पोखरा: पोखरामा यति एयरलाइन्सको ९ एएनसी एटीआर–७२ को विमान दुर्घटना भएको आज एक वर्ष पुगेको छ । काठमाडौंबाट ७२ जना यात्रु लिएर पोखरा उडेको यति एयरलाइन्सको विमान सेती खोँचमा माघ १ गते दुर्घटना भएको थियो । सेती खोँचमा विमान दुर्घटनामा हुँदा चालक दलसहित ७२ जनाको नै ज्यान गएको थियो । पोखरा महानगरपालिकाले विमान दुर्घटनाको भएको एक वर्षपछि दुर्घटनामा ज्यान गुमाएका ७२ जनाको सम्झनामा स्तम्भ निर्माण गरेको छ । विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुहरुका सम्झनामा वार्षिक स्मृति सभा गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले मृतकको सम्झनामा पार्क र पुल निर्माण गर्ने बताए । ‘दुर्घटनालाई हामी सम्झन चाहान्नौ तर दिवंगतहरुको सम्मान स्वरुप स्मृति पार्क र झोलुङ्गे पुल निर्माण गर्नेछौ,’ उनले भने । उनले मानवीय त्रुटीकै कारण विमान दुर्घटना भएको प्रतिवेदनले उल्लेख गरेको स्मरण गर्दै आगामी दिनमा सम्बन्धित निकाय संवेदनशिल हुनुपर्ने धारणा राखे । ‘हामीले नचाहदाँ नचाहदैँ गतवर्ष विमान दुर्घटना भयो, विमान सवार चालकदलसहित सबै यात्रुलाई गुमाउन पुग्यौ, दुर्घटनाको अन्तिम प्रतिवेदन पनि आएको छ’, मेयर आचार्यले भने, ‘प्रतिवेदनमा मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको भन्ने आएको छ, अब यस्ता दुर्घटना हुन नदिन सरकार र एयरलाइन्सले दुवैले ध्यान पु¥याउन आवश्यक छ ।’ उनले विमान दुर्घटना स्थलमा मृतकको सम्झनामा स्मृति पार्क र सेती खोँचलाई जोड्ने गरी विमानको आकारमा पुल निर्माण गर्ने बताए । ‘हामीले यस दुर्घटना स्थलमा वारिपारि गर्न मिल्ने गरी विमानको आकारमा पुल निर्माण गर्ने तयारी छौं’, उनले भने, ‘पुल र पार्क निर्माण गर्न यति एयरलाइन्ससँग पनि समन्वय गरेर अगाडि बढ्ने छौं ।’
पोखरा: अमरसिंह मैदानमा जारी पोखरा महोत्सवको चौथो दिन आइतबार समिक्षा अधिकारीको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरञ्जन लिएका छन । त्यसैगरी महोत्सवमा नेपाली पोशाक लगाएर फोटो खिच्नेको भीड लागेको छ । महोत्सवमा डिडि डान्स नृत्य प्रशिक्षण केन्द्रको सहकार्यमा नेपालमा बसोबास गर्ने विभिन्न जातजातीको भेषभूषा लगाइ फोटो बुथमा तस्बिर लिनेहरुको लर्को लागेको हो । महोत्सवमा भोली माघ १ गते सखरखण्ड र तरुलले दर्शकलाई स्वागत समेत गर्ने आयोजकले जनाएको छ । महोत्सवमा आइतबार समिक्षा अधिकारी संगै राजु गुरुङ, जिवन दाहाल, चोलेन्द्र पौडेल, घनश्याम रिजाल, शिवहरी ढुंगाना, कृष्ण सुवेदी, कृष्ण भट्टराई, प्रशान्त तामाङ, पार्वती जिसी, मधु थापा मगर, नविना सुवेदी लगायतको प्रस्तुतीमा दर्शकहरुले मनोरन्जन लिएका थिए भने सांझको लाइभ ब्याण्डमा रकहेड्सको प्रस्तुतीमा युवाहरुले भरपुर मनोरन्जन लिएको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । सोमबार देखि पोखरा महोत्सवमा विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता हुने भएको छ । १७ टिमको प्रतिस्पर्धा रहने उक्त प्रतियोगितामा माघ १ गते बेसलाइन एकेडेमी, बाल मन्दिर मावि, अमरसिंह एन र कालिका मावि विच प्रतिस्पर्धा रहने छ । त्यसैगरी माघ ३ गते मेट्रोपोलिन, सेन्ट मेरिज, सरस्वती र बालकल्याण बिच प्रतिस्पर्धा रहने छ । त्यस्तै माघ ५ गते मेरिगोल्ड, ज्ञानगंगा, राष्ट्रिय मावि र पटनेरी मावि बिच प्रतिस्पर्धा रहनेछभने माघ ६ गते कास्की मोर्डनाइज्ड, अक्सफोर्ड, ज्ञानज्योती, अमरसिंह अंग्रेजी स्कुल, र अञ्जुली बार्डिङ स्कुल बिच प्रतिस्पर्धा रहने प्रतियोगिता संयोजक विष्णु गुरुङले जानकारी दिए । महोत्सवमा माघ १ गते लोकदोहोरी तर्फ सोमबार राजु परियार, सिम्रन परियार, प्रजापति पराजुली, जिवन दाहाल, राजन कार्की, शिव ढुंगाना, जिवन सिग्देल, दिपक कार्की, मञ्जु बिक, सुनिता नेपालीको प्रस्तुती रहनेछभने सांझको लाइभ ब्याण्ड तर्फ लाहुरे एण्ड द ब्याड कम्पनीको प्रस्तुती रहने छ ।
