धादिङको गङ्गाजमुना झरना धार्मिक तथा पर्यटकीयरुपले परिचित स्थल हो । यस झरनामा वर्षौँदेखि लाग्दै आएको जात्राको रौनक अहिले पनि घटेको छैन । देशका थुप्रै जिल्लाबाट यो मेला हेर्न र गङ्गाजमुना माईको दर्शन गर्न उल्लेख्य सङ्ख्यामा आउने गर्दछन् । धादिङका उत्तरी क्षेत्रमा पर्ने यो मेला हरेक वर्ष हरिबोधनी एकादशीको दिन लाग्छ । गङ्गाजमुना गाउँपालिकाको नाम पनि यही मेलाको नामबाट राखिएको हो । यस वर्ष बुधवार बिहानैदेखि झरनाको फेदीमा जम्मा भएका भक्तजनले आज एकादशीको दिन बिहान त्यही स्नान गरी पूजाआजा गरेका छन् । तेह्र सय वर्ष अगाडि गङ्गा र जमुना नाम गरेका दुई छोरी बेपत्ता भएका र परिवारले खोज्दै जाँदा गुफाभित्रबाट हामी यही सुरक्षित छौँ, हाम्रो यही पूजापाठ गर्नुहोला भनेपछि उनै गङ्गा र जमुनाको सम्झनामा हरेक वर्ष गङ्गाजमुना माईको मेला सुरु भएको किम्बदन्ती छ । गङ्गाजमुना गाउँपालिका–५ ढाँडखर्कमा रहेको पहराको टुप्पोबाट खस्ने गङ्गा र जमुना नामका दुई झरना छन् । तीन सय मिटर माथिबाट झर्ने यो झरनामा नुहाएर मनले चिताएको पूरा होस् भनेर आर्शीवाद माग्ने चलन छ । झरना झरेको पहराको बीचमा रहेको मन्दिरमा गएर महादेवको पूजाआजा गरिन्छ । एकादशीको दिन बिहान गङ्गाजमुनाको छहरामा स्नान गरी डोली तार्ने, बत्ती सेलाउने र पहरामा रहेका भगवान् गङ्गाजमुनाको दर्शन गरी फर्किने चलन छ । गङ्गाजमुनाको दर्शन गर्दा मनले चिताएको पूरा हुने जनविश्वास रहिआएको छ । भक्तजनले गङ्गाजमुना कुण्डमा नुहाउँदा रोगव्याधी निको हुने तथा परिवारमा सुखशान्ति र समृद्धि छाउने धार्मिक विश्वास रहिआएको गाउँपालिका अध्यक्ष भक्तबहादुर लामाले बताउनुभयो । गङ्गाजमुना झरनासँगै रहेको कुकुर धारोमा नुहाउनेको घुइँचो लाग्छ । विशेष गरी वर्षभरि कुकुर वा अन्य कुनै जनावरले टोकेमा त्यसको दोष निवारणका लागि कुकुरधारोमा नुहाउने चलन रहेको छ । मेला भर्न धादिङका विभिन्न ठाउँका साथै छिमेकी जिल्ला रसुवा, नुवाकोट, चितवन, गोर्खा, तनहुँ, कास्की, काठमाण्डौलगायत ठाउँबाट भक्तजन यहाँ आउने गर्छन् । स्थानीय सिंहबहादुर तामाङ भन्नुहुन्छ, एकादशीको राति झाँक्री नाचको रौनक अझ छुट्टै हुन्छ । भाकल बुझाउन वा दर्शन गर्न आउनेले रातभर आ–आफ्नो भेषभुषा र पहिरनअनुसारको कला देखाउँछन् । बिहान झरनामा स्नान गरी पूजापाठ गरेर फर्कन्छन् । यो जात्रा धादिङको गङ्गाजमुना गाउँपालिकामा रहेको फूलखर्कमा छ । यहाँबाट घाम अस्ताएको र उदाएको दृष्य निकै रोमाञ्चक देखिन्छ । जात्रामा स्थानीय सरकारले नै हरेक वर्ष रात्रिकालीन साङ्गितिक कार्यक्रम आयोजना गर्दै आएको छ । लङ्गुरबुर्जा खेल यहाँको रात्रिकालीन जात्राको विशेषता हो ।
काठमाण्डौ: राष्ट्रिय युवा सङ्घ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईँको आह्वानमा काठमाण्डौमा छुट्टाछुट्टै प्रदर्शन हुँदैछ । युवा सङ्घले तीनकुनेमा र प्रसाईँ समूहले बल्खुमा प्रदर्शन गर्न लागेका हुन् । प्रदर्शनको लागि दुवै समूहको छुट्टाछुट्टै र्याली शुरु हुँदैछ । जुलुस र प्रदर्शन हुँदा पनि गाडीको आवतजावत र दैनिक कामधन्दामा असर नपर्नेगरी आवश्यक व्यवस्था मिलाइएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । यस्तै, काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पनि जुलुस र प्रदर्शनलाई सडकको एकातिर केन्द्रित गरेर अर्कोतिरबाट गाडी आवागमनको व्यवस्था मिलाउने तयारी भइरहेको जानकारी दिनुभयो । दुवै समूहको प्रदर्शनलाई चक्रपथभित्र पस्न नदिने प्रशासनको योजना छ । यस्तै, दुई पक्षको जुलुसलाई जम्काभेट र घुसपैठ हुन नदिन उच्च सुरक्षा सतर्कता अपनाइएको पनि प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनुभयो । प्रदर्शनलाई शान्तिपूर्ण बनाउन दुवै पक्षलाई आग्रह गरिएको र उच्छृङ्खल गतिविधि गरेमा कानुनअनुसार कारबाही हुने उहाँले बताउनुभयो ।
