पोखरा: डिभिजन वन कार्यालय कास्कीले राष्ट्रिय वन अतिक्रमण गरेको आरोपमा पोखरा महानगरपालिका–१८ का ५६ जना विरुद्ध मुद्धा दायर गरेको छ । डिभिजन वन कार्यालय कास्कीले कात्तिक २० गते ५६ जना विरुद्ध वन अतिक्रमण गरेको आरोपमा मुद्धा दायर गरेको हो । पोखरा महानगरपालिका–१८ भकुण्डेस्थित शान्त माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धि बहादुर खड्का लगायत ५६ जना विरुद्ध डिभिजन वन कार्यालय कास्कीले मुद्धा दायर गरेको हो । २०६४/०९/१२ का ११ औं गाउँ परिषद्को निर्णयले श्री सिद्धको थुम्को कित्ता नम्बर ६५९ को ४५ रोपनी ६ आना राष्ट्रिय वन क्षेत्रको जग्गा शान्त मावि, पोखरा–१८ भकुण्डेलाई संरक्षणको लागि दिएको अभियोग पत्रमा उल्लेख गरिएको छ । संरक्षणका लागि दिएको राष्ट्रिय वन क्षेत्रको जग्गा २०६६/०१/०४ गते विद्यालय व्यवस्थापन समितिको निर्णय गरी १० वर्षका लागि काली बहादुर परियारलाई भाडमा दिएको, साथै सोही जग्गा पुनः विद्यालय व्यवस्थापन समितिले ०७८/०४/०१ गतेको निर्णयबाट गैह्रकानुनी रुपमा पोखरा डिज्निल्यान्ड प्रालिका सञ्चालक बसन्त कुमार लिगललाई १२ वर्ष ६ महिना व्यवसाय सञ्चालन गर्न भाडामा दिएको अनुसन्धानमा पेश भएका प्रमाणबाट पुष्टि भएपछि मुद्धा दायर गरिएको उल्लेख गरिएको छ । पोखरा–१८ भकुण्डेस्थित सिद्धाको थुम्कोमा रहेको करिव २ सय रोपनी राष्ट्रिय वन क्षेत्रको जग्गा शान्त माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धि बहादुर खड्काले रिसोर्ट सञ्चालनका लागि भाडामा दिएको, डोजर प्रयोग गरि सम्माएको, रुख कटान गरेर विक्री गरेको उजुरी परेपछि वन क्षेत्र अतिक्रमण गरी गैह्र कानुनी रुपमा जग्गा भाडा लिने दिने, कार्य गरी वन ऐन, २०७६ को दफा ४९ बमोजिम खण्ड (ग) अनुसार कसुर गरेको अभियोगमा प्रतिवादीहरुलाई सोही ऐन दफा ५० को उपदफा (३) बमोजिम सजायको माग गरिएको छ ।
पोखरा: नेपाल पत्रकार महासंघ कास्कीले आज पोखरामा रहेर क्रियाशिल पत्रकारितामा निरन्तरता दिइरहेका ७ पत्रकारलाई पुरस्कृत गरेको छ । पत्रकारहरू कुलचन्द्र न्यौपाने, ओम हमाल, टंकराज अधिकारी, सन्देश श्रेष्ठ, प्रकाश ढकाल, दीननाथ बराल र कृपा भण्डारी रहेका छन् । उनीहरू मध्ये गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारिता पुरस्कार २०७९ बाट न्यौपाने र २०८० बाट हमाल पुरस्कृत भएका हुन् । यो पुरस्कारको राशी नगद २५ हजार रुपैयाँ रहेको थियो । आर्थिक पत्रकारिता पुरस्कार पत्रकार २०७८ टंकराज अधिकारी र २०७९ दीननाथ बराललाई अर्पण गरियो । यो पुरस्कारको राशी नगद बीस हजार रुपैयाँ रहेको थियो । टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार २०७९ सन्देश श्रेष्ठ र २०८० प्रकाश ढकाललाई अर्पण गरियो । यो पुरस्कारको राशी २० हजार १ सय ११ रुपैयाँ थियो । २० हजार ५ सय ५५ रुपैयाँ राशीको जगन्नाथ सिग्देल युवा प्रोत्साहन पुरस्कार २०८० बाट कृपा भण्डारी पुरस्कृत भइन् ।
