पोखराः प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत कास्की क्षेत्र नं ३ को प्रदेशसभा सदस्य (२) बाट नेपाली कांग्रेसका उम्मेदवार प्रकाश बराल विजयी हुनुभएको छ । गत आइतबार सम्पन्न निर्वाचनको आज बिहान घोषणा गरिएको अन्तिम मतपरिणामअनुसार कांग्रेसका नेता बराल १२ हजार तीन सय ६७ मत प्राप्त गरी गण्डकी प्रदेशसभामा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्धन्द्वी नेकपा (एमाले)का राजीव पहारीले ११ हजार नौ सय दुई मत प्राप्त गर्नुभयो । बराल र पहारीको मतान्तर चार सय ६५ रहेको छ । पहारी विसं २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित हुुनुभएको थियो । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिराम भण्डारीले दुई हजार पाँच सय ६०, मङ्गोल नेशनल अर्गनाइजेशनका मनतोष घलेले चार सय ७२, जनता समाजवादीका गोरे दमैले दुई सय ९५ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी समाजवादी)का रामवृक्ष धोवीले एक सय १७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो क्षेत्रमा छ जना उम्मेदवार रहेका थिए । कास्की क्षेत्र नं ३(२) मा कुल मतदाता ४८ हजार आठ सय ५३ रहेकामा निर्वाचनमा २८ हजार सात सय ७९ मत खसेको थियो । एक हजार ६६ मत बदर हुँदा सदर मत २७ हजार सात सय १३ रहेको छ ।
पोखराः प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत कास्की क्षेत्र नं ३ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दामोदर पौडेल (बैरागी) विजयी हुनुभएको छ । मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनको मतगणनाको आज बिहान घोषणा गरिएको अन्तिम मतपरिणामअनुसार पौडेलले नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रामजीप्रसाद बराललाई पाँच हजार चार सय ४५ मतान्तरले पराजित गर्नुभएको थियो । पौडेलले २२ हजार नौ सय ८० मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार बरालले १७ हजार पाँच सय ३५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका योगप्रसाद पौडेलले १२ हजार एक सय ८०, राष्ट्रिय प्रजातन्त्र पार्टीका जगतप्रसाद सुवेदीले दुई हजार चार सय ४२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १५ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्थ्यो । कास्की क्षेत्र नं ३ मा कुल एक लाख एक हजार सात सय १५ मतदाता रहेकामा ६१ हजार दुई सय ८१ मत खसेको थियो ।
पोखराः नवलपरासी पश्चिम क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार उद्योगपति विनोद चौधरी विजयी भएका छन् । जनता प्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीलाई ७ हजार १ सय ८७ मतले पराजित गर्दै चौधरी विजयी भएका हुन् । चौधरीले २९ हजार ४ सय ९५ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी त्रिपाठीले २२ हजार ३ सय ८ मत प्राप्त गरेका छन् । चौधरी कांग्रेस नेतृत्वको सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् भने त्रिपाठीलाई नेकपा एमाले र जनता समाजवादी पार्टीले समर्थन गरेको थियो । तेस्रो स्थानमा रहेका नेपाल स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १२ हजार ४९९ मत पाए ।
पोखराः कास्की कांग्रेसका पूर्व जिल्ला सभापति कृष्ण केसीको घरमा उम्मेदवार किशोरदत्त बराल र दीपक गुरुङका समर्थकले नारावाजी गरेका छन् । मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा कास्की क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार किशोरदत्त बराल र प्रदेशसभा सदस्य (ख) का उम्मेदवार दीपक गुरुङ ( माइला) पराजित भएपछि उनीहरुका समर्थकले कास्की कांग्रेसका पूर्वसभापति कृष्ण केसीको घरमा नारावाजी गर्दै तोडफोड गरेका छन् । कृष्ण केसीका समूहले चुनाव हराउन खेल खेलेको भन्दै उम्मेदवारका समर्थकहरुले नारावाजी गर्दै केसीको घरमा तोडफोड गर्दा झ्यालको सिसा फुटेको केसीका छोरा सरोज केसीले जानकारी दिए । नारावाजी र होहल्ला भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलिले भिडलाई तितरबितर पारेको छ ।
काभ्रे: काभ्रे १ (१) को प्रदेशसभामा नेकपा माओवादी केन्द्रका रत्न ढकाल निर्वाचित भएका छन् । ढकालले २० हजार ७२० मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका दिलबहादुर ९दिलिप० तामाङले ११ हजार २७८ मत ल्याए । ढकालले ९ हजार ४४२ मतान्तरले चुनाव जितेका हुन् ।
