गण्डकी: यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै सङ्घीय संसद्को यात्रा तय गर्नुभएको हो । मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश २९ वर्षको हुनुहुन्छ । कांग्रेसले उठाएका उम्मेदवारमध्येका सम्भवतः कान्छा योगेशतर्फ यतिखेर सबैको ध्यान आकृष्ट भएको छ । निवर्तमान सांसद नेकपा (एमाले) का केन्द्रिय सदस्य तुलाचनलाई नौ सय १४ मतान्तरले पछि पार्दै गौचन विजयी हुनुभएको हो । प्रतिनिधिसभा सदस्यमा एक निर्वाचन क्षेत्र रहेको मुस्ताङमा चार जना प्रतिस्पर्धामा थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ र राप्रपाका प्रवीणकुमार शेरचनले १३ मत पाउनुभयो । कांग्रेसका गौचन पाँच दलीय गठबन्धनबाट उम्मेदवार बन्नुभएको थियो । कांग्रेसको गण्डकी प्रदेश सदस्य योगेश कांग्रेसका जिल्ला सभापतिसमेत रहेका पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुनुहुन्छ । विसं २०५० वैशाख २७ गते मुस्ताङको थासाङ गाउँपालिका लेतेमा जन्मनुभएका योगेशले ब्याचलर अफ विजनेश म्यानेजमेन्टको अध्ययन गर्नुभएको छ । होटेल कालोपानी लेते मुस्ताङ र पोखरामा त्रिथुङ्गा होल सञ्चालन गर्दै आउनुभएका उहाँ ट्राभल्स एण्ड टुर्स प्रालिको प्रबन्ध निर्देशकका साथै मुस्ताङमा किबीखेतीसँगै व्यावसायिक कृषिमा सहभागी बन्नुभएको छ । जिल्लामा नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गर्नुभएका उहाँ नेविसङ्घको राजनीतिसँगै भूगोलमा पनि जोडिनुभएको थियो । उहाँ पार्टीको जिल्ला कार्यसमिति सदस्य पनि सानै उमेरमा बन्नुभएको थियो । उहाँ पार्टीको साविक लेते गाउँसभापति पनि बन्नुभएको थियो । हाल पार्टीको महासमिति सदस्य रहेका उहाँ गण्डकी प्रदेश कार्यसमितिमा रहनुभएको छ । प्रेमले २०७४ को चुनावमा योगेशका बुबा रोमीलाई चार सय ८५ मतान्तरले पराजित गर्नुभएको थियो । विसं २०७० को चुनावमा कांग्रेसका रोमी कांग्रेसबाट बागी उठेका प्रेमलाई १३ मतान्तरले पराजित गर्दै निर्वाचित हुनुभएको थियो । मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीका योगेश र प्रेम साला भेना पर्नुहुन्छ । रोमी (योगेशका बुबा) र प्रेम मामा–फूपूका छोरा हुनुहुन्छ । रोमीले आफूलाई आएको प्रतिनिधिसभा सदस्यको टिकट मनोनयन दर्ताका क्रममा छोरा योगेशलाई थमाउनुभएको थियो । विसं २०४७ पछि मुस्ताङमा नेपाली कांग्रेसले अहिलेसहित चार पटक र नेकपा एमालेले दुई पटक संसदीय निर्वाचन जितेका छन् । विसं २०७४ मा एमाले प्रवेश गरेका प्रेम रोमीलाई पछि पार्दै दोस्रो प्रयासमा संसद् छिर्नुभएको थियो । दोस्रो पटक सांसद छिर्ने प्रेमको योजना योगेशले असफल बनाउनुभयो । रोमी २०५६ मा पनि मुस्ताङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो । रोमी २०७३ मा वाणिज्यमन्त्री हुनुहुन्थ्यो । विसं २०७४ को चुनावमा मुस्ताङको प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा सदस्यमा एमालेले जितेको थियो । नयाँ र युवा उम्मेदवारप्रति मतदाताको आकर्षण, गठबन्धनमा आबद्ध दलको साथ र स्वतन्त्र मतदाता आफ्नो पक्षमा रहेकाले चुनाव जित्ने योगेशको दाबी थियो । योगेशले चीनको सिमानामा रहेको कोरला नाका सञ्चालन गर्न चीनसँग कूटनीतिक प्रयास र त्यहाँ जोड्ने सडक पूर्वाधार तयार पार्ने मुद्दालाई प्राथमिकता दिने निर्वाचनका क्रममा बताउनुभएको थियो । जोमसोम–कोरला सडक कालोपत्र गर्ने र बेनी–जोमसोम सडकलाई स्थायी र दीर्घकालीन निकास दिन पहल गर्ने मतदाता समक्ष प्रतिबद्धता जनाउनुभएको थियो ।
महोत्तरी: लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर उम्मेदवार रहनुभएको निर्वाचन क्षेत्रमा आज दिउँसो ३ बजेदेखि मतगणना सुरु हुने भएको छ । महोत्तरी जिल्लाको क्षेत्र नं ३ बाट चुनाव लड्नुभएका लोसपा अध्यक्ष ठाकुरको उक्त क्षेत्रमा ३ बजेदेखि मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले बताउनुभयो । उहाँका अनुसार गएराति अबेर मतपेटिका आएको र अहिलेसम्म मतपेटिका तथा मतपत्र रुजु हुने काम भइरहेको छ । अहिले सर्बदलीय बैठक पनि बस्न बाँकी रहेकाले दिउँसो ३ बजेदेखि यहाँको मतगणना सुरु गरिने भएको हो । यस क्षेत्रमा जम्मा ९९ हजार नौ सय ३० मतदाता रहेकामा यस पटकको निर्वाचनमा ५९प्रतिशत३४ मत खसेको छ ।
