रुपन्देही: गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाण र पूर्वमन्त्री एवं नेकपा (एमाले)का नेता विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रदेशको राजधानी बुटवलमै ल्याउने प्रतिबद्धता आफ्ना मतदातासमक्ष गरिरहनुभएको छ । रुपन्देहीमा लगभग चुनावी मुद्दाजस्तै बनेको प्रदेश राजधानीको विषयमा जिल्लाबाट प्रतिनिधिसभामा उम्मेदवार रहनुभएका उहाँहरूको स्पष्ट धारणा छ– “हामीले जिल्लाका सबै नागरिकका आवाज र धरणा बुझेका छौँ, हिजो के भयो र किन भयो भन्ने विषयतिर अहिले जान चाहँदैनौँ, तर प्रदेशको राजधानी बुटवलमा फिर्ता गर्छौँ ।” लुम्बिनी प्रदेशसभाले प्रदेशको राजधानी दाङको देउखुरी लाने निर्णय गरेको थियो । तर देउखुरीमा प्रदेश राजधानीका लागि आवश्यक पूर्वाधार नभएको र प्रदेशको पायक पनि नपर्ने भन्दै बुटवलका नागरिकले यसको विरोध गर्दै आएका छन् । यतिखेर प्रदेश राजधानीको विषय रुपन्देहीका नागरिकको चुनावी एजेण्डाजस्तै बनेको छ । जिल्लावासीका तर्क छन्, “प्रदेशको राजधानी लुम्बिनीबाट अन्यत्रै सारियो, जबकि भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी विश्वका कम्तीमा पनि एकतिहाइ मानिसको आस्थाको केन्द्र हो, आर्थिक र औद्योगिक क्रियाकलाप प्रदेशका अन्य भू–भागका तुलनामा यहीँ बढी छ, यहाँ अन्तर्राष्ट्रिय विमानस्थलसमेत छ, अनि प्रदेशको राजधानी बुटवल नभएर अन्त कहाँ हुन्छ ?” स्थानीयका यी तर्कसँग जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधिसभाका उम्मेदवार खाण र पौडेल पूर्ण सहमत हुनुहुन्छ । उहाँहरू दुवैले जनताका यी तर्कसँग सहमति जनाउँदै जनताका जिज्ञासा मेटाउँदै भन्ने गर्नुभएको छ, “लुम्बिनी प्रदेशको राजधानी बुटवलबाहेक अन्यत्र हुँदैन, हामी बुटवलमै ल्याउने प्रयत्नमा छौँ ।” गृहमन्त्री खाण भन्नुहुन्छ, “तत्कालीन सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा सबै प्रदेशका अस्थायी राजधानी तोक्ने काम गर्यो । अरु प्रदेशमा तिनै राजधानी कायम भए, तर यहाँ किन हुन सकेन? हुन त यो प्रदेशसभाको अधिकार हो नै, तर पनि त्यस समयमा बुटवलको पूर्वाधार र महत्वमाथि किन विवेक पुर्याउन सकिएन ? प्रदेश राजधानी राख्नका लागि बुटवलमा के कुराको कमी छ र यहाँबाट सारेर अन्यत्र लगियो ?” कोरोना महामारीमा मुलुक ठप्प भएका बेला हचुवाका भरमा यसअघि नै तोकिएको प्रदेश राजधानी यहाँबाट सार्ने काम भएको गृहमन्त्री खाणको भनाइ छ । रुपन्देहीको क्षेत्र नं ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार गृहमन्त्री खाणसँग यहाँका नागरिकले प्रदेश राजधानीका साथै कृषि मल, बीउको उपलब्धता, सुकुम्बासी समस्याको समाधान, श्रमिकका समस्या समाधान, कोरोनाकालमा भएको आर्थिक क्षतिको पूर्ति, पर्यटनका लागि लुम्बिनी क्षेत्रको विशेष विकासजस्ता माग राखेका छन् र उहाँले आफू नागरिकका सबै समस्यासँग परिचित रहेकाले आगामी दिनमा ती सबै समस्या समाधानमा पहल गर्ने प्रण आफ्ना मतदातासँग गर्नुहुन्छ । त्यसैगरी एमालेका नेता विष्णु