गोरखा:   गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ।  पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय  स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्...

काठमाडौं:     राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भएको सो भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । अध्यक्ष तिमिल्सनाको कार्यकाल यही फागुन २० गते सकिँदैछ ।

मोरङ:     मोरङको बुढीगंगा गाउँपालिकास्थित निमुवा भन्ने ठाउँमा घरमाथि मालवाहक लहरी (ट्रक) पल्टिँदा तीन जना बालबालिकाको च्यापिएर मृत्यु भएको छ । आज (शुक्रबार) बिहान भएको दुर्घटनामा चार वर्षे जुम्ल्याहा बालबालिकासहित तीन जनाको मृत्यु भएको हो । औद्योगिक कच्चा पदार्थ लोड भएको भारतीय नम्बरको लहरी कोशी राजमार्गबाट करिब एक सय मिटर पूर्वतर्फ पल्टिएको थियो । ट्रक पल्टिँदा बुढीग३ंगा–४ प्रगतिटोलका ज्योति अधिकारीका छोरी इसिता र छोरा निशान्तको मृत्यु भएको छ भने सोही दुर्घटनामा सन्जु खवासको ८ वर्षे छोरी रिहा खवासको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा सुतिरहेका जुम्ल्याहा दुई जना र बाटोमा हि‌‌‌डिरहेका रिहाको दुर्घटनामा मृत्यु भएको र ज्योति अधिकारी र रिहाकी आमा सन्जु खवास दुर्घटनामा घाइते भएको स्थानीय प्रत्यक्षदर्शी मायालु न्यौपानेले बताए । घाइते दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घरमा लहरी पल्टिएपछि लहरीमा लोड भएको ठूलो ढुङ्गाले बालबालिकाहरुलाई किचेको थियो । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । भारतीय आर जे २९ जीबी १५६१ नम्बरको लहरी दुर्घटना भएको र प्रहरीले क्रेनको सहायतामा ढुङ्गा पन्छाएर शव निकालेको थियो ।

काठमाडौं:    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलका सांसदले बालकुमारी घटनालगायतका विषयमा सरकारको जवाफको माग गर्दै संसद् अवरुद्ध पारेका हुन् ।  सभामुख देवराज घिमिरेले आफ्नो उठेका विषयमा ध्यानाकर्षण भएको र बैठक सहज रूपमा अघि बढाउन पटक पटक आग्रह गरे पनि अवरोध नहटेपछि बैठक स्थगित गरेका हुन् ।

काठमाडौं:    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुईजना युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनाको छानबिनको प्रतिवेदन संसद्‌मा पेस गर्न माग गरेको छ ।  शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै एमालेका सांसद योगेश भट्टराईले बालकुमारी घटनाबारे छानबिन आयोगले सरकारलाई बुझाएको प्रतिवेदन संसद्‌मा पेस गर्न माग गरेका हुन् ।   साथै सो घटनामा छानबिन आयोगको प्रतिवेदनमा दोषी देखाइएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र घटनामा दुई युवाको हत्या भएको प्रधानमन्त्रीको अभिव्यक्तिका कारण गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने एमालेले माग गर्दै आएको छ ।  शुक्रबार बसेको संसद बैठकमा पनि सांसद भट्टराईले उक्त माग गरेका छन् । 

