पोखरा:   पोखरामा सलाईको काँटी पटका बनाउने क्रममा अचानक पड्किदा १७ वर्षीय असिम परियार घाइते भएका छन् ।  पोखरा महानगरपालिका–२१ फुर्सेखोला रोकरे बस्ने परियारले आज आल्मुनियमको पातामा २० ब...

पोखरा:      नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन तयारीका लागि पर्यटन व्यवसायीहरुसँग अन्तरक्रियासँगै सुझाव संकलन गर्ने काम भएको छ ।  मञ्चको आयोजनामा फागुन पाँच गते पोखरामा आयोजना हुने १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि बिहिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । सो क्रममा बोल्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष पोम नारायण श्रेष्ठले म्याराथनलाई पर्यटकीय क्षेत्र लेकसाइडमा समापन गर्ने योजनाको स्वागत गर्दै आभार व्यक्त गरे । पोखरा पर्यटनका लागि मात्र नभई खेलकुदका लागि समेत उत्कृष्ट स्थलरहेकाले अबको यात्रा खेल पर्यटनको रहेको सुनाए ।  ‘यति ठूलो प्रतियोगिताको समापन हल्लनचोकको क्याम्पिङ चोकमा समापन गर्न लाग्नु भएको छ यसमा हामी पर्यटन व्यवसायी आभार व्यक्त गर्दर्छौ । यो इभेन्टले पोखरालाई विश्वभर चिनाउन महत्वपुर्ण भूमिका खेलेको छ’ उनले भने, ‘हामी पर्यटन व्यवसायी वा यस व्यवसायीसँग आबद्ध संघ संस्थामात्र होइन यहाँ आबद्ध नभएका संघ संस्थालाई समेत जोड्ने प्रतिबद्धता व्यक्त गर्दछौ ।’ म्याराथनलाई सफल बनाउन आर्थिक, भौतिक रुपमा सहयोग गर्न तयार रहेको उनले सुनाए ।  परिषदका पुर्व अध्यक्ष चिरञ्जीवी पोखरेलले म्याराथनको रुटले पर्यटकलाई थप आकर्षित गर्ने बताए । म्याराथन खेलमात्र नभई पोखराको पर्यटनलाई ब्रान्डिङ गर्ने सुनौलो अवसर रहेको उनको भनाई थियो । आफुहरुलाई आयोजकले आवश्यक सहयोग मागेर केहि काम दिए त्यो पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।  होटल संघका पुर्व अध्यक्ष भरतराज पराजुलीले म्याराथनका लागि संस्थागत मात्रै नभई व्यक्तिगत सहयोग गर्ने बताए । उनले पर्यटनको लागि अफ सिजनको समयमा भएको म्याराथनले पोखराको पर्यटन व्यवसायलाई ठूलो सहयोग पुग्ने सुनाए ।  पोखरा उद्योग वाणिज्य संघका पर्यटन संयोजक राम कडेलले अबको पर्यटन खेल पर्यटन रहेकाले पर्यटन व्यवसायीहरुले खेलकुदलाई समेत सहयोग गर्नुपर्ने सुनाए । पोखरा पर्यटन परिषदका दितीय उपाध्यक्ष तारानाथ पहारीले म्याराथनलाई कसरी सफल बनाउने भन्नेतर्फ आफुहरु रहेको सुनाए ।   मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले पोखरामा खेलकुदको गतिविधि भइरहँदा पर्यटनलाई समेत ठूलो टेवा पुग्ने बताउँदै म्याराथनलाई पर्यटनसँग जोड्दै नयाँ रुटमा दौड हुने बताए । म्याराथनमा विभिन्न राष्ट्रका धावकहरुको उपस्थिति रहने भएकाले पर्यटन क्षेत्रलाई समेटेर अघि बढ्ने लक्ष्यका साथ अघि बढेको उनले सुनाए ।  