पोखरा: पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की क्षेत्र १ (ख) का दिपक गुरुङले ‘माइला’ ले अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने र भूमिहीन सुकुम्बासीलाई लालपूर्जा उपलब्ध गराउने बताएका छन् । मंगलबार पोखरा–१४ मा मतदाता भेटघाट कार्यक्रम र घरदैलो कार्यक्रममा उनले सुकुम्बासीका समाधान गर्ने बताए । ‘सुकुम्बासीका समस्या अध्ययन गरेर स्थायी रुपमै ती समस्या समाधान गर्नेछु,’ उनले भने, ‘पहिला हजुरले प्रदेश सांसद बनाएर पठाउनुहोस् ।’ उनले जनताको सेवाका लागि राजनीतिमा आएको सुनाउँदै जिम्मेवारी वहन गर्ने आतुर रहेको बताए । ‘जनतालाई खुशी र सुखी बनाउनेछु,’ उनले भने, ‘स्वार्थको राजनीति गर्नु छैन मलाई । जनताले आसपास रहेर काम गर्नेछु ।’ उनले राजनीतिक पहिचान बनाउने गरी काम गर्ने प्रतिवद्वता गरेका छन् । गुरुङले मतदाताले गर्व अनुभुति गर्ने गरी आफूले काम गर्ने उल्लेख गरे । उनले राजनीतिमा अनुशासन, मर्यादा र शुद्वता आवश्यक रहेको जनाउँदै वर्तमान शिक्षा व्यवस्थामा परिवर्तन गरी शिक्षालाई उद्यमशीलतासँग जोड्नुपर्ने विचार राखे । कृषि, पर्यटन, शिक्षा, बेरोजगारीको अन्त्य र आयात प्रतिस्थापन गर्ने योजना र नीति बनाउन भूमिका निर्वाह गर्ने उनको भनाइ छ । ‘सामुदायिक विद्यालयलाई नीजि विद्यालयको सरहको सुविधा दिइनेछ,’ उनले भने, ‘जनसंख्या, भूगोल र आवश्यकताका आधारमा आवासीय विद्यालय सञ्चालनको पहल गर्नेछु ।’ वर्तमान बजारले खोजका जनशक्ति उत्पादनमा शिक्षण संस्थालाई सिकाई केन्द्रका रुपमा विकास गर्ने उनले सुनाए । ‘सामुदायिक विद्यालयमा न्यूनतम तहको प्राविधिक पढाईका लागि पहल गर्नेछु,’ उनले भने ।
पोखराः समय सँधै एकनासको कहाँ हुँदोरहेछ र ! झन् राजनीतिमा थुप्रै वक्ररेखा हुँदा रहेछन् । यस्तै भएको छ कास्कीको क्षेत्र नम्बर १ (क) मा । अघिल्लो पटक वाम गठबन्धनमार्फत नेकपा एमालेकै भोट पाएर जितेका नेकपा माओवादी केन्द्रका दिपक कोइराला यसपटक एमाले विरुद्ध चुनावी मोर्चामा छन् । अझ रोचक त ०७४ मा कोइरालाले हराएका नेपाली कांग्रेसका प्रतिष्पर्धी जीवन परियार यतिबेला कोइराला जिताउन चुनावी प्रचारमा अहोरात्र खटिएका छन् । त्यसबेला कोइरालालाई जिताउन हालका एमाले उम्मेदवार खगराज अधिकारीको चुनावी रणनीतिले काम गरेको थियो । तर उनै अधिकारी अहिले प्रदेशमा कोइरालासँग भिड्दैछन् । सतहमा हेर्दा एमालेका अधिकारी बलिया देखिएका छन् । केन्द्रमा पहुँच बनाएका नेता र २ पटक मन्त्री भइसकेको उनको छविले धेरै हदसम्म काम गरेको छ । सोही कारण स्थानीय मतदातालाई अधिकारीले जिते योजना र बजेट ल्याउँछन् भन्ने छ । त्यस्तै, एमालेका अध्यक्ष केपि ओलीले गण्डकीको मुख्यमन्त्रीकारुपमा अधिकारीलाई केन्द्रबाट प्रदेशमा झारेका हुन् भन्ने विश्वासले पनि काम गरेको छ । मिडिया र पत्रकारसँग बोल्दा केही ठाडो शैलीमा प्रस्तुत हुने अधिकारी आफ्नो क्षेत्रमा भने नरम शैलीले प्रस्तुत हुने गर्दछन् । यद्यपि, अधिकारीले जित्ने सम्भावनालाई उल्लेख गरिरहँदा सत्ता गठबन्धनबाट चुनौती दिइरहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार दिपक कोइरालालाई कम आँक्न मिल्दैन । ‘कोइरालाजीले जित्नुहुन्छ, हामी जिताएर देखाइदिन्छौं’ चुनावी ¥यालीमा व्यस्त कांग्रेसका एक कार्यकर्ताले ठोकुवा गरे । कार्यकर्ताको ठोकुवासँगै कोइराला ‘युवा’ हुन् । राजनीतिमा युवाले हस्तक्षेप गर्नुपर्छ, भन्ने पछिल्लो सोंच अनुसार कोइरालालाई फाइदा पुग्न सक्छ । यसैगरी, प्रदेशसभामा सांसद रहेका कोइराला विवादरहित नेता हुन् । कास्कीमा माओवादीलाई भोट हाल्न कुनै कांग्रेसको हात काम्दैन भने त्यो उम्मेदवार हुन् कोइराला । चुनावी प्रचारका दौरान रेल र पानीजहाज हैन, खानेपानी र सिंचाइको विकास गर्छु भन्दै आएका कोइरालाकालागि साना मुद्दा उठाइरहँदा ग्रामीण परिवेशमा प्रभावकारी बन्न सक्छ । खेलकुद क्षेत्रमा काम गरेका कोइरालाले भण्डारढिक रंगशाला स्तरोन्नतीको एजेण्डाबाट पनि युवाहरुको मत तान्ने सम्भावना रहेको छ । पोखरा महानगरभित्र ६ वटा वडा रहेपनि प्रायः वडाहरु नगर भनिन लायकको नहुँदा यस क्षेत्रमा भौतिक पुर्वाधारकै मुद्दा बिकाउ मेटेरियल हुन् । कृषिमा व्यस्त जनसंख्या र बिस्तारै नगोन्मुख हुँदै गएको यस चुनावी क्षेत्रमा रुपा गाउँपालिकासमेत रहेको छ । जहाँ ‘विकासे एजेन्डा’लाई नै प्राथमिकता दिइन्छ । यही बुझेर एमालेका अधिकारी पनि सोही लाइनमा छन् । अधिकारीले विशेषतः स्वास्थ्य बीमा र स्थानीय विकासमा आवश्यक पूर्वाधारलाई ५ वर्षभित्र