पौडेलले पनि प्रदेश राजधानीको मुद्दा बनाएका स्थानीयका जिज्ञासाहरूको सुनुवाइ हुने विश्वास दिँदै प्रदेश राजधानी सधैँका लागि बुटवलबाट सरेको होइन भन्नुहुन्छ । प्रदेश राजधानी बुटवलमै राख्नुपर्ने रुपन्देहीका नागरिकको भावनासँगै आफू पनि रहेको स्पष्ट गर्दै उहाँले लुम्बिनीजस्तो सांस्कृतिक एवं ऐतिहासिक प्रदेशको राजधानी बुटवलबाहेक अन्यत्र हुन नसक्ने तर्क राख्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “हुन त यो प्रदेशसभाको अधिकार हो र त्यतिबेला निर्णय पनि भयो । तर यो कुनै ढुङ्गाले लेखिएको निर्णय होइन, चकले लेखिएको हो र त्यसलाई डस्टरले मेटेर अर्को निर्णय लेख्न सकिन्छ । हामी सबै त्यसका लागि लाग्ने हो ।” रुपन्देही जिल्लालाई आर्थिक विकासको केन्द्रका रूपमा अघि बढाइएको र लगानी र विकासको मोडेलको मुख्य गन्तव्य लुम्बिनी भइसकेकाले लुम्बिनी प्रदेशको राजधानी बुटबलबाहेक अन्यत्र हुन नसक्ने तर्क पौडेलको छ । “हामी सबैको प्रयासबाट लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर सञ्चालनमा आइसकेको छ, विश्वमा लुम्बिनीको आफ्नै गरिमा र आस्था रहेकाले अब विश्वको धार्मिक एवं सांस्कृतिक पर्यटनको एक प्रमुख गन्तव्य नै हामी लुम्बिनीलाई बनाउँदैछौँ भने प्रदेशको राजधानीको विकल्प पनि बुटवलबाहेक अन्यत्र कहाँ हुनसक्छ ?”, पौडलेको प्रश्न छ । उहाँ रुपन्देहीको क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि नेकपा (एमाले)को उम्मेदवार हुनुहुन्छ । प्रदेश राजधानीबाहेकका उहाँसँग भौतिक पूर्वाधार विकास, सुकुम्बासी समस्याको समाधान, नागरिकका शिक्षा र स्वास्थ्यका समस्याको समाधानका साथै जनजीविकाको सुधारका माग छन् । आफ्ना मतदातासँग उहाँले आफू सदैव जिल्लाको विकासमा लागिनै परेको र आगामी दिनमा पनि यी सबै समस्याको समाधानका लागि आफूले जनताको साथमै रहेर पहल गर्ने प्रतिबद्धता व्यक्त गरिरहनुभएको छ । उहाँले आफूले जिल्लामा पूर्वाधार निर्माणका क्षेत्रमा धेरै काम गरेको र ती सबै जनताका अगाडि छर्लङ्ग नै रहेको भन्दै आगामी दिनमा जनताको जीवनस्तर उकास्ने र कृषि र किसानलाई प्रत्यक्ष लाभ पुर्याउने योजना आफूसँग रहेकाले आफूलाई मतदान गरी विजयी गराउन आग्रह गर्नुभयो ।
पोखरा: मंसिर ४ गते हुनलागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले यतिखेर सम्पूर्ण नेपालीको ध्यान खिचिरहेको छ । मतदाताहरूबीच प्रतिस्पर्धी दलहरूले खडा गरेका उम्मेदवारहरूको योग्यता, क्षमता, इमान्दारिता, सम्बद्ध दलहरूको घोषणापत्र र अहिलेसम्म देखिएका कमीकमजोरी केलाउने काम भैरहेको छ । उम्मेदवारहरुको गुण चर्का नारा, चर्को आलोचना र चर्का अनि पूरा हुन नसक्ने आश्वासन हुन् कि शालिनता, भद्रता अनि विधायकी भूमिकालाई राम्रोसंग बुझेर जनतामा जानुलाई मान्ने यो पक्षलाई अहिलेको पुस्ताले निकै गहिरिएर, निकै मनन गरेर अनि उम्मेदवारहरुको विगत, योग्यता, क्षमता समेत हेर्ने गरेको पाइन्छ । यस्तै मतदाताहरुले पारख गरिरहेकामध्ये एक हुनुहुन्छ कास्की