काठमाडौं: प्रतिनिधिसभाको उपसभामुखमा नेपाली कांग्रेसकी पुष्पा भुसाल निर्वाचित भएकी छन्। एमाले उम्मेदवार विद्या भट्टराईलाई पराजित गर्दै भुसाल १४८ मत प्राप्त गरि निर्वाचित भएकी हुन् । भने प्रतिद्वन्द्वी एमालेकी भट्टराईले ९३ मत ल्याइन्। प्रतिनिधिसभाको एउटै पदमा भुसालले दोस्रोपटकको प्रयासमा उपसभामुख बन्न सफल भएकी हुन्। यसअघि भुसालले २०७४ साल चैत २ गते उपसभामुखको उम्मेद्वारमा दाबेदारि दिएका थिइन् । त्यतिबेला नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनका उम्मेदवारसँग भुसाल पराजित भएकी थिइन्। वाम गठबन्धनबाट शिवमाया तुम्बाहाम्फे उपसभामुख बनेकी थिइन्। तुम्बाहाम्फेले २०१ मत ल्याउँदा भुसालले ५८ मतमात्रै पाएकी थिइन्। यो बीचमा एमाले र माओवादीबीच पार्टी एकता भएर नेकपा बन्यो। साथै सभामुख कृष्णबहादुर महराले मुद्दा लागेर पदबाट राजीनामा दिए। एकै पार्टीबाट सभामुख र उपसभामुख बनाउन नमिल्ने कानुन र सभामुख महरा पूर्वमाओवादीबाट भएकाले पूर्वमाओवादीबाट अग्निप्रसाद सापकोटालाई सभामुख बनाउन तुम्बाहाम्फेलाई २०७६ साल माघ ६ गते राजीनामा गराइयो। तुम्बाहाम्फेको राजीनामापछि खाली भएको उपसभामुख पद नेकपाभित्रको किचलो, संसद विघटन, नयाँ सत्ता गठबन्धनको निर्माण, बजेट निर्माण र स्थानीय निर्वाचनले करिब तीन वर्षसम्म रिक्त रहिरह्यो। मंसिरमा संघीय निर्वाचन गर्ने तयारी रहेका बेला सत्ता गठबन्धनले अकस्मात उपसभामुख चयनको प्रक्रिया अगाडि बढायो। गठबन्धनभित्र आफ्नो भागमा परेपछि कांग्रेसले भुसाललाई नै फेरि उम्मेदवार बनायो। चार वर्षअघि वाम गठबन्धनका कारण १४३ मतान्तरले उपसभामुखमा असफल भुसाल अहिले सत्ता गठबन्धनको बलमा ५५ मतान्तरले विजयी भइन्। पाँचै वर्ष उपसभामुख बन्ने प्रयास असफल भए पनि भुसाललाई चार महिनाका लागि संसदले उपसभामुखको कुर्सीमा सदन चलाउन अनुमोदन गरेको छ।
काठमाण्डौँ: गृहमन्त्री बालकृष्ण खाणले नागरिकको जीउधनको रक्षा र शान्तिसुरक्षा सरकारको पहिलो दायित्व भएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी महिला सङ्गठनले आज गृह मन्त्रालयमा बुझाएको १३ बुँदे ज्ञापनपत्र बुझ्दै उहाँले महिला, बालबालिका हत्या, हिंसा, र बलात्कारका घटना हुन नदिन सरकार प्रयासरत रहेको बताउनुभएको हो । उहाँले १३ बुँदे मागबारे सुरक्षा निकायसँग छलफल गरी आवश्यक सम्बोधन गर्न पहल गर्ने बताउनुभयो । राप्रपा महामन्त्री तथा महिला विभाग प्रमुख कुन्ती शाहीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले महिलाको सुरक्षाका लागि छुट्टै सुरक्षा दस्ता तयार गर्न माग गरेको थियो । यस्तै हिंसामा परेका महिलाको सुरक्षाको व्यवस्था मिलाउन पनि सङ्गठनले माग गरेको छ ।
काठमाडौं: उपसभामुख चयनका लागि संसदमा मतदान सुरु भएको छ । उपसभामुखका लागि नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालकी विद्या भट्टराई उम्मेदवार छन् । २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको यो पदमा आज चुनाव भएको हो । भुसाल पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट उपसभामुखमा साझा उम्मेदवार हुन् भने भट्टराई प्रमुख विपक्षी नेकपा एमालेकी उम्मेदवार हुन् । हाल प्रतिनिधि सभामा एमालेको ९८, कांग्रेस ६३, माओवादी केन्द्रको ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी २१, लोसपा १३ र अन्य साना दल र स्वतन्त्रसमेत गरी ४ जना सांसद छन् ।
