सदनलाई बाधारहित सञ्चालन गर्न सभामुखको आग्रह
काठमाडाैं | बैशाख २५, २०८१

काठमाडौं: सभामुख देवराज घिमिरेले आह्वान गर्नुभएको प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठकमा प्रतिनिधिसभाको बैठकलाई नियमितरुपमा बाधारहित सञ्चालन गर्ने विषयमा छलफल भएको छ ।
सभामुखको कार्यालयमा भएको छलफलमा प्रमुख राजनीतिक दलका शीर्ष नेताले सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाएर जानुपर्ने बताउनुभएको थियो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख घिमिरेले संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल भएको र यो निरन्तरको प्रक्रिया भएको बताउनुभयो ।
सभामुख घिमिरेले भन्नुभयो, “विभिन्न समस्या आइरहन्छ, समस्याले सदनलाई अवरोध गर्नु हुँदैन । आजको बसाइँ र छलफलले यही वैशाख २८ गतेदेखि सुरु हुने बैठकलाई सहजरुपमा अगाडि बढाउने महत्वपूर्ण आधार तयार पारेको छ ।”
उहाँले सदनलाई सहजरुपमा सञ्चालन गर्ने दायित्वको राजनीतिक दलको भएकाले ठूला राजनीतिक दल संसद्लाई समस्याको समाधान गर्ने थलोका रुपमा अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो ।
संसदीय व्यवस्थामा सबै राजनीतिक शक्तिको भूमिका निर्णायक हुने र दलहरुले नै समस्या समाधानका लागि पहल गर्ने सभामुख घिमिरेको भनाइ छ । उहाँले सदनलाई प्रभावकारी बनाउन सबैको साझा र आ–आफ्नो भूमिका रहने जानकारी दिनुभयो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेले सहकारी समस्या समाधानका लागि द्रुतमार्गमा कानुन निर्माण गर्ने विषयमा सरकारले आवश्यक प्रक्रिया थालिसकेको बताउनुभयो ।
कुनै पनि विषयमा प्रश्न उठ्नेबित्तिकै संसदीय छानबिन समिति गठन गरिहाल्नुपर्ने माग उचित नभएको उहाँको भनाइ थियो । सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकार गम्भीर रहेको र ठगी प्रकरणमा जोडिएका जिबी राईलगायतलाई पक्राउ गर्न सरकार लागीपरेको उहाँले बताउनुभयो ।
बैठकमा नेपाली कांग्रेसले सहकारी प्रकरणका सम्बन्धमा संसदीय छानविन समिति गठन गर्नुपर्ने विषयलाई पुनःदोहो¥याएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने र छानबिन गर्नुपर्ने आफूहरुको धारणा रहेको बताउनुभयो ।
“हामीले संसदीय छानविन समितिको कुरा राखेको छौँ । हामीले गृहमन्त्रीको राजीनामा मागेका छैनौँ, प्रश्न उठेपछि संसदीय छानबिन समिति बनाउनुपर्छ भन्ने कुरा राखेका छौँ । सरकारले समिति बनाउँछ भन्ने हाम्रो विश्वास छ”, नेता लखेकले भन्नुभयो ।
नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले सहजतापूर्वक सदनको बैठक सञ्चालनका लागि कांग्रेसले सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो । गृहमन्त्रीमाथि प्रश्न उठेका विषयमा सदनमा बोल्न दिनुपर्छ र कांग्रेस सुन्न तयार नभएपनि आफ्नो पार्टी सुन्न तयार रहेको नेता बर्तौलाले बताउनुभयो । सहकारीपीडितबारेमा कुनै कुरा नराखी अरुलाई निषेध गर्ने तरिकाबाट जाने कांग्रेसको तरिका सही नभएकोसमेत उहाँले उल्लेख गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सभामुखले आयोजना गर्नुभएको बैठकमा महत्वपूर्ण छलफल भएको र समस्या समाधानमा केन्द्रित रहेको बताउनुभयो । यही वैशाख २८ गतेदेखि सुरु हुन लागेको सङ्घीय संसद्को बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको उहाँले उल्लेख गर्नुभयो ।
बैठकमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सहकारीको रकम हिनामिनाका विषयमा उपप्रधान एवं गृहमन्त्री लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने बताउनुभएको प्रमुख सचेतक परियारले जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत प्रतिनिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुको सहभागिता थियो ।
काठमाडौं: नेपाल प्रहरी प्रधान कार्यालयले ‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएका प्रहरीका परिवारजनलाई जनही दश लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रहरी प्र...
काठमाडौं: मन्त्रिपरिषद्को बैठकले असोज १ गते शोक दिवस मनाउने भएको छ । जेनजी आन्दोलनकाक्रममा साहदत प्राप्त गरेका सहिदको सम्झनामा शोक दिवस मनाउने निर्णय भएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।अस...
काठमाडौं: नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले कार्यभार सम्हालेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण गरेसँगै उनले पदबहाली गरेका हुन्। उनी पूर्व अर्थसचिव प...