गोरखा:   गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ।  पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय  स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्...

काठमाडौं:     नेपाली कांग्रेसले नेता केशवकुमार बुढाथोकीको निधनमा तीन दिन पार्टीको आधा झन्डा झुकाउने निर्णय गरेको छ । मंगलबार बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले माघ २३, २४ र २५ गतेसम्म केन्द्र, प्रदेश र सबै जिल्ला कार्यालयमा झन्डा आधा झुकाउने  निर्णय गरेको हो । यस्तै कांग्रेसले पार्टीका पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गरेको छ । कांग्रेसले माघ २४ गते केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।  उनका अनुसार स्वर्गारोहणको १३ औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने छ । स्वर्गारोहणको १३ औँ दिनमा सम्बन्धित जिल्ला झापामा शोक सभाको आयोजना गरिने उनको भनाइ छ । माघ १३ गतेदेखि जारी कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान पनि स्थगित भएको छ । कांग्रेस केन्द्रीय सदस्य, संविधान सभा सदस्य एवं पूर्व सामान्य प्रशासनमन्त्री बुढाथोकीको विराटनगर स्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा माघ २२ गते निधन भएको थियो । स्वर्गीय बुढाथोकीले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ । ‘उहाँको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहनेछ । उहाँको निधनबाट नेपाली कांग्रेस मर्माहत र स्तब्ध भएको छ,’ विज्ञप्तिमा भनिएको छ । बुढाथोकीको आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति कांग्रेसले समवेदना प्रकट गरेको छ ।

गोरखा:     गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा दीर्घरोगीका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरुआत गरेको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ मा विनियोजित बजेटमार्फत पालिकाभित्रका सबै गर्भवती तथा दीर्घरोगीका लागि स्वास्थ्य बीमा गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले जानकारी दिए । “पालिकाले दीर्घरोगी र गर्भवतीका लागि वार्षिक रु एक लाखसम्मको स्वास्थ्य बीमाको थालनी गरेको छ”, उनले भने, “स्वास्थ्य बीमा कार्यक्रमले लक्षित परिवारमा अबदेखि सहज स्वास्थ्य सेवाको पहुँच पुग्नेछ ।” गाउँपालिकाले वडा नं ६ बाट विश्व ‘क्यान्सर’ दिवसका अवसर पारेर स्वास्थ्य बीमा कार्यक्रमको थालनी गरेको छ ।  आग्रीडाँडा सामुदायिक स्वास्थ्य एकाइमा ‘क्यान्सर’पीडित परिवार तथा गर्भवतीलाई स्वास्थ्य बीमा फारम उपलव्ध गराएर बीमा कार्यक्रमको औपचारिक सुरुआत गरिएको उनको भनाइ छ । कार्यक्रम सुरु भएसँगै पालिकाभित्रका सबै गर्भवती तथा सूचीकृत भएका दीर्घरोगीलाई निःशुल्क स्वास्थ्य बीमा उपलव्ध गराउँदै जाने प्रमुख तिमल्सिनाले जानकारी दिए । “कार्यक्रमबाट गर्भवतीको सुत्केरी हुँदा लाग्ने खर्च तथा आमा र बच्चाको स्वास्थ्योपचारमा खर्च न्यूनीकरण हुनेछ”, उनले भने, “नियमितरूपमा औषधि सेवन गर्नुपर्ने तथा उपचार गर्नुपर्ने दीर्घरोगीका लागि कार्यक्रमले उपचारका लागि थप सहज हुनेछ भन्ने अपेक्षा गरिएको छ ।” गण्डकी गाउँपालिकाभित्र अहिलेसम्म सूचीकृत भएका ८४ दीर्घरोगी छन् । दीर्घरोगी तथा गर्भवतीलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्षका लागि रु १० लाख बजेट विनियोजन गरेको थियो । कार्यक्रम अब निरन्तर चल्नेछ । बीमा गर्दा गर्भवती तथा दीर्घरोगीका परिवारका पाँच जना सदस्यको समेत निःशुल्क स्वास्थ्य बीमा हुने गाउँपालिकाले जनाएको छ ।