निर्माण गर्ने दोहो¥याइरहेका छन् । अधिकारी स्थानीय निर्वाचनको नतीजाबाट तर्सिए । उनीमात्रै तर्सिएनन् सिंगो जिल्ला कमिटी नै कोमामा गएजस्तै भयो । नेपाली कांग्रेसको पेवा झैं भएको घात–अन्तर्घात एमाले कास्कीमा थाहै नपाई छि¥यो । यसमा संगठन विभाग प्रमुखसमेत रहेका अधिकारी र प्रदेशका पूर्वमुख्यमन्त्री एवं उपमहासचिव पृथ्वी सुब्बा गुरुङबीच चलेको सिंगौरीले स्थानीय निर्वाचनमा सिंङ खुस्किएपछि अहिले एमाले ब्युँतिएको छ । अन्तर्घातले दिएको परिणामबाट चेत खुलेपछि एमाले गण्डकीलाई मिलाउन अध्यक्ष ओलीले नै हस्तक्षेप गर्नु¥यो । फलतः कास्कीको टिकट वितरणमा ‘नरम–करम’ मिलाएपछि अधिकारीलाई लमजुङ्बाट गुरुङले खेल्लान् भन्ने आशंका रहेन । र, यहीबाट हौसिएका छन् अधिकारी । यसअघि केही दिन पोखराको मेयर उम्मेदवार भएर बलीको बोका बनाइएका दीपक पौडेल पनि अन्तर्घात बिर्सेर सुरुवाति दिनदेखि पार्टीको चुनावी प्रचारमा निस्किएपछि प्रफुल्लित छन् अधिकारी । यसबीच, अधिकारीले नेकपा माओवादी केन्द्रका रुपा गाउँपालिका अध्यक्ष नवराज बराललाई एमालेमा भित्र्याए । त्यस्तै, रुपा २ का माओवादी अध्यक्ष पुष्प सुवेदी र तरुण दल, कास्की सदस्य मेख लामासहितका युवालाई एमालेमा प्रवेश गराएपछि अधिकारी गमक्क परेका छन् । यो क्षेत्र अधिकारीको ‘थातथलो’ हो । सामान्यतयः निर्वाचन जित्न मतदातालाई ‘लालच’ देखाउन पनि सक्नुपर्छ । र, लालच देखाउनै प¥यो भने कोइराला भन्दा अधिकारी बढी सक्षम हुन सक्छन् । मन्त्री भइसकेका र केन्द्रमा पहुँच भएका नेतासँग बाँड्ने सपना जति हुन्छन् प्रदेशका सभासद्सँग त्यति हुँदैनन् । यसर्थ, यस दृष्टिकोणबाट कोइराला कमजोर हुनसक्छन् । तरपनि अधिकारीले जे–जस्ता रणनीति वा तिकडम चलाएपनि कोइराला जित पक्का भइसकेको विश्वासमा छन् । स्थानीय निर्वाचनमा सहभागी मतदाताले ‘धर्म’ नछाडिदिए कोइरालाको जितलाई ब्रेक लगाउन एमालेलाई गाह्रो छ । स्वयं कोइराला पनि माओवादी नेताबीच आफ्नो छवि र गठबन्धनकै मतबाट जित्नेमा ढुक्क छन् । स्थानीय निर्वाचनमा रुपा गाउँपालिकाबाट जितेर नवराज ओझाले कार्यकाल दोहो¥याए । यहाँबाट एमालेले ५ हजार ७४९ मत प्राप्त गरेको थियो । कांग्रेसको खातामा ४ हजार १३७ मत रह्यो । यहाँबाट वडा नम्बर १ अध्यक्षमा कांग्रेसको बर्चश्व रह्यो । बाँकी ६ वडामा एमालेले जित्यो । त्यस्तै, पोखरा महानगरका २६, २७, २९, ३०, ३१ र ३२ वडा यस क्षेत्रमा रहेका छन् । यहाँबाट वडा नम्बर २९ मा मात्रै एमालेले जित्न सफल रह्यो । अझ रोचक त स्वयं अधिकारीकै वडामा कांग्रेसले अध्यक्ष जितेर देखाइदियो । अधिकारीको जन्म गाउँ वडा नम्बर ३१ हो । यहाँ कांग्रेसले वडाध्यक्षसहित एक सदस्यमा जित हात पारेको छ । समग्रमा यहाँको मतान्तर न्यून रहेको छ । स्थानीय निर्वाचनमा गाउँपालिकातर्फ एमाले १ हजार ६१२ मतले अघि रह्यो भने नगर क्षेत्रमा कांग्रेसले १७ हजार ३६९ मत पाउँदा एमालेले १७ हजार ५० मत पाएको छ । यहाँ कांग्रेस ३ सय १९ मतले अघि रहेको छ । हाल वडा २६, २७ र ३२ मा गठबन्धनको स्थिति अत्यन्तै सुदृढ देखिन्छ । एमाले २९ र ३१ मा गठबन्धनमाथि हावी हुने देखिन्छ । ३० मा दुबै पक्षको जोडबल भएपनि गठबन्धनको मत केही बढी आउन सक्छ । यसर्थ, अधिकारीले जिते भने पोखराले हैन रुपाले जिताउन सक्छ । यस क्षेत्रबाट जनता समाजवादी पार्टी, जनमत पार्टी, हाम्रो नेपाली पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिष्पर्धामा छन् भने २ जना स्वतन्त्र उम्मेदवारसमेत मैदानमा छन् ।
नवलपरासी: प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले दिएको अभिमत पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले लोकतान्त्रिक गठबन्धनलाई बहुमतले विजयी गराएर लोकतन्त्र र संविधानको रक्षा गर्न समेत आग्रह गर्नुभयो । पश्चिम नवलपरासीको क्षेत्र नं १ मा लोकतान्त्रिक वाम गठबन्धनले आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र र संविधानको रक्षा गर्न गठबन्धनले निर्वाचनमा विजय हासिल गर्न आवश्यक भएको बताउनुभयो । पश्चिमनवलपरासी–१ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विनोद चौधरी उम्मेदवार रहनुभएको छ । देउवाले चौधरीलाई यस क्षेत्रबाट विजयी गराउन आग्रह गर्दै चौधरीको विजयले यस क्षेत्रको समस्या समाधान हुने आश्वासन दिनुभएको छ ।