काठमाण्डौँ: जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईसहित नौ केन्द्रीय पदाधिकारीलाई सबै पदीय जिम्मेवारीबाट मुक्त गरिएको छ । वीरगञ्जमा जारी दुईदिने केन्द्रीय समितिको बैठकले पार्टीको हित र विधानविपरीतको कार्य गरेको भन्दै भट्टराईसहितका केन्द्रीय पदाधिकारीलाई पार्टीको पदीय जिम्मेवारबाट मुक्त गर्ने निर्णय गरेको जनाइएको छ । जसपा नेपालले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष उपेन्द्र यादवले पार्टीको नीति सिद्धान्त तथा विधानविपरीतको कार्य गरेको आरोप लगाउँदै नेताहरु डा भट्टराई, महेन्द्रराय यादव, गङ्गानारायण श्रेष्ठ, प्रसान्त सिंह, रमेश यादव, हिसिला यामी, भगतबहादुर साहसहित नौ जनालाई पदमुक्त गरिएको जानकारी दिनुभयो । उहाँले केन्द्रीय समितिको बैठकले सर्वसम्मतरुपमा पार्टीका वरिष्ठ नेता अशोक राईलाई पार्टीको सङ्घीय परिषद् अध्यक्षमा चयन गरेको बताउनुभयो । बैठकले आगामी प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन कांग्रेससहितको पाँच दलिय गठबन्धनमै लड्ने निर्णय गरेको जानकारी दिँदै अध्यक्ष यादवले पार्टीको केन्द्रीय समिति पुनर्गठन र विधान संशोधन गर्ने निर्णय गरिएको बताउनुभयो । दुई दिनसम्म सञ्चालन भएको बैठकले आगामी निर्वाचनका लागि सङ्गठनका सबै तहमा तयारी गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । कारवाही गरिएका व्यक्तिले गल्ती स्वीकार गर्दै आत्मलोचना गरी आए पार्टीको ढोका खुला राखिएको अध्यक्ष यादवले बताउनुभयो । पत्रकार सम्मेलनमा सहभागी रहेका राईले पार्टीको घोषित लक्ष्य तथा उद्देश्यलाई कुनै पनि आँच आउन नदिन केन्द्रीय समिति बैठकले राजनीतिक, नीतिगत तथा सङ्गठनात्मक निर्णय गरेको जानकारी दिनुभयो । उहाँले पार्टी फुटाउने, सङ्गठनलाई कमजोर पार्नेजस्ता गतिविधिले पार्टीलाई कमजोर गर्नुको सट्टा थप बलियो र एकजुट बनाएको आरोप लगाउनुभयो ।
काठमाण्डौँ: गृहमन्त्री बालकृष्ण खाणले नेपालको संविधानको मर्म र भावनाअनुसार नै सरकारले संसद्मा नागरिकता विधेयक पेस गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ माथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले नेपाली नागरिक नागरिकता पाउने अवस्थाबाट वञ्चित नहुने र गैरनेपाली नागरिकले नागरिकता नपाओस् भन्ने अवधारणाका साथ विधेयक पेस भएको जानकारी दिनुभयो । “कुनै पनि गैरनेपालीले नागरिकता नपाओस्, नेपाली नागरिकले नागरिकता पाउनबाट वञ्चित नहोस् । नेपाली नागरिकले नागरिकता प्राप्त गर्ने पर्दछ, यो संविधानको मूल अवधारणा हो । कुनै पनि नागरिकलाई नागरिकताबाट वञ्चित गरिँदैन भन्ने संविधानको भावना छ । सोही अवधारणाका आधारमा विधेयक अगाडि बढाइएको छ ।” उहाँले भन्नुभयो । नेपाली नागरिक नागरिकताको अधिकारबाट वञ्चित नहोस् भन्ने सरकारको प्रतिबद्धता रहेको जनाउँदै उहाँले संविधानलाई आधार मानेर नै विधेयक अगाडि बढाइएको बताउनुभयो । “संविधान परिवर्तनीय छ, त्यसको आफ्नो प्रक्रिया र पद्धति