सर्वोच्च अदालतमा प्रस्तावित ६ जना न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले न्याय परिषद्ले सर्वोच्चका न्यायाधीश पदका लागि सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजित मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको संसदीय सुनुवाइ प्रक्रिया सुरु गरेको हो । साथै बैठकले मन्त्रिपरिषद्ले सिफारिस गरेका पोर्चुगलका लागि प्रस्तावित आवासीय राजदूत सनिल नेपालको लागि उजुरी दिन आह्वान गर्ने निर्णय गरेको छ। प्रस्तावित राजदूत र सर्वोच्चका न्यायाधीश पदमा सिफारिस गरिएकाहरुका लागि उजुरी दिन १० दिने सूचना जारी गर्ने प्रस्ताव समितिबाट पारित गरिएको समितिका ज्येष्ठ सदस्य (सभापति) पशुपतिसमशेर जबराले जानकारी दिनुभयो। सभापति जबराले भन्नुभयो, ‘‘प्रस्तावित राजदूत तथा सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्तिका लागि सिफारिस व्यक्तिहरुको बारेमा सर्वसाधारणलाई जानकारी दिने र प्र्रस्तावित पदका लागि अनुपयुक्त लागेमा सूचना प्रकाशित भएको मितिले १० दिन भित्र स्पष्ट आधार खोलि समितिमा सूचना वा उजुरी दिन सरकारी सञ्चार माध्यामहरुमार्फत सूचना प्रकाशित गर्ने प्रश्ताव प्रश्तुत गर्दछु । सुनुवाइका लागि समितिमा प्राप्त राजदूत तथा सर्वोच्च अदालतका न्यायाधीश प्रस्तावित व्यक्तिका नियुक्तिको अनुपयुक्तताको सम्बन्धमा उजुरी माग गर्ने सम्बन्धी सूचना प्रकाशन तथा प्रकाशित गर्न समिति सचिवलाई निर्देशन दिन्छु ।’’ न्यायपरिषद्को यही मङ्सिर ५ गते बसेको बैठकले उच्च अदालत विराटनगरकी मुख्य न्यायाधीश सुवेदी, उच्च अदालतका न्यायाधीशहरु मुसलमान, पौडेल र ढुंगाना तथा कानुन व्यवसायीको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय पोखरेल र ढकाललाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो । त्यसैगरी मन्त्रिपरिषद्को गत कात्तिक २३ गते बसेको बैठकले नेपाललाई पोर्चुगलका लागि आवासीय राजदुतको रुपमा नियुक्ति गर्ने सिफारिस गरेको थियो ।
रुपन्देहीमा जीप र मोटरसाइकल अएक आपसमा ठोक्किंदा एकजनाको मृत्यु भएको छ । बेलवास-बेथरी सडक खण्ड अन्तर्गत बुटवल ११ नहरपुरमा लु १ च ७०२४ नम्वरको बलेरो जीप र लु ६१ प ५५०८ नम्वरको मोटरसाईकल ठोक्किंदा मोटरसाइकलमा सवार बुटवल ११ निवासी ४५ बर्षिय शालिग्राम खनालको मृत्यु भएको रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टले बताए । प्रवक्ता भट्टका अनुसार दुर्घटनामा घाइते खनालको उपचारका क्रममा लुम्विनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । उनका अनुसार दुर्घटनामा मोटरसाइकल चालक प्यूठान झिमरुक गाउंपालिका १ घर भई हाल बुटवल ११ निवासी २५ वर्षीय शेखर पोखरेल गम्भीर घाइते भएका छन् । पोखरेलको भैरहवाको मेडिकल कलेजमा उपचार भैरहेको छ । जीप र चालक जितेन्द्र बानियालाई ईलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ समूहले भक्तपुरको सानोथिमि क्षेत्रमा प्रदर्शन गरेको छ । काठमाण्डौको तीनकुनेमा प्रशासनले प्रदर्शन गर्न नदिने भएपछि प्रसाईं समर्थकहरूले भक्तपुर क्षेत्रमा प्रदर्शन गरेका हुन् । प्रसाईं समूहको प्रदर्शनका कारण पुरानो थिमि हुँदै भक्तपुर जाने सडक अवरुद्ध भएको छ । यसैबीच व्यवसायी दुर्गा प्रसाईंले आह्वान गरेको विरोध प्रदर्शनमा सहभागी हुन तीनकुने पुगेका केही प्रदर्शनकारीहरू पक्राउ परेका छन् । हिजो बिहीवार बल्खु क्षेत्रमा आन्दोलन गरेका प्रसाईं समूहले आज शुक्रवारदेखि तीनकुनेमा प्रदर्शन गर्ने बताएका थिए । तर जिल्ला प्रशासन कार्यालयले भने तीनकुनेमा कार्यक्रम गर्न प्रसाईंलाई अनुमति दिएको छैन । अहिले तीनकुनेमा प्रहरी बाक्लोरूपमा परिचालन गरिएको छ । तीनकुने क्षेत्रमा हिँडडुल गर्ने सर्वसाधारणलाई समेत प्रहरीले निगरानी बढाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ । ज्यान जानेमा राप्ती नगरपालिका–१ दुवीचौरका ४३ वर्षीय हरि पौडेल रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज शुक्रवार बिहान पौने १० बजेतिर पौडेल मनहरी गाउँपालिका–६ लोथारको राप्ती दोभानमा घाँस काट्न जानुभएको थियो । त्यही समयमा बाघको आक्रमणबाट उहाँको ज्यान गएको हो ।
सरकारले जंगली बँदेललाई कृषि हानीकारक वन्यजन्तु घोषणा गरेको छ। बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले जंगली बँदेल कृषि हानीकारक वन्यजन्तु घोषणा गरेको हो। जसअनुसार निजी खेतबारीमा आई बालीनालीमा क्षति पुर्याउनले जंगली बँदेललाई अनुमति विना नै पक्रन र मार्न पाइने व्यवस्था गरेको हो। राजपत्रमा प्रकाशित भएको एक वर्षसम्म विना अनुमति जंगली बँदेल पक्रन र मार्न सकिने राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ। त्यसका लागि सरकारले केही सर्त भने राखेको छ। पहिलो, निजी खेतबारी, खलोमा आएको सानो जातको बँदेलबाहेकका बँदेललाई मात्र पक्रन र मार्न पाइन्छ। दोस्रो, पक्रिएका बँदेल सम्बन्धित राष्ट्रिय निकुञ्ज कार्यालय, वन्यजन्तु आरक्ष कार्यालय, शिकार आरक्ष कार्यालय, संरक्षण क्षेत्रको कार्यालय, डिभिजन वन कार्यालय वा त्यस्ता कार्यालय मातहतको नजिकको कार्यालयमा बुझाउनु पर्ने र यसको सूचना सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा समेत दिनुपर्नेछ। तेस्रो, धपाउने वा पक्रने क्रममा बँदेलको मृत्यु भएमा त्यस्ता बँदेललाई सम्बन्धित वडाको एक प्रतिनिधिसहित कम्तिमा पाँचजना स्थानीय व्यक्तिको रोहबरमा मुचुल्का उठाइ गाड्नुपर्छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उच्च अदालतका नवनियुक्त मुख्य न्यायाधीशहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश श्रेष्ठले नवनियुक्त मुख्य न्यायाधीशहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। न्याय परिषद्को यही मंसिर ५ गतेको बैठकले छ जनालाई मुख्य न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो। बैठकले उच्च अदालत सुर्खेतको मुख्य न्यायाधीशमा लोहितचन्द्र शाह, उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा माधवप्रसाद पोखरेल, उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशमा रमेशप्रसाद भण्डारी, उच्च अदालत जनकपुरको मुख्य न्यायाधीशमा श्रीकान्त पौडेल, उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीशमा नित्यानन्द पाण्डे र उच्च अदालत दिपायलको मुख्य न्यायाधीशमा शान्तिसिंह थापालाई सिफारिस गरेको थियो। रासस
