पोखरा:   गण्डकी प्रदेशका सांसद दीपक मनाङे (राजीव गुरुङ) पदमुक्त भएका छन्। सर्वोच्च अदालतको संवैधानिक इजलासले फौजदारी अभियोगमा दोषी ठहर भई अन्तिम फैसला भइसकेको भन्दै उनलाई सांसद पदबाट पदमुक्त गर्ने ...

पोखराः   धेरै मानिस पहिला समस्या देख्छन्, सम्भावनातिर ध्यान दिँदैनन् । यसका कारण हुन्ः मान्छे नकारात्मक कुरामा रमाउँछ, सम्भावना देखिए पनि मेहनत गर्न र धर्य गर्न चाहँदैन । समस्या राम्ररी सुन्ने, बुझ्ने, योजना बनाउने र कार्यान्वयन गर्नेहरुले समाजको नेतृत्व गर्छन्, राजनीतिको नेतृत्व गर्छन् ।  मंगलबार एमाले नेतृ मीना गुरुङले पोखरा १६ का स्थानीयका समस्या सुनिन्, गुनासा बुझिन् । कास्की २ (२)मा एमालेकी प्रदेश सभाकी उम्मेदवार उनी समानुपातिकबाट निवर्तमान प्रदेशसभा सदस्य भएकाले धेरै कुराबारे जानकारै थिइन् । उनले भनिन्, ‘यहाँहरुका समस्याबारे केही हदमा जानकार छु । यहाँहरुकै सहभागिता र विज्ञको सुझाव अनुसार योजना बनाएर समृद्धिको यात्रा हामीअघि बढाउँछौं ।’ उम्मेदवार गुरुङले गएको कार्यकालमा स्रोतको सीमितता र सरकार परिवर्तनले धेरै काम गर्न नपाएको सुनाइन् । उनले सुन्दर भूगोल र प्रकृति रहेको यो क्षेत्र चाडै समृद्ध र पर्यटनको केन्द्र बन्ने उनले उल्लेख गरिन् । भन्छिन्, ‘एकै पटक सबै काम भइहाल्छन् भन्ने आश्वासन म दिन्नँ तर प्राथमिकीकरण गरेर हामी यसका समस्या सुल्झाउँछौं । सम्भावना खोज्छौं । जनताका माग पूरा गर्न संघ र प्रदेशमा एमालेको सरकार चाहिन्छ ।’ एमाले नेतृत्वमा गण्डकी र संघ सरकार हुँदा दुवैतिर जग राख्नेदेखि राष्ट्रिय महत्वका योजना सुरु भएको उनले उल्लेख गरिन् । ‘बीचमा सरकार ढल्यो, सँगसँगै हाम्रा योजना पनि रोकिए । अबको चुनावपछि हाम्रो सरकार बन्छ तर हामी त्यस्तो खालको पूर्वाग्रही राजनीति गर्दैनौं ।’पार्टीको प्रतिवद्धता र अगाडी सारेका विकासका योजना र नीतिहरु नै जितका आधार भएको उनको भनाई छ । 

पोखराः   नेकपा एमाले कास्की क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मनबहादुर गुरूङले अबको लडाई गरिवी अन्त्य गर्ने लडाइँ रहेको बताएका छन् ।  मंसिर ४ गते हुने निर्वाचन केन्द्रित प्रचारप्रसार कार्यक्रम अन्तर्गत पोखरा २९ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेकपा एमालकोे कास्की जिल्ला अध्यक्ष समेत रहेका उनले देशमा राजनीतिक परिवर्तन आईसकेको र अव विकास र समृद्धिका लागि काम गर्ने बेला भएको उल्लेख गरे ।  तर, केही तत्व प्राप्त उपलब्धिलाई उल्ट्याउने खेलमा रहेको हुँदा जनता सचेत बन्नुपर्ने उनको भनाई छ । ‘राजनीतिक परिवर्तन भयो । अब विकास र समृद्धिका लागि काम गर्न मेरो उम्मेदवारी हो ।’ उनले भने –‘यसका लागि तपाईहरुले सुर्य चिन्हमा मतदान गरेर एमाले उम्मेदवारलाई विजयी गराउनुहुन म अनुरोध गर्दछु ।’  

