काठमाडौँ: काठमाडौँबाट २ थान हतियार चोरीमा संलग्न रहेको आरोपमा युवतीसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको बराह नगरपालिका वडा नम्बर ३ घर भई काठमाडौँ महानगरपालिका वडा नम्बर १४ बस्ने दिलीप माझी, ताहाचल बस्ने कुशल मल्लिक र काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ३ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोल बस्ने काजल कुमारी भुजेल रहेका छन् । गत मंसिर १६ गते ताहाचलस्थित पुष्प जोशीको घरबाट इजाजत पत्रसहितको दुई नाले ४१० बोरको टोटावाल बन्दुक र जेड २१६२२९ को २२ बोरको राइफल गरी २ थान हतियारहरू चोरी भएको थियो । प्रहरी वृत्त कालीमाटीको टोलीले विभिन्न स्थानबाट ती तीन जनालाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
तनहुँ: सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा स्वर्ण पदक विजेता तनहुँको देवघाट गाउँपालिका निवासी पार्वती गुरुङलाई गाउँपालिकाले नगदसहित सम्मान गरेको छ । उक्त प्रतियोगितामा स्वर्ण पदक विजेता देवघाट गाउँपालिका–५ गैडाढुङ्गा निवासी गुरुङलाई गाउँपालिकाले शुक्रबार नगद २५ हजारसहित सम्मान गरेको हो । गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले गुरुङलाई २५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरे । कराँते प्रतियोगितामा स्वर्ण पदक जितेर नेपाल तथा देवघाट गाउँपालिकाको नाम राख्न सफल भएकाले प्रोत्साहनस्वरुप सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष थापाले बताए । उनले भने, ‘उहाँले खेलकुदमार्फत पालिकाको नाम राख्न सफल हुनुभएको छ । खेलाडीलाई प्रोत्साहन गर्नका लागि नगदसहित सम्मान गरेका हौँ ।’ सम्मानित भएपछि गुरुङले यसले आफूलाई प्रेरणा मिलेको बताइन् । गुरुङले ४५ केजीमुनिको समूहमा बङ्गलादेशकी अर्पा सलिहालाई हराउँदै स्वर्ण पदक जितेकी थिइन् ।
पोखरा: २३औ संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटबल आगामी माघ महिनाको दोस्रो सातादेखि हुने भएको छ । सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुडस प्रा.लि.को प्रायोजनमा सञ्चालन हुने उक्त प्रतियोगिता आगामी माघको दोस्रो सातादेखि हुने क्लबका महासचिव रामजीप्रसाद अधिकारीद्धारा हस्ताक्षरित विज्ञप्ति मार्फत जानकारी गराईएको हो । खेलकुदको विकासमा सहकार्य गरौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौ भन्ने उद्देश्यद्धारा संञ्चालन हुने उक्त प्रतियोगितामा नेपालका ए डिभिजनका क्लब, विभागिय टिमहरु, सुपर लिगका टीम, विदेशी टिम, मोफसलको टिम सहित आयोजक सहारा क्लबको टिम समेतको सहभागिता रहने सोहि विज्ञप्तिमा उल्लेख छ । पोखरा महानगरपालिकाको प्रवर्द्धन, राष्ट्रिय खेलकुन परिषद, गण्डकी प्रदेश खेलकुद परिषद, अखिल नेपाल फूटबल संघ, जिल्ला खेलकुद विकास समिति कास्की र प्रदेश फुटबल संघ गण्डकी, कास्की जिल्ला फुटबल संघ,सहारा यु.