पोखरा: कास्कीका केही पदमार्गहरु यतिबेला चर्चामा छन् । पोखरादेखि कम समयमा हिउँ खेल्न र शाहसिक पदयात्रामा रम्न चाहनेहरुका लागि रोजाईमा पर्छ कोरी । कोरीसँगै खुमै, मर्दी, र अन्नपूर्ण आधार शिविर (एबिसी) पनि पर्यटकको सेडुअलमा पर्ने गन्तव्य हुन् । उल्लेखित यी पदमार्गहरु कास्कीका लोकप्रिय पदमार्ग हुन् । मादी गाउँपालिकामा पर्ने कपुचे ताल र कोरी पदमार्ग पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइको गन्तव्य हो । जहाँबाट माछापुच्छ्रे लगायतका धेरै हिमश्रृङ्लाको नेत्रभोजन गर्न सकिन्छ । कोरी पदमार्गको प्रवद्र्धनमा स्थानीय पर्यटन व्यवसायीको हात छ । यद्यपी स्थानीय सरकारको पनि नगन्य मात्रामा सहयोग छ । कुनै बेला भेडाहरुले हैकम जमाएको खर्कमा अहिले पर्यटकहरुको ओइरो लाग्ने गरेको छ । उ बेलाको भेडी खर्क अहिले पर्यटकीय गन्तव्यको रुपमा लोकप्रिय बनेको छ । समुद्री सतहदेखि ३ हजार ८ सय मिटर उचाईमा रहेको कोरी यतिबेला हिउँले सिंगारिएको छ । पर्यटन व्यवसायी धन बहादुर गुरुङका अनुसार कोरीमा स्केटिङसमेत खेल्न सकिन्छ । थप तस्बिर: तस्बिर: धन बहादुर गुरुङ (माहिला दाई, नमस्ते गेष्ट हाउस)
काठमाडौं: लागू औषधका थुनुवालाई भगाइ फरार रहेका तत्कालीन प्रहरी जवान १६ वर्षपछि पक्राउ परेका छन् । शक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । तत्कालीन प्रहरी जवान वीरबल राय यादवलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । उनी पथरावुधाम ३ रौतहटका रहेको प्रहरीले बताएको छ । उनले नक्कली चिट बनाइ आफैँले फिल्ड अधिकृतको कीर्ते दस्तखत समेत गरी हिरासत कक्षबाट हत्कडीसहित बाहिर निकाली फरार गरेको अभियोगमा १६ वर्षपछि भारत सीमानाको काँकडभिट्टाबाट माघ ११ गते पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल घिमिरेले बताए । उनलाई आवश्यक कारबाहीका लागि माघ १२ गते प्रहरी परिसर काठमाडौं पठाइएको र निजलाई मुलुकी अपराध संहिता २०७४ को दफा १०२ अनुसार कसुरको सजाय हुने बताए । तत्कालीन समयमा एक करोडबाट सुरु गरी १० लाखमा डिल गरी ६ लाख २५ हजार निजले पाएको प्रहरीले बताएको छ । पक्राउ पर्ने यादव हाल भारतको कोलकतामा श्रीमतीसहित बस्दै आएको खुलेको पनि उनले बताए ।
काठमाडौं: काठमाडौंको नयाँबानेश्वर चोकको सडकमा गडिरहेको बस भासिएको छ । तिकुनेबाट रत्नपार्क जाँदै गरेको बा।३ ख। ३७६२ नम्बरको बस बानेश्वर चोकमा भासिएको हो । सर्भिस लेनतर्फको सडक भासिएर बसको चक्का भासिएपछि बस कोल्टे परेको छ । त्यस लगत्तै यात्रुहरु बाहिर निस्किएका थिए ।