यस्तै मञ्चका निवर्तमान अध्यक्ष तेज गुरुङले मञ्चको स्थापना, उदेश्य र म्याराथनको बारेमा प्रस्तुति दिएका थिए । गुरुङले नेपालमा धेरै म्याराथन नीजि संस्थाले गर्दै आएपनि पोखरा म्याराथन सामाजिक संस्थाले गरेका कारण यसको महत्व अझ बढी रहेको बताए । मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले एथलेटिक्स खेलहरुको मेरुदण्ड रहेको र एथलेटिक्सकै म्याराथन हरेक सहरमा सिटी म्याराथनको अवधारणा अनुरुप अघि बढेकाले आफुहरुले पनि म्याराथनको आयोजना गरेको बताए ।     पोखरा म्याराथनले पोखराको सन्देश दिनुपर्छ: प्रदिप पौडेल    नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनीधि सभा सदस्य प्रदिप पौडेलले सफल पोखरा म्याराथन पोखराको सन्देश दिने पक्षमा रहनुपर्ने बताए । उनले पोखराको मुद्धालाई म्याराथनमार्फत सन्देश दिन उनले आग्रह समेत गरे । २०५८ सालदेखि सुरु भएको म्याराथन आजपनी सोही अनुरुप चल्न नहुने र यसको सन्देशले विश्वलाई नै आकर्षित हुने किसिमको हुनुपर्नेमा जोड दिए । ‘यो पोखरा म्याराथन वास्तवमै उत्कृष्ट म्याराथन हो । यो म्याराथन आयोजनाका लागि मात्रै नहोस् । पोखरा म्याराथनले पोखराको मुद्धाहरुलाई लिएर सन्देशदिने किसिमको होस्’ उनले भने, ‘पोखरामा अन्तर्राष्टिय विमानस्थल बनेको छ । यहाँ अन्तर्राष्ट्रिय उडान हुन आवश्यक छ यो मुद्धा पनि उठाओस् यतिमात्र होइन पोखराले के चाहेको छ भन्ने कुरा हो । यहाँ ए क्याप छ, अन्नपूर्ण छ यहाँ पर्यटन भुल्ने क्षेत्र भनि साध्य छैन् त्यो कुरा आउनुप¥यो ।’  पोखराको मुद्धालाई म्याराथनमा समावेश गरे त्यसलाई सदनमा लैजाने जिम्मेवारी आफ्नो भएको उनले सुनाए ।  देशको आर्थिक विकासको आधार पर्यटन भएको र पोखरा त्यसको मुख्य कारक भएकाले यहाँ सैद्धान्तिक कुरा गरेर नभई यहाँको सम्पदाहरुको संरक्षणमा समेत विशेष जोड दिनुपर्ने उनको भनाई थियो ।  

पोखरा:   २१ औं अन्तर्राष्ट्रिय प्रवतीय संग्रहालय दिवसको अवसरमा पोखरामा ऐतिहासिक रातो मच्छिन्द्रनाथ रथयात्रा र हनुमान ढोका क्षेत्रमा भएका ऐतिहासिक तस्वीर प्रदर्शन गरिने भएको छ । माघ २१ गतेदेखि २८ गतेसम्म संग्रहालयले ती ऐतिहासिक तस्वीर पोखरामा एक हप्तासम्म प्रदर्शन गर्ने चाँजो मिलाएको हो । संग्रहालय निर्देशक निर्मला न्यौपानेले पर्वतीय संग्रहालय दिवसको अवसरमा उक्त फोटो प्रदर्शनी पाटन संग्रहालय विकास समिति र हनुमान ढोका दरबार संग्रहालयको सहकार्यमा गर्न लागेको जानकारी दिइन् । सो अवसरमा रातोमच्छिन्द्रनाथ रथ यात्राबारे जानकारी, यात्राको रुट, डकुमेन्ट्रीलगायत प्रदर्शनी गरिने संग्रहालयले जानकारी दिएको छ । साथै, हनुमान ढोका दरबार क्षेत्रका ऐतिहासिक तस्वीरहरु पनि प्रदर्शनमा राखिने भएको छ ।  ‘हनुमान ढोका दरबार संग्रहालय तथा विकास समितिको सहकार्यमा शाही चित्रकार तथा दरबार फोटोग्राफर दीर्घमान चित्रकार र उनका छोरा गणेशमान चित्रकारले खिचेको चित्र, तस्वीर, दरबार क्षेत्रका स्मारक, जात्रा, उत्सव, तथा जनजीवन झल्किने फोटो एकहप्तासम्म पोखरामै हेर्न व्यवस्था मिलाएको छौं,’ न्यौपानेले भनिन् । उक्त अवसरमा पाटन ढोका दरबार क्षेत्रका महत्वपूर्ण सम्पदाहरु तलेजु मन्दिर, प्रताप मल्लको परिवारसहितको शिलास्तम्भ, मल्लकालीन मूलचोक, मोहनचोकलगायत प्रथम विश्व उुद्धका लागि तयार पारिएका नेपाली सेना, विसं. १९९० को महाभूकम्प आदि झल्कने २२ तस्वीर प्रदर्शन गरिने संग्रहालयले जनाएको छ । साथै, २१ औं पर्वतीय संग्रहालय महोत्सवको अवसरमा जर्मनी आरोही हेनिज स्टेन्मिजले नेपालको अन्नपूर्ण चौंथो आरोहण गर्दा खिचेको ऐतिहासिक फोटोसमेत प्रदर्शनीमा राखिने भएको छ । हेनिजले सन् १९९५ मा अन्नपूर्ण चौंथो आरोहण गरेका थिए । उनले अन्नपूर्ण चौंथोसँगै चुलु, काङगुरु, दक्षिण लमजुङ हिमाल आदि आरोहण गरेका थिए । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय दिवस उत्वसको उद्घाटन पोखराका मेयर धनराज आचार्य र ललितपुरका मेयर चिरिबाबु महर्जनले संयुक्त रुपमा गर्ने संग्रहालयले जनाएको छ ।  

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध काठसहित बोलेरो जीप नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले अवैध काठसहित लामाचौरतर्फ आउँदै गरेको बोलेरो जीप नियन्त्रणमा लिएको हो ।  पोखरा महानगपालिका–१९ भुनपुरेस्थित पुरनचौरबाट लामाचौरतर्फ आउँदै गरेको ग २ च ५३५७ नम्बरको बोलेरो जीप नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय कास्कीमा पठाएको कास्की प्रहरीले जनाएको छ ।  २ सय ७२ थान चिरुवा काठ (फल्याक) लोड गरेर लामाचौरतर्फ आउँदै गरेको जीप प्रहरीले चेकजाँच गर्ने क्रममा प्रयोजन खुल्ने कागजात नभएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय कास्कीमा बुझाएको प्रहरीले जनाएको छ ।  

पोखरा:     प्रेस चौतारी, कास्कीले स्थापना एवं सञ्चालन गरेको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार’ बाट यस वर्ष माधव बराल पुरस्कृत हुने भएका छन् । प्रेस चौतारी पत्रकारिता सम्मान २०८० मीना गुरुङ र हुम गुरुङलाई अर्पण गर्ने पनि प्रेस चौतारीले जनाएको छ । प्रेस चौतारीको २६ औं स्थापना दिवसको अवसरमा कास्की शाखाले पुरस्कार एवं सम्मान अर्पण गर्न लागेको हो । पूर्व अध्यक्ष हरि बास्तोला संयोजक, पूर्व अध्यक्ष श्याम कुँवर र पूर्व पुरस्कृत व्यक्तित्व शान्ति गुरुङ सदस्य तथा कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी र सचिव रञ्जन अधिकारी पदेन सदस्य रहेको प्रतिभा छनौट समितिले गरेको सिफारिसलाई मंगलबार बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको सचिव अधिकारीले जानकारी दिए । पुरस्कारको राशी ११ हजार १ सय ११ बाट बढाएर यस वर्षदेखि २२ हजार २ सय २२ पुर्‍याइएको उनले बताए । प्रेस चौतारी कास्कीले लामो समयदेखि बर्षेनी प्रदान गर्दै आएको यो पुरस्कारलाई गत वर्षबाट पुनः निरन्तरता दिइएको हो । चौतारीले गत वर्षदेखि नै सम्मान अर्पण गर्न थालेको हो । गत वर्ष राजु भण्डारी र सावित्री खनाल सम्मानित भएका थिए ।  