रूपन्देही: नेकपा (माओवादी केन्द्र) ले टिकटकमा अनैतिक कार्य गरेर विवादित बनेकी शान्ति बराललाई कारबाही गरेको छ । नेकपा माओवादी सैनामैना नगर समितिले एक विज्ञप्ति जारी गर्दै बराललाई साधारण सदस्यसमेत नरहनेगरी सम्पूर्ण जिम्मेवारीबाट हटाएको हो । उनी सो पार्टीको सैनामैना नगर कमिटीमा थिइन् । बरालले पार्टीको साङ्गठनिक जिम्मेवारी, आम नेपालीको सामाजिक÷सांस्कृतिक व्यवहारका विरूद्ध सामाजिक सञ्जालमा अनैतिक कार्य गरेकाले कारवाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।
भूकम्पबाट घाइते भएर उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज ल्याइएकाका लागि मनोसामाजिक परामर्श तथा उपचार सेवा थालिएको छ । आफन्त गुमाएका कारण उनीहरू शोकमा छन् । भूकम्पबाट घाइते, शारीरिक चोट र परिवारका सदस्य गुमाएकाहरु तथा कुरुवाका लागि मनोसामाजिक परामर्श र उपचारका लागि मानसिक रोग विशेषज्ञ तथा मनोसामाजिक परामर्श तालिमप्राप्त दुई चिकित्सक र एक नर्सको व्यवस्था गरिएको जिल्ला आपत्कालीन केन्द्र बाँकेका फोकल पसर्न तथा जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिनुभयो । डा लीला देवकोटा, डा प्रदीप रेग्मी, मनोसामाजिक परामर्शदाता कमलाकुमारी डाँगीलगायतले अस्पतालमा सेवा दिइरहनुभएको छ । अस्पताल परिसरमा भूकम्प उपचार कक्षसमेत स्थापना गरिएको छ । बाहिरबाट प्राप्त सहयोगको व्यवस्थापनका लागि कक्षको स्थापना गरिएको हो । भेरी अस्पताल नेपालगञ्जमा अहिले ४६ भूकम्पपीडितको उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये दुई जना घर फर्किएका छन् । एक जनाको निधन भएको छ । अहिले अस्पतालमा २० पुरुष र २६ महिलाको उपचार भइरहेको छ । अस्पतालमा जाजरकोट, रुकुम पश्चिम र सल्यानका भूकम्पपीडितको उपचार भइरहेको छ । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार राति गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुममा अत्यधिक जनधनको क्षति भएको छ ।
नेकपा (एमाले)ले भोलि बस्ने गरी सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बुधबार अपरान्ह १२ः४५ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा बस्नेगरी सचिवालय बैठक डाकिएको जानकारी दिनुभयो । सो बैठकमा समसामयिक राजनीतिक परिस्थिति, भूकम्प र पार्टीले सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग पदयात्राका बिषयमा छलफल हुने उहाँको भनाइ छ । रासस
दमौली: १ सय ४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदी फर्काइएको छ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सिमाना भएर बग्ने सेती नदीलाई एक सय ४० मिटर अग्लो ‘कङ्क्रिट’ मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६ सय २६ दशमलव ९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काइएको हो । सुरुङमार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रमा पुन: सेती नदीमा खसालिएको छ । सन् २०२१ देखि निर्माण सुरु भएको सुरुङमार्ग हालै सम्पन्न भएपछि नदी फर्काइएको हो । सेती नदी अब सुरुङमार्ग भएर बग्नेछ । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं तनहुँ हाइड्रोपावर लिमिटेड सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङ, तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र एसियाली विकास बैंकका वरिष्ठ निर्देशक (ऊर्जा) प्रियन्था विजयतुङ्गाले आज बेलुन उडाएर नदी फर्काउने कार्यको शुभारम्भ गरे । अब मुख्य बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउनका लागि करिब ४० मिटर अग्लो अस्थायी ‘कङ्क्रिट’ बाँध निर्माण गरिएको छ । उक्त बाँध आगामी मनसुन सुरु हुनुभन्दा पहिले नै निर्माण सक्ने गरी काम भइरहेको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए । ‘नदी फर्काइएपछि अब बाँध निर्माणका लागि काम गर्न सहज हुन्छ । बाँध निर्माणका लागि जग खन्ने काम पनि अब सुरु हुन्छ,’ उनले भने । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नदी फर्काउने कार्य आयोजना निर्माणका लागि एउटा महत्वपूर्ण फड्को भएको बताए । विगतमा परामर्शदाता र निर्माण व्यवसायी छनोटमा केही ढिलाइ भए पनि अहिले नमूना आयोजनाका रुपमा अगाडि बढाउने गरी काम भइरहेको उल्लेख गर्दै घिसिङले समयमै सम्पन्न गर्ने गरी तदारुपताकासाथ काम भइरहेको बताए । ०८३ असारभित्र सक्ने लक्ष्य आयोजनाको समग्र निर्माण प्रगति करिब ४६ प्रतिशत रहेको छ । समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । आयोजनाको मुख्य निर्माण कार्यलाई तीन चरणमा विभाजन गरी काम भइरहेको छ । पहिलो चरण अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ददा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन (प्रा) लि नेपाल जेभीसँगकोे ठेक्का सम्झौता विसं २०७८ भदौ १४ गतेदेखि कार्यान्वयनमा आएको थियो । निर्माण व्यवसायीले हाल अर्को डाइसर्भन सुरुङ र मुख्य बाँध निर्माणका लागि सेती नदीको दायाँ तथा बायाँतर्फबाट पहाड काट्ने कार्य गरिरहेको छ । उक्त कार्यको प्रगति करिब ५४ प्रतिशत छ । आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत दोस्रो चरणको निर्माण कार्यका लागि सिनो हाइड्रो कर्पोरेसन, चीनसँग विसं २०७५ असोज १५ गते खरिद सम्झौता भएको थियो । निर्माण सुपरिवेक्षण परामर्शदाताले खरिद सम्झौताबमोजिम निर्माण कार्य सुरु गर्न कार्यादेश जारी गरेपश्चात् सिनो हाइड्रोले विसं २०७५ माघ ६ देखि आयोजनास्थलमा परिचालित भई निर्माण जारी राखेको छ । भूमिगत विद्युतगृह खन्ने कार्य सम्पन्न गरी कङ्क्रिटिङ तथा टर्वाइनलगायत उपकरण जडान भइरहेको छ । टेलरेस सुरुङ निर्माण सम्पन्न भएको छ भने मुख्य सुरुङ खनिरहेको छ । यस प्याकेजको सिभिलतर्फको निर्माण प्रगति ७० प्रतिशतभन्दा बढी छ भने समग्र प्रगति करिब ४७ प्रतिशत छ । तेस्रो चरणअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केइसी. इन्टरनेसनल लिमिटेड, भारतसँग विसं २०७५ पुस १० गते भएको खरिद सम्झौता विसं २०७५ फागुन १० मा कार्यान्वयनमा आएको थियो । ३४ दशमलव ७ किमी प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ६९ वटा टावरको जग हालिएको छ भने ३३ वटा टावर खडा गरिएको छ । यस प्याकेजको समग्र निर्माण प्रगति ६९ प्रतिशत रहेको छ । आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत तनहुँ जिल्लामा विद्युतीकरण गर्नका लागि नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ । यसअन्तर्गत स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३÷११ केभीका दुईवटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । उक्त सबस्टेसनसम्म विद्युत् पु¥याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको छ । तनहुँ जिल्लाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मरहरु जडान र ११ केभी लाइन निर्माण गरिएको छ । कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