के.,सहारा हङकङ, सहारा अष्ट्रेलिया समेतको बिषेश सहयोग, लुम्बिनी विकास बैक अफिसियल बैङ्क, बुद्ध एयर अफिसियल एयरलाईन्सको भुमिकामा रहँदै आईरहेको छ । प्रतियोगिताबाट बचत हुने रकम क्लब द्धारा संञ्चालित कठिन परिस्थिति एवम् विपन्नबर्गका बालकहरु सम्मेलित सूर्य बहादुर केसी स्मृति सहारा आवासिय फुटबल एकेडेमीमा रहेका बालकहरुको निशुल्क शिक्षादिक्षा, स्वास्थ्य फुटबल प्रशिक्षण लगायत भरणपोषणमा खर्च गरिदै आएको छ । पर्यटकीय शहर पोखरालाई स्पोर्ट हब सिटीको रुपमा विकास गर्ने,आन्तरीक तथा बाह्य पर्यटन प्रबर्धनमा टेवा पुर्याउनुको साथै पोखरालाई अन्तराष्ट्रियरुपमा परिचित यस प्रतियोगिताले ठुलो भुमिका खेल्ने आयोजकको विश्वास रहेको छ । साथै नवप्रतिभावान फुटबल खेलाडीहरुको अन्तरनिहित फुटबल खेलकौशल प्रदर्शन गर्ने उचित अवसर प्रदान गर्ने समेत आशा गरिएको छ । गत २२ औ संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०७९ को विजेता संकटा क्लब काठमाण्डौ र उपविजेता भुटनिज युथ स्पोर्टस क्लब, अमेरीका रहेको थियो ।
पोखरा: कास्की प्रहरीले नक्कली फेसबुक आइडीमार्फत ब्ल्याकमेल गरेको आरोपमा १ युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका २७ का १६ वर्षीय युवक रहेका छन् । कास्की प्रहरीका अनुसार ति युवकले पोखरा महानगरपालिका २७ कै युवतीलाई (एउटै स्कुलमा अध्ययन गर्ने) सोही उमेरकै युवतीलाई नक्कली फेसबुक आईडी (फेक आइडी) बनाएर ति युवतीको फोटो र भिडियोहरुलाई अश्लील बनाएर सामाजिक संजालमा पोष्ट गरिदिने र आफन्तलाई पठाइदिने भन्दै धम्की दिएका थिए । विभिन्न डर धम्कीसँगै ब्ल्याकमेल गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । युवकको साथबाट २ थान मोबालसमेत बरामद गरेको छ । पक्राउ परेका युवकलाई विद्युतिय कारोबार ऐन कसूर अन्तर्गत (साईबर अपराध) मुद्दामा जिल्ला अदालतबाट दिन ५ म्याद थप थप अनुसन्धान थालिएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले ठगी आरोपमा ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका ६ का वडा सदस्य ४२ वर्षीय दीपेन्द्र पहारी, सोही स्थानकै ४१ वर्षीय विकास पहारी, लेकसाइडकै २२ वर्षीय प्रवीन विश्वकर्मा र सोही वडाकै २४ वर्षीय अभिषेक परियार तथा अप्पे भन्ने अभिषेक बराल रहेका छन् । कास्की प्रहरीका अनुसार उनीहरुले लेकसाइड स्थित फुटट्रायकमा फोटोग्राफी गरेबापत धम्काई प्रतिफोटोग्राफर साढे १३ हजार असुल गरि ठगी गर्दै आएका थिए । उनीहरु विरुद्ध १५ जना व्यक्तिहरुले जाहेरी दर्ता गरेका थिए । सोही जाहेरीकै आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप गरी ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।
काठमाण्डौ – काठमाण्डौको नागढुङ्गामा गाडीमा लुकाएर ल्याएको दुई किलो अवैध सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । रसुवाबाट काठमाण्डौ आउँदै गरेको गाडीमा सुन फेला परेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नागढुङ्गाबाट सुन बरामद गरेको जानकारी दिएको छ । पक्राउ पर्नेहरूमा रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ, त्यसै ठाउँका बिरु तामाङ र सुनिल भुजेल रहेका छन् । उनीहरूमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।
