काठमाडौं:  मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित रहेको छ । जसको प्रभावले मङ्गलबार देशभर पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान गण्डकी, लु...

काठमाडौं:    नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आजदेखि शुरु हुँदैछ । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा दशरथ रङ्गशालामा लिगको उद्घाटन हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल साविक विजेता काठमाण्डौ रेजर्स र नवप्रवेशी स्पोर्टिङ इलाम एफसीबीच हुनेछ । खेल बेलुकी ६ बजे शुरु हुनेछ । पहिलो संस्करण कोभिड सङ्क्रमणको समयमा विना दर्शक आयोजना भएको थियो । आज हुने उद्घाटन समारोहमा गायक सुशान्त केसीले प्रस्तुति दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।   यसपटक गएको संस्करणको तुलनामा सहभागी टोली बढेसँगै लिगमा खेल सङ्ख्या पनि बढेको छ । अघिल्लो संस्करणका ६ र ३ नयाँ टोली गरी ९ टोलीले ४० खेल खेल्नेछन् ।   उपाधि विजेताले प्राप्त गर्ने रकम पनि दर्शकको उपस्थितिले नै यकिन निर्धारण हुने  आयोजकले जनाएको छ । रङ्गशालाको सामान्यतर्फ २ सय र भीआईपीतर्फ ५ सय रुपैयाँ टिकट दर तोकिएको छ । 

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षको प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।   जिल्ला प्रहरी परिसर काठमाडौंले पाँच जनालाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए। प्रहरीले उनीहरूको नाम सार्वजनिक गरिसकेको छैन।    प्रहरीमाथि ढुंगामुढा गर्ने, गुलेलीले हिर्काएको र अराजकता फैलाएको भन्दै उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। यसमा संलग्न अन्य व्यक्तिहरूलाई पनि प्रहरीले खोजिरहेको छ।   प्रसाईंपक्षले शुक्रबारदेखि तिनकुनेमा प्रदर्शन गर्ने बताएको छ। यद्यपि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति नभएको ठाउँमा प्रदर्शन गरे कारबाही गर्ने बताएको छ। बिहीबार बल्खुमा भएको प्रदर्शनमा पाँच प्रहरीसहित २८ जना घाइते भएका थिए।    प्रसाईंले भाषण गरिरहँदा अब शहर पसेर आन्दोलन गर्ने भनेपछि भीड अनियन्त्रित भएर प्रहरीमाथि ढुंगामुढा गरेको थियो। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको उच्चशिक्षा चुनौतीको सँघार पुगेको बताउनुभएको छ । ‘उच्च शिक्षाका मापदण्डहरूमा एकरूपता र अन्तर्राष्ट्रियकरण’ बारे उपकुलपतिहरूको सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।   शिक्षा प्रणालीलाई थप सुधार गर्दै समयानुसारको पाठ्यक्रम र शैक्षिक स्तर बनाउँदै लैजानुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, नेपालको उच्च शिक्षा वास्तवमा चुनौतीपूर्ण सङ्घारमा उभिएको छ । एकातर्फ, गुणस्तरीय प्राविधिक एवम् व्यावसायिक उच्च शिक्षा प्रदान गर्न आवश्यक भौतिक एवम् डिजिटल पूर्वाधार, दक्ष जनशक्ति र शिक्षापछिको रोजगारीका अवसर सिर्जनाका लागि ठुलो लगानी आवश्यक छ । त्यसका लागि राज्यले गर्ने लगानी पर्याप्त भएको छैन । अर्कातर्फ, मुलुकले लगानी गरेर उच्च अध्ययन गराएका र विश्वविद्यालय शिक्षामा प्रवेश गर्न तयार पारेका जेहेन्दार युवाहरू नै मुलुक छोडेर बाहिरिइरहेको बताउनुभयो ।    नेपालमा विश्वविद्यालयहरू खोल्न जत्रो होड छ, त्योभन्दा ठुलो मात्राको सङ्कट पर्याप्त विद्यार्थीको अभावले निम्त्याएको बताउनुहुँदै यसमा गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो । 

पोखरा:   पोखरामा गएराति मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा टंकबहादुर कुमालको मृत्यु भएको छ ।  मालेपाटनमा मोटरसाइकलको ठम्ककरबाट गम्भिर घाइते भएका टंकबहादुरको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु  भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जानकारी दिएको छ ।  पस्र्याङबाट जिरोकिलोमिटरतर्फ जाँदै गरेको ग १९ प ९३३२ नम्बरको मोटरसाइकलले हिजो (बिहिबार) राति १०ः३० बजेको समयमा पैदल यात्री खोटाङ घर भई पोखरा बस्दै आएका टंकबहादुरलाई मालेपाटनमा ठक्कर दिँदा गम्भिर घाइते भएका थिए ।  घटनामा मोटरसाइकल चालक तनहुँ घर भई पोखरा–शान्तिनगर बस्ने थरबत थापा समेत घाइते भएका छन् । उनको अहिले पोखराको फिस्टेल हस्पिटलमा उपचार भइरहेको ट्राफिक कार्यालय कास्कीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको ट्राफिक कार्यालय कास्कीले जनाएको छ । 