स्याङ्जा: महिला नेतृत्व जन्माउने जिल्लाका रूपमा परिचित स्याङ्जामा दुई महिला नेतृको प्रदेशसभाको भिडन्त रोचक बनेको छ । गण्डकीका ३६ प्रदेश सभामा १४ महिलाले उम्मेदवारी रहेकोमा स्याङ्जाको क्षेत्र नं १ (क)मा नेकपा (एमाले)का सीता सुन्दास र सत्ता गठबन्धन नेकपा (माओवादी केन्द्र) का अमृता थापामगर शाक्यको भिडन्तले चर्चा लिएको छ । बाल्यकाल देखि नै राजनीतिमा खारिएका दुई नेतृ मध्ये माओवादी केन्द्रका थापा गण्डकीको प्रदेशसभामा पार्टीको उच्च तहको नेता स्थायी समिति सदस्य रहनुभएको छ भने एमाले नेतृ सुन्दास केन्द्रीय सदस्य रहनुभएको छ । बिरुवा गाउँपालिका–३ मा २०२९ सालमा जन्मनुभएकी अमृता २०५२ देखि माओवादी जनयुद्धमा भूमिगत हुनुभएकोमा उहाँले २०६४ र २०७४ मा प्रतिनिधिसभामा सांसद बन्नुभएको थियो । २०४६ मा अनेरास्ववियुको जिल्ला सचिव, गण्डकी सदस्य भएर राजनीति यात्रा सुरु गर्नु भएका थापा रेडियो नेपालकी पूर्व समाचार बाचिका समेत रहनु भएको छ । थापा अहिले अनेमसंघ क्रान्तिकारीको केन्द्रीय अध्यक्ष समेत रहनुभएको छ । गाउँ“ बनाउने र जनताको अवस्था बदल्न म जन्मेको ठाउँ“मा चुनाव लडेको बताउँदै थापाले अन्य ठाउँमा टिकट पाउने भए पनि जन्मथलोको विकासमा चुनाव लड्न आएको बताउनुभयो । यस्तै, २०२४ साउन ५ गते पुतलीबजार नगरपालिका–७ ठूलाडिहीमा जन्मनुभएका सुन्दास २०३८ बाट अनेरास्ववियुबाट राजनीति यात्रा थाल्नुभएको हो । पार्टीका विभिन्न मोर्चामा रहँदै काम गरेका सुन्दास दलित अल्पसङ्ख्यक कोटामा नगर सदस्य हुँदै जिल्ला समन्वय समिति स्याङ्जाको निवर्तमान प्रमुख र जिल्ला समन्वय समिति महासङ्घकी निवर्तमान अध्यक्ष रहनुभएको छ । सुन्दास संविधानको मर्म र भावनाअनुरूप सङ्घ बलियो बनाउने प्रदेश बलियो बनाउने हेतुले चुनावी मैदानमा उत्रिएको बताउनुभयो । पाँच वर्ष पहिला वाम गठबन्धनमा माओवादी केन्द्रले जितेको प्रदेशमा स्थानीय तहको मतको आधारमा थापा एक हजार ९२२ मतले अगाडि रहनुभएको छ । साभार: गोरखापत्र अनलाइन
मकवानपुर: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कानुन संशोधन गरी गाँजालाई वैधानिक गराउनुपर्ने बताएका छन्। मकवानपुरको हेटौंडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले गाँजालाई वैधानिक बनाएर सदुपयोग गर्नुपर्ने भन्दै राज्यले त्यसतर्फ ध्यान दिनुपर्ने बताए। ‘नयाँ ढंगले सोच्नुपर्यो। नयाँ सोचका साथ अघि बढ्नुपर्यो। मकवानपुरको पश्चिमी क्षेत्रमा हेर्नुहोस् त, गाँजा कसरी फस्टाएको छ। त्यसलाई वैधानिक गराउनुपर्यो, सदुपयोग गर्नुपर्यो,’ उनले भने। नेपालमा उत्पादित गाँजालाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नसके देशको अर्थतन्त्र बलियो हुने उनले दाबी गरे। जनताले राप्रपालाई सरकारको नेतृत्व सुम्पिएमा भ्रष्टाचार न्युनीकरण र बेरोजगारी समस्याको समाधान गरिछाड्ने उनले दाबी गरे।
काठमाडौं: काठमाडौं क्षेत्र नम्बर ५ मा गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट टोखा नगरपालिकाको मेयरमा उम्मेदवार बन्नुभएका शेखर श्रेष्ठसहित नेता कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको छ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सोमबार टोखामा आयोजित कार्यक्रममा उहाँहरूलाई पार्टी प्रवेश गराउनुभएको हो । माओवादीका काठमाडौं जिल्ला कमिटीका सदस्य समेत रहनुभएका श्रेष्ठ २८ जना कार्यकर्तासहित एमालेमा प्रवेश गर्नुभयो । उहाँहरूलाई एक कार्यक्रमबीच एमालेमा नेता पोखरेलले स्वागत गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पोखरेलसहित निर्वाचन परिचालन कमिटीका संयोजक शान्ति अधिकारी, प्रदेश सभाका उम्मेदवार दीपक निरौला लगायतले नवप्रवेशीलाई पार्टीमा स्वागत गर्नुभयो । काँग्रेस र माओवादीबीचको गठबन्धन गलत भएकाले आफूले विद्रोह गरेको श्रेष्ठले बताउनुभयो । गत स्थानीय तहको निर्वाचनमा टोखा नगरपालिकाको मेयरमा उहाँले तेस्रो स्थान हासिल गर्नुभएको थियो । श्रेष्ठसँगै स्थानीय कार्यकर्ताहरू शेखर श्रेष्ठ, कृष्ण विक, सुरेन्द्र श्रेष्ठ, चेतबहादुर थापा, गङ्गालाल श्रेष्ठ, विनोद गौतम, नेत्रमान श्रेष्ठ, प्रकाश भण्डारी, सुनिता विष्ट, विशाल कार्की, विमल मगर, दिपेश श्रेष्ठ, रुपेश महर्जन, सीता भण्डारी, विकास थापामगर लगायत २८ जना एमाले प्रवेश गर्नुभयो । कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीमा प्रवेश गरेकाहरूलाई उचित जिम्मेवारी दिइने बताउनुभयो । एमालेको नेतृत्वमा मात्र देशको विकास सम्भव रहेको भन्दै उहाँले देशलाई माया गर्नेहरूलाई एमालेमा समाहित हुन आह्वान पनि गर्नुभयो । एमालेले जिते मात्र देशमा स्थिरता हुने उहाँले चर्चा गर्नुभयो । स्थानीय तह निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ का १५ वटा वडामध्ये एमाले एक्लैले ११ वटा वडामा जित हासिल गरेको छ । बाँकी ४ वडामा अध्यक्ष बाहेकका सदस्यहरू जितेको छ ।