काठमाडौं: झापा क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ । प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतगणना केहीबेरअघि सुरु भएको हो । झापा ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेल प्रतिस्पर्धामा छन् ।
झापा: झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेका देवराज घिमिरेले १ हजार ४३२ मतसहित अग्रता लिएका छन् । ३ हजार ८७७ मत गनिसक्दा नेकपा माओवादी केन्द्रका हरिकुमार राना मगर ८३९ मतसहित दोस्रो स्थानमा छन् । माओवादीलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार स्वागत नेपालले ८०३ मत प्राप्त गरेका छन् ।
सप्तरी: सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका सिके राउतले फराकिलो अग्रता लिएका छन्। अहिलेसम्म ९ सय २३ मतगणना हुँदा ६ सय २९ मत ल्याएका छन्। दोस्रो स्थानमा रहेका लोसपाका जयप्रकाश ठाकुरले १ सय ६९ मत पाएका छन्। जसपाका उपेन्द्र यादवले ५९ मत मात्रै पाएका छन्। यहाँबाट २०७४ मा यादव विजयी भएका थिए। मतगणना जारी छ।
पोखरा: कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कँडेलले अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार उनले ५६१ मत पाएका छन् । नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले ४९७ मतसहित कँडेललाई पछ्याइरहेकी छन् । राप्रपाका सुवर्णराज पन्त ३६० मतसहित तेस्रो स्थानमा हुँदा सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका श्रीनाथ बराल ३०२ मतसहित चौथो स्थानमा छन् ।
मुस्ताङ: मुस्ताङमा प्रतिनिधि सभा सदस्यमा काँग्रेसका उम्मेदवार योगेश गौचन थकाली जितको नजिक पुग्नुभएको छ । एक हजार ४३७ मत गणना गर्न बाँकी रहँदा काँग्रेसको ६३५ ले अग्रता कायम गरेको छ । मुस्ताङमा हाल सम्म पाँच हजार ८२० मत गणना गरी सक्दा नेपाली काँग्रेसको रुख चुनाव चिन्हमा ३ हजार १५६, नेकपा एमालेको सूर्य चुनाव चिन्हमा २ हजार ५२१, राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिन्हमा ६६, राप्रपा नेपालको तीर चुनाव चिन्हमा ६ र बदर ७१ मत भएको निर्वाचन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार अहिलेसम्म घमी, छैरो, नेफुक गुम्बा, ठिनी, घिलिङ, साङ्ता, ढाकमर, झोङ, स्याङ, घाँसा, छोन्हुप चिमाङ, लेते, मराङ, लोमन्थाङ, चराङ, फलेक, मार्फा, सौरु, छोसेर, जोमसोम, टुकुचे, ढि, घ्याकर, किमलिङ, यारा, चुम्जुङ, कोबाङ, झारकोटको मत गणना भएको छ । यस पटक निर्वाचनमा प्रत्यक्षतर्फ सात हजार दुई सय ५७ मत खसेको थियो ।
पर्वत: पर्वतमा मतगणनाका लागि सर्वपक्षीय बैठक सकिएको छ । बैठकले सोमबार दिउँसो १ बजेदेखि मतगणना गर्ने सहमति गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतका प्रबक्ता राजु ढुंगानाले जानकारी दिए । मतगणनास्थलसम्म मतपेटिका ल्याउन ढिलाइ भएका कारण आज बिहान मात्रै सर्वपक्षीय बैठक बसेको उनले बताए । यस पटक पर्वतमा ५५ प्रतिशत मत खसेको छ । पर्वतको कुल मतदाता संख्या १ लाख २२ हजार ६ सय ४९ मध्ये ६६ हजार २ सय ७३ मत खसेको हो ।
काठमाडौँ: काठमाडौँ क्षेत्र नं ६ को मतगणना शुरु भएको छ । सो क्षेत्रको मतगणना स्थल धर्मस्थलीमा आज बिहान १० बजेदेखि मतगणना शुरु भएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिनुभयो । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन आइतबार सम्पन्न भएको हो । सो क्षेत्रमा नेकपा (एमाले) का सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका भीमसेनदास प्रधान र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाललगायतका उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । त्यस्तै केही बेरअघिदेखि काठमाडौँ क्षेत्र नं १ को पनि मतगणना शुरु भएको छ । त्यस क्षेत्रमा कांग्रेसका प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राप्रपाबाट रवीन्द्र मिश्र र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमलगायतका उम्मेदवार हुनुहुन्छ ।