पोखरा: आँखैमा ठोकिने अन्नपूर्ण हिमशृंखला । गाउँ मुन्तिर अविराल बगिरहने मादी । पूर्वतर्फ बडेमानको पलेंची अनि पश्चिमतर्फ झिजेंं डाँडा जसको कारण ताङतिङमा ढिलो घाम लाग्छ अनि दिउँसै डुब्छ । कास्कीको कर्नाली अर्थात् उत्तर– पूर्वी भेग जहाँ केहि दशक अघिसम्म मोटरबाटो पुगेको थिएन । टेलिफोन सुविधा थिएन । कास्की कै अत्यन्त विकट मानिने यस गाउँबाट पोखरा पुग्न पुरै दिन लाग्थ्यो ।    २० को दशकको अन्ततिर त्यसै गाउँमा बेद बहादुर गुरुङ जन्मिए । पोखरादेखि जम्मा २७ किलो मिटर मात्र भएतापनि गाउँ र विकासको दुरी कयौं माइल टाढा थियो । गाउँमा अभाव थियो । अस्पताल थिएन । राम्रो स्कुल थिएन । त्यस्तो विकट भूगोल जन्मिएको युवाको सपनाको आकार शायदै ठुलो हुन्छ । तिनै युवाहरुको भिडमा बेद बहादुर अर्थात् श्याम गुरुङ पनि एक थियो । ‘जुन भूगोलमा घाम नै १० बजेपछि लाग्छ अनि ३ नबज्दै घाम डुब्छ । त्यहाँका मान्छेले देख्ने सपना नै के ठुलो हुन्थ्यो र ? ’ बेद बहादुर सम्झिन्छन् । अन्याय, अत्याचार, शोषण, दमन, अभाव अनि असमानताले विद्रोह जन्माउछ । समयको रोटे पिङ घुम्दै जाँदा तत्कालिन पञ्चायतको घोचाइले बेद बहादुरको दिमागमा बिद्रोहको चेत भरिदियो। दौतारीहरु लाहुरे भएर गए तर बेद बहादुर लाहुर जान मन लागेन । बरु मार्क्स–एंगेल्सद्वारा लिखित घोषणापत्रले तान्न थाल्यो उनलाई । विकट भूगोलमा जन्मेका उनलाई मुक्तिको सपना देख्न थाले । फलस्वरूप आठ कक्षा पढ्दा पढ्दै  बि.स. २०४५ सालमा अखिलमा आवद्ध भए । ०४६ को आन्दोलनमा भाग लिए । पञ्चायत नै अन्याय, अत्याचार, शोषण, दमन, अभावको जड हो भन्ने कुरा बुझ्न थाले अनि पञ्चायत बिरुद्द भोकै लडे । त्यसपछि बल्ल उनले सपना देख्न थाले – मुलुकलाई सहि दिशामा लैजान राजनीतिमा होम्मिने । बुबा टेकशाही गुरुङ र आमा काँबिरी गुरुङको कोखमा बि.स. २०२७ साल जेठ २३ गते शुक्रबार तत्कालिन नामर्जुङ गाबिस वडा नम्बर ५ पण्डित टोल हालको मादीगाउँपालिका वडा नम्बर २ ताङतिङमा जन्मेका थिए । उनका बुबाले देहरादुनमा अध्ययन गरेर फर्केपछि गाउँको हेडमास्टरको रुपमा काम गरेका थिए ।  सोही विधालयमा उनले प्राथमिक तहसम्म पढे । त्यसपछि करिब १ बर्ष दैनिक ४ घण्टा हिडेर नजिकको गाउँमा पढे । एस एल सी भने पोखरा स्थित अमर सिंह माबिबाट उतिर्ण गरेका थिए । देशमा प्रजातन्त्र पुनर्स्थापना भएपछि बि।स। २०४८ सालमा उनका बुबा टेकशाही गुरुङ नेपाली कांग्रेसका तर्फबाट तत्कालिन नामर्जुङ गाबिसका अध्यक्ष बने । पारिवारिक पृष्ठभूमि कांग्रेस भएका बेद बहादुरले सुरुमा घरबाटै बिद्रोह गरे । कम्युनिस्टका झण्डा बोकेर हिडे । गाउँ गाउँमा कम्युनिस्टका पर्चा बाँड्न थाले । बुबा मात्र नभई उनका काका मेजर दिपक गुरुङपनि कांग्रेसका पूर्वसांसद थिए । बालक अवस्थादेखि नै चनाखो, तीक्ष्ण, अध्ययनशील, निडर, फरासिला स्वाभावका बेद बहादुर कम्युनिस्ट विचारधाराबाट निकै प्रभावित भए । त्यसपछि उनी कम्युनिस्ट आन्दोलनमा होम्मिए । उनी बि.स. २०४५ सालमा अनेरास्ववियु एकताको पाँचौ  प्रारम्भिक कमिटी सदस्य थिए । त्यसपछि बि.स. २०४६ देखि ४८ सम्म अनेरास्ववियु कास्की जिल्ला कमिटीको सदस्यको रुपमा काम गरे । बि.स. २०४८ मा प्ररायु संघ कास्की जिल्ला कमिटीको सदस्य भए । बि.