काठमाडौं:     नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सिङ्गो पार्टी एकताबद्ध भएर सङ्गठन सुदृढीकरणसहित जनतामाझ जानुपर्ने खाँचो औँल्याउनुभएको छ ।  नेपाली कांग्रेसकातर्फबाट स्थानीय तह उपनिर्...

काठमाडौं :  आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिट बाँडफाँटको टुङ्गो लगाउन सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ ।    प्रधानमन्त्री निवास बालुवाटारमा पाँचदलीय सत्ता गठबन्धनबीच आपसी सिट बाँडफाँटका विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्षनेताको बैठक सुरु भएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिनुभयो ।   प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा भएको बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र जनमोर्चाका शीर्षनेताको सहभागिता छ ।   यसैगरी प्रधानमन्त्री निवास बालुवाटारमै पार्टीको आन्तरिक छलफलका लागि कांग्रेसका पदाधिकारीको छुट्टै बैठक बसिरहेको सो पार्टीले जनाएको छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि बन्दसूची सच्याउने अन्तिम म्याद र प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने समय नजिकिँदै गर्दा दलहरू छलफलमा जुटेका हुन् । 

काठमाडौं  :  निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि आज (असोज १२ गते बुधबार)देखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने भएको छ ।   आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी दिँदै आचारसंहिताको कार्यान्वयन र पालना गर्न सबैको सहयोगको अपेक्षा गरिएको बताउनुभयो । आयोगले गत भदौ १३ गते उक्त आचारसंहिता नेपाल राजपत्रमा प्रकाशन गरेको थियो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयमुक्त र पारदर्शी वातावरणमा सम्पन्न गर्नका लागि आयोगले आचारसंहिता जारी गर्ने गरेको छ ।    आचारसंहितामा दलहरु, उम्मेदवार, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका पदाधिकारी, कर्मचारी, सञ्चारमाध्यम र विभिन्न निकायहरुले पालना गर्नुपर्ने दायित्व निर्धारण गरिएको छ । निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची पेस गर्ने कार्यक्रम सम्पन्न भइसकेको छ ।

  काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बताउनुभएको छ । गृहजिल्ला तनहुँको दमौलीमा आज उद्योगी व्यवसायीसँग आयोजित अन्तक्र्रियामा वरिष्ठ नेता पौडेलले देशको नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा रहेको बताउनुभयोे ।       “कार्यकारी पदमा रहेर काम गर्ने इच्छाशक्ति र सहास मसँग छ”, पौडेलले भन्नुभयो, “मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँबाट उम्मेदवार बन्ने भएकाले मलाई यसपटक सहयोग गर्नुहोस् ।” वरिष्ठ नेता पौडेलले कांग्रेसको १४औँ महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवाले भेटेर देशलाई तपाईको आवश्यकता छ, स्वास्थ्य ठीक राख्नुस् भनेको स्मरण गर्नुभयो ।       