छ, समय आएपछि संविधान पनि परिस्कृत हुँदै जान्छ”, गृहमन्त्री खाणले भन्नुभयो, “जबसम्म संविधानमा जे प्रावधान र जस्तो व्यवस्था छ, त्यो व्यवस्थाको आधारशिलामा उभिएर विधेयक ल्याउनुपर्ने हुन्छ, सोही आधारमा ऐन बनाउनुपर्छ ।” संविधानको भाग २ मा रहेको नागरिकतासम्बन्धी प्रावधानको आधारमा रहेर तथा संविधानका आधरभूत प्रावधानलाई ध्यानमा राखेर विधेयक बनाइएको उहाँले स्पष्ट पार्नुभयो । लामो समयदेखि नागरिकताविहीन भएर जीवनयापन, व्यवसाय सञ्चालन, अध्ययन तथा यात्रामा असुविधा व्यहोर्दै आएका नेपालीलाई छिटो नागरिकता दिने उद्देश्यले सरकारले विधेयक प्रस्तुत गरेको गृहमन्त्री खाणले जानकारी दिनुभयो । “सबै नेपालीले नागरिकता प्राप्त गरून् भन्ने सबैको साझा सङ्कल्प हो”, उहाँले भन्नुभयो, “सबै सांसदको सक्रिय सहभागिता, रचनात्मक सहयोग र सकारात्मक भावनाले विधेयक पास भएर कार्यान्वयनमा जानेछ, कार्यान्वनका क्रममा आएका समस्यालाई फेरि सम्बोधन गर्दै लगिनेछ ।” सो प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले कोही पनि नेपाली नागरिक नागरिकता प्राप्त गर्ने अधिकारबाट वञ्चित हुन नहुने र कुनै पनि गैरनेपालीले नागरिकता प्राप्त गर्ने अवस्था ल्याउन नहुने बताउनुभयो ।
काठमाण्डौँ: नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र नेपाली जनतालाई केन्द्रमा राखेर आफूले छिमेकी मित्रराष्ट्र भारतको भ्रमण गर्न लागेको बताउनुभएको छ । भारत प्रस्थान गर्नुअघि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा उहाँले आफ्नो भारत भ्रमणका क्रममा इतिहासदेखि थाती रहेका कैयौँ विषयमा साझा धारणा बनाउने र समस्याको समाधानमा केन्द्रित रहने बताउनुभयो । अध्यक्ष दाहालले यो भ्रमण आकस्मिक जस्तो भए पनि पछिल्लो दुई महिनादेखि तयारी भइरहेको जानकारी पनि दिनुभयो । उहाँले भन्नुभयो, “बाहिर आउँदा यो भ्रमण आकस्मिक जस्तो देखिए पनि त्यस्तो होइन । पार्टीभित्र पनि यस विषयमा मैले चर्चा गरेको थिएँ । यो दुई महिना पहिल्यै तय भएको भ्रमण हो ।” उहाँले नेपालका लागि भारतका तत्कालीन राजदूत विनयमोहन क्वात्रामार्फत उपयुक्त समयमा भारत भ्रमण गर्न त्यहाँको सत्तारुढ भारतीय जनता पार्टीका तर्फबाट निमन्त्रणा प्राप्त भएकोसमेत जानकारी दिनुभयो । अध्यक्ष दाहालले आफ्नो भ्रमणलाई सद्भावना भ्रमणको रुपमा चित्रण गर्नुभयो । त्यहाँको सत्तारुढ भारतीय जनता पार्टी र भारतीय जनतासँगको सम्बन्ध विस्तारका लागि समेत यो भ्रमण केन्द्रित रहने उहाँको भनाइ छ । भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा आफू भारत भ्रमणमा जान लागेको उहाँले त्यस अवसरमा जानकारी दिनुभयो । अध्यक्ष दाहालले नेपाल र भारतका बीचमा रहेका विभिन्न पक्षलाई केन्द्रमा राखेर आफूले भारतीय पक्षसँग कुराकानी गर्ने बताउनुभयो । भ्रमणका क्रममा नेपालको समग्र विकास, द्विपक्षीय सम्बन्ध, बढ्दो व्यापार घाटा, इतिहासमा थाती रहेका विषय एवं सीमामा देखिएका समस्या कूटनीतिक संवादबाट टुङ्ग्याउनेलगायतका विषयमा विभिन्न द्विपक्षीय तथा बहुपक्षीय भेटमा छलफल हुने पूर्वप्रधानमन्त्री प्रचण्डले बताउनुभयो । उहाँले आर्थिक, द्विपक्षीय हित र अन्य चासोका विविध पक्षमा विचार