काठमाडौं:    कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले फरक ढङ्गबाट जनताको समस्यालाई सम्बोधन गर्न विभिन्न काम गरिरहेको जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो,“ सरकारले प्रदेशको भौतिक पूर्वाधार,शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा फरक ढङ्गबाट विपन्न जनतालाई लाभ हुने गरी काम गरिरहेको छ । ” सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा स्थित जामिया इस्लामिया मदर्सामा सोमबारदेखि सुरुआत भएको चारदिने वार्षिक शैक्षिक तथा सांस्कृतिक प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकाका लागि निःशुल्क उपचारको व्यवस्था गरेको बताउनुभयो ।  प्रदेश सरकार दक्ष जनशक्ति उत्पादनमा केन्द्रित रहेको र यस्ता जनशक्तिलाई प्रदेशमै रोजगारीको अवस्था सिर्जना गर्नेसमेत उहाँले दाबी गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, प्रदेश सभासदस्य इसराइल मन्सुरी, सदानन्द मण्डल, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजादलगायतको सहभागिता थियो ।

म्याग्दी:     शरीरका लुगाफाटा च्यातिएका छन् । कपाल र दारी फुलेर सेता भएका छन् । गालाका छाला चाउरी पर्न थालिसकेका छन्  । तर उमेरले ७० वर्ष पार गर्नुभएका धवलागिरि गाउँपालिका–५ मल्कबाङका हिराप्रसाद तुलाचन अझै गोठालो जीवनमै सक्रिय हुनुहुन्छ । उमेरले बुढ्यौली लागेर न्यानो र आरामदायी जीवनयापन खोज्न थाले पनि उहाँको जिन्दगी भने भकारीले छाएका गोठमा हिमपात, वर्षा र चिसोसँग सामना गर्दै बित्ने गरेको छ ।  गोठमा भैँसीलाई चरनखर्कमा चराउने, घाँस दाउरा काट्नेदेखि बिहान–बेलुका गोठमा वस्तुभाउको स्याहारसुसार, कुँडो–भकारोको काम उहाँको नियमित दैनिकी हो । जीवनको अधिकाश समय गोठमा बिताउनुभएका उहाँको भैँसीगोठमा अहिले नौवटा भैँसी छन् । उहाँले परम्परागतरूपमा घुम्तीगोठ राखेर भैँसीपालन गर्दै आउनुभएको छ । बर्खायाममा लेकाली बुकीहरूमा पुर्याउने घुम्तीगोठ हिउँदयाममा भने बेँसी फाँटसम्म ल्याउने गरिन्छ । घुम्तीगोठलाई यहाँका पशुपालक किसानले रुवाचौर, एकराते, नेपाने, नयाँवन, च्यामली, रुरुलगायतका लेकाली बुकीहरूमा गोठ सार्ने गर्छन् । गाउँको फेदीबाट बग्ने कालीखोलाको किनारमा रहेको काफलडाँडाको फाँटमा गोठ राख्नुभएका किसान तुलाचनको गोठमा रहेका भैँसीमध्ये एक दुहुनो र तीनवटा ब्याउने भैँसी छन् । “म सानैदेखि गोठमै हुर्किएको हुँ, बुवाआमा पनि गोठमा बस्नुहुन्थ्यो, हुन त देश–विदेश पनि घुमेँ, भनेजस्तो नभएपछि गाउँ फर्किएर पुर्खाकै पेसा अँगालेर गोठाला बनेको हुँ”, उहाँले भन्नुभयो । रोजगारीका लागि कोरिया गए पनि छ महिनामै फर्कनुपरेको र पुनः जापान जाने तयारी गरे पनि सफल नभएपछि गाउँ फर्किएको उहाँको भनाइ छ । गाउँ आएपछि सुरुमा कास्कीको नौडाँडाबाट म्याग्दी सदरमुकाम बेनीसम्म सामान ढुवानी गर्नेगरी खच्चड व्यवसाय सुरु गर्नुभएका तुलाचनले दुई महिनामै आफ्नो पुख्र्यौली पेसा घुम्तीगोठमा पशुपालन सुरु गरेको विगत स्मरण गर्नुभयो । परिवारमा छ दाजुभाइ रहे पनि अन्यले काठमाडौँ, बुटवल, थाकखोलालगायतका ठाउँमा व्यापार व्यवसाय गरे पनि आफूले पुख्र्यौली घुम्तीगोठलाई निरन्तरता दिएको उहाँको भनाइ थियो । करिब १५ वर्षसम्म भेडाबाख्रापालन गर्नुभएका तुलाचनले दुई दशकदेखि भने भैँसीपालन गर्दै आउनुभएको छ । बीस–पच्चीसवटासम्म भैँसी पाल्ने गर्नुभएका उहाँले उमेर बढ्दै र कामको दौडधुप गर्ने शक्ति घट्दै गएपछि भैँसीको सङ्ख्या घटाउँदै लगेको जानकारी दिनुभयो ।  गोठबाट दूध दिने भैँसी, राँगा र घिउ बिक्री गरेर हुने आम्दानीबाट आफ्नो घरखर्च चलेको उहाँले बताउनुभयो । बेनीमा होटल व्यवसाय गर्ने आफ्नो छोरीसँगै श्रीमती पनि बजारमा बस्न थालेपछि तुलाचन भने गाउँकै घुम्तीगोठमा रमाउनुभएको छ । “मलाई पनि गोठ नबस्न परिवारले भन्दै आएका छन्, तर तल बजारमा गएर म बस्नै सक्दिनँ, बजारतिर त रोग पनि के–के हो के–के लाग्ने, गाउँकै चिसो हावापानीमा बस्दा मलाई खुसी मिलेको छ, मेरो तागतले भ्याएसम्म म गोठमै उकाली–ओराली गर्ने सोचमा छु”, उहाँले भन्नुभयो ।  घुम्तीगोठ भएकाले खर्क र बुकीमा गोठ सारिरहनुपर्ने र यसका लागि काम गर्ने व्यक्तिलाई ज्याला दिनुपर्दा गोठको दुःख आफूलाई आम्दानी जति गोठलाई हुने गरेको उहाँले बताउनुभयो । “एक ठाउँमा गोठ बनाउन, तीन–चारजना मानिस चाहिन्छ, ठाउँ–ठाउँमा सरकारले घुम्तीगोठको अस्थायी टहरा बनाइदिए सहज हुने थियो, हामी गोठालाको कुरा कसले सुन्ने”, उहाँले दुखेसो पोख्नुभयो ।  गाउँबाट घुम्ती गोठ रित्तिन थालेका छन् । बढ्दो वैदेशिक रोजगारका कारण गोठमा युवापुस्ताको आकर्षण छैन । गोठ बस्ने दौतरी गाउँ र सहर पसेपछि साथी भेट्नसमेत मुस्किल पर्ने गरेको उहाँ गुनासो गर्नुहुन्छ । तुलाचनको उमेरका गोठ बस्ने व्यक्ति अहिले गोठमा भेटिन कठिन हुने मल्कबाङका भेडापालक किसान देवान छन्त्यालले बताउनुभयो । उहाँले गोठमा गरिने परम्परागत पशुपालन व्यवस्थित र व्यावसायिक नहुँदा युवापुस्तालाई यो पेसाले आकर्षण गर्न नसकेको जानकारी दिनुभयो ।

पोखरा:    पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा रातो मच्छिन्द्रनाथ र भोटो जात्राबारे जानकारीसहितको ऐतिहासिक फोटो प्रर्दशनी सुरु भएको छ ।  संग्रहालयको २१ औं स्थापना दिवसको अवसरमा पाटन दरबार संग्रहालय र हनुमान ढोका दरबार संग्रहालयको सहकार्यमा ऐतिहासिक फोटो प्रदर्शनीमा राखेको हो । रातो मच्छिन्द्रनाथ र भोटो जात्राबारे ऐतिहासिक फोटो प्रदर्शनी माघ २८ गतेसम्म चल्नेछ ।  पोखराको रातोपैह्रामा रहेको फोटो प्रदर्शनीलाई पोखरा महानगर प्रमुख धनराज आचार्य र ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । कार्यक्रममा पोखरा महानगरका प्रमुख धनराज आचार्यले हिमाली क्षेत्रको रहनसहन, संस्कृति र परम्परा झल्काउन र जीवन्त राख्न म्युजियम महत्वपूर्ण रहेको बताए । उनले फोटो प्रदर्शनीले २ ठूला सहरबीचको सांस्कृतिक सम्पदा आदानप्रदान हुने विश्वास व्यक्त गरे । ललितपुर महानरका प्रमुख चिरीबाबु महर्जनले ललितपुर वरिपरि मनाइने ऐतिहासिक जात्राबारे पोखरामा जानकारीमूलक फोटो प्रदर्शनीले दुवै सहरको प्रचारप्रसारमा सहयोग पुग्ने बताए ।  