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन ठप्प भएको छ । प्रतिष्ठानमा कार्यरत प्राध्यापकले तलब र भत्ताबापतको रकम नपाएको जनाउँदै विरोधमा उत्रिएपछि १५ दिनदेखि पठनपाठन ठप्प भएको हो । बाग्मती प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको छ। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्राध्यापक कल्याणकारी समिति हेटौँडाका अध्यक्ष विश्वास सापकोटाले भन्नुभयो, प्रतिष्ठानमा सेवारत २४ जना प्राध्यापकले विगत चार महिनादेखि तलब र भत्तालगायतका अन्य सुविधाबापतको रकम पाएका छैनन् । उहाँका अनुसार प्रतिष्ठानमा गएको कात्तिक २२ गतेदेखि पठनपाठन ठप्प छ । अध्यक्ष सापकोटाले भन्नुभयो, प्रतिष्ठानले प्राध्यापकको दैनिकी नै चलाउन समस्या पर्ने अवस्थामा पुग्दासमेत तलब भत्ता र अन्य सुविधाबापतको रकम भुक्तानी नदिएकाले ‘पेनडाउन’ गरेका हौँ । प्राध्यापकहरूले ‘पेनडाउन’ गरेसँगै पठनपाठन पूर्णरूपमा ठप्प भएको छ । चालु आर्थिक वर्षको पहिलो महिना (साउन) को तलब सुविधाबापतको रकम पनि सङ्घर्षपूर्ण तवरबाट प्राप्त गरेको र त्यसयताको रकम भुक्तानीमा प्रतिष्ठानले कुनै चासो नदिएको उहाँले बताउनुभयो । तलब भत्तालगायतका सुविधाबापतको रकम माग गर्दा प्रतिष्ठानबाट मन्त्रालयले पैसा नपठाएको भन्ने जवाफ दिँदै आएको जनाइएको छ। प्रतिष्ठानका शिक्षाध्यक्ष डा सुदर्शन शेरचनले प्रदेश सरकारले छात्रवृत्तिबापतको रकम प्रतिष्ठानमा नपठाउँदा प्राध्यापकहरूको तलब भत्ताबापतको रकम भुक्तानी दिन समस्या भएको बताउनुभयो ।
पोखरा: पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै बागमती प्रदेशले सेमिफाइनल प्रवेश गरेको छ । बागमती प्रदेशले केपी ओली टी–२० कपमा कर्णाली प्रदेशलाई ९० रनले हराउँदै सेमिफाइनल स्थान पक्का गरेको हो । बागमतीले समुह ए मा दुबै खेलमा जितका साथ सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो खेलमा बागमती प्रदेशले मदन भण्डारी स्पोर्टस क्लब (रातो)लाई पराजित गरेको थियो । जितको लागि १ सय ९० रनको विशाल विजयी लक्ष्य पछ्याएको कर्णाली प्रदेश १७.३ ओभरमा ९९ रनमा अल आउट भयो । कर्णालीका अर्जुन घर्तीले २३ बलमा ३ चौकासहित सर्वाधिक २४ रन बनाए । कप्तान रविन्द्रजंग साहीले २०, विपिन शाही २१ र दिपेन्द्र रावतले १२ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । बागमतीका कप्तान सन्दीप लामिछानेले ३.३ ओभरमा ९ रन खर्चेर ४ विकेट लिए । दिपेश श्रेष्ठले २ , प्रतिश जिसि, रिजन ढकाल, सुवास खत्री र ईशान पान्डेले १(१ विकेट लिए । त्यसअघि पोखरा क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको थियो । बागमतीको जितमा ओपनर रित गौतमले ५९ बलमा १० चौका र २ छक्कासहित सर्वाधिक ८२ रन बनाएका थिए रितले पहिलो खेलमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी रेडविरुद ७४ रन बनाएका थिए । उनले सुरुवाती दुबै खेलमा अर्धशतक प्रहार गरेका हुन् । दोस्रो विकेटका लागि रित र इशानले १ सय ४३ रनको साझेदारी गरेका थिए । नेपाली टोलीबाट खेली सकेका इशान पाण्डेले ३८ बलमा ४ चौका र ६ छक्कासहित ७० रनको उत्कृष्ट इनिङ खेलेका थिए । ओपनर शुभ कान्सकार १२ बलमा ४ रन बनाउदै आउट भएका थिए । त्यसपछि ईशान र रितको साझेदारीले इनिङ उकासेका थिए । प्रतिश १२, प्रतीक श्रेष्ठ ७ र सन्दीप लामिछाने डक आउट भए । कर्णालीका दिनेश अधिकारीले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिएका थिए । दिवान पुन र अनुज चनाराले एक एक विकेट लिए । बागमतीले सेमिफाइनलमा मंसिर १४ मा समूह डि को विजेतासँग खेल्नेछ । समूह डि मा आर्मी, कोशी प्रदेश र मदन भन्डारी स्पोर्ट्स एकेडेमी ब्लु छन् ।