यस वर्ष सम्मानित हुन लागेका मीना गुरुङ लामो समय सञ्चारकर्मममा योगदान गरी राजनीतिमा क्रियाशील छन् । साढे २ दशकदेखि पत्रकारितामै सक्रिय हुम गुरुङ कास्की आवाज दैनिकका सम्पादक तथा प्रकाशक हुन् । अग्रणी संस्था तमु धिँ नेपालका अध्यक्ष रही समाजसेवामासमेत सक्रिय गुरुङले पत्रकारितामा लामो सयमदेखि अनवरत योगदान दिएका छन् । यस वर्ष पुरस्कृत बराल दुई दशक बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । प्रेस चौतारी कास्कीका निवर्तमान अध्यक्ष बराल प्रेस चौतारी र प्रेस सेन्टर एकीकरण भएर बनेको प्रेस संगठन, कास्कीको पनि संयोजक बने । हाल नेपाल पत्रकार महासंघ कास्कीका सचिव बरालले २०५९ सालबाट पत्रकारिता थालनी गरेका थिए । पोखरा हटलाइनबाट पत्रकारितामा छिरेका बरालको गगन दैनिक, सन्ध्याकालीन दैनिक, माछापुच्छ्रे एफएम, धौलागिरी एफएम रेडियो अन्नपूर्ण, नेपाल समाचारपत्र, हिमाल खबर पत्रिका, समाधान दैनिक, अन्नपूर्ण पोष्ट र पब्लिक टिभीमा काम गरेको अनुभव छ । उनले पोखरा महानगरपालिकामा मेयर मानबहादुर जिसीको प्रेस संयोजकको भूमिका पनि निर्वाह गरेका छन् । बरालले २०६८ सालममा जिल्ला विकास समितिबाट उत्कृष्ट पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । यस्तै, २०६६ मा अन्नपूर्ण एफएमबाट बेस्ट न्यूज पर्सन अफ दि इएर लगायतका आधा दर्जन पुरस्कार प्राप्त गरिसकेका छन् । बराल प्रेस चौतारीको अध्यक्ष हुँदै हाल केन्द्रीय सदस्य तथा मिडिया अनुगमन विभाग संयोजक छन् । मिडिया टेक्नोलोजीमा स्नातकोत्तर गर्दै रहेका बरालको स्थायी घर पोखरा २८, कालिका हो । उनी पोखरा १४ चाउथेमा बस्दै आएका छन् । गत वर्ष एकसाथ ५ पत्रकारहरु पुरस्कृत भएका थिए । २०७५ देखि २०७९ सम्मका पुरस्कारबाट क्रमशः अग्रज पत्रकारहरु रामकृष्ण ज्ञवाली, श्याम कुँवर, दीपेन्द्र श्रेष्ठ, केशव पाठक र सुष्मा पौडेल पुरस्कृत भए । त्यसअघि, प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकारहरु संस्थापक अध्यक्ष पुण्य पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल र शान्ति गुरुङ पुरस्कृत भएका थिए । यसैबीच, सम्मान अर्पण समारोहलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिसमेत गठन गरिएको छ । संस्थाको बैठकले सचिव रञ्जन अधिकारीको संयोजकत्वमा प्रचारप्रसार एवं मल्टिमिडिया म्यानेजमेन्ट समिति बनाइएको छ । उपाध्यक्ष मोतिसागर अधिकारीको संयोजकत्वमा जनवर्गीय संगठन समन्वय व्यवस्थापन समिति, उपाध्यक्ष तारा पौडेलको संयोजकत्वमा अतिथि सत्कार उपसमिति बनाइएको छ । कोषाध्यक्ष गिरीधारी पोखरेलको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति गठन गरिएको छ । कार्यसमितिका सबै सदस्यहरु उपसमितिहरुका सदस्य छन् ।

