काठमाडौं:  मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित रहेको छ । जसको प्रभावले मङ्गलबार देशभर पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान गण्डकी, लु...

गोरखा:    गोरखाका नेवार समुदायले मकै सुकाउने पर्व मनाएका छन् । सदरमुकामस्थित ऐतिहासिक ठूलो आँगन परिसरमा ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिको आयोजनामा गएराति नेवार समुदायलगायत स्थानीयवासीले सामूहिकरूपमा लोपोन्मुख मकै सुकाउने पर्व मनाएका हुन् । ठूलो आँगनमा ठूलो प्लास्टिक ओछ्याएर त्यहीँमाथि भुटेको मकै, बदाम, भटमास, चना, केराउनलगायतका खाद्यान्न चन्द्रमाको प्रकाशमा सुकाएर पर्व मनाइएको समितिका अध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिए । मकै सुकाउने पर्व मनाउनका लागि स्थानीयवासीले आ–आफ्नो घरबाट आफूखुसी मकैसहितका गेडागुडीलगायतका अन्नबाली ठूलो आँगनमा सुकाउन लगेका थिए । सुकाएको खानेकुरालाई प्रसादका रूपमा बाँडेर खाने प्रचलन छ । “सोमबार साँझको जुनमा स्थानीयवासीले घर–घरबाट ल्याएका मकैलगायतका अन्न चन्द्रमाको प्रकाशमा सुकाएर मकै सुकाउने पर्व मनाइएको हो”, नेवार समुदायका अगुवा मोहनलाल श्रेष्ठले भने, “करिब ४० वर्ष जति मनाउन छाडिएको यो पर्व गत वर्षदेखि परम्पराको जगेर्ना गर्ने उद्देश्यका साथ सामूहिकरूपमा मनाउन थालिएको हो ।” कार्तिक शुक्ल पूर्णिमाको रातमा अमृत वर्षा हुने भएकाले भुटेको मकै, बदाम, भटमास, चना, केराउलगायत गेडागुडी, फलफूल, सखरखण्डका साथै अन्य खाद्यान्न जुनमा सुकाएर खाएमा अमृत समान हुने विश्वासका साथ मकै सुकाउने पर्व मनाउने गरिएको उनको भनाइ छ । शुक्ल पूर्णिमाका दिन चन्द्रमाको प्रकाशमा सुकाइएको अन्न खाएमा रोग नलाग्ने र प्राचन प्रणाली स्वस्थ्य र बलियो हुने विश्वाससमेत रहेको अगुवा श्रेष्ठले बताए । परम्परागतरूपमा नेवार समुदायले घर–घरमा अन्न सुकाएर मनाउने गरेको भए पनि अहिले भने संस्कृति र परम्पराको संरक्षणका लागि सामूहिकरूपमा मनाउन थालिएको उनले जानकारी दिए । उनले परम्परा र संस्कतिलाई पुस्ता हस्तान्तरण गर्दै लैजाने उद्देश्यका साथ लामो समयदेखि रोकिएको मकै सुकाउने पर्व गएको केही वर्षदेखि पुनः मनाउन थालिएको जानकारी दिए । मकै सुकाउने पर्वका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले नेपालको परम्परा संस्कृतिमध्ये मकै सुकाउने पर्व पनि एक भएको बताए ।