मन्त्रिपरिषद् बैठक बसिरहेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरअघि बैठक सुरू भएको हो। बैठक जारी रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। आजको बैठक नियमित समेत रहेको उनले बताए।
धनकुटामा एकै परिवारका तीन जना मृत फेला परेका छन् । धनकुटा नगरपालिका १ निगोलमा ३५ वर्षीय टिकाराम गुरुङ, उनकी श्रीमती भिमा गुरुङ र उनीहरुको ११ वर्षीय छोरा आयुष घरभित्रै मृत फेला परेका हुन् । टिकारामको शव घरको दलिनमा झुण्डिएको अवस्थामा फेला परेको तथा उनकी श्रीमती भिमा र छोरा आयुष खाटमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी राजबाबु महर्जनले जानकारी दिए । डिएसपी महर्जनका अनुसार उनीहरुकी ६ वर्षीया छोरी सकुशल छिन् । प्रहरीका अनुसार घरमा विवाद भएपछि श्रीमान टिकाले छोरीलाई छिमेकीको घरमा लगेर राखेका थिए । छोरी र छिमेकीका अनुसार श्रीमान–श्रीमतीबीच गएराति मुक्कामुक्की भएको थियो । त्यसपछि घरमा तीन जना मृत फेला परेका थिए । प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि अस्पताल पठाएको छ । मृत्युको कारण खुलेको छैन । प्रारम्भिक अनुसन्धानमा आत्महत्याजस्तो देखिएको डिएसपी महर्जनले बताए । ‘घाउचोट देखिएको छैन, मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि थाहा होला,’ महर्जनले भने ।
कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखीस नेपालको दुई दिने औपचारिक भ्रमणका क्रममा भोलि बिहीवार काठमाण्डौ आउनुहुने भएको छ । भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेश राज्यमन्त्री अल मुरैखीसले परराष्ट्र सचिव भरतराज पौड्यालसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । राज्यमन्त्री अल–मुरैखीस भ्रमण सकेर शुक्रवार काठमाण्डौबाट प्रस्थान गर्नुहुनेछ ।
सिरहा नगरपालिका–१९ सन्हैठामा बुधवार हिजो दुई वटा मोटरसाइकल ठोक्किँदा तीन जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । स २ प ४५३१ र प्रदेश २–०१–००१ प १८५० नम्बरका मोटरसाइकल ठोक्किँदा सिरहाको अर्नामा गाउँपालिका–५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंहको ज्यान गएको हो । दुवै मोटरसाइकलका चालकले हेलमेट नलगाएका पाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले घाइते १५ वर्षीय युवराजकुमार यादवलाई उपचारका लागि गए राति नै विराटनगर लगिएको जानकारी दिनुभयो ।
पोखरा: पोखरामा आजदेखि केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा १२ टालीले प्रतिस्पर्धा गर्ने छन् । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा हुन लागेको केपी ओली कप राष्ट्रिय टी– २० प्रतियोगिताको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी ओलीले उद्घाटन गर्नेछन् । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा हुन लागेको प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीका दुई गरी १२ टोली सहभागि हुनेछन् । जसअन्तर्गत समूह ‘ए’ मा बागमती, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस् एकेडेमी रातो, समूह ‘बी’ मा एपीएफ, लुम्बिनी र गण्डकी प्रदेश रहेका छन् । यस्तै समूह ‘सी’ मा नेपाल पुलिस, मधेश र सुदूरपश्चिम प्रदेश तथा समूह ‘डि’ मा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस् एकेडेमी निलो रहेका छन् । हरेक समूहको समूह विजेता मात्र सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल मंसिर १५ गते हुनेछ । प्रतियोगिताको च्याम्पियन टोलीले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नियमानुसार खेलाइने प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ ले ३० हजार, ‘बेस्ट बलर’ ले २० हजार तथा ‘म्यान अफ द म्याच’ले पाँच हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