स. २०५२ मा नेकपा एमाले कास्की जिल्ला ईलाका नं ५ को उपसचिव भएर आफ्नो जिम्मेवारी पुरा गरे । युद्धकालिन समयमा पनि उनले पार्टीको लागि सक्रिय राजनीति गरेका थिए । पार्टीमा इमान्दार, निडर र कुशल संगठकको रुप परिचित छन् । पञ्चायतविरुद्धको आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्दै विद्यार्थी जीवनबाटै राजनीतिमा होमिएका बेद बहादुरले बि.स. २०५८ सालमा नेकपा एमाले कास्की जिल्ला  ईलाका नं ५ को सचिवको रुपमा काम गरे।   बि.स. २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले राजनैतिक ‘कु’ गरेर निरंकुश शासनको सुरुवात गरे । सम्पूर्ण राजकीय अधिकार आफ्नो हातमा लिई राजनीतिक सहमतिका आधारमा बनेको सरकारलाई अपदस्थ गरे । जनताका मौलिक अधिकार निलम्बन गरे । राजाको यस कदमबाट असह्य भएपछि सम्पुर्ण राजनैतिक दलका नेता अनि जनता सडकमा निस्किए । त्यो हुलमा उनी पनि थिए । ०६२÷०६३ सालको आन्दोलनमा उनले अग्रणी भूमिका नै खेले ।  प्रहरीको लाठ्ठीले घाइते भए । प्रहरीले फालेको दर्जनौं सेल आश्रु ग्यासको प्रहार थेगे । ०६२÷०६३ सालको आन्दोलनमा उनी २१ दिन हिरासतमा  बिताएका थिए । उनी बि.स.२०६४ मा नेकपा एमाले कास्की जिल्ला कमिटी सदस्य बने । त्यसपछि क्रमशः २०६६ मा नेकपा एमाले कास्की जिल्ला सचिवालय सदस्य, बि।स।२०६७ मा नेकपा एमाले रास्टृय प्रतिनिधि परिषद निर्वाचित सदस्य र बि.स.२०६८ देखि नेकपा एमाले गण्डकी अञ्चल कमिटी सदस्य बनेका थिए । बि.स. २०७४ पछि नेकपा गण्डकी प्रदेश कमिटी सदस्यको रुपमा काम गरे भने  बि.स. २०७८ मा नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य बने । उनले नेपाल लोकतान्त्रिक तमु संघको सस्थापक संयोजक र संस्थापक महासचिवको रुपमा काम गरिसकेका छन्  भने संस्थाको बर्तमान अध्यक्ष पनि हुन् । उनी मादी गाउँपालिकाको संस्थापक अध्यक्ष पनि हुन् । बि.स. २०७४ सालको निर्वाचनमा भारी मतान्तर सहित विजयी भएका थिए। आफ्नो कार्यकालमा त्यस क्षेत्रका सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार निर्माण, नीति निर्माणमा महत्वपूर्ण काम गरेका छन् । कलाकारिता जीवन उनलाई कुशल राजनीतिककर्मी मात्र नभई कलाकारको दृस्टीकोणबाट पनि चिन्ने गर्छन् । राजनीतिसंगै लामो समय कलाकारितामा लागेका बेद बहादुर गुरुङ श्यामले थुप्रै गुरुङ सिनेमामा अभिनय र निर्देशन गरेका छन् ।  विशुद्द गुरुङ सिनेमा बनाएर गुरुङहरुको संस्कार संस्कृति जोगाउन योगदान पुर्याएका छन् । सिनेमा मात्र नभई गुरुङ  संस्कार संस्कृति माथि लेख, रचना, गीत संगीत सिर्जना गरेका छन्। बि.स. २०५२ सालमा बनेको गुरुङ चलचित्र कुहिरो भित्रबाट अभिनय सुरु गरेका थिए । त्यसपछि गोठालोमा अभिनय गरे । गोठालोमा समावेश गरेको आशामारा चुरोट बोलको गीतमा नृत्य गरे जुन चर्चित गायक युक्त गुरुङले गाएका थिए।  त्यसपछि उनको कलाकारिताको चौतर्फी गुनगान हुन थाल्यो।  पछि आफ्नै निर्देशनमा हाम्रो गाउँ घर नामक गुरुङ चलचित निर्माण गरे । उनले दर्जनौँ चलचित्र निर्माण गरेका छन्।  