झापा:  झापामा डेढ दशकको अवधिमा हात्तीको आक्रमणबाट ७२ जनाको मृत्यु भएको छ । यस क्रममा २०६७ सालदेखि हालसम्म सात जना गैरनेपालीको समेत मृत्यु भएको छ ।  डिभिजन वन कार्यालय झापाका डा सुमन भलका अन...

मुगु:    मुगुको मुन्दुगाउँस्थित एकै परिवारका चार जनाको हत्या भएको घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको छ । जिल्लाको छायाँनाथ रारा नगरपालिका–६ को मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्या भएको थियो । जिल्ला  प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षकको नेतृत्वमा कर्णाली प्रदेशको सुर्खेत कार्यालयबाट एक वटा तालिम प्राप्त कुकुरसहित तीन जना प्रहरी सायक निरीक्षकको टोलीसहित अनुसन्धानका लागि घटना स्थलमा आइपुगेको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाले घटनामा संलग्न व्यक्ति  नउम्किउन् भनेर प्रहरीले सतर्कता अपनाएको छ । घटना संलग्नहरु भाग्न सक्ने सम्भावित नाकाहरुमा निगरानी बढाइएको उहाँले बताउनुभयो । घटनाको जानकारी प्राप्त भएलगत्तै प्रदेश कार्यालयको समन्वयमा तालिम प्राप्त कुकुरसहितको टोली घटनास्थलमा कुकुरको सहयोगमा सुक्ष्म अनुसन्धान सहयोगमा घटनाको सुक्ष्म अनुसन्धान हुने उहाँको भनाइ छ । परिवारका सबै सदस्यको शव घर भित्रनै फेला परेको छ । उक्त परिवारका एक जना दिप बहादुर बोहरा भने जोगिनुभएको छ । उहाँ वैदेशिक रोजगारीका लागि कतारमा गएको  प्रहरीले बताएको छ । आठ महिने नाबालक रहर बोहरासहित चार जनाको हत्या भएको हो । २७ वर्षीया आमा  श्रीदेवी बोहरा, छोरी ११ वर्षीया मनहरा बोहरा र सात वर्षीया अप्सरा बोहरा घरभित्रै  मृतक अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

काठमाडौं:      स्पिनर सन्दीप लामिछानेले राष्ट्रिय क्रिकेट टोलीमा फर्किएका छन् । नेपालले सोमबार देखी टियु र मुलपानी मैदानमा हुने आइसिसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल खेल्ने टोली घोषणा गर्दा सन्दीप टोलीमा छन् । सन्दीपले दुई साताअघि सामाजिक सञ्जालमार्फत परिवारलाई समय दिन चाहेको बताउँदै आगामी प्रतियोगिताबाट नाम फिर्ता लिएको बताएका थिए । त्यसैको कारण उनले हङकङ र युएईसँग त्रिकोणात्मक टि–२० आई सिरिज गुमाएका थिए । आइसिसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखि २० गते सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदैछ । समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् । फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि–२० विश्वकप खेल्न पाउनेछन् ।   नेपालको टोली:   रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जि।सी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी ।

