काठमाडौं:  मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित रहेको छ । जसको प्रभावले मङ्गलबार देशभर पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान गण्डकी, लु...

पोखरामा सम्पन्न फिसटेल रेसिङ कप २०२३ को उपाधि अजय तामाङले जितेका छन् । आइतबार पोखरा रंशगशालामा सम्पन्न ३८ जना वाइकर्सहरुलाई उछिन्दै अजयले उपाधि जितेका हुन् । उनले उपाधि संगै नगद १ लाखसहित ट्रफि र प्रमाणपत्र हात पारेका छ्न् । नेपाल रेसिङ स्पोर्टस एसोसियसनको आयोजना तथा भिआर ४६ को समन्वयमा तिन दिन सम्म भव्य रुपमा सञ्चालन भएको प्रतियोगितामा सुजन थापा मगर दोश्रो भए । उनले नगद रु ७५ हजार हात पार्दा  मोहमद फरहान तेश्रो हुँदै नगद रु २५ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै महिलातर्फ ५ जना वाइकर्स सहभागि थिए । महिलातर्फको एक मात्र उपाधि वर्षा बस्नेतले जितिन् । उनले नगद रु २० हजारका साथमा ट्रफी प्राप्त गरिन् । नेपाल रेसिङ स्पोर्टस एसोसियसनले पहिलो पटक उक्त प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा बाइकर्सहरुले स्टन्ट गर्नुका साथै म्युजिकल शो समेत प्रदर्शनीको रुपमा आयोजना गरिएको थियो । प्रतियोगिताका विजेताहरुलाई प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, राखेपका सदस्य राजेश गुरुङलगायतले ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए । पोखरा रंगशाला भित्रको पिच सडकलाई फिसटेल रेसिङ ट्रयाकको रुपमा घोषणा गरि निरन्तर रुपमा प्रतियोगिताहरु आयोजना गर्ने नेपाल रेसिङ स्पोर्टस एशोसियसनका अध्यक्ष माइकल थापाले जनाएका छन् । उनले भने–“यो सुरुवात मात्रै हो । हामी पोखरा सहित अन्य प्रदेशमा समेत यस्तै प्रतियोगिताहरु आयोजना गर्ने गरि अगाडी बढ्दैछौं ।     

तराई भू–परिधि क्षेत्रका राष्ट्रिय निकुञ्जको प्रभावकारी सुरक्षा व्यवस्थापन गर्नेबारे चितवनमा पाँच निकुञ्जको संयुक्त बैठक बसेको छ।   राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आइतबार आयोजना गरेको बैठकमा पाँच निकुञ्जका कार्यालय, सुरक्षाकर्मी र सरोवारवालाको उपस्थिति थियो।​ कसरास्थित प्रकृति संरक्षण शिक्षालयमा आयोजित बैठकमा विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुङ्गानाले निकुञ्जको सुरक्षा व्यवस्था थप बलियो र प्रभावकारी बनाउन निकुञ्ज प्रशासन, सुरक्षाकर्मी र सरोकारवालालाई निर्देशन दिएका छन्।   सबै पक्षको सहयोग भएमा वन्यजन्तु तथा वन पैदावरको चोरी निकासी नियन्त्रण गर्न सहज हुने उनको भनाइ छ। कार्यक्रममा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका प्रमुख सहायक रथी सुन्दरकुमार पाण्डे, नेपाली सेना नम्बर २८ बाहिनीका सहायक रथी सानुकाजी थापा, ७ नम्बर बाहिनीका सहायक रथी लीलाबहादुर खनाल क्षेत्रीको समेत सहभागिता रहेको थियो।   उनीहरूले निकुञ्जको प्रभावकारी सुरक्षा व्यवस्थापनमा सबै सुरक्षा निकाय, स्थानीय समुदाय र सरोकारवालाबीच आपसमा समन्वय गर्नुपर्ने खाँचो बैठकमा औंल्याएका थिए। 

खोटाङ:  खोटाङको साकेला गाउँपालिका– २ स्थित माछा पोखरीमा डुबेर एक जना बालिकाको मृत्यु भएको छ ।   मृत्यु हुनेमा बिरधन राईको ३० महिनाकी छोरी आरिमा राई रहेकी छिन् ।   आइतबार हिजो दिउँसो साढे १ बजे बराहपोखरी गाउँपालिका– ६ स्थित मामा घरमा बस्दै आएकी उनी घर नजिकैको माछा पोखरीमा खेल्ने क्रममा पोखरीमा डुबेको अवस्थामा स्थानीयाले देखेका थिए ।   त्यसपछि  उपचारको लागि साकेला आधारभुत अस्पताल लगेपछि मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।