त्यसकै कारण उनी निकै लोकप्रिय छन् । उनले गुरुङ चलचित्रकर्मीहरुको साझा संस्था जिफान अर्थात गुरुङ फिल्म एसोसियसनमा अध्यक्ष रुपमा काम गरेर समेत आफ्नो भाषा, संस्कार अनि संस्कृति जोगाउन योगदान दिएका छन्।  उनी जिफानमा दुई कार्यकाल अध्यक्षका जिम्मेवारी बहन गरिसकेका छन् । आसन्न निर्वाचनमा उनी नेकपा एमालेको तर्फबाट उनी चुनावी मैदानमा छन्। कास्की १ ख बाट प्रदेश सभा सदस्यको लागि उम्मेद्वारी दिएका बेद बहादुर ५ वर्षे योजना सुनाउन  अहिले मतदाता भेट्न घरदैलोमा व्यस्त छन्।  

पोखरा: कास्की क्षेत्र नम्बर २ का भूमिहीन सुकुम्बासीहरुले लालपुर्जा वितरण गर्ने गठबन्धन सरकारका नेताहरुलाई  मत दिन बताएका छन् ।  पोखरा १५ का सुकुम्बासी बस्तीका मतदाताहरुले गठबन्धन कै सरकारका पालामा आफूहरु निस्सा पाएको बताएका थिए । उनीहरुले केही भूमिहीन सुकुम्बासी, भूमिहीन दलितहरुले लालपुर्जा नै पाएको बताउँदै आफूहरुको हितमा काम गर्ने गठबन्धनका उम्मेदवारलाई मत हाल्ने बताए ।  कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको समस्या समाधान आफ्नो प्रतिवद्धता पत्रमै उल्लेख गरिएको जानकारी गराए । उनले सुकुम्बासीका लागि आवास सहकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाए । पोखरा महानगरका ११ वटाका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुलाई सहयोग पुग्ने किसिमको आवास सहकारी कार्यक्रम सञ्चालन गर्ने, रोजगारी दिलाउने एवं जग्गाधनी प्रमाणपत्रपूर्जा दिलाउने उनले बताए ।  यस्तै कास्की १ (क) का उम्मेदवार विश्वप्रकाश लामिछाने संविधानमा लेखिएको मौलिम हक पूरा गर्ने बताए । आफूहरुसँग सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्ने योजना रहेकोकाले गठबन्धनलाई जिताउन उनको आग्रह थियो । गठबन्धनको सरकार बनेको समयमै नै धेरै ठाउँमा सुकुम्बासीलाई निस्सा वितरणको काम सरु गरिएको उनले सम्झिए । निस्सा लिएकाहरुलाई लालपुर्जा प्रदान गर्न पनि अब फेरी गठबन्धनकै उम्मेद्वारले जित्नुपर्ने उनले बताए ।  कास्की २ (ख) का उम्मेदवार विन्दुकुमार थापाले गण्डकी प्रदेशको राजधानी पोखरामा मुटु अस्पताल निर्माणका लागि पहल गर्ने बताए । थापाले आफू विजयी भएमा प्रदेशका लागि विशिष्टकृत अस्पताल र मुटु अस्पताल बनाउन पहल गर्ने उनको भनाई थियो । घरदैलो अभियानमा रहेका थापाले हरेक नागरिकका लागि प्रदेशमै उपचार गराउने व्यवस्था गराउनका लागि आफूले काम गर्ने बताए । ‘गण्डकी प्रदेशको राजधानी पोखरामा प्राथमिकतामा आधारमा विशिष्टकृत अस्पताल र पहिलो चरणमा विशिष्टकृत मुटु अस्पताल निमार्णका लागि महल गर्नेछु’, थापाले भने । 

