पोखरा: कास्की क्षेत्र नम्बर २ (ख) का कांग्रेस उम्मेद्वार विन्दुकुमार थापाले पोखरामा अन्तरराष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माणको पहल गर्ने प्रतिबद्धता जनाएका छन् । यसअघि प्रदेश सरकारले हरेक बजेटमा रकम राखेर पनि काम अघि बढाउन नसकेको सम्मेलन केन्द्र आगामी ५ वर्षभित्र निर्माण गर्न आफुले पहल गर्ने थापाले बताए । ‘गण्डकी प्रदेशको राजधानी पोखरामा अन्तरराष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माण गर्न योजनालाई मूर्त रुप दिने काम गर्छु,’ उनले भने, ‘यसबाट पोखराको नयाँ गन्तव्य थपिने छ । सम्मेलन र सभाका लागि आउने पर्यटक बढ्ने छन् ।’ थापाले गण्डकीमा बाह्य लगानी भित्राउन र पर्यटनको विकास गर्नका लागि लगानी सम्मेलन गर्ने प्रतिबद्धता जनाए । यस्तै, पोखराको मुख्य बजार र वरपरका क्षेत्रलाई समेटने गरी चक्रपथको निर्माणमा जोड दिने बताए । ‘सहरी क्षेत्रमा ट्राफिक जाम अत्याधिक बढेको छ । काँठका मान्छेहरुको दैनिकी सीधै मुख्य बजारसँग ठोकिएको छ,’ उनले भने, ‘चक्रपथ निर्माण गरेर गाउँबाट हुने बसाईंसराईं रोक्न पहल गर्छु । यसबाट सहरको विकेन्द्रीकरण हुन्छ ।’ उनले लेखनाथमा निर्माण गर्ने भनिएको बसपार्कलाई अत्याधुनिक रुपमा तत्काल निर्माण थाल्न सम्बन्धित पक्षसँग समन्वय गर्ने बताए । यसैगरि मौजामा हाइ अल्टिच्युड खेल मैदान र स्टेडियम निर्माणका लागि पहल गर्ने थापाको प्रतिबद्धता छ । ‘मौजामा अहिले पनि खेल मैदान निर्माणको क्रम चलिरहेको छ । तर निकै सुस्त काम भैरहेको छ,’ उनले भने, ‘यसलाई तीब्रता दिइने छ । एक हदसम्मको हाइ अल्टिच्युड खेल मैदान यहाँ बन्छ ।’ थापाले भूमिहिन सुकुम्बासीको समस्या समाधान गर्न जग्गाको लालपुर्जा वितरणका लागि चासो दिएका छन् । निस्सा पाएकालाई लालपुर्जा र निस्सा पाउन बाँकीलाई तत्कालै निस्सा दिन आफुले पहल गर्ने थापाको भनाई छ । कास्कीमा सुकुम्बासी समस्या समाधान आयोगले निरन्तर काम गरिरहेको छ ।
पोखराः जनकवि केशरी धर्मराज प्रतिष्ठानलाई सांस्कृतिक घर बनाउनुपर्ने कांग्रेस नेता बिन्दुकुमार थापाले बताएका छन । गण्डकीकै एक कलाका धरोहर धर्मराज थापाको प्रतिष्ठान बनाएर कला, साहित्य र संगीतमा पोखराले सन्देश दिनुपर्ने र थापाको पथमा पोखराका कलाकर्मी लाग्नुपर्ने उनले बताए । जनकवि केशरी धर्मराज सावित्री थापाका माइला छोरा प्रा.