पोखरा:    प्रथम पुन हिल कप भलिबल प्रतियोगितामा प्रौढतर्फ सेमिफाइनलको समिकरण पूरा भएको छ । ४० वर्षमाथिको प्रौढ भलिबलमा आयोजक पुन समाज नेपाल, पोखरा भेट्रान्स, रामबजार भेट्रान्स र सिद्धिकाली गाछेपानी भेट्रान्स सेमिफाइनल प्रवेश गरेका छन् ।  पुन समाज नेपालले सोमबार नै ढुंगेपाटन पुन समाजलाई २–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो । पोखरा भेट्रान्सले मंगलबार भएको खेलमा एक्स एबिसी भेट्रान्सलाई २–० को सोझो सेटमा पाखा लगाउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।   प्रिक्वार्टर फाइनलमा अकलादेवी भेट्रान्सले वाकओभर दिएपछि क्वार्टरफाइनलमा पुगेको एक्स एबिसीसँग कुश्मा भेट्रान्सले वाकओभर दिएपछि पोखरा भेट्रान्सको भेट पक्का भएको हो ।  रामबजार भेट्रान्सले लामाचौर भेट्रान्सलाई २–० कै सोझो सेटमा हराउँदै सेमिफाइनल पुगेकोे छ ।  रामबजार भेट्रान्सले ढुंगेसाँघु पुन समाज लाई २–० को सेटमा पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको थियो । लामाचौर भेट्रान्सले सोमबार नै रामबजार पुन समाजलाई २–० कोे सेटमा हराएर आन्तिम ८ मा स्थान बनाएको थियो । सिधैं बाइ पाएर क्वार्टरफाइनल खेलको सिद्धिकाली गाछेपानीले आर्थर डाँडाखर्क भेट्रान्सलाई २–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय ग¥यो ।  अब सेमिफाइनलमा पुन समाज नेपाल र पोखरा भेट्रान्स आमनेसामने हुँदा सिद्धिकालिसँग रामबजारको प्रतिस्पर्धा हुनेछ ।  १२ समूह सहभागि भएको ४० वर्षमाथि उमेर समूहको प्रोढ भलिबलको विजेताले विजेताले ३३ हजार ३३३ रुपैयाँसँगै मेडल, ट्रफि र प्रमाणपत्र पाउनेछ । उपविजेताले २० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  मंगलबारनै महिलातर्फ २ खेल भए । पहिलो खेलमा ढुंगेपाटन पुन समाजले ढुंगेसाँघु पुन समाजलाई २–० को सोझो सेटमा पाखा लगायो । अर्को खेलमा आयोजक पुन समाज नेपालले कालिक पब्लिक क्याम्पसलाई २–० को सोझो सेटमा हराउदै अघिल्लो चरणकोे यात्रा तय गरेको छ ।  १५ समूह सहभागि रहेको महिलातर्फको विजतालाई ६६ हजार ६६६ रुपैयाँ, मेडल, ट्रफि र प्रमाणपत्र तथा उपविजेतालाई ३३ हजार ३३३ रुपैयाँको साथमा मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, खुल्ला पुरुषतर्फको पनि १ खेल मंगलबार भएको छ । पुरुषतर्फ क्लबस्तरीय भलिबलमा नेपाली सेनाको रणचन्डि दल विजयपुरलाई रामबजार पुन समाजले २–० को सोझो सेटमा पराजित गर्न सफल भयो । पुरुषतर्फ १८ टिमको सहभागीता रहेको छ ।  माघ १९ गतेसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फको विजेताले १ लाख ११ हजार १११ रुपैयाँको साथमा मेडल, ट्रफि र प्रमाणपत्र पाउने महासचिव खिमन शेरपुर्जा पुनले जानकारी दिए । उपविजेता टोलीले ५५ हजार ५५५ रुपैयाँसहित मेडल, ट्रफि र प्रमाणपत्रमा चित्त बुझाउनेछ ।  