पोखरा: कास्की क्षेत्र नम्बर २ (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका युवा नेता अरुण गिरीले व्यवसायी र उद्यमशीलताको विकासका लागि व्यवसाय विकास कोषको स्थापना गर्नुपर्ने अवधारणा अगाडि सारेका छन् । नागरिकको लगानी सुरक्षणका लागि राज्यले व्यवसाय विकास कोषको स्थापना गरि कार्यान्वयनमा ल्याउने नीति तत्काल अवलम्बन गर्नुपर्नेमा उनले जोड दिए । सोमबार पोखराको वडा नम्बर ९ मा पर्ने महेन्द्रपुल, बाँस्तोलाथर, नयाँबजार, न्यूरोड लगाएतका क्षेत्रमा चुनावी घरदैलो गरेका गिरीले पछिल्लो समय राज्यको आर्थिक नीतिकै कारण व्यवसायीहरु झन् मारमा परेको उल्लेख गर्दै तत्काल उनीहरुको समस्याको विषयमा सम्धोबन हुनुपर्ने बताए । विशेषगरि प्रकोप र महामारीमा परेका व्यसायीको उद्दार, विकास र स्टार्टअप व्यवसायलाई सहयोग गर्ने दायित्वबाट राज्य भाग्न नहुने उनले बताए । ‘राज्यको मुल आयस्रोत भनेकै व्यवसायीहरुले तिर्ने कर हो । यदि व्यवसायीहरुलाई अप्ठेरो परेको बेलामा राज्यले उनीहरुको लगानी सुरक्षा गर्ने नीति नलिने हो भने देशको अर्थतन्त्र नै प्रभावित बन्न सक्छ ।’ गिरीले भने, ‘त्यसैले गण्डकी प्रदेशसभामा म निर्वाचित भएपछि व्यवसाय विकास कोषको अवधारणामा तत्कालै नीतिगत काम शुरु गरिहाल्नेछु । र, यसका लागि अन्य प्रदेशसभा सदस्यहरुलाई पनि मेरो तर्फबाट राजी गराउनेछु।’ बजार क्षेत्रमा भएको घरदैलोको क्रममा गिरी अधिकांश व्यवसायिक प्रतिष्ठानहरुमा पुगेका थिए । सो क्षेत्रका मतदाताहरुले महामारीपछिको अर्थतन्त्र बिग्रदा आफूहरुको व्यवसाय चौपट हुँदै गएको र राज्यस्तरबाट कुनै पनि खालको सुविधा आफूहरुले प्राप्त नगरेको गुनासो गरेका थिए । राज्यकै आर्थिक नीतिको आडमा बैंक तथा वीत्तिय संस्थाहरुले व्यवसायीमाथि विभिन्न वहानामा अप्ठेरो पार्दै गएकोले नीतिगत रुपमा यो विषयमा राज्यले सम्बोधन गर्नुपर्ने व्यवसायीहरुले बताएका थिए । गिरीले मतदाताहरुको समस्यालाई नीतिगत रुपमा आफू निर्वाचित भएपछि समाधान गर्नेतर्फ लाग्ने वाचा गरे । साथै उनले शहरी क्षेत्रको समग्र विकासका लागि विशेष रुपमा गुरुयोजना निर्माण गर्नुपर्ने बताए । अर्को प्रसंगमा गिरीले गफ दिने र पैसा खर्च गरेर मत प्रभावित पार्न खोज्ने ठुला दलका उम्मेदवारहरुसँग नझुक्किन मतदाताहरुलाई आग्रह गरे । ‘म मेरो पार्टी राप्रपाको एजेन्डासँग सहमत छु । र, मलाई यो देशको विकासको चिन्ता छ । हरेक हिसाबले मतदाताको समस्यालाई समाधान गर्न म कटिबद्ध भएर लाग्नेछु ।’ गिरीले भने, ‘त्यसका लागि सबै मतदाताहरुले काम गर्न सक्ने र भिजन भएका उम्मेदवार छान्नुपर्ने हुन्छ । त्यसका लागि राप्रपालाई मत दिएर जिताउन आवश्यक छ ।’
पोखरा: नेकपा एमालेका केन्द्रिय सदस्य, होनहार सृजनशिल युवा नेता । गणतान्त्रिक आन्दोलनका योद्धा मानिने पहारीको राजनीतिक यात्रा विद्यार्थी जिवनबाटै शुरु भएको हो । २०५८ सालमा देशकै ठूलो पृथ्वीनारायण क्याम्पसमा स्ववियु सभापति भएपछि उनको राजनीतिक यात्रा निकै क्रियाशिल बन्यो । स्ववियु सदस्य, उपाध्क्ष हुदै नेतृत्वमा पुगेका पहारी देशकै नमुना स्ववियु सभापति घोषित भए । स्ववियु सभापति रहँदा गणतन्त्र प्राप्तिका लागि पिएन क्याम्पसबाट देशैभर ५ लाख हस्ताक्षर संकलन अभियान सफल पारे । २०५६ सालमा जलेर ध्वस्त भएको पिएन क्याम्पस प्रशासनिक भवन पुनःनिर्माण कार्य, क्याम्पस क्याम्पसको आम्दानी बृद्धीका लागि ५१ सटर निर्माण, सबै शंकाय जोड्ने पिच बाटो निर्माण लगायतका कार्यमा उनको भूमिंका अहम रहयो । २०६० सालमा अनेरास्ववियुको केन्द्रिय सदस्य, सचिवालय सदस्य तथा शैक्षिक विभाग प्रमुख बनेका पहारीले २०६२÷०६३ को ऐतिहाँसिक जनआन्दोलनमा पश्चिमाञ्चल क्षेत्रबाट युवा विद्यार्थी जनआन्दोलन परिचालन कमिटिको संयोजक बनेर अग्रपंत्तिमा रहँदै जनआन्दोलनको नेतृत्व गरे । उनको राजनीतिक यात्रा झाँगिदै गर्दा उनले देशकै युवाहरुको ससक्त समुह युवा संघको नेतृत्व कुशल ढंगले सम्हालिसकेका छन् । भारतिय नाकाबन्दिदेखि चर्को मुल्य बृद्धि विरुद्धको आन्दोलनमा उनको स्वर बुलन्द बन्यो । तराईमा भड्किएको बिखण्डनकारी घटनामा सामाजिक सद्भाव कायम गर्न पहारीले अभियाननै छेंडे । र घटनालाई साम्य पार्न महत्वपूर्ण भूमिंका निर्वाह गरे । ७२ को विनाशकारी महाभूकम्पबाट क्षति भएका सिन्धुपाल्चोकका ५० विद्यालयको पुनःनिर्माण कार्यमा उनले पु¥याएको योगदान