ढोरपाटन:     बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात भएको छ । बुधबारदेखि मौसम परिवर्तन भएसँगै बिहीबार रातिदेखि हिमपात भएको हो । हिमपातले ढोरपाटन उपत्यका सेताम्मे भएको छ । हिउँले सडक र गोरेटो पुरिँदा स्थानीयले वरपरसमेत गर्न सकेका छैनन् । हिमपातका कारण घोडा, खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्न गाह्रो भएको स्थानीय जीवन अदैले जानकारी दिनुभयो । हिमपातले ढोरपाटनवासीको जनजीवन कष्टकर बनेको छ । बिहीबार सामान्य हिमपात भएकामा रातिदेखि भारी हिउँ परेको उहाँ बताउनुहुन्छ । यसपटकको हिमपात यो वर्षकै ठूलो भएको अदैको भनाइ छ । “बुधबार साँझदेखि सिमसिम पानी परेर चिसो महसुस भएको थियो, रातिदेखि अलिअलि हिउँ परेको र हिजो ९बिहीबार० दिउँसो अलिअलि घाम लागेर हिउँ पग्लिएको थियो तर रातिदेखि भारी हिमपात भएर अहिले ढोरपाटन उपत्यका सबै ढाकिएको छ, वरपर गर्न सक्ने अवस्था छैन”, अदैले भन्नुभयो, “एक साता जति भयो घर्मी बढ्न थालेको थियो, हिउँ परेपछि फेरि चिसो बढेको छ, मङ्सिर र माघमा पनि हिउँ परेको थियो, यो बेलाको हिउँले बालीनाली राम्रो हुन्छ, तर चिसोले गर्दा घरबाट बाहिर निस्किएर काम गर्न समस्या भएको छ ।” गत मङ्सिर १७ गते ढोरपाटनलगायत आसपासका क्षेत्रमा पहिलोपटक हिमपात भएको थियो भने माघको १८ गते पनि भारी हिमपात भएको थियो । तेस्रोपटकको हिमपातले किसान र ढोरपाटन उपत्यकाका होटल व्यवसायी खुसी भएका छन् ।  ढोरपाटनसँगै बागलुङको उच्चपहाडी क्षेत्र हिउँले ढाकिएका छन् । बागलुङ, रोल्पा र पूर्वीरुकुमको सिमाना पातीहाल्नेमा पनि बाक्लो हिमपात भएको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले बताउनुभयो । हिमपातले जनजीवनमा सामान्य असर परेको उहाँले बताउनुभयो । 

काठमाडौं:     आज प्रतिनिधिसभा बैठक बस्दै छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे बोलाइएको छ । बिहीबारको बैठकमा उपप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले  ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची रहेको थियो । तर, बैठक सञ्चालनका लागि आवश्यक गणपूरक संख्या नपुगे पछि बैठक आजसम्मका लागि स्थगित भएको हो । यस्तै, आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर बैठकमा  सुनाउने छन् भने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणाले राष्ट्रिय सभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८० पेस गर्ने तयारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।  अर्थ मन्त्री प्रकाशशरण महतले भन्सार विधेयक २०८० माथि बिचार गरियोस् भन्ने प्रस्ताव पनि सदनमा प्रस्तुत गर्नेछन् । साथै, बैङ्किङ कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक २०८०लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । यसैगरी राष्ट्रिय सभाको बैठक पनि आज पनि बस्दै छ । बैठक बिहान ११ बजे बोलाइएको छ । आजको बैठकमा दिलकुमारी थापाले ‘मौलिक हक कार्यान्वयनको लागि बन्न बाँकी कानुन २०८१ असोज ३ गतेसम्म निर्माण गरिसक्नु पर्ने सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्नेछिन्। अर्थमन्त्री प्रकाशशरण महतले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ लाई पनि सभा समक्ष पेस गर्नेछन् ।  यस्तै, कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित विधायन सम्बन्धी विधेयक २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव सदनमा प्रस्तुत गर्नेछन् भने, आजै सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव समेत पेस गर्ने तयारी रहेको महासचिव पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

