानाथ आचार्यले निर्देशन गरेका छन भने अनिस खड्काले छायाङ्कन गरेका छन । गीतमा मोडल रहेका खिम काजीले पोखरा फेवातालको सौदर्यलाई उजागार गर्ने उदेश्यले लकेसाइड गौरीघाट पेरिसरमा रहेको शिवजीको मन्दिर तथा अन्य लेकसाइड वरपरका द्रिश्यहरुलाई भिडियो समाबेश गरेको बताए । स्थाई घर पोखरा भएका महेन्द्र थापाले म्युजिक भिडियोको निर्माण देखी सार्बजनिक गर्ने काम गरेका हुन ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा केशरजङ्ग बरालले आफ्नो पहिलो प्राथमिकता शैक्षिक क्यालेण्डर निर्माण र त्यसको पूर्ण कार्यान्वयन हुने बताएका छन् । विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त भएपछि उनले भने, “विश्वविद्यालयमा वार्षिक शैक्षिक क्यालेण्डर निर्माण गरी त्यसको पूर्ण कार्यान्वयन अहिलेको आवश्यकता हो । यो मेरो पहिलो प्राथमिकतामा हुनेछ ।” उनले त्रिभुवन विश्वविद्यालय देशको ठूलो संरचनायुक्त संस्था भएको र यसको सुधारका असङ्ख्य काम भएको भन्दै उनले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशनका लागि पनि आफूले काम गर्नेसमेत उल्लेख गरे । “विश्वविद्यालयले परीक्षा सञ्चालन र नतिजा प्रकाशन समयमै गर्नु निकै आवश्यक छ”, उनले भने, “यसका अलवा विश्वविद्यालयको पाठयक्रम अद्यावधिक पनि मेरो प्राथमिकतामा हुनेछ ।” विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिविको रिक्त उपकुलपति पदमा नियुक्त गरेका थिए । नवनियुक्त उपकुलपति प्रा डा बरालले आज नियुक्तिपत्र बुझिसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनले आजै कीर्तिपुरस्थित कार्यालय पुगी पदबहाली गर्ने कार्यक्रम छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिबाट सिफारिस भएका तीनै जना उम्मेदवारहरुको ‘मेरिटोक्रेसी’का विषयमा प्रधानमन्त्री दाहालले अध्ययन गरेका थिए । सिफारिस समितिले विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि प्रधानमन्त्री दाहालसमक्ष बरालसहित चित्रबहादुर बुढाथोकी र टङ्कनाथ धमलालाई सिफारिस गरेको थियो । उनलाई नियुक्ति गर्नुअघि प्रधानमन्त्री दाहालले शिक्षामन्त्री एवं शिक्षा सचिवसँग उनको ‘करिअर’का विषयमा जानकारीसमेत लिएका थिए ।
काठमाडौं: अवैध बाटो भएर अमेरिका प्रवेश गरेको आठ जना नेपाली स्वदेश फर्काइएका छन्। तल्लो बाटो भएर अमेरिका पुगेका उनीहरू बिहीबार दिउँसो साढे ३ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत गोगनबहादुर हमालले जानकारी दिए। ८ जना नेपाली अवैध रूपमा छिरेको पाइएपछि अमेरिकाले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। उनीहरूलाई चार्टर्ड विमानमार्फत् नेपाल फर्काइएको हो। नेपालीहरू धेरैजसो तल्लो बाटोको प्रयोग गरी अमेरिका छिर्ने गरेको पाइन्छ। यसरी अमेरिका छिरेको पाइए त्यहाँको सरकारले डिपोर्ट गर्ने गरेको छ। उनीहरू के कति रूपैयाँ खर्च गरेर त्यहाँ पुगेका हुन् खुल्न बाँकी रहेको अध्यागमन कार्यालयले जानकारी दिएको छ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भएको सो भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । अध्यक्ष तिमिल्सनाको कार्यकाल यही फागुन २० गते सकिँदैछ ।
मोरङ: मोरङको बुढीगंगा गाउँपालिकास्थित निमुवा भन्ने ठाउँमा घरमाथि मालवाहक लहरी (ट्रक) पल्टिँदा तीन जना बालबालिकाको च्यापिएर मृत्यु भएको छ । आज (शुक्रबार) बिहान भएको दुर्घटनामा चार वर्षे जुम्ल्याहा बालबालिकासहित तीन जनाको मृत्यु भएको हो । औद्योगिक कच्चा पदार्थ लोड भएको भारतीय नम्बरको लहरी कोशी राजमार्गबाट करिब एक सय मिटर पूर्वतर्फ पल्टिएको थियो । ट्रक पल्टिँदा बुढीग३ंगा–४ प्रगतिटोलका ज्योति अधिकारीका छोरी इसिता र छोरा निशान्तको मृत्यु भएको छ भने सोही दुर्घटनामा सन्जु खवासको ८ वर्षे छोरी रिहा खवासको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा सुतिरहेका जुम्ल्याहा दुई जना र बाटोमा हिडिरहेका रिहाको दुर्घटनामा मृत्यु भएको र ज्योति अधिकारी र रिहाकी आमा सन्जु खवास दुर्घटनामा घाइते भएको स्थानीय प्रत्यक्षदर्शी मायालु न्यौपानेले बताए । घाइते दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घरमा लहरी पल्टिएपछि लहरीमा लोड भएको ठूलो ढुङ्गाले बालबालिकाहरुलाई किचेको थियो । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । भारतीय आर जे २९ जीबी १५६१ नम्बरको लहरी दुर्घटना भएको र प्रहरीले क्रेनको सहायतामा ढुङ्गा पन्छाएर शव निकालेको थियो ।
काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलका सांसदले बालकुमारी घटनालगायतका विषयमा सरकारको जवाफको माग गर्दै संसद् अवरुद्ध पारेका हुन् । सभामुख देवराज घिमिरेले आफ्नो उठेका विषयमा ध्यानाकर्षण भएको र बैठक सहज रूपमा अघि बढाउन पटक पटक आग्रह गरे पनि अवरोध नहटेपछि बैठक स्थगित गरेका हुन् ।
काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुईजना युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनाको छानबिनको प्रतिवेदन संसद्मा पेस गर्न माग गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै एमालेका सांसद योगेश भट्टराईले बालकुमारी घटनाबारे छानबिन आयोगले सरकारलाई बुझाएको प्रतिवेदन संसद्मा पेस गर्न माग गरेका हुन् । साथै सो घटनामा छानबिन आयोगको प्रतिवेदनमा दोषी देखाइएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र घटनामा दुई युवाको हत्या भएको प्रधानमन्त्रीको अभिव्यक्तिका कारण गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने एमालेले माग गर्दै आएको छ । शुक्रबार बसेको संसद बैठकमा पनि सांसद भट्टराईले उक्त माग गरेका छन् ।
ढोरपाटन: बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात भएको छ । बुधबारदेखि मौसम परिवर्तन भएसँगै बिहीबार रातिदेखि हिमपात भएको हो । हिमपातले ढोरपाटन उपत्यका सेताम्मे भएको छ । हिउँले सडक र गोरेटो पुरिँदा स्थानीयले वरपरसमेत गर्न सकेका छैनन् । हिमपातका कारण घोडा, खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्न गाह्रो भएको स्थानीय जीवन अदैले जानकारी दिनुभयो । हिमपातले ढोरपाटनवासीको जनजीवन कष्टकर बनेको छ । बिहीबार सामान्य हिमपात भएकामा रातिदेखि भारी हिउँ परेको उहाँ बताउनुहुन्छ । यसपटकको हिमपात यो वर्षकै ठूलो भएको अदैको भनाइ छ । “बुधबार साँझदेखि सिमसिम पानी परेर चिसो महसुस भएको थियो, रातिदेखि अलिअलि हिउँ परेको र हिजो ९बिहीबार० दिउँसो अलिअलि घाम लागेर हिउँ पग्लिएको थियो तर रातिदेखि भारी हिमपात भएर अहिले ढोरपाटन उपत्यका सबै ढाकिएको छ, वरपर गर्न सक्ने अवस्था छैन”, अदैले भन्नुभयो, “एक साता जति भयो घर्मी बढ्न थालेको थियो, हिउँ परेपछि फेरि चिसो बढेको छ, मङ्सिर र माघमा पनि हिउँ परेको थियो, यो बेलाको हिउँले बालीनाली राम्रो हुन्छ, तर चिसोले गर्दा घरबाट बाहिर निस्किएर काम गर्न समस्या भएको छ ।” गत मङ्सिर १७ गते ढोरपाटनलगायत आसपासका क्षेत्रमा पहिलोपटक हिमपात भएको थियो भने माघको १८ गते पनि भारी हिमपात भएको थियो । तेस्रोपटकको हिमपातले किसान र ढोरपाटन उपत्यकाका होटल व्यवसायी खुसी भएका छन् । ढोरपाटनसँगै बागलुङको उच्चपहाडी क्षेत्र हिउँले ढाकिएका छन् । बागलुङ, रोल्पा र पूर्वीरुकुमको सिमाना पातीहाल्नेमा पनि बाक्लो हिमपात भएको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले बताउनुभयो । हिमपातले जनजीवनमा सामान्य असर परेको उहाँले बताउनुभयो ।
काठमाडौं: आज प्रतिनिधिसभा बैठक बस्दै छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे बोलाइएको छ । बिहीबारको बैठकमा उपप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची रहेको थियो । तर, बैठक सञ्चालनका लागि आवश्यक गणपूरक संख्या नपुगे पछि बैठक आजसम्मका लागि स्थगित भएको हो । यस्तै, आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर बैठकमा सुनाउने छन् भने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणाले राष्ट्रिय सभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८० पेस गर्ने तयारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ । अर्थ मन्त्री प्रकाशशरण महतले भन्सार विधेयक २०८० माथि बिचार गरियोस् भन्ने प्रस्ताव पनि सदनमा प्रस्तुत गर्नेछन् । साथै, बैङ्किङ कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक २०८०लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । यसैगरी राष्ट्रिय सभाको बैठक पनि आज पनि बस्दै छ । बैठक बिहान ११ बजे बोलाइएको छ । आजको बैठकमा दिलकुमारी थापाले ‘मौलिक हक कार्यान्वयनको लागि बन्न बाँकी कानुन २०८१ असोज ३ गतेसम्म निर्माण गरिसक्नु पर्ने सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्नेछिन्। अर्थमन्त्री प्रकाशशरण महतले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ लाई पनि सभा समक्ष पेस गर्नेछन् । यस्तै, कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित विधायन सम्बन्धी विधेयक २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव सदनमा प्रस्तुत गर्नेछन् भने, आजै सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव समेत पेस गर्ने तयारी रहेको महासचिव पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
                    