ढोरपाटन: छेउमै कलकल बग्ने निसीखोला । माथिपट्टि अग्ला भिर पहरा । बीच भाग हुँदै रुकुम जोडिएको मध्यपहाडी लोकमार्ग । आडमै छ निसी गाउँ । स–साना ढुङ्गा माटोले बनेका कलात्मक घर । बाक्लो मगर बस्ती । बाहिरबाट यहाँ आइपुग्ने जोकोहीलाई आकर्षित गर्छ । अझ यहाँको भाषा, कला र संस्कृतिले त झन् लोकमार्गमा गुड्ने गाडीलाई एकै छिन ठक्क रोक्ने गर्छ । गाडीमा यात्रा गर्नेले रोकिएर निसी गाउँको अवलोकन गरेर मात्रै आफ्नो गन्तव्यतर्फ लाग्ने गर्छन् । केही समथर त केही भिरलो भू–भागले भरिएको निसी गाउँमा केही धान फल्ने खेत त केही मकै फल्ने बारी छन् । कृषि र पशुपालनमा आश्रित यहाँका स्थानीय पछिल्लो समय व्यापार व्यवसायमा पनि लाग्न थालेका छन् । बागलुङको सुदूरपश्चिममा पर्ने निसी गाउँ निसीखोला गाउँपालिका–५ मा पर्छ । एक दशक अगाडिसम्म सेवासुविधाको हिसाबले निकै दुर्गम मानिने यो गाउँ अहिले सुगम बनेको छ । मगर खाम भाषा बोल्ने यहाँका स्थानीयको आफ्नै परम्परा छ । वर्षौंदेखि दुर्गमको पीडा भोगेको निसी क्षेत्रको अहिले भने मुहार फेरिएको छ । विसं २०६४ मा निसी गाउँ मध्यपहाडी लोकमार्गले जोडिए पनि २०६६ सालदेखि गाडी गुड्न थालेका थिए । त्यसभन्दा अगाडि निसीमा कुनै पनि सुविधा थिएन । सबैभन्दा नजिकको बजार बुर्तिबाङ थियो । बुर्तिबाङ आइपुग्न पनि एक दिन पूरै लाग्ने गथ्र्यो । अहिले बुर्तिबाङ आउन गाडीमा ४५ मिनेट लाग्छ । सडक यातायातको पहुँचसँगै यहाँको मुहार फेरिन थालेको हो । २०७७ सालमा मध्यपहाडी लोकमार्ग कालोपत्रे भएपछि यहाँ निकै चहलपहल बढेको छ । पहिले साना झुपडी रहेका ठाउँमा अहिले ठूला–ठूला पक्की घर भवनहरु बन्न थालेका छन्भने मौलिक घरहरु विस्थापित हुँदैछन् । गाउँमा आएको परिवर्तनले बूढापाकालाई अचम्मित बनाएको छ । दैनिक उपभोग्य सामान ल्याउनका लागि कैयौँ दिन लगाएर बुटवल पुगेकालाई अहिले घरै छेउका पसलमा पाउन थालेपछि दङ्ग छन् । स्थानीय ९० वर्षीया पूरा सुनारले २२ दिन लगाएर बुटवल, देउखुरी र तानसेनबाट नुन, चामल लिएर उपभोग गरेको स्मरण गर्दै अहिले गाउँमै यति धेरै सुविधा आउँछ भनेर कल्पनासमेत नगरेको बताउनुहुन्छ । पहिलो पटक तानसेनमा गाडी देखेको सुनाउने सुनारले अचल दैनिक घरै गाडी दजनौँ गाडी खुड्दा खुसी लागेको बताउनुहुन्छ । “अहिले घरहरुले निसी भरिन थाल्यो, पहिले घर थोरै थिए, बिरामी हुँदा अस्पताल थिएन, ओखतीमुलो गर्नका लागि धामी झाँक्रीबाहेक केही थिएन, धामीझाँक्रीले बचाए बचाउँथ्यो नत्र मर्ने हो, अहिले त घर नजिकै बिरामी भएपछि उपचार पाइन्छ । उतिबेला जुत्ताचप्पल हुँदैनथ्यो, खाली खुट्टा हिँड्थ्यौँ, पीठो बेलुकी पाँच मुठी खान्थ्यो, बिहान पाँच मुठी खान्थ्यौँ,” सुनारले सुनाउनुभयो । उहाँ भन्नुहुन्छ, “यहाँ गाडी आउला भन्ने, यस्तो परिवर्तन आउला भन्ने लागेको थिएन, २० वर्षको उमेरमा पहिलो पटक गाडी देखेको थिएँ, हाम्रो