पोखरा:    पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर मिचेर बनेका संरचना ३५ दिन भित्र हटाउन निर्देशन दिएको छ । महानगरले शुक्रबार एक सूचना जारी गरी खोलाघर मिचेर बनेका स्थायी÷अस्थायी सबै संरचना हटाउन निर्देशन दिएको हो । पोखरा महानगरपालिका १८ अधेरी कुना हुँदै पोखरा २, ४, ५, ७, ८, ६ र १७ हुँदै फेवातालमा मिसिने फिर्केखोलाको खोलाघर मिचेर बनेका संरचना हटाउन निर्देशन दिएको हो । पोखरा महानगरले केही समयअघि प्राविधिक खटाएर खोलाको वास्तविक आकार खोज्न सुरु गरेको थियो । सो क्रममा खोलाघर पर्ने क्षेत्रमा सीमांकन गर्दै स्तम्भ गाडेको थियो । प्राविधिकले गाडेको उक्त स्तम्भभित्र पर्ने सबै संरचना हटाउन महानगरले सूचना जारी गरेको हो । ‘यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र पूर्णरुपमा हटाउनुहुन यो सार्वजनिक सूचना जारी गरिएको छ,’ सूचनामा भनिएको छ, ‘उल्लेखित मिति भित्र संरचनाहरू नहटाएमा महानगरपालिका आफैले हटाउने र सो क्रममा लाग्ने लागत समेत सम्बन्धित व्यक्ति वा संस्थाले सरकारी बाँकी सरह भुक्तानी गर्नुपर्ने व्यहोरा यसै सूचना साथ जानकारी गराइन्छ ।’ पोखरा महानगरले सर्वेक्षक वासुदेव पौडेलको नेतृत्वमा साउन ३ गतेदेखि फिर्केखोलाको वास्तविक आकार खोज्न प्राविधिक खटाएको थियो । खटिएको टोलीले २ महिनापछि असोज ६ गते अध्ययन प्रतिवेदन तयार पारेर महानगरलाई बुझाएको थियो । प्रतिवेदनअनुसार १ सय ६० संरचना खोलाघरमै बनेको पाइएको थियो । त्यसमध्ये ९७ संरचना अस्थायी, ३५ वटा स्थायी र २८ वटा विभिन्न सरकारीसहितका संघसंस्थाले संरचना बनाएको पाइएको प्रतिवेदनमा उल्लेख छ । खोलाघरनै मिचेर ९७ अस्थायी बनेका संरचनामध्ये दायाँतर्फ ५० र बायाँतर्फ ४७ संरचना बनको पाइएको प्रतिवेदनले देखाएको छ । ‘त्यसमध्ये कतिपय शतप्रतिशत र कतिपय आंशिक भाग खोलाघरमा बनेको पाइयो,’ प्रतिवेदनमा भनिएको छ । फिर्केखोला मिचेर ३५ वटा व्यक्तिगत स्थायी संरचना बनेका छन् । जसमध्ये दायाँतर्फ १८ वटा र बायाँतर्फ १७ वटा रहेको प्रतिवेदनमा उल्लेख छ । फिर्केलाई व्यक्तिगतमात्रै नभएर संस्थागत तरिकाले पनि अतिक्रमण गरिएको प्रतिवेदनमा समावेश छ ।

काठमाडौं:    बडादशैँ पर्व महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमामा आज बेलुका सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दशैँ पर्व समापन हुन्छ । शास्त्र अनुसार गर्नुपर्ने अखिल बलिपूर्तिको काम भने हिजो बेलुका नै समापन भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइ मान्यजनबाट आशीर्वाद लिने क्रम पनि हिजो नै सकिएको छ । जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगेर सेलाइएको छ । व्यवहारमा भने कोजाग्रत पूर्णिमाका दिनसम्म नै नवदुर्गाको प्रसाद लगाएर आशीर्वाद थाप्ने गरिन्छ । तर, आज टीका लगाउनेले जमरा लगाउँदैनन् । दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ  । लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको पूजा, आराधना गरिने भएकाले यस पर्वको विशेष महत्त्व छ । यस्तै, कार्तिक स्नान गरी तुलसीको विशेष रुपमा गरिने पूजा आराधना पनि आजैदेखि शुरु गरिँदैछ । आकाशदीपदान पनि आजै बेलुकादेखि शुरु गरिने छ । 

पोखरा:  कास्कीको माछापुच्छ्रे  गाउँपालिकाले गाउँपालिका भित्रका पर्यटकीय पदमार्गहरु भ्रमण गरे बापत आन्तरिक तथा बाह्य पर्यटकबाट शुल्क उठाउने निर्णय गरेको छ ।  गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै पर्यटकीय पदमार्गहरुको भ्रमण गरे बापत आन्तरिक तथा बाह्य पर्यटकबाट रु १ सय र ५ सय शुल्क उठाउने निर्णय गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपी कृष्ण अर्यालले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘गाउँपालिकाका सुन्दर पर्यटकीय पदमार्गहरु भ्रमणमा पाल्नुहुने पदमार्गमा स्वदेशी पर्यटकका लागि १ सय र विदेशी पर्यटका लागि ५ सय रुपैया शुल्क उठाउने निर्णय गाउँ कार्यपालिकाको बैठकले निर्णय भएको छ ।’   गाउँपालिकाले पर्यटकबाट उठाएको शुल्कबाट पदमार्गमा पूर्वाधार निर्माण तथा व्यवस्थापन गर्ने, सूचना केन्द्र स्थापना गर्ने, सोलार बत्ति जडान, फोहोर मैला व्यवस्थापन लगाएतका काम गर्न शुल्क लिन लागेको विज्ञप्तीमा उल्लेख गरेको छ । 

काठमाडौं:     प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एमाले० अध्यक्ष केपी ओलीबीच शुक्रबार दिउँसो भेटवार्ता भएको छ ।  प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार उहाँहरुबीच सिंहदरबारमा करिब एक घण्टादेखि जारी छलफलमा समसामयिक राजनीति विषयमा छलफल भइरहेको छ । उहाँले भन्नुभयो, “उहाँहरुबीच छलफल जारी छ।  विस्तृत विषय बैठकपछि थाहा हुनेछ ।” 

ढोरपाटन:   बेलढुङ्गा बागलुङ र म्याग्दीको सिमानामा पर्छ । उच्च पहाडी क्षेत्रमा रहेको बेलढुङ्गा सिमाना मात्रै नभएर पछिल्लो समय उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ ।  स्वच्छ हावापानी, मनोरम वातावरण र यहाँबाट देखिने अनगिन्ती हिमालले धेरैलाई आकर्षित गरिरहेको छ । बाह्रै महिना बेलुङ्गामा पर्यटक आए पनि यस याममा अझ बढी आउने अपेक्षा गरिएको छ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेको र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको शिरमा रहेको यस क्षेत्रमा मोटरबाटो तथा पदमार्गमार्फत सहजै पुग्न सकिने हुँदा आन्तरिक पर्यटकको भीड नै लाग्ने गरेको छ । एक दशक अगाडिसम्म सुनसान रहेको बेलढुङ्गा अहिले चर्चित बन्दै गएको छ । हरेक वर्ष हजारौँ पर्यटक पुग्ने यस ठाउँमा काठेखोला गाउँपालिकाले पनि पर्यटन पूर्वाधारका लागि बर्सेनि बजेट विनियोजन गर्दै आएको छ । पर्यटन पूर्वाधार निर्माणपछि पर्यटक बढ्ने क्रम जारी छ । समुद्री सतहदेखि दुई हजार ६ सय १४ मिटर उचाइको बेलढुङ्गामा दसैँ र तिहार बीचमा बढी पर्यटक आउने गरेको पाइन्छ । विद्यार्थी, प्राध्यापक तथा अन्य सरकारी तथा गैरसरकारी संस्थामा काम गर्ने कर्मचारी बढी आउने गरेको स्थानीयको भनाइ छ ।    मुस्ताङको मुक्तिनाथ, म्याग्दीको गलेश्वरधाम र बागलुङको कालिका मन्दिर, पञ्चकोट तथा शालिग्राम सङ्ग्रहालय नजिकै रहेको हुँदा पर्यटक दैनिक बेलढुङ्गा पुग्ने गरेका छन् । आधा दशक अगाडिसम्म यहाँ पुग्ने सडक सहज नहुँदा यो ठाउँमा ओझेलमा थियो । जब सडक सञ्जालले बेलढुङ्गा जोडिँदै गयो, तब धेरैको रोजाइमा यो ठाउँ पर्‍य ो । हिउँदमा हिउँ खेल्न र गर्मीमा जाडो छल्न जानेहरुले बेलढुङ्गामा चहलपहल निकै हुने गर्छ । अहिले पदमार्ग र साइकल लेन निर्माणपछि हाइकिङ गर्नेको सङ्ख्या अझ बढ्दो छ ।  