एसिसी यू-१९ एसिया कपमा नेपालले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको छ। शुक्रबार युएईको दुबईमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४७.२ ओभरमा १५२ रनमा अलआउट भयो। नेपालका लागि उत्तम थापा मगरले अर्धशतक प्रहार गरे। उनले ७० बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५१ रन जोडे। कुनै समय ५ विकेटको क्षतिमा ४६ रन मात्र जोडेको नेपालको रन उकास्न उनले धैर्यपूर्वक ब्याटिङ गरेका थिए। दिपेश कँडेलले बनाएको ३१ रन पनि नेपालका लागि महत्वपूर्ण सावित भयो। दिपेश र उत्तमबीच छैटौं विकेटका लागि ६८ रनको साझेदारी भएको थियो। कँडेलले ५९ बलमा २ चौका र १ छक्का प्रहार गरे। कँडेल आउट भएको दुई ओभरपछि विशाल विक्रम केसी आउट हुँदा १ रन मात्र जोड्न सके। यस्तै विकेटकिपर विपिन रावल पनि ३८ ओभरमा शून्यमा मोहमद जीशानबाट बोल्ड भए। त्यसअघि खराब ब्याटिङ गरेको नेपालका ओपनर अर्जुन कुमाल २१ रन जोडेर चौथो विकेटको रुपमा आउट भएका थिए। उनले ३७ बलमा ३ चौका प्रहार गरे। लगत्तै अर्को ओभरमा गुल्सन झा १ रनमै आउट हुँदा नेपालले १७ ओभरमा ४६ रन जोड्दा सुरुवाती ५ विकेट गुमायो। गुल्सनलाई पाकिस्तान अली अस्फानले १७ ओभरको अन्तिम बलमा बोल्ड गरेका थिए। त्यसअघि कप्तान देव खनाल १३ बल खेल्दा शून्यमा आउट भए। आकाश त्रिपाठी ६ रनमा पाकिस्तानका उबइद शाहको एलबिडब्लूको धरापमा परे भने तिलक भण्डारी ७ रनमा क्याच भएका थिए। अन्तिम विकेटको रुपमा आकाश चन्द ५ रनमा बोल्ड हुँदा सुवास भण्डारी ८ रनमा नटआउट रहे। बलिङमा पाकिस्तानका मोहमद जीशानले ६ विकेट लिए। उनले ९.२ ओभरमा १९ रन जोड्दा १ मेडन राखे। नेपाली टिम देव खनाल (कप्तान), अर्जुन कुमाल, तिलकराज भण्डारी,आकाश त्रिपाठी, विपिन रावाल, दिपेश कडेँल, विशालविक्रम केसी, आकाश चन्द, सुवास भण्डारी, गुल्सन झा, उत्तम थापामगर। समूह ‘ए’ मा नेपालसहित भारत, पाकिस्तान र अफगानिस्तान छन्। समूह ‘बी’मा युएई, जापान, बंगलादेश र श्रीलंका छन्। यू–१९ एसिया कपको आठ पटक विजेता भारत र एक पटक विजेता पाकिस्तान एकै समूहमा रहेकाले नेपालका लागि चुनौतिपूर्ण रहनेछ। नेपालले दोस्रो खेल अफगानिस्तानसँग मंसिर २४ र समूहको अन्तिम खेल भारतसँग मंसिर २६ मा खेल्नेछ। समूहका दुई शीर्ष टिम सेमिफाइनल पुग्नेछन्। फाइनल पुस १ मा हुनेछ।
पोखरा: नेकपा (एमाले)ले यही मंसिर १४ गते बैतडीको झुलाघाटबाट शुरु गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको टोली आज कास्कीबाट लमजुङ प्रस्थान गर्दै छ । कास्कीमा रहेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीलाई जिल्ला कमिटी कास्कीले स्वागत गरेको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को टोली नवौं दिनमा कास्कीबाट दिउँसो लमजुङ पुग्ने छ । हेर्नुहोस् थप तस्बिर:-