निर्वाचनको दिन नजिकिँदै गरेकाले कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनका उम्मेदवारलाई विजयी गराउने हिसाबले तयारी गर्न पौडेलले आग्रह गर्नुभयो । “गठबन्धन देशको आवश्यकता हो, संविधान र लोकतन्त्र बचाउनका लागि गठबन्धन गरेका हौँ, गठबन्धनलाई सफल बनाउनुपर्छ”, उहाँले भन्नुभयो । कांग्रेसभित्रका नेताहरुलाई पनि व्यवस्थापन गरेर निर्वाचनमा जाने पौडेलको भनाइ थियो ।      छलफलमा सहभागी व्यवसायीले जिल्लामा ठूलो उद्योग स्थापना गर्नेतर्फ ध्यान दिन पौडेलको ध्यानाकर्षण गराउनुभयो । जनताका कुरा सुन्न सधैँ जनताका माझ जानुपर्ने बताउँदै व्यवसायीले तनहुँमा कांग्रेसका नेताबीच देखिएको बेमेलले कांग्रेस कमजोर रहेको बताएका थिए ।

 काठमाडौं: समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची छानविन गरी आबश्यकता अनुसार सच्याउनलाई दलहरुलाई सूचित गर्न निर्वाचन आयोगले निर्धारण गरेको समयाबधी आज सकिदैछ ।     गत ४ गतेदेखि आजसम्म बन्दसूची सच्याउनलाई सूचित गर्ने निर्णय आयोगले गरेको थियो । आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले बुझाएको उम्मेदवारको बन्दसूची संशोधन गर्न सात दिनको समय दिने निर्णय पनि गरेको थियो ।     त्यसअनुसार अब आयोगले बन्दसूची संशोधन गरी पेश गर्न भोलि देखि १६ गतेसम्मको समय निर्धारण गरेको छ । २२ गते आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तरगतका उम्मेद्वारको अन्तिक नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरेको छ ।     बन्द सूचीको छानवीनका क्रममा त्रुटी देखिएपछि केही दललाइ बन्द सूची सच्याउन आयोगले पत्रचार गरिसकेको छ । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ४८ राजनीतिक दलले उम्मेदवारको बन्दसूची बुझाएका छन् ।

काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आउँदो मङ्सिर ४ गते हुने आमनिर्वाचनलाई दृष्टिगत गर्दै निर्वाचन केन्द्रीय निर्वाचन परिचालन समितिलाई पूर्णता दिएको छ ।   पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गठन गरिएको उक्त समितिमा पूर्वअध्यक्ष लोकेन्द्रबहादुर चन्द, पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनी, कार्यसम्पादन समितिका सदस्य, पदाधिकारी, सात प्रदेशका अध्यक्ष, केन्द्रीय सदस्य तथा विभागीय प्रमुखहरूलाई समावेश गरिएको नेता सुन्दर पाण्डेले जानकारी दिनुभयो ।   यसैगरी प्रदेश अध्यक्षको संयोजकत्वमा प्रदेश निर्वाचन परिचालन समिति र जिल्ला अध्यक्षको संयोजकत्वमा जिल्ला निर्वाचन परिचालन समिति गठन गरिएको छ । निर्वाचन आर्थिक समिति, केन्द्रीय निर्वाचन प्रचार समिति र भ्रातृ सङ्गठन परिचालन समितिसमेत गठन गरिएको छ ।   बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार छनोट गर्न सम्बन्धित प्रदेशका जिल्लासँग समन्वय गरी सुझाव पेश गर्ने जिम्मेवारी प्रदेश अध्यक्षहरूलाई दिइएको छ । नेता पाण्डेका अनुसार पार्टीले मुलुकमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणका लागि वैचारिक दृष्टिकोणले निकट तथा समान आदर्श बोकेका सङ्घसंस्थालाई एकता तथा सहकार्यका लागि आग्रह गरेको छ ।  