बेलढुङ्गा नजिकै ओखले गाउँमा सामुदायिक घरबास ‘होमस्टे’ छ । जसले गर्दा यहाँ पुग्ने पर्यटकका लागि खाना, बस्न र बासको व्यवस्थापन गर्ने गरेको छ । हरेक दिन पर्यटक बेलढुङ्गा आउने गरे पनि असोज अन्तिम सातादेखि भीड नै लाग्ने गरेको स्थानीय गोपाल श्रीसले बताउनुभयो । पछिल्लो केही दिनयता दैनिक दुई सयभन्दा बढी पर्यटक बेलढुङ्गा आउने गरेको उहाँको भनाइ छ ।  अधिकांश पर्यटक दिउँसो आउने र साँझ फर्कने हुँदा ओखले गाउँमा रहेको सामुदायिक घरबासमा कम पाहुना मात्रै बस्ने गरेको उहाँले बताउनुभयो । “पहिले–पहिले बेलढुङ्गामा यस्तो चहलपहल हुँदैनथ्यो, अहिले त विकास भएर पनि होला, प्रचार पनि धेरै भएर होला, घुम्न आउनेको सङ्ख्या प्रत्येक वर्ष बढिराखेको छ, यस वर्ष निकै बढी आएको पाएका छौँ”, उहाँले भन्नुभयो, “अहिले यो ठाउँ निकै व्यवस्थित पनि भएको छ, बागलुङ र म्याग्दी दुई तिरबाट मान्छेहरु आउने गर्छन्, दुई जिल्लाबाहेक पोखरा, काठमाडौँलगायत ठाउँबाट पनि यहाँ घुम्न आउँछन्, यो ठाउँ निकै सुन्दर रहेको हुँदा कहिलेकाहीँ विदेशी पर्यटक पनि फाटफुट आउने गरेका छन्, केही दिन भयो दैनिक दुई सयभन्दा बढी पर्यटक यहाँ आइरहेका छन् ।” स्थानीय घरबास सञ्चालक मायाकुमारी छन्त्याल श्रीसले दसैँदेखि पाहुनको चाप पनि बढ्न थालेको बताउनुभयो । पाहुनालाई स्थानीय उत्पादन कोदोको सेलरोटी, लोकल कुखुराको मासु, आलुलगायत परिकार खुवाउने गरेको श्रीसको भनाइ छ । घरबास सञ्चालनमा आएपछि बेल ढुङ्गा आउने पर्यटकलाई निकै सहज भएको उहाँले बताउनुभयो। पछिल्लो केही दिनयता पाहुन नभएको रात नै नभएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “बेलढुङ्गामा पर्यटक बढेपछि हाम्रो होमस्टे पनि राम्रो चलेको छ, पहिले कम मात्रै पर्यटक आउँदा हामीहरुलाई होमस्टे चलाउन गाह्रो थियो, यहाँ आउने पाहुनाले स्थानीय उत्पादनका परिकारको माग गर्नुहुन्छ, यहाँ उपलब्ध परिकार उहाँहरुलाई दिने गरेका छौँ, दिनदिनै पर्यटक आउने क्रम जारी छ, हरेक दिन पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।” दसैँतिहारका लागि क्याम्पस बिदा भएको हुँदा बेलढुङ्गा घुम्न आएको पर्वतका निशान कार्कीले बताउनुभयो । सामाजिक सञ्जालमा बेलढुङ्गाको फोटो र भिडियोहरु निकै भाइरल भएको हुँदा १३ जनाको समूह बनाएर यहाँ घुम्न आएको उहाँको भनाइ थियो  । बेलढुङ्गादेखि सूर्योदय पनि देखिने हुँदा एक दिन बागलुङ र अर्को दिन म्याग्दीमा बास बसेर अवलोकन गर्ने कार्कीको भनाइ छ । बेलढुङ्गाको अवलोकनपछि ढोरपाटन पुग्ने योजना रहेको उहाँले बताउनुभयो ।   “बिदाको समय घुमौँ भनेर एक हप्ताको यात्रा तय गरेका छौँ, यसपालि बागलुङ, म्याग्दी र पर्वतका पर्यटकीय ठाउँ घुमौँ भन्ने छ, दोस्रो दिन बेलढुङ्गा पुगेको निकै रमाइलो रहेछ, हिमालहरु नजिकैबाट देख्न पाइँदोरैछ, वातावरण पनि शान्त,” उहाँले भन्नुभयो, “पहिले पनि यहाँ आउने चाहना थियो तर समय नमिलेको हुँदा आउन सकेको थिएन, यसपालि चैँ मज्जाले घुमियो, ठाउँ हेरियो ।” बेलढुङ्गाबाट, धौलागिरि, माछापुच्छ्रे अनगन्ती हिमशृङ्खला आँखै अगाडि देख्न सकिन्छ । बागलुङ, पर्वत, कास्की, गुल्मीलगायत ठाउँहरु पनि सहज रुपमा देख्न सकिन्छ । काठेखोला गाउँपालिकाले पनि बेलढुङ्गाको प्रवर्धन गर्न थालिरहेको छ । गत वर्ष विनियोजन गरेको रु। दुई लाख ५९ हजारबाट बेलढुङ्गालाई फराकिलो र व्यवस्थित बनाइएको छ भने गण्डकी प्रदेश सरकारको २० लाख बजेटमा देउराली डाँडादेखि यहाँसम्म जोड्ने दुई सय ६० मिटर स्लेट ढुङ्गा बिच्छ्याएर पदमार्ग निर्माण गरिएको छ । बागलुङ नगरपालिका–६ पञ्चकोटतर्फ दुई सय ५० मिटर साइकल मार्गसमेत बनाइएको छ ।