सम्झन लायक थियो । २०६६ देखि ०६८ सम्म नेकपा एमाले क्षेत्र नम्बर ३ को अध्यक्ष भई काम गरेका पहारीले त्यस अघि नेकपा एमाले कास्की सचिवालय सदस्य, विद्यार्थी फाँट प्रमुख तथा प्रचार विभाग प्रमुख रहि जिम्मेवारी सम्हाले । पहारीले अमेरिका, क्यानडा, जापान लगायत विभिन्न ५५ भन्दा बढि देशको विकासको अनुभव बटुलेका छन् । पार्टीका लागि यति धेरै योगदान पुर्याएका पहारीलाई २०७४ को संघिय निर्वाचनमा पार्टीले कास्की क्षेत्र नम्बर ३ ‘ख’ मा उम्मेदवारको रुपमा अगाडी सा¥यो । जनताको मन जितिसकेका पहारीलाई चुनाव जित्न त्यहि गाह्रो थिएन । उनी अत्याधिक मतका साथ विजयी भए । र यो पाँच वर्षे कार्यकालमा आफ्नों क्षेत्रमा विकासे लहर ल्याए । पहारीको पहलमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त लगानीमा घाँटीछिना, नयाँबस्तिमा हर्पन चेक ड्याम बन्यो । अन्नपूर्ण गाउँपालिका १, नागडाँडामा अत्याधिक वर्षाका कारण पैह्रोले गाउँनै जोखिममा परेका बेला पहारीले बस्ति संरक्षणका लागि गरेको कार्य प्रशंसनिय छ । त्यस्तै पामे, ठूलाखेत, फुस्रेखोलामा पक्कि पुल निर्माणकार्य सम्पन्न भए । पर्यटकिय लेकसाइड जोडने मुख्य सडक शहिदचोकदेखि, हल्लनेचोकहँदै गैह्रा चौतारा तथा उत्तरतर्फ जिरो किमीसम्म उनको कार्यकालमा अस्फाल्ट पिच बन्यो । त्यस्तै, फेवातालको किनार स्विमिङपुलघाटदेखि गैह्राचौतारासम्म फुटट्रयाक निर्माण कार्य पनि सम्पन्न भयो । पहारीले आफ्नों क्षेत्रमा पर्ने थुप्रै सरकारी विद्यालयहरुमा युरो गार्ड जडान गरे । कहिले न्यानो कपडा वितरण त कहिले स्यानिटरी प्याड, शैक्षिक सामग्री वितरणमा सक्रिय बने । कोरोना महामारीमा पनि उनी घर बसेनन् । स्वास्थ्य सामग्री लिएर गाउँ गाउँ पुगे । कोरोनाका कारण लकडाउनले आक्रान्तमा परेका जनताको घर घरमा खाद्य सामग्री पुर्याए । लौरुकमा खानेपानीको ठूलो अभाव छ । कास्कीकोटमा पनि खानेपानीको हाहाकारनै थियो । चुनाव जितेपछि पहारी खानेपानी पाइप लिएर गाउँ पुगे । घरघरै पानी पु¥याउने भन्दै लौरुकमा खानेपानी लिफ्टीङ योजना अघि सारे । बजेट पनि पर्याे । धमाधम काम भइरहेको थियो । तर दुर्भाग्य, पुरा अवधि काम गर्न नपाउँदै सरकार ढल्यो । काम पनि विचैमा रोखियो । जनताको घरघरमा पानी पुर्याएरै छाड्ने अठोट लिएका पहारी फेरी यहि क्षेत्रको चुनावमा होमिएका छन्, जनतासंग बाँडेका अधुरा सपना साकार पार्ने अठोटका साथ । प्रतिपक्षमा रहँदा सत्तापक्षका लागि तिखो काँडा बनेका पहारी जनताको आवाज बोल्न कहिल्यै पछि परेनन् । जनजिविकाका सन्दर्भमा जहिले पनि उनले संसदमा चर्को आवाज उठाए । गण्डकी प्रदेशकै विकासको संवाहक राजीव पहारी फेरी पनि यसै क्षेत्रको सांसद बन्न चुनावी होडमा मैदान उत्रिएका छन् । ‘आजको दिनसम्म लगभग मेरो क्षेत्रका सबै जनतासंग प्रत्यक्ष सात्क्षात्कार गरिसकेको छु, धेरैबाट सकारात्म प्रतिक्रिया पाएको छु, यसबाट मलाई फेरी यहि क्षेत्रमा फर्किएर काम गर्न ठूलो हौसला मिलेको छ’–पहारीले भनेका छन् ।
पोखरा: हिमालदेखि तराईसम्मका भूभाग समेटिएको गण्डकी प्रदेशमा नजिकिँदै गरेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनले यतिखेर राजनीतिक दल तथा तिनका उम्मेदवारलाई भ्याइनभ्याइ छ । स्थानीय मुद्दासहित समृद्धि र विकासका कुरासँगै स्थानअनुसार राष्ट्रिय विषय पनि यतिखेर दलहरूका घोषणापत्र तथा उम्मेदवारका प्रतिबद्धतामा समेटिएका छन् । गण्डकी प्रदेशका ११ वटै जिल्लामा चुनावी माहोल तातिरहेका अवस्थामा विगतमा जस्ता भड्किलो प्रचार भने नदेखिएको मतदाताको अनुभव छ । विगतका निर्वाचनमा चर्का माइक, बाजागाजा आदिका कारण ध्वनी प्रदूषण गर्ने गरी हुइँकिने गाडीहरूसँगै कार्यकर्ताहरूको उत्ताउलो प्रचार अहिले भने निकै कम भएको कास्कीको गगनगौंडाका मतदाता सुनिल सुवेदी बताउनुहुन्छ । निर्वाचन आयोगको निगरानीसँगै दलहरूमा पनि राजनीतिक संस्कार परिवर्तन भएको पाइएको यस पटकको प्रचारशैलीले देखाएको उहाँको भनाइ छ । गण्डकीमा नेपाली कांग्रेससहितका दल गठबन्धन गरी चुनावमा होमिएका छन् भने नेकपा (एमाले) सहित अन्य दलहरू छुट्टाछुट्टै उम्मेदवारी दिएर प्रतिस्पर्धामा छन् । विगतको चुनावको गणितले गठबन्धन र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने आङ्कलन गरिए पनि अन्य नयाँ तथा साना दल पनि उच्च मनोबलका साथ निर्वाचन आफ्नो पक्षमा पार्ने लक्ष्यका साथ चुनावी अभियानमा सक्रिय छन् । कूल ११ वटा जिल्लामा समेटिएको गण्डकीमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १८ सिट रहेको