सांस्कृतिक सहर ललितपुरमा सम्पदा संरक्षण र पुनर्निर्माणको काम अधिकांश भइसकेको जानकारी दिए । ‘सम्पदाको संरक्षण आजमात्र नभई भोलिका लागि पनि हो । त्यसमा हामी सचेत हुनुपर्छ’, उनले भने । सो अवसरमा प्रदर्शनीमा रातो मच्छिन्द्रनाथ रथ यात्राबारे जानकारी, यात्राको रुट, डकुमेन्ट्रीलगायत प्रदर्शनीमा राखिएको छ । साथै, हनुमान ढोका दरबार क्षेत्रका ऐतिहासिक तस्वीरहरु पनि प्रदर्शनमा राखिने भएको छ । ‘हनुमान ढोका दरबार संग्रहालय तथा विकास समितिको सहकार्यमा शाही चित्रकार तथा दरबार फोटोग्राफर दीर्घमान चित्रकार र उनका छोरा गणेशमान चित्रकारले खिचेको चित्र, तस्वीर, दरबार क्षेत्रका स्मारक, जात्रा, उत्सव, तथा जनजीवन झल्किने फोटो एकहप्तासम्म पोखरामै हेर्न व्यवस्था मिलाएको छौं,’ संग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपानेले भनिन् । प्रदर्शनीमा पाटन ढोका दरबार क्षेत्रका महत्वपूर्ण सम्पदाहरु तलेजु मन्दिर, प्रताप मल्लको परिवारसहितको शिलास्तम्भ, मल्लकालीन मूलचोक, मोहनचोकलगायत प्रथम विश्व उुद्धका लागि तयार पारिएका नेपाली सेना, विसं. १९९० को महाभूकम्प आदि झल्कने २२ तस्वीर पनि राखिएको छ ।  साथै, २१ औं पर्वतीय संग्रहालय दिवसको अवसरमा जर्मनी आरोही हेनिज स्टेन्मिजले नेपालको अन्नपूर्ण चौंथो आरोहण गर्दा खिचेको ऐतिहासिक फोटोसमेत प्रदर्शनीमा राखिने भएको छ । हेनिजले सन् १९९५ मा अन्नपूर्ण चौथो आरोहण गरेका थिए ।  सन् २००२ देखि बनाउन सुरु भएको संग्रहालय २००४ फेब्रअरी ५ मा उद्घाटन भएको थियो । संग्रहालयमा विश्वका ८ हजारभन्दा बढी उचाइ भएका १४ हिमचुचुरा, आरोहण इतिहास, जानकारी तथा गतिविधि बुझाउन तस्वीर तथा सामग्री प्रदर्शनमा राखिएका छन् ।  संग्रहालय संयोजक ठाकुराज पाण्डले चालु आर्थिक वर्षको पुस मसान्तसम्म ९८ हजार ५३८ जनाले संग्रहालय भ्रमण गरेको र त्यसबाट साढे १ करोडल रुपैयाँ आम्दानी भएको जानकारी दिए ।

पोखरा:   पोखरामा जारी अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड फुटबल प्रतियोगितामा सोमबार ६ खेल सम्पन्न भएका छन् ।  बगर भाइखलकको आयोजनामा आइतबारदेखि सुरु भएको दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइ खलक अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा एक्स वारियर पोखराले सुनाखरी काठमाडौंलाई ३–० ले हराएको छ । एक्सको जितमा किशोरदेव थापाले दुई तथा सुशिल श्रेष्ठले एक गोल गरे ।  दोस्रो खेलमा चिया पप ठमेलले हरिवन भेट्रान सर्लाहीलाई ६–१ ले हरायो । चिया पपको जितमा सन्तोष नेपालीले दुई तथा मिलन अधिकारी, रमेश गुरुङ, विपिन शाही र मित्रबहादुर बस्नेतले समान एक÷एक गोल गरे ।  निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो खेलमा नाइट किंग काठमाडौंले लखन ब्रदर्श बुटवललाई टाइब्रेकरमा ४–३ ले हरायो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । नाइट किंगका लागि राकेश श्रेष्ठ र नवराज गौतमले गोल गरेका थिए भने लखनका लागि यामु राना र भरत गुरुङले गोलगर्दा खेल बराबरीमा सकिएको थियो ।    