मुगु:    मुगुको छायाँनाथ रारा नगरपालिका –६ स्थित मुन्दु गाउँमा चार जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक  विरेन्द्र थापाका अनुसार धारिलो हतियार प्रहार गरी रातिको समयमा एकै घरपरिवारका  चार जनाको  हत्या गरिएको छ ।  उहाँका अनुसार २७ वर्षीया आमा श्रीदेवी बोहरा, ११ वर्षीय छोरा मनोज बोहरा, ७ वर्षीया छोरी अप्सरा बोहरा, ८ वर्षीय छोरा रहर बोहराको हत्या गरिएको छ । हत्या कलसे लगरेको हो भन्ने खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।  प्रहरी प्रमुख थापाले भन्नुभयो, “श्रीदेवी बोहराका श्रीमान वैदेशिक रोजगारीका लागि बिदेशको कतारमा रहनुभएको छ । घटनाको थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।  छायाँनाथ रारा नगरपालिका – ६ मुन्दु गाउँकी स्थानीय धर्मी बोहराका अनुसार ८ गते बेलुका ४ बजेतिर माइतीघर कोटिलाबाट टीका लगाएर   उहाँहरु घर आनुभएको थियो । हत्या गर्ने हत्याराले घरभित्र हत्या गरेर ढोकामा ताल्चा लगाएर भागेको प्रहरीको भनाइ छ ।

काठमाडौं:     युएईले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनल खेलमा घरेलु टोली नेपाललाई चार विकेटले हराउँदै उपाधि जितेको छ । जितको लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको युएईले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । युएईको जितमा बासिल हामिद १६ बलमा २ छक्कासहित २२ रनमा आउट भए । युएईका मोहम्मद वासिम २२ बलमा ७ चौका र २ छक्कासहित ४५ रनमा आउट भए । युएईलाई ओपनर वासिम र अर्यांश शर्माले ६।४ ओभरमा ७१ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । युएईलाई जितको लागि अन्तिम ६ बलमा ७ रन चाहिँएको थियो । पहिलो बलमा करण केसीलाई बासिल हामिदले कभरमा दुई रन प्रहार गरेका थिए । दोस्रो बल डट राखेपछि चार बलमा पाँच रन चाहिँएको थियो ।   तेस्रो बलमा एक दिँदा लगत्तै वाइड फ्याँले । चौथो बलमा आयनले एक रन बटुले । दुई बलमा दुई रन चाहिँएको थियो । पाँचौं बलमा स्टेटमा बासिलले छक्का हान्दै रोमान्चक जित दिलाए । त्यसअघि वासिमले दुई महत्वपूर्ण जीवनदान पाएका थिए । करण केसीको तेस्रो ओभरको चौथो बलमा प्वाइन्टमा कुशल मल्लले मोहम्मद वासिमको ब्यक्तिगत २३ रनमा क्याच छाड्न पुगेका थिए । ललितको चौथो ओभरको पाँचौं बलमा पुनः ३४ रनमा वासिमले दुई जीवनदान पाएका थिए । ललित कट एण्ड बोल्ड आउट गर्न चुकेका थिए ।   युएईले पहिलो ओभरमा १७ रन जोड्दै ड्रिम सुरुवात गरेको थियो । तीव्र गतिका बलर सोमपाल कामीले पहिलो बल गर्नेक्रममा खुट्टाले स्टम्प लागेपछि नो बल भएको थियो । त्यसपछि मोहम्मद वासिमले छक्का र दुई लगातार चौका हान्दै राम्रो सुरुवात दिलाएका थिए । वासिमलाई तीव्र गतिका बलर गुलशन झाले सातौं ओभरको चौथो बलमा बोल्ड आउट गर्दै नेपाललाई पहिलो पहिलो सफलता दिलाएका थिए । अर्का ओपनर अर्यांश शर्माले २६ बलमा २ चौकासहित २५ रन बनाए । उनी कुशल मल्लको बलमा सन्दीप जोराबाट क्याच आउट भएका थिए ।   