पोखरा:   पोखरा महानगरपालिका वडा नं८ न्युरोडमा सडक छेउमा हुर्किएको रुख काट्ने दुई वटा पसललाई जरिवाना गरिएको छ ।  फुटपाथमा हुर्किएको रुख काट्ने गिटार सप र स्काई फेसनलाई महानगरपालिकाको आर्थिक ऐन २०८० मा भएको व्यवस्था अनुसार कारबाही गरिएको हो । पसल छेकिएको भन्दै अनुमति विना रुख नै काटेका उनीहरूलाई रु.१५ हजार जरिवाना गरिएको नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले बताउनुभयो ।  महानगरको आर्थिक ऐनमा सडक छेउको फुटपाथमा लगाइएका रुखहरूको हाँगा अनुमति विना कटान गरेमा प्रति हाँगा रु.५००० र रुख नै काटेमा रु.१५ हजार जरिवाना हुने व्यवस्था छ । एक घर दुई बिरुवाको नीति लिएको पोखरा महानगरपालिकाले पछिल्लो डेढ वर्षमा हजारौँ बिरुवाहरू वृक्षारोपण गरेको छ भने, त्यति नै सङ्ख्यामा  फूलका बिरुवाहरू लगाएको छ । सडक छेउमा लगाइएका बिरुवाहरूको संरक्षण गर्न नगरवासीहरूमा नगर प्रमुख धनराज आचार्यले अनुरोध गर्नुभएको छ । पर्यावरणको सन्तुलनमा रुख बिरुवाको निकै महत्त्वपूर्ण भूमिका रहने भन्दै आफ्ना घर अगाडीका बिरुवा तथा फूलहरूको संरक्षणका लागि अनुरोध गर्नुभएको हो ।

पोखरा:    लामा अमृत फाउण्डेशन घान्द्रुकका सस्थापक अमृत गुरुङले आफ्नो जन्मोत्सव वृद्धा आश्रम, मानवसेवा आश्रम छोरेपाटन र मृगौला पीडितलाई सहयोग गरेर मनाएका छन् ।  गुरुङले आफ्नो जन्मोत्सव पोखरा महानगरपालिका १७ छोरेपाटनस्थित मानवसेवा आश्रम र सीता पाइलास्थितको वृद्धाआश्रम र मृगौला पीडित नरबहादुर तामाङलाई खाद्यान्नका सामाग्री लगायत अन्य दैनिक उपभोग्य सामग्री सहयोग गरेर जन्मोत्सव मनाएका हुन् । खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीहरु हस्तान्तरण गर्दै लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले आफ्नो जन्मोत्सवमा आर्शिवाद लिन वृद्धाश्रम, मानवसेवा आश्रम पुगेको बाताए ।  ‘आजभोलि जन्मदिनमा फजुल खर्च गर्ने प्रचलन बढ्दो छ । साथीभाईहरुसँग भेटघाटमा रमाइलो हुन्छ’, गुुरुङले भने, ‘जन्मदिनमा बाहिर गर्ने फजुल खर्च भन्दा कुनै सामाजिक सेवामा खर्च गर्न पाए शान्ति मिल्छ । त्यसैले यहाँहरुसँग आर्शिवाद लिन यहाँ आएको हुँ ।’ मृगौला पीडित नरबहादुर तामाङलाई खाद्यान्न हस्तान्तरण गर्दै अमृत गुरुङ उनले युवा पुस्तालाई सन्देश दिने उद्देश्यले जन्मोत्सव आश्रममा मनाएको बताए । ‘यो मेरो सहयोग भन्दापनि सन्देश हो, उनले भने,‘भोज गरेर खर्च गर्नुको सट्टा असहायको साहरा बन्न सक्नुपर्छ भन्ने हेतुले हरेक वर्ष मैले यसरी नै जन्मोत्सव मनाउने गर्दछु ।’ हरेकवर्ष आफ्नो जन्मोत्सव वृद्धाश्रम, मानवसेवा आश्रम र मृगौला पीडितलाई सहयोग गरेर मनाउदै आएको बताउँदै यसपटक पनि सोही कार्यलाई निरन्तरता दिएको गुरुङले जानकारी दिए । युवा व्यवसायी तथा समाजसेवी गुरुङले सामाजिक सेवासँगै खेलकुद विकासको क्षेत्रमा समेत काम गर्दै आएका छन् ।  गुरुङले सहयोग गरेको मानवसेवा आश्रम छोरपाटनमा ६७ जना र सीता पाइलास्थित पोखरा वृद्धाश्रममा ५७ जना आश्रित छन् । सोही अवसरमा उनले पोखरा १४ का मृगौलापीडित नरबहादुर तामाङको परिवारलाई समेत खाद्यान्न तथा दैनिक उपभोग्य सामान सहयोग गरेका थिए ।   

