पोखरा: आगामी फागुन पहिलो साता हुने सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनलाई शान्ति निकेतन बोर्डिङ स्कुलले साथ र सहयोग गर्ने भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आइरहेको अन्तर्राष्ट्रिय म्याराथनको १८ औं संस्करणमा शान्ति निकेतनले समेत साथ दिने भएको हो । प्रत्यक्ष रुपमा खेलाडी तथा विधार्थीको जिवनसँग समेत जोडिएको विषय खेल क्षेत्र भएकाले म्याराथनमा विधालयको समेत सहभागिता रहने भएको हो । शान्ति निकेतन बोर्डिङ स्कुलका प्रिन्सिपल महेश्वर पराजुलीले विधालय सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनमा जोडिन पाउनु खुसीको कुरा भएको प्रतिक्रिया दिएका छन् । विधालय खेलकुदको माध्ययमबाट विधार्थीहरुमा शारिरीक एवं मानसिक विकास गर्ने कुरामा कटिबद्ध रहेको र सोही अनुरुप विभिन्न खेल गतिविधि समेत गर्दै आइरहेको सुनाए । पराजुलीले म्याराथनको सफलताको शुभकामना दिदैँ विधालयको तर्फबाट गर्न सक्ने सहयोग गर्नेसमेत बताए । म्याराथनको काउन्टडाउन सुरु भएसँगै मञ्चले तयारीलाई तिव्रता दिएको छ । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले तयारीलाई तिब्रता दिएको बताएका छन् । उनले पोखराको मात्र नभई देशकै ठूलो इभेन्टको रुपमा रहँदै आएको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा विधालयहरुलाई समेत जोड्ने योजनाअनुरुप आफुहरु विधालयस्तरमा पुगिरहेको जानकारी दिए ।
पोखरा: पोखरा महानगरपालिकाले नदीजन्य समाग्री ढुवानी तथा ओसारपोसार गर्न मापदण्ड तोकेको छ । महानगरभित्र प्राकृतिक दोहन र अवैधरुपमा नदीजन्य समाग्रीको विक्री वितरण भइरहेको सूचना पाएपछि महानगरले मापदण्ड निर्धारण गरेको हो । सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा मंगलबार बसेको बैठकले मापदण्ड तोकिएको मेयरका प्रेस संयोजक भीम थापाले जानकारी दिए । उनका अनुसार अबका दिनमा मिति, समय, ढुवानी हुने सवारी साधनको नम्बर, बिल नम्बर खुलेको चलानी पूर्जा चालकसँग अनिवार्यरुपमा हुनुपर्ने छ । यस्तै भ्याट, पान नम्बर भएको बिल, पोखरा महानगरपालिकासँग आय ठेक्का सम्झौता भएका घाटहरुको सम्बन्धमा क्रसर उद्योगसम्म नदीजन्य सामाग्री ढुवानी गर्दा महानगरपालिकाबाट जारी भएको कार्यदेश र चलानी पूर्जा अनिवार्यरुपमा साथमा हुनुपर्नेछ । क्रसरहरुले नदीजन्य सामाग्री विक्री गर्दा अनिवार्य रुपमा बिलबिजक जारी गर्नुपर्ने निर्णय गरिएको छ ।
पोखरा: पोखराका होटलहरुमा अनिवार्य रुपमा सिसी क्यामेरा जडान गर्नुपर्ने भएको छ । वडा प्रहरी कार्यालय बैदाम, पृथ्वी होटल व्यवसाय समितिको लगायतको उपस्थितिमा भएको बैठकले पोखराका होटल क्षेत्रको सुरक्षा र होटलमा हुनसक्ने विभिन्न खालका आपराधिक क्रियाकलाप रोक्न अनिवार्यरूपमा सिसी क्यामेरा जडान गर्नुपर्ने निर्णय गरेको हो । वडा प्रहरी कार्यालय बैदामका प्रमुख एवम् डिएसपी राजेन्द्र श्रेष्ठले पोखराको होटल क्षेत्रको सुरक्षा र होटलमा हुन सक्ने विभिन्न खालका आपराधिक क्रियाकलाप रोक्न अनिवार्य रुपमा सिसी क्यामेरा जडान गर्ने लगायतका विषयमा निर्णय भएको