पूर्वी नवलपरासी: पूर्वी नवलपरासी क्षेत्र नम्बर १ बाट लगातार चौथो पटक प्रतिनिधिसभा सदस्यमा विजयी कांग्रेस नेता शशांक कोइरालाले आफू दलको संसदीय नेता हुन उम्मेदवारी दिने र प्रधानमन्त्रीको दावी गर्ने बताएका छन् । प्रतिनिधिसभा सदस्यका लागि विजय भएपछि कावासोतीमा आज सञ्चारकर्मीसँग बोल्दै कोइरालाले यो पटक प्रधानमन्त्रीको दावी गर्ने धेरै देखिएको र आफ्नो पनि दाबी रहने सुनाए । ‘प्रधानमन्त्रीमा फेरि शेरबहादुर देउवा पनि लड्नु होला, गगनजीको पनि दावी छ, मेरो पनि रहन्छ’ उनले भने ‘अब मिलिजुली सरकार निर्माण हुने भएकाले त्यसको स्थायित्वका लागि ध्यान दिनुपर्ने अवस्था छ ।’ युवाहरुलाई अघि बढाउनुको विकल्प नरहेको पनि उनले बताए । ‘देशभर यस पटकको निर्वाचनले युवाहरुलाई अघि बढाऊ भन्ने सन्देश दिएको छ’ उनले भने ‘त्यसलाई आत्मासाथ गर्नपर्ने अवस्था राम्ररी बुझेको छु ।’ जिल्लामा राष्ट्रिय लेबलको ट्रमा सेन्टर र अन्तराष्ट्रिय खेलमैदान बनाई छाड्ने उनले दावी गरे ।
सप्तरी: सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दिनेशकुमार यादव विजयी भएका छन् । उनले नेकपा एमालेका ताराकान्त चौधरीलाई पराजित गरेका हुन् । यादवले २६ हजार १६६ मत ल्याउँदा चौधरीले २२ हजार ३०० मत पाए । यादव चौथो प्रयासमा जनताबाट अनुमोदित भएका हुन् । उनी २०६४ देखि प्रतिनिधिसभा सदस्य पदमा चुनाव लड्दै आएका थिए । तर उनले दोस्रो स्थानमा चित्त बुझाउँदै आउनु परेको थियो ।
धनगढी: कैलाली निर्वाचन क्षेत्र नम्बर १बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ निर्वाचित भएकी छिन् । कांग्रेसका उम्मेदवार रामजनम चौधरीलाई १२ हजार ३२३ मतान्तरले हराउँदै श्रेष्ठ निर्वाचित भएकी हुन् । श्रेष्ठले ३० हजार ४०४ मत पाउँदा राम जनम चौधरीले १८ हजार ८ मत मात्र पाए । यस्तै नेकपा एमालेका उम्मेदवार तपेन्द्र रावलले ५ हजार ९१० मत ल्याए । २०७४ सालमा टीकापुर घटनामा जेल जीवन बिताइरहेका रेशम चौधरीले भूमिगत अवस्थामै ३४ हजार बढी मतले यो क्षेत्रबाट जितेका थिए । कारागारमै रहेका बेला चौधरीले केही महिना अघि मात्र श्रीमती श्रेष्ठको अध्यक्षतामा पार्टी खोलेका थिए । ३० बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा पनि चौधरीको पार्टीले क्षेत्र नम्बर १ मा पर्ने टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकामा जितेको थियो । कैलाली प्रदेशसभा (क) मा उन्मुक्ति पार्टीकै कैलाश चौधरी र प्रदेशसभा (ख) मा लक्ष्मणकिशोर चौधरी निर्वाचित भएका हुन् । प्रदेशसभा (१) मा १५ हजार १०१ मतसहित कैलाश चौधरी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका दीर्घराज विनाडी १० हजार ३७७ मत ल्याए । यस्तै प्रदेशसभा (२) मा ११ हजार ३१७ मत प्राप्त गर्दै नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डा।रणबहादुर रावलले ८ हजार ५३ मत पाए भने नेकपा एमालेका द्धारिका न्यौपानेले ५ हजार ३२० मत मात्र ल्याए ।
काठमाडौं: झापा क्षेत्र नं. ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बिहीबार सकिएको मतगणना अनुसार लिङ्देनले ४० हजार ६४८ मत ल्याए । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत ल्याए । लिङ्देनलाई नेकपा एमालेको साथ थियो भने सिटौलालाई सत्ता गठबन्धनका दलहरुको साथ थियो । २०७४ सालको निर्वाचनमा पनि लिङ्देनले एमालेको साथ लिएर सिटौलालाई हराएका थिए । लिङ्देनले ४४ हजार ६१४ मतसहित निर्वाचित हुँदा सिटौलाको पक्षमा ३१ हजार १७१ मत परेको थियो । २०७० सालमा चाहिँ सिटौलाले लिङ्देनलाई हराएका थिए । लिङ्देनले २०३६ सालबाट राजनीतिक यात्रा सुरु गरेका थिए । तत्कालीन समयमा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा आवद्ध भई राजनीति सुरु गरेका थिए । ०४९ सालमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन गठन गरेर त्यसको संस्थापक अध्यक्ष बने । उनको राप्रपाको राजनीति भने ०५१ सालको महाधिवेशन प्रतिनिधिबाट सुरु भएको थियो । पञ्चायत कालमै उनी गोलधाप गाउँपालिकामा वडाध्यक्ष बनेका थिए । २०६१ देखि ०६३ सम्म झापाको जिल्ला विकास समिति सभापति बनेका थिए उनले कमल थापाले राप्रपा विभाजन गरेर राप्रपा नेपाल गठन गर्दा थापालाई साथ दिएका थिए । उनी ०७१ सालमा तत्कालीन राप्रपा नेपालको महामन्त्री बने । ०७८ को मंसिरमा राप्रपा अध्यक्षका लागि भएको निर्वाचनमा कमल थापालाई पराजित गरेर अध्यक्ष चुनिए । लिङ्देनले एक हजार ८४४ मत ल्याई अध्यक्षमा निर्वाचित हुँदा थापाले एक हजार ६१७ प्राप्त गरेका थिए । राप्रपामा नेतृत्व रुपान्तरणको नारा लिएर उनले अध्यक्ष पद जितेका थिए । झापामा आफ्नो चुनाव क्षेत्रमा विकासप्रेमी नेताको छवि बनाएका लिङ्देनले शिक्षा, स्वास्थ्य निशुल्क हुनुपर्ने मुद्धा उठाइरहेका हुन्छन् । झापामा दर्जनौं पुल र सडक निर्माण गरेको उनी दाबी गर्छन् । जंगली हात्ती नियन्त्रणमा ‘लिङ्देन मोडल’ भनी उनले प्रचार गर्दै आइरहेका छन् । उनले सौर्य उर्जाबाट हात्तीलाई करेन्ट लगाएर भगाउने उपाय निकालेका थिए ।