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय भएको बताउनुभएको छ । राजधानीमा आयोजित छैठौं सामाजिक सुरक्षा दिवस कार्यक्रम–२०८० लाई सोमबार दिउँसो सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो,  “सामाजिक न्याय कार्यान्वयनको महत्त्वपूर्ण आधार सामाजिक सुरक्षा कार्यक्रम हो तसर्थ, यो कार्यक्रम समाजवादी राज्य स्थापनाको आकाङ्क्षा राख्ने सम्पूर्ण जनसमुदायका निम्ति गौरवको विषयसमेत हो ।”   प्रधानमन्त्री प्रचण्डले सुरुवाती चरणमा कोषमा सूचीकृत योगदानकर्ताले मात्रै स्वास्थ्योपचार लगायत अन्य सुविधा प्राप्त गर्ने व्यवस्थामा सुविधाहरु थप गर्दै योगदानकताका परिवारलाई नै स्वास्थ्य उपचार सुविधा दिने गरी गृहकार्य भइरहेकोमा आफूलाई खुसी लागेको उल्लेख गर्नुभयो । उहाँले स्वास्थ्यमा सबैको सहज पहुँच पुर्याउन यसप्रकारका कार्यक्रम एक उत्कृष्ट नमुना बन्ने विश्वास व्यक्त गर्नुभयो ।   प्रधानमन्त्रीले सम्पूर्ण नेपाली नागरिकहरुको कोखदेखि शोकसम्मको सामाजिक सुरक्षा प्रदायक संस्थाको रुपमा समाजिक सुरक्षा कोषलाई विकास गराउन तथा सामाजिक सुरक्षा कार्यक्रमलाई सबै नागरिकसम्म पुर्‍याउन नेपाल सरकारबाट गर्नुपर्ने समन्वय तथा सहयोगमा कुनै कमी नहुने बताउनुभयो ।   सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको सम्बोधनको पूर्णपाठ छैठौं सामाजिक सुरक्षा दिवस, २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमिकहरु, रोजगारदाताहरु तथा योगदानमा आधारित सामाजिक सुरक्षालाई सफल बनाउन अनवरत सहयोग पुर्‍याउनुहुने सबै व्यक्ति तथा संघसंस्थाप्रति हार्दिक बधाइ तथा शुभकामना व्यक्त गर्दछु । सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यसम्पादनसहित निरन्तर प्रगतिको शुभेच्छा व्यक्त गर्दछु ।   जनताको बलिदानीपूर्ण संघर्षमार्फत प्राप्त भएको नेपालको संविधानले दिशानिर्देश गरेबमोजिम नेपालमा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीको जग बसाइएको विषय यहाँहरु सबैमा विदितै छ । संविधानमा व्यवस्था भएको समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय नै हो, अनि सामाजिक न्याय कार्यान्वयनको महत्त्वपूर्ण आधार सामाजिक सुरक्षा कार्यक्रम । तसर्थ, यो कार्यक्रम समाजवादी राज्य स्थापनाको आकाङ्क्षा राख्ने सम्पूर्ण जनसमुदायका निम्ति गौरवको विषयसमेत हो ।   हालसम्म पाँच लाख श्रमिकहरु सामाजिक सुरक्षा कोषमा आवद्ध भइसकेको परिप्रेक्ष्यमा विदेशमा रहेका नेपालीहरु र अनौपचारिक क्षेत्रका सम्पूर्ण श्रमिकहरुलाई यस कार्यक्रममा समावेश हुन हार्दिक अपील गर्दछु, कार्यक्रममा आवद्धताका निम्ति रोजगारदाताहरुमा समेत विशेष आग्रह गर्दछु ।   