गोरखा:   गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ।  पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय  स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्...

पोखरा:     छवि भन्ने कुराले धेरै अर्थ राख्छ । नेपालमा बस्दासम्म आफ्नो प्रोफेसनभन्दा बाहिर अरुले चिन्ने कुरा पनि भएन । अमेरिकाबाट फर्किएर राजनीतिमा होमिइसकेपछि पनि प्रत्यक्ष जनताले भेट्ने, हेर्ने मौका पाएका थिएनन् । त्योबेला मेरो एउटा छवि बनाइयो, एक हिसाबले मिडियाले नै त्यो बनाइदिएको हो । भन्छन् नि ‘मिस्टिरियस’ छवि ! मान्छेलाई जब केही निषेधित हुन्छ, त्यसप्रति झन आकर्षण बढ्छ । घरबाटै सरकारले निस्किन नदिएपछि अरुले त ‘यो कस्तो खतरनाक मान्छे हो’ भनेर सोचिहाल्छन् । लोकतन्त्र आइसक्दा पनि किन बाहिर जान नदिएको होला ? भनेर लागिहाल्छ । त्यसमाथि ‘मिसाइल इन्जिनियर’को छवि बनाइदिँदा नेपालमा क्षेप्यास्त्र नै हान्न आएको हो कि ? भन्ने अरुलाई लाग्थ्यो ।  पटकपटक पक्राउ पर्थें । २ दजर्नचोटि त पहिले नै थियो । अस्ति भर्खर सांसद भइसकेपछि पनि धोती लगाउँदा पक्राउ परें । कतै बोल्न जाँदा पनि हातमा माइक समात्नेत्तिकै पक्राउ परिहाल्थें । यसले मान्छेहरुलाई स्वभाविक रुपमा जिज्ञासा लाग्ने भयो, ‘सिकेले के बोल्दो रैछ ? मुखबाट आगो निकाल्छ क्याहो ?’ त्यतिबेला मिडियाले मेरो अन्तर्वार्ता लिएको भन्दै एउटा मिडियालाई स्पष्टिकरण नै सोधियो । सायद कारवाही पनि गरियो होला ! मेरो त्यो रहस्यमयी पात्रको छवि कतै न कतै मिडिया नै बनाइदिएको हो । तर, त्यसमा मेरो कुनै दुखेसोचाहिँ छैन । क्रमिक रुपमा मिडियाले नै अहिले स्पेस दिँदै आएको छ । अरुले पनि सुन्न पाएका छन् । हामीसँग भएका जिज्ञासाहरु क्रमिक रुपमा स्पष्ट पार्दै गइराखेका छौं । म झन्डै २०११ मा नेपाल फर्किएँ । अमेरिकामा एउटा राम्रो वैज्ञानिकको जागिर छाडेर आउँदा त्यतिबेला स्वभाविक रुपमा प्रश्न उठ्थ्यो । ‘यो मान्छे कि नेपाल आयो ? अरु मान्छे अमेरिका जान आफ्नो किड्नी बेच्न पनि तयार हुन्छन्, पक्कै पनि केही रहस्य होला ! मिसाइल बोकेर आएको छ कि ?’ भनेर पनि प्रश्न उठ्थ्यो । अमेरिकाबाट किन नेपाल फर्किएको प्रश्न १३ वर्षअगाडि पनि सोधिन्थ्यो । अहिले पनि त्यही सोधिन्छ । लाग्दैछ–यो प्रश्नको आयू धेरै लामो रहेछ । जबसम्म कोही पत्रकार आफैंले त्यो प्रश्न सोध्दैनन्, अरुलाई दिएको जवाफबाट सन्तुष्ट हुनुहुन्न । मेरो जन्म सप्तरीको गाउँमा भयो । त्यतिबेला त्यहाँ प्राथमिक विद्यालयमात्रै थियो । अहिले पनि लगभग त्यस्तै छ । मैले त्यहीं पढें । पछि अर्को गाउँमा १० कक्षासम्मको पढाइ सकें ।  त्यसपछिमात्रै बस चढेर काठमाडौं गएको हुँ । पुल्चोकमा ओभसियर गरें, इन्जिनियरिङमा ब्याचलर गरें । त्यसपछिमात्रै जापान, क्याम्ब्रिज युनिभर्सिटी हुँदै जागिर गरें ।  सुरुदेखि नै गरिब पृष्ठभूमिमा हुर्किएको भएता पनि मेरो बुवा शिक्षक हुनुहुन्थ्यो । दाइहरु कलेजसम्म पढ्न भ्याउनुभएको थियो । त्यहीभएर पनि  बच्चैदेखि मेरो मानसिकता इन्जिनियर बन्छु भन्ने थियो । त्यतिबेला हजार रुपैयाँ लिएर इन्जिनियर पढ्न आएँ । काठमाडौं आउनुभन्दा अगाडि पहाड कस्तो हुन्छ भन्ने पनि हेरेको थिइनँ । एकचोटि अलि टाढाबाट हेरेको थिएँ, त्योभन्दा अगाडि पहाड कस्तो हुन्छ भन्ने मलाई थाहा थिएन । कक्षामा नेपाली पढाइ भए पनि नेपाली खासै बोल्न आउँदैन थियो । लेख्न आए पनि बोल्न आउँदैनथियो । काठमाडौं आउने बस पनि कि विराटनगर कि काँकडभित्ताबाट आउँथ्यो । त्यही बसमा हामी आयौं । त्यतिबेला टिकट नदिएर मुडामा बसालिन्थ्यो । त्योबला अरुले दशथरि गाली गरेको छ, लात्ताले हानेको छ । अहो ! यो कस्तो व्यवहार रहेछ भन्ने बस चढ्नेबित्तिकै विभेदको जुन महसुस हुन्छ, त्यहाँबाट आउन थाल्यो ।  