पोखरा: आगामी १८ र १९ फागुनमा तेस्रो पोखरा महानगरपालिका स्तरीय स्क्वास प्रतियोगिता–२०८० हुने भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना र स्क्वास राकेट एसोसिएसन, कास्कीको व्यवस्थापनमा दुई दिन प्रतियोगिता हुने भएको हो । स्क्वास राकेट एसोसिएसन, कास्कीसँग छलफलपछि चार वटा विधामा प्रतियोगिता हुने तय भएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । खुला, महिला, ४५ माथि भेट्रान्स र प्रारम्भकर्ता (बिगिनर) गरेर चार विधामा प्रतिस्पर्धा हुने उनले बताए । प्रतियोगिता पोखरा रंगशालास्थित स्क्वास कोर्टमा प्रतियोगिता हुनेछ । प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमशः ८ हजार र ४ हजार रूपैयाँ नगदसहित मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । तृतीय हुने दुई जनाले २÷२ हजार नगदसहित मेडल र प्रमाणपत्र पाउने छन् । पोखरा रंगशालास्थित कोर्टमा गएर वा स्क्वास राकेट एसोसिएसन कास्कीको फेसबुक पेजमा गएर त्यहाँ राखिएको लिंकमार्फत गुगल फारम भर्न सकिने एसोसिएसन कास्की अध्यक्ष प्रवीण पालिखेले जानकारी दिए । आगामी १६ फागुनसम्म फारम भर्न सकिने छ । प्रतियोगितामा चार वटा विधामा ७० जना खेलाडी सहभागी हुने अनुमान छ । के हो स्क्वास ? स्क्वास इन्डोर गेम हो । यसमा ¥याकेटको सहायताले रबर बललाई अगाडिको भित्तामा हानिन्छ । शारीरिक सक्रियता बढी हुने भएकाले यो खेल २० मिनेट खेल्नु र एक घण्टा दौडनु बराबर भएको मानिन्छ । सन् १९७७ मा बत्तीसपुतली स्क्वास क्लबको स्थापना भएपछि नै नेपालमा यो खेल भित्रिएको थियो । बेलायतका आर्टिटेक्चर जोन स्यान्डीसँग मिलेर मुरारीशमशेर राणाले यो खेल नेपाल भित्र्याएका थिए । सन् १९८८ मा नेपाल स्क्वास तथा ¥याकेट संघ राखेपमा दर्ता भएको थियो । राखेपबाट राष्ट्रिय संघको मान्यता पाए पनि स्थापना भएको ३४ वर्ष बित्दा समेत यो खेल नेपालमा अन्य ¥याकेट खेलसरह स्थापित हुन सकेको छैन । पोखरामा पनि स्क्वास खेल्न रंगशालाभित्र दुई वटा कोर्ट छन् । यो खेललाई चिनाउन प्रतियोगितापछि विद्यार्थीसम्म पुग्ने र खेलाडी उत्पादनमा जोड दिने अध्यक्ष पालिखेले बताए ।
पोखरा: पोखरा महानगरपालिका वडा नम्बर १० मा रहेको कामना टोल बिकास संस्थाले पत्रकार एमबी आस्था मगर सहित विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । कामना टोल विकास संस्थाको तेह्रौं साधारण सभा तथा छैठौं अधिवेशनको अवसर पारि संस्थालाई अतुलनिय योगदान गरेको भन्दै पत्रकार एमबी आस्था मगर, हिमालय बख्रेल, सुक बहादुर गुरुङ , सीमा गुरुङ र अमृता गुरुङलाई सम्मान गरेको हो । सो अवसरमा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर १० का अध्यक्ष राजेश गुरुङले आफु निर्वाचित भएर आएपछि वडामा रहेका भित्री सडकको स्तरोन्नतीमा ध्यान दिदा अमरसिंह देखी कालिका स्कुल र हिमालय बैंक देखि वडा कार्यालय सम्मको सडक अलपत्र परेको बताए । आगामी वर्षभित्रमा उक्त सडकको स्तरोन्नती गर्ने उनको प्रतिवद्धता रहेको थियो । यसैबिच संस्थाको तेह्रौं साधारण सभा तथा छैठौं अधिवेशनबाट आगामी दुई वर्षे कार्यकालका लागि पुनः कृष्ण बहादुर थापा अध्यक्षमा निर्वाचित भएका छन । संस्थाको उपाध्यक्षमा जिवन वराल, सचिवमा डिल बहादुर कार्की, कोषाध्यक्षमा चन्द्र प्रसाद गुरुङ र सह कोषाध्यक्षमा सुक बहादुर गुरुङ निर्वाचित भएका छन । त्यसैगरी संस्थाको सदस्यहरुमा उमादेवी प्रधान, हुम कुमारी गुरुङ, डायमण्ड हमाल, रुद्र प्रसाद गुरुङ, राम प्यारी गुरुङ र राधा गुरुङ निर्वाचित भएका छन ।
पाेखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ स्थित मिर्सामा भिरबाट खसेर जर्मन नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा जर्मनी नागरिक पिया रहेका छन् । पिया मिर्सा झर्ने क्रममा हिजो बेलुकी (शनिबार) लडेर रुखमा अड्किएका थिए । पियाको शव आज बिहान सशस्त्र प्रहरी बल नम्बर–२४ कालिका गणबाट खटिएको टोलीले रुखबाट निकालेर पोखरा ल्याएको छ । सँगै घुम्न गएका उनका अमेरिकन साथीले पिया लडेको प्रहरीलाई खबर गरेका थिए । त्यसपछि थप अनुसन्धानका लागि अमेरिकन नागरिकलाई कास्की प्रहरीले नियन्त्रणमा राखेको छ ।
पोखरा: नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व सल्लाहकार, पोखराका अग्रज फोटो पत्रकार सुर्दशन रञ्जितले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई अक्षकोष सञ्चालनका लागि रकम हस्तान्त्रण गरेका छन् । शुक्रबार पोखरा–९ पृथ्वीचोकस्थित सहारा बाल आधारभुत विद्यालयको २७ औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रमका बिच रु २५ हजार रुपैयाँ मञ्चका अध्यक्ष दीननाथ बराललाई हस्तान्त्रण गरेका हुन् । रञ्जितले हालै एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डमा स्पेशल अवार्ड सहित प्राप्त गरेको पचास हजार नगद सहितको पुरस्कारबाट प्राप्त रकम मध्यबाट मञ्चले सञ्चालन गर्न लागेको अक्षकोषमा जम्मा हुने गरि उक्त रकम हस्तान्त्रण गरेका हुन् । मञ्च गण्डकीले आगामी एक बर्ष भित्रमा दश लाख अक्षयकोष पु¥याउने अध्यक्ष बरालले बताउदै आएका छन् । अध्यक्ष बरालले यस अघि उक्त कोषमा दश हजार सहयोग गर्दै अक्षकोषको शुरुवात गरेका थिए । रकम हस्तान्त्रण कार्यक्रममा पूर्व अध्यक्ष केशव पाठक, उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव शशी पौडेल र सदस्य रोहितराज पराजुलीको उपस्थिती रहेको थियो । यस्तै रञ्जितले सोही पुरस्कार मध्य केही रकम थप गरी सहारा आधारभूत प्रा.वि. पृथ्बीचोकलाई ३० हजार बराबरको सहयोग गरेका छन् । विद्यालयका अध्यक्ष विक्रम थकाली र प्रधानाध्यापक लोचना अधिकारीलाई उक्त रकम बराबरको चेक नै रञ्जितले सहयोग हस्तान्त्रण गरे ।
पोखरा: पोखरामा ५ लाख बढीको अवैध सामानसहित सुरत बहादुर रानाभाट प्रकाउ परेका छन् । प्रहरीले रानाभाटलाई बागलुङ बसपार्कबाट विल नभएका अवैध सामानसहित बिहीबार प्रकाउ गरेको हो । कास्कीको माछापुच्छ«े गाउँपालिका घाचोक भई पोखरा–४ बागलुङ बसपार्कमा घर भाडामा लिएर स्रोत नखुलेको अवैध विभिन्न चुरोट, गुट्का जुस लगायतका मालसामानहरु बेचबिखन गरिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले प्रकाउ गरेको हो । रानाभाटले भाडामा