निर्वाचन क्षेत्र नं. २ की उम्मेदवार तथा पूर्व सांसद विद्या भट्टराई । भट्टराईले उपनिर्वाचानबाट आफूलाई जनप्रतिनिधिका रुपमा स्थापित गरी जनताको मन जितेकोमा विमति छैन । यससंगै उहाँको व्यक्तित्वको चर्चा पनि उत्तिकै अपरिहार्य छ । नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएर निर्वाचन होमिनुभएकी पूर्व सांसद भट्टराईको राजनीतिक पृष्ठभूमि, योग्यता, क्षमता, लगनशीलता र इमान्दारितालाई केन्द्रबिन्दुमा राखेर उहाँको व्यक्तित्वको सानो चर्चा गर्नैपर्छ । यस पटकको महासङ्ग्राममा निश्चित चुनाव जित्ने उम्मेदवारको रूपमा विपक्षीहरूबीच पनि चर्चित हुन पुग्नुभएकी विद्या भट्टराईले संसदमा पुनः प्रवेश गरेर खेल्नसक्ने रचनात्मक भूमिका अहिले उत्सुकता र प्रतिक्षाको विषय बनेको छ । विद्या भट्टराई उदियमान महिला नेतृत्वको नाम हो । विद्यार्थीकालदेखि नै वाम राजनीतिमा सक्रिय हुँदै आउनुभएकी भट्टराई पद्मकन्या क्याम्पसमा अध्ययनरत रहँदा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व सम्हाल्नु भएको थियो । मीठो बोली, सबैसंग घुलमिल हुने बानी र कसैसंग पनि वैरभाव नगर्ने चरित्रले विद्यार्थी समुदायमा उहाँ लोकप्रिय हुनुहुन्थ्यो । शालिन व्यवहार, मेहनती स्वभाव, अध्ययनप्रति गम्भीर रूची र अनुशसित छात्राका रूपमा गुरुवर्गका बीचमा पनि प्रिय छात्राका रूपमा सुपरिचित रहेको उहाँलाई पढाउने शिक्षकहरूको मूल्याङ्कन छ । हुने बिरूवाको चिल्लो पात भनेझैं उहाँको वक्तृत्व कला र नेतृत्व क्षमताको विकास विद्यार्थीकालमा नै भएको मान्न सकिन्छ । आफ्ना विचार र धारणाहरू शालिनतापूर्वक राख्ने, अरूका कुराहरू धैर्यताकासाथ ध्यान दिएर सुन्ने र सामुहिक छलफलबाट मात्र निष्कर्ष निकाल्ने उहाँको आनीबानीले उतिबेला उहाँलाई चर्चित विद्यार्थी नेतृको रूपमा स्थापित गरेको थियो । नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रिय नेतृत्वपङ्क्तिमा पुग्न उहाँलाई यिनै अन्तर्निहित गुणले सघाएका हुन् भन्नै पर्छ । स्नातकोत्तर तहको अध्ययन पूरा गरेपछि उहाँको भूमिका रुपान्तरित भयो । विद्यार्थी नेताका रुपमा सक्रिय रहेको समयमाा त्यो बेलाका अर्का बहुचर्चित विद्यार्थी नेता रवीन्द्र अधिकारीसंग उहाँको दाम्पत्य जीवन गाँसियो । विवाह पश्चात् उहाँले एकातिर सफल गृहिणीको रुपमा रवीन्द्रजीको पूर्णकालीन राजनीतिलाई वैचारिक परामर्शका आधारमा समेत समर्पित भएर सघाउनुभएको देखिन्छ भने अर्कातिर मेधावि छात्राको हैसियतमा उहाँले प्राप्त गरेको उच्च शिक्षाको सदुपयोग गर्दै त्रिभुवन विश्वविद्यालयको प्राध्यापन सेवामा प्रवेश गरी रत्नराज्य क्याम्पसमा अध्यापन कार्यमा समर्पित रुपमा लाग्नु भयो । अध्ययन, अध्यापन र अनुसन्धानात्मक कार्यलाई अगाडि बढाउँदै गैरहेकाले उहाँ प्राज्ञिक क्षमतायुक्त बौद्धिक व्यक्तित्वका रुपमा सुपरिचित हुन थालिसक्नु भएको देखिन्छ । नियति, समय र परिस्थितिले अहिले उहाँको भूमिका बदलिन पुगेको छ । सहधर्मिणीको रुपमा उहाँले रवीन्द्रजीलाई उच्च राजनीतिक