कहिले ‘सामान फाल्दिन्छु भैया’ भन्ने, कहिले के भन्ने, त्यो मलाई बडो विरक्त लाग्यो । गान्धीसँग घटेका घटनाहरु तुलना हुन्थ्यो, त्यतिबेला पनि । काठमाडौं आइसकेपछि नेपाली बोल्न आउँदैनथ्यो । तर, कक्षामा बसेको छु । परिचय दिन मुख खोल्नेबित्तिकै मधेशी टोन त आइहाल्छ नि ! ग्रामेटिकल्ली शुद्ध भए पनि बोल्नेबित्तिकै गल्ल हाँस्थे । त्यो ‘ह्यारेस’ भएर कक्षामा बस्नै मन नलाग्ने हुन्थ्यो । त्यसपछि बाहिर निस्केर हनुमान ढोका जान्थें, म्युजियम जान्थें । कक्षामा जान अलिकति असहज महसुस हुन्थ्यो । पहिलो वर्ष रिजल्ट पनि खासै राम्रो आएन । दोस्रो वर्षमा बुवाले नतिजा राम्रो आएन भनेपछि केही उत्तरदायित्व सम्झिएर गम्भीर भएर यिनीहरुले जति हेपे पनि हेपून्, इग्नोर गर्छु भनेर लागें । त्यो एउटा ट्रान्जिसन थियो । अर्को सेमेस्टर टप गरें । त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । टप गर्न थालेपछि सबैले विस्तारै माया पनि गर्न थाले । पछि इन्जिजियरमा भर्ना भएर त्यसमा राम्रै भएर निस्किएँ । त्योबला म पनि अलि राष्ट्रवादी खालको थिएँ । गोर्खाली कविताहरु लेख्थें । प्रतियोगिताहरुमा भाग पनि लिन्थें । यतिसम्म कि पढाइको पहिलो वर्षमा एकचोटि ‘तराई–मधेश नवजागरण’ भन्ने एउटा संस्था थियो । त्यो संस्थाको सदस्य बन्नुप¥यो भनेर आउँदा किन सदस्यता लिनुप¥यो भनेर आउँदा ‘मधेशी–पहाडी केही पनि हुँदैन’ भनेर हप्काएर पठाइदिएको थिएँ ।  त्यतिबेला म विद्यार्थी थिएँ । राजनीतिमा कुनै चासो थिएन । चुनावमा भोट गर्न पनि जादिन थिएँ, खाली पढाइमामात्रै ध्यान थियो ।  पछिपछि एउटा अपवाफ फैलियो । हृत्तिक रोशनले नेपालललाई घृणा ग¥यो है भनेर कतै छापियो । त्यो फैलिँदैफैलिँदै काठमाडौंसम्म आइपुग्यो । त्यहीबेला सायद गोली लागेर पनि राजबिराजमा एकजना मारिनुभएको पनि थियो । त्यहीबेला काठमाडौंमा मधेशविरोध कार्य भए । काठमाडौंका मधेशीमाथि आक्रमण गर्ने, पसलमा आगो लगाउनेलगायतका त्रासपूर्ण वातावरण बन्यो । काठमाडौंमा कफ्र्युको वातावरण बन्यो । त्यतिबेला विन्टर भ्याकेसन थियो । अरु साथीहरु फर्किसकेका थिए । मभने पढन्ते भएको हुनाले काठमाडौंमै ल्याबमा पढ्न बसेको थिएँ । विभेदको नांगो रुप त्यतिबेलै हो देखेको । मलाई नै एउटा पुलमा समातेर ‘यसलाई फाल है’ भनियो । त्यो घटनामा आर्टिटेक्चरका एकवजा नेवारी साथीले गर्दा जोगिएँ । ‘यो मधेशी होइन, कालोकालो नेवारी हो’ भनेर भनिदिएपछि बाँचें ।   त्यतिबेला काठमाडौंका मजदुरसँग नेपाली हो भने नागरिकता खोई भनिन्थ्यो । नागरिकता देखायो भने खोसेर झोसिदिन्थे, त्यो मैले भोगेको छु । पहिले त सबै साथीहरुले एकदम सम्मान गर्थे । तर, त्यो घटनापछि होस्टल आउँदा पनि गाली गर्न थाले । अर्कै नजरले हेर्न थाले । त्यसपछि मेरो के अपराध भयो ? भनेर सोच्न बाध्य भएँ । त्यतिबेला काठमाडौंमा यस्तोसम्म वातावरण बन्यो कि मधेशीलाई भाडामा दिएकाहरु पनि बाहिरबाछ ताला लगाएर यहाँ कोही छैन भनेर भन्नुपर्ने स्थिति बन्यो । त्यसले पनि मलाई ‘यदि म यो देशको राष्ट्रियताप्रति समर्पित नागरिक हुँ भने किन आक्रमण भइरहेको छछ त ? आखिर म को हुँ ?’ भन्ने प्रश्न गर्न बाध्य बनायो । भारतकै कोही कलाकारले केही बोल्यो भन्दैमा म माथि किन आक्रमण भइरहेको छ ? मेरो राष्ट्रियता के हो ? मेरो पहिचान के हो ? मेरो अधिकार के हो त यो देशमा ? त्यतिबेला मैले सोच्नैपर्ने बाध्यता भयो । त्यतिबेलादेखि नै राजनीतिमा मेरो अलिकति चासो बढ्न थाल्यो । इतिहासहरु खोतल्न थालें । मेरो रुट, मेरो पहिचान के हो ? भनेर खोज्न थालें । त्यहीबेला जापानमा स्कलरसिप पाएर गएँ । बाहिर पनि विभेद भोग्नैपर्यो । तर, त्यहाँ म आफैं फेस गर्नुपर्छ भन्ने लागेको थिएन । म आफैं पनि अध्यात्मिक भएकाले मानवताका बारेमा सोच्नुपर्ने, सत्य खोज्नुपर्ने, किन सानो कुरामा अल्झिराख्ने भनेर आफू कहिल्यै पनि फेस गर्न खोजिनँ । ‘नेपालमा जति हेपे पनि हेपून्, विदेश गइदिम्ला नि त !’ ढुक्क भएर बसेको थिएँ । जापान जाँदा प्लेन चढ्दै गर्दा आफैंलाई प्रमिस गरेको थिएँ, ‘नेपालमा जेजस्तो भयो । सबै कुरा यहीं बिर्सिन्छु । त्यहाँ मैले फ्रेस लाइफ स्टार्ट गर्छु ।’ तर, जापान पुग्दा पनि उस्तै विभेद पाएँ । नेपालीको कार्यक्रम भनेको छ, हामीलाई नै जान दिइएको छैन । नेपालीको रेस्टुरेन्ट जान्छु, त्यहाँ तपाईं नेपाली होइन भनिदिन्थे । नागरिकता बोकेको छु भनेर भन्नुपर्ने । सहपाठी र प्रोफेसरका अगाडि तँ नेपाली होइन भनेर भनिदिँदा साह्रै अप्ठेरो महसुस हुन्थ्यो । त्यतिबेला मधेश आन्दोलन पनि भयो । त्यतिबेला संघीयता भन्ने शब्द उतिसारो प्रयोगमा आइसकेको थिएन, राज्य पुनर्संरचना धेरै भनिन्थ्यो । त्यहीबेला राज्य पुनर्संरचनाले मात्रै हामीलाई पूरा अधिकार दिन सक्दैन भन्ने लागेको थियो । अधिकार, पहिचान र स्वायत्तताको कुरा गर्न सक्दैन भन्ने लाग्थ्यो । तर, त्यतिबेलासम्म पनि खुलेर आइसकेको थिएन । मलाई त्यतिबेलासम्म पनि म जोगी बन्ने हो भन्ने थियो । पहिले नेपाललाई जापानजस्तो बनाउनुपर्छ भन्ने सोच्थें । तर, जापान गइसकेपछि त्यहाँको लाइफस्टाइल देखेर ‘यहाँ जीवन नै छैन । ठूलाठूला भवन छन्, मान्छेमा जीवन छैन । खाना खाने फुर्सद छैन ।  दुनियाँको तीव्र गतिको रेल छ, तर, मान्छेहरु हातमा बर्गर लिएर दौडिराखेका छन्, मान्छेलाई बच्चा जन्माउने फुर्सद छैन’ यस्तो पनि जीवन हुन्छ ? भनेर तुरुन्तै सोचें । भौतिक सुखसुविधा धेरै पाउँदा पनि मान्छे खुुसी छैन । ट्रेनमा निदाएर बस्नुपरेको छ । आँखामा खुसीको चमक कतै देखिनँ । यो त हुँदै भएन भनेर बुवालाई पत्र लेखें, ‘बुवा यता राम्रो छैन ।’ ००० अमेरिका बोस्टनमा एउटा राम्रो खालको नेपाली कम्युनिटी छ । त्यहाँ म पुगेको त्यस्तै ३, ४ महिनाजत्ति भएको होला ! उहाँहरुले बोलाउनु भएको थियो । त्यसमा नेपालबाट संविधान सभाको सदस्यहरु पनि जानु भएको थियो । त्यसमा एकजना धोती लगाउने पनि जानुभएको थियो । तर, धोती लगाएकै कारण उहाँलाई कार्यक्रममा वञ्चित गरियो । धोती नेपालीको पहिचान नभएको भन्दै पस्न दिइएन । म त अमेरिकामा भर्खर पुगेको थिएँ । मलाई फोन आयो, हामीलाई यस्तो दुव्र्यवहार गरियो । हामीलाई स्वागत नगर्ने ? भन्नु भयो । उहाँहरुलाई म र एकजना साथी मिलेर डिनर स्वागत गर्यौं । त्यतिबेलासम्म नेतालाई मनै पराउँदिनथिएँ । उहाँहरुले मधेश पहिलेभन्दा धेरै विकसित भएको तर्क गर्नुभयो । त्यसको एक महिनापछि नेपाल फर्किएँ । मधेश कतिको बनेको रैछ ? भनेर मेचीमहाकाली यात्रा त्यहीबेला गरेको हुँ । कमैया, बेरोजगार, किसान, भूमिहीन सबैसँग कुरा गरें । कञ्चनपुरबाट फर्किनेबला थारुहरुको विस्थापित बस्तीमा छिरें, त्यो बस्तीमा छिर्दा त बुज्रुकहरु खुट्टा समातेर रुन थाले । उनीहरु घर,जग्गा बनाउने ठाउँ दिनुपर्यो, प्रहरी आएर कुटेको कुट्यै गरे भनेर भन्नुभयो ।  न म सरकारी कर्मचारी हुँ न म सिडिओ न प्रहरी हँ । त्यहाँ पनि यहाँ कञ्जनपुरको आदिवासी समुदायले त्यसरी खु्ट्टा समाथेर रुन थालेपछि कि समाजप्रति मेरो उत्तरदायित्व छ भन्ने बोध यो ।  अमेरिका त विकसित छ, त्यहाँको रकेट त अरुले नै बनाइदेलान् । यहाँको म आफैं गर्नुपर्छ भन्ने बोध भयो ।  गाउँमा कोही नेता आयो भने ‘तपाईंहरुलाई के चाहिन्छ ?’ भनेर सोधिन्छ मैले पनि सोधें । उनीहरुले बाटोघाटो मागेनन् । खेतमा बोरिङको व्यवस्था गरिदिनुप¥यो बाबु’ भनेर भने । ‘खेतमा बाली र पेटमा अन्न प¥यो भने घोडासम्म त के छातीसम्म हिलो भए पनि हिँड्न तयार छन्’ भनेर भने । उनीहरुले मागेको ठिकै थियो । त्यसपछि म बोरिङको लागि कोशिस गरें । लाहानको कार्यालयमा सम्पर्क गरें । अझ अमेरिकाबाट आएको भनेर बढाइचढाइ पनि गरें । तर, नेपालको सिस्टमले एउटा पनि बोरिङ ल्याउन सकिनँ । अमेरिकामा ठूलो वैज्ञानिक हुँला, सबैभन्दा पढेको हूँला । तर, एउटा बोरिङसम्म आफ्नो गाउँलेका लागि ल्याइदिने मेरो हैसियत रैनछ भन्ने गाहा भयो । त्यसपछि नै मैले यो तबसम्म बद्लिँदैन जबसम्म म राजनीतिमा आउँदिनँ भन्ने बोध भयो ।  अब म फर्केर यो समस्या समाधान गर्छु भनेर आफैंसँग वाचा गरें । त्यसको करिब १ वर्षैपछि नेपाल फर्किएको हुँ । नेपाल फर्केर एउटा खुलामञ्चमा भाषण गरें । तर, भाषण गर्नेबित्तिकै सबबै त्रसित भए । अमेरिकाबाट फर्कियो, हाइप्रोफाइल किन नेपाल आयो भनेर वाचलिस्टमा राखे । जहाँ जाँदा पनि जासुस लागिरह्यो । पछि विचार राख्ने त्र,mममा धरपकड हुन थालेपछि चर्चाको विषय बन्दै गयो । यहीबीचमा कसरी विभेद भइराखेको छ भन्ने लेखें ।  हामी कर्णाली सबैभन्दा पिछडिएको भन्छौं । थियो, कुनैबेला, छ । पक्कै पनि कर्णाली, सुदूरपश्चिम विकसित हुनुपर्छ । तर, आजको दिनमा महोत्तरी जिल्ला, जुम्लाभन्दा पनि पछाडि छ ।  २०७८ कै पनि तथ्यांक हेर्दा साक्षरता दर जुम्लाभन्दा करिब २० प्रतिशत कम छ । समग्र मधेशको झन्डै  ६३ प्रतिशत छ, कर्णालीको ७६ प्रतिशत छ ।  यही कुरा बोल्दै गएपछि सरकारलाई असह्य भएको हो । धरपकड हुन थाल्यो । यतिसम्म सरकारले दियो फ्रि डा सिके राउत भन्दा पनि समातेर जन्मकैद हुनुपर्छ भन्न थालियो । फोटोकपी पेपरमा फ्रि डा सिके राउत भनेर उभिँदा पनि जन्मकैदको मुद्दा लाग्ने कस्तो खालको लोकतन्त्र हो ? भन्ने लाग्थ्यो । अदालत तारिख लिन जाँदा कसैले सिके राउत जिन्दावाद भन्दा पनि जन्मकैद ठोकिदिन्थ्यो । अन्तिममा यतिसम्म भयो कि राजनीतिक कुरा गर्न नदेला भनेर जनकपुरमा विवाह पञ्चमीमा पानी खुवाउन पानी राख्दा पनि पानी खुवाउने मान्छेलाई पनि समातेर मुद्दा लगाइदिए । भनेपछि तीर्थालुलाई खुवाउन नदिनेसम्मको दमन गरियो ।  हामीलाई बोल्न पनि नदिने, लेखपढ गर्न पनि नदिने, तीर्थालुलाई पानीसमेत खुवाउन नपाउने भएपछि हामीले यही तरिकाले अगाडि जान सकिँदैन भन्ने निष्कर्ष निकाल्यौं । अब मूलधारमै आएर जति गर्न सकिन्छ, गरौं भनेर संविधानभित्रै बसेर केही गरौं भनेर आएको हो । म जतिबेला फर्किएँ त्यतिबेला यहाँ संविधान बनिसकेको थिएन, संघीयता आइसकेको थिएन । तर, २०७५ सालसम्म आइपुग्दा संविधान आएर पनि स्थानीय तहमा अधिकार गइसकेको थियो । राजनीतिक परिवर्तन पनि केही सकारात्मक ढंगले अगाडि बढिसकेको थियो । म अमेरिकाबाट फर्किंदा र ०७५ सालको राजनीतिक अवस्था एउटै थिएन । त्यहीबेला सरकारले वार्ता टोली गठन गरेर अगाडि बढिसकेका थियौं । यो जेल जानुभन्दा अगाडिको कुरा हो । पछि राममनोहर घटना घट्यो । उहाँको हिरासतमा मृत्यु भयो । हामी तयसलाई हत्या भन्छौं । त्यो पनि लोकतन्त्रको कालोधब्बा हो । उहाँमाथि कुनै मन्त्रीज्युलाई कालोझन्डा देखाउनु भयो भनेर आरोप लगाइयो । पछि समातेर उहाँको मृत्यु भयो, हत्या भयो । त्यसपछि यो सविधानले जति अधिकार दिएको छ, त्यो अधिकार दिएको छैन भनेर कालो दिवस मनायौं । त्यसको प्रतिसोध राख्न छापा मारेर मलाई जेलसम्म पु¥याइदिए । जेल बस्दा वार्ता अगाडि बढ्न सकेन । पछि धेरै गृहकार्यपछिमात्रै वार्ता सफल भयो । पछि पार्टी गठन ग¥यौं । लगत्तै कोरोना महामारी सुरु भयो ।  