मकवानपुरमा दुइटा शव फेला परेको छ। लोथर खोला आसपासमा बेग्लाबेग्लै ठाउँमा शव फेला परेको हो।   शवका केही भाग फेला नपरेकोले बाघले खाएको अनुमान छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीका अनुसार बाघको आक्रमणबाट उनीहरूको मृत्यु भएको पाइएको छ।     बाघले आक्रमण गरी मानिस मारेको भन्ने सूचनाका आधारमा प्रहरी, चितवन राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको टोलीले बाघ खोजी गरेका थिए।   सोही क्रममा सोमबार राति करिब ७ बजे र गत शुक्रबार पनि सोही ठाउँ नजिकै शव फेला परेको थियो। ‘बाघलाई सोमबार राति नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्ज लगिएको छ,’ डिएसपी भण्डारीले भने। प्रहरीका अनुसार शव फेला परेकामध्ये एक जनाको सनाखत भइसकेको छ।   चितवनको राप्ति गाउँपालिका १ दुबिचौरका हरि पौडेलको शव फेला परेको हो। 

पाेखरा:  पोखरास्थित यातायात व्यवस्था कार्यालय कास्कीले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको छ ।   ‘इम्बोस्ड नम्बर  प्लेट’ जडान गरेपछि मात्र सेवाग्राहीलाई आधिकारिक कागजात उपलब्ध गराइने कार्यालय प्रमुख डिल्ली रिजालले जानकारी दिनुभयो ।   उहाँले यातायात व्यवस्था विभागको परिपत्र र कार्यालयको निर्णयानुसार नयाँ दर्ता हुने सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडानलाई अनिवार्य गरिएको उल्लेख गरे ।   “इम्बोस्ड नम्बर प्लेट जडान त पोखरामा पहिलेदेखि नै सुरु भएको हो, तर त्यति प्रभावकारी हुनसकेको थिएन”, कार्यालय प्रमुख रिजालले भने, “अबदेखि नयाँ सवारीसाधनमा अनिवार्य गरिएको छ, पुराना सवारीसाधनमा पनि नियमितरूपमा इम्बोस्ड नम्बर प्लेट जडान सुरु हुन्छ ।”   कार्यालयले सेवाग्राही र अटो व्यवसायीमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर’ जडानका लागि सूचितसमेत गरेको छ ।   “अब उप्रान्त यस कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधन दर्तापश्चात अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट’ दर्ता जडान गरेपछि मात्र आधिकारिक कागजात उपलब्ध गराइनेछ”, कार्यालयको सूचनामा उल्लेख छ ।   प्रविधिमा आधारित ‘इम्बोस्ड नम्बर प्लेट’मा सवारीसाधन तथा सवारीधनीको सम्पूर्ण विवरण उल्लेख हुने कार्यालय प्रमुख रिजालले बताए । 