जिम्मेवारीमा पुग्न सघाउँदै आउनुभएको थियो तापनि दैवको लीला पर्यटन मन्त्रीको हैसियतले रचनात्मक र लोकप्रिय कार्य गर्दागर्दै हवाई दुर्घटनामा परी रवीन्द्रजीको इहलीला समाप्त भयो । एकल पाारिवारिक दायित्व र निर्वाहको कर्तव्य निर्वाहका साथसाथै रवीन्द्रजीको राजनीतिक उत्तराधिकार पनि उहाँमाथि सर्यो । नेकपा एमालेले रवीन्द्रजीको अप्रत्यासित र असामयिक अवशानले सिर्जना गरेको रिक्तताका बीचमा उहाँलाई नै निर्वाचनमा उतार्ने निर्णय गरिदियो । उहाँ उच्चअध्ययन, अनुसन्धानात्मक कार्य र प्राध्यापनलाई नै निरन्तरता दिने मानसिकतामा रहेको भए पनि पार्टीले गरेको विश्वास र दिएको अवसरले गर्दा शोकलाई शक्तिमा बदलेर उहाँ कास्की २ बाट निर्वाचन जितेर पहिलो पटक संसदमा प्रवेशगर्नु भयो । उहाँ संसद प्रवेशको अल्पकालमा नै संसदभित्र आफ्नो बौद्धिक राजनीतिक छवि निर्माण गर्न सफल देखिनुभएको निर्विवाद छ । स्व. रवीन्द्रको विराशत धान्नमात्र होइन आफ्नो बौद्धिक र रचनात्मक क्षमता प्रदर्शन गर्न पनि काविल देखिनुभएको उहाँको निर्वाचन क्षेत्रका मतदाताहरूको टिप्पणी छ । यस पटक पनि उहाँले स्वर्गीय पति तथा नेकपा एमालेका दिवंगत नेता रवीन्द्र अधिकारीको विराशत धान्ने स्वतन्त्र पर्यवेक्षकहरूको निर्क्यौल छ ।
कास्की: गण्डकी प्रदेशको भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्रीबाट हटाइएका कुमार खड्काले मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले आफुलाई बर्खास्त गरिनुको कारण स्पष्ट नपारे प्रदेश सरकारको आन्तरिक अडियो भिडियो सार्वजनिक गर्ने चेतावनी दिएका छन् । पोखरामा आज (बिहिबार) पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । ‘निर्वाचन सकिएपछि सनसनी समाचार अडियो भिडियो प्रमाणसहित आउने स्थिति बन्छ, उनले भने, ‘दुइवटा केसमा यदि मुख्यमन्त्री जीले चित्त बुझ्दो उत्तर दिनुभएन भने त्याे कुरा मेरो मृत्युभन्दा अगाडि बाहिर ल्याउछु ।’ खड्कालाई कास्की निर्वाचन क्षेत्र नम्बर २ (ख) का गठबन्धनका उम्मेदवार विन्दु थापालाई सहयोग नगरेको भन्दै गत मंगलबार मन्त्रीपदबाट बर्खास्त गरिएको थियो । राजिनामा माग नगरि पदमुक्त गरिनुको कारण मुख्यमन्त्रीले स्पष्ट पार्नुपर्ने खड्काको माग छ । ‘मलाई राजिनामा नमागिकन जसरी निकालियो । मलाई निकाल्नको लागि उहाँको आवश्यकता के हो ? दबाब के हो ? त्यसको लक्ष्य के हो ? भन्ने कुराको जवाफ त चाहियो नि, उनले भने, ‘कमसेकम मेरो अपमानजनक बहिर्गमनमा उहाँको नियत खराब होइन भन्ने कुरा प्रमाणित गर्ने भएपछि सँगै सुतेको साथीले लात्ती लगाको कुरालाई बाहिर ल्याउन नैतिक रुपमा पनि ठिक हुदैन ।’ खड्काकाे उक्त अभिव्यक्तिपछि यसमा तपाइको स्वार्थ जोडिएको देखियो नि ? भन्ने पत्रकार प्रश्नमा खड्काले भने, ‘होइन यसमा मेरो स्वार्थ जोडिएको छैन । बाहिर ल्याउछु भनेको छु समयको कुरा हो । मैले ल्याउदै ल्याउदिन त भनेको छैन नि ।’ उनले यसअघि मुख्यमन्त्री लगायतका मन्त्रीहरुसँगको मिटिङमा सरकारबाट बाहिरिएपछि सवारी साधनसहितको सेवा सुविधा पाउनुपर्नै व्यवस्था ल्याउने विषयलाई संकेत गरे । खड्काले उक्त प्रस्तावलाई अस्वीकार गर्नु पनि आफु बर्खास्तमा पर्नुको एक कारण हुन सक्ने भन्दै आशंका व्यक्त गरेका थिए । आफु पदमा रहदा आचारसंहिताले कुनैपनि उम्मेदवारको पक्षमा मत माग्न नहुने भएकै कारण कसैको पक्ष विपक्षमा नउभिएको स्पष्ट पारे । यद्यपी अब भने उनी सक्रिय भएर गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने धारणा राखेका थिए ।
पोखराः बलिउडमा छाएकी अभिनेतृ मनिषा कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टी र राजेन्द्र लिङ्देनलाई भोट दिन अपील गर्दै भारतीय सिने नगरी मुम्बई उडेकी छिन् । आज बिहान विमानस्थल जानुपूर्व कोइरालाले लिङ्देनको पक्षमा भोट अपील गरेकी हुन् । यसअघि चुनावी प्रचारमा सक्रिय रहेकी मनिषाले राप्रपा अध्यक्ष लिङ्देन र वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रको चुनावी सभामा सम्बोधनसमेत गरेकी थिइन् । झापामा सम्बोधन गर्दै कोइरालाले आफु लिङ्देनको धारणाबाट प्रभावित भएको भन्दै राप्रपाले मुलुकलाई भ्रष्टाचारको क्यान्सरबाट बचाउने बताएकी थिइन् । एकाबिहान भोट माग्दै उनले पृथ्वीनारायण शाहले परिकल्पना गरेको साझा फुलबारीको अवधारणालाई सफल पार्न राप्रपाबाटमात्र सम्भव भएको उल्लेख गरिन् ।
पोखराः बुधबार साँझ पोखरा १६ मा कास्की–२ (ख) मा गठबन्धका उम्मेदवार विन्दुकुमार थापा स्थानीयको नियन्त्रणमा रहे । एक घण्टा बढी नियन्त्रणमा रहेका थापामाथि स्थानीयको आरोप थियो, ‘थापा भोट किन्न, पैसा बाँड्न हिँडेका हुन् ।’ स्थलगत रिपोर्टिङकाक्रममा हामीले पाएको जानकारी अनुसार घेराबन्दी गर्नेहरु स्थानीय भनिएपनि उनीहरु एमाले कार्यकर्ता हुन् । जसको नेतृत्व सोही वडाका पूर्वअध्यक्ष जीवन आचार्यले गरेका थिए । स्मरणीय छ, स्थानीय निर्वाचनमा उनै आचार्यलाई ‘पैसा बाँडेको’ आरोपमा यसैगरी स्थानीयले नियन्त्रणमा लिएका थिए । आचार्यलाई घट्टेकुनामा घेराउ गरी निर्वाचन आयोगका कर्मचारी बोलाइएको थियो । कर्मचारीले आचार्यको खानतलासी गर्दा केही थान हजारका नोट र चुनावमा प्रयोग हुने स्वस्तिक छाप भेटियो । त्यसबेला आचार्यले पकेट खर्चस्वरुप केही पैसा बोकेको र मतदातालाई कसरी मतदान गर्ने भन्ने सिकाउन स्वस्तिक छाप बोकेको बताएका थिए । आचार्यलाई घेराबन्दी गरी आयोगका कर्मचारी बोलाउनेहरु स्थानीयको नाममा गठबन्धनका कार्यकर्ता थिए । यता, थापालाई गन्धर्व बस्तीमा नियन्त्रणमा लिइएको थियो । आचार्यको समूहले पैसा बाँड्न हिँडेको वा बाँडेर आएको शंका गरे । त्यस समय साँझको साढे ७ बजिसकेको थियो । सुरुमा यस्तो आरोप लगाएपनि पछि आचार्यले बोली फेरेका छन् । उनले भने, ‘हारजीत आफ्नो ठाउँमा छ तर राजनीतिक संस्कार हुनुपर्छ, ७ बजेपछि झण्डा लिएर चुनाव प्रचारमा हिँड्न पाइँदैन ।’ थापाले आचार संहिता विपरित कार्य गरेको भन्दै आज उनी विरुद्ध निर्वाचन आयोग क्षेत्र नम्बर २ मा उजुरी दिइने आचार्यले जनाएका छन् । यसरी स्थानीय निर्वाचनमा गठबन्धनले एमालेलाई गरेजस्तै घटना बाटुलेचौरमा थापामाथि एमालेले गरेको छ । थापलाई नियन्त्रणमा लिएर रातको चिसो तताउन एमालेकोमात्रै हात छ वा सोही क्षेत्रमा रहेका थापाको प्रतिष्पर्धी कुमार खड्का पनि संलग्न छन् भन्ने विषयमा अहिले थापाको टिम घोत्लिरहेको छ । थापाको सचिवालयमा रहेका एक सहयोगी भन्छन्, ‘राती जे भयो त्यो एमालेलेमात्रै गरेको हो भन्ने लाग्दैन, केही ‘कालो’ पक्कै छ ।’ खड्का हालै थापालगायतको विरोधमा लागेको भन्दै प्रदेशमन्त्रीबाट बर्खास्त भएका छन् । करिब १ घण्टा बढी नियन्त्रणमा परेका थापालाई जिल्ला प्रहरी कार्यालका डिएसपी सुन्दर तिवारीको नेतृत्वमा मुक्त गरी घर पु¥याइएको छ । नियन्त्रणका दौरान आयोगका निर्वाचन अधिकृत दयाशंकर अधिकारीले थापाको साथबाट निर्वाचनलाई प्रभाव पार्ने कुनै वस्तु वा सामग्री फेला नपरेको जानकारी दिएका छन् । थापा नियन्त्रणबाट मुक्त भए लगत्तै उनको सचिवालयले ‘विपक्षीहरुले हार निश्चित भएपछि सुनियोजितरुपमा दूव्र्यवहार गरेको’ नोट जारी गरेको छ । चुनाव प्रचारपश्चात् फर्कदै गर्दा बाटुलेचौरमा थापाभन्दा अघि रहेका गाडीलाई निस्कन दिएर उनको गाडी रोकिएको थियो ।
पोखराः मंसिर ४ गते हुने निर्वाचनमा गण्डकी प्रदेशसभा सदस्यका लागि कास्की क्षेत्र नम्वर १ ‘ख’ का एमाले उम्मेदवार बेदबहादुर गुरुङ ‘श्याम’ले तमुहरुको ऐतिहासिक स्थल क्होला सोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने बताएका छन् । बुधवार घरदैलो कार्यक्रममा बोल्दै गुरुङहरुको आदिम थलोको रुपमा परिचित क्होला सोंथरको संरक्षण र प्रवद्र्धन गर्ने प्रतिवद्धता व्यक्त गरे । निर्वाचित भएपछि उनले ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक हिसाबले महत्वपूर्ण रहेको क्होला सोंथरलाई विश्व सम्पदा सूची राख्न पहल गर्ने बताए । ‘क्होला सोंथर हाम्रो पैतृक थलो हो। यसलाई हामीले नै जोगाउनु पर्छ । मलाई जिताउनु भयो भने संसदमा होस् या सरकारमा सम्पूर्ण गुरुङहरुको प्रतिनिधित्व गर्दै यसलाई जोगाउन विशेष पहल गर्ने छु ।’ उनले भने, ‘ऐतिहासिक, धार्मिक र सांस्कृतिक रुपले मात्र हैन,पर्यटकिय दृष्टिकोणबाट पनि निकै महत्वपुर्ण छ । यसलाई हामीले जोगाएर संसारसामु चिनाउन सक्यौं भने यस क्षेत्रमा पर्यटकको ओइरो लाग्छ ।’ उनले १२ औं शताव्दीसम्मको इतिहास क्होला सोंथरमा फेला परेको भन्दै क्होलाको बारेमा भएको अलिखित इतिहासहरुको खोजी गर्ने र यसलाई लिपिबद्ध गर्ने प्रतिवद्धता जनाए । उनले आफू मादीगाउँपालिकाको प्रमुखको रुपमा काम गर्दा क्होला सोंथरको प्रवद्र्धनमा काम गरेको सुनाए । मादी गाउँपालिका वडा नं २ ताङतिङ हुँदै तमुहरुको सभ्यता संस्कृति जोडिएको त्यस स्थलसम्म पुग्ने १० किलोमिटर मोटरबाटो खनेको जनाए । उनले संघीय सांसद खगराज अधिकारीको विशेष पहलमा करिव ७० लाखको बजेटमा पहिलो चरणको ट्रयाक खोलेको र अब बाँकी काम पनि सम्पन्न गर्न एमालेलाई नै जिताउनु पर्ने कुरा बताए । उनले क्होला सोंथरसंगै यस क्षेत्रका