बागलुङ:  मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन बहिष्कारको कार्यक्रम गर्ने नेपाल कम्युनिष्ट पार्टी (मशाल)का नेता कार्यकर्ता बागलुङको कुश्मिसेराबाट पक्राउ परेका छन् । मंगलबार कुश्मिसेरा बजारमा नेकपा (मशाल)ले आयोजना गरेको चुनाव बहिष्कार कार्यक्रमको कोणसभाबाट नेकपा (मशाल)का पोलिटब्युरोे सदस्य ७० वर्षीय कृष्णराज पौडेल सहित १३ जनालाई पक्राउ गरि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी दयानिधी ज्ञवालीले बताए । कुश्मिसेरा प्रहरी चौकीबाट खटिएको प्रहरी सहायक निरीक्षक मिनबहादुर खत्रीको टोलीले उनीहरुलाई निर्वाचन विरोधी पर्चासहित कोणसभा कार्यक्रम गरेको स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा अखिल भारत नेपाली एकता समाजका केन्द्रिय अध्यक्ष ५३ वर्षीय देबबहादुर लामिछाने, केन्द्रिय सदस्य ४६ वर्षीय सुर्यबहादुर थापा, जैमिनी नगर सदस्य ५४ वर्षीय रमाकान्त शर्मा, रत्तिम सांस्कृतिक अभियानका केन्द्रिय उपाध्यक्ष ५२ वर्षीय दलबहादुर विक छन् । यस्तै नेकपा (मशाल)का कास्की जिल्ला प्रवक्ता ४३ वर्षीय विक्रम थापा, बागलुङ जिल्ला सदस्य ४२ वर्षीय दिपक गुरुङ, काठमाडौ महानगर अध्यक्ष ४६ को खगेश्वर शर्मा, समर्थक ३९ वर्षीय लालबहादुर नेपाली, ३५ वर्षीय सागर कुँवर, ४८ वर्षीय आकाश गौतम र ३० वर्षीय पहाड विष्ट र पार्टीका केन्द्रिय प्रतिनिधि ४७ वर्षीय नारायण सापकोटा पनि पक्राउ परेका छन् । उनीहरुलाई कुश्मिसेरा प्रहरी चौकीमा राखिएको छ ।

कास्की:  नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड) ले प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन २०७९ ले अपराध गर्ने जत्था मात्रै तयार गर्ने बताएका छन् ।   बुधबार पोखरामा हुने जनसभालाई सम्बोधन गर्न पोखरा आइपुगेका प्रकाण्डले आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमा बोल्दै आसन्न निर्वाचन जनविरोधी भएको बताउदै वहिष्कार गरेको स्पष्ट पारे ।  ‘अहिले हुन लागेको चुनाव भनेको पाँच वर्ष क्राइम गरेका मान्छेहरुलाई सेभ साइड राख्ने र नयाँ क्राइम गर्ने जत्था तयार गर्ने भन्दा अरु केही पनि होइन, उनले भने, ‘यसले राष्ट्रघात, जनघात, कमिशन महिला बेचविखन, सामाजिक असुरक्षा भन्दा केही पनि गर्दैन भत्यसैले यसको कुनै औचित्य छैन भन्ने हाम्रो पहिलो राजनीतिक निष्कर्ष हो ।’    उनले आसन्न निर्वाचन जनघाती भएको बताउदै आम नागरिकले नै वहिष्कार गर्नुपर्ने उल्लेख गरे । ‘यो निर्वाचन जनघाती भएकाले यसलाई जनताले पिसफुल्ली रिजेक्ट गर्नुपर्छ, उनले भने, ‘नत्र यसले के देखिन्छ भने पाँच वर्ष लुट भनेर पठाएको जस्तै हुन्छ ।’   उनले संसद विदेशीको चलखेलको अखडा मात्रै बनेको बताए । ‘नेपालको संसदको हालत एमसिसी पास हुदा देखिइयो, त्यसकारण नेपालको संसद साम्राज्यवादको चाटुकार भन्दा अरु केही भएन । विदेशीको दलाल र अखडा भन्दा अरु केही भएन । त्यसैले हामीले यो चुनावको अर्थ र औचित्य छैन भनेर खारेजीको नीति अगाडि सारेका हौं ।’   नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीको जनसभा भोलि (बुधबार) पृथ्वीचोकमा आयोजना हुने बताइएको छ भने र्याली अमसिँहचौरदेखि सुरु गरिने जिल्ला समिति कास्कीले जनाएको छ ।  