पोखरा:    पोखरामा निर्माणधिन घरको छतबाट खसेर एकजना इन्जिनियरको मृत्यु भएको छ । निर्माणाधिन घरको ५ औं तलाको छतबाट खसेर गम्भिर घाइते भएका इन्जिनियर भट्टराईको उपचारको क्रममा मृत्यु वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । पोखरा महानगरपालिका–६ खहरेचोकस्थित चिनिमाया भण्डारीको निर्माणाधिन घरको छतमा तातोपानी सर्बे गर्ने क्रममा  लिफ्ट राख्ने स्थानबाट खस्दा इन्जिनियर भट्टराई गम्भिर घाइते भएका थिए ।  पोखरा महानगरपालिका–८ रत्नचोक बस्ने ३७ वर्षीय इन्जिनियर भट्टराई छतबाट खसेर गम्भिर घाइते भएपछि उपचारका लागि गण्डकी मेडिकल कलेज ल्याएपनि चिकित्सकले मृत घोषणा गरेको वडा प्रहरी कार्यालय बैदामका डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए  । इन्जिनियर भट्टराई पोखरा–९ न्यूरोडस्थित मुक्ति ईनर्जी प्रालिमा कार्यरत रहेको प्रहरीले जनाएको छ । 

पोखरा:     पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले वडाले चलाएको रुख काट्ने अभियानबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छन् । महानगरका मेयर  आचार्यले रुख काट्नेबारे महानगरबाट कुनै पनि निर्णय नभएको भन्दै ध्यानाकर्षण भएको जनाएका हुन् ।  मेयर आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत बिनाअनुमति रुख काट्ने, फाड्नेलगायत कार्य नगर्न, नगराउन जानकारी गराइसकिएको जानकारी दिएका छन् । ‘आफ्नो रुख आफैं काटौं अभियान भनेर रुख काट्न आह्वान गरेको भन्ने सूचना प्रकाशित भएको सन्दर्भमा यससम्बन्धमा स्थानीय सरकार सञ्चालन ऐन बमोजिम महानगरपालिकादबाट कुनै निर्णय नभएकोले सो सम्बन्धी कुनै पनि कार्य (रुख काट्ने, फाड्ने) नगर्नु नगराउनु हुन सम्बन्धित सबैलाई जानकारी गराइसकिएको छ,’ उनले भनेका छन् । पोखरा महानगरको वडा नं। १९ क्षेत्रमा बाँदरले दुःख दिएको भन्दै वडाले ‘मेरो रुख म काट्छु’ अभियान चलाउने भएको छ । वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सोमबार एक सूचना जारी गरी १० दिनभित्र आफ्नो वरपरका सबै रुख काट्न निर्देशन दिएका थिए ।  

पोखरा:     गण्डकी दुवानी प्रालिको अध्यक्षमा मनोज रसाइली निर्वाचित भएका छन् । अध्यक्ष पदमा भएको निर्वाचनमा मनोज रसाइलीले इन्द्र मल्ललाई ३ मतले पराजित गर्दै निर्वाचित भएका हुन् ।  पोखरामा सम्पन्न भएको गण्डकी दुवानी प्रालिको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनबाट रसाइली अध्यक्षमा निर्वाचित भएका भएका हुन्  ।  यस्तै सञ्चालक सदस्यमा ईश्वर बस्याल, वीरबहादुर तामाङ, श्याम ताम्राकार, देव बहादुर थापा, विष्णु थापा र केशव श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । 

