तनहुँ-२ मा भण्डारी विजयी

तनहुँ | मंसिर ७, २०७९

तनहुँ-२ मा भण्डारी विजयी बधाई साटासाट गर्दै । तस्बिरः कृष्ण न्यौपाने/ रासस

तनहुँः   नेपाली कांग्रेसका नेता शङ्कर भण्डारी तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार भण्डारीले ३० हजार छ सय चार मत प्राप्त गरी विजयी हुनुभएको हो ।


आज बिहान सम्पन्न मतगणनाअनुसार भण्डारी प्रतिस्पर्धी नेकपा (एमाले)का किरण गुरुङसँग पाँच हजार चार सय ७४ को मतान्तरले विजयी हुनुभयो ।  गुरुङले २५ हजार एक सय ३० मत प्राप्त गर्नुभएको क्षेत्र नं २ निर्वाचन कार्यालयका निर्वाचन अधिकृत गोविन्द उपाध्यायले बताउनुभयो । निर्वाचनमा ६८ हजार एक सय ७३ मत खसेको थियो । 


विसं २०२५ जेठ १० गते साविक पुर्कोट गाविस हाल भानु नगरपालिका–८ मा जन्मिनुभएका भण्डारी ठूलो दाई छत्रराज भण्डारीको प्रेरणाबाट विद्यार्थीकालदेखि नै नेपाल विद्यार्थी सङ्घमा आबद्ध हुनुभएको थियो । विसं २०३६ को विद्यार्थी आन्दोलनमा सक्रियरूपमा सहभागी हुनुभएका भण्डारीले विसं २०४० मा एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि राजधानी जानुभएको थियो ।


विद्यार्थी राजनीतिमा सक्रियरूपमा सहभागी हुने क्रममा भण्डारी लौहपुरुष गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलनमा सहभागी हुनुभएको थियो । पार्टीको काममा सक्रिय रहेको अवस्थामा नै विसं २०४६ मा भण्डारी २९ दिन प्रहरी नियन्त्रणमा रहनुभएको थियो ।


नेविसङ्घको राजनीतिमा सक्रिय हुने क्रममा विसं २०४८ मा त्रिचन्द्र क्याम्पसमा नेविसङ्घको क्याम्पस एकाइ सभापति र २०४९ मा स्ववियु सभापति बन्न सफल भण्डारी विसं २०५३ देखि भने पार्टी राजनीतिमा सक्रिय हुनुभएको थियो ।


भण्डारी विसं २०५३ मा महाधिवेशन प्रतिनिधि बन्न सफल हुनुभयो । साथै भण्डारीले बालकृष्ण खाणको नेतृत्वमा गठन भएको तरुण दलको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्नुभयो । युवाहरूमाझ लोकप्रिय भण्डारी चितवनमा भएको तरुण दलको महाधिवशेनमा अध्यक्षका लागि चुनावी प्रतिस्पर्धामा उत्रनु भए पनि झिनो मतले पराजित हुनुभयो ।


पार्टीको १२औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भण्डारीले दुईपटक तरुण विभागको जिम्मेवारी सम्हाल्नुभयो । विसं २०७० को संविधानसभा निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट निर्वाचित भण्डारीले वन तथा भू–संरक्षणमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ । पार्टीको १३औँ र १४औँ महाधिवेशनबाट पनि भण्डारी केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो ।


भण्डारीले आगामी पाँच वर्षमा यस क्षेत्रको विकासका लागि सबै प्रकारका पूर्वाधार तयार पार्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । “हामीसँग विशाल फाँटहरू छन्, त्यहाँ बाह्रैमास सिँचाइ सुविधा पु¥याएर कृषिमा कम्तीमा आत्मनिर्भर बन्ने, उपयोगमा नआई खाली रहेका जमिनमा फलफूल, तरकारी, जडीबुटीलगायत कृषि उत्पादन वृद्धि गरी निर्यातसमेत गर्न पहल गरिनेछ”, भण्डारीले भन्नुभयो । 


आवश्यक विकासका पूर्वाधारहरू पहिचान गर्दै समन्वय र सहकार्यबाट विकास गरी यस क्षेत्रलाई नमूना बनाउन पहल गरिने भण्डारीले बताउनुभयो । “यस क्षेत्रमा सुविधासम्पन्न अस्पताल स्थापना गर्ने, यस क्षेत्रलाई तराईसँग जोड्ने दु्रतमार्ग निर्माण गर्ने, भिमादबाट पूर्व पश्चिम राजमार्ग जोड्ने सुरुङमार्गको सम्भाव्यता अध्ययन, औद्योगिक क्षेत्र स्थापना गर्न मेरो पहल रहनेछ”, उहाँले भन्नुभयो । 


वर्षौँदेखि ओझेलमा परेका यहाँका विकासका मुद्दालाई स्थापित गराउने बताउँदै भण्डारीले आउने नेतृत्वलाई सहज हुने गरी आवश्यक सबै पूर्वाधार यही कार्यकालमा पूरा गर्ने बताउनुभयो । 

पोखरा:  तेस्रो गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत भएको समुह ‘बी’को लिग चरणको पहिलो खेलमा कास्की र नवलपुरले बिजयी सुरूवात गरेका छन् ।   प्रदेश खेलकुद परिषद...

थप पढ्नुहोस्

काठमाडौं: सुनचाँदी व्यवसायसँग सम्बन्धित सङ्घ–संस्थाका प्रतिनिधिले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्थाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गरा...

थप पढ्नुहोस्

यामबहादुर थापा मगर बागलुङ नगरपालिका -१०, भकुण्डे, धौलेचउर, बागलुङ   सकारात्मक सोच बोकेका अभियन्ताहरू शब्द बिना झल्किने दीप जस्तै अहिलेसम्म ओझेलमा छन् । ध्यानभन्दा टाढा, ध्वनि भन्दा मौन। ...

थप पढ्नुहोस्