डा. कुञ्जराज थापाले प्रतिष्ठानलाई सांस्कृतिक घरको रुपमा विकास गर्न सुझावपनि दिएका छन । पोखरा महानगरपालिका १६ मा घरदैलो कार्यक्रम गर्न पुगेका गण्डकी प्रदेश सभा सदस्यका उम्मेदवार विन्दुकुमार थापा जनकवि केशरी धर्मराज सावित्री थापा प्रतिष्ठानको अवलोकन गर्न पुगेको समयमा उक्त कुरा बताएका हुन् । ‘म के अपेक्षा गर्छु भने उहाँ कुशल र सक्षम उम्मेदवार हुनुहुन्छ । उम्मेदवारहरुले के गरिदिनुप¥यो भने यो क्षेत्रका पर्यटकीय क्षेत्रहरुको विकास गरिदिन प¥यो । म त्यो भन्छु ’ उनले भने,‘यो प्रतिभापुर्ण क्षेत्र हो । उहाँले गरेका योगदान कृतिहरुको जस्तो काठमाडौंमा लक्ष्मी प्रसाद देवकोटाको घरलाई नै किनेर राष्ट्रिय सांस्कृतिक घर बनाइयो । त्यसतै यो पनि बनाइयोस् । त्यसका लागि सरकारले प्रयत्न गरोस् । मैले त्यहि एउटा इच्छा जाहेर गरिराखेको छु ।’ यहाँमात्रै नभई पर्यटकीय क्षेत्रसमेत हेरिदिनुपर्ने उनी बताउँछन् । गठबन्धनबाट कास्की क्षेत्र नं.२(२) का प्रत्यक्ष उम्मेदवार थापाले जनकवि केशरी धर्मराज सावित्री थापा प्रतिष्ठानको संरक्षण र प्रबद्र्धनमा दत्तचित्त भएर लागिपर्ने बताए । उनले अघिल्लो पाँच वर्ष प्रदेशको संरचना निमार्ण गर्ने काम गरेको र अबको पाँच वर्ष विकास र संवृद्धिका साथै प्रदेशमा रहेका कला र कलाकारिताको संरक्षणमा समेत व्यतित गर्ने बताए । उनले धर्मराज सावित्रीको इतिहास कसैले पनि भुल्न नहुने र यस्का लागि प्रदेश सरकारको जिम्मेवारी पनि ठूलो रहेको सुनाए । उनले आफुले सकेको साथ र सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
पोखराः कास्की निर्वाचन क्षेत्र नं. २ बाट नेकपा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले सडक पूर्वाधार समृद्धिको आधार भएको बताएकी छन् । मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पोखरा महानगरपालिका वडा नं. २० का मतदातासँग मत माग्न घरदैलोमा पुगेकी उनले उक्त क्षेत्रका अधुरा काम पुरा गर्न आफु सारथि बन्ने प्रतिवद्धता व्यक्त गरिन् । पोखरा महानगरमा थपिएका नयाँ वडाहरुको सडक निर्माण पहिलो आवश्यकता भएको बताउँदै उनले यस्ता वडाहरुको समग्र विकासका लागि महागरसंगै संघ र प्रदेश सरकारको ध्यान पुग्नुपर्नेमा जोड दिईन् । निवर्तमान प्रतिनिधि सभा सदस्य समेत रहेकी भट्टराईले पोखरा ढाँडवेसी, वयरघारी, लामडाडा, मौजा ग्रामीण सडक स्तरोन्नतसँगै झण्डै साढे एक किलोमिटर बाटो ढलान समेत गरिएको बताउँदै उनले भनिन्–‘बांकी रहेको काम सम्पन्न गर्ने जिम्मेवारी मलाई दिनुहोस ।’ हिमश्रृखलाको मनोरम दृश्यसंगै सुन्दर गाउँ मौजा आँटीघरमा रहेको होमस्टेको प्रवद्र्धनको लागि सडक सञ्जाल पहिलो आवश्यकता भएको उनको भनाई छ । भट्टराईले सडक यातायातले उक्त क्षेत्रमा उत्पादित कृषि उपजको बजारीकरणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिन् । निर्वाचन क्षेत्र नं. २ (क) का उम्मेदवार मिना गुरुङले दिगो विकास लक्ष्य प्राप्तिका लागि आप्mनो उम्मेदवारी भएको स्पष्ट पारेकी छन् । नेकपा एमालेको समृद्ध नेपाल, सुखी नेपाली अभियानलाई सार्थक बनाउनु वर्तमानको आवश्यकता