मूलधारको राजनीतिमा हामी परिवर्तन गर्न सकिन्छ भनेरे आएका हौं । योभन्दा अगाडि संसदमा संसदमा पुगिसिकेपछि धेरै कुरा गर्न सकिन्छ भन्ने थियो ।  तर, त्यहाँ गइसकेपछि बोल्न पनि पाइँदैन भनेर थाहा पाएँ । त्यहाँ को कहिले बोल्ने पालो हुन्छ । अर्को, संसदमा कोसँग कति राम्रो र महत्वपूर्ण विषय छ भनेर महत्व राख्दैन । त्यहाँ कसले कति बोल्ने भन्ने उनीहरुको सिट संख्याका आधारमा हुने रहेछ । (पोखरामा जारी ११ औं नेपाल लिटरेचर फेस्टिभलमा डा सिके राउतले ‘मधेश मन्थन’ विषयक सेसनमा राखेको विचारको सम्पादित अंश । उक्त सत्र खगेन्द्र संग्रौलाले सहजीकरण गरेका थिए ।)  

पोखरा:     पोखराको अमरसिंह माविमा कक्षा ११ मा पढ्ने ऋद्धि पोखरेललाई पुस्तक पढ्न खुब रुची लाग्छ ।  पाठ्यक्रमको पुस्तक पढेर निस्किएको फुर्सदमा उनले बाहिरी विषयका पुस्तक पढ्नलाई समय छुट्याउँछिन् ।  बाहिरी पुस्तकमा उनको ध्यान घरमा अभिभावकको पढिरहने बानीले तानेको हो । ‘घरमा ड्याडी ममीले पुस्तक पढ्न एकदमै रुची दिनुहुन्छ । र उहाँहरुले पुस्तक घरमा ल्याउनुहुन्छ । त्यो देखेर यो पुस्तकमा के रहेछ ? कस्तो रहेछ ? पढ्ने ज्ञिजासा जागृती हुन्छ’, उनले भनिन् ।  विद्यालयमा भएको पुस्तकालयले मात्रै बालबालिकामा पठन संस्कृतिको विकास नहुने तर्क उनको छ । ‘विद्यालयमा केबल लाइब्रेरी मात्रै भएर विद्यार्थीहरु पुस्तक पढ्न अभिप्रेरित हुदैनन् । पुस्तक पढ्नुको फाइदाबारे बुझाउन सक्नुपर्छ’, उनले भनिन् । पुस्तकबारे छलफल र अन्तरक्रिया गर्नलाई विद्यालयले वातावरण मिलाइदिनुपर्ने उनको भनाइ छ । ग्लोबल कलेजियट स्कुलको कक्षा–८ मा पढ्ने आर्या हमाललाई पनि पुस्तक पढ्ने बानी अभिभावककै कारणले बसेको हो । उनका बुवाले त झन् छोरीका लागि भनेर हप्तैपिच्छे एउटा नयाँ पुस्तक ल्याइदिन्छन् रे ।  आर्या भन्छिन्, ‘यति धेरै पुस्तक छन् की तिन वटा कोठामा एउटा त पुस्तकले नै भरिएको छ । केही विज्ञानसँग सम्बन्धित छन् त केही सहित्यसँग ।’  पुस्तक पढ्ने माध्यम केबल पुस्तकालय मात्रै नभएको उनको भनाइ थियो । साहित्यिक कार्यक्रमले पनि पठन संस्कृति बसाल्ने उनले बताइन् ।   ‘साहित्यिक कार्यक्रम वर्षमा एक पटक मात्रै नभइ हरेक महिना, अझ भएसम्म त हरेक हप्ता हुनुपर्छ’, उनको सुझाव छ । विद्युत्तिय सञ्चार माध्यमको प्रयोगले पनि पुस्तक पढ्न सकिने हमालको जानकारी दिइन् ।  ‘पुस्तक पढ्न कुनै पनि शुल्क लगाउनु हुदैन  । रुची अनुसारको पढ्न प्रेरित गरेमा उनीहरुले आफ्नो मनबाट पढ्ने जिज्ञासा राख्दछन् । बल्ल साँचो सिकाइ प्राप्त गर्छन्’, उनलाई लाग्छ ।  सैनिक आवासीय महाविद्यालयमा कक्षा १२ मा पढ्ने संसार क्षेत्रीले पाठ्यक्रमभन्दा बाहेक पहिलो पटक नाम सुनेको पुस्तक  हो ‘मुना मदन’ । बाल्यकालमा उनका शिक्षकले मुना मदनको चर्चा गरिरहन्थे । पुस्तक पढ्ने रहर जागेपनि पर्वतको गाउँमा पुस्तकालय नै थिएन  ।  जब गाउँमा कक्षा ५ सम्मको पढाई सकेर पोखरा झरे बल्ल पढ्ने मेसो मिल्यो । विद्यालयको पुस्तकालयले उनको ‘मुना मदन’ पढ्ने रहर पूरा गरिदियो । विद्यालयमा व्यवस्थित पुस्तकालय हुँदा पढ्ने बानीको विकास भएको संसारले सुनाए ।  साथीभाइसँगको भेटवार्तामा पनि नयाँ पुस्तकबारे चर्चा परिचर्चा उनी बताउँछन् । ‘पुस्तक लाइब्रेरीबाट मात्रै लैजानुभन्दा पनि पैसा खर्च गरेर आफैंले किनौं किनौं लाग्छ । अरुमा पैसा गर्नुभन्दा बरु पुस्तकमै खर्च गरौं न भन्ने धारणा बनेको छ’, उनले सुनाए । विद्यालयको पाठ्यक्रमसँगै अन्य पुस्तक पढ्न विद्यार्थीले कसरी समय मिलाउने त एसोएस हर्मन माइनर विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी सहनशीला पौडेलको जवाफ छ, ‘महिनामा एउटा पुस्तक पढ्नुपर्छ भन्ने हिसाबले समय मिलाउने । म विज्ञानको विद्यार्थी समय एकदमै कम हुन्छ । सुत्नुअघि पुस्तकको एउटा च्याप्टर त सक्छु सक्छु भनेर मन बनाउँछु र पढ्छु ।’ विदाको बेलामा पढ्ने हुँदा विद्यालयको पठनपाठनमा कुनै असर नगर्ने सहनशीलाले बताइन् ।  ‘पढेको पुस्तक र प्रभाव’ विषयको सेसनमा विद्यार्थीहरु आर्या हमाल, श्रेया लामिछाने, सुजल केसी, सहनशीला पौडेल, ऋद्धि पौखरेल, समन गुरुङ र संसार क्षेत्रीसँग साहित्यकार दीपक पराजुलीले वार्तालाप गरे ।  पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको अलिमियाँ कक्षमा भएको वार्तालापमा सहभागी विद्यार्थीले पुस्तकालयमा सबैको रुची अनुसारको पुस्तक नपाइनेमा भने दुखेसो सुनाए । पुस्तकले संसार हेर्ने दृष्टिकोण बदल्ने विचार सहभागी विद्यार्थी पाठकको थियो ।   

पोखरा:   पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलमा विद्यार्थीलाई डिजीटल साक्षरता कार्यक्रम भएको छ ।  शब्दहरुको उत्सव, स्रष्टाहरुको महोत्सव लिटरेचर फेस्टिभलमा विद्यार्थीलाई लक्षित गर्दै डिजीटल साक्षरता प्रदान गरिएको हो ।  ग्लोबल आइएमी बैंकका रिलेशनसीप म्यानेजर सागरबहादुर सिंहले विद्यार्थीलाई डिजीटल बैंकिङको बारेमा सहजीकरण गरे ।  सिंहले विद्यार्थीलाई डिजिटल बैंकिङको फाइदाबारे चर्चा गरे । डिजिटल युगमा डिजिटल बैंकिङ सेवाले सेवाग्राहीलाई सहज बनाएको उनको भनाइ थियो । उनले मोबाइल बैंकिङमार्फत विद्यालयको शुल्क तिर्ने व्यवस्था मिलाएको बताए । ‘स्कुलको फि पेमेन्ट सेवा धेरैलाई दिइरहेका छौं । बच्चालाई पैसा दिएर वा बुवाआमालाई भनेर पैसा तिर्ने गर्नुपर्दैन ।  घरमै बसेर मोबाइल बैंकिङमार्फत स्कुलको खातामा फि तिर्न सकिन्छ’, सिंहले भने  । यो सेवाले अभिभावकको समयको बचतसँगै समयमै शुल्न तिर्न सहज हुने उनको विश्वास छ ।  मोबाइल बैंकिङ निकै सुरक्षित भएको उनले बताए । ‘मोबाइल बैंकिङ भएपछि अरुको फ्रड गर्छ की अफ्ठ्याराहरु पर्छ की भन्या जस्तो सोच्नु भएन । बायोम्याट्रिक, युजरनेम, पासवर्ड, ओटिपीबाट सुरक्षा प्रदान गरिरहेका छौं’, सिंहले विश्वस्त बनाए । उनले ओटीपी कोर्ड, पासवर्ड, पीन नम्बर र सुरक्षा प्रश्नहरु अरुमाझ नबाँड्न सिंहले अनुरोध गरे । ग्लोबल आइएमी बैंकले डिजिटल बंैकिङ सेवातर्फ मोबाइल बैंकिङ, इन्टरेट बैंकिङ, क्युआर कोड पेमेन्ट, डेबिट र क्रेडिट कार्ड, ट्राभल कार्ड, इकम कार्ड, मिस्डकल बैंकिङ र भाइबर बैंकिङ सेवा दिदैं आइरहेको छ । ‘क’ वर्गको ग्लोबल आइएमीले ३५६ शाखामार्फत सेवा दिदैं आइरहेको छ । २७८ एटीएमसहित विदेशबाट समेत प्रादेशीक कार्यालयमार्फत सेवा दिएको छ ।  

पोखरा:   पोखरा लाहुरेको सहरको रुपमा परिचत छ । गोरखा शब्दसँग पोखराको निकै पूरानो साइनो गाँसेको पोखरा अहिले पनि उस्तै प्रयत्नशील छ । रिटायर्ड लाहुरे मात्रै होइन भर्ती भएर लाहुरे बन्नेहरुको लर्को पोखरामा देखिन्छ ।  लाहुरेको सहर पोखरामा यतिबेला ११ औं संस्करणको सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिबलको सरगर्मी छ । आइतबार फेस्टिबलमा लाहुेरनीको कथा व्यथा सुनाइयो ।  पहिलो होस् या दोस्रो विश्वयुद्धमा गोरखा लाहुरेले आँट देखाए, वीरताको इतिहास लेखाए ।  इतिहासका पानामा गोरखा लाहुरेका कथा धेरै लेखिएको छ । कतै बहादुरीको कथा त कतै इमानदारीताको । तर, लाहुरेनीको कथा नेपथ्यमै हराइरह्यो ।  