नुवाकोट:  तोकिएको समयसीमाभित्र निर्वाचन खर्च विवरण नबुझाउने नुवाकोटका उम्मेदवारहरूबाट करिब रु ३० करोड जरिवाना असुल हुने भएको छ ।   निर्वाचन आयोगले हालै सार्वजनिक गरेको समयमा निर्वाचन खर्च विवरण नबुझाउने जिल्लाका १ हजार ६ सय ९४ जना उम्मेदवारबाट रु २० करोड ९७ लाख ५० हजार जरिवाना असुल गर्नुपर्ने जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिनुभयो ।   उहाँका अनुसार विदुर नगरपालिकामा प्रमुख पदका छ र उपप्रमुख पदका पाँच छन् । बेलकोटगढीमा प्रमुख र उपप्रमुख पदका पाँच–पाँच गरेर दश उम्मेवारलाई जरिवाना तोकिएको छ ।   नगरपालिकाका प्रमुख र उपप्रमुखले जनही रु चार लाख ५० हजार तिर्नुपर्ने भएकाले निर्वाचन खर्च विवरण नबुझाएका २१ जनाबाट कुल रु ९४ लाख ५० हजार जरिवाना असुल गर्नुपर्ने देखिएको छ ।   नगरपालिकाको वडाध्यक्ष र वडा सदस्य पदका उम्मेदवार भएर समयमा निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारको सङ्ख्या चार सय २७ छन् ।   उनीहरूलाई निर्वाचन आयोगले जनही रु दुई लाख जरिवाना तिनुपर्ने निर्णय गरेको छ । आयोगको निर्णयानुसार नगरपालिकाको वडाध्यक्ष र सदस्य पदका उम्मेदवारबाट रु आठ करोड ५४ लाख असुल गर्नुपर्ने देखिन्छ ।   यस्तै गाउँपालिकातर्फ जिल्लामा रहेको १० गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदका ९० उम्मेदवारले निर्वाचन खर्च विवरण समयमा नुबझाएकाले जरिवानामा परेका छन् । उनीहरूबाट जनही रु तीन लाख ५० हजारका दरले रु तीन करोड १५ लाख असुल गर्नुपर्ने जिल्ला निर्वाचन अधिकारी गौतमले जानकारी दिनुभयो ।   यस्तै गाउँपालिकाको वडाध्यक्ष र वडासदस्य पदका उम्मेदवार भएर समयभित्र खर्च विवरण नबुझाएका उम्मेदवारको सङ्ख्या जिल्लाभरमा एक हजार एक सय ५६ जना छन् ।   उनीहरूलाई निर्वाचन आयोगले जनही रु एक लाख ५० हजार जरिवाना लाग्ने निर्णय गरेको छ ।   आयोगको निर्णयाअनुसार गाउँपालिकाका वडाध्यक्ष र वडासदस्य पदका उम्मेदवारबाट रु १७ करोड ३४ लाख जरिवाना असुल गर्नुपर्ने देखिन्छ । गत वैशाख ३० मा सम्पन्न भएको निर्वाचनको खर्च विवरण निर्वाचनको मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र बुझाउनुपर्ने भनिएको थियो ।   उक्त अवधिमा खर्च विवरण नबुझाउने सूचीमा निर्वाचित जनप्रतिनिधिसमेत उल्लेख्य सङ्ख्यामा रहेका छन् । जरिवानाको निर्णय गरेको छ महिनाभित्र भुक्तानी गरिसक्नुपर्ने जनाएको छ । निर्वाचित पदाधिकारीले उक्त अवधिमा भुक्तानी नगरे स्वतः पद जाने निर्णय भएकाले खर्च विवरण बुझाउन चासो नदिए पनि जरिवाना शुल्क भने समयमै दाखिला हुने विश्वास लिएको जिल्ला निर्वाचन अधिकारी गौतमले बताउनुभयो ।   