नेपाली कांग्रेसले यही मंसिर १६ र १७ गते लुम्बिनी प्रदेश सम्मेलन गर्ने भएको छ। प्रदेश कार्यसमिति गठनपछि यो पहिलो पटक गर्न लागिएको सम्मेलन हो।   सम्मेलनका लागि केन्द्रीय सभापति शेरबहादुर देउवा, उपसभापतिहरू पूर्णबहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री किशोरसिंह राठौर र केन्द्रीय सदस्य शेखर कोइराला लगायतलाई बोलाइएको लुम्बिनी कांग्रेसले जनाएको छ।   प्रदेश सम्मेलन तयारीका लागि लुम्बिनी सभापति अमरसिंह पुनले मंसिर १३ गते बिहान ११ बजे पदाधिकारी र सदस्यहरूलाई बैठकमा बोलाएका छन्।   कांग्रेस विधानअनुसार हरेक कार्यसमितिले वर्षमा कम्तिमा एक पटक सम्मेलन गर्नुपर्ने हुन्छ। ‘प्रदेश सम्मेलनको बैठक कम्तिमा प्रत्येक वर्षमा एक पटक बस्नेछ। तर प्रदेश अधिवेशन हुने वर्षमा प्रदेश सम्मेलनको बैठक हुने छैन,’ विधानमा लेखिएको छ।   'एउटा अधिवेशन समाप्त भई अर्को प्रदेश अधिवेशन प्रारम्भ नहुँदाको अवस्थामा प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचनबाहेक अधिवेशनको सबै कार्य गर्न सक्ने' प्रदेश सम्मेलनको काम, कर्तव्य र अधिकार तोकिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक आइतबारबाट महोत्तरीको जलेश्वरमा सुरू हुँदैछ।   आज मध्याह्न १२ः३० बजेबाट संयुक्त बैठक सुरू हुने पार्टीका उपसभापति डोलप्रसाद (डिपी) अर्यालले जानकारी दिए। ‘केन्द्रीय सदस्य र सांसदहरू ११ बजे आइसक्नुहुनेछ। साढे बाह्र बजेबाट बैठक सुरू गर्छौं,’ उनले भने। बैठक तीन दिनसम्म चल्ने छ।   राष्ट्रिय स्वतन्त्र पार्टीले मधेसका जिल्लाहरूमा गतिविधि बढाइरहेको छ। त्यसका लागि केन्द्रीय समिति र सांसदहरू मधेसमै खटिएका छन्। आजबाट सुरू हुने संयुक्त बैठकमा पार्टीको दीर्घकालीन नीतिबारे विमर्श हुने अर्यालले जानकारी दिए।   प्रदेश सभापतिहरूलाई पनि बोलाइएको बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोगले प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यसका अतिरिक्त प्रदेशहरूले राजनीतिक प्रतिवेदनहरू प्रस्तुत गर्नेछन्। त्यस्तै, समग्र पार्टीको आर्थिक प्रतिवेदन, सांसदहरूको संसदीय कार्यको मिहीन समीक्षा हुने पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिएका छन्।   राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिरभित्रमा महाधिवेशनको प्रक्रिया सुरू गरिसक्नुपर्ने छ। वडा तहबाट महाधिवेशनको प्रक्रिया सुरू गर्ने तयारी गरिरहेको रास्वपाले त्यसको विधि र प्रणालीबारे पनि यो बैठकमा छलफल गर्ने महामन्त्री ढकालले बताएका छन्।   पार्टीको समग्र रोडम्याप र अवलम्बन गर्ने नीति पनि यो बैठकले तय गर्ने उनले जानकारी दिए।   रास्वपाले राजनीतिक दस्तावेजमाथि विमर्श चलाइरहेको छ। महामन्त्री मुकुल ढकालसहितको तीन सदस्यीय कार्यदलले दस्तावेजको खाका बनाएको थियो। त्यसमाथि चरणचरणमा छलफल चलाएको रास्वपाले केही समयअघि जनआवाज सुन्न भन्दै पार्टीका केन्द्रीय सदस्य र सांसदहरूलाई जिल्ला खटाएका थियो। तीन दिन बसेर उनीहरूले जनताका सुझाव संकलन गरेर ल्याएका थिए।   लगत्तै रास्वपाले काठमाडौंमा दस्तावेजकेन्द्रित बौद्धिक मन्थन पनि गरेको थियो। अहिले मधेसमा संयुक्त बैठक राख्नुका पछाडि पनि दस्तावेजमाथिको छलफललाई विस्तारित गर्नु नै रहेको नेताहरूले बताएका छन्।  

झापा:  झापामा बुवाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ।   सोमबार बिहान साढे ६ बजे कमल गाउँपालिका- ४ बस्ने अन्दाजी ४५ वर्षीय भोलाकुमार तामाङको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। तामाङको हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय छोरा आशिषलाई पक्राउ गरेको हो।    डिएसपी रिजालका अनुसार आशिषले आफ्ना बुवा भोलाकुमारमाथि कराइ र दाउ प्रहार गरी हत्या गरेका हुन्। मृतक भोलाकुमारको टाउको र खुट्टामा चोट लागेको छ। घटनापछि आशिष भागेका थिए। उनलाई प्रहरीले सवा ७ बजे प्रहरी चौकी केर्खाबाट खटिएको टोलीले पक्राउ गरेको हो। उनलाई प्रहरीले कमल-४ दुध डेरी भन्ने ठाउँबाट पक्राउ गरेको हो।   थप अनुसन्धानका लागि प्रहरीले उनलाई इलाका प्रहरी कार्यालय दमकमा लगेको छ।