भएकोमा उनको जोड छ । नेकपा एमाले वडा कमिटि २० का अध्यक्ष त्रिलोचन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सदस्य भिमप्रसाद बास्तोला, मनवुजा विश्वकर्मा, महानगर सचिव जिवन आचार्य, स्थानीय सरोज गुरुङ, भिम गुरुङ, शंकर गौतम, दुर्गाबहादुर गुरुङ लगायतले निर्वाचनमा केन्द्रीत हुनु पर्नेमा जोड दिंदै कुनै पनि लोभलालचमा नलागि मतदान गर्न मतदातालाई आग्रह गरेका थिए ।
पोखराः कास्की क्षेत्र नं. २(२) का प्रदेशभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले पोखरा १६ स्थित जैमुरेमा पक्की पुलको आवश्यकता महसुस गरेको बताएका छन् । गठबन्धनको तर्फबाट प्रत्यक्ष उम्मेदवार बनेका थापाले बुधबार पोखरा महानगरपालिका १६ स्थित जैमुरेमा भएको कोणसभामा सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । उनले महानगरको ठूलो र शिक्षित वडामा पर्ने १६ नं. वडा विकास र संवृद्धिको हिसाबले निकै पछि परेको सुनाउँदै उक्त क्षेत्रको विकासमा कांग्रेस नेतृत्वको गठबन्धनको सरकारले ठूलो रकमको आयोजना पारेको बताए । थापाले आफु घरदैलो कार्यक्रममा आउँदै गर्दा जैमुरेमा पक्की पुलको आवश्यकता देखेको बताउँदै यो समस्याको समाधान छिटो नै गर्ने बताए । ‘यहाँको पुल जीर्ण अवस्थामा भएको मैले महसुस गरे । जीर्णपुलले अब चल्दैन । त्यो भत्काएर २ लेनको पक्की पुल निमार्ण गर्नपर्ने देखियो ।’, उनले भने, ‘यो काम पनि चाडै नै हुन्छ यसका लागि बैकल्पिक सडक बनाएर बनाउनुपर्ने अवस्था छ । त्यसको लागि तपाईँहरुको साथ र सहयोग चाहिन्छ ।’ थापाले गत आर्थिक वर्षमा वडा १६ मा २२ करोड रुपैयाँको योजना परेको र चालु आर्थिक वर्षमा भने १ अर्ब १८ करोडको आयोजना परेको सुनाए । वडा १६ कतिपय स्थानमा अझै पनि पक्की बाटो नपुगेको र भएका पनि स्तरोन्नति गर्न आवश्यक रहेको सुनाउँदै थापाले विकासको पहिलो खुड्किलो नै सडक रहेको भनाई राखे । उनले वडाबासीबाट आउँदा दिनमा पनि काम गर्ने अवसर दिनेमा आफु आशावादी रहेको बताए । उनले पाँच वर्षमा प्रदेशमा जग राखी विकासका आधारशिला तयार गर्ने काम गरेको र अबको पाँच वर्ष विकास र सम्वृद्धिको रहेको सुनाए । ‘विकासका लागि चाहिने संरचना बनायौं । अब विकासको लहर लाग्छ । हाम्रो क्षेत्र उर्जाको अथाहा सम्भावना बोकेको क्षेत्रपनि हो । अहिले सम्म ६५० मेगावट मात्रै १२ हजार उत्पादन गर्न सक्छौ’, उनले भने, ‘यदि हामीले १२ हजार मेगावटको जलविद्युत निकाल्न सकेमा युवाहरु विदेशीन बाध्य हुने छैनन् । स्वदेशमै रोजगारको अवसर सृर्जना हुन्छ । त्यतिमात्रै होइन् वडा १६ लाई पर्यटनको हवको रुपमा समेत विकास गर्न आवश्यक छ । अर्को कुरा यो कृषि पकेट क्षेत्रपनि हो यहाँ कृषिका अथाह सम्भावना हामीले देखेका छौँ ।’