पोखरा:    पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जातीय विभेद तथा छुवाछूतको कसुरमा जिल्ला अदालत कास्कीले साढे ४ महिना कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ । न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले बुधबार उक्त फैसला गरेको हो । पीडित दलित महिला वडा सदस्य मैया नेपालीलाई अधिकारीले १० हजार रुपैयाँ क्षतिपूर्ति बुझाउनुपर्ने अदालतको फैसलामा उल्लेख छ । आफ्नै वडाध्यक्ष जातीय विभेदजन्य गालीगलौजमा उत्रिएपछि दलित महिला सदस्य नेपालीले कानुनी उपचार खोजेकी थिइन् । वडाध्यक्ष अधिकारीले सार्वजनिक कार्यक्रममै आफूमाथि जातीय विभेदजन्य गालीगलौज गरेको भन्दै उनले जिल्ला प्रहरी कार्यालय कास्कीमा २०७९ पुस २४ मा जाहेरी दर्ता गराएकी थिइन् । अधिकारी पुस २६ मा पक्राउ परेर माघ ९ मा एक लाख ५० हजार रुपैयाँ धरौटीमा छुटेका थिए । जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभावसम्बन्धी (कसूर र सजाय) ऐन, २०६८ बमोजिम अदालतले सजाय तोकेको अधिवक्ता कुञ्जनी परियारले बताइन् । उक्त ऐनमा जातीय विभेद गरेको ठहरिएमा पीडकलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ । सार्वजनिक पद धारण गरेको व्यक्तिलाई ५० प्रतिशत थप सजाय हुने व्यवस्था छ । कसुरदारले पीडितलाई क्षतिपूर्ति समेत भराउनुपर्छ । अदालतले ३ महिना कैद र ५० हजार जरिवाना तोके पनि अधिकारी सार्वजनिक पद धारण गरेको व्यक्ति भएकोले थप ५० प्रतिशत सजाय भएको हो । पोखरा–२४ कास्कीकोटमा वडाध्यक्ष अधिकारी कांग्रेसबाट निर्वाचित हुन् भने बाँकी ४ सदस्य एमालेबाट निर्वाचित भएका हुन् ।

पोखरा:   पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सुरु भएको १ वर्षपछि आजदेखि अध्यागमन कार्यालय सञ्चालनमा आएको छ ।  उपसचिव लिलाभल्लव न्यौपानेको नेतृत्वमा आजबाट सञ्चालनमा आएको हो ।न्यौपानको नेतृत्वमा १० जना कर्मचारीले अध्यागमनको जिम्मेवारी सम्हाल्नेछन् । केही अन्तरराष्ट्रिय चाटर्ड उडान भएपनि अध्यागमनको काम भएको थिएन ।   मंसिर ९ गतेदेखि पोखरामा हुन लागेको माउन्टेन क्रसकन्ट्री दौड प्रतियोगितामा भाग लिन आउने चिनियाँ खेलाडी बोकेर चिनियाँ सरकारको सहयोग हिमालय एअरलाइन्सको चाटर्ड जहाज पोखरा आउन लागेको हो । सोही चार्टड जहाजमा आउने खेलाडी नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा खुलेको अध्यागमन कार्यालयको पहिलो सेवाग्राही हुनेछन् ।   पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक ६ असारमा चीनको छेन्दुबाट चाइना–नेपाल ड्रागन बोटरेस प्रतियोगितामा भाग लिने चिनियाँ खेलाडी बोकेर सिचुवान एयरलाइन्सको विमान पोखरा आएको थियो । त्यसको करिब २ महिनापछि भदौ २३ गते रोयल भुटान एअरलाइन्सको ड्रुक एअरले पोखरा विमानस्थलका लागि पहिलो पटक व्यवसायिक अन्तर्राष्ट्रिय उडान भरेको थियो । त्यसयता थप २ वटा चिनियाँ चार्टड उडान भइसकेका छन् ।  

पोखरा:    पोखराको चिसाखोला स्थित एकघरमा जुवा (कौँडां) खेलिरहेको स्थानमा प्रहरीले छापा मार्न जाँदा एकथान हर्नेटसहित २४ राउण्ड गोलि र ६ जना जुवाडेलाई प्रकाउ गरेको छ ।  पोखरा महानगरपालिका २२ चिसाखोला स्थित भेष बहादुर गुरुङको आँगनमा जुवा (कौँडा) खेलिरहेको अवस्थामा १६ थान कौँडा, ८२ हजार ८ सय २५ रुपैयाँ र जिन्सीसहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले प्रकाउ गरेको हो ।  गुरुङलाई नियन्त्रणमा लिएर घर खानतलासी गर्दा कोठामा लुकाई छिपाई राखेको (लाईसेन्स नभएको)पइन्ट २२ हर्नेट र २४ राउण्ड गोली र एकथान म्यागजिन बरामद गरेको कास्की प्रहरीले जनाएको छ ।  अहिले थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।   

पोखरा:   पोखराका रोशन केसी माछापुच्छ्रे बैंकको अध्यक्षमा नियुक्त भएका छन्। बैंकका निर्वतमान अध्यक्ष डा।उपेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै केसीलाई नयाँ अध्यक्षमा चयन गरेको हो। बैंकको बिहीबार बसेको ४९१औं सञ्चालक समितिको बैंठकले केसीलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो। उनी अध्यक्षमा नवनियुक्त हुनु अघि यसै बैंकमा संस्थापक सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका थिए।