आसिफ खान गुलशन झाको ११ औं ओभरको पाँचौं बलमा थर्डमा अभिनाश बोहराबाट ७ रनमा क्याच गराए । एलिशान शराफु १३ बलमा २ चौकासहित १३ रनमा आउट भए । उनी अभिनाश बोहराको १५ औं ओभरको तेस्रो बलमा लङअनमा कुशल भुर्तेलबाट क्याच आउट भए । १६ औं ओभरको चौथो बलमा दीपेन्द्रसिंह ऐरीले वृत्य अरविन्दलाई २५ रनमा डाइरेक्ट थ्रोमा रन आउट गरेपछि नेपालको जितको सम्भावना थियो । नेपालका अभिनाश बोहराले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । गुलशन झाले ३ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले ३ ओभरमा १६ रन खर्चेर १ विकेट लिए ।   त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले २९ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ५० रनको योगदान दिएका थिए । उनको यो टि२० आई करिअरको छैटौं अर्धशतक हो । नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ५ ओभरमा ४३ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर आयन खानले पाँचौं ओभरको अन्तिम बलमा आसिफ शेखलाई ७ रनमा बोल्ड आउट गर्दै युएईलाई पहिलो सफलता दिलाएका थिए । आयनले सातौं ओभरको चौथो बलमा कुशल मल्ललाई एक रनमा बोल्ड आउट गरे । तीव्र गतिका बलर जहुर खानको आठौं ओभरको तेस्रो बलमा कुशल भुर्तेल बोल्ड आउट भएका हुन् । १३ औं ओभरको पहिलो बलमा कप्तान रोहित पौडेल प्याडल सर्ट खेल्ने धुनमा विकेटकिपर अर्यांश शर्माबाट क्याच आउट भएका थिए । रोहितले १७ बलमा १ चौकासहित १८ रन बनाए । तीन बलपछि दीपेन्द्रसिंह ऐरी २० रनमा बोल्ड आउट भए । दीपेन्द्रले १५ बलमा १ चौका र १ छक्का प्रहार गरे । इनस्वींग बल चाल पाउन नसक्दा दीपेन्द्र बोल्ड आउट भएका थिए । जहुर खानको १६ औं ओभरको पहिलो बलमा चोभार एन्डमा लङअनमा सर्ट खेल्न खोजेका सन्दीप जोरा मिडअनमा मोहम्मद वासिमबाट १० रनमा क्याच आउट भए । आयनले सोमपाल कामीलाई १३ रनमा बोल्ड आउट गरे । तल्लोक्रममा करण केसी १७ बलमा २ चौका र १ छक्कासहित २३ रनमा नट आउट रहे । अन्तिम ओभरमा जहुर खानले करणलाई लगातार पाँच बल डट राख्दा अन्तिम बलमा दुई रन दिएका थिए । अन्तिम ६० बलमा नेपालले ६७ रन बनाउँदा ५ विकेट गुमाएपछि विशाल योगफलमा पुग्न सकेको थिएन । युएईका आयन खानले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । अली नासिरले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । जहुर खानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । जुनैद सिद्दिकले ४ ओभरमा ४४ रन खर्चेर १ विकेट लिए । नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको लिगका चारै खेल जितेको थियो । अव सोमबार देखी आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट सुरु हुनेछ । समूह ए मा नेपाल, ओमान, सिंगापुर र मलेसिया छन् । समूह बी मा हङकङ, युएई, बहराइन र कुवेत छन् । फाइनल पुग्ने दुई टोली २०२४ मा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।