गोली, बारुद र खुकुरीको धारमा होमिने लाहुरेका आत्मविश्वास बनेका लाहुरेनीहरु जहिल्यै छायामै परेको लाहुरेनीका कथा सेसनमा सहभागी वक्ताले एकै स्वरमा भने । मिना गुरुङलाई त लाहुरेनीप्रतिको हेर्ने दृष्टिकोणले आत्म दुखाएको छ । विलिन लाहुरेनीको कथा कसैले कोट्याउन नखोजेको उनले बताइन् । ‘यो कथाव्यथा, लाहुरेनीको योगदानलाई उसले निभाएको अहम भूमिकालाई कसैले पनि चासो दिएनन् । समाजका यतिधेरै प्रभुत्व व्यक्ति, इतिहासविद्हरु, राजनीतिकर्मीहरुले, साहित्यकारहरुले ध्यान दिएनन्’, गण्डकी प्रदेश सभाको पूर्व सदस्यसमेत रहेकी गुरुङले गुनासो गरिन् । पुस्तकमा पनि लाहुरेनीको कथा कतैं नलेखिएको उनको भनाइ छ । गोरखा महिलाले वेदनापूर्ण जीवन बिताएको उनले स्मरण गरिन् । आफ्नो सपना निमोठेर बाँच्नुपरेको मिना स्वयमको भोगाइ छ । लाहुरेनीका सुखदुखबारे चित्र कोर्दै आइरहेकी चित्रकार सुजना थापा श्रीष २०७ वर्षपछि बल्ल गोरखा महिलाबारे थोरै भएपनि चर्चा हुन थालेको बताउछिन् । लामो इतिहासमा लाहुरेनी हराएको उनले बताइन् । ‘कथाहरु लाहुरेकै आयो बहादुरीको, विजयको । तर, हामीले भावनात्मक, आर्थिक, अलिकति सामाजिक कुरालाई छाड्यौ’, अनुसन्धानकर्मीसमेत रहेकी सुजनाले भनिन् । गोरखा इतिहासलाई पाठ्यक्रममै समेट्न नसक्दा लाहुरेनी गुमनाम भएको उनको ठम्याइ छ । शब्द र कथाले बुनेको गोरखा इतिहासमाथि गहिरो अनुसन्धानको आवश्यकता सुजनाले औल्याइन् । ‘मुख्य समस्या बौद्धिक फोरममा आएर गोरखा महिलाबारे बुझाउन सकेका छैनौं’, उनले भनिन् । गोरखा भूतपूर्व सैनिक संघ (गेसो)  का संस्थापक महासचिव डा. चन्द्रबहादुर गुरुङ गोरखा महिलाले लडाँइमा श्रीमानको गुमाएर पनि पेन्सन नपाएको सुनाए । गाउँमा एकाथरी नाम पल्टनमा अर्कोथरी नाम हुँदा आर्थिक रुपमा चेपुवामा परेको उनले बताए ।  ‘प्रेमी फर्केर आउँछ भन्दा भन्दै जीवन बित्यो । पेन्सन पनि पाएनन् समाजले पनि नानाथरी लाञ्छना लगायो’, उनले भने । गोरखाका महिलाको पीडा सुनाइसाध्य नरहेको चन्द्रबहादुर बताउँछन् । ‘बाध्यताको देशमा हामी छौं’, उनले सुनाए ।   

पोखरा:  फागुन २४ देखि २६ गतेसम्म चिप्ली महाशिवरात्री मेला हुने भएको छ ।   श्री सिद्ध युवा क्लब मादी गाउँपालिका ६ चिप्लीको आयोजनामा हुने उक्त मेला क्लबको खेल मैदानमा हुने भएको हो ।   मेलाको अवसरमा विविध खेलकुद एवम् साँस्कृतिक कार्यक्रम समावेश गरिएको क्लबका अध्यक्ष नारायण गुरुङले जानकारी दिए  ।    ‘चिप्ली महाशिवरात्री मेला क्लबको वार्षिकत्सवको अवसरमा आयोजना गरिएको हो’, उनले भने,‘कार्यक्रममा भलिबल, छेलो, रस्सी तान्ने र घैटो फुटाई जस्ता खेलकुद कार्यक्रमसहित विविध सांस्कृतिक कार्यक्रम गरिएको छ।’   चिप्लीको विकासमा टेवा पुर्याउने लक्ष्यसहित मेलाको आयोजना गरिएको उनले बताए ।     स्थानीय उत्पादनको प्रवद्र्धन सँगै खेलकुदका माध्यम पर्यटन प्रवद्र्धनमा चिप्लीलाई माथि उठाउन मेला साहयक सिद्ध हुने उनले उल्लेख गरे ।   मेलाकै समयमा मादी गाउँपालिकाको सहयोगमा सिद्ध युवा क्लबले निर्माण गरेको स्टेजसमेत उदघाटन गरिने क्लबका पूर्वअध्यक्ष विशाल गुरुङले जानकारी गराए । मेलाको उदघाटन मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले गर्नेछन् ।   मेलाको समयमा आयोजना गरिएको भलिबल प्रतियोगिता साबिक गाउँस्तरिय हुनेछ । जसमा २० टीमको सहभागिता रहने आयोजकको अपेक्षा छ । भलिबल प्रतियोगितामा प्रथम हुनेले ७० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।   यस्तै द्धितिय हुनेले ४० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने गुरुङले बताए ।   छेलो प्रतियोगितामा प्रथम हुनेले १० हजार नगद सहित फेता र प्रमाणपत्र प्राप्त गर्नेछन् । रस्सी तान्ने प्रतियोगितामा प्रथम र द्धितिय हुनेले क्रमश १० हजार र ५ हजार नगद सहित प्रमाण पत्र प्राप्त गर्नेछन् । घैटो फुटाई   प्रतियोगिता महिलाको मात्र हुनेछ जसमा प्रथम हुनेलाई नगद ५ हजार सहित प्रमाण पत्र प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।   भलिबल प्रतियोगिताको सेमिफाइनलबाट बाहिर निस्केको दुई टीमलाई ५ हजारका दरले पुरस्कार प्रदान गरिनेछ ।   फागुन २५ गते बेलुका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विविध सांस्कृतिक कार्यक्रम रहने आयोजकले जनाएको छ ।