बताए । उनले होटल व्यवसायीसँगको छलफलमा होटलको कम्पाण्डर र काउन्टर (भित्रिने र बाहिरिने बाटो) स्पष्ट देखिने गरी सिसी क्यामेरा जडानसँगै होटल संचालकहरुले आफ्नो होटलमा आउने ग्राहकहरुको अभिलेख कम्प्युटरमा राख्ने व्यवस्ता मिलाउन समेत आग्रह गरेको बताए । यस्तै होटलमा आउने ग्राहकको परिचय खुल्ने कागजपत्र राख्ने, होटल आउँदा र जाँदाको समयसहित विवरण राख्ने, होटलमा बालबालिहरुलाई कामदारको रुपमा काममा नलगाउने, र कर्मचारीहरुको तिनपुस्ते विवरणसहित अभिलेख राख्न समेत निर्देशन दिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । केही दिन अगाडी पोखराको एक होटलमा अचेत अवस्थामा भेटिएको सुकु विकको मृत्युपछि अनुसन्धानको क्रममा होटलमा सुरक्षाको विधि अपनाएको नदेखेपछि प्रहरीले व्यवसायीसँग छलफल गरेर होटलमा सिसी क्यामेरा जडान गर्न निर्देशन दिएको हो ।
पोखरा: जलवायु परिवर्तनले बद्लिँदा हिमाल र हिमाली जनजीवनबारे चिन्तन गर्दै पोखरामा जारी आठौं पर्वतीय महोत्सव मंगलबार सकिएको छ । अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा नेपाल पर्वतारोहण संघले बर्सेनि महोत्सव आयोजना गर्दै आएको हो । महोत्सवको समापन समारोहमा गण्डकी प्रदेशका अर्थमन्त्री जीतबहादुर आलेमगरले पछिल्लो समय बढ्दो जलवायु परिवर्तनले हिमाललाई चोट पु¥याइरहेको भन्दै चिन्ता व्यक्त गरे । जलवायु परिवर्तनमा नेपालको दोष नभए पनि प्रतिकूलताको असर भोग्नु परिरहेको उनको भनाइ थियो । अर्थमन्त्री मगरले नेपालको परिचय नै हिमालसँग जोडिएकाले यसलाई बचाएर जानुपर्ने बताए । नेपाललाई विश्वमाझ यहाँका हिमाल र हिमाली जीवनशैलीले नै चिनाएकाले यसलाई सम्पत्तिका रुपमा जगेर्ना गनुपर्ने उनको भनाइ छ । ‘नेपालको मामिलामा यहाँका हिमाल नै हाम्रा सम्पत्ति हुन् यसलाई जोगाइराख्न जरुरी छ । नेपाल विश्वमा चिनिएको पनि यहाँकै पर्वतले हो,’ उनले भने । आयोजक नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले नेपालमा पर्वतीय पर्यटन बढाउन र त्यसको महत्व बुझाउन महोत्सव सुरु गरिएको बताए । ‘यहाँका पवित्र हिमाल र ट्रेकिङका लागि मुख्य प्रवेशद्वार बनाउन महोत्सव गरिएको हो,’ उनले भने, ‘प्रत्येक दिन एकदमै सूचनामूलक, सबैले बुझ्ने गरी कार्यक्रमहरु पनि अगाडि बढाएका छौं ।’ नेपाल पर्वतारोहण संघका प्रमुख कार्यकारी अधिकृत तथा महोत्सवका संयोजक जिनेश सिन्दुराकारले पोखरास्थित पर्वतीय संग्रहालयमा बर्सेनि महोत्सवसँगै वार्षिक क्यालेन्डर नै बनाएर कार्यक्रम बनाएर लैजाने योजना रहेको सुनाए । महोत्सव सहसंयोजक शेषकान्त शर्माले पर्वतीय महोत्सवलाई पर्वतीय जीवनशैलीबारे बुझ्न ज्ञानको महोत्सवका रुपमा अगाडि बढाइएको सुनाए । उनले भने, ‘आगामी दिनमा यसलाई अझै परिस्कृत र ज्ञानमूलक बनाउने गरी योजना बनाएका छौं,’ उनले भने । महोत्सवमा पर्वतीय जनजीवन र आरोहीका डकुमेन्ट्रीदेखि जलवायु परिवर्तनको असरबारे बहस भएको थियो । बहसमा सहभागी वक्ताहरुले बद्लिँदो जलवायुलाई रोक्न नसकिने तर, अनुकूलताबारे बहस अबको मुख्य मुद्दा हुनुपर्ने सुझाव राखेका थिए । महोत्सवमा विभिन्न