मैले विभागीय मन्त्रीमार्फत कोषको बारेमा जानकारी लिँदै पनि आएको छु । सुरुवाती चरणमा कोषमा सूचीकृत योगदानकर्ताले मात्रै स्वास्थ्योपचार लगायत अन्य सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको रहेछ । त्यसमा सुविधाहरु थप गर्दै योगदानकर्ताको परिवारलाई नै स्वास्थ्य उपचार सुविधा दिने गरी गृहकार्य भइरहेको सुन्दा मलाई अत्यन्तै खुसी लागेको छ । स्वास्थ्यमा सबैको सहज पहुँच पुर्‍याउन यो कार्यक्रम एक उत्कृष्ट नमुना कार्यक्रम बन्ने विश्वास लिएको छु ।   ‘‘सबैलाई सामाजिक सुरक्षा’’ भन्ने राष्ट्रिय लक्ष्य हासिल गर्न मेरै निर्देशन र पहलमा वैदेशिक रोजगारीमा जाने श्रमिकको सामाजिक सुरक्षाको सुरुवात गरिएको छ । कार्यक्रमको कार्यान्वयनमा देखिएका चुनौतीहरु सामूहिक प्रयासबाट सम्बोधन हुने विश्वास राखेको छु । गत चैत्र ८ गते मात्रै सुरुवात गरिएको उक्त कार्यक्रममा लाखौं श्रमिकहरु सूचिकृत भइसकेको जानकारी पाउँदा थप उत्साहित छु । यस सन्दर्भमा सरल र सहज रुपमा सुविधा उपलब्ध गराउन कोषको व्यवस्थापकीय पक्षलाई सुदृढ तुल्याउनसमेत निर्देशित गर्दछु ।   कोषका अनुसार हाल १८ हजार ४३९ रोजगारदाता र नौ लाख २८ हजार ४५३ योगदानकर्ता कोषमा आबद्ध हुनुभएको छ । जसमा औपचारिकतर्फ चार लाख ६१ हजार ७९६ जना, वैदेशिक रोजगारीतर्फ चार लाख ६६ हजार ६२२ जना, स्वरोजगारमा ३२ जना र अनौपचारिकतर्फ तीन जना आबद्ध हुनुभएको छ । यस अवधिसम्म कोषमा ५१ अर्ब २९ करोड रुपियाँ संलन भएको छ । कोषबाट औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजनातर्फ ७६ करोड १२ लाख, दुर्घटना तथा अशक्तता सुरक्षा दाबी रकम करोड ७५ लाख र अवकाश दाबी रकम पाँच अर्ब ४८ करोड, ९६ लाख रहेको छ। यस्तै आश्रित परिवार सुरक्षा दाबी रकम १० करोड ९६ लाख रहेको छ ।   सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुरुप सामाजिक सुरक्षालाई संघ वा प्रदेशको मात्र नभई स्थानीय तहको समेत दायित्वको रुपमा लिँदै आफ्नो स्थानीय तहमा रहेका अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमार्फत सामाजिक सुरक्षाको दायरामा ल्याउन सक्ने गरी कानुनी आधार तयार गरेका थियौं । त्यस कार्यक्रमको घोषणा गर्ने ऐतिहासिक जिम्मेवारी पनि प्रधानमन्त्रीको रुपमा मैंले नै प्राप्त गरेको थिएँ । आज यस कार्यक्रममार्फत सबै स्थानीय तहलाई कार्यक्रम प्रभावकारी बनाउने कार्यमा सशक्त भूमिका खेल्नसमेत आग्रह गर्दछु ।   कोषबाट सञ्चालित योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको अनिवार्य कार्यान्वयन र सफलतामा सरकारले आफ्नो सफलता देखेको छ । सम्पूर्ण नेपाली नागरिकहरुको कोखदेखि शोकसम्मको सामाजिक सुरक्षा प्रदायक संस्थाको रुपमा समाजिक सुरक्षा कोषलाई विकास गराउन तथा सामाजिक सुरक्षा कार्यक्रमलाई सबै नागरिकसम्म पुर्‍याउन नेपाल सरकारबाट गर्नुपर्ने समन्वय तथा सहयोगमा कुनै कमी नहुने विश्वास दिलाउन चाहन्छु ।  