पोखरा:  कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले पोखरालाई खेलकुदको राजधानी बनाउने प्रतिवद्धता जनाएका छन् ।  खेल पर्यटनको माध्यमबाट पोखरालाई खेलकुदको राजधानी शहरको रुपमा विकास गर्न पहल गर्दै अन्तराष्ट्रिय क्रिकेट मैदान सम्पन्न गर्ने बताएको छ । साथै मौजाको हाई अल्टिट्युड खेल मैदान सम्पन्न गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरको छ ।  खेलसँगै उनीहरुले प्रतिवद्धता पत्रमा पोखरा अन्तराराष्ट्रिय विमानस्थल संचालन भएपश्चात हाल संचालनमा रहेको विमानस्थलमा अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्र एंव अन्तराष्ट्रिय स्तरको बोटानिकल गार्डेन निर्माण एंव फ्लाईङ स्कुल जस्ता परियोजना संचालन गर्न तत्काल डिपिआर तयार गरि कामको थालनी गर्ने जनाएको छ ।  पोखरा ल्याण्डफिल्ड साईडलाई व्यवस्थापन गरी निर्माणको अन्तिम अवस्थामा रहेको पोखरा अन्तराष्ट्रिय विमानस्थललाई यथाशक्य छिटो संचालन गर्न विशेष पहल गरिन उनीहरुले प्रतिवद्धता जनाएका छन् । पृथ्वीचोकमा सिटी बसपार्क, लामेआहालमा आधुनिक बसपार्क र छोरेपाटन एंव हेमजामा इन्ट्रान्स बसपार्क बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।  यस्तै पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग तथा पोखरा बाग्लुङ राजमार्गको स्तरोन्नती गरी प्रभावितलाई उचित मुआब्जा दिलाउन पहल गर्नुका साथै पुष्पलाल मध्येपहाडी लोकमार्ग एंव कोरोला जोमसोम देखी त्रिवेणी भैसालोटन सम्मको निर्माणाधिन लोकमार्गलाई छिटो सम्पन्न गर्न पहल गर्ने बताएका छन् । केरुङ पोखरा लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन गरी डिपिआर बनाई निर्माण कार्य गर्नका लागि सम्बन्धित निकायमा पहल गर्ने र काठमाण्डौ–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्रयाक बनाउन पहल उनीहरुले प्रतिवद्धता जनाएका छन् । पोखरा क्षेत्रमा चक्रपथ निर्माण एंव बाहिरी चक्रपथको अध्ययन सुरु गर्न पहल गरिने उल्लेख छ ।  भरतपोखरी, निर्मलपोखरी, कृस्ती हुदैँ कुभिन्डेसम्मको वैकल्पिक राजमार्ग सक्न पहल गर्ने र ट्राफिक व्यवस्थापनको लागि बहुआयामिक सुविधासम्पन्न पार्किङ स्थल निर्माण, निजी साझेदारीमा बेसमेन्ट पार्किङ संचलन गर्ने महानगरिय योजनालाई सहयोग गर्ने घोषणा पत्रमा उल्लेख छ ।  खानेपानी प्रणालीलाई बहुसरोकारवाला परियोजना मार्फत व्यवस्थित गरी सबै गाउँ बस्ती र नागरिकसम्म प्रर्याप्त र गुणस्तरिय खानेपानीको सहज पहुँच पुर्याइने छ । 

भोजपुर: आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भोजपुरमा चुनावी सरगर्मी बढेको छ । चुनावी प्रचारमा साहित्यकार र कलाकारहरुको टोली भोजपुर आइपुगेको छ ।  योजना आयोगका पूर्वसदस्य डा शिवकुमार राई, भूपूगोर्खा सैनिक सङ्घ गेसोका अध्यक्ष कृष्णकुमार राई, उपाध्यक्ष मनिकुमार राई, वरिष्ठ कवि तथा गीतकार भूपाल राई, मदन पुरस्कार विजेता वरिष्ठ आख्यानकार तथा गीतकार राजन मुकारुङ, सङ्गीतकार पारस मुकारुङ, गायक भीषण मुकारुङ, गीतकार शुभ मुकारुङ, गायिका बबिना राई, गायक तथा हास्यकलाकार हिरण राई, गायक रवीन्द्र राई लगायतको टोली चुनावी कार्यक्रममा सहभागी भएका हुन् ।  