काठमाडौं:    नेपालले वाफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको दोस्रो खेलमा इराक विरुद्ध ५-० फराकिलो जित दर्ता गरेको छ । खेलको सुरुवाती समयमा खेलमा आफ्नो पकड बनाउन नसकेको नेपालले त्यसपछि भने लगातार आक्रमण बुन्यो । इराकले बल राख्ने बित्तिकै हाइ–प्रेस गर्दै नेपालले इराकलाई सहजै बल राख्न दिएको थिएन । सातौं मिनेटमा नेपाल गोल गर्नको निकै नजिक पुगेर चुक्यो । साम्बाको क्रसमा रेखा पौडेलले बक्स भित्रबाट गरेको प्रहार पोस्टको बाहिरपट्टि लागेर बाहिरियो । नवौं मिनेटमा रेखाको पासमा अमिषा कार्कीको प्रहार ब्लक हुन पुग्यो । ११औं मिनेटमा साम्बाको फ्रि-किक प्रहार पोस्टमाथि बाट बाहिरियो । १४औं मिनेटमा साम्बाले नेपाललाई अग्रता दिलाइन् । रेखा पौडेलले आफ्नै हाफबाट खेलेको पासमा आफ्नो तिव्र गतिको प्रयोग गर्दै उनले सुन्दर फिनिशका साथ नेपाललाई खेलमा अग्रता दिलाएकी हुन् । १६औं मिनेटमा साम्बाले नै नेपालको दोस्रो गोल गरिन् । इराकी डिफेन्डर दिरिन मुल्लाबाकरबाट बक्स भित्र नै बल खोसेर उनले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् । १९औं मिनेटमा रेखाले गोल गर्ने राम्रो अवसर खेरा फालिन् । उनको प्रहार गोलरक्षक जाहरा अल सदेइले बचाइन् । २१औं मिनेटमा प्रिती राईले साम्बाको पासमा गरेको प्रहार पनि अल सदेइले बचाइन् । २६औं मिनेटमा अनिता बस्नेतले कर्नरबाट पोस्टमा प्रहार गरिन् । पहिलो खेलमा उनले सिधै कर्नरबाट गोल गरेकी थिइन् । रिबाउन्डमा साम्बाले पोस्टभन्दा माथि प्रहार गरिन् । २८औं मिनेटमा अनिता बस्नेतले बक्सको दायाँ भागबाट गरेको प्रहार पोस्टको केही टाढाबाट बाहिरियो । ३७औं मिनेटमा साम्बाले तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन् । पूजा रानाले गरेको क्रसमा सहजै हेडर मार्फत गोल गर्दै उनले नेपालको अग्रता पनि तीन गोलको बनाइन् । ४४औं मिनेटमा उनले अर्को गोल थपिन् । रेखाको पासमा उनले गरेको पहिलो प्रहार अल सदेइले बचाएपनि दोस्रो पटकमा गोल गर्दै उनले खेलमा व्यक्तिगत चौथो गोल गरिन् । ४८औं मिनेटमा अमिषा कार्कीको प्रहार अल सदेइले बचाइन् । ६०औं मिनेटमा प्रितीले बक्सको छेउबाट गरेको प्रहार पोस्टको केही टाढाबाट बाहिरियो । ६८औं मिनेटमा प्रितीकै फ्रि–किकले पोस्टको दिशा लिन सकेन । ८०औं मिनेटमा साम्बाले पाँचौं गोल गरिन् । प्रितीको थ्रु–पासमा साम्बाले खेलमा रन बनाउँदै उनले इराकी गोलकिपरलाई बिट गर्दै खेलमा नेपालको र व्यक्तिगत पाँचौं गोल गरिन् । पहिलो हाफमा  सावित्रा भण्डारी ‘साम्बा’ ले चार गरी कुल पाँच गोल गरेसँगै आफ्नो अन्तराष्ट्रिय करियरमा ४४ खेलमा ५० गोल पुर्याएकी छन् । नेपालको समूहमा २ खेलमा ६ अंक भएको छ । नेपालले समूह चरणको पहिलो खेलमा सिरिया माथि ४–१ को सानदार जित हात पारेको थियो । नेपालले अब समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइन विरुद्ध शनिबार खेल्ने छ । प्यालेस्टाइनले आज आफ्नो दोस्रो खेलमा सिरिया विरुद्ध खेल्नेछ । पहिलो खेलमा प्यालेस्टाइनले इराक माथि ३–० को जित निकालेको थियो । अर्को समूहमा आयोजक साउदी अरब, ग्वाम, लेबनान र जोर्डन छन् । दुवै समूहका शीर्ष दुई टोलीले सेमीफाइनलको यात्रा तय गर्ने छन् ।

काठमाडौं:   त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा केशरजङ्ग बराल नियुक्त भएका छन् ।  विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिविको रिक्त उपकुलपति पदमा आज बराललाई नियुक्त गरेको उनको सचिवालयले जनाएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टङ्कनाथ धमलाको नाम सिफारिस गरेको थियो । उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवम् अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो । बराललाई शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवम् प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको उल्लेख छ । 

