पोखरा: योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर दिपेन्द्रबहादुर क्षेत्रीले सरकारको नेतृत्व गर्ने नेताहरुले आफुखुशी योजनाहरुलाई राष्ट्रिय गौरवको सूचीमा राख्दा अलपत्र पर्ने गरेको बताएका छन् । पोखरामा चेम्बर अफ कमर्स र रोटरी क्लब अफ गण्डकीले आयोजना गरेको आर्थिक रुपान्तरण तथा समसामयिक व्यवसायीक अवस्था सम्बन्धित अन्तरक्रिया कार्यक्रममा क्षेत्रीले यस्तो अभिव्यक्ति दिएका हुन् । अन्तरक्रिया कार्यक्रममा सहभागीले सरकारले प्राथमिकतामा राखेको मध्यपहाडी लोकमार्ग अलपत्र पर्ने गरेको प्रसंगबारे गरेको प्रश्नमा जवाफिदै पूर्व गर्भनर तथा योजना आयोगका पूर्व उपाध्यक्ष क्षेत्रीले राजनीतिक खिचातानीकै कारण अलपत्रमा पर्ने गरेको बताए । ‘राष्ट्रिय गौरवको योजना बनाउने निर्णय संविधान जारी हुने र राजनीतिक खिचातानी हुने समयमा यसको परिकल्पना भयो, पूर्व योजना उपाध्यक्ष क्षेत्रीले भने, ‘जुन बेला बन्द हड्ताल हुन्थ्यो त्यो समयमा अर्थतन्त्रमा गति लिन सक्दैन भनेपछि सबै राजनीतिक दललाई चित्त बुझ्ने परियोजनालाई राष्ट्रिय गौरवको योजनाको नाम दिइयो ।’ पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक दलहरुले रोजेका परियोजनालाई राष्ट्रिय गौरवको योजनाको नाम दिने र प्राप्त बजेट तथा जनशक्ति दिँदा देशको अर्थतन्त्रले गति लिन सक्ने गरी योजना छनोट हुने गरेको उपाध्यक्ष क्षेत्रीले उल्लेख गरे । ‘जुन बेला देशको अर्थतन्त्र चलायमान बनाउने गरी राष्ट्रिय गौरवको योजना छनोट हुन्थ्यो अहिले यसमा विकृति आएको छ, उनले भने, ‘सरकारको नेतृत्वमा जाने राजनीतिक दलको खिचातानीकै कारण राष्ट्रिय गौरवका योजना छनोट गर्दा अलपत्रमा पर्ने गरेका छन् ।’ उनले सरकारले उद्योगधन्दा स्थापना, कृषिमा लगान बढाउन नसक्दा युवाहरु विदेश जाने क्रम बढेको धारणा राखे । ‘सरकारले बन्द भएका उद्योगहरु सञ्चालन गर्न सकेको छैन । कृषिमा बजेट सिमित छुट्याउँछ, क्षेत्रीले भने, ‘उद्योगहरु सञ्चालन र स्थापनामा सरकारको ध्यान जान सकेन । कृषिमा लगानी बढेन, देशमा युवाहरु बेरोजगार भए त्यसैले रोजगारीका लागि दिनानुदिन विदेश भासिएका छन् ।’ उनले अन्तरक्रियाकै सवालमा सरकारले व्यवसायीहरुको मर्मलाई बुझेर नीति निर्माण गर्नुपर्नेसमेत धारणा व्यक्त गरेका थिए । रोटरी क्लब अफ गण्डकीले आफ्नो मासिक बैठकको क्रममा हरेक महिना विभिनन क्षेत्रको विज्ञ व्यक्तित्वसँग समय सान्दर्भिक विषयमा अन्तरक्रिया छलफल गर्दै आएको छ । अन्तरक्रिया कार्यक्रम चेम्बर अफ कमर्स गण्डकीका अध्यक्ष किसान सुनारको सभापतित्वमा सम्पन्न भएको थियो ।
पोखरा: पोखराको अमरसिंह मैदानमा जारि पोखरा महोत्सवमा बिहीबार बद्री पंगेनी र सबिन राईले प्रस्तुती दिने भएका छन् । महोत्सवको आठौँ दिन बिहीबार चर्चित लोकदोहोरी गायक बद्री पंगेनीको प्रस्तुती रहनेछ भने सांझको लाइभ ब्याण्ड तर्फ सबिन राई एण्ड द फेरोहको प्रस्तुती रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । बद्री पंगेनी संगै जीवन दाहाल, शिवहरी ढुंगाना, नेत्र खड्का, नवराज अधिकारी, टस गुरुङ, नेत्रपाणी बास्तोला, रमा राना, पुजा गुरुङको प्रस्तुती रहने छ । महोत्सवमा बुधवार पछिल्लो समय चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियारको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए । शान्तिले बोल माया, गलबन्दी, चौका दाउ, अरेली काँडैले लगायतको गितहरु मार्फत दर्शकलाई नचाउद सफल रहिन । महोत्सवमा शान्ति संगै जीवन दाहाल, तारापति सुवेदी, शिवहरी ढुंगाना, टेक क्षेत्री, लक्ष्मण सिंह ठकुरी, लिला पौडेल, सरला पाण्डे, सबिना गुरुङ, कमला सुनार लगायतको प्रस्तुतीमा दर्शकहरुले मनोरन्जन लिएका थिएभने सांझको लाइभ ब्याण्डमा मेलिना राइको प्रस्तुतीमा युवाहरु झुमेका थिए । महोत्सव सातौ दिनमा आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिती रहेको छ भने महोत्सवमा कारोबार समेत वढिरहेको आयोजकले जनाएको छ । महोत्सवमा बिश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियान अन्तर्गत “नेपाल कला यात्रा“ पुस्तक प्रकाशनको लागि कलाकार प्राज्ञ नगेन सिंहको कलाकृतिहरु “विश्वको उत्कृष्ट गन्तव्य नेपाल दोस्रो कला प्रदर्शनी“ समेत भएरहेको छ । त्यसैगरी महोत्सवमा याकको अवलोकन, भेषभूषामा फोटो खिचाउने संगै नेपाल टेलिकमको निशुल्क सिमकार्ड लिनेको भीड रहेको छ । महोत्सवमा जारी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता अन्तर्गत बुधबार सरस्वती आवासिय मावि अघिल्लो चरणमा प्रवेश गरेको छ । बुधवार विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा मेट्रोपोलिटन, सेन्ट मेरिज, सरस्वती आवासिय मावि र बालकल्याण बिचको प्रतिस्पर्धामा सरस्वती आवासिय मावि अघिल्लो चरणमा प्रवेश गरेको हो । महोत्सव अवधिभर रेभल एप मार्फट टिकट काट्नेहरु मध्ये गोलाप्रथाद्धारा एकजनालाई वल्र्डलिंकको इन्टरनेट एक महिना निशुल्क, होटल स्नो पिकमा एक जोडीलाई डिनर सहित बास बस्ने ब्यवस्था र लेकसाइडमा रहेको प्याराडिसो बार एण्ड ग्रीलमा एक जनालाई एक हजारको कुपनको ब्यवस्था गरिएको र प्रत्येक दिन तीन जनालाई निशुल्क टिकटको ब्यवस्था गरिएको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
पोखरा: नेवा पुचः कास्कीको आयोजनामा पोखरामा ४० जना युवायुवतीहरुलाई धिमेनाच र धिमेबाजा बजाउने तालिम दिएको छ । करिव १५ दिनसम्म सञ्चालन भएको तालिममा पोखराका ४०जना युवायुवतीहरुको सहभागिता रहेको थियो । तालिम सञ्चालन गर्न पोखरा महानगरपालिका–३ ले सहयोग गरेको थियो । यस्तै प्रशिक्षार्थीहरुलाई बिकेश महर्जन र लिजा महर्जनले प्रशिक्षण दिएका थिए । तालिम समापन कार्यक्रममा पोखरा महानगरपालिका वडा न.३ का वडाध्यक्ष प्रकाशमान उदासले संस्कार र संस्कृतिलाई जोगाईराख्न सकेमात्र पहिचान कायम रहने बताए । उनले पोखरामा भएका नेवा खल:, नेवा ल्याम्ह पुचः नेवा पत्रकार तथा मिसा पुचहरुको सहयोगमा नेवारी समुदायको संस्कृति झल्कने संग्रहालय निर्माण भएकोप्रति खुशी व्यक्त गर्दै जनप्रतिधि भएर संस्कृति जोगाउने विषयमा काम गर्न पाउँदा खुशी लागेको बताए । यस्तै नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखे पोखरामा नेवा संस्कार र संस्कृति प्रवर्धन र संरक्षणको लागि युवाहरुलाई पोखरा मै पहिलो पटक धीमे नाचको तालिम दिईएको बताए । उनले नेवा मिसा पुचः कास्कीले लोपोन्मुख अवस्थामा पुगेको पञ्चबुद्ध नाच, कुमारी नाच, चर्या नृत्य तथा धिमे नाचलाई पोखरामा पुनर्जागृत गरेको बताउँदै यस्ता