मनसुन बाहिरिने बेला परेको वर्षासँगैको असिना र हावाहुरीका कारण पर्वतमा धानबालीमा क्षति पुगेको छ । सोमबार र मङ्गलबारको वर्षा तथा हावाहुरीले जिल्लाका विभिन्न स्थानमा लगाइएको धानबालीमा क्षति पुगेको हो । केही स्थानमा धान ढलेर सोत्तर बनेको कृषकले गुनासो गरेका छन् । पर्वतको कुश्मा, फलेवास, विहादी, जलजला, पैयुँ र मोदीका विभिन्न वडामा लगाइएको धानबालीमा हावाहुरी र असिनाले क्षति पुर्याएको छ । कतिपय ठाउँमा सामान्य असिनासमेत परेर धान झारेको कुश्मा नगरपालिका(८ चुवाका कृषक रुद्रप्रसाद शर्माले जानकारी दिनुभयो । पाक्न थालेको धान हावा र पानीले पूरै सोत्तर बनाएको उहाँको गुनासो छ । त्यसैगरी, कुश्मा वडा(१ पाङको फाँट, वडा(९ ज्ञादीको फाँट, कुर्घा र बर्राचौरको फाँटमा समेत धान पूरै ढलाएको छ । यस्तो बेलामा धान ढल्दा फल राम्रोसँग नलाग्ने कृषि प्राविधिकहरूले बताएका छन् । फल लाग्ने बेलामा धान ढल्दा राम्रोसँग नपाक्ने, गेडा पुष्ट नहुने र उत्पादनमा समेत ह्रास आउने कुश्मा नगरपालिकाका कृषि शाखाप्रमुख बलबहादुर जिटीले जानकारी दिनुभयो । कृषि ज्ञान केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत परशुराम अधिकारीले वर्षा, असिना र हावाहुरीले धानबालीमा पुर्याएको क्षतिबारे विवरण सङ्कलन भइरहेको जानकारी दिनुभयो । उहाँले सातवटै पालिकाबाट धानबालीमा पुगेको असरका बारेमा विवरण सङ्कलनको काम भइरहेको बताउनुभयो । “हामी पनि अनुगमनमा पुगेका थियौ”, अधिकारीले भन्नुभयो, “धान धेरैजसो ढलेको छ, तर बाक्लो असिना नपरेका कारण ठुलो क्षति हुन भने पाएन ।” क्षतिको विवरण हेरेर क्षतिपूर्तिका लागि पहल गरिने अधिकारीले बताउनुभयो । जिल्लाका उच्च पहाडी भेगमा भने धान पाकेर पहेँलपुर भइसकेको छ । कृषक दसैँको छेको पारेर धान थन्क्याउने तयारीमा रहेका छन् । पर्वतको मुख्य बालीका रूपमा धानबाली हो । जिल्लाको झन्डै नौ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । रासस
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर काम गरिरहेको बताउँदै भ्रष्टाचार विरोधी अभियानले नयाँ उत्साह जागेको बताउनुभएको छ । बुधबार मुस्ताङमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानका क्रममा आयोजित कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो । यसैगरी, प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा ९माओवादी केन्द्र० मुस्ताङ जिल्लाको भेलालाई सम्बोधन र विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गर्ने नेता–कार्यकर्तालाई पार्टीमा स्वागत गर्नुभएको छ । मुस्ताङमा १३५ नेता–कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् । भेलामा प्रधानमन्त्रीले भन्नुभयो, “हाम्रो पार्टी नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय र समृद्धिका पक्षमा काम गरिरहेको छ । यो देशमा सुशासन कायम गर्न, जनताको जीवनमा परिवर्तन ल्याउन, अर्थतन्त्रलाई गति दिन हामीले मात्रै सक्छौँ । त्यो इच्छाशक्ति, दृढता र योजना हामीसँग मात्रै छ । सरकार र पार्टीलाई जोडेर परिवर्तनको पक्षमा नयाँ वातावरण सिर्जना गर्न पार्टीले विशेष अभियान सञ्चालन गरिरहेको छ । यसपछि पनि अभियानले निरन्तरता पाउनेछ । हामीले शक्तिशाली पार्टी निर्माण गर्नेछौँ ।’’ उहाँले थप्नुभयो, “मेरो तेस्रो कार्यकाल सम्पूर्ण रूपले देश र जनताको हितमा अधिकतम सदुपयोग गर्न कोसिस गरिरहेको छु । मैले नेतृत्व सम्हाल्दै गर्दा अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा थियो, अहिले राम्रो सुधार आएको छ । सबै सूचकहरू सकारात्मक छन् । जनतामा अब केही हुन्छ भन्ने विश्वास जागेको छ । तसर्थ, सरकारले गरेका राम्रा काम जनतामा लैजान र सम्पूर्ण पार्टी जनसेवामा केन्द्रित हुन जरुरी छ । यसले हामी फेरि शक्तिशाली तुल्याउनेछ, जनताको भरोसाको मुख्य केन्द्रका रूपमा स्थापित गर्नेछ ।’’ प्रधानमन्त्रीले मुस्ताङको विकास र जलवायु परिवर्तनले ल्याएका नयाँ सङ्कट र जोखिमहरू न्यूनीकरण गर्न सरकार गम्भीर रूपमा लाग्नेसमेत बताउनुभयो । भेलामा विभिन्न पार्टी परित्याग र विभिन्न सामाजिक व्यक्तित्व गरी १३५ जना नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरूलाई अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गर्नुभएको थियो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेल, केन्द्रीय सदस्य हरिराज अधिकारी, गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
दार्चुलामा प्रहरीले एक किलो छ सय ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका–७ का ३६ वर्षीय उज्ज्वल बोहरा र २८ वर्षीय रामबहादुर बोहरा रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक ९डीएसपी० शिवबहादुर सिंहले जानकारी दिनुभयो । आज बुधवार बिहान दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ पस्तीबाट उनीहरूलाई पक्राउ गरिएको डीएसपी सिंहले बताउनुभयो । पक्राउ परेका दुवै जनालाई प्रहरी कार्यालय दार्चुलामा ल्याएर अनुसन्धान भइरहेको बताइएको छ । दार्चुलामा प्रहरीले अहिले लागुऔषधविरुद्धको महाअभियानसमेत चलाइरहेको छ ।
उदयपुर: आफ्नै श्रीमती ३० वर्षीया छविमाया राईको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–५ श्रीपुर बस्ने ३२ वर्षीय पिटर राई रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय उदयपुर र ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले उनलाई मंगलबार राति पक्राउ गरेको छ । पिटरले घरायसी विवादको कारण खाना पकाउने कुकर प्रहार गर्दा गम्भीर घाइते भएकी छविमायाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको थियो । सो विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दसँै तिहार, नेपाल संम्वत्, छठजस्ता चाडपर्वमा कुनै पनि समस्या नआउने गरी विद्युत् आपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक मनोज सिलवाल, भारप्रेषण केन्द्रका प्रमुख शुरेशबहादुर भट्टराईलगायत उपत्यकाभित्रका वितरण केन्द्र प्रमुखलाई उहाँले कुनै एउटा घरबाट पनि गुनासो नआउने गरी सहजरूपमा नागरिकले विद्युत् पाउने प्रबन्ध गर्न निर्देशन दिनुभएको हो । “ कुनै पनि नागरिकले गुनासो गर्ने अवस्था नआओस् । वर्षदिनभर राम्रो काम गरेपनि चाडपर्वको समयमा एकाध मिनेट समस्या आउँदा त्यसले राम्रो गर्दैन । काम नगरे सरह नै हुन्छ । त्यसकारण जिम्मेवार भएर २४ सै घण्टा सेवामा क्रियाशील हुनुस् ” मन्त्री बस्नेतले भन्नुभयो “पूर्णरूपमा जिम्मेवार भएर काम गर्नुस् ।”