पोखरा:     ‘उच्च शिक्षा हाम्रो लक्ष्य’ नारासहित क्रियाशिल तमु साँस्कृतिक प्रतिष्ठान नेपालको २३ औं वाषिर्कोत्सव तथा स्रष्टा सम्मान कार्यक्रम बुधबार पोखरामा सम्पन्न भएको छ । तमु साँस्कृतिक प्रतिष्ठान नेपालको २३ औं वाषिर्कोत्सव तथा स्रष्टा सम्मान कार्यक्रममा “स्व. पार्वता तमु स्मृति पत्रकारिता पुरस्कार“ द्वारा वरिष्ठ पत्रकार, सामाजिक अभियन्ता, अधिकारकर्मी एवम् राजनीतिज्ञ कास्की आवाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक हुम तमु,“स्व. घनबहादुर स्मृति पुरस्कार“ लमजुङ, घाम्राङका साहित्यकार केयरसिं तमुलाई, “स्व. क्या. मिनबहादुर स्मृती पुरस्कार“ कलाकार मनबहादुर तमु (माधव), “लालशोभा उत्कृष्ट आमा अवार्ड“ चितवन, माडीका अनुपम तमुका आमा शान्तामाया तमु र “उच्च शिक्षा पुरस्कार“ गोर्खा, सिरानचोकका ई. टकबहादुर तमुलाई सम्मान गरिएको थियो ।  यस्तै “खेलाडी सम्मान“ द्वारा चीनको हाङजाउ शहरमा भएको १९ औं एसियन गेममा नेपाललाई रजत पदक हासिल गर्न सफल एरिका तमुलाई २५ हजार रुपैयासहित प्रतिष्ठानले सम्मान गरिएको थियो भने विभिन्न खेल संस्था, खेलाडीहरु र संघ संस्थाका अगुवाहरुको तर्फबाट नगद, सम्मानपत्रसहित सम्मान गरिएको थियो ।  कार्यक्रममा यू.के. निवासी प्रनिशा तमुले प्रतिष्ठानबाट छात्रवृत्ति प्राप्त गर्न सफल विद्यार्थी फार्मेसीमा स्नातक तह अध्ययनरत स्नेह तमुलाई शैक्षिक सहयोगका लागि ल्यापटप हस्तान्तरण गरिएको थियो ।  ग्रामिण भेकका सामुदायिक विद्यालयमा अध्ययनरत नेपालका २५ जिल्लाका २५० भन्दा बढी विद्यार्थीहरुलाई विभिन्न अक्षयकोषदाता सहयोगीहरुको कोषबाट छात्रवृत्ति वितरण गरिरहेको प्रतिष्ठानलाई आगामी वर्षदेखि थप ९ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदानका लागि तमु धिं युके, तमु धिं बेल्जियम लगायत विभिन्न दाताहरुले ११ लाख २५ हजार रुपैया अक्षयकोष रकम हस्तान्तरण गरिएको थियो। कार्यक्रममा पोंचोंको तमु समाज, चिउली पार्चे तमु समाज, पैंयूखोला तमु समाज, प्रतिष्ठानका विद्यार्थी कलाकारहरु एवम् जोनिशा तमुको नृत्य प्रस्तुतिले थप मनोरञ्जन प्रदान गरेको थियो भने प्रतिष्ठानका नयाँ आजिवन सदस्यहरुलाई सदस्यता प्रदान गरिएको थियो ।  कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व कृषि मन्त्री माननीय वेदबहादुर तमु (श्याम)ले शुभकामना व्यक्त गर्नुहुदै तमु साँस्कृतिक प्रतिष्ठान एक उत्कृष्ट संस्था रहेको क्रियाशिल रहेको बताउनुभयो। उहाँले राज्यले गर्न नसकेको कार्य तमु संस्कृतिक प्रतिष्ठानले गरेको र दक्ष युवा स्वदेशमै केही गर्ने युवाहरु निर्माण आजको आवश्यकता रहेको बताउनु भयो । प्रतिष्ठानका अध्यक्ष चित्र तमुको अध्यक्षतामा सप्पन्न उक्त कार्यक्रममा तमु धिं युकेका संस्थापक अध्यक्ष मिन प्रसाद गुरुङ, सम्मानित हुम बहादुर गुरुङ, एरिका गुरुङ आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष श्रीजंग गुरुङ र कार्यक्रम सञ्चालन सचिव कञ्चन गुरुङ, विद्यार्थी समितिका सचिव कविता तमु र सह–सचीव प्रज्वल तमुले कार्यक्रम सन्चालन गर्नुभएको थियो।