पर्सामा हजुरबुवाको हत्या आरोपमा नाति पक्राउ परेका छन्।   ठोरी गाउँपालिका-२ डाँडाटोल बस्ने ८५ वर्षीय लक्ष्मण तामाङको हत्या आरोपमा ३५ वर्षीय कृष्ण खड्का पक्राउ परेका हुन्। खड्का लक्ष्मणको छोरीपट्टीको नाति हुन्। उनलाई इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको टोलीले आइतबार दिउँसो पक्राउ गरेको हो। आँगनमा कोदो चुटिरहेको अवस्थामा लक्ष्मणले कृष्णसँग लठ्ठी मागेका थिए। सोही क्रममा कृष्णले लठ्ठी प्रहार गर्दा गम्भीर घाइते भएका लक्ष्मण उपचारको क्रममा  स्वास्थ्य चौकी ठोरीमा मृत्यु भएको प्रहरीले जनाएको छ।   हजुरबुबाको मृत्युपश्चात नाति भागेका थिए। उनलाई नजिकैको जंगलमा लुकेर बसिरहेको अवस्थामा फेला पारेको प्रहरीले बताएको छ।   

गुल्मीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक विद्यार्थीको ज्यान गएको छ । ज्यान जानेमा रेसुङ्गा नगरपालिका–४ सेउघाका १९ वर्षीय विवेक झाँक्री मगर रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।   आज सोमवार बिहान सदरमुकाम तम्घासमा रहेको विद्यालयबाट घर जाने क्रममा रेसुङ्गा–४ अर्खलेमा लु ८७ प ९८१ नम्बरको मोटरसाइकललाई विपरीत दिशावाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ख ९४७५ नम्बरको बसले ठक्कर दिएको थियो ।   बसको ठक्करबाट गम्भीर घाइते भएका मगरको उपचारका क्रममा गुल्मी अस्पताल तम्घासमा ज्यान गएको गुल्मीका प्रहरी उपरीक्षक नविन किशोर प्रधानले जानकारी दिनुभएको छ ।   तम्घासको महेन्द्र नमूना माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत मगर बिहानको पढाइ सकेर घर फर्कने क्रममा दुर्घटनामा परेका हुन् । 

मुस्ताङ:  ​उपल्लो मुस्ताङको न्हेछुङमा रहेको भन्सार कार्यालयबाट १ सातामै करिब १ लाख ८० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।   करिब ४ वर्षपछि खुलेको कोरला नाकाबाट घरायसी समाग्री खरिदगर्न चीन प्रवेश गर्नेको सँख्या बढेसँगै राजस्व संकलनमासमेत वृद्धि भएको हो ।   जिल्ला प्रशासन कार्यालय मुस्ताङको तथ्याङ्क अनुसार हालसम्म कात्तिक २७ गते यता करिब १ हजार २ सय जना चीन प्रवेश गरेका छन् ।   कोरला नाका खुलेपनि चीन प्रवेशका लागि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दालाई मात्रै खुला गरिएको थियो ।   प्रवेश अनुमति पत्र भएकाहरु मात्रै चीन प्रवेश गर्न पाउने प्रावधार रहेको छ । यद्यपी उल्लेखित गाउँपालिका बाहेकका नागरिकलाई भने प्रवेश निषेध छ ।