कास्की: कास्कीको शान्ति सुरक्षा थप मजबुद बनाउन र अपराध अनुसन्धानमा सफलता हासिल गर्न एसपी थापाको योगदान रहेको भन्दै एसपी मोहन थापालाई पुरस्कृत भएका छन् ।   गण्डकी प्रदेश सरकारको छैटौँ स्थापना दिवसको अवसरमा एसपी थापा उत्कृष्ट इन्चार्ज घोषित हुदै पुरस्कृत भएका हुन् ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एसपी थापालाई प्रशंसा पत्र र नगद २५ हजार प्रदान गरे ।    एसपी थापा विगत ५ महिनादेखि जिल्ला प्रहरी कार्यालय कास्कीको इन्चार्जको जिम्मेवारीमा छन् ।    यस्तै प्रदेश सरकारले प्रहरी वरिष्ठ उपरीक्षक अरुण पौडेल र प्रहरी नायव उपरीक्षक भोजराज पाण्डे, सशस्त्र प्रहरी बलतर्फ प्रहरी नायव उपरीक्षक रविन अधिकारी, प्रहरी हवलदार रवीन्द्र थापा र जवान माधव भुसाललाई पनि पुरस्कार प्रदान गरेको थियो ।

म्याग्दी:   जिल्ला प्रहरी कार्यालय म्याग्दीले अवैध लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा मालिका गाउँपालिका–२ रूम बस्ने ३४ वर्षीय तिलक बिक रहेका छन् ।   उनलाई बेनी नगरपालिका ८ पिपलचोकबाट करिब ४ किलो ४६ ग्राम चरेशजस्तो देखिने वस्तुसहित प्रहरीले पक्राउ थियो ।    पक्राउ परेका बिकमाथि थप अनुसन्धान भइरहेको म्याग्दी प्रहरीले जनाएको छ ।  

धनुषा:    मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आज तेस्रोपटक विश्वासको मत लिँदै छन् । मधेस सरकारमा सहभागी जनमत पार्टीले गत माघ ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले  विश्वासको मत लिन लागेका हुन् ।  यसका लागि आज आइतबार २ बजे प्रदेशसभाको बैठक बोलाइएको छ । यसअघि गत जेठ १ गते मधेस सरकारमा रहेको नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले ३० औँ दिनमा जेठ ३० गते दोस्रोपटक विश्वासको मत लिएका थिए ।  सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा पुनः ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । नेपालको संविधान २०७२ को धारा १८८ को २ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले जुनसुकै बेला संसद् बैठक आह्वान गरी विश्वासको मत लिनसक्ने प्रावधान रहेको छ । मधेस प्रदेश सरकारमा एक सय सात प्रदेशसभा सदस्यमध्ये बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ । प्रदेशसभामा सबैभन्दा ठूलो दलको रूपमा रहेको नेकपा (एमाले)को २३, नेपाली कांग्रेसको २२ र जनता समाजवादी पार्टी नेपालको १८ सिट रहेको छ । सभामा जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टीको ९, नेकपा (माओवादी केन्द्र)को ९ र नेकपा (एकीकृत समाजवादी) पार्टीको ७, नेपाल सङ्घीय समाजवादी पार्टी एक, नागरिक उन्मुक्ति पार्टी एक, राष्ट्रिय प्रजातन्त्र पार्टी एक सिट र तीन स्वतन्त्र रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता अरुणकुमार झाले बताए ।  मधेस प्रदेश सरकारमा जसपा नेतृत्वको सरकारमा कांग्रेस, लोसपा,  माओवादी केन्द्र र नेकपा एसे रहेका छन् । चार दल मिलाउँदा ६५ जनाको समर्थन देखिएको छ ।

काठमाडौं:    आजको प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ । प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग  प्रत्यक्ष प्रश्नोत्तर हुने संसद् सचिवालयले कार्यसूचीमा उल्लेख गरेको छ ।  प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम हुने गरी निर्धारण गरेको संसद् सचिवालयले जानकारी गराएको छ ।