धार्मिक, सास्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाहरु, मठमन्दिर, कोइबु धिं, गुम्बा, मस्जिद, गिर्जाघर, कोट, तिर्थस्थल आदिको संरक्षण र प्रवर्धन गर्ने कुरा जनाए । उनले पोखरा १३ मा कुँडहरमा एकीकृत मुस्लिम धार्मिक क्षेत्र परियोजना सम्पन्न गर्ने वाचा समेत गरे । अर्को प्रसङ्गमा उनले आफ्नो निर्वाचन क्षेत्रको सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार निर्माण, नीति निर्माणमा महत्वपूर्ण काम गर्ने बताए । निर्वाचित भएपछि सबै उमेर समूह, जाति, भूगोल अनि वर्गलाई समेटने योजना आफूसंग भएको सुनाए । त्यस्तै उनले देशलाई विकासको बाटोमा हिडाउन एमालेको बहुमतको सरकार आवश्यक रहेको बताए । उनले आफूले मादीको अध्यक्ष हुँदा नमुना गाउँपालिकाको रुपमा स्थापित गरेको दाबी गरे र अझै थुप्रै काम गर्न बाँकी रहेको बताए । ‘कसले काम गरेको छ, कसले गरेको छैन , त्यो जनताले पहिचान गरेर मत हाल्नु पर्छ ।’ उनले भने । बुधबार उनले पोखरा १३ र १४ का विभिन्न स्थानहरुका मतदाता माझ पुगेर सुर्य चिन्हमा मत मागेका छन् । नेकपा एमालेले कास्की १ ले निर्वाचन केन्द्रित रहेर उम्मेदवार भेटघाट कार्यक्रमलाई तीव्रता दिइरहेको छ । नेकपा एमालेले कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा तर्फ जिल्ला अध्यक्ष मन बहादुर गुरुङ, प्रदेश ‘क’ तर्फ खगराज अधिकारी र ‘ख’ तर्फ वेद बहादुर गुरुङ श्यामलाई उठाएको छ ।
पोखराः नेकपा एमाले कास्की क्षेत्र नम्वर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार दामोदर पौडेल ‘बैरागी’ले यस पटकको निर्वाचनमा पनि कास्कीमा एमालेले बहुमतका साथ जित हासिल गर्ने दावी गरेका छन् । नेकपा एमाले वडा नम्बर ५ वडा कमिटिले बुधवार मालेपाटनमा आयोजना गरेको वडास्तरिय आमसभालाई सम्वोधन गर्दै उम्मेदवार बैरागीले जनताको ढाड सेक्ने गठबन्धन सरकारलाई परास्त गर्न पनि एमालेको जित आवश्यक रहेको बताए । ‘गण्डकी प्रदेशमा गठबन्धनको सरकारले चरम मुल्यवृद्धि गरेर जनताको भावना र मर्म विपरित काम ग¥यो, एमालेले अघि सारेका विकासे योजनाहरु रोक्यो, फेरी ति योजना निरन्तरताका लागि र जनप्रिय काम गर्न पनि एमाले नेतृत्व सरकार खाँचो छ’– उनले भने । सभालाई सम्वोधन गर्दै कास्की ३९२० प्रदेश सभा सदस्य उम्मेदवार राजीव पहारीले यहाँका जनताले पाँच वर्ष अघि आफुलाई जिताएर पठाएको स्मरण गरे । जितेर गएपछि जनतासँग गरेका प्रतिवद्धता पुरा गर्दागर्दै सरकार विचैमा ढलेकाले महत्वपूर्ण योजनाहरु अधुरै रहेको पहारीले बताए । उनले अब आफु खारिएर आएको र काम गर्ने उर्जा झनै थपिएकाले पनि जितेर गएपछि जनसेवक भएर काम गर्ने प्रतिवद्धता जाहेर गरे । नेकपा एमाले वडा कमिटि ५ का कार्यबाहक अध्यक्ष गायत्री भुर्तेलको अध्यक्षतमा भएको आमसभामा समानुपातिक उम्मेदवार लालकाजी गुरुङ्ग नेकपा एमाले नेता सोमनाथ प्यासी, कास्की इन्चार्ज कृष्ण थापा वडा कमिटि सचिव आशमाया विक, वडा प्रचार प्रचार संयोजक लक्ष्मण बराल लगायतले सम्वोधन गर्दै मंसिर ४ गते एमाले उम्मेदवारहरुलाई सुर्य चिन्हमा मतदान गर्न आग्रह गरेका थिए ।