चाडपर्वको समयमा उद्योग प्रतिष्ठानलाई पनि बढी भन्दाबढी बिजुली उपलब्ध गराउन निर्देशन दिँदै उहाँले बढी भएको बिजुली खेर नजाने वातावरण बनाउनसमेत सुझाव दिनुभयो । चाडपर्वमा उद्योग प्रतिष्ठान, होटल, व्यवसाय तथा व्यापारिक प्रतिष्ठानमा बिजुलीको माग कम हुने भएकाले बिजुली खेर जाने अवस्था आउने प्राधिकरणका कर्मचारीले जानकारी दिएपछि मन्त्री बस्नेतले भन्नुभयो “सकेसम्म बिजुली खेर जान नदिनुस् ।” उहाँले प्राधिकरणका नो लाइट सेन्टरलाई थप जिम्मेवार बनाउन, ग्राहकले गुनासो गर्ने वित्तिकै फोन उठ्ने प्रबन्ध गर्न तथा कुनै समस्या आइहाले एकाध मिनेटमै उपभोक्ताको घरसम्म पुग्ने गरी द्रुर्त टोली व्यवस्थापन गर्न आग्रह गर्नुभयो । मन्त्री बस्नेत प्राधिकरण सञ्चालक समितिको अध्यक्षसमेत हुनुहुन्छ । सो अवसरमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देलले उपभोक्तालाई केन्द्रमा राखेर सेवा उपलब्ध गराउन प्राधिकरणका कार्यकारी निर्देशकलगायतका कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले जिम्मेवार र चनाखो भएर सामान्य समयभन्दा चाडपर्वको समयमा कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले २४ सै घण्टा परिचालन हुने गरी काठमाडौँ उपत्यका र सहरी क्षेत्रमा जनशक्तिको व्यवस्थापन र परिचालन गरिएको बताउनुभयो । उहाँले चाडपर्वको समयमा आफै नियमित वितरण केन्द्रको अनुगमन रनिरीक्षणका लागि निस्कने जानकारी गराउँदै कुनै पनि उपभोक्ताले गुनासो नआउने गरी काम गरिने बताउनुभयो । चडपर्वको समयमा उद्योग प्रतिष्ठानमा पनि कम क्षमतामा विद्युत उपभोग हुने भएकाले बिजुलीको माग कम हुँदा केही बिजुली खेर जाने अवस्था रहेको कार्यकारी निर्देशक घिसिङको भनाइ थियो । “सकेसम्म बिजुली खेर जान नदिन हामीले प्रयास गरेका छौँ । खेर जानसक्ने बिजुली भारतीय बजारमा पठाउने तयारी पनि छ तर अन्तिम सहमति आइसकेको छैन” उहाँले भन्नुभयो । प्राधिकरणले थप एक सय मेगावाट बिजुली भारतीय बजारमा निर्यात गर्ने तयारी गरेको छ । त्यसका लागि अनुमति आउन बाँकी छ । कार्यकारी निर्देशक घिसिङले सकेसम्म कुनै पनि स्थानमा समस्या आउन नदिने गरी प्राविधिक तयारी गरिएको जानकारी दिँदै देशैभरका कर्मचारीलाई चाडपर्व भनेर छुट नदिइएको बताउनुभयो । सो अवसरमा उपकार्यकारी निर्देशक सिलवाल, भार प्रेषण केन्द्रका प्रमुख भट्टराईले प्राधिकरणले गरेको तयारीका बारेमा जानकारी गराउनुभएको थियो । रासस
नेपाली सेना र सशस्त्र प्रहरी बलले दशैँका बेला घर जाने आफ्ना सुरक्षाकर्मीका लागि गाडीको सेवा उपलब्ध गराएको छ । आ–आफ्ना कर्मचारीलाई आवतजावतमा सहजताका लागि सेवा उपलब्ध गराइएको नेपाली सेना र सशस्त्र प्रहरीले जानकारी दिएको छ । नेपाली सेनाले सहुलियतमा हवाई तथा स्थल यातायात सेवा उपलब्ध गराएको जनाएको छ भने सशस्त्र प्रहरीले निःशुल्क यातायात सेवा उपलब्ध गराएको जानकारी गराएको छ । नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार यस वर्षको बडादशैँमा घर जाने नेपाली