म्याग्दीको बेनीबाट २१ दिनअघि हराएकी एक युवतीको पर्वतको मल्लाजस्थित भीरमा शव भेटिएको छ। गत कात्तिक २१ गतेदेखि बेनीबाट हराएकी मंगलवा गाउँपालिका–३ बरंजाकी ३० वर्षीया पुष्पा सापकोटा शनिबार बिहान पर्वतको जलजला गाउँपालिका–३ मा पर्ने ठूलो सल्लेरी र भीरमुनी सामुदायिक वन क्षेत्रमा मृत भेटिएकी हुन्।म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार शनिबार बिहान भेटिएको शव पुष्पाको भएको पुष्टि भएको र परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएको जानकारी दिए। शव सडेको अवस्थामा भेटिएको थियो। बेनीको कालीपुल पारी रहेको सो जङ्गलको भूगोल पर्वतमा पर्छ। घटनाको बारेमा पर्वत प्रहरीले अनुसन्धान थालेको छ। बेनीको अस्पताल चोकमा रहेको पाण्डे मेडिकल हलमा कार्यरत सापकोटा कात्तिक २१ गते बिहान पौने ११ बजे त्यहाँबाट निस्किएकी थिइन्। उनको मोबाइलको ‘लोकेशन’ क्याम्पस चोकको टावर रेञ्जमा देखाएको थियो। पुष्पाको मृत्युको विषय प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ। घटनास्थल पर्वतमा पर्ने भएकाले जिल्ला प्रहरी कार्यालय पर्वतबाट नै टोली खटिएर अनुसन्धान गर्ने र पोष्टमर्टम गरेपछि शव परिवारको जिम्मा लगाउने तयारी छ।
पोखराः पोखरा महानगरपालिका-१० मा अवस्थित श्रीवृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औँ वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ । साधारणसभाकै अवसरमा संस्थाको नवनिर्मित भवनको उद्घाटन गरिएको हो । पोखरा-१२ मा संस्थाले आफ्नो भव्य कार्यालय भवन निर्माण गरेको हो । प्रतिनिधिसभाका सदस्य मनबहादुर गुरुङले भवनको उद्घाटन गर्नुभयो । त्यसैगरी सहकारीले आफ्नो शौचालयलाई सर्वसाधारणका लागि निःशुल्क खुला गरेको छ । पोखरा महानगरपालिकाको योजना अनुसार सार्वजनिक शौचालय शुभारम्भ गरिएको हो । साधारणसभाको उद्घाटन गर्दै प्रतिनिधिसभाका सांसद गुरुङले सहकारी क्षेत्रलाई व्यवस्थित अघि बढाउन सञ्चालक समिति र शेयर सदस्यहरुको ठूलो भूमिका हुने बताउनुभयो । विकेन्द्रीकृत पूँजीलाई केन्द्रीकृत गरी स्वावलम्वन बन्दै सहकारी क्षेत्रलाई अघि बढाउँदै सरकारको तीन खम्बे नीति अनुसार सहकारी अघि बढ्नुपर्ने र निर्णायक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । प्रतिनिधिसभाका सांसद शिव नेपालीले सहकारी संस्थाहरुले जनताको बचत सुरक्षित गर्नुपर्ने र कुनै समस्या नआउने गरी सहकारी सञ्चालन गर्नुपर्ने बताउनुभयो । श्रीवृद्धि सहकारी संस्थाका अध्यक्ष मीनबहादुर गुरुङले संस्थाको गुणस्तरीयतालाई उचाईमा पुग्नका लागि पूँजी र कारोबार वृद्धिका प्रयासलाई तीव्रताका साथ अघि बढाइएको बताउनुभयो । शेयर पूँजी वृद्धि, निक्षेप संकलनका लागि प्रभावकारी खाता सञ्चालन, ऋण असुली प्रक्रिया थप प्रभावकारी, संस्थाका शेयर सदस्य तथा कर्मचारीको ज्ञान, सीप, अनुभव र क्षमता वृद्धिका कार्यक्रम सञ्चालनको योजना रहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । अध्यक्ष गुरुङले भन्नुभयो,“सम्पूर्ण शेयर सदस्यहरुलाई पनि आफ्नो सहकारीको अपनत्व महसुस हुेन गरी सहकारीका क्रियाकलाप अघि बढाएका छौँ । पछिल्लो समय केही सहकारीले आफ्नो कारोबार बिगारेका