पोखराः पर्यटकीय क्षेत्रको रुपमा रहेको अन्नपूर्ण गाउँपालिकामा वर्षेनी पर्यटनमैत्री कार्यक्रमहरु ल्याउने एमाले उम्मेदवारद्धय दामोदर पौडेल बैरागी र राजीव पहारीले अन्नपूर्णवासीलाई वचन दिएका छन् । उनीहरुले पर्यटनको लागि मात्र वर्षेनी लाखौं रुपैयाँ वजेट विनियोजन गर्ने प्रतिवद्धता जनाए । कास्की ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार दामोदर पौडेल बैरागी र ३ ख का प्रदेश सभा सदस्य उम्मेदवार राजीव पहारीले बुधवार अन्नपूर्ण गाउँपालिकाका स्थानीयहरुसँगको भेटघाटमा यस्तो प्रतिवद्धता जनाएका हुन् । यसअघि स्थानीयले अन्नपूर्ण गाउँपालिका पर्यटकिय स्थल भएकाले सो क्षेत्रमा पर्यटनमैत्री कार्यक्रमहरु ल्याउन एमाले उम्मेदवारद्वयसँग माग राखेका थिए । मंसिर ४ को निर्वाचन मिति नजिकिंदै गर्दा नेकपा एमाले कास्की क्षेत्र नम्वर ३ का उम्मेदवारद्वय पौडेल र पहारी घान्द्रुक, छोम्रोङ, दाङसिङ, सावेत, उल्लेरी लगायतका स्थानहरुमा पुगेर त्यहाँका जनताहरुको आर्शिवाद लिएका थिए । सो क्रममा त्यस क्षेत्रका जनताहरुले एमाले पार्टी जनताको सुखदुःखको साथी भएको बताउँदै विकासको लहर ल्याउन एमाले उम्मेदवारहरुलाई विजयी गराउने उद्घोष गरे । निवर्तमान सांसद पहारीको कार्यकालमा नयाँपुल–घान्द्रुक पिच, विभिन्न ठाउँमा मोटरेबल बाटाघाटा खुलेका र ति बाटोहरुको स्तरोन्नतीका लागि फेरी एमालेलाई जिताउने स्थानीयको प्रतिवद्धता छ । प्रदेश सभा उम्मेदवार पहारीले विभिन्न समुह, संघसंस्था लगातयसँग सहकार्य गर्दै सामुदायिक भवन, मठमन्दिर निर्माण कार्य लगायतमा सहयोग गरेको भन्दै योजना अन्तर्गत बाँकी रहेका अन्य थुप्रै काम सम्पन्न गर्न पनि एमाले उम्मेदवार विजयी हुनुपर्नेमा उनीहरुको जोड छ । प्रतिनिधि सभा सदस्यका उम्मेदवार दामोदर पौडेलले अन्नपूर्ण गाउँपालिकामा प्राकृतिक सम्पदा तथा वातावरणको संरक्षण गर्दै कृषि र पर्यटनको समानान्तर विकासबाट नै सो क्षेत्रको मुहार फेर्ने प्रतिवद्धता जनाए ।
पोखरा : पाँच दलीय गठबन्धनको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं.२ का उमेदवारहरुले सिङ्गो गण्डकी प्रदेशको शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा पोखराको विकास गरिने बताएका छन् । आगामी मङ्सिर चार गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ को प्रचारप्रसारका क्रममा मतदाताको घरदैलोमा रहेका उनीहरूले यस्तो बताएका हुन् । कास्की २ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभाको साझा उम्मेदवार रहेका नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका श्रीनाथ बरालले पोखरालाई सिङ्गो गण्डकी प्रदेश कै शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा विकास गरिने बताए । ‘लोकतन्त्रका पक्षधर दलहरूको बिचमा गठबन्धन निर्माण गरी संविधान र व्यवस्थालाई जोगाएका छौं ।