पालामा गाउँमै यति ठूलो परिवर्तन होला, सुविस्ता ९सुविधा० होला भन्ने सोचेको थिएन ।” शिक्षा, स्वास्थ्य र अन्य विकासका हिसाबले पनि अहिले निसी गाउँ जोडिरहेको छ । गाउँमै माध्यमिक तहको पढाइ हुन्छ । चार वर्षदेखि यहाँस्थित ज्ञानेन्द्र माध्यमिक विद्यालयमा पशु विज्ञानको पनि पढाइ हुन थालेको छ । स्वास्थ्यका लागि गाउँपालिकाले गाउँमै सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेको छभने जटिल किसिमको उपचारका लागि बुर्तिबाङ आउनुपर्ने अवस्था छ । सडकको सहज पहुच हुँदा बुर्तिबाङ आउनका लागि समस्या छैन । शिक्षा, स्वास्थ्य लगायत विकासका पूर्वाधारले निकै पछाडि रहेको यो गाउँ लोकमार्गले जोडिएपछि थुप्रै म्ंभावनाका ढोकाहरु खुलेका छन् । लोकमार्गका छेउछाउँमा अहिले थुप्रै घर भवन धमाधन निर्माण हुँदैछन् भने गाउँको स्वरुप बजारमा परिणत हुँदैछ । पहिले अन्धकारमय रहेको गाउँमा अहिले स्थानीय लघु जलविद्युत्मार्फत उज्यालो बनेको छ । कतिपय घरघरमा धारा बनेका छन् पनि कतिपय ठाउँमा बन्ने चरणमा छन् । पहिले दुर्गम हुँदा सरकारी निकायका कर्मचारी यहाँ आउन मान्दैनथे तर अहिले जिल्ला सदरमुकामसँग सिधा यातायात सञ्चालन हुने हुँदा धेरैको रोजाइमा निसी पर्न थालेको छ । सयौँको सङ्ख्यामा भेडाबाख्रा तथा अन्य वस्तुभाउ पालेरै जीविकोपार्जन गर्दै आएकामा अहिले धेरैले व्यापार–व्यवसाय गर्न थालेको स्थानीय कर्णसिंह घर्ती मगरले बताउनुभयो । समयसँगै गाउँको रुप, समाज र स्थानीयको व्यवहारमा ठूलो परिर्वतन आएको उहाँको भनाइ छ । घर्ती मगरले पछिल्लो समय बजार झर्ने र विदेश पलायन हुनेको सङ्ख्या पनि बढ्न थालेको बताउनुहुन्छ । “हाम्रो पालामा मोटरगाडी देख्न बटौली पुग्नु पथ्र्यो, बाउबाजे विदेश गएनन्, गाउँमै भेडाबाख्रा पाल्ने, खेतबारीमा काम गर्ने गर्थे, हामीहरु पनि लेकबेँसी गरेर उनीहरुले गरेकै काम ग¥यौँ, तर अहिलेका युवा हामीहरुले गरेको काम गर्न मान्दैनन्, यो गाउँमा पहिला खरका घरहरु थिए, पछि ढुङ्गा माटोले बनाउन थाले, अहिले त कङ्क्रिटका घर बनेका छन्,” घर्ती मगरले भन्नुभयो, “पहिले सहर बजार हेर्न टाढा पुग्नु पथ्र्यो, अहिले हाम्रै गाउँ बजार बन्न थाल्यो, उति बेला तानसेन, खसौलीमा पाइने नुन तेल अहिले यही पाइन्छ, सुविधाको हिसाबले धेरै आयो ।” जिल्ला सदरमुकाम बागलुङ बजारदेखि करिब एक सय २० किलोमिटर पश्चिममा रहेको निसी गाउँबाट प्रशासनिक कामका लागि हप्ता दिन लगाएर प्रशासनमा आउनुपर्ने बाध्यता थियो । इलाका प्रशासन, नापी र मालपोत कार्यालय बुर्तिबाङमा स्थापना भएपछि निसीबाट प्रशासनिक कामका लागि बागलुङ धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । स्थानीय ६२ वर्षीय भुलबहादुर विकले आफूहरु सरकारी कागजात बनाउन पाँच दिन लगाएर जिल्ला सदरमुकाम