काठमाडौं: शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १३८ पुगेको छ । नेपाली प्रहरीले दिउँसो २ बजेसम्मको अवस्थालाई जानकारी अनुसार १३८ जनाको मृत्यु भएको छ भने १६६ जना घाइते भएका छन् । जसमा जाजरकोटमा भूकम्पबाट १०० जनाको निधन भएको छ भने ८१ जना घाइते भएका छन् । यसैगरी, रूकुम पश्चिममा ३८ जनाको निधन भएको छ र ८५ जना घाइते भएका छन् । थप विवरण आउने क्रम जारी छ । घाइते मध्ये ७ जनालाई थप उपचारका लागि नेपाल एयरलाइन्सको उडान मार्फत काठमाडौं ल्याइन लागेको नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीले भूकम्प प्रभावित क्षेत्रमा ८ सय ५९ जना प्रहरी प्ररिचालित गरेको जनाएको छ ।
कास्की: माछापुच्छ्रे गाउँपालिकाले अघिल्लो शुक्रबार पालिकाभित्र रहेका पर्यटकीयस्थलमा पदमार्ग जान आन्तरीक र बाह्य पर्यटकलाई शूल्क तोकेपछि त्यसको कार्यान्वयन हुन थालेको छ । गाउँपालिकाले दिएको जानकारी अनुसार शुक्रबारमात्रै २८ हजार २ सय रुपैैयाँ करवापत शूल्क उठेको छ । जसमध्ये ५ सय रुपैयाँकादरले बाह्य पर्यटकबाट १२ हजार ५ सय र आन्तरीकबाट १५ हजार ७ सय रुपैयाँ कर उठेको पालिका ८ का वडाध्यक्ष राम गुरुङले जानकारी दिए । उक्त कर अनुसार शुक्रबार २५ बाह्य र १ सय ५७ जना आन्तरिक पर्यटक पालिकाको आकर्षण मानिएको मर्दी हिमालतर्फ लागेका छन् । पालिकाले शूल्क लिने भएपछि यसको पक्ष र विपक्षमा प्रतिक्रिया आइरहेका छन् । तर पालिकाले भने पर्यटककै सुरक्षामा उक्त रकम खर्चिने जनाएको छ । विशेषतः सूचना र जानकारीमा विशेष ध्यान दिइने गाउँपालिकाले जनाएको छ । उक्त शूल्क बुझाएपछि पर्यटकलाई प्रत्येक दिन कहाँ, कस्तो अवस्थामा रहेको जानकारी लिइने र पदमार्गमा कुनै समस्या आए त्यसको समाधानमा जुट्ने वडाध्यक्ष गुरुङले बताए । ‘पर्यटक पदमार्गमा अघि बढेपछि उनीहरुको जानकारी लिइन्छ, कुनै अप्ठेरो परे तत्काल समाधानको पहल गरिन्छ’ गुरुङले भने ‘बेलुकी कुन होटलमा बसे र त्यहाँ मूल्य अनुसारको सेवा पाए वा पाएनन् त्यसको जानकारी लिइनेछ ।’ त्यस्तै, पदयात्राका दौरान कुनै संकट आइपरे गाउँपालिकाले तत्काल उद्दार र राहतमा पहल गर्ने उनको भनाई छ । यसैबीच आज शनिबार भने पदमार्गमा पर्ने हाइक्याम्पमा स्थानीय होटल व्यवसायीहरुले पालिकाद्वारा तोकिएको करप्रति असन्तुष्टी व्यक्त गरेका छन् । व्यवसायीका अनुसार पालिकाले बिनाजानकारी कर उठाएको भन्दै पदयात्रीलाई कर नतिर्न भनेका छन् । व्यवसायीहरुको यस्तो रवैयाबारे जानकारी पाएपछि पालिकाको एक टोली त्यता लागेको छ । व्यवसायहीहरुले सार्वजनिक जमिनमा होटल सञ्चालन गरेको र हालसम्म कर पनि नतिरेको भन्दै पालिकाले कडा कदम चाल्ने बताएको छ । यता, काठमाण्डौबाट मर्दीतर्फ लागेको एक समूहले भने सय रुपैयाँमा पदयात्रीको पुरै ख्याल राख्ने र पलपलको जानकारी लिने काम प्रशंसनीय भएको प्रतिक्रिया दिएको छ । मर्दी पदयात्रा जाने पर्यटकबाट लो क्याम्पमा डेस्क राखेर शूल्क उठाइँदैछ ।
बागलुङ: कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङ र उपसभामुख यसोदा न्यौपाने सवार साधनले बागलुङमा मोटरसाईकललाई ठक्कर दिँदा एक जना घाईते भएका छन् । शनिबार विहान बागलुङको भिमगिठेबाट बुर्तिबाङ तर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२ ००१ झ ००९३ नम्बरको गाडीले विपरित दिशाबाट आउँदै गरेको ग ११ प १५७ नम्बरको मोटरसाईकललाई ढोरपाटन नगरपालिका–२ मल्कटिबाङ स्थित मध्यपहाडी लोकमार्ग सडक खण्डमा ठक्कर दिएको थियो । स्कर्पियोको ठक्करबाट मोटरसाईकल चालक निसीखोला गाउँपालिका–२ तल्लो ब्याङ्ग्री बस्ने १ बर्षीय बिमल खत्री घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी जवान