अव हामी विकास र समृद्धिको लागि यो गठबन्धनलाई समर्पित गछौँ, उनले भने, जनताको जीवनमा परिवर्तन ल्याउन र जनताको जीवनस्तरलाई माथि उठाउन हामीले बाँकी समय खर्च गछौँ, अधिकारका लागि हामी लडिसक्यौ, अव पछाडि परेका समुदायका वर्गहरूको अधिकारलाई संस्थागत गर्न राम्रा ऐन कानुनहरू निर्माण गर्नेछौँ ।’ विगतमा लाहुरे उमेदवारहरुलाई प्राथमिकता दिँदा यस क्षेत्र विकासमा पछि परेको हुँदा अव फेरी पनि त्यही गल्ती दोर्होयाउने छुट कसैलाई पनि नरहेको उनले बताए । ‘म लाहुरे उम्मेदवार होइन, म हजुरहरू कै वारेस हुँ, सेवक हुँ, त्यस कारण पनि म हजुरहरू नै घरदैलोमा बसेर सेवामा समर्पित हुनेछु, उम्मेदवार बरालले भने, विकास र समृद्धिको अर्को पाटो हो, नागरिकको आर्थिक अवस्थालाई सुधार गर्ने, महिला तथा बालबालिकाका लागि छुट्टै सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने योजना सहित हामी आएका छौँ ।’ स्वस्थ बालबालिकाले मात्र भोलिको भविष्य निर्माण गर्न सक्ने भन्दै बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखेर सुविधा सम्पन्न बाल अस्पताल समेत निर्माण गर्ने उनले बताए । ग्रामीण पर्यटन विकासका लागि होमस्टेहरूको विकास गर्दै डाँडाकाडाँहरुको सौन्दर्यीकरणमा जोड दिने प्रतिबद्धता समेत उनले जाहेर गरे । उनले सम्भावित स्थानहरूको पहिचान गरी ट्रेकिङ रुटहरू निर्माण गर्ने बताए । यस्तै कास्की २(ख) का प्रदेशसभा सदस्य पदका उम्मेदवार विन्दुकुमार थापाले आफूहरूले बितेको पाँच वर्षमा गण्डकी प्रदेशको आधारशिला खडा गरेको बताए । ‘हामीले पाँच वर्षमा गण्डकी प्रदेशको आधार शिला खडा गर्यौँ । अबको समय समृद्धिको समय हो । सुशासनको लागि हो, उनले भने, संविधानको रक्षा र व्यवस्थालाई अझै बलियो बनाउनका लागि गठबन्धन गरिएको हो ।’ उम्मेदवार थापाले वडा नं.१६ को विकासका लागि १ अरब १८ करोड बढीको बजेट चालु आर्थिक वर्षमा छुट्ट्याएको बताए । विकास र समृद्धिमा पछि परेको वडाको रूपमा यसको विकास द्रुत गतिमा गर्ने गरी यो आकारको बजेट पारिएको उनले बताए । यो गठबन्धनको सरकार भएकै कारण सम्भव भएको उनले बताए । उम्मेदवार थापाले यस क्षेत्रको विकास निर्माण, समृद्धि र सुशासन लगायत तमाम विषयहरूमा सुधार ल्याइने प्रतिबद्धता जाहेर गरे । ‘विकास निर्माण, समृद्धि, सुशासन र भ्रष्टाचारलाई न्यूनीकरण गर्ने सन्दर्भमा अव नयाँ ढंगले अगाडी बढ्ने योजना सहित आएका छौँ, मैले व्यक्तिगत रूपमा आफू सार्वजनिक पदमा रहँदाको आफ्नो पारिश्रमिक सामाजिक काममा खर्च गर्ने गरेको छु, आगामी दिनमा पनि मैले कुनै पनि सुविधा व्यक्तिगत रूपमा खर्च गर्ने छैन, थापाले भने, जोगीमणिको पुल निर्माणका लागि विशेष पहल गरिने छ । सहायक सडकहरूको अवस्था सुधारका लागि पनि हामीले काम गर्नेछौँ ।’ नागरिकका आधारभूत आवश्यकताहरूको परिपूर्तिका सन्दर्भमा राज्यको नीति र नियमको परिधिमा रहेर आवश्यक पहल र प्रयत्न गरिने उनले बताए । विकास र समृद्धि हासिल गर्ने सवालमा एकाकार भएर अगाडी बढ्ने उनले प्रतिबद्धता समेत जाहेर गरे । यस्तै कास्की २ (क) का उम्मेदवार विश्वप्रकाश लामिछानेले दोविल्ला क्षेत्रको नदी कटानमा ध्यान दिने बताए । पोखरा १७ र २१ मा पर्ने दोविल्ला क्षेत्रमा भएको घरदैलो अभियानका क्रममा त्यस क्षेत्र नदिले कटान गरेको उनले बताए । आफू लामो समयदेखि सेती नदी र वरपरका बस्ती संरक्षण अभियानमा रहेकाले विजयी गराएमा निरन्तरता दिने उनको भनाई छ । जितेपछिको पहिलो काम नै दोविल्लामा तटबन्धन गर्ने उनले सुनाए । साथै, दोबिल्ला हुँदै बिरौटासम्म चक्रपथ बनाउने योजना बनाएको उनले बताए । दोविल्लाको पुल खतरामा रहेकाले पुल पुनः निर्माण गर्न पहल गर्ने उनको योजना छ । त्यस क्षेत्रमा काँग्रेसको उम्मेदवार नभएको कारण भ्रम छर्ने काम गरीकाले गठबन्धनबाट उठेपछि काँग्रेसको पनि उम्मेदवार भएको हुँदा भ्रममा नपर्न मतदातालाई उनको आग्रह थियो । साझा घोषणापत्रको साथ मतदातासामु पुगेकाले ५ वर्षसम्म सो क्षेत्रबाट सबै पार्टी प्रतिनिधि भएर काम गर्ने उनको प्रतिबद्धता थियो ।
पोखरा : कास्की क्षेत्र नम्बर १ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार वेद बहादुर गुरुङ ’श्याम’ले निर्वाचित भएपछि शिक्षा र स्वास्थ्यमा जोड दिने कुरा बताएका छन् । नेकपा एमालेको तर्फबाट उम्मेद्धार बनेका गुरुङले देशलाई समृद्धिको बाटोमा हिडाउन शिक्षा र स्वास्थ्यको बिछट्टै महत्व रहेको कुरा समेत बताए । बुधबार पोखरा महानगरपालिका वडा नम्बर १२ का मतदातासंग गुरुङले भेटघाट गरेका थिए। भेटघाटको क्रममा गुरुङले शिक्षा र स्वास्थ्य जस्तो आधारभूत कुरा दिने दायित्वबाट सरकार भागेको आरोप समेत लगाए। गुरुङले आफू निर्वाचित भएपछि निशुल्क र गुणस्तरीय शिक्षा अनि स्वास्थ्यको लागि नीति बनाउन लाग्ने बताए । ‘शिक्षा र स्वास्थ्यमा समान पहुँच नभएसम्म विकास र समृद्धि सम्भव छैन । त्यसैले विपन्न वर्गका बालबालिकाहरुको निशुल्क शिक्षा प्रदान हुनेछ । सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गरिनेछ ।’ गुरुङले भने, ’ नेताहरु समाजवादको चर्को नारा बोकेर हिडेका छन् । जनतालाई पुरा नहुने सपना बाँड्दै हिडेका छन् । तर समाजवादको प्रस्थानविन्दु नै बिर्सेका छन् । शिक्षा र स्वास्थ्यमा गुणस्तर नआएसम्म देशले वास्तविक विकास असम्भव छ ।’ शिक्षा एवं स्वास्थ्य क्षेत्रमा सरकारले बर्सेनि २ देखि ३ खर्ब बजेट विनियोजन गर्छ । तर समस्या ज्युँको त्युँ छ । अझै गरिब जनताले पढ्न पाएको छैन । जीवनजल नपाएर ज्यान गुमाउनु परेको छ । ’ गुरुङले भने,’ गलत नेता चुन्नु र गलत व्यक्ति सरकारमा जानुको कारणले यस्तो भएको हो। मलाई जिताउनुस्। समस्या समाधान गर्न लाग्नेछु ।’ गुरुङले प्रदेशमा भरि माध्यमिक तहको शिक्षालाई क्रमशः निःशुल्क र अनिवार्य गराइने, विद्यालयलाई अपांगता र बालमैत्री बनाइने, भौगोलिक रूपमा टाढा रहेका प्राविधिक तथा व्यावसायिक विषयका विद्यार्थीका लागि आवासीय शिक्षाको व्यवस्था गरिने कुरा स्थानिय मतदातालाई सुनाए । गुरुङले आफू मादी गाउँपालिकाको अध्यक्ष हुँदा स्वास्थ्य र शिक्षामा उलेखनीय काम गरेको दाबी गरेका थिए । कार्यभार ग्रहण गर्नु अघि ७ वटा मात्र स्वास्थ्य चौकी रहेको मादीमा अरु ६ वटा थपेको र थुम्सीकोटमा १५ शैयाको अस्पताल निर्माण गरेको बताए। त्यस्तै शैक्षिक क्षेत्रमा नीतिगत र व्यवहारिक प्रयासपछि स्तर उन्नति भएको दाबी गरे । मंसिर ४ गते हुने निर्वाचनमा एमालेले राम्रो नतिजा ल्याउने दावी गरे । गठबन्धन सरकारको पछिल्लो गतिविधि देखेर जनताले निरास भएको कुरा सुनाए। नेकपा एमालेले कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा तर्फ जिल्ला अध्यक्ष मन बहादुर गुरुङ, प्रदेश क तर्फ खगराज अधिकारी र ख तर्फ वेद बहादुर गुरुङ श्यामलाई उठाएका छन्। नेकपा एमाले कास्की १ ले निर्वाचन केन्द्रित रहेर उम्मेदवार भेटघाट कार्यक्रमलाई तीव्रता दिइरहेको छ ।
पोखरा : कास्की क्षेत्र न २ (ख) मा सत्ता गठबन्धनका उम्मेदवार विश्वप्रकाश लामिछानेले गण्डकी प्रदेशलाई समृद्ध बनाउँदै रोजगारी प्रदान गर्ने बताएका छन । चुनावी घरदैलोको क्रममा पोखरा १५ मा पुगेका लामिछानेले जनतालाई सम्बृद्धिको बाचा गरेका छन । घरदैलो कार्यक्रमका क्रममा स्थानीय मतदातासँग भोट माग्दै लामिछानेले लोकतन्त्रको विकास गरी संविधानको रक्षा गर्ने प्रतिबद्धता पनि ब्यक्त गरेका छन । आफु गणतन्त्रका लागि लडेको सिपाही भएको उल्लेख गर्दै उनले कुनै स्वार्थमा नबिक्ने र जनताको सेवामा निरन्तर लाग्ने पनि बताएका छन । यस क्षेत्रलाई उत्कृष्ठ बनाउदै गण्डकी प्रदेशलाई नेपालकै पर्यटकीय राजधानी बनाउने लामिछानेले बताएका छन । जनताको समस्या समाधान गर्न गठबन्धनका उम्मेद्वारहरुलाई जिताउनुपर्ने उनको जिकिर रहेको छ । आफ्नो जीवनको ४० वर्ष समाजसेवामै बिताएको स्मरण गर्दै आगामी मंसिर ४ गते हुने निर्वाचनमा पनि जनताको राम्रो साथ पाउने विश्वास व्यक्त गरेका छन । लमिछानेले आफ्नो क्षेत्रको विकास र यस क्षेत्रका जनताको सेवा गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको समेत बताएका छन । लामिछाने पोखरा उपत्यका नगर विकास समितिको अध्यक्षमा रहेर काम गरिसकेका ब्यक्ति हुन भने उनले फेवातालको मापदण्ड निर्धारण समितिको संयोजक भएर पनि काम गरीसकेका छन । एमाओवादी भित्र रहेर लामो समय काम गरिसकेका लामिछाने स्वस्छ छविका नेताका रुपमा चिनिन्छन ।