छ । २०७४ को निर्वाचनमा एमाले—माओवादी वाम गठबन्धन बनाई चुनावमा जाँदा उक्त गठबन्धनले १६ स्थानमा जितेको थियो । त्यस निर्वाचनमा कांग्रेसले नवलपुर निर्वाचन १ जित्दा कांग्रेसकै समर्थनमा तत्कालीन नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराई गोरखा २ बाट चुनाव जित्नुभएको थियो । त्यतिबेलाको समीकरण बदलिएर हाल सो वाम गठबन्धन टुटेको छ । नेकपा विभाजन भएर एमाले र माओवादी छुट्टैछन् भने एमाले विभाजित भएर नेकपा (एकीकृत समाजवादी) बनेको छ । अहिले कांग्रेससहित माओवादी, एकीकृत समाजवादी एक ठाउँमा छन् । त्यसले गर्दा गण्डकी प्रदेशमा ७४ सालको निर्वाचनभन्दा यसपटक निर्वाचन परिणाम फरक आउने अनुमान गरिएको छ । मुस्ताङ, मनाङ, स्याङ्जाको १, कास्कीको ३ र तनहुँको २ मा एमाले काङग्रेसभन्दा हजार कम मतले अगाडि रहेको छ । मनाङ, मुस्ताङ, पर्वत र नवलपुर २ मा कांग्रेस, माओवादीलगायतको सत्ता गठबन्धले पाएको मतभन्दा एमालेको मत धेरै छ । गोरखाका २ क्षेत्रमा एमाले तेस्रो स्थानमा छ भने एउटामा कांग्रेस र अर्कोमा माओवादी अगाडि देखिन्छ । स्थानीय तहको नतिजालाई आधार मान्दा यसपटक कास्कीको २ र ३, पर्वत, नवलपुरको २, लमजुङ, मनाङ र मुस्ताङमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । यी क्षेत्रमा एमालेले पाएको र गठबन्धनको दलले प्राप्त गरेको मत लगभग बराबरी अवस्थामा छ । तथ्याङ्कअनुसार स्थानीय तहको निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं १ मा कांग्रेसले ३३ हजार आठ सय ३७ मत ल्याउँदा एमालेले ३० हजार एक सय ९६, माओवादीले तीन हजार दुई सय ७८ र राप्रपाले एक हजार आठ सय १८ मत ल्याएका थिए । कास्की निर्वाचन क्षेत्र नं २ मा एमाले २१ हजार एक सय ६४ मत ल्याउँदा कांग्रेसले १९ हजार आठ मत ल्याएको थियो । त्यस्तै राप्रपाले दुई हजार ७९, एकीकृत समाजवादीले दुई हजार ५३, माओवादीले एक हजार एक सय ९८ र जसपाले एक सय ५३ मत ल्याएका थिए । कास्की निर्वाचन क्षेत्र नं ३ मा एमालेले २९ हजार आठ सय पाँच मत ल्याउँदा कांग्रेसले २८ हजार आठ सय ४६, माओवादीले दुई हजार चार सय, राप्रपाले एक हजार ६५ र एकीकृत समाजवादीले पाँच सय एक मत ल्याएको थिए । गोरखा निर्वाचन क्षेत्र नं १ मा काँंग्रेसले २७ हजार ८४ मत ल्याउँदा माओवादीले २५ हजार चार सय ७२, एमालेले १४ हजार पाँच सय ६६, जसपाले दुई हजार सात सय ५४, राप्रपाले दुई सय २७, एकीकृत समाजवादीले ७० मत ल्याएका थिए । गोरखा २ मा माओवादीले २२ हजार दुई सय ५० मत ल्याउँदा कांग्रेस २१ हजार एक सय ३६, एमाले सात हजार नौ सय २६, जसपाले सात हजार पाँच सय चार र राप्रपा आठ सय ७८ मत ल्याएका थिए । तनहुँ निर्वाचन क्षेत्र नं १ मा कांग्रेसले ३३ हजार एक सय ६ मत ल्याउँदा एमालेले २२ हजार दुई सय १०, माओवादीले आठ हजार चार सय ७४, राप्रपाले एक हजार सात सय ७५, एकीककृत समाजवादीले आठ सय ९२ र जसपाले ५४ मत ल्याएका थिए । तनहुँ २ मा एमालेले ३० हजार नौ सय ६२ मत ल्याउँदा कांग्रेसले ३० हजार ६ सय ६, माओवादीले छ हजार आठ सय ३६, एकीकृत समाजवादीले एक हजार दुई सय ५२ र राप्रपाले नौ सय ५५ मत ल्याए । पर्वतमा एमाले ३५ हजार सात सय १६ मत ल्याउँदा कांग्रेसले २९ हजार तीन सय ४४, माओवादीले पाँच हजार तीन सय ६१, एकीकृृत समाजवादीले पाँच सय ४६ र राप्रपा चार सय ९३ मत ल्याएका थिए । नवलपुर निर्वाचन क्षेत्र नं १ मा कांग्रेसले ४० हजार पाँच सय ११ मत ल्याउँदा एमालेले ३९ हजार नौ सय ५१, राप्रपाले दुई हजार तीन सय ७३, माओवादीले एक हजार नौ सय २१ र जसपा एक सय ८८ मत ल्याए । नवलपुर २ मा एमालेले ४१ हजार सात सय ९८ मत ल्याउँदा कांग्रेसले ३८ हजार ६ सय १९, राप्रपाले दुई हजार तीन सय ५५, माओवादीले एक हजार सात सय ४२, जसपाले तीन सय तीन र एकीकृत समाजवादीले दुई सय १४ मत ल्याएका थिए । बागलुङको निर्वाचन क्षेत्र नं १ मा एमालेले २१ हजार नौ सय ७८ मत ल्याउँदा कांग्रेसले १९ हजार पाँच सय १३, राष्ट्रिय जनमोर्चाले छ हजार ६७, माओवादीले दुई हजार पाँच सय २९, एकीकृत समाजवादीले दुई हजार चार सय ५१ मत प्राप्त गरे । बागलुङ २ मा एमालेले १९ हजार ३० मत ल्याउँदा कांग्रेसले १७ हजार सात सय ५१, माओवादी नौ हजार सात सय ५१, राजमो छ हजार ६ सय ७८ र एकीकृत समाजवादीले तीन सय ८८ मत प्राप्त गरे । स्याङ्जा निर्वाचन क्षेत्र नं १ मा कांग्रेसले ३७ हजार पाँच सय १० मत ल्याउँदा एमालेले ३६ हजार आठ सय ४५, माओवादी एक हजार नौ सय ८४ र राप्रपाले एक हजार दुई मत ल्याए भने स्याङ्जा २ मा कांग्रेसले ३६ हजार