पुगेको अनुभव सुनाउनुभयो । त्यसबेला सामान्य सरकारी कामले सदरमुकाम आउँदाजाँदा हजारौँ रुपैयाँ खर्च हुने गरेको भन्दै अहिले बिहान उठेर हिँडियो भने चार घण्टामै बागलुङबजार पुग्न सकिने उहाँ बताउनुहुन्छ । सडकले गर्दा बजारको सेवा गाउँमा आएको र गाउँलेको जनजीवनमा ठूलो परिवर्तन आएको विकको भनाइ छ । चार वर्षअगाडि सडक कालोपत्र नहुँदा केही समस्या भए पनि अहिले धेरै सहज भएको उहाँले बताउनुभयो । लोकमार्गले जोडिएपछि लोकमार्ग आसपासको जग्गाको मूल्यसमेत निकै महँगो हुँदै गएको विकले बताउनुभयो । उहाँले एक दशकअगाडि पाँच लाखमा पाइने जग्गा अहिले रु २० लाखमा पनि पाउन मुस्किल हुने गरेको बताउनुहुन्छ । सडक छेउछाउका खाली ठाउँमा धमधम घरहरु बनिरहेको भन्दै निसी गाउँका व्यापारिक केन्द्रका रुपमा विकास हुन थालेको उहाँले बताउनुभयो । यस क्षेत्रमा सिमी, भाँगो र भेडाबाख्राहरु बढी मात्रामा उत्पादन हुने हुँदा बजारीकरणका लागिसमेत सडको ठूलो टेवा पु¥याएको उहाँ बताउनुहन्छ । पछिल्लो समय स्थानीय उत्पादनले बजार पाउँदै गएको विकको भनाइ छ । उहाँले भन्नुभयो, “पहिले खेतीपाती नहुने खाली ठाउँ अहिले ठूला–ठूला घडेरीका रुपमा लाखौँमा बिक्री हुन थालेका छन्, खाली ठाउँमा घर बनाउन थालेका छन्, अहिले बिस्तारै बजारका रुपमा विकास हुँदैछ, अबको पाँचर१० वर्षमा यो ठाउँ निकै विकसित हुने देखिन्छ, अहिले त जग्गाको भाउ पनि निकै आकासिएको छ, सडकको छेउछाउमा त अहिले जग्गा किन्नै सकिन्न, त्यसबेला हजारमा पाइने जग्गा अहिले लाखौँ रुपैयाँ पर्छ, पहिले बागलुङ पुग्न एक सातासम्म लाग्थ्यो, अहिले बिहान सबेरै हिँडियो भने खाना खान पुगिन्छ, दिउँसो काम सकाएर फेरि साँझ घरमै आउन सकिने भएको छ, राज्यले चाह्यो भने विकास हुन धेरै समय लाग्ने रहेनछ ।” लोकमार्गले बागलुङलाई मालढुङ्गादेखि पातिहाल्नेसम्म जोडेको छ । पूर्वमा पर्वत र पश्चिममा पूर्वी रुकुमसँग जोडेको लोकमार्ग बागलुङ खण्डमा एक सय ४२ किलोमिटर पर्छ । त्यसमध्ये सबैभन्दा बढी खण्ड निसीखोला गाउँपालिकामै पर्ने गरेको छ । निसीसँगै लोकमार्गले अन्य गाउँलाई पनि बजारका रुपमा परिणत गर्दै छ । विगतमा भौगोलिक विकटता र विकासका हिसाबले निकै पछाडि परेको निसी लोकमार्गका कारण मुहार फेरेको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले बताउनुभयो । पहिले जिल्लामै हेपिएको ठाउँका रुपमा रहे पनि अहिले यस ठाउँमा विकासले फड्को मारेको उहाँको भनाइ छ । लोकमार्ग यहाँका हजारौँ नागरिकका लागि वरदान साबित भएको अध्यक्ष घर्ती मगर बताउनुहुन्छ । उहाँले भन्नुभयो, “राष्ट्रिय सडकले जोड्यो त्यसपछि स्थानीय तह पनि आयो । अहिले विस्तारै विकासले गति लिएको छ, यस ठाउँको कुरा गर्ने हो भने पश्चिम क्षेत्रकै सबैभन्दा राम्रो र सम्भावना बोकेको गाउँ बनेको छ, पश्चिम र पश्चिम नेपाललाई जोड्ने सडक गाउँको बीचबाट जोडिएपछि अन्य सम्भावनाका ढोका खुलेका छन्, अब स्थानीय व्यापार–व्यवसाय र उद्यामसँग जोडिनाका साथै उत्पादनमा पनि लाग्नु पर्छ, रोजगारदेखि अन्य अवसर यहाँ सिर्जना गर्न सकिन्छ ।”