दार्चुला : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि हो भनेर संसद्ले एक मतले पास गरेको बताउनुभएको छ । आज दार्चुलाको गोकुलेश्वरमा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले मात्रै पास गरेको जस्तो गरेर झुटा कुरा गरिरहेको आरोप लगाउनुभयो । “कांग्रेस, माओवादी केन्द्रलगायतका सबै दल मिलेर एक आवाजमा संसद्बाट पास भएको हो”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “अहिले ओलीले अरुले केही गरेकै छैन, आफूले मात्रै गरेँ भनेर झुटो कुरा गर्दैछन् ।” उहाँले केही दिनअघि ओली दार्चुला पुगेर गफ लगाएर फर्किएको आरोपसमेत लगाउनुभयो । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले राष्ट्रलाई कुन दिशामा लैजाने भन्ने निर्णय लिने उहाँको भनाइ थियो । “अहिले धेरै किसिमका अफवाह पmैलाउने काम भइरहेको छ”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “मुलुकलाई समृद्ध बनाउन गठबन्धन दल एकजुट भएर अघि बढेको छ ।” उहाँले केही महिनाअघि दार्चुलामा नेपाल–भारत पक्की पुलको शिलान्यास भएको भन्दै उक्त पुल चाँडै निर्माण सम्पन्न हुने बताउनुभयो । गोकुलेश्वर विमानस्थल सञ्चालनमा ल्याइने भन्दै देउवाले दार्चुलालाई दुई वर्षभित्र अँध्यारोमुक्त जिल्ला बनाइने धारणा राख्नुभयो । “दार्चुलालाई तुइनमुक्त क्षेत्र घोषणा गरिनेछ”, उहाँले भन्नुभयो, “दार्चुला धेरै सम्भावना रहेको जिल्ला हो, यसको विकासमा हामी लाग्छौँ ।” मेरै प्रस्तावमा ओली दुई पटक प्रधानमन्त्री : अध्यक्ष दाहाल सोही चुनावीसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नै प्रस्ताव गरेर एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाएको बताउनुभयो । उहाँले ओली अब प्रधानमन्त्री बन्ने सम्भावना नरहेकोसमेत ठोकुवा गर्नुभयो । पहिलो पटक संविधान बनाउन सहमत गराउन र दोस्रो पटक वाम एकताको प्रस्तावसहित ओलीलाई प्रधानमन्त्री बनाएको अध्यक्ष प्रचण्डको भनाइ थियो । भूमि फिर्ताका विषयमा उहाँले नक्सा मात्रै बनाएर नहुने भन्दै भारतसित कूटनीतिक तवरबाट पहल गर्नुपर्नेमा जोड दिनुभयो । “चुनाव आएपछि ओलीले राष्ट्रवादको कुरा गर्दै गोहीका आँसु चुहाउँछन्”, उहाँले भन्नुभयो, “प्रतिगमनलाई हराउन गठबन्धन बनाएका हौँ ।” सत्ता गठबन्धनबाट दार्चुलामा प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू हुनुहुन्छ । उहाँसँगको प्रतिस्पर्धामा एमालेका नेता एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्ना रहनुभएको छ ।