पोखरा:   पोखरामा पुन समाज नेपालको आयोजनामा सोमबारदेखि प्रथम पुन हिल कप पुरुष, महिला तथा प्रौढ भलिबल प्रतियोगिता सुरु भएको छ । पुन दिवस माघ १५ को अवसर पारेर पोखरा रामघाटस्थित समाजको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । समाजले विभिन्न सांस्कृतिक कार्यक्रमसहित आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ १८, महिलातर्फ १४ र प्रौढतर्फ १२ टोलीको सहभागिता रहेकोे छ । प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वज कुमार गुरुङले नेपालमा भलिबल खेलको विकास तिब्र रुपमा भईरहेको बताए । उनले गाउँ वा शहरमा हुने प्रतियोगिताहरुले यसको पुष्टि गरेको सुनाए । परिषदले खेलककुद विकासको लागि आवश्क सहयोग गर्न तयार रहेको उनले प्रतिबद्धता व्यक्त गरे । प्रथम पुन हिल कप आयोजनासहित पुख्र्यौली कला र संस्कृतिको संगम थलो बनाएकोमा उनले खुसि व्यक्त गरे । ‘यस्ता प्रतियोगितालाई निरन्तरता दिनुहोला । हामी परिषद्बाट हुने सहयोग गर्छौं ।’ उनले भने । यो क्षेत्र खेलकुदको उर्बर क्षेत्र भएको बताउदै गुरुङले जहाँ जस्तो खेलको विकासको सम्भावना छ त्यहाँ त्यसैको विकासमा लाग्नुपर्नेमा जोड दिए । संस्कृतिकर्मी तुलसी प्रभासले नेपाली मौलिक कला, संस्कृतिले भरिपूर्ण भएको बताउँदै यीनको संरक्षणको दायित्व हाम्रै काँधमा आएको बताए । उनले समाजमा एकताबद्ध भई आफ्नो मौलिक पहिचानको लडाँईमा निरन्तर लागिरहनु् पर्नेमा जोड दिए । उद्घाटन सत्रमा अर्चलबोट आमा समूह, चेतनशिल आमा समूह ढुंगेपाटन लगायतका समूहले नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा पुख्र्यौली नृत्य पनि देखाईएको थियो । पुन समाज नेपालमा अध्यक्ष भिमबहादुुर फगामीको अध्यतामा भएको कार्यक्रम महासचिव खिमनशेर पुर्जा पुनले गरेका थिए । प्रौढ तर्फको खेल शुरु यसैबीच, प्रतियोगितामा प्रौढ तर्फका खेल शुरु भएको समाजका सदस्य प्रेम पुनले जानकारी दिए । उद्घाटन खेल पुन समाज नेपाल तथा ढुंगेपाटनबीच भएको थियो । प्रतियोगितामा प्रथम हुने पुरुष टीमले १ लाख ११ हजार १११ रुपैयाँ, मेडल, ट्रफि र प्रमाण पत्र पाउने छ । उपविजेता हुने टीमले रुपैयाँ ५५ हजार ५५५, मेडल, ट्रफि र प्रमाण पत्र पाउनेछ । महिलातर्फ प्रथम हुने टीमले ६६ हजार ६६६, मेडल, ट्रफि र प्रमाण पत्र तथा उपविजेताले रुपैयाँ ३३ हजार ३३३, मेडल, ट्रफि र प्रमाण पत्र पाउने महासचिव खिमन शेरपुर्जा पुनले जानकारी दिए । प्रतियोगितामा ४० वर्ष माथि उमेरका प्रौढको विजेताले ३३ हजार ३३३, मेडल, ट्रफि र प्रमाण पत्र तथा उपविजेताले २० हजार, ट्रफि, मेडल र प्रमाण पत्र पाउनेछ । नयाँ प्रतिभावान खेलाडीहरुको हौसलाका लागि समाजले प्रदेश तथा राष्ट्रिय टीममा रहेर खेलेका खेलाडीहरुलाई समावेस गराएको छैन ।