लिएको घरबाट बिल नभएको ५ लाख २८ हजार ७ सय १० रुपैयाँ बराबरको बिल विनाको चुरोट, गुट्का, जुस लगायतका अवैध सामान र ग २ च ३७२ नम्बरको मारुती कारसहित प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ । प्रकाउ परेका रानाभाटलाई थप अनुसन्धानका लागि राजश्व कार्यालय बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा: ‘उच्च शिक्षा हाम्रो लक्ष्य’ नारासहित क्रियाशिल तमु साँस्कृतिक प्रतिष्ठान नेपालको २३ औं वाषिर्कोत्सव तथा स्रष्टा सम्मान कार्यक्रम बुधबार पोखरामा सम्पन्न भएको छ । तमु साँस्कृतिक प्रतिष्ठान नेपालको २३ औं वाषिर्कोत्सव तथा स्रष्टा सम्मान कार्यक्रममा “स्व. पार्वता तमु स्मृति पत्रकारिता पुरस्कार“ द्वारा वरिष्ठ पत्रकार, सामाजिक अभियन्ता, अधिकारकर्मी एवम् राजनीतिज्ञ कास्की आवाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक हुम तमु,“स्व. घनबहादुर स्मृति पुरस्कार“ लमजुङ, घाम्राङका साहित्यकार केयरसिं तमुलाई, “स्व. क्या. मिनबहादुर स्मृती पुरस्कार“ कलाकार मनबहादुर तमु (माधव), “लालशोभा उत्कृष्ट आमा अवार्ड“ चितवन, माडीका अनुपम तमुका आमा शान्तामाया तमु र “उच्च शिक्षा पुरस्कार“ गोर्खा, सिरानचोकका ई. टकबहादुर तमुलाई सम्मान गरिएको थियो । यस्तै “खेलाडी सम्मान“ द्वारा चीनको हाङजाउ शहरमा भएको १९ औं एसियन गेममा नेपाललाई रजत पदक हासिल गर्न सफल एरिका तमुलाई २५ हजार रुपैयासहित प्रतिष्ठानले सम्मान गरिएको थियो भने विभिन्न खेल संस्था, खेलाडीहरु र संघ संस्थाका अगुवाहरुको तर्फबाट नगद, सम्मानपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा यू.के. निवासी प्रनिशा तमुले प्रतिष्ठानबाट छात्रवृत्ति प्राप्त गर्न सफल विद्यार्थी फार्मेसीमा स्नातक तह अध्ययनरत स्नेह तमुलाई शैक्षिक सहयोगका लागि ल्यापटप हस्तान्तरण गरिएको थियो । ग्रामिण भेकका सामुदायिक विद्यालयमा अध्ययनरत नेपालका २५ जिल्लाका २५० भन्दा बढी विद्यार्थीहरुलाई विभिन्न अक्षयकोषदाता सहयोगीहरुको कोषबाट छात्रवृत्ति वितरण गरिरहेको प्रतिष्ठानलाई आगामी वर्षदेखि थप ९ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदानका लागि तमु धिं युके, तमु धिं बेल्जियम लगायत विभिन्न दाताहरुले ११ लाख २५ हजार रुपैया अक्षयकोष रकम हस्तान्तरण गरिएको थियो। कार्यक्रममा पोंचोंको तमु समाज, चिउली पार्चे तमु समाज, पैंयूखोला तमु समाज, प्रतिष्ठानका विद्यार्थी कलाकारहरु एवम् जोनिशा तमुको नृत्य प्रस्तुतिले थप मनोरञ्जन प्रदान गरेको थियो भने प्रतिष्ठानका नयाँ आजिवन सदस्यहरुलाई सदस्यता प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व कृषि मन्त्री माननीय वेदबहादुर तमु (श्याम)ले शुभकामना व्यक्त गर्नुहुदै तमु साँस्कृतिक प्रतिष्ठान एक उत्कृष्ट संस्था रहेको क्रियाशिल रहेको बताउनुभयो। उहाँले राज्यले गर्न नसकेको कार्य तमु संस्कृतिक प्रतिष्ठानले गरेको र दक्ष युवा स्वदेशमै केही गर्ने युवाहरु निर्माण आजको आवश्यकता रहेको बताउनु भयो । प्रतिष्ठानका अध्यक्ष चित्र तमुको अध्यक्षतामा सप्पन्न उक्त कार्यक्रममा तमु धिं युकेका संस्थापक अध्यक्ष मिन प्रसाद गुरुङ, सम्मानित हुम बहादुर गुरुङ, एरिका गुरुङ आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष श्रीजंग गुरुङ र कार्यक्रम सञ्चालन सचिव कञ्चन गुरुङ, विद्यार्थी समितिका सचिव कविता तमु र सह–सचीव प्रज्वल तमुले कार्यक्रम सन्चालन गर्नुभएको थियो।
