काठमाडौं:  नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर हामी फेरि उठ्ने बताएका छन्। बुधबार बिहान नेत्रलाल अभागीको कविता सामाजिक सञ्जाल फेसबुकमा साभार गर्दै उनले यस्तो बनाएका हुन्। उनल...

पर्वत:  पर्वतमा मतगणनाका लागि सर्वपक्षीय बैठक सकिएको छ । बैठकले सोमबार दिउँसो १ बजेदेखि मतगणना गर्ने सहमति गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतका प्रबक्ता राजु ढुंगानाले जानकारी दिए  । मतगणनास्थलसम्म मतपेटिका ल्याउन ढिलाइ भएका कारण आज बिहान मात्रै सर्वपक्षीय बैठक बसेको उनले बताए । यस पटक पर्वतमा ५५ प्रतिशत मत खसेको छ । पर्वतको कुल मतदाता संख्या १ लाख २२ हजार ६ सय ४९ मध्ये ६६ हजार २ सय ७३ मत खसेको हो ।

काठमाडौँ:     काठमाडौँ क्षेत्र नं ६ को मतगणना शुरु भएको छ । सो क्षेत्रको मतगणना स्थल धर्मस्थलीमा आज बिहान १० बजेदेखि मतगणना शुरु भएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिनुभयो । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन आइतबार सम्पन्न भएको हो । सो क्षेत्रमा नेकपा (एमाले) का सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका भीमसेनदास प्रधान र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाललगायतका उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । त्यस्तै केही बेरअघिदेखि काठमाडौँ क्षेत्र नं १ को पनि मतगणना शुरु भएको छ । त्यस क्षेत्रमा कांग्रेसका प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राप्रपाबाट रवीन्द्र मिश्र र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमलगायतका उम्मेदवार हुनुहुन्छ ।  

काठमाडौं:  आइतबार भएको निर्वाचनमा दिउँसो साढे ३ बजेसम्म १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगका अनुसार चुनाव रोकिएका १५ मतदान केन्द्रमा मतदान सुरु गर्न प्रयास भइरहेको छ । अन्य केन्द्रमा भने शान्तिपूर्ण रुपमा मतदान भइरहेको आयोगले एक सूचनामार्फत जानकारी दिएको छ । राजनीतिक दलका प्रतिनिधिहरुबीच विवाद, मतपत्र प्रयोगमा विवाद लगायतका कारणले मतदान स्थगित भएका छन् ।

झापा:    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मध्याह्नसम्म मतदाताको सहभागिता उत्साहपूर्ण नरहेको बताएका छन् । झापाको हल्दिबारी गाउँपालिका(१ को वडा कार्यालयमा मतदान गरेपछि उनले मतदाताको उत्साहपूर्ण सहभागीता नरहेको बताएका हुन् । अध्यक्ष लिङ्देनले भने, ‘१२ बजेसम्म मतदानको माहोल उत्साहपूर्ण छैन । अब बढ्दै जान्छ भन्ने अनुमान हो ।’ उनले नेपाली कांग्रेसका पूर्वमहानमन्त्री कृष्णप्रसाद सिटौलासँग चुनावमा प्रतिस्पर्धा गर्न पाउनु आफ्नो लागि ठूलो कुरा भएकोसमेत बताए । २०७४ को निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मा सिटौलालाई हराएका लिङ्देन यसपटक पनि सिटौलासाग प्रतिस्पर्धामा छन् । दलका नेताहरुसँग असन्तुष्ट भएर धेरैजना स्वतन्त्र उम्मेदवार बनेको बताउँदै अध्यक्ष लिङ्देनले यस्तो हुनुको कारणबारे समीक्षा गर्ने बताए ।

गोरखा:   नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मतदान गरेका छन् ।   पालुङटार नगरपालिका.१ खोप्लाङ स्थित अन्नपूर्ण माविको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् । मतदानका लागि आजै गोरखा आएका भट्टराईले बिहान ११ बजेर ५ मिनेटमा मतदान गरेका हुन् ।

मनाङ:   प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो १२:३० बजेसम्म ५१ प्रतिशत मत खसेको छ ।  जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो १२:३० बजेसम्म यहाँ ५१ प्रतिशत मतदान भएको हो ।  कुल २९ वटा मतदान केन्द्र रहेको मनाङमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र छन् । यहाँ कुल छ हजार सात सय ७९ मतदाता छन् ।

काठमाडौं:  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सूर्यविनायक नगरपालिकाको बालकोटमा मतदान गरेका छन् । उनले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रमा पुगेर मतदान गरेका हुन् । ओली झापा ५ बाट प्रतिनिधि सभाका उम्मेदवार हुन् । चुनाव प्रचारका लागि झापामा रहेका ओली मतदानका लागि बालकोट आएका हुन् । उनी बालकोटमा नै स्थायी रुपमा बस्दै आएका छन् ।

बाजुरा:  बाजुराका ३ वटा मतदान केन्द्रमा विवाद हुँदा मतदान स्थगित भएको छ । जिल्लाको बुढिगंगा नगरपालिका(८ को मतदान केन्द्र, बुढीनन्दा ५ र स्वामिकार्तिक खापर गाउँपालिका ४ को  एक केन्द्रमा मतदान स्थगित भएको हो । राजनीतिक दलहरुबीच विवाद भएपछि ती मतदान केन्द्रको मतदान प्रक्रिया स्थगित भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिए ।

डडेल्धुरा :   प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि डडेल्धुरामा मतदान गरेका छन । उनले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन । उनी डडेलधुराबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार छन् । आफूले मतदान गरेका तस्वीर सामाजिक सञ्जालमा राख्दै देउवाले भनेका छन्, ‘मैले मतदान गरे, तपाईँहरु पनि मतदानमा सहभागी हुनुहोला ।’