प्रकाश पौडेलले बताए । प्रहरी जवान पौडेलले घाईते खत्रीको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ लगिएको जानकारी दिए । दुर्घटनामा स्कर्पियो र मोटरसाइकल दुवैमा क्षति पुगेपनि स्कर्पियोमा सवार सभामुख र उपसभामुख सहित मोटरसाइकलमा सवार अन्य एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: नेपाल प्रहरीले भूकम्प पीडितहरूका नाममा आर्थिक सहयोग गर्दा ध्यान दिन आग्रह गरेको छ । प्रहरी केन्द्रीय कार्यालयले शनिबार सूचना जारी गर्दै इन्टरनेट वा अन्य माध्यमबाट आर्थिक वा अन्य सहयोग गर्दा सहयोग माग्ने व्यक्ति वा संघ–संस्था आधिकारिक हो कि होइन निश्चित गरेर मात्र सहयोग गर्न आग्रह गरेको छ । इन्टरनेटबाट हुने ठगी र आर्थिक शोषणबाट जोगिन प्रहरीले आग्रह गरेको छ । आफूलाई सामाजिक अभियन्ता भनेर चिनाउनेहरुले भूकम्पपीडितका नाममा आफूखुसी चन्दा उठाउन सुरु गरिसकेका छन् । यस्तो अवस्थामा इन्टरनेटको विभिन्न माध्यममार्फत ठगी गर्ने गिरोहसमेत सक्रिय हुन सक्ने भएकाले प्रहरीले सचेत गराएको हो ।
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले भूकम्प प्रभावित कर्णालीका पीडितका लागि एक करोड रकम दिने भएको छ । शनिबार बिहान बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमलबहादुर शाहले कर्णालीका भूकम्प पीडितका लागि प्रदेश सरकारले एक करोड रकम उपलब्ध गराउने निर्णय गरिएको बताए। उनले, आजै २० जनाको स्वास्थ्यकर्मीको टोली पनि प्रभावित क्षेत्र पठाउने निर्णय भएको जानकारी दिए । औषधी, स्वास्थ्य उपकरण र अन्य राहत सामाग्रीसहित आज नै टोली कर्णाली जानेछ ।
काठमाडौं: नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्रमा निशुल्क भ्वाइस र नमस्ते वाइफाइ सेवा उपलब्ध गराउने भएको छ। भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु सुचारु रहेको जानकारी गराउँदै टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए। उनले ५ दिनका लागि उक्त क्षेत्रमा निशुल्क भ्वाइस र एसएमसस सेवा उपलब्ध गराइने बताए। ुहाल भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु सुचारु रहेको जानकारी गराइन्छ । यस विषम परिस्थितिमा नेपाल टेलिकम आफ्नो कर्तव्य बोध गर्दै सबै प्रकारका दूरसञ्चार सेवाहरुलाई नियमित रुपमा सुचारु राख्ने प्रतिबद्धता समेत व्यक्त गर्दछौं । ‘नेपाल टेलिकमबाट जारी सूचनामा भनिएको छ’, सूचना आदान(प्रदानलाई निरन्तरता दिन उक्त क्षेत्रमा रहनुभएका कम्पनीका सम्पूर्ण मोबाइल ग्राहकहरूलाई पांच (५) दिनको अवधिका लागि निःशुल्क Voice तथा Sms सेवा उपलब्ध गराइएको छ। यसका अतिरिक्त उक्त क्षेत्रमा पाँच (५) दिनको अवधिका लागि निःशुल्क Voice तथा SMS सेवा सहितको निःशुल्क सिम उपलब्ध गराइनेछ । उक्त सिम कम्पनीको सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटका कार्यालयबाट उपलब्ध हुनेछ । उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्यकता अनुसार निःशुल्क Namaste WiFi सेवा उपलब्ध गराइनेछ ।
पोखरा: गण्डकी प्रदेश सरकारले भुकम्प प्रभावित क्षेत्रमा चिकित्सक सहितको स्वास्थ्यकर्मी टोली पठाएको छ । भुकम्प प्रभावितहरुको उद्धार र उपचारमा सहयोग गर्ने उद्देश्यले डाक्टर विकास गौचनको नेतृत्वमा विषेशज्ञ चिकित्सक सहितको टोली त्यसतर्फ गएको हो । प्रभावित क्षेत्रमा मानवीय सहायता पु¥याउने उद्देश्यले प्रदेश सरकारले स्वास्थ्य सामग्री सहितको टोली पठाइएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सचिवालयले बताएको छ । प्रदेश सरकारको तर्फबाट अपिल जारी गर्दै उनले जाजरकोट र रुकुमपश्चिमा भएको ठुलो मानवीय तथा भौतिक क्षतिको घटनाले मर्माहत