पोखरा: गण्डकी प्रदेश पुरुष भलिबल टोलीका सदस्य घनश्याम चौधरी र राजन दर्लामीलाई समेट्दै तेस्रो मुख्यमन्त्री कप भलिबल खेल्न गण्डकीको टोली घोषणा गरिएको छ । सुदूरपश्चिम खेलकुद परिषद्ले आयोजना गरेको राष्ट्रिय स्तरको तेस्रो मुख्यमन्त्री कपमा सहभागी जनाउन गण्डकी प्रदेश भलिबल संघले हरि पाण्डेका कप्तानीमा १४ सदस्य टोली घोषणा गरेको हो । घरेलु भलिबल प्रतियोगितामा गण्डकी प्रदेशबाट खेल्दै आएका घनश्याम चौधरी र राजन दर्लामी लामाचौर कप, सुर्खेतमा सम्पन्न भएको राष्ट्रिय भलिबल र पोखरामा सम्पन्न भएको टाइगर भलिबलमा टोली बाहिर थिए । सुदूरपश्चिम खेलकुद परिषद्ले माघ १४ देखि २० गतेसम्म आयोजना गरेको तेस्रो मुख्यमन्त्री कपमा गण्डकी प्रदेशसहित सात प्रदेश र तीन विभागीय टिमको सहभागिता रहने जनाइएको छ । गण्डकीको टोली: गण्डकी प्रदेश भलिबलको कप्तानमा खोमप्रसाद पाण्डे (हरी, स्याङ्जा), सुजन चोखाल (म्याग्दी), विवश आले मगर (तनहुँ), इन्द्रबहादुर विक, रवि केसी, कुञ्जन शाही, जीवन सुनार, सन्तोष विक (बागलुङ),विश्वास अधिकारी, घनश्याम चौधरी, किरण गुरौं, हिमाल सुनारी, सरोज बर्देवा (नवलपुर), राजन दर्लामी (स्याङ्जा), प्रशिक्षकमा रमेश केसी र व्यवस्थापकमा जीवन भण्डारी रहेका छन् ।
काठमाडौं: आईसीसी यू–१९ विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा आज नेपालले अफगानिस्तानविरुद्ध खेल्दै छ । यसअघिका दुवै खेलमा पराजित भएकाले सुपर सिक्समा प्रवेश गर्न नेपाललाई आज जित्नै पर्नै दबाब छ । नेपालले यसअघि पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनको र दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटको हार व्यहोरीसकेको छ । यता, सुपर सिक्समा प्रवेशका निम्ति अफगानिस्तान पनि जितको दबाबमा छ । अफगानिस्तानले यसअघि पहिलो खेलमा पाकिस्तानसँग १८१ रनको र दोस्रो खेलमा न्युजिल्यान्डसँग एक विकेटको हार व्यहोरेको थियो । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा हुने यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजेदेखि सुरु हुनेछ ।
काठमाडौं: नेपाली काँग्रेसले आज ७८ औँ स्थापना दिवस मनाउँदै छ । नेपाली राष्ट्रिय काँग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर काँग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ । स्थापना दिवसको सन्दर्भमा पार्टी केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने तयारी रहेको काँग्रेस पार्टी सचिवालयले जनाएको छ ।