नाचहरुलाई व्यावसायिकरण गर्नुपर्ने बताए । तालिम समापन कार्यक्रममा नेवा मिसा पुचः कास्कीका अध्यक्ष सँगिता बज्राचार्यले तालिममा सहभागी प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई धन्यवाद दिदै निरन्तर अभ्यासमा लागिरहन आग्रह गरिन । उनले तालिममा धेरै कुरा सिकेपनि पर्याप्त नहुने बताउँदै आफ्ना टोलमा हुने विभिन्न सांस्कृतिक कार्यक्रममा पनि यस्ता बाजागाजा र नृत्य प्रस्तृत गर्नुपर्नेमा जोड दिईन ।
पोखरा: पोखराको अमरसिंह मैदानमा जारी बाह्रौं संस्करणको पोखरा महोत्सवमा भोलि (बुधबार) चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियार र गायिका मेलिना राई आउने भएकी छिन । महोत्सवमा दिउँसोको कार्यक्रममा गायिका शान्ति श्री परियार र साँझको लाइभ ब्याण्ड तर्फ मेलिना राईको प्रस्तुती रहने महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । शान्ति श्री संगै लोकदोहोरी कलाकारहरु जिवन दाहाल, तारापति सुवेदी, चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, टेक क्षेत्री, लक्ष्मण सिंह ठकुरी, लिला पौडेल, सरला पाण्डे, सबिना गुरुङ, कमला सुनार लगायतको प्रस्तुती रहने छभने सांझको लाइभ ब्याण्डमा मेलिना राइको प्रस्तुती रहने छ । महोत्सवको छैठौ दिन सम्म आइपुग्दा महोत्सवमा दर्शकको सहभागीता उल्लेख्य रहेको छ । त्यसैगरी कारोबार पनि बढ्दै गइरहेको आयोजकले जनाएको छ । महोत्सवमा मंगलबार रचना रिमालको प्रस्तुतीमा दर्शकहरुले मनोरन्जन लिए । रचना संगै पुरुषोत्तम न्यौपाने, जिवन दाहाल, चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, सुमन खड्का, परशुराम अधिकारी, केशव घिमिरे, कृष्ण गुरुङ, माया गुरुङ, दुर्गा क्षेत्री लगायतको प्रस्तुतीमा दर्शकहरुले मनोरन्जन लिएभने साँझको लाइभ ब्याण्डमा श्री ३ को प्रस्तुतीमा युवाहरुले भरपुर मनोरन्जन लिए । महोत्सवमा हिमाली याक अवलोकन, घोडा सवार, विभिन्न जातजातिको भेषभुषाको पहिरनमा तस्विर खिचाउने, भिआर नाइन डी, नेपाल टेलिकमको निशुल्क सिम वितरण, कृषि, लत्ताकपडा, घरायसी सामाग्री किन्ने दर्शकको भीड लागेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
पोखरा: अमरसिंह मैदानमा जारी पोखरा महोत्सवमा दर्शकको भिड लागेको छ । महोत्सवमा दर्शकको भीड संगै याक अवलोकन, घोडा सवार, नेपाल टेलिकमको सिमकार्ड लिने र विभिन्न जातजातिको मौलिक पोशाक लगाइ तस्विर खिचाउनेको भीड लागेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवको पाँचौ दिन सोमबारमात्रै ३५ हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेका छन भने महोत्सवमा १ करोड १५ लाख बरावरको कारोबार भएको महोत्सवका अर्थ ब्यवस्थापन उपसमितिका संयोजक सूर्य बहादुर बानियाँले जानकारी दिए । महोत्सवमा सोमबार देखि विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता समेत सुरु भएको छ । सोमबार सम्पन्न प्रतियोगितामा बेसलाईन एकेडेमी अघिल्लो चरणमा प्रवेश गरेको छ । बेसलाईन एकेडेमीले बाल मन्दिर मावि, अमरसिंह एन र कालिका माविलाई पछाडि पार्दै अघिल्लो चरणमा प्रवेश गरेको हो । महोत्सवमा सोमबार लोकदोहोरी गायक राजु परियार र सिम्रन परियारको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । युवा