उहाँको अनुसार निर्वाचन आयोगले गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनको उम्मेदवारहरूको नामावली अहिले सार्वजनिक गरेको हो । “कार्यपालिका र जिल्ला समन्वय समितिका अधिकांश उम्मेदवारले पनि खर्च विवरण बुझाउन बाँकी छ”, गौतमले भन्नुभयो, “उनीहरूको हकमा के हुने भन्ने आयोगबाट निर्णय हुन बाँकी छ ।”   नुवाकोटमा स्थानीय तह निर्वाचनअन्तर्गत पालिका तह, पालिकाको कार्यपालिका सदस्य र जिल्ला समन्वय समितिसमेत गरेर तीन चरणको निर्वाचनमा दुई हजार एक सय ७३ जनाले उम्मेदवारी दिएका थिए ।   त्योमध्ये तोकिएको समयभित्र खर्च विवरण बुझाउनेको सङ्ख्या तीन सय १२ जना मात्र रहेको थियो ।

काठमाडौँ- प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ४८ राजनीतिक दलले उम्मेदवारको बन्दसूची बुझाएका छन् । आयोगले आज देखि नै बन्दसूचीको छानबिन प्रक्रिया सुरु गरेको छ ।     प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ४८ राजनीतिक दलले उम्मेदवारको बन्दसूची बुझाएका छन् । आयोगले दलहरूलाई आइतबार र सोमबार बन्दसूची पेस गर्न समय दिएको थियो ।     आइतबार चार दलले बन्दसूची पेस गरेकामा बाँकी ४४ दलले सोमबार बन्दसूची बुझाएका हुन् । समानुपातिकतर्फ निर्वाचन आयोगमा ६८ दल दर्ता भएकामा ४८ दलले उम्मेदवारको बन्दसूची पेश गरेको समानुपातिक निर्वाचन प्रणालीतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिनुभयो ।     उहाँका अनुसार प्रदेशसभातर्फ प्रदेश १ मा ५५ राजनीतिक दल दर्ता भएकामा ३६ दलले बन्दसूची बुझाएका छन् । यो प्रदेशमा समानुपातिकतर्फ ३७ जना प्रदेशसभा सदस्य निर्वाचित हुनेछन् ।     मधेस प्रदेशमा ५९ राजनीतिक दल दर्ता भएकामा ३६ दलले बन्दसूची बुझाएका छन् ।यो प्रदेशमा समानुपातिकतर्फ ४३ जना प्रदेशसभा सदस्य निर्वाचित हुनेछन् ।     बागमती प्रदेशमा ५८ राजनीतिक दल दर्ता भएकामा ४१ दलले बन्दसूची बुझाएका छन् । यो प्रदेशमा समानुपातिकतर्फ ४४ जना प्रदेशसभा सदस्य निर्वाचित हुनेछन् ।     समानुपातिकतर्फ २४ जना प्रदेशसभा सदस्य निर्वाचित हुने गण्डकी प्रदेशमा ३१ राजनीतिक दलले उम्मेदवारको बन्दसूची बुझाएका छन् । यो प्रदेशमा ५२ राजनीतिक दल दर्ता भएका थिए ।     यसैगरी लुम्बिनी प्रदेशमा ५४ राजनीतिक दल दर्ता भएकामा ३२ दलले बन्दसूची बुझाएका छन् । यो प्रदेशमा समानुपातिकतर्फ ३५ जना प्रदेशसभा सदस्य निर्वाचित हुनेछन् ।     समानुपातिकतर्फ १६ जना प्रदेशसभा सदस्य निर्वाचित हुने कर्णाली प्रदेशमा २८ राजनीतिक दलले उम्मेदवारको बन्दसूची बुझाएका छन् । यो प्रदेशमा ४९ राजनीतिक दल दर्ता भएका थिए ।     यस्तै सुदूरपश्चिम प्रदेशमा ५० राजनीतिक दल दर्ता भएकामा ३४ दलले बन्दसूची बुझाएका छन् । यो प्रदेशमा समानुपातिकतर्फ २१ जना प्रदेशसभा सदस्य निर्वाचित हुनेछन् । आयोगले अब मंगलबारदेखि नै बन्दसूचीको छानबिन प्रक्रिया सुरु गर्ने छ​।   समानुपातिक निर्वाचन प्रणालीतर्फका प्रवक्ता वाग्लेका अनुसार मंगलबारदेखि आगामी ९ गतेसम्म बन्दसूची सच्याउन समय दिने निर्णय आयोगले गरेको छ । आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले बुझाएको उम्मेदवारको बन्दसूची संशोधन गर्न सात दिनको समय दिने निर्णय यसअघि नै गरिसकेको छ ।     आयोगले बन्दसूची संशोधन गरी पेश गर्न असोज १० देखि १६ गतेसम्मको समय निर्धारण गरेको छ । आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम तय गरेको छ ।।