पोखरा: पोखरामा प्रथम संस्करणको पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । बि–बग इभेन्टको आयोजनामा सुरु प्रतियोगिताको पहिलो दिन हिमालयन मावि र गण्डकी बोर्डिङ स्कुलले विजयी सुरुआत गरेका छन् । पोखरा रंगशालामा भएको उद्घाटन खेलमा हिमालयन माविले बालमन्दिर माविमाथि सहज जित निकालेको हो । हिमालयनले बालमन्दिर माविलाई ११६ रनले पराजित गरेको हो । हिमालयनले दिएको १७९ रनको विशाल लक्ष्य पछ्याएको बालमन्दिर १२ ओभर ५ बलमा ६२ रनमै समेटिएको हो । बालमन्दिरका मनिल अर्यालले सर्वाधिक १५ रन जोडे । अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा हिमालयनका सफल थापाल एक्लैले ६ विकेट लिए । ४ ओभर बलिङ गरेको सफलले १८ रन खर्चेर ६ विकेट लिए । नविन भण्डारीले २ विकेट लिए । यसअघि पहिला ब्याटिङ रोजेको हिमालयनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७८ रन बनाएको थियो । हिमालयनका लागि अभिषेक थापामगरले सर्वाधिक ४८ रनको योगदान दिए । सफल थापाले ३१ रन जोडे । बलिङमा बालमन्दिरका सुमन अधिकारी र सौगात लामिछानेले २–२ विकेट लिए । दोस्रो खेलमा गण्डकी बोर्डिङ स्कुलले छोरेपाटन माध्यमिक विद्यालयलाई ९ विकेटले पराजित गरेको हो । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा छोरेपाटनले दिएको ३३ रनको सामान्य लक्ष्य गण्डकीले ४ ओभर २ बलमा १ विकेट गुमाएर पुरा ग¥यो । गण्डकीका लागि मनोज भण्डारीले सर्वाधिक १५ रन र रजत पौडेलले १० रन बनाए । छोरेपाटनका सदिर्श पौडेलले १ विकेट लिए । यसअघि पहिला ब्याटिङ गरेको छोरेपाटन मावि १२ ओभर ३ बलमा ३२ रनमा समेटिएको थियो । छोरेपाटनलाई सस्तोमा समेट्न गण्डकीका आरोग्य भण्डारी र रजत पौडेलले समान ३ विकेट लिए । ३ आभेर बलिङ गरेका भण्डारीले ३ रन र पौडेलले १० रन खर्चिए । छोरेपाटनका उत्सव त्रिपाठीले सर्वाधिक १२ रन बनाए अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । खेलको प्लेयर अफ दि म्याच रजत पौडेल घोषित भए । फागुन १६ गतेसम्म चल्ने प्रतियोगितामा कास्कीका १२ विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किट र उपविजेताले ४० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट बलर, ब्याटर तथा खेलाडीलाई पनि किट, ट्रफी तथा मेडल, उत्कृष्ट बलर र ब्याटरले जनही ५ हजार र उत्कृष्ट खेलाडीले ७ हजार ५ सय रुपैयाँ पाउनेछ । प्रतियोगिताले विद्यालय तहबाटै क्रिकेटको विकास गर्न मद्दत पुग्ने आयोजकले विश्वास लिएको छ ।