आठ सय ६ मत ल्याउँदा एमालेले ३४ हजार आठ सय नौ, माओवादीले एक हजार दुई सय ४३ र राप्रपाले पाँच सय ११ एकीकृत समाजवादीले दुई सय ३३ मत ल्याए । हिमालपारिको जिल्ला मनाङमा एमालेले एक हजार दुई सय ५८ मत ल्याउँदा कांग्रेसले एक हजार दुई२० मत प्राप्त गर्यो भने मुस्ताङमा एमालेले तीन हजार एक सय २८ मत ल्याउँदा कांग्रेसले दुई हजार सात सय ४२ र राप्रपा १८ मत प्राप्त ग¥यो । म्याग्दीमा एमाले २३ हजार दुई सय १० मत ल्याउँदा कांग्रेसले २० हजार ३८, माओवादीले आठ हजार पाँच सय ९३ र राप्रपाले दुई सय १७ मत प्राप्त गरे । यस्तै लमजुङमा एमालेले ४० हजार एक सय ९७ मत ल्याउँदा कांग्रेसले ३५ हजार दुई सय ७६, माओवादीले छ हजार एक सय २७, राप्रपाले एक हजार एक सय ८४ र जसपाले एक सय ९० मत ल्याए । यस निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभातर्फ १४ जनाको उम्मेदवारी छ । त्यस्तै उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा (क) मा आठ र (ख) मा सातजनाको उम्मेदवारी छ । जिल्लाको निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ १७ जना चुनावी प्रतिस्पर्धामा होमिएका छन् । उक्त निर्वाचन क्षेत्रअन्तर्गतको प्रदेशसभा (क) मा आठ र (ख) मा छजनाको उम्मेदवारी छ । त्यस्तै निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभातर्फ १५ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नं ३ अन्तर्गतको प्रदेशसभातर्फ (क) र (ख) मा सात÷सातजनाको उम्मेदवारी परेको छ । जिल्लाको क्षेत्र नं १ मा गठबन्धन दलका तर्फबाट किशोरदत्त बराल र नेकपा (एमाले) का तर्फबाट मनबहादुर गुरुङ प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि गठबन्धन दलका तर्फबाट श्रीनाथ बराल र एमालेका तर्फबाट विद्या भट्टराई चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । त्यस्तै क्षेत्र नं ३ मा गठबन्धन दलका तर्फबाट रामजीप्रसाद बराल (जीवन) र एमालेबाट दामोदर वैरागी चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । बागलुङमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि ३१ जना चुनावी मैदानमा हरेकामा निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी उम्मेदवार हुनुहुन्छ भने एमालेबाट सूर्यप्रसाद पाठक उम्मेदवार बन्नुभएको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मीप्रसाद सापकोटा, नेपाली कांग्रेस (बिपी)बाट शिवलाल सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट खिमानन्द कँडेल र स्वतन्त्रबाट चन्द्रबहादुर क्षत्रीको उम्मेदवारी छ । उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा ९क० मा पाँचजनाको उम्मेदवारी छ भने (ख)मा चारजनाको उम्मेदवारी छ । बागलुङ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेल, एमालेबाट मञ्जु शर्मा चालिसेलगायतको उम्मेदवारी छ । उक्त क्षेत्रको प्रदेश (क) मा दुई र प्रदेश (ख)मा सातजना उम्मेदवार हुनुहुन्छ । पूर्वी नवलपरासीमा प्रतिनिधिसभा तथा प्रदेशसभा गरी कूल ६८ जनाको उम्मेदवारी छ । नवलपुरमा गठबन्धनबाट प्रतिनिधिसभा क्षेत्र नं १ मा कांग्रेसका डा शशाङ्क कोइराला र एमालेबाट कृष्ण पौडेल उम्मेदवार रहनुभएको छ । त्यस्तै क्षेत्र नं २ को प्रतिनिधिसभातर्फ गठबन्धनबाट कांग्रेसका विष्णुकुमार कार्की र एमालेका तिलकबहादुर महत उम्मेदवार हुनुहुन्छ । म्याग्दीमा १९ जना चुनावी मैदानमा रहेकोमा प्रतिनिधि सभामा तीन स्वतन्त्रसहित नौजना, प्रदेशसभा क्षेत्र (क) र (ख) मा पाँच÷पाँचजना उम्मेदवारी रहेको छ । प्रतिनिधिसभा सदस्यमा एमालेका हरिकृष्ण श्रेष्ठ र गठबन्धनबाट कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर) उम्मेदवारका रूपमा रहनुभएको छ । तनहुँमा प्रतिनिधिसभा तथा प्रदेश सभामा कूल ५७ जनाबीच प्रतिस्पर्धा हुनेमाक्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि १५ जनाको उम्मेदवारी परेको छ । उक्त प्रदेशको प्रदेशसभा(क) का लागि ११ जना र प्रदेशसभा (ख) का लागि सात जनाको उम्मेदवारी परेको छ । तनहुँ २ को प्रतिनिधिसभा सदस्यका लागि १० जनाको उम्मेदवारी परेको छ । उक्त क्षेत्रको प्रदेशसभा (क) का लागि आठ र प्रदेशसभा (ख) का लागि छजनाको उम्मेदवारी छ । तनहुँ १ को प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल, नेकपा (एमाले) का एकबहादुर राना, जनता समाजवादी पार्टीका पासाङ थापा मगरलगायत हुनुहुन्छ । तनहुँ २ मा प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनबाट कांग्रेसका शङ्कर