प्रतियोगिता महोत्सवमा किम्फसँगको सहकार्यमा पाँचै दिन पर्वतारोहण र पर्वतीय जीवनबारे वृत्तचित्रसहित कीर्तिमानी आरोहीको फोटो प्रदर्शनी पनि गरिएको थियो । महोत्सवकै अवसरमा फरकफरक भूगोलमा एकै प्रकारको हिमाली जनजीवन चिनाउने गरी अस्ट्रियन आमाछोरी डा इरिका र उनकी छोरी इर्मट्रड हुबाचेकले कैद गरेका तस्वीर पनि प्रर्दशनमा राखिएको थियो । शुक्रबारदेखि ५ दिनसम्म चलेको महोत्सव १० हजार जनाले अवलोकन गरेको संग्रहालयकी प्रमुख कार्यकारी अधिकृत निर्मला न्यौपानेले जानकारी दिइन् । त्यसबाहेक महोत्सवमा छेलो प्रतियोगिता, जिपलाइन, दोहोरी गीत पनि समावेश गरिएको थियो । छेलो प्रतियोगितामा किरण सुनार पहिलो, युवराज गुरुङ दोस्रो र राजेश गुरुङ तेस्रो बने । उनीहरुले क्रमशः १५, १० र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए ।
पोखरा: पोखरा महानगरपालिका–६ लेकसाइड खहरेस्थित दुईवटा क्याफेमा पर्यटक र स्थानीयहरुलाई नशालु पदार्थ खुवाएर सामाजिक विकृति फैलाएको आरोपमा प्रहरीले दुई जनालाई प्रकाउ गरेको छ । पर्यटक तथा स्थानीयहरुलाई मनोरञ्जन दिने बहानामा कानूनले वर्जित गरेका नशालु पदार्थ सेवन गराएर समाजमा होहल्ला अशान्ति र विकृति फैलाउने गरेको स्थानीयको गुनासोपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले क्याफेका म्यानेजरसहित २ जनालाई प्रकाउ गरेको हो । प्रकाउ पर्नेमा जुसेरी क्याफेका म्यानेजर काठमाडौं शंखरापुर नगरपालिका–३ घर भएका ३१ वर्षीय रोहित लामा भन्ने भगवान वम्जन र सोही स्थानमा रहेको फ्रिडम क्याफेका कर्मचारी गोरखा सुलिकोट २ घर भएका २१ वर्षीय घुमिन्द्र घले रहेका छन् । स्थानीयको गुनासोपछि उल्लेखित काम नगर्न सचेत गराउँदा क्याफेका म्यानेजरले प्रहरी माथि अपशब्द बोल्दै वादविवाद गरेपछि नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय कास्कीबाट अभद्र मुद्धामा पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो ।
पोखरा: पोखराको नैना दोहोरी साँझमा आगलागी हुँदा करिव ६० लाख बराबरको क्षति भएको छ । पोखरा महानगरपालिका–८ सिर्जनाचोकस्थित नैना दोहोरी साँझमा आज बिहान विद्युत सर्ट भएर आगलागी भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । कोमलनाथ आचार्य र खड्कबहादुर कार्कीले सञ्चालन गरेको नैना दोहोरी साँझमा विद्युत सर्ट भएर आगलागी हुँदा विभिन्न बैङ्कहरुको १३ लाख बराबरको चेक, ५० हजार नगद र अन्य जिन्सी सामानहरु जलेको वडा प्रहरी प्रहरी कार्यालय बैदामले जनाएको छ । अहिले आगलागी प्रहरीले नियन्त्रणमा लिएको छ ।
पोखरा: पोखरामा स्कुटर चोरी गरेको आरोपमा प्रहरीले अविनाश थापामगरलाई प्रकाउ गरेको छ । मुस्ताङचोकको भित्रि सडकबाट हराएको स्कुटर थापामगरले चलाइ रहेको अवस्थामा स्कुटरसहित वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले प्रकाउ गरेको हो । पोखराको मुस्ताङचोकस्थित भित्री सडक खण्डमा पार्किङ गरेर राखेको ग १५ प २५१९ नम्बरको स्कुटर गएको मंसिर १६ गते हराएको भन्दै स्कुटर खोजीदिन निवेदन दिएका थिए । स्कुटर हराएको सूचनापछि खोजीकार्य अगाडी