पाेखरा:  तेह्रथुमको आठराईमा जन्मेर झापा बसाई सरेका दुर्गाप्रसाद प्रसाई झापा आन्दोलनका बेला भर्खर जन्मेका थिए । नागरिकता अनुसार उनको जन्म २०२८ साल बैशाख २० गते भएको हो ।   हाल अर्जुनधारा नगरपालिकाको बसपार्क नजिकै दुर्गा प्रसाईको परिवारको बसोबास थियो । उनीहरु खेतीपाती गर्थे । प्रसाईँले कक्षा ८ भन्दा बढी पढ्न सकेनन् ।   हाल बीएण्डसी अस्पताल रहेको स्थानमा यसअघि खेत थियो । करिब चार बिघा खेतको बीचमा गिरी परिवारको एउटा काठे घर थियो ।   श्रीमान् सौतासँग अर्कै घरमा बस्थे, खेतको घरमा आमा र छोराछोरीहरुमात्रै बस्थे । अन्ततः दुर्गा प्रसाईले सोही घरकी कन्यासँग बिहे गरे । झापामा गिरीबन्धु टी स्टेट चलाएर बसेका खलकसँग दुर्गा प्रसाईको कुटुम्बेरी साइनो जोडियो ।   तर, आफ्नी सासूआमा र सालासालीलाई ससुरा बाले अंश नदिएर हेलाहोचो गरेका थिए । आफूले भोगचलन गरेको काठे घर र चार बिघा खेत राजीनामा पास गरिदिन तारन्तार गरेका माग सुनुवाइ नभएको प्रसाईँले थाहा पाए । त्यसपछि उनी ससुरा बासँग ‘न्यायको लडाइँ’मा होमिए । ससुरालीलाई ‘भाटे कारवाही’ गर्न उनले माओवादी लडाकुको सहारा लिए ।   त्यसो त, माओवादीमा लाग्नुअघि प्रसाईलाई वैदेशिक रोजगारीमा जाने सोचाइ पलायो । उनी प्रक्रिया मिलाएर युरोप भासिए । करिब एक वर्षमै स्वदेश फर्केका प्रसाईले पोल्याण्डमा कृषि फार्ममा काम सिकेर आएको भन्दै झापामा भैंसी पालन व्यवसाय शुरु गरे ।   सुसरालीको उही खेतमा भैंसी फार्म बन्यो । भारतबाट मुर्रा भैंसीहरु ल्याए । झापामा त्यसबेला दुर्गा प्रसाईको भैंसी पालन व्यवसाय राम्रैसँग फस्टाएको र चर्चामा आयोग त्यसबेलाका जानकारहरु बताउँछन् ।   नजिकबाट चिन्नेहरु प्रसाईलाई दुस्साहसी व्यक्ति ठान्छन् । उनी जोखिम मोल्न आँट गर्ने मानिस हुन् । उनले त्यसबेला भारतको हरियाणाबाट भैंसी ल्याएर पालेका थिए । फर्ममा छिर्ने ठाउँमा गेट लगाएका थिए । हरियाणाबाट एक जना भारतीय भैंसीको पैसा नतिरेको भन्दै धाइरहन्थे । एक दिन उनी गेटबाट रुँदै र खुट्टो खोच्याउँदै बाहिरिएका थिए, त्यसपछि कहिल्यै झापा फर्किएर आएनन् ।   प्रसाईँले सुरुमा मोटर साइकलमा राखेर दूध बेचे । त्यसपछि गाडी किनेर गाडीमा दूध बेच्न थाले । उनी मेचीपुल तरेर भारतमा पनि दूध बेच्न जान्थे । बोल्न सिपालु भएकाले प्रसाईको व्यापार राम्रैसँग फस्टायो ।   माओवादीले जनयुद्ध शुरु गरिसकेका बेला प्रसाईको भैंसीपालन राम्रोसँग चलिरहेको थियो । उनले दूधको ट्यामीसँगै गाडीमा माओवादीलाई हालेर ओसार्न थाले । माओवादीका लडाकूहरुलाई भूमिगत रुपमा बोर्डर कटाउनेदेखि बाहुनडाँगीसम्म ओसार–पसार गर्ने कार्यमा प्रसाईँको सहयोग रह्यो ।   भूमिगत कालमा माओवादी कार्यकर्ताले प्रसाईबाट लिनुसम्म फाइदा लिए । नडराउने स्वाभावका प्रसाईँले प्रहरी र सेनाको आँखा छलेर माओवादीलाई सहयोग गरे । यही क्रममा सेनाले उनलाई पक्राउ गर्यो । तर, पूर्वकांग्रेस भएका कारण कांग्रेस नेताहरुको साथ लिएर उनी छुटे । तैपनि उनले ब्यारेकमा चरम यातना भोगे ।   