पोखराः गण्डकी प्रदेशसभा सदस्य उम्मेदवार विन्दु कुमार थापाले व्यवसायी हक हितका लागि गण्डकी प्रदेशको राजधानी पोखराका बजारलाई गाउँसम्म जोड्ने गरी चक्रपथ निमार्णका लागि पहल गर्ने बताएका छन् । उनले पोखराको मुख्य बजार र वरपरका क्षेत्रलाई समेट्ने गरी चक्रपथको निमार्ण गर्ने प्रतिबद्धता व्यक्त गरे । बुधबार थापाले पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुल, चिप्लेढुङ्गा, मानवअधिकारचोक, नयाँ बजार लगायतको क्षेत्रमा व्यवसायीसँग समस्या बुझ्दै उनले व्यवसायीको हकहितका लागि आफु दत्तचित्त भएर लागिपर्ने बताएका हुन् । आफुपनि व्यवसायी भएकाले व्यवसायीको मर्म राम्रो सँग बुझेको र पछिल्लो समय बैंकहरुले व्यवसायी माथि गरेको अत्याचार असह्य भएको भनाई उनको छ । उनले यसका लागि राज्यको तर्फबाट गर्न सकिने सहयोग गर्ने बताए । गण्डकी प्रदेशमा अब बाह्य लगानी भित्राउन र पर्यटनको प्रचुर विकास गर्न लगानी सम्मेलन गर्न अत्यावश्यक रहेको उनको भनाइ छ । कोरोना महामारी पश्चात व्यवसायी टाट पल्टिने अवस्थामा आएको र अहिले बैंकको आतकंले व्यवसायी आत्महत्या गर्न सक्ने स्थितिमा पुगेको बताउँदै उनले यसका लागि राज्यले उचित व्यवस्थापन गर्न जरुरी रहेको सुनाए । थापाले आफु विजयी भएमा प्रदेश सरकारको तर्फबाट व्यवसायीका लागि गर्न सकिने हदैसम्मको सेवा र राहत प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले नीजि क्षेत्रसँगको सहकार्यमा होटल पूर्वाधार र जनशक्तिको विकास एवम् गन्तव्यहरुको प्रवद्र्धन गर्न योजना अघि सार्ने बताए । यस्तै थापाले भूमिहिन नागरिकलाई व्यवस्थित बसोबासको व्यवस्थापनमा जोड दिने समेत बताए । ‘कतिपय भूमिहिन नागरिकले जग्गाको निस्सा प्राप्त गरिसक्नुभएको छ र बाँकी रहेको भूमिहिनहरुको व्यवस्थित बसोबासका लागि सम्बन्धित निकाय समक्ष समन्वय गर्नेछु’ ,थापाले भने । थापा लोकतान्त्रिक गठबन्धनबाट कास्की क्षेत्र नं. २(२) का प्रत्येक्ष उम्मेदवार हुन् ।
काठमाडौं: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त लोकतान्त्रिक वाम गठबन्धनको ध्यान विकास र समृद्धितर्फ केन्द्रित भएको बताउनुभएको छ । आज गठबन्धनद्वारा ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उहाँले मुलुकमा स्थायी शान्ति र दिगो विकासका लागि संयुक्त लोकतान्त्रिक वाम गठबन्धन बनेको हो भन्नुभयो । उहाँले भन्नुभयो “दिगो विकास, स्थायी शान्ति र समृद्धिसँगै संविधानको रक्षा गर्नु नै गठबन्धनको मूल दायित्व हो । देशभर नै गठबन्धनको पक्षमा चुनावी माहोल देखिएको हुँदा निर्वाचन पछि गठबन्धनकै सरकार बन्ने छ ।” परिवर्तनका लागि राजनीतिक आन्दोलन र घोषणा धेरै भए पनि विभिन्न कारणले समग्र विकासको गति अघि बढ्न नसकेको जनाउँदै उहाँले अब दृढ सङ्कल्पसहित गठबन्धन अघि बढेको छ भन्नुभयो । मङ्सिर ४ को निर्वाचन प्रतिगामी शक्तिलाई परास्त गर्दै मुलुकलाई सही बाटोमा अघि बढाउने अवसरका रुपमा लिन पनि उहाँले आग्रह गर्नुभयो ।