चौथो खेलमा फ्रिडम फाइटर काठमाडौंले भारतको खेलो भेट्रान देरादुनलाई ६–२ ले हरायो । फ्रिडमका लागि राजकुमार घिसिङले ह्याट्रिक गरे भने कमल विष्ट र विकर्ण श्रेष्ठले एक÷एक गोल गरे । देरादुनका लागि गोविन्द सिंह र मनिष शर्माले समान एक÷एक गोल गरे ।  पाँचौ खेलमा रोजरपाटी काठमाडौंले सिमरा भेट्रान माथि ३–० को जित हासिल ग¥यो । जोरपाटीका लागि सुरज सुवेदी, उमेश लामा र निमा लामाले गोल गरे । यस्तै दिनको अन्तिम खेलमा चावहिल काठमाडौंले एन.जेजे.वाई.सी सिमरालाई ४–१ ले हरायो । चवाहिलको जितमा कप्तान पासाङ शेर्पाले ह्याट्रिक गरे भने जगतमान लामाले एक गोल गरे समराका लागि राजु राईले एक गोल गरे । प्रतियोगिताअन्तरगत भोलि प्रिक्वाटरफाइनलका सात खेल हुनेछन् ।   

पोखरा:  गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले चलचित्र निर्देशक राजु गिरीको नयाँ सिनेमा “इश्वर” को शुटिङ शुभारम्भ गरेका छन् ।    सोमबार साँझ विन्ध्यवासिनमी मन्दिरमा इश्वरको छायाँकन शुभारम्भ गर्दै पूर्वमन्त्री समेत रहेका थापाले सिनेमामार्फत पोखराको प्रचारप्रसारमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।  ‘पोखरा सुन्दर नगरी हो । यहाँ अक्सर थुप्रै सिनेमाहरु छायाँकन भइरहेका हुन्छन् । पोखराको प्रचारप्रसारमा सिनेमा क्षेत्र मार्फत महत्वपूर्ण योगदान मिलेको छ ।’, उनले भने ।    सिनेमा सम्बन्धि गतिविधि बढाउन प्रदेश सरकारलाई घच्घच्याउन सिनेकर्मीको साथमा आफु पनि रहेको उनले बताए । सिनेमा इश्वरले समसामयिक विषयहरुलाई उठान गरि दृश्य मार्फत सकरात्मक सन्देश प्रवाह गर्नेमा आफु विश्वस्त रहेको भनाई उनको छ ।    आफु मन्त्री हुँदा प्रदेशमा चलचित्र विकास बोर्ड गठन गर्ने प्रक्रियाको सुरुवात भई नीति तथा कार्यक्रममा समेत समेटिएको र पछि राजनीतिक उताडचढावका कारण अगाडि बढ्न नसकेको उनले उल्लेख गरे ।   चलचित्रकर्मीहरुले पहल गरे प्रदेशमा विकास बोर्ड गठन पनि हुने उनले बताए । जसका लागि आफु सदैव साथमा रहेको भनाई उनको छ ।    कलाकार सुनील थापाले विन्ध्यवासिनी मन्दिरमा आफुले चिनो सिनेमाको छायाँकन पछि पाइला टेकेको सम्झना गरे । इश्वरको स्किृप्ट मन परेकाले आफु अनुबन्धित भएको भनाई उनको छ ।    माओत्से गुरुङले पोखरामा पछिल्लो समय एक पछि अर्को सिनेमा छायाँकन भइरहेको र यो पोखराका लागि राम्रो कुरा भएको बताए । काठमाडौंबाट मात्रै सिनेमा निर्माण हुन्छ भन्ने धारणालाई चिर्दै इश्वर माथि उठ्नेमा उनी विश्वस्त छन् ।   माओत्से गुरुङद्वारा निर्देशित सिनेमा “दयारानी” माघ २६ बाट अल नेपाल रिलिज हुँदैछ ।    इश्वर सिनेमाका नायक ध्रुव बहादुर थापाले सिनेमामा आउने सानै देखिको रहर बल्ल पुरा भएको उल्लेख गरे । आफ्नो अभिनयलाई लिएर उनी आशावादी देखिन्छन् । समाजको वेथिति, विसंगति, मायाप्रेम र जीवन संघर्षका कथा सिनेमामा रहेको उनले जानकारी गराए ।    नायिका कृष्टी गुरुङले सिनेमाबाट आफुले राम्रो तारिफ पाउने बताइन् । गुरुङ सिनेमामा अभिनय गरेकी उनी पहिलो पटक नेपाली सिनेमाको नायिकाको रुपमा देखिदैछिन् ।    