आफ्नी ल्याइते श्रीमती र छोराछोरीलाई अंश नदिएको भन्दै माओवादीले प्रसाईका सालो नाता पर्नेलाई अपहरण गरी मरणासन्न हुनेगरी कुटे ।   त्यसपछि प्रसाईकी सासू र सालासालीले अंश पाए । त्यही जमीन प्लटिङ गरेर बेचेपछि दुर्गा प्रसाई एकाएक अर्बपति बनेको स्थानीय बताउँछन् । यसरी उनको आर्थिक उत्थानमा माओवादीको ठूलो योगदान रह्यो ।   माओवादी शान्ति प्रक्रियामा आइसकेपछि पनि दुर्गा प्रसाईको रजगज राम्रै थियो । प्रचण्ड परिवारसँग उनको उठबस थियो । तर, झापामा धर्मशिला चापागाई लगायतका त्याग गरेर आएका नेताहरुले नवधनाढ्यको हालीमुहाली भएको भन्दै प्रसाईंको विरोध गर्न थाले । ०७० को चुनावपछि माओवादी पनि कमजोर बन्यो । अवसरको खोजीमा लागेका प्रसाईँ केपी ओली आफ्नै हजुरबुवा हुन् भन्दै एमालेमा प्रवेश गरे ।   एमालेमा रहँदा प्रसाईले झापा क्षेत्र नम्बर ३ बाट चुनाव लड्न चाहेका थिए । तर, ओलीले सो क्षेत्र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिए । मेडिकल कलेजको सम्बन्धनमा पनि ओलीले चासो दिएनन् । साथै एमालेभित्रैबाट प्रसाईलाई कारवाही गरिनुपर्ने आवाज उठ्न थाल्यो ।   एमालेको कोशी प्रदेश कमिटीले औपचारिकरुपमै उनलाई कारवाही गर्न केन्द्रमा सिफारिस गर्यो । त्यही रिसमा प्रसाई व्यवस्थाकै विरोध गर्दै राजावादी बने ।   बैंकप्रति आक्रमक अभिव्यक्ति दिइरहेका प्रसाईँ विगतदेखि नै वित्तीय संस्थाप्रति रुष्ट थिए । भैंसी पालेका बेला नेपाल बैंक लिमिटेडले नपत्याएको भन्दै उनले बिर्तामोडस्थित बैंक परिसरमा दुई दर्जन भैंसी लगेर धर्ना दिएका थिए ।  

जनकपुर:  महोत्तरीमा पेस्तोल खेलाउँदा पड्केर प्रहरी जवानलाई गोली लागेको घटनामा संलग्न असइ निलम्बनमा परेका छन् ।   महोत्तरीको हलखोरी प्रहरी चौकीका इन्चार्ज असई बच्चा यादव भन्ने रामेश्वरप्रसाद यादवलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले निलम्बन गरेको हो ।   आइतबार अपराह्न असइ यादवलाई प्रदेश प्रहरी प्रमुख डीआईजी जनक भट्टराईले निलम्बन गरेको कार्यालयका प्रवक्ता एसएसपी प्रविन पोखरेलले जानकारी दिए ।   डाँका समातेको खुसीमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कात्तिक ३० गते राति भएको रात्री भोज खाएर फर्केपछि असई यादवले पेस्तोल खेलाउँदा सेन्टरी बसेका प्रहरी जवान राजेश कुमार घाइते भएका थिए ।   अनलाइनखबरले यो घटना सार्वजनिक गरेपछि महोत्तरी प्रहरीले असई यादवलाई निलम्बन प्रक्रियाको लागि प्रदेश प्रहरी कार्यालय जनकपुरलाई पत्र पठाएको थियो ।   एक पाखुरामा गोली लागेर घाइते भएका जवानलाई असई यादवले घटना लुकाउन भारत उपचारमा पठाएका थिए । भरतीय प्रहरीले थाहा पाएपछि सप्तरी प्रहरीलाई खबर गरेका थिए ।   घाइते प्रहरी जवानको घर सप्तरी हो । सप्तरी प्रहरीले महोत्तरी प्रहरीलाई गत शुक्रबार जानकारी गराएको थियो ।