काठमाडौं:  नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक बिहान साढे ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यसअघि अ...

मुस्ताङः नेकपा एमालेका गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्ट पराजित भएका छन् ।    विष्टलाई मुस्ताङको प्रदेशसभा (१) मा नेपाली कांग्रेसका नम्डु गुरुङले पराजित गरे ।    नम्डुले १ हजार ४८ मत ल्याएर प्रदेशसभामा निर्वाचित हुँदा विष्टले ७ सय ९३ मतमात्र प्राप्त गरे ।     मुस्ताङ प्रतिनिधिसभा तर्फ यसअघि कांग्रेसका योगेश गौचन विजयी भइसकेका छन् ।    अहिले मुस्ताङ प्रदेशसभा (२)को मतगणना चलिरहेको छ ।

सोलुखुम्बु:   सोलुखुम्बुको खुम्बु क्षेत्रको ३६ थान मतपेटिका हेलिकप्टरमार्फत सल्लेरी ल्याइएको छ ।  खुम्बु पासाङल्हामु गाउँपालिकाको नाम्चे र लुकलामा सङ्कलन गरिएका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट सदरमुकामको फाप्लु विमानस्थलमा झारिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले जानकारी दिनुभयो । प्रनाउ शाहका अनुसार हेलिकप्टरमा प्रति पटक १० थान मात्रै मतपेटिका अट्ने भएकाले चार पटकमा ल्याइएको हो । ११ वटा मतदान केन्द्र रहेको खुम्बुमा वडा नम्बर १ को खरिखोलाका दुईवटा केन्द्रको मतपेटिका गाडीमार्फत सल्लेरी लयाइएको छ भने नौवटा केन्द्रको ३६ वटा मतपेटिका हेलिकप्टरबाट ल्याइएको हो । आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हिमाली भेगमा पर्ने खुम्बु पासाङ ल्हामु गाउँपालिकामा पाँच हजार नौ सय ८७ मतदाता मध्ये दुई हजार ६४७ अर्थात ४४.२१ प्रतिशत मत खसेको छ । लिखुपिके गाउँपालिकाबाट गाडीमा ल्याइएको तर आइपुग्न बाँकी रहेको र अन्य क्षेत्रका मतपेटिका गाडीबाट जिल्ला सदरमुकाम सल्लेरीको मतगणनास्थल सल्लेरी आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आठ पालिका भएको जिल्लामा सोलुदूधकुण्ड नगरपालिकामा ३३, थुलुङ दूधकोशी गाउँपालिकामा २६, माप्यदूधकोशीमा १७, नेचासल्यानमा १६, महाकुलुङमा १३, सोताङमा १२, खुम्बु पासाङल्हामुमा ११ र लिखुपिकेमा सात वटा मतदान केन्द्र छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सोलुखुम्बुमा करिब ४८.३८ प्रतिशत मत खसेको छ ।

काठमाडौं:   काठमाडौं क्षेत्र नम्बर ७ मा नेकपा एमालेका श्याम घिमिरेले अग्रता लिएका छन् । पछिल्लो परिणामअनुसार घिमिरेले ९५० मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ८५६ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेकी नेपाल समाजवादी पार्टीकी मानुषी यमी भट्टराईले ६९८ मत प्राप्त गरेकी छन् । यमी सत्ता गठबन्धनकी उम्मेदवार हुन् । अहिलेसम्म ३ हजार ६५८ मत गणना भइसकेको छ ।

काभ्रेपलाञ्चोक:   प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदको निर्वाचन सम्पन्न भएको करिब बीस घण्टा हुँदासमेत काभ्रेपलाञ्चोक जिल्लामा मतगणना सुरु हुन सकेको छैन। जिल्लाको प्रतिनिधिसभा १ मा मतपेटिका आउन ढिलाई हुँदा मतगणना सुरु हुन नसकेको हो।  प्रतिनिधिसभा क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत दुर्गाप्रसाद खनालले जिल्लाको खानीखोला गाउँपालिकाको तीन वटा वडाको छ मतदान केन्दको मतपत्र भर्खर आएको जानकारी दिनुभयो। उहाँले कार्यालयमा आएको मतपेटिका बुझ्ने क्रममा रहेको जानकारी दिनुभयो।  यसैगरी प्रतिनिधिसभा २ का सहायक निर्वाचन अधिकृत शेषराज दाहालले मतगणनाको लागि सर्वदलीय बैठक जारी छ। सर्वदलीय बैठकसकिए लगत्तै मतगणनाको काम सुरु हुनेछ। प्रतिनिधिसभा २ को मतगणना एउटै हलमा तीन स्थानमा गरिनेछ। मतगणनको लागि शिक्षा तालिम केन्द्रको सभा हलमा तारजाली र सीसी क्यामेराको व्यवस्थापन गरिएको छ।  उहाँले मतदान केन्द्रबाट आएका मतपेटिका बुझ्न र व्यवस्थापनमा ढिलाई भएका कारण मतगणनाको कार्य ढिलाई भएको बताउनुभयो। जिल्लामा प्रतिनिधिसभा १ अन्र्तगत १८९ वटा मतदान केन्द्र र प्रतिनिधिसभा २ अन्र्तगत एक अस्थायी मतदान केन्द्रसहित २०१ वटा मतदान केन्द्र रहेका छन्। 