निर्देशक राजु गिरीले इश्वरको कथा आफ्नोपनको कथा भएको उल्लेख गरे । कमेडी, लबस्टोरी र एक्शनमा सिनेमा बन्ने उनले जानकारी गराए । सिनेमाको सम्पूर्ण छायाँकन पोखरा र कास्की मादी गाउँपालिकाको याङ्गजाकोटमा हुनेछ ।    लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण हुने सिनेमाको मुख्य भुमिकामा कलाकार माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, सुनिल थापा, शिशिर वाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, सविन बास्तोला र गिता अधिकारीको पनि अभिनय रहनेछ ।   दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमाको पटकथा एवम् संवाद भोजराज देवकोटाले तयार पारेका हुन् ।   हरिबहादुर थापा र शंकर गिरी निर्माता रहने सिनेमा राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ ।  

पोखरा:  नेपाल पत्रकार महासंघ कास्कीको डिजिटल साक्षरता, सुरक्षा तथा सूचना अखण्डता तालिम सम्पन्न भएको छ ।   आइतबारदेखि सुरु भएको दुई दिने तालिममा पोखराका ५० बढी पत्रकारको सहभागिता थियो । तालिममा प्रशिक्षक डिजिटल राइट्स नेपालका संस्थापक सन्तोष सिग्देललेप्रशिक्षण दिएका थिए ।    कार्यक्रमको समापन समारोहमा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले डिजिटल साक्षरता सम्बन्धि तालिम पछिल्लो समय अति आवश्यक रहेको उल्लेख गरे ।   उनले पत्रकारिता जगतलाई उक्त तालिम उपलब्ध गराउँदा नागरिक सुसूचित हुने भएकाले पोखरा महानगरपालिकाले सहकार्य गरेको बताए ।    यस्तै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले पत्रकार महासंघ अभिभावकीय संस्था भएको र डिजिटल साक्षरता तालिमको आवश्कयता ठानेर नै कार्यक्रमको आयोजना गरिएको बताइन् ।   उनले कास्कीका पत्रकारहरुमा साक्षरता बढाउन महासंघले तालिम गर्दै आएको जानकारी दिइन् । पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेलले पत्रकार महासंघ कास्कीले आयोजना गरेको तालिमको प्रशंसा गरे ।   प्रशिक्षक सिग्देलले दुई दिनको तालिम पत्रकारका लागि लाभदायक रहेको विश्वास व्यक्त गरे । ‘पत्रकारले एउटा कुरा मात्र जानेर हुदैन हरेक विषयका बारेमा जानकार हुनुपर्छ’,उनले भने ।  पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष दिपेन्द्र श्रेष्ठले समेत प्रशिक्षण दिएका थिए ।

पोखरा:  जिल्ला प्रहरी कार्यालय कास्कीको कार्यालयमा जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव सम्बन्धि सचेतनामूलक बोर्ड राखिएको छ ।   आवाज संस्थाले एक कार्यक्रमको आयोजना गरी आज (सोमबार) कास्की प्रहरी कार्यालयको सहायता कक्षमा उक्त बोर्ड राखेको हो ।   सो अवसरमा बोल्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमख एसपी मोहन कुमार थापाले सेवाग्राहीलाई लक्षित गरी राखिएको बोर्ड निकै उपायोगी हुने विश्वास व्यक्त गरे ।   उनले समाजमा हुने सामाजिक तथा जातीय छुवाछुत र भेदभावका घटनाविद्ध प्रतिकार गर्नुपने बताउदै प्रहरीलाई जानकारी गराउनुपर्ने बताए ।   एसपी थापाले सामाजिक रुपान्तरणका लागि यस्तै जनचेतनामूलक कार्यक्रम आगामी दिनमासमेत निरन्तर गर्दै जान आवाज संस्थालाई सुझाव दिएका थिए ।   आवाज संस्था सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएको छ ।