पुस्तालाई सिम्रन परियार र बृद्धवृद्धाहरुलाई राजु परियारको प्रस्तुती मार्फत दर्शकहरुले मनोरन्जन लिएका थिए । राजु र सिम्रन संगै प्रजापति पराजुली, जिवन दाहाल, राजन कार्की, शिव ढुंगाना, जिवन सिग्देल, दिपक कार्की, मञ्जु बिक, सुनिता नेपाली लगाएतको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिएभने सांझको लाइभब्याण्ड तर्फ लाहुेर एण्ड द ब्याड कम्पनीको प्रस्तुतीमा युवाहरु झुमेका थिए । यसैगरि महोत्सवमा मंगलबार रचना रिमाल, पुरुषोत्तम न्यौपाने, जिवन दाहाल, चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, सुमन खड्का, परशुराम अधिकारी, केशव घिमिरे, कृष्ण गुरुङ, माया गुरुङ, दुर्गा क्षेत्री लगायतको प्रस्तुती रहने छभने साँझको लाइभ ब्याण्डमा श्री३ को प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
पोखरा: पोखरामा यति एयरलाइन्सको ९ एएनसी एटीआर–७२ को विमान दुर्घटना भएको आज एक वर्ष पुगेको छ । काठमाडौंबाट ७२ जना यात्रु लिएर पोखरा उडेको यति एयरलाइन्सको विमान सेती खोँचमा माघ १ गते दुर्घटना भएको थियो । सेती खोँचमा विमान दुर्घटनामा हुँदा चालक दलसहित ७२ जनाको नै ज्यान गएको थियो । पोखरा महानगरपालिकाले विमान दुर्घटनाको भएको एक वर्षपछि दुर्घटनामा ज्यान गुमाएका ७२ जनाको सम्झनामा स्तम्भ निर्माण गरेको छ । विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुहरुका सम्झनामा वार्षिक स्मृति सभा गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले मृतकको सम्झनामा पार्क र पुल निर्माण गर्ने बताए । ‘दुर्घटनालाई हामी सम्झन चाहान्नौ तर दिवंगतहरुको सम्मान स्वरुप स्मृति पार्क र झोलुङ्गे पुल निर्माण गर्नेछौ,’ उनले भने । उनले मानवीय त्रुटीकै कारण विमान दुर्घटना भएको प्रतिवेदनले उल्लेख गरेको स्मरण गर्दै आगामी दिनमा सम्बन्धित निकाय संवेदनशिल हुनुपर्ने धारणा राखे । ‘हामीले नचाहदाँ नचाहदैँ गतवर्ष विमान दुर्घटना भयो, विमान सवार चालकदलसहित सबै यात्रुलाई गुमाउन पुग्यौ, दुर्घटनाको अन्तिम प्रतिवेदन पनि आएको छ’, मेयर आचार्यले भने, ‘प्रतिवेदनमा मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको भन्ने आएको छ, अब यस्ता दुर्घटना हुन नदिन सरकार र एयरलाइन्सले दुवैले ध्यान पु¥याउन आवश्यक छ ।’ उनले विमान दुर्घटना स्थलमा मृतकको सम्झनामा स्मृति पार्क र सेती खोँचलाई जोड्ने गरी विमानको आकारमा पुल निर्माण गर्ने बताए । ‘हामीले यस दुर्घटना स्थलमा वारिपारि गर्न मिल्ने गरी विमानको आकारमा पुल निर्माण गर्ने तयारी छौं’, उनले भने, ‘पुल र पार्क निर्माण गर्न यति एयरलाइन्ससँग पनि समन्वय गरेर अगाडि बढ्ने छौं ।’
पोखरा: अमरसिंह मैदानमा जारी पोखरा महोत्सवको चौथो दिन आइतबार समिक्षा अधिकारीको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरञ्जन लिएका छन । त्यसैगरी महोत्सवमा नेपाली पोशाक लगाएर फोटो खिच्नेको भीड लागेको छ । महोत्सवमा डिडि डान्स नृत्य प्रशिक्षण केन्द्रको सहकार्यमा नेपालमा बसोबास गर्ने विभिन्न जातजातीको भेषभूषा लगाइ फोटो बुथमा तस्बिर लिनेहरुको लर्को लागेको हो । महोत्सवमा भोली माघ १ गते सखरखण्ड र तरुलले दर्शकलाई स्वागत समेत गर्ने आयोजकले जनाएको छ । महोत्सवमा