कारण सहकारीप्रति जनविश्वास कम हुँदै गइरहेको अवस्थामा पनि हामी हाम्रो संस्थालाई अवतरण गराउन सफल भएका छौँ । ” ढिकालेथर महिला बचत सहकारीका अध्यक्ष सिर्जना आचार्य सिग्देलले कुनै एक सहकारीका संचालकले गरेको बदमासीले गर्दा समग्र सहकारी र राम्रो काम गर्नेहरुलाई समेत असर परेको बताउनुभयो । बचतकर्ता तथा ऋणिहरुले बजार हल्लाको पछि नलागि कारोबार गरेमा सहकारीमा समस्या नआउने आचार्यले उल्लेख गर्नुभयो । कार्यक्रममा कार्यक्रममा सहकारी संस्थाका संस्थापक अध्यक्ष प्राडा कृष्ण केसी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा वुद्धिबहादुर थापा, रामघाट महिला बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष चाँदनी हमाल, सुनौलो भविष्य महिला सहकारी संस्थाका संस्थापक सल्लाहकार अनिता तिमिलिल्सना लगायतले श्रीवृद्धि सहकारीले आफ्नै कार्यालय भवन निर्माण गरेकामा कारोबार सञ्चालनमा सहज हुने विश्वास व्यक्त गर्नुभएको थियो । साधारणसभामा स्वागत संस्थाका उपाध्यक्ष कृष्णप्रसाद गौतम(धैर्य), सञ्चालन कार्यबाहक सचिव तथा कोषाध्यक्ष रुद्रनाथ अधिकारी र सहकारीका सात सिद्धान्त बाचन सञ्चालक समिति सदस्य डा विनिता कोइराला शर्माले गर्नुभएको सहकारीका कार्यालय प्रमुख दुर्गाप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।
पोखरा: पोखरा आउँदै गरेको हाइसमा विशाल दिसवा थारु लागूऔषधसहित पोखरा महानगर-३० पावरहाउसमा प्रकाउ परेका छन् । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरी टोलीले पावर हाउस चोकमा हिजो(शनिबार)सवारी चेकिङ गर्ने क्रममा पर्साको ठोरी गाउँपालिका–३ घर भएका २० वर्षीय विशाललाई १ सय ७७ पिस नाईट्रोभ्याट लागूऔषधसहित प्रकाउ गरेको हो । प्रकाउ परेका विशालाई लागूऔषध सम्बन्धी मुद्धामा अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: पोखराको लेकसाइडमा रेष्टुरेन्ट बार एशोसिएशन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्षको स्वागतार्थ आयोजना गर्दै आएको २५ औं पोखरा सडक महोत्सव आगामी पुस १२ देखि १६ गतेसम्म सञ्चालन गर्ने भएको छ । रेवानले अङ्ग्रेजी नयाँ वर्षको स्वागतार्थ हरेक वर्ष आयोजना गर्दै सडक महोत्सवलाई यस वर्ष रजत महोत्सवको आयोजना गर्ने तयारी थालिएको रेबानका प्रथम उपाध्यक्ष तथा महोत्सवका संयोजक विश्वराज पौडेलले बताए । उनका अनुसार २५ औं संस्करणको पोखरा सडक महोत्सव आगामी पुष १२ देखि १६ गतेसम्म सञ्चालन हुनेछ । ‘लेकसाइडलाई आन्तरिक तथा बाह्य पर्यटकलाई अङ्गेजी नयाँ वर्षको गन्तव्य स्थलको रुप प्रवद्र्धन गर्न पुस १२ देखि १६ गतेसम्म २५ औं संस्करणको पोखरा सडक महोत्सव आयोजना गर्दै छौं’, संयोजक पौडेलले भने, ‘पोखराको लेकसाइड क्षेत्रमा करिव ३ किलोमिटर क्षेत्रमा महोत्सव गर्दै छौं ।’ उनका अनुसार पोखरा सडक महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रीकालिन कन्सर्ट, बोट रेस, वेटर रेस, ठट अफ वार, भलिबल प्रतियोगिता, मःम ससेज खाने प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिएको छ । यस्तै महोत्सवको अवसरमा सचेतना मुलक सडक नाटक, पोखरा सेरोफेरोको स्थानीय उत्पादीत हस्तकला प्रदर्शन, चित्रकला, मुर्तिकला तथा कृषि , वनस्पती लगायतका कृषि उपजहरुलाई प्राथमिकता साथ प्रदर्शनीको व्यवस्था, पोखराको पर्यटन विकास, प्रवद्र्धन, अवसर तथा चुनौतीहरुको विषयमा केन्द्रिकृत गरी टक सो लगायतका कार्यक्रम आयोजना गरेको उनले बताए । रेष्टुरेन्ट बार एशोसिएशन (रेवान) पोखराले लेकसाइडको मात्र नभएर समग्र पोखराका पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने उद्धेश्यले २५ औं संस्करणको पोखरा सडक महोत्सव आयोजना गरेको बताइएको छ ।
पोखराबाट प्रशारण हुने एभरेस्ट एफएमले पोखरा–२५ हेम्जास्थित मानव सेवा आश्रमलाई १ लाख एक रुपैयाँ प्रदान गरेको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि घोषणा गरेको मानव सेवा आश्रममा “एभरेस्ट एफएम” कक्ष निर्माणका लागि थप १ लाख एक रुपैयाँ प्रदान गरेको हो । एफएमको तेश्रो वार्षिकोत्सवको अवसरमा आइतवार आयोजित एक कार्यक्रमकाबिच एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले मानव सेवा आश्रम कास्कीका संयोजक सदिस पुनलाई रकम हस्तान्तरण गरेकी हुन् । अघिल्लो वर्ष एभरेस्ट एफएम कक्ष निर्माण गर्ने घोषणा गरेको एफएमले ५ वर्षमा सवा ५ लाख दिने प्रतिबद्धता जनाएको थियो । सोहि प्रतिबद्धता अनुरुप एफएमले दोश्रो वार्षिकोत्सवको अवसरमा अघिल्लो वर्ष पहिलो किस्ता स्वरुप १ लाख एक रुपैयाँ नै प्रदान गरेको थियो । यस वर्ष प्रदान गरेको रकम एफएमको दोश्रो किस्ता भएको एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । हामीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एभरेस्ट एफएम कक्ष निर्माण गर्ने घोषणा गरेका थियौं,उनले भने,‘अघिल्लो वर्ष पहिलो किस्ता बुझाएका थियौं । यो दोश्रो किस्ता हो भने बाँकी आगामी तीन वर्ष निरन्तर प्रदान गर्छौं ।’ उनले संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत नै वार्षिकोत्सवको सन्दर्भ पारेर शनिबार रक्तदान कार्यक्रम गर्दा १८८ युनिट रगत संकलन भएकोपनि जानकारी दिए । कार्यक्रममा बोल्दै एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले एभरेस्ट एफएमको उद्देश्य नै सामाजिक सचेतना फैलाउँदै समाज सेवा गर्नुरहेको बताईन् । ‘सोहि उद्देश्य अनुसार नै हामीले एभरेस्ट कक्ष निर्माण गरेका हौं’–उनले भनिन् । यसअघि एफएम सञ्चालनको अवसरमा २०७७ सालमा पनि रेडियोले मानव सेवा आश्रम पोखरालाई १ लाख ५० हजार १ सय ११ रुपैयाँ प्रदान गरेको थियो भने प्रथम वार्षिकोत्सवको अवसरमा एफएमले खादरजुङ्गको एक आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरेको थियो ।यसैबीच, एफएमले तेश्रो वार्षिकोत्सवको अवसरमा आश्रममा आश्रित बुबाहरुलाई विहानको खानापनि खुवाएको छ । आश्रममै पकाएर आश्रित १०७ जना बुबाहरुलाई खाना खुवाएको र त्यसमा लागेको खर्च एफएमले ब्यहोरेको सम्पादक श्रेष्ठले जानकारी दिए । एभरेस्ट एफएमको ‘बेष्ट स्टाफ अफ दी ईयर’ शशी यसैबीच, एभरेस्ट एफएमको ‘बेष्ट स्टाफ अफ दी ईयर’बाट समाचार वाचक शशी पौडेल पुरस्कृत भएका छन् । एफएमले वर्षभरी काम गरेको आधारमा छनौट गर्ने स्टाफ अफ दी ईयरबाट पौडेल पुरस्कृत भएका हुन् । एफएमको तेश्रो वार्षिकोत्सवको अवसरमा पुरस्कृत पौडेललाई नगद १५ हजार ६ सय ७५ रुपैयाँसहित दोषल्ला, माला र खादा लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा मिडिया हाउसकी अध्यक्ष कर्मकुमारी गुरुङ, सम्पादक दीपेन्द्र श्रेष्ठ, सञ्चालक समिति सदस्यहरु हरि शर्मा गैह्रे, कृष्णप्रसाद न्यौपाने, विमलमान गुभाजु, भोलाकुमार श्रेष्ठलगायतले सम्मान गरेका थिए ।
मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई जना प्रहरी कारागार चलान भएका छन् । कारागार चलान हुनेमा जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत प्रहरी सहायक निरीक्षक रामविद्या शाह र प्रहरी वरिष्ठ हवल्दार जगतनारायण वछाड थारू रहेका छन् । पक्राउ गरिएको व्यक्ति जिल्लास्तरमा ल्याउने क्रममा रसुवाको थुमनका एक जना बीच बाटोमै गायब गराएको आरोप उनीहरूमाथि लागेको छ ।मानिस कुटपिट गर्ने गोसाइँकुण्ड गाउँपालिका–१ थुमनका ४२ वर्षीय छिरिङ तामाङलाई थुमनबाट प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी धुञ्चे ल्याउँदै गर्दा रोङ्गा दोभानको नजिक उत्तरतर्फको भिरबाट बेपत्ता बनाएको आरोपमा दुई जना सुरक्षाकर्मी पक्राउ परेका हुन् । सुरक्षा संयन्त्र नअपनाई पक्राउ गरिएका व्यक्ति बाटोमा बेपत्ता पारेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत दायर भएको मुद्दामा पछि ठहरेबमोजिम हुनेगरी अहिलेलाई धरौटीसहित तारेखमा छोड्ने रसुवा जिल्ला अदालतबाट आदेश जारी भएकोमा तोकिएको जनही छ लाख ५० हजार रुपैयाँ धरौटी राख्न नसक्दा ती दुई प्रहरी कारागार चलान भएका हुन् । यस्तै मानिस बेपत्ता बनाउने काममा संलग्न भएको आरोपमा पक्राउ परेका गोसाइँकुण्ड गाउँपालिका–१ थुमनका उर्केन छिरिङ तामाङ पाँच लाख र दावा ग्याल्जेन तामाङ तीन लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । पक्राउ गरिएका सबैलाई मानिस बेपत्ता गराउने अभियोगमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो । प्रहरीको अनुरोधमा उर्केनले थुमनबाट धुञ्चे जानका लागि गाउँमा गाडीको व्यवस्था गरिदिएको र दावा ग्याल्जेनले मोटरसाइकलमा राखी धुञ्चे ल्याउँदा तार्सा भन्ने गाउँतल भिरबाट भोटेकोसीतर्फ भागेर हाम फालेको प्रहरीको बयान रहेको बताइएको छ । पीडित तथा आफन्त शुभचिन्तक एवम् गाउँलेले भने षड्यन्त्रपूर्वक मानिस बेपत्ता पारिएको आरोप लगाउँदै दोषीमाथि कारबाहीका लागि सडक सङ्घर्षसमेत गरेका थिए । उनीहरूबाटै बेपत्ता पारिएको हो भन्ने तत्काल यथेष्ठ प्रमाण र आधार नहुँदा लामो बहस र छलफलपछि ठहरेबमोजिम फैसला हुनेगरी अहिलेलाई धरौटी जमानतमा छोड्ने आदेश जारी भएको रसुवा जिल्ला अदालतका श्रेस्तेदार मुना अधिकारी ढकालले जानकारी दिनुभयो । रसुवा जिल्ला अदालतले अहिलेसम्म गरेका आदेश तथा फैसला कुनै पनि विवादित नभएको र यस मुद्दालाई गम्भीरतापूर्वक अध्ययन र विश्लेषण गरी अन्तिम फैसलामा जाने जानकारी दिँदै पहिलो चरणको आदेशमा नै अनावश्यक टीकाटिप्पणी गरी स्वतन्त्र न्यायालयको मानमर्दनमाथि आँच आउने टीकाटिप्पणी नगर्न आमनागरिकसमक्ष रसुवा जिल्ला अदालतले अनुरोध गरेको छ ।