हुम्ला:  नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँका मतपेटिका हेलिकोप्टरमार्फत ढुवानी गरिएको छ । लिमी जाने दुई वटै नाकामा बाक्लो हिउँ जमेर बन्द लिमीका तीन वटै मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिएको हो ।   जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी सीता परियारले लिमीका तीन वटै मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट ढुवानी गर्ने काम भएको बताउनुभयो । सोमबार नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत मतपेटिका, सामग्री र १३ जना कर्मचारी तथा सुरक्षाकर्मी ओसार्ने काम भएको बताउनुभयो । निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले लिमीका तीन मतदान केन्द्रहरूमध्ये तीलमा १११ मत भएकोमा ७४, हल्जीमा २२७ मतदाता भएको १६५ र जाङ्गमा २०४ जना मतदाता रहेकोमा एक सय मत खसेको बताउनुभयो ।  लिमीका तीन वटै मतदान केन्द्रगरी ५४१ मतदाता रहेकामा ३३९ मत खसेको थियो । लिमीको मतदान कार्यका लागि खटिएका बाँकी ५१ जना कर्मचारी र सुरक्षाकर्मी भने लिमीमै रहनुभएको छ । उहाँहरूलाई मङ्गलबार मात्र हेलिकप्टरबाट ल्याइनेछ । यसअघि कात्तिक २९ र ३० गते गरी पाँच वटा उडानबाट लिमीका मतदान केन्द्रमा खुटिनु भएका कर्मचारी, सुरक्षाकर्मी र मतदान सामग्री ढुवानी गरिएको थियो ।  लिमीमा भृकुटी प्रावि जाङ, सुनखानी प्रावि हल्जी र हिमशिखर प्रावि तील मतदान केन्द्र रहेका थिए । लिमी जाने चार हजार छ सय मिटर अग्लो नारा र पाँच हजार मिटर अग्लो न्यालु लेकमा चारदेखि पाँच फिट हिउँ जमेर बाटो बन्द हुँदा पैदल मार्गबाट लिमी आउजाउ बन्द भएको छ । 

काठमाडौं:   धादिङ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी पार्टीका राजेन्द्र पाण्डेले अग्रता लिएका छन् । ६०० मत गनिसक्दा पाण्डेले ३१९ मत पाएका छन् भने उनलाई पछ्याइरहेका एमालेका त्रिपाठीले २२५ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले ३१ मत प्राप्त गरेका छन् । अहिले गल्छी गाउँपालिकाको वडा नम्बर २ र ५ को मतगणना भइरहेको छ ।

तनहुँ:  तनहुँ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार शंकर भण्डारीले सुरुवाती अग्रता लिएका छन् । उनले ७३६ मत ल्याउँदा नेकपा एमालेका किरण गुरुङले ४२६ मतका साथ पछ्याइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजय जोशीले २४० मत पाएका छन् । यस्तै हाम्रो नेपाली पार्टीका विष्णु पराजुलीले ३८ मत ल्याएका छन् ।

 काठमाडौं: काठमाडौं ३ मा नेकपा एमालेले अग्रता लिएको छ । सोमबार दिउँसोसम्म तीन हजार ४२४ मत गणना हुँदा नेकपा एमालेका कृष्ण राईले १ हजार ७५ मतसहित अग्रता लिएका छन् । नेपाली कांग्रेसका सन्तोष चालिसेले १ हजार ५८, राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापाले ६४७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश गिरीले २५२ मत पाएका छन् । यो निर्वाचन क्षेत्रबाट यसअघि एमालेका कृष्ण राई निर्वाचित भएका थिए ।

झापा:   झापा निर्वाचन क्षेत्र नम्बर ३ को राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले अग्रता कायम राखेका छन्। एक हजार मत गणना गर्दा लिङ्देनले ४८५ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले ४०३ मत ल्याएका छन्। मतगणना जारी छ।