बढाएको बैदाम प्रहरीले पोखरा महानगरपालिका–९ नागढुङ्गास्थित धादिङको निलकण्ड नगरपालिका–६ घर भई पोखरा –८ बस्ने १८ वर्षीय थापामगरले चलाई राखेको अवस्थामा स्कुटर फेला परेको थियो । स्कुटर चोरी आरोपमा प्रकाउ परेका अविनाशलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्धामा ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा: पोखरामा अवैध रुपमा प्राकृतिक नदीजन्य पदार्थहरुको दोहन गरेको आरोपमा प्रहरीले ५६ वटा सवारी साधन नियन्त्रणमा लिएर पोखरा महानगरपालिकालाई बुझाएको छ । कास्कीको विभिन्न स्थानमा प्राकृतिक नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरेर फर्जी बिल बनाएर चोरी निकासी गरेको आरोपमा ५६ वटा सवारी साधन नियन्त्रणमा लिएर महानगरलाई बुझाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहन कुमार थापाले बताए । ‘कास्कीको विभिन्न स्थानमा प्राकृतिक नदीजन्य पदार्थहरुको अवैध रुपमा उत्खनन गरेर फर्जी बिल बनाएर चोरी निकासी गरेको स्थानीयको गुनासो आएको थियो’, प्रमुख थापाले भने, ‘स्थानीयको गुनासो पछि प्रहरी युनिटको बैठक बसेर आज विभिन्न स्थानबाट सवारी साधन नियन्त्रणमा लिएर महानगरमा बुझाएका हौं ।’ उनका अनुसार अवैध रुपमा नदीजन्य पदार्थहरुको उत्खनन गरेर भ्याटबिल नभएका, कागजपत्र नभएका, फर्जीबिल बनाएका ५६ वटा ट्रक, टिप्पर र ट्याक्टर नियन्त्रयणमा लिएको हो । अवैध रुपमा नदीजन्य पदार्थ ढुङ्गा बालुवा, गिट्टी ओसार–पोसार गरिरहेको अवस्थामा पोखराको बैदामबाट ५ वटा, रामबजारबाट ८ वटा, बगरबाट २० वटा, शिुशुवाबाट ४ र गगनगौडाबाट १९ वटा सवारी साधन नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख थापाले अब कास्कीको हरेक स्थानमा दैनिक रुपमा नदीजन्य पदार्थ बोकेका सवारी साधनको नियमित जाँच गर्ने समेत बताए । ‘कास्कीमा नदीजन्य पदार्थ बोकेका सवारी नियमित जाँच गछौं’, उनले भने, ‘आज नियन्त्रणमा लिएका सवारीहरुले बोकेका बिल कागजपत्रहरु महानगरले हेरिरहेको छ दोषी देखिए कारवाहीको प्रक्रिया अगाडी बढ्छ ।’
पोखरा: लेकसाइडस्थित डान्सबारमा महिला स्टाफलाई ग्राहकसँग मादक पदार्थ सेवन गर्न लगाएर बढी विल उठाउने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पोखरा महानगरपालिका–६ लेकसाइडस्थित ड्रागन डान्स बारका म्यानेजर र सेभेन डान्स बारका कर्मचारीलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रकाउ पर्नेमा ड्रागन बारका म्यानेजर पोखरा-१७ बिरौटा घर भएका सागर गुरुङ र पोखरा –६ लेकसाइड बस्ने सेभेन स्टार डान्स बारका कर्मचारी प्रविण खड्का रहेका छन् । उनीहरुलाई प्रहरीले आज बिहान करिव १ बजेको समयमा नियन्त्रणमा लिएको हो । उनीहरुले बढी उठाउने मनसायले मापदण्ड विपरीत महिला स्टाफलाई ग्राहकसँग राखेर मादक पदार्थ सेवन गराएर बढी बिल उठाउने गरेको पाइएपछि नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । प्रकाउ परेका दुवै जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट अभद्र मुद्धामा ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।