भण्डारी, एमालेका किरण गुरुङलगायत प्रतिस्पर्धामा हुनुहुन्छ । मनाङमा गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका टेकबहादुर गुरुङ र एमालेबाट पाल्तेन छोपाङ गुरुङ उम्मेदवार हुनुहुन्छ । पर्वतमा प्रतिनिधिसभाको सदस्यका लागि १५ जनामध्ये गठबन्धनका तर्फबाट कांग्रेसका अर्जुनप्रसाद जोशी र एमालेका तर्फबाट पदम गिरी उम्मेदवार हुनुहुन्छ । प्रदेशसभातर्फ प्रदेश (क) मा नौजना र प्रदेशसभा(ख) मा भने सातजना उम्मेदवारका बीचमा प्रतिस्पर्धा हुँदैछ । लमजुङमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य गरी कूल २२ जनामध्ये प्रतिनिधिसभाका लागि एक स्वतन्त्र उम्मेदवारसहित ११ जना, प्रदेश (क) मा पाँच र प्रदेश (ख) मा छजना उम्मेदवार गरी २२ जनाको उम्मेदवारी छ । प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका देवप्रसाद गुरुङ, एमालेका पृथ्वी सुब्बा गुरुङ, जनता समाजवादी पार्टी नेपालका नरेन्द्रबहादुर गुरुङलगायत चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । स्याङजामा प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि ५१ जना चुनावी प्रतिस्पर्धामा रहेकामा क्षेत्र नं १ को प्रतिनिधिसभातर्फ गठबन्धनका तर्फबाट कांग्रेसका राजु थापा, एमालेका नारायणप्रसाद मरासिनीलगायत हुनुहुन्छ । उक्त क्षेत्रको प्रदेश (क) मा सातजना चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । त्यस्तै प्रदेश (ख) मा पाँचजना चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । क्षेत्र नं २ को प्रतिनिधिसभामा गठबन्धनका तर्फबाट कांग्रेसका धनराज गुरुङ र एमालेका पद्माकुमारी अर्याल लगायतको उम्मेदवारी छ । मुस्ताङमा प्रतिनिधिसभा तथा प्रदेशसभा गरी कूल नौजनाको प्रतिस्पर्धा छ । प्रतिनिधिसभाका लागि गठबन्धनका तर्फबाट कांग्रेसका योगेश गौचन थकाली हुनुहुन्छ भने एमालेका प्रेमप्रसाद तुलाचन उम्मेदवार हुनुहुन्छ । गोरखामा प्रतिनिधिसभा तथा प्रदेशसभामा ४९ जना चुनावी मैदानमा रहेकोमा क्षेत्र नं १ मा गठबन्धनका तर्फबाट काँग्रेसका राजेन्द्र बजगाईं, एमालेका रामशरण बस्नेतलगायतको उम्मेदवारी छ भने गोरखा २ मा गठबन्धनका तर्फबाट माओवादीका पुष्पकमल दाहाल (प्रचण्ड), एमालेबाट अब्दुस सलाम मिया, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कविन्द्र बुर्लाकोटीलगायत हुनुहुन्छ । प्रदेशमा स्थानीयदेखि राष्ट्रियस्तरका मुद्दा यतिखेर चुनावी प्रतिवद्धताका रुपमा व्यक्त भएका छन् । कास्कीको क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार किशोरदत्त बराल देशलाई सबैभन्दा माथि राखेर देश र जनताको सेवा गर्नका लागि आफ्नो उम्मेद्वारी भएको बताउनुहुन्छ । गठबन्धन देशको आवश्यकता भएको बताउँदै उहाँले यो केबल निर्वाचन जित्नका लागि र कसैलाई सत्तामा पुर्याउनका लागि उपलब्धिको रक्षा र देशको समृद्धि र विकासका लागि भएको बताउनुभयो । कास्की क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विद्या भट्टराई समाजका सबै वर्ग र समुदायका व्यक्तिलाई समृद्धि र विकासको समान पहुँचमा पु¥याउनु अहिलेको आवश्यकता भएको बताउनुहुन्छ । गण्डकी प्रदेशकामा चुनाव लक्षित प्रतिवद्धताहरू व्यक्त हुँदा कालीगण्डकी डाइभर्सनको विषय पनि यतिखेर चर्चामा छ । नवलपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य डा.शशांक कोइरालाले त्रिवेणी–देवघाट हुँदै मुक्तिनाथ जोड्ने कालीगण्डकी नदी धार्मिक, सांस्कृतिक, आर्थिक र पर्यावरणीय हिसाबले नदी क्षेत्रका बासिन्दाको प्राण भएको भन्दै कोइरालाले प्रभावित क्षेत्रको जीवनसँग यसको अस्तित्व जोडिएका हुँदा कालीगण्डकी डाइभर्सन अगाडि बढ्न नहुने बताउनुभएको छ । प्रतिनिधिसभाको निर्वाचनका लागि एमाले उपाध्यक्ष विष्णु पौडेलले आफ्नो घोषणापत्रमा कालीगण्डकी तिनाउ डाइभर्सन योजना अगाडि बढाउने उल्लेख गरेपछि कालीगण्डकी प्रभावित जिल्ला पूर्वी नवलपरासी, पाल्पा, स्याङ्जा तनहुँलगायतका जिल्लामा विरोध सुरु भएको अवस्थामा कोइरालाले आफ्ना चुनावी कार्यक्रममा उक्त कुरा बताउनुभएको हो । विभिन्न क्षेत्रमा दलका शीर्षनेताहरूसमेत चुनावी प्रतिष्पर्धामा रहेका कारण गण्डकीको चुनावलाई अर्थपूर्ण रुपमा हेरिएको छ । माओवादीका पुष्पकमल दहाल, देवप्रसाद गुरुङ, कांग्रेसका रामचन्द्र पौडेल, एमालेका पृथ्वीसुब्बा गुरुङ, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीलगायतका शीर्षनेतासमेत उम्मेदवार भएको यहाँको चुनावको परिणाम कस्तो आउने हो त्योे यतिखेर चासो र चर्चामा छ ।