मनाङः मनाङमा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । प्रतिनिधि सभाको निर्वाचनमा नेपाली काङ्ग्रेसका टेकवहादुर गुरुङ २ हजार ५ सय ७५ मत ल्याएर बिजयी हुनुभएको छ भने उहाँको प्रतिद्वन्द्वी नेकपा एमालेका पोल्देन छोपाङ गुरुङले २२४७ मत प्रपत गर्नुभएको छ । मनाङमा कुल चार हजार आठ सय ४५ मत खसेको थियो ।
काठमाडौंः ललितपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का प्रेमबहादुर महर्जन निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार महर्जन १५ हजार ३५ मत प्राप्त गरी विजयी हुनुभएको हो । “कुल सदर मत ५१ हजार तीन सय ५५ मध्ये नेकपा एमालेका प्रेमबहादुर महर्जनले १५ हजार २५ मतसहित विजय हासिल गर्नुभएको हो”, उहाँले भन्नुभयो ।
मनाङः मनाङको प्रदेशसभा (क) मा एमालेका उम्मेदवारलाई पराजित गदैं कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित भएका छन् । एमालेका राजन गुरुङलाई ३ सय ३० मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् । मुनिन्द्रले १ हजार २ सय ५५ मत पाउँदा राजनले ९ सय २५ मत पाएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले बताए । प्रदेशसभा २ मा यसअघि नै राजीव गुरुङ दीपक मनाङे सर्वसम्मत निर्वाचित भइसकेका छन् । प्रतिनिधिसभा सदस्यको मत गणना चलिरहेको छ । प्रतिनिधिसभामा कांग्रेसका टेकबहादुर गुरुङ र एमालेका पोल्देन छोपाङ गुरुङ प्रतिस्पर्धामा छन् ।
काठमाडौं: काठमाडौं क्षेत्र नम्बर ३ मा नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता लिएको छ । यसअघिसम्म अग्रता लिइरहेका एमालेका कृष्णबहादुर राईलाई पछिल्लो मत परिणाम अनुसार कांग्रेसका सन्तोष चालिसेले पछाडि पारेका छन् । चालिसेले २,५६७ मत ल्याउँदा राईले २२३५ मत पाएका छन् । उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापाले ९४५ मत ल्याएका छन् । २०७४ सालमा यो क्षेत्रबाट एमालेका राई नै निर्वाचित भएका थिए ।
इलाम: इलाम क्षेत्र नम्बर १ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता लिएका छन् । बस्नेतले १ हजार २५८ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एकीकृत समाजवादीका झलनाथ खनालले १ हजार ४१ मत ल्याउँदै पछ्याइरहेका छन् । खनाल सत्ता गठबन्धनका उम्मेदवार हुन् । उक्त क्षेत्रमा अहिलेसम्म ४ हजार मतगणना सकिएको छ ।
डडेल्धुरा: डडेल्धुरामा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । ५ सय मत गन्दा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले २३९ मत पाएर अग्रता लिएका छन् । यस्तै कांग्रेस (बिपी) का कर्णबहादुर मल्लले १४१ मत पाएका छन । स्वतन्त्र उम्मेदवार सागर ढकालले ९७ मत पाएका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेस बीपीका वरिष्ठ उपाध्यक्ष कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाल, विक्रमबहादुर शाहीलगायत ८ जना उम्मेदवार छन् । प्रदेशसभा –१ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट, नेकपा एमालेका नेता एवं सुदूरपश्चिमका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा, स्वतन्त्र उम्मेदवार महेशसिंह धामीलगायत छन् । यसैगरी प्रदेशसभा –२ मा सत्ता गठबन्धनबाट कांग्रेस नेता एवं सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा, स्वतन्त्र उम्मेदवार डा. ताराप्रसाद जोशीलगायत छन ।
प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ कास्की ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलको रफ्तार झन् तीब्र भएको छ । हालसम्म गणना भएको २५ सय मतमा पौडेलले १ हजार २४ मत ल्याएका छन् । यता, नेकपा एमालेका दामोदर वैरागीको ८ सय ३८ मत ल्याएको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रका रामजी बराल ४ सय ३८ मतकासाथ तेस्रो स्थानमा छन् । मतगणना जारी छ ।
तनहुँ: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ १ मा प्रारम्भिक अग्रता लिएका छन् । १०० मत गणना हुँदा पौडेलले ४० मत पाएका छन् । नेकपा एमालेका एकबहादुर राना मगरले २९ मत ल्याउँदै उनलाई पछ्याएका छन् ।
काठमाडौं: काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले अग्रता लिएकी छन् । सोमबार दिउँसोसम्म ८०० मत गणना हुँदा उनले २७८ मत ल्याएर अग्रता लिएकी हुन् । दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार मणिराम फुयालले १६६ र तेस्रो स्थानमा रहेकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीले १२८ मत पाएकी छन् । राप्रपा उम्मेदवार कुन्ती पोखरेलले ७८ मत पाएकी छन् । यो क्षेत्रबाट २०७४ सालमा नेकपा एमालेबाट माधवकुमार नेपाल निर्वाचित भएका थिए ।