विमर्श हुने हुने उल्लेख गर्नुभयो । उहाँले हालै सम्पन्न चिनियाँ विदेश विभागका प्रमुखको भ्रमण र आफ्नो आजदेखि हुन लागेको भारत भ्रमणका बारेमा कुनै सम्बन्ध नरहेको प्रष्टीकरण दिनुभयो । उहाँले भन्नुभयो, “यसमा कुनै अन्तरसम्बन्ध छैन । अनावश्यक द्विविधा राख्नुको कुनै अर्थ छैन ।” यस भ्रमणलाई भाजपा र आफ्नो पार्टीको सम्बन्ध विस्तारका रुपमा लिइएको उहाँको भनाइ छ । वर्तमान गठबन्धन सरकारको प्रमुख घटकको शीर्ष नेताको हैसियतमा हुन लागेको यस भ्रमणले दुई देशबीचको सम्बन्धमा थप सकारात्मक वातावरण बनाउने विश्वास व्यक्त गर्नुभयो । भ्रमणअघि आजै प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि आफूले संवाद गरेको र परराष्ट्र मन्त्रालयसँग पनि भ्रमणका सम्बन्धमा कुराकानी भएको अध्यक्ष दाहालले जानकारी दिनुभयो । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य सरकारी अधिकारीसँग पनि भेटवार्ता हुने उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री देउवासँगको छलफलमा आफूले यस भ्रमणको क्रममा भएका सहमति तथा सहकार्यका विविध क्षेत्रमा भएका प्रगतिका बारेमा के भूमिका खेल्न सक्छु भनेर छलफल भएको उहाँले बताउनुभयो । देश र वर्तमान गठबन्धनका लागि समेत यस भ्रमणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै उहाँले भ्रमणलाई उत्साहपूर्ण रुपमा लिएको बताउनुभयो । उहाँले सो अवसरमा आफू निकट भविष्यमा नै चीनको भ्रमणमा समेत जान लागेको जानकारी दिनुभयो । उहाँले गोवामा ब्रिक्स सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सि जीनपीङ रु भारतीय प्रधानमन्त्री मोदीसँग प्रधानमन्त्रीको हैसियतमा नै त्रिपक्षीय साझेदारीका विषयमा महत्वपूर्ण विचारविमर्श भएको स्मरण गर्नुभयो । उहाँले भारतले सस्तो मूल्यमा रसियाबाट इन्धन आयात गरिरहेको सन्दर्भमा त्यस्तो सुविधा नेपालले समेत पाउन सके धेरै नै राहत हुने भएकाले त्यसतर्फ पनि छलफल गर्ने बताउनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष दाहालको बिदाइका लागि पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरु जनार्दन शर्मा, मातृकाप्रसाद यादव, झक्कुप्रसाद सुवेदीलगायतका नेता पुग्नुभएको थियो । अध्यक्ष दाहाल साउन १ गते स्वदेश फर्कने कार्यक्रम छ ।
काठमाण्डौँ: निर्वाचन आयोगमा नयाँ दल नेपाल गाँजा पार्टी दर्ता गर्ने गरी तयारी थालिएको छ । हाल यो दलका लागि पार्टीको विधान लेख्ने काम भइरहेको नेपाल गाँजा वैधानिक महाअभियानका राष्ट्रिय संयोजक जोसेफ मदन कोइरालाले जानकारी दिए । नेपाल सरकारले गाँजालाई वैधानिकता नदिएका कारण नयाँ दल खोल्न बाध्य भएको संयोजक कोइरालाले जानकारी दिए । पाटीको लागि २१ जना कार्यसमिति तयार रहेको र राजनीतिक बुझेको, नेतृत्व गर्ने क्षमता भएको अध्यक्षको खोजी भइरहेको उनले बताए । कोइरालाले भने– ‘अर्को हप्ता पार्टी दर्ता गर्ने योजना बनाएर काम गरिरहेका छौँ । पार्टीको विधान लेख्ने काम भइरहेको छ । २१ जनाको कार्यसमिति पनि तयार पारेका छौँ तर संयोजक वा अध्यक्ष तोक्ने काम भएको छैन । हामी राजनीति पृष्ठभूमिको व्यक्ति नभएको हुनाले राजनीति बुझेको र सबैलाई मिलाएर नेतृत्व गर्न सक्ने पार्टीको प्रथम व्यक्तिको खोजी गरिरहेका छौँ । गाँजाबारे बुझेको र सक्षम ब्यक्ति भेटिने वित्तिकै अध्यक्ष बनाएर पार्टी दर्ता गर्ने योजनामा छौँ ।’ नेपाल गाँजा वैधानिक महाअभियान अन्तर्गत सामाजिक सञ्जालमा ५ लाख सदस्य रहेको र ५० हजार जुनसुकै बेला सम्पर्कमा रहने सदस्यहरु रहेको उनले बताए । नेपालमा गाँजा खेती र विक्रीलाई वैधानिक बनाउने, घर घरमा उद्यमी बनाउने र घर घरबाटै रोजगारी सिर्जना गरेर नेपाललाई आत्मनिर्भर मुलुक बनाउने पार्टीको उद्धेश्य रहेको कोइरालाले जानकारी दिए ।
काठमाडौं: जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य एवम सांसद रेणु कुमारी यादवले पार्टी परित्याग गरेकी छिन् । उनले बिहीबार पार्टी अध्यक्षलाई राजीनामा पत्र बुझाउँदै पार्टीको कुनै पनि जिम्मेवारीमा नबस्ने घोषणा गरेकी हुन् । यादवले राजीनामा पत्रमा ‘व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको’ उल्लेख गरेकी छिन् ।
काठमाण्डौँ: राष्ट्रियसभाको आजको बैठकले विभिन्न विधेयक पारित गरेको छ । बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘सामािजक सुरक्षा विधेयक, २०७९’ लाई सर्वसम्मतिले पारित गरेको हो । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गर्नुभएको थियो । गृहमन्त्री खाणले दलीय सहमतिमा नै यो विधेयक आएकाले पारित गर्न सांसदहरुलाई आग्रह गर्नुभयो । उहाँले सामाजिक सुरक्षा भत्ता राज्यको दायित्व भएपनि यसलाई व्यवस्थित बनाउनु आवश्यक रहेको बताउनुभयो । यस्तै, बैठकले प्रतिनिधिसभाबाटै सन्देशसहित प्राप्त भएको ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन विधेयक, २०७९’ पारित गरेको छ । सो विधेयक बहुमतले पारित भएको हो । यस्तै, बैठकले ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९’ सर्वसम्मतिले पारित गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गर्नुभएको थियो । यस्तै, ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ लाई पनि बैठकको बहुमतले पारित गरेको हो । मन्त्री कोइरालाले संविधान अनुसार अध्यादेश संसदमा पेश गर्नुपर्ने व्यवस्थाका कारण प्रस्तुत गरिएको जानकारी दिनुभयो । उहाँले राष्ट्रियसभाको तर्फबाट यौन हिंसाको सम्बन्धमा पारित गरेको संकल्प प्रस्तावलाई समेत स्वागत गर्ने र त्यसलाई पूर्ण रुपमा कार्यान्वयन गरेर अगाडि लैजान तयार रहेको बताउनुभयो । त्यसअघि बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएका तीन विधेयकका सम्बन्धमा प्राप्त सन्देशको जानकारी गराउनुभयो । सचिव फुँयालले जानकारी गराउनुभएका ती विधेयकमा ‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९’, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन), २०७९’ र रेल्वे विधेयक, २०७९’ छन् । बैठकमा दिगो विकास तथा सुशासन समितिका ज्येष्ठ सदस्य वामदेव गौतमले ‘दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७७/०७८’ सभामा पेश गर्नुभयो । त्यस्तै, विधायन समितिका जेष्ठ सदस्य नारायण दत्त मिश्रले ‘ विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७७/७८’ सभा समक्ष पेश गर्नुभयो । राष्ट्रियसभाको अर्को बैठक साउन २ गते सोमबार १ बजे बस्नेछ ।