जाजरकोट सदरमुकामको सडक हरिया त्रिपालले भरिभराउ छ । भूकम्पका कारण घर भत्किएर खुला आकाशमुनि बसिरहेका स्थानीयवासीलाई सशस्त्र प्रहरीले निर्माण गरेका त्रिपालले चिसोबाट जोगाएको छ । पुराना परम्परागत शैलीमा निर्माण भएका अधिकांश घर भत्किएपछि विस्थापितलाई चिसोबाट जोगाउन र सुरक्षितरूपमा राख्न सशस्त्र प्रहरीले त्रिपालको व्यवस्था गरेको छ । सशस्त्र प्रहरीले त्रिभुवन माध्यमिक विद्यालयको प्राङ्गणमा त्रिपालको व्यवस्था गरी सर्वसाधारणलाई भूकम्पबाट जोगाउने अभियान थालेको छ । पटक–पटक आउने परकम्पका कारण घरभित्र बस्ने अवस्था छैन । पीडितीले त्रिभुवन माध्यमिक विद्यालयमा निर्माण गरिएका त्रिपालमुनि रात कटाउने गरेका छन् । भेरी नगरपालिका–२ का प्रदीप खड्काले विद्यालयमा बनाएको टेन्टमा बस्दा सुरक्षित रहेको अनुभूति भएको बताउनुभयो । सशस्त्र प्रहरीको टोली राहत वितरण भइरहेको पालिकाका विभिन्न वडामा पुगेको छ । उनीहरु राहत सामग्री वितरणमा सहयोग गर्ने, भूकम्पबाट पीडितलाई सम्झाइबुझाई गर्नेदेखि टेन्ट निर्माणमा सघाइरहेका छन् । नलगाड नगरपालिका–२ रिजामा सशस्त्र प्रहरी बलको टोलीले त्यहाँ राहत वितरणमा सहयोग गर्दैछ । मानसिकरूपमा तनावमा रहेका सर्वसाधारणलाई सम्झाइबुझाई गर्ने काम सशस्त्र प्रहरीले गरिरहेको छ । सदरमुकामभन्दा बाहिरका पालिकामा सबै निकायको ध्यान कम पुगेको छ । पटक–पटक परकम्प गइरहेकाले भूकम्पबाट कसरी जोगिने भन्ने विषयमा स्थानीयवासीलाई पर्याप्त जानकारी छैन । स्थानीय तहले ओढ्ने ओछ्याउने व्यवस्था पर्याप्तरुपमा गर्न नसक्दा त्रिपालभित्र बस्ने पीडितले हैरानी खेप्नुपरिरहेको बताइएको छ । भेरी नगरपालिका–३ का गणेश थापाले न्यानो कपडा नपाएको गुनासो गर्नुभयो । सदरमुकामभन्दा बाहिर अधिकांश ठाउँमा राहत सामग्री पुग्न सकेको छैन । राहत वितरणमा मापदण्ड निर्माण नगरी जथाभावी बाँड्दा समस्या भइरहेको छ । गाउँ–गाउँमा पुगेका सङ्घसंस्थाका प्रतिनिधिले आफूअनूकुल राहत सामग्री तथा खाद्यान्न वितरण गर्दा समस्या भएको छ । बारेकोट गाउँपालिकामा सोमबार दिउँसो राहत सामग्री पुगेको छ । परकम्पबाट १३ जना घाइते सोमबार गएको परकम्पबाट जाजरकोट र रुकुम पश्चिममा गरी १३ जना घाइते भएका छन् । सोमबार अपराह्न साढे ४ बजे रामीडाँडा केन्द्रबिन्दु भएर गएको परकम्पबाट जाजरकोटमा दुई तथा रुकुम पश्चिममा ११ जना घाइते भएका जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो । भूकम्पबाट बालबालिकाले बढी ज्यान गुमाए जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी मृत्यु भएकामध्ये झण्डै आधा सङ्ख्यामा बालबालिका छन् । प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार ज्यान गुमाउनेमा एक सय ५७ मध्ये ७८ बालबालिका छन् । जाजरकोटमा ५० र रुकुम पश्चिममा २८ बालबालिकाको भूकम्पमा परी मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिनुभयो । यस्तै रुकुम पश्चिममा भूकम्पमा परी ५२ जनाको मृत्यु भएकामा २८ बालबालिका रहेका जिल्ला प्रहरी प्रमुख नमराज भट्टराईले जानकारी दिनुभयो । भूकम्पमा परी मृत्यु हुनेमा बालबालिकापछि महिला धेरै छन् । रासस
मुस्ताङ: स्थानीयलाई लक्षित गरी तिहारको छेको पारेर मुस्ताङको कोरला नाका खोल्ने तयारी भएको छ । नेपाल– चीन जोड्ने उपल्लो मुस्ताङको कोरला नाका चीन सरकारको आमन्त्रणमा यही कात्तिक २७ गते सीमा खोल्ने तयारी भइरहेको गण्डकी प्रदेशका निवर्तमान सभासदस्य इनद्रधारा विष्टले जानकारी दिए । उनका अनुसार चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको नाकाको नोपली समयानुसार बिहानको १० बजे र चिनियाँ समयानुसार दिउसो १ बजे उद्घाटनका निम्ति तयारी भइरहेको छ । पर्वको छेको पारेर केही दिन खुल्ने सो नाकामा नेपाल र चीन दुवैतिरका स्थानीय ३० किलोमिटरसम्म आवतजावत र व्यापार व्यावसाय गर्न पाउने एक प्रहरी अधिकृतले बताए । ‘एक खालको छलफलपछि हामी तयारीमै छौं, मौखिक कुरा भएपनि पत्र नै आएको छैन, ति प्रहरी अधिकृतले भने, ‘भन्सार नै चल्ने गरी खुल्न लागेको होइन । पहिलेजस्तै स्थानीयका लागि पर्वको बेला खोल्ने तयारी हो ।’ सो कार्यक्रममा सहभागिताका लागि लो–घेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकाका स्थानीय व्यापारी र सर्वसाधारण स्थानीय बासिन्दाहरुलाई आमन्त्रण गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले प्रदान गरेको सीमा पास कार्ड र नेपाली नागरिकताको सक्कल प्रमाण पत्र अनिवार्य साथमा लैजानुपर्ने बताइएको छ । केही दिनका लागि सो नाका खुल्ने भएपछि लो–घेकर, दामोदरकुण्ड गाउँपालिकाका र लोमन्थाङ गाउँपालिकाकाका स्थानीय तथा मुस्ताङबासीहरु हर्षिद बनेका छन् ।
नेकपा (एकीकृत समाजवादी) ले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । आज सोमवार बसेको पार्टीको सचिवालय बैठकले भूकम्प पीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीका तर्फबाट रकम सङ्कलन गरेर सरकारको कोषमा जम्मा गर्ने जानकारी दिनुभयो । त्यसका लागि पार्टीका सङ्घीय सरकार र प्रदेश सरकारका मन्त्री, सांसद र जनप्रतिनिधि एवम् राजनीतिक नियुक्तिमा गएका व्यक्तिबाट १५ दिनको पारिश्रमिक जम्मा गर्ने उहाँले बताउनुभयो । यस्तै बैठकले भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाको काममा सहयोग, सहकार्य र अनुगमनका लागि एक कार्यदल पनि गठन गरेको छ । प्रवक्ता खतिवडाका अनुसार त्यो कार्यदलको संयोजक पार्टीका उपमहासचिव एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला रहनुभएको छ । सदस्यहरूमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईं, सांसद अमरबहादुर थापा, धनबहादुर बुढा, प्रदेश सांसद कल्याणी खड्का, पार्टीका प्रदेश सचिव कृष्ण बिसी, खगेन्द्र प्रकाश पुरी तथा रुकुम पश्चिम र जाजरकोटका पार्टी अध्यक्षहरू रहने उहाँले जानकारी दिनुभयो । त्यसैगरी बैठकले पार्टीले असोज १४ गतेदेखि २८ गतेसम्म सञ्चालन गरेको समाजवादी जागरण अभियान प्रभावकारी भएको निष्कर्ष निकालेको छ । प्रवक्ता खतिवडाले अभियानले नयाँ संविधानमा व्यवस्था गरिएको समाजवादी व्यवस्थाको प्रचार र समाजवादी चेतनाको विस्तारमा ऐतिहासिक कार्य गरेको ठहर गरिएको बताउनुभयो । उहाँले त्यो अभियानबाट समाजवादको प्रारम्भिक अवस्था नेपालको कृषि क्रान्तिबाट शुरु हुन्छ भन्ने कुरालाई स्थापित गरेको पनि बताउनुभयो । बैठकले पार्टीको महाधिवेशन आउँदो माघमा काठमाण्डौमा गर्ने तय गरेको छ । प्रवक्ता खतिवडाले भोलि मङ्गलवार पार्टी अध्यक्ष माधवकुमार नेपाललगायत १५ सदस्यीय टोली चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा जाने जानकारी पनि दिनुभयो ।
काठमाडौं: नेपाली महिला क्रिकेटर रुबिना क्षत्री र सिता रानामगर (अलराउन्डर) ले हङकङमा फेन्चाइज लिग क्रिकेट खेल्ने भएका छन् । आगामी १० नोभेम्बरमा सुरु हुने वुमन्स अल स्टार्स प्रतियोगिता खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । यी दुवै महिला क्रिकेटर नेपालका सिनियर खेलाडी हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेल आज भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाँदै हुनुहुन्छ । उहाँ विमान साढे ९ बजे काठमाण्डौबाट विमानमार्फत सुर्खेत जाने र सुर्खेतबाट हेलिकप्टरमा जाजरकोट र रुकुम पश्चिम पुग्ने तयारी छ । राष्ट्रपति पौडेलले भूकम्प प्रभावितलाई भेटेर उनीहरुको अवस्था बुझ्ने उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । यस्तै, राहत वितरण कसरी भइरहेको छ भन्नेबारे पनि उहाँले जनप्रतिनिधिहरुसँग छलफल गर्नुहुनेछ । गएको शुक्रवार राति गएको भूकम्पले जनधनको क्षति गरेपछि राष्ट्रपति पौडेलले आफ्नो युरोप भ्रमण स्थगित गर्नुभएको छ ।