सेनाका बहालवाला सकलदर्जा तथा तिनका आश्रित परिवारलाई सहुलियतको यातायात सुविधा उपलब्ध गराएको जानकारी दिएको छ । निर्देशनालयका अनुसार सडक सञ्जालको पहुँच पुगेका स्थानमा बसमार्फत चार सय २१ जनाले हालसम्म सेवा पाएका छन् । यस्तै सडक सञ्जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडी–हिमाली क्षेत्रलगायत लामो दूरीका गन्तव्यमा हवाई उडानमार्फत छ सय पाँच जना गरी हालसम्म एक हजार २६ जना सकलदर्जा एवम् आश्रित परिवारले सेवा पाएका जानकारी दिइएको छ । यो सुविधा सेनाले यही कात्तिक २ गतेसम्म उपलब्ध गराउने छ । सशस्त्र प्रहरीले भने निःशुल्करूपमा शुरु गरेको सेवा आगामी कात्तिक २ गतेसम्म सञ्चालन हुने जनाएको छ । सशस्त्र प्रहरीका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काका अनुसार सशस्त्र प्रहरी बल नेपालले बडादशैँ, तिहार र छठको अवसरमा बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूका परिवारजनलाई लक्षित गरी निःशुल्क दुई बस सञ्चालन गरेको छ । चाडपर्वका बेला घरबिदा जाने सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट छुट्ने एउटा बसले काठमाण्डौ, नारायणगढ, बुटवल, भालुवाङ हुँदै कञ्चनपुरको गड्डाचौकीसम्म सेवा प्रदान गर्ने छ भने अर्को बसले नारायणगढ, बर्दिबास, सप्तरी, पकली हुँदै झापाको काँकडभिट्टासम्म सेवा प्रदान गर्ने सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक खड्काले बताउनुभयो । यसअघि सशस्त्र प्रहरीले बडादशैँका अवसरमा सर्वसाधारणको सुविधालाई ध्यानमा राखी काठमाण्डौ उपत्यकाभित्र निःशुल्क बस सेवा सञ्चालन गरेको थियो ।
जोमसोम, कात्तिक १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमालको संरक्षण गर्नु नेपालको मात्र जिम्मेवारी नभएर सिङ्गो विश्वको साझा दायित्व भएको बताउनुभएको छ । बुधबार मुस्ताङ जिल्लाको जोमसोममा राष्ट्रिय प्रकृति र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा आयोजित जलवायु संवाद कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्रीले आफू अन्तर्राष्ट्रिय मञ्चहरूमा यसबारे गम्भीर रूपमा विषय राखेको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘‘पछिल्लो समय नेपालले जलवायु परिवर्तनका गम्भीर समस्या भोगिरहेको छ । हिमालय क्षेत्रमा यसको गम्भीर देखिएको छ । मुस्ताङ जिल्लामा पनि गम्भीर असर देखिएको कुरा मैले प्रत्यक्ष सुन्ने अवसर प्राप्त गरें । मैले संयुक्त राष्ट्रसङ्घको महासभा, रोममा आयोजित विश्व खाद्य सम्मेलनमा यसबारे गम्भीर रूपमा कुरा राखेको छु ।’’ ‘‘हिमालको संरक्षण भएन भने विकसित भनिएका मुलुकहरूसमेत सुरक्षित रहँदैनन् । जलवायु परिवर्तनको मुद्दा नेपालको मात्र नभएर विश्वको साझा मुद्दा हो,’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘कोप सम्मेलनमा पनि यस विषयमा नेपालको गम्भीरपूर्वक विषय राख्नेछ । विकसित मुलुकहरूको कारण नेपाल जस्ता देशहरूले बेहोरेको क्षतिवापत हामीले अनुदान पाउनुपर्छ ।’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘मुस्ताङ जिल्ला बहुआयमिक विशेषता बोकेको जिल्ला हो । स्याउ उत्पादन र अन्य उत्पादनका दृष्टिले पनि यो महत्त्वपूर्ण छ, मुक्तिनाथ लगायत धार्मिक एवम् सांस्कृतिक पर्यटनका केन्द्रहरू पनि यहाँ छन् । कोरला नाकाको विशेष रणनीतिक महत्त्व छ । तसर्थ यहाँको जलवायु संरक्षण सरकारको प्राथमिकतामा छ ।’’
बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ सुन्दरबस्तीमा आज बिहान गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । काठमाण्डौबाट इलामतर्फ जाँदै गरेको बाप ०३–००१ज०२९८ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिइ भाग्ने क्रममा सडक कुनाको नालीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा रामेछापको मन्थली नगरपालिका–१२ बस्ने अन्दाजी २० वर्षकी रमिला बुढाथोकीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार गम्भीर घाइते भएकी बुढाथोकीको उपचारको क्रममा धुलिखेल अस्पतालमा मुत्यु भएको हो । दुर्घटनामा गाडीमा सवार आठ जना घाइते भएका छन् । ‘घाइते भएका सबैको अवस्था सामान्य छ । अहिले उहाँहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ,’ श्रेष्ठले भन्नुभयो ।
पोखरामै सबैभन्दा ठूलो फर्निचर शो रुम ‘सिटिजन फर्निचर ट्रेड लिन्क प्रालि’ सामाजिक क्षेत्रमा पनि उत्तिकै ठूलो मनले उत्तरदायित्व वहन गर्दै आएको छ। यहाँ हुने हरेक सामाजिक तथा धार्मिक कार्यक्रममा सिटिजन फर्निचरको सहयोग रहने गर्दछ । आर्थिक व्यवसाय मात्र होइन, सामाजिक सेवामा पनि उत्तिकै अगाडि रहेको सिटिजन फर्निचरले फर्निसिङ सप्लायर्स पनि विस्तार गरेको छ । पोखरा न्यूरोड स्थित सिटिजन फर्निचर ट्रेड लिन्क प्रालिसँगै आडमै अर्को भवन निर्माण गरी सिटिजन फर्निचर एण्ड फर्निसिङ सप्लायर्स सञ्चालनमा ल्याएको हो । अब सिटिजनमा छिरेपछि सम्पूर्ण फर्निचरका सामानका साथै फर्निसिङका सामान एकै ठाउँबाट लिन सकिने प्रोप्राइटर दीपक कार्कीले बताए । सप्लायर्समा आधुनिक डिजाइनका पर्दा, कार्पेट, तन्ना, सिरानी, ब्लांकेट, गलैंचा लगायतका सामानहरु उपलब्ध छन् । सुपथ मूल्यमा किफायति सामानका लागि सिटिजन फर्निचरमा ग्राहक पुग्ने गरेको र यसै विश्वासलाई सदैव कायम राख्ने सञ्चालक कार्की बताउँछन् । ‘सिटिजन फर्निचर पोखरेलीका लागि नौलो नाम होइन । ग्राहकको विश्वासले नै हामी फैलिरहेका छौँ । बिजनेश राम्रो छ ।’ कार्कीले भने– ‘व्यवसायिक हिसाबमा मात्रै होइन, हामी सामाजिक सहयोगमा पनि उत्तिकै अग्रसर छौँ । समाजमा जस्तोसुकै राम्रो काममा हाम्रो सहभागिता रहनेछ ।’ सिजिटनको आफ्नै फ्याक्ट्रीमार्फत समेत सामान उत्पादन गर्ने भएकाले पनि टिकाउ र राम्रो छ । करिब ११ बर्षदेखि पोखरामा सञ्चालनमा आएको सिटिजन फर्निचरले गुणस्तरीय सामान सुलभ मूल्यमा बिक्री गर्दै आएको कार्कीको भनाई छ । ‘खान पुगेकै छ, दिएरै बाँच्न सकूँ’ भन्ने भावका साथ सेवाग्राहीसँग हंसचेहराका साथ प्रत्यक्ष भेटिने कार्की ग्राहकको रोजाई अनुसारको सामान सस्तो मूल्यमा उपलब्ध गराउनु नै सिटिजनको विशेषता रहेको बताउँछन् । विभिन्न ब्राण्डका घरायसी सामान तथा अफिसियल सामान सिटिजन फर्निचरमा छन् । अन्तर्राष्ट्रिय ब्राण्डका अफिस कुर्ची, टेबुल, दराज, सोफा सेट, डाइनिङ टेबुल, पलङ, टि टेबल, लगायतका सामान पाइन्छन् ।