आइतबार समिक्षा अधिकारी संगै राजु गुरुङ, जिवन दाहाल, चोलेन्द्र पौडेल, घनश्याम रिजाल, शिवहरी ढुंगाना, कृष्ण सुवेदी, कृष्ण भट्टराई, प्रशान्त तामाङ, पार्वती जिसी, मधु थापा मगर, नविना सुवेदी लगायतको प्रस्तुतीमा दर्शकहरुले मनोरन्जन लिएका थिए भने सांझको लाइभ ब्याण्डमा रकहेड्सको प्रस्तुतीमा युवाहरुले भरपुर मनोरन्जन लिएको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । सोमबार देखि पोखरा महोत्सवमा विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता हुने भएको छ । १७ टिमको प्रतिस्पर्धा रहने उक्त प्रतियोगितामा माघ १ गते बेसलाइन एकेडेमी, बाल मन्दिर मावि, अमरसिंह एन र कालिका मावि विच प्रतिस्पर्धा रहने छ । त्यसैगरी माघ ३ गते मेट्रोपोलिन, सेन्ट मेरिज, सरस्वती र बालकल्याण बिच प्रतिस्पर्धा रहने छ । त्यस्तै माघ ५ गते मेरिगोल्ड, ज्ञानगंगा, राष्ट्रिय मावि र पटनेरी मावि बिच प्रतिस्पर्धा रहनेछभने माघ ६ गते कास्की मोर्डनाइज्ड, अक्सफोर्ड, ज्ञानज्योती, अमरसिंह अंग्रेजी स्कुल, र अञ्जुली बार्डिङ स्कुल बिच प्रतिस्पर्धा रहने प्रतियोगिता संयोजक विष्णु गुरुङले जानकारी दिए । महोत्सवमा माघ १ गते लोकदोहोरी तर्फ सोमबार राजु परियार, सिम्रन परियार, प्रजापति पराजुली, जिवन दाहाल, राजन कार्की, शिव ढुंगाना, जिवन सिग्देल, दिपक कार्की, मञ्जु बिक, सुनिता नेपालीको प्रस्तुती रहनेछभने सांझको लाइभ ब्याण्ड तर्फ लाहुरे एण्ड द ब्याड कम्पनीको प्रस्तुती रहने छ ।
पोखरा: नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिलिप रानामगरले पाएको छन् । रानामगर मगर विद्यार्थी संघ गण्डकीको उपाध्यक्ष हुन् । मगर विद्यार्थी संघ गण्डकीका अध्यक्ष डेक पुनमगरले स्वास्थ्य अवस्थाका कारण रानामगरलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको बताए । ‘स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको सल्लाह अनुसार केही समय आराम गर्न सल्लाह दिएकाले संस्थालाई चलायनमान र गतिशिल बनाउन तीन महिनाका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो’, अध्यक्ष पुनमगरले भने । उनले मगर विद्यार्थी संघ गण्डकी प्रदेशको सांगठनिक गतिविधिहरु गरि थप मजबुत र चलायमान बनाउन कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको उल्लेख गरेका छन् ।
पोखरा: नेपाल सुन चाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीको दशौं साधारण सभा तथा पाँचौ अधिवेशनमा भरत विक अध्यक्षमा निर्वाचित भएका हुन् । पोखरामा शनिबार सम्पन्न भएको नेपाल सुन चाँदी रत्न तथा आभुषण व्यवसायी संघको दशौ साधारण सभा तथा पाँचौ अधिवेशनमा भरतको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । व्यवसायी संघको प्रथम उपाध्यक्षमा मनबहादुर सुनार, द्धितिय उपाध्यक्षमा सुरेन्द्र विश्वकर्मा (रामदाम), महासचिवमा दिपेश सुनार, सचिवमा सुरेन्द्र बहादुर विश्वकर्मा, कोषाध्यक्षमा अर्जुन कुमार सुनार र सहकोषाध्यक्षमा रमेश खड्का विक चयन भएका हुन् । यस्तै सदस्यहरुमा नरेश वि.क, समीर बराल सुनार, विर बहादुर सुनार, दिपक बिश्वकर्मा, सन्तोष दियाली र सुरेन्द्र सुनार निर्वाचित भएका हुन् । यस्तै दुईजना सदस्य भने समितिको बैठकले मनोनित गर्ने जनाईएको छ ।