बनाएको बताएका छन् । ‘विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न विभिन्न संघ संस्था तथा नागरिक समाज लगायत सम्बन्धित सबैलाई गण्डकी प्रदेश सरकार अपिल गर्दछौँ’ मुख्यमन्त्री पाण्डेद्धारा जारी अपिलमा भनिएको छ । मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारको तर्फबाट भुकम्प प्रभावित क्षेत्रका नागरिकको उद्धार, उपचार, राहत, पुन निर्माण लगायतका कार्यमा कर्णाली प्रदेश सरकार सँगको समन्वयमा आवश्यक सहयोग गर्ने प्रयास निरन्तर रहने बताउनुभएको छ। शुक्रवार राती जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ केन्द्रबिन्दु भएर गएको भुकम्पबाट जाजरकोट र रुकुमपश्चिमा ठुलो मानवीय तथा भौतिक क्षति भएको छ ।
काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी टी–२० विश्वकप २०२४ को एसिया छनोटको फाइनल खेलको टिकट बिक्रिबाट प्राप्त ५० प्रतिशत रकम भूकम्प पीडितलाई दिने घोषणा गरेको छ। शनिबार क्यानले जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्प परी मृत्यु भएका तथा घाइते परिवारलाई ५० प्रतिशत रकम दिने जानकारी दिएको हो। क्यानले फेसबुकमार्फत भनेको छ,‘आइसिसी टि(२० विश्वकप २०२४ को एसिया छनौट अन्तर्गगत आइतबार हुने नेपाल र ओमान बीच फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको ५० प्रतिशत रकम भूकम्प पीडितको सहयोगार्थ प्रदान गरिने घोषणा गर्दछौं।’ क्यानले मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ। आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटको उपाधिका लागि नेपालले ओमानसँग खेल्ने भएको छ। नेपाल र ओमानबीचको फाइनल खेल आइतबार त्रिवि क्रिकेट मैदानमा हुनेछ। शुक्रबारै भएको सेमिफाइनलमा बहराइनलाई १० विकेटले पराजित गर्दै ओमानले घरेलु टोली नेपालसँगको भिडन्त पक्का गरेको हो। आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटमा नेपाल र ओमान दुवै समूह ‘ए’मा थिए। समूह चरणमा ओमानले शतप्रतिशत जित निकाल्दा समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको थियो। कीर्तिपुर र मूलपानी मैदानमा सञ्चालन भएको प्रतियोगिताको समूह ‘ए’मा नेपालसँगै ओमान, सिंगापुर र मलेसिया थिए। यस्तै समूह ‘बी’मा हङकङ, यूएई, बहराइन र कुवेत थिए।
पोखरा: पुतली बाजे नामले चर्चित बेलायती नागरिक (नेपालका सम्मानार्थ नागरिक) कोलिन फिलिप स्मिथको निधन भएको छ । लामो समय पिसाबसम्बन्धि रोगले थलिएका उनको शनिबार विहान निधन भएको सुनिल उलकले बताए । ‘लामो समय बिरामी हुनुभयो । आज निधन भएको छ,’ उनले भने, ‘केही दिन शवलाई अस्पतालमै राखिन्छ । सोमवार अन्त्येष्टि गर्ने तयारी छ ।’ स्मिथको पोखरा स्थित हरियो खर्क अस्पतालमा उपचार भइरहेको थियो । उनले २०७६ मङ्सिरमा नेपालको सम्मानार्थ नागरिकता पाएका थिए । युवा उमेरदेखि नेपालमै बसेर पुतलीको अध्ययन अनुसन्धानमा खटिएका स्मिथ बेलायत नफर्किने निर्णयसँगै नेपालमा रोकिएका हुन् । स्मिथ सन् १९३६ नोभेम्बर २४ मा बेलायतको लन्डनमा जन्मेका हुन् । उनी सन् १९६६ मा युनाइटेड मिसनमार्फत शिक्षणका लागि नेपाल आएका थिए । गोरखा, काठमाडौं र पोखराका विद्यालयहरुमा उनले अध्यापन गरे । पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई समेत स्मिथले अध्यापन गरेका थिए । उनले नेपालमा पाइने ६ सय ६० प्रजातिका पुतलीमध्ये ९० प्रतिशत पुतली संग्रह गरेका थिए । स्मिथ पोखरा महानगरपालिका १८ मा जग्गा किनेर बसेका थिए । उनले नेपालकै युवालाई धर्मपुत्र बनाएर पाले । उनी नेपालको सम्मानार्थ नागरिकता पाउने दोस्रो व्यक्ति हुन् । पहिलो नागरिकता सर्वोच्चको सफल आरोहण गरेका एडमण्ड हिलारीले पाएका थिए ।