काठमाडौं  :  आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको बन्द सूची बुझाउने क्रम सुरु भएको छ ।   सो प्रणालीका लागि आयोगको बहादुरभवन, कान्तिपथमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बन्दसूची बुझाउने क्रम सुरु भएको हो । उक्त सूची बुझाउन असोज २ र ३ गतेका लागि आयोगले समय निर्धारण गरेकाले आज पहिलो दिन ठला दलबाहेक केही दलबाट मात्रै बुझाउने क्रम सुरु भएको छ ।    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधिसभा, प्रदेशसभाका लागि सूची बुझाउन आठ स्थल र १० कक्ष व्यवस्था गरी तम्तयारी अवस्थामा आयोग रहेको बताउनुभयो ।   आयोगले सो प्रणालीका लागि सचिव गोकर्णमणि दुवाडीलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । गत प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको कार्यकाल यही असोज १ गते राति १२ बजेदेखि स्वतः कायम नरहने स्पष्ट भएपछि प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल समाप्त भएको छ ।

निर्वाचन आयोगले आज र भोलीसम्म समानुपातिक सूचि बुझाउने म्याद तोकेपछि यतिबेला राजधानीमा दुबै पार्टीका केन्द्रीय नेताहरु बैठकमार्फत उम्मेदवारको नाम टुंग्याउन जुटेका छन् ।   टिकट हात पार्न शक्तिकेन्द्र धाउनेमा अधिकांश कांग्रेसबाट समानुपातिकमा सिफारिशमा परेकाहरु रहेका छन् । त्यसो त कास्की कांग्रेसका सभापति किशोरदक्त बरालले यहाँबाट सिफारिश गरिएका नामबाटै उम्मेदवारको अन्तीम सूची तयार हुने दाबी गरेका छन् ।    अध्यक्ष बरालको दाबीलाई पत्याइहाल्ने सम्भावना भने छैन । यसअघिको उदाहरण हेर्दा जिल्लाबाट पठाइएको नाममा केन्द्रले आफुखुशी परिमार्जन गरेपछि अहिले ८० प्रतिशतभन्दा बढी समानुपातिकमा नाम परेकाहरु राजधानी हान्निएका छन् ।    कास्कीबाट पठाइएका नाममा उनीहरुको योगदान र कामको मूल्यांकनको आधारमा सिफारिश गरिएको बरालले बताएपनि सिफारिशमा परेकाहरुले विश्वास नगर्दा अधिकांश आकांक्षी राजधानी पुगेका हुन् ।      यसविषयमा कास्की कांग्रेसका एक नेताले यतिउति भन्ने नसकिने भन्दै करिब–करिब सबै राजधानी पुगेको उल्लेख गरे । ‘८० प्रतिशत सिफारिश भएकाहरु पुगिसके’ उनले भने, ‘बचेखुचेका पनि अहिले जाने तयारीमा छन्, रातिसम्म सबै पुग्लान् ।’   सोहीक्रममा उनले कुनैपनि एंगलबाट टिकट नपाउनेहरु पनि राजधानी हान्निएको जनाए । ‘कतिपय साथीहरु जो वडामै हारेका छन्, उनीहरु पनि एक्सपोजरकालागि पुगेका छन्’ उनले भने ‘केही साथीहरु आफुले पाउने निश्चित भएकाले राजधानी नगए अरुको हातमा पर्ला भनेर पनि गएका छन् ।’   ‘यद्यपि, अधिकांश साथीहरु चर्चा कमाउने लोभमा पुगेका छन्’ उनले ठोकुवा गरे ।    टिकट पाउन लालयितहरु सभापतिको नजिक पर्ने प्रयास गरिरहेका बेला विद्यार्थी राजनीति, प्रेस युनियन हुँदै जिल्लामा पुगेका नवीन सिग्देलले राजधानी जानैपर्ने ट्रेन्ड चलेकोमा दुखी भएको प्रतिक्रिया दिएका छन् ।    उनले पनि अधिकांश साथीहरु राजधानी पुगेको खबर पाएको सुनाउँदै आफु भने टिकटकै लागि केन्द्र नधाउने उल्लेख गरे । यसअघि ‘टिकट माग्न म काठमाण्डौं आउँदिन’ भन्दै राष्ट्रिय मिडियामा लेख प्रकाशित गरेको भन्दै सिग्देलले पार्टीबाट आफ्नो मूल्यांकन हुनेमा विश्वस्त रहेको प्रतिक्रिया दिए ।    सिग्देल कास्की १ ‘ख’बाट प्रदेशसभामा प्रत्यक्षतर्फ सिफारिश छन् ।    कास्की कांग्रेसले दिएको जानकारी अनुसार यहाँबाट सिफारिश नामहरु सोही ढाँचा अनुसार सूचीमा नपर्न पनि सक्ने सम्भावना छ । गठबन्धनसँगै निर्वाचनमा जाने भएकाले कंग्रेसले कहाँबाट कति उम्मेदवार पाउँछ भन्न नसकिने अवस्था रहेको बताइएको छ ।    त्यस्तै, संघमा सिफारिश भएका जीवन परियार स्वयं समानुपातिकमा बस्न इच्छुक भएकाले यहाँबाट सिफारिश नामहरु तलमाथि पर्ने सम्भावन उच्च छ । स्रोत भन्छ ‘जोसुकैको नाम सरुवा–बढुवा’ हुने सम्भावना प्रबल छ ।’   यता, एमाले कास्कीले प्रदेश र प्रतिनिधिसभामा १ सय ३० जनाको नाम सिफारिश गरेको छ । जसमध्ये प्रतिनिधिसभामामात्रै २८ जना सिफारिश गरिएको एमाले कास्की सचिव बैनबहादुर क्षेत्री बताउँछन् ।    क्षेत्रीका अनुसार एमाले पनि अहिले बैठकमै व्यस्त रहेको र आज साँझसम्म सूची तयार हुनेछ ।    ‘यहाँबाट सिफारिश नाममध्येबाटै छनोट होला वा केन्द्रीय तजबीजमा होला ? भन्ने प्रश्नमा सचिव क्षेत्री भन्छन् ‘यहीबाटै सिफारिश नाम नै प्राथमिकतामा पर्छ तर स्थानीय निर्वाचनलाई हेर्ने हो भने त्यसो नभएको पाइयो ।’    उनका अनुसार स्थानीय निर्वाचनमा भूतपूर्व उपमेयर मञ्जु गुरुङ्को नाम कतै सिफारिश नगरिएपनि केन्द्रले पुनः उनलाई नै उठाएको थियो । यहाँबाट नाम सिफारिश गरिएपनि ‘अपानी’मा यही सिफारिश नाममात्रै हो भनेर नबुझ्न भनिएकाले एमालेबाट पनि ठ्याक्कै को पर्ला भनेर यकिन गर्न सक्ने अवस्था छैन ।    त्यस्तै, केन्द्रले नै आफै कुनै नयाँ नाम सूचीमा समावेश गरी बुझाउन सक्ने सम्भावना पनि रहेको छ । कास्कीबाट पनि टिकटका आकांक्षी राजधानी पुगेका छन् ।    तर सबै टिकटकालागि नै पुगेका हुन् भन्न चाहँदैनन् सचिव क्षेत्री । ‘एउटा संयोग पनि हुनसक्छ, तर टिकटै हात पार्न साथीहरु राजधानी जानु भएको होइन’ क्षेत्रीले बचाउ गरेका छन् ।    उनका अनुसार अन्य पार्टीमा जस्तो एमालेको कुनै ग्रुप छैन । उनले भने, ‘यति ठूलो माहौलमा साथीहरु पार्टी कार्यालयमा पुग्न, नेतागण भेट्नु सामान्य हो ।’   हालसम्म एमाले र कांग्रेस कास्कीबाट कसले टिकटमा बाजी मार्ला, यसै भन्न सकिन्न । यसको नतीजा पाउने भोलीसम्म कुर्नैपर्छ । यद्यपि, यहाँबाट सिफारिशमा परेका नामहरुमात्रै पछर््न भन्नेमा आशंका छ ।