तनहुँ: सूर्योदय र सूर्यास्त हेर्ने पर्यटक बढेपछि व्यास नगरपालिका–५ स्थित मानहँकोटका होटल खचाखच भएका छन्। सूर्योदयपछि देखिने बादलको दृश्य हेर्न दुई दिन अघिदेखि नै होटल बुक हुने गरेको स्थानीय होटल व्यवसायीको भनाइ छ। असोजदेखि आन्तरिक पर्यटकको चाप बढेपछि होटल खचाखच भरिएको मानहुँकोटस्थित होटल भ्यू टावरका सञ्चालक प्रेम रावतले बताए। आफूहरुसँग रहेको सात वटा कोठा र दुई वटा त्रिपाल दुई तीन दिन पहिल्यै बुक भइरहेको उनले सुनाए। ‘मानहुँकोटमा अहिले पर्यटकको चाप बढ्दा होटल पनि खचाखच भरिएको छ,’ रावतले भने, ‘पर्यटकीय याममा दुई/तीन दिन पहिले नै होटल बुक हुने गर्दा हामीलाई पनि राहत मिलेको छ।’ पर्यटकको चाप बढेपछि मानहुँकोटमा १० वटा होटल सञ्चालनमा आइसकेका छन् । धेरै पर्यटक मानुहुँकोट आउन भन्ने उद्देश्यले आफूले समूहमा आउनेलाई लक्षित गरी एक रात बास, दुई छाक खाना, नास्ता र चियासहित प्रतिव्यक्ति एक हजार एकसय कायम गरेको होटल मानहुँकोट एण्ड रिसोर्टका सञ्चालक पूर्ण श्रेष्ठले बताए। आफूले तीन वटा त्रिपालबाट मानहुँकोट आउने पर्यटकलाई सेवा दिएको मानहुँकोट होटलका सञ्चालक ३० वर्षीय मिलन थापामगरले बताए । आफूले प्रतित्रिपालको शुल्क प्रतिरात रु १ हजार लिने गरेको बताए। ‘मैले त्रिपालमा राखेर पर्यटकलाई सेवा दिँदै आएको छु, एउटा त्रिपालमा चार जनासम्म सुत्न मिल्छ,’ उनले भने, ‘आन्तरिक पर्यटकको चाप बढेपछि होटलको क्षमता विस्तार गर्ने योजनामा छु।’ आफूहरुले दैनिक ५० जनासम्म राख्ने गरी होटल सञ्चालनमा ल्याएको अम्रेला होटल एण्ड रिसोर्ट सञ्चालक सुनिल सुनामले बताए। होटलमा दैनिक दुई/तीन सय जनालाई सेवा दिइरहेको उनको भनाइ छ। आफूलाई मानहुँकोटबाट देखिने सूर्योदय र बादलको दृश्य निकै आकर्षक लागेको धरानबाट आउनुभएकी ५२ वर्षीया निरु राईले बताइन्। ‘बादलको दृश्य पनि यस्तो राम्रो देखिएला भन्ने मैले सोचेको थिइन, अझै यसको प्रचारप्रसार गर्न सके सबैलाई मानहुँकोटको बारेमा जानकारी हुने थियो,’ उनले भने। मानहुँकोटको विकासका लागि आफूहरुले पर्खाल निर्माणलगायतको काम गरिरहेको व्यास नगरपालिका वडा नम्बर–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ (हिमाल)ले बताए। समुद्री सतहबाट करिब एक हजार एक सय मिटरको उचाइमा रहेको मानहुँकोट तनहुँको दमौलीबाट करिब सात किलोमिटरको यात्रामा पुग्न सकिन्छ। जाडोको मौसममा अन्य दिन दुई/तीन सय जना र बिदाको दिन आठदेखि नौ सय जनासम्म मानहुँकोट पुग्ने गरेका छन् ।
क्यानडाका लागि प्रस्तावित नेपाली राजदूत भरतराज पौड्यालविरुद्ध पदीय दुरुपयोगको उजुरी परेको छ । पौड्यालले सरकारी कर्मचारीलाई आएको छात्रवृत्ति छोरीलाई दिलाएर स्विट्जरल्यान्ड पठाएको आरोपसहित संसदीय समितिमा उजुरी परेको हो । सरकारी कर्मचारी जानुपर्ने कोटामा प्रस्तावित राजदूत पौड्यालले छोरी पल्लवीलाई स्विट्जरल्यान्ड पठाएको उजुरीमा उल्लेख छ । स्विट्जरल्यान्ड सरकारले खान बस्नका लागि मासिक छ लाख रुपैयाँ दिने भए पनि पौड्यालले छोरीलाई दूतावासको सरकारी आवास गृहमा राखेर राज्यकोषमा भार पारेको समेत उजुरीकर्ताले आरोप लगाएका छन् । मन्त्रिपरिषद्को बैठकलेले गएको कात्तिक ३ गते परराष्ट्र मन्त्रालयका सचिव पौड्याललाई क्यानडाका लागि राजदूत सिफारिस गरेको थियो । सरकारको निर्णयपछि संसदीय सुनुवाइ समितिले उनका बारेमा उजुरीका आह्वान गरेको थियो ।