भोजपुरे जनताले विकास र समृद्धिको बाटोमा लाग्ने जुझारु उम्मेदवारहरु अघि सारेका कारण ती उम्मेदवारका पक्षमा मत माग्न भोजपुर आएको उहाँहरुको भनाइ छ । उहाँहरुले गीतसङ्गीत, कविता, लेख, विभिन्न सामाजिक सञ्जालहरुको माध्यमबाट मत माग्दै अहिले भौतिकरुपमा नै जनताको घरदैलोमा पुगी गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न आह्वान गरिरहनुभएको छ ।       भोजपुरमा गठबन्धन दलका तर्फबाट प्रतिनिधिसभाका लागि सुदन किराती, प्रदेशसभा (१) का लागि प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई र प्रदेशसभा (२) तर्फ कांग्रेस भोजपुर सभापति विनोद राई उम्मेदवार रहनुभएको छ । नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभाका लागि प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राई, प्रदेशसभा (१) का लागि केन्द्रीय सदस्य हरिबहादुर र प्रदेशसभा (२) मा प्रदेश कमिटी सदस्य खड्गबहादुर कार्की चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।   भोजपुरमा प्रतिनिधिसभा निर्वाचनका लागि १२, प्रदेशसभा (१) मा सात र प्रदेशसभा (२) मा छ गरी २५ जना चुनावी मैदानमा हुनुहुन्छ । भोजपुरमा ६४ हजार एक सय २५ पुरुष, ५९ हजार दुई सय ५३ महिला र अन्य एक गरी कूल एक लाख २३ हजार तीन सय ७९ मतदाता छन् ।

पोखरा:  पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की क्षेत्र १ (ख) का दिपक गुरुङले ‘माइला’ ले अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने र भूमिहीन सुकुम्बासीलाई लालपूर्जा उपलब्ध गराउने बताएका छन् । मंगलबार पोखरा–१४ मा मतदाता भेटघाट कार्यक्रम र घरदैलो कार्यक्रममा उनले सुकुम्बासीका समाधान गर्ने बताए । ‘सुकुम्बासीका समस्या अध्ययन गरेर स्थायी रुपमै ती समस्या समाधान गर्नेछु,’ उनले भने, ‘पहिला हजुरले प्रदेश सांसद बनाएर पठाउनुहोस् ।’ उनले जनताको सेवाका लागि राजनीतिमा आएको सुनाउँदै जिम्मेवारी वहन गर्ने आतुर रहेको बताए । ‘जनतालाई खुशी र सुखी बनाउनेछु,’ उनले भने, ‘स्वार्थको राजनीति गर्नु छैन मलाई । जनताले आसपास रहेर काम गर्नेछु ।’ उनले राजनीतिक पहिचान बनाउने गरी काम गर्ने प्रतिवद्वता गरेका छन् । गुरुङले मतदाताले गर्व अनुभुति गर्ने गरी आफूले काम गर्ने उल्लेख गरे । उनले राजनीतिमा अनुशासन, मर्यादा र शुद्वता आवश्यक रहेको जनाउँदै वर्तमान शिक्षा व्यवस्थामा परिवर्तन गरी शिक्षालाई उद्यमशीलतासँग जोड्नुपर्ने विचार राखे । कृषि, पर्यटन, शिक्षा, बेरोजगारीको अन्त्य र आयात प्रतिस्थापन गर्ने योजना र नीति बनाउन भूमिका निर्वाह गर्ने उनको भनाइ छ । ‘सामुदायिक विद्यालयलाई नीजि विद्यालयको सरहको सुविधा दिइनेछ,’ उनले भने, ‘जनसंख्या, भूगोल र आवश्यकताका आधारमा आवासीय विद्यालय सञ्चालनको पहल गर्नेछु ।’ वर्तमान बजारले खोजका जनशक्ति उत्पादनमा शिक्षण संस्थालाई सिकाई केन्द्रका रुपमा विकास गर्ने उनले सुनाए । ‘सामुदायिक विद्यालयमा न्यूनतम तहको प्राविधिक पढाईका लागि पहल गर्नेछु,’ उनले भने ।