पोखरा: लायन्स क्लब अफ पोखरा चौतारीले माछापुच्छ«े गाउँपालिका–२ मा रहेको वाराही आधारभुत विद्यालयमा न्यानो कपडा तथा स्टेशनरी वितरण गरेको छ । गरिमा बिकास बैँकको मुख्य प्रायोजन रहेको सो कार्यक्रममा बैैँकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले विद्यार्थीहरुलाई न्यानो कपडा तथा स्टेशनरी वितरण गरे । कार्यक्रममा प्रमुख अतिथि ढकालले सरकारको लगानीले मात्र कुनै पनि क्षेत्र सुधार नहुने बताउँदै निजि क्षेत्र र सामाजिक संघसंस्थाको भुमिकालाई प्रभावकारी ढंगले लैजानुपर्ने बताए । बैँकले आफ्नो सामाजिक उत्तरदायित्वको बिषयलाई गम्भीरताका साथ लिएको उनको भनाई छ । माछापुच्छ«े गाउँपालिका–२ का वडा अध्यक्ष गणेश आचार्यले संस्थाहरुको सहयोग र स्थानीय तहको प्रयासले विद्यालयमा विद्यार्थीहरुको संख्यामा वृद्धि हुदै गएको बताए । कार्यक्रममा लायन्सका डिष्ट्रिक चिफ एड्भाइजर प्रजापति बास्तोला, मोहानबाबु खड्का, पुरुशोत्तम पराजुली, शिक्षक अभिभावक संघका अध्यक्ष तिर्थबहादुर गुरुङ, कृष्ण आचार्य लगायतले लायन्सले गरेको योगदानको चर्चा गरे । विद्यालयका प्राचार्य रामप्रसाद आचार्यले न्युन आय भएका अभिभावकका बालबालिका पढ्ने यस विद्यालयमा संस्थाको सहयोगले गर्दा विद्यार्थीहरुको आकर्षण बढ्दै गएको बताए । कार्यक्रममा ५२ जना विद्यार्थीहरुलाई प्रजातन्त्र दिवसको अवसर पारी करिब २ लाख बराबरको न्यानो कपडा तथा स्टेशनरी वितरण गरिएको थियो ।
पोखरा: दोस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा युनिभसिटि लेबल फुटसल प्रतियोगिताको उपाधि त्रिवेणी पव्लिक स्कुल र पोखरा लिंकन इन्टरनेशनल कलेजले जितेका छन् । प्लस टु तर्फ त्रिवेणी पब्लिक स्कुलले स्टेब बाई स्टेप सेकेन्डरी स्कुललाई ट्राइबेकरमा ४–३ गोलले हराउदै उपाधि चुमेको हो । निधारीत समयमा ३–३ गोलको बराबरी भए पछि खेल ट्राइबेकरमा पुगको थियो । युनिभसिटि लेबल तर्फ पोखरा लिंकन इन्टरनेशनल कलेजले इन्फोम्याट्रिक कलेजलाई ट्राइबेकरमा ४–३ गोलले हरायो । निधारीत समयमा २–२ गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा पुगेको थियो । उपाधि सहित पोखरा लिंकन इन्टरनेशनल कलेजले नगद २० हजार मेडल र ट्रफि हात पार्दा इन्फोम्याट्रिक कलेजले नगद १० हजार मेडल र ट्रफिमा चित्त बुझायो । प्रतियोगितामा ८ वटा टिमले भाग लिएका थिए । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा भएको प्रतियोगितामा दोस्रो प्रदेशस्तरीय हिसान प्लस टुको उपाधि सहित त्रिवेणी पब्लिकले नगद १ लाख, मेडल, ट्रफि जितेको छ । त्यसै गरी उपविजेता स्टेप बाई स्टेपले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गरेको छ । प्रतियोगितामा कास्कीका १२ र अन्य जिल्लका ३ विद्यालय गरेर १५ विद्यालयले प्रतियोगिता भाग लिएका थिए । हिसान गण्डकीको सदस्य विद्यालय बिच भएको प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएका थिए । कार्यक्रममा गण्डकी युनिभसिटिका कुलपति गणेशमान गुरुङ, राष्ट्रिय खेलकुद परिषद्का पुर्व सदस्यसचिब रमेश सिलवाल, उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) केन्द्रिय सल्लाहकार सूर्य बहादुर जिसि, हिसान गण्डकीका अध्यक्ष रमाकान्त बराल, सबिन मेमोरीयल फुटबल क्लबका अध्यक्ष सञ्जय लिगल, प्रतियोगिता संयोजक सन्तोष पराजुली लगाएतले पुरस्कार वितरण गरे ।