काठमाडौं: भारत सरकारबाट नेपाललाई वस्तुगत सहायतास्वरुप उच्च प्रजनन क्षमताका मुर्रा राँगा उपलब्ध गराउने सहमति भएअनुसार भारतबाट आज बाँकेको जमुनाहा नाका हुँदै ती राँगा नेपाल भित्रिएका छन् । उपलब्धता र भौगोलिक समानतासमेतका आधारमा सम्भावित क्षेत्र पहिचान गरी उच्च प्रजनन क्षमताका मुर्रा राँगा नेपाल ल्याउन नेपाल सरकारले लामो प्रयास गरिरहेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछिल्लो भारत भ्रमणका अवसरमा मुर्रा राँगा नेपाललाई प्रदान गर्ने घोषणा भएको थियो । विद्यमान क्वारेन्टिन प्रक्रिया पूरा गरी नेपाल ल्याइका राँगा लहान पोखरा र गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा व्यवस्थापन गरिने पशु सेवा विभागले जनाएको छ । भारतबाट प्राप्त राँगामध्ये राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरामा सात, राष्ट्रिय पशु प्रजनन कार्यालय लहानमा पाँच र राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगञ्जमा तीन वटा राखिने छ ।
काठमाडौं: चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधि छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाउन लागिएको हो । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आज ब्युँझनुहुने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देव देवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरुपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् । तुलसीको महत्व तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलो लगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर वहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महा औषधि मानिन्छ । तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ । कोरोनालगायत भाइरसबाट बच्न तुलसीको चिया नियमित सेवन गर्नाले लाभ मिल्ने आयुर्वेदका चिकित्सक नरदेवी आयुर्वेद अस्पतालका प्रमुख डा श्यामबाबु यादव बताउनुहुन्छ । कार्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसी पत्र विष्णुलाई अर्पण गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वास छ । गरुड पुराणमा उल्लेख भए अनुसार यस महिनामा एउटा तुलसी पत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ । आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । रात्रिमा “गोविन्द उठ्नुस् तपाईँ सुते जगत् सुत्छ, तपार्इँ उठे जगत् उठ्छ” भन्दै शङ्ख, घन्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ । यसको प्रतीकका रुपमा मानवका पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रिय एवम् मन गरी एघार वटालाई जित्न उपयोग गरिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । किसानले उखुको बोट मठमा गाड्छन् । आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ । कार्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवम् सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग विभिन्न ग्रन्थमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मका चार महिना विष्णु क्षीर सागरमा सुतेकाले विवाह ब्रतवन्ध जस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेष नारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरी भेगमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ । वर्षमा एक दिनअर्थात् आजका दिन यी चार नारायण मन्दिरमा धेरै दर्शनार्थीले पूजा आराधना गर्न आउने गरेकाले चारै मन्दिरमा विशेष व्यवस्था गरिएको जनाइएको छ ।