पोखरा: नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिलिप रानामगरले पाएको छन् । रानामगर मगर विद्यार्थी संघ गण्डकीको उपाध्यक्ष हुन् । मगर विद्यार्थी संघ गण्डकीका अध्यक्ष डेक पुनमगरले स्वास्थ्य अवस्थाका कारण रानामगरलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको बताए । ‘स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको सल्लाह अनुसार केही समय आराम गर्न सल्लाह दिएकाले संस्थालाई चलायनमान र गतिशिल बनाउन तीन महिनाका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो’, अध्यक्ष पुनमगरले भने । उनले मगर विद्यार्थी संघ गण्डकी प्रदेशको सांगठनिक गतिविधिहरु गरि थप मजबुत र चलायमान बनाउन कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको उल्लेख गरेका छन् ।
पोखरा: नेपाल सुन चाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीको दशौं साधारण सभा तथा पाँचौ अधिवेशनमा भरत विक अध्यक्षमा निर्वाचित भएका हुन् । पोखरामा शनिबार सम्पन्न भएको नेपाल सुन चाँदी रत्न तथा आभुषण व्यवसायी संघको दशौ साधारण सभा तथा पाँचौ अधिवेशनमा भरतको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । व्यवसायी संघको प्रथम उपाध्यक्षमा मनबहादुर सुनार, द्धितिय उपाध्यक्षमा सुरेन्द्र विश्वकर्मा (रामदाम), महासचिवमा दिपेश सुनार, सचिवमा सुरेन्द्र बहादुर विश्वकर्मा, कोषाध्यक्षमा अर्जुन कुमार सुनार र सहकोषाध्यक्षमा रमेश खड्का विक चयन भएका हुन् । यस्तै सदस्यहरुमा नरेश वि.क, समीर बराल सुनार, विर बहादुर सुनार, दिपक बिश्वकर्मा, सन्तोष दियाली र सुरेन्द्र सुनार निर्वाचित भएका हुन् । यस्तै दुईजना सदस्य भने समितिको बैठकले मनोनित गर्ने जनाईएको छ ।
पोखरा: पद्म नर्सिङ होम प्रा.लि.पोखरा–३, नदिपुरले शुक्रबार पोखरा–२७ लेखनाथ अर्घौचोकमा वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । पोखरा महानगरपालिका वडा नम्वर २७ को आयोजना र पद्म नर्सिङ होम प्रा.लि.को प्राविधिक सहयोगमा अर्घौचोक स्थित गच्छाफाँटमा अवस्थित लेखनाथ मेमोरियल इङ्लिस बोडिङ्ग स्कुलको प्राङ्गणमा वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो । निःशुल्क स्वास्थ्य शिविरमा ८ सय ५० भन्दा धेरैको स्वास्थ्य परिक्षण गरिएको पद्म नर्सिङ होम प्रा.लि. का प्रबन्ध निर्देशक नरेन्द्र बास्तोला जानकारी दिए । बास्तोलाका अनुसार शिबिरमा २ सय ९३ जना जनरल मेडिसिन सम्बन्धि, २ सय ८ जना आँखा सम्बन्धि, १ सय ५ जना हाडजोर्नी तथा नसारोग सम्बन्धि, ८७ जना स्त्रीरोग सम्बन्धि, ५७ जना नाक कान घाँटी रोग सम्बन्धि र ५५ जना बालरोग सम्बन्धि, ४८ जना बाल दन्तरोग सम्बन्धि बिरामीहरुको निः शुल्क स्वास्थ्य परिक्षण गरिएको छ । शिविरमा १ सय ४२ जनाको भिडियो एक्सरे, १ सय ३८ जनाको ल्याब परिक्षण, ९३ जनाको मुटुको इसिजी गरिएको थियो भने बिरामीहरूका लागि आवश्यक औसधि समेत निःशुल्क बितरण गरिएको नर्सिङ होमले जनाएको छ । शिविरमा बरिष्ठ नेत्ररोग विशेषज्ञ प्रा. डाक्टर सचेत प्रभात श्रेष्ठ, बरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदिप नारायण अग्रहरी, बरिष्ठ बालरोग विशेषज्ञ डाक्टर राजन पौडेल, फिजिसियन डाक्टर सुदर्शन सुवेदी, फिजिसियन डाक्टर राजेन्द्र पौडेल, फिजिसियन डाक्टर कृष्णराज अधिकारी, डाक्टर प्रकाश भट्टराई, डाक्टर बिक्रम अधिकारी, डाक्टर आश्ना बाटाजु, डाक्टर बिज्ञान कोइराला लगायतका चिकित्सकको टोलीले बिरामीको स्वास्थ्य परिक्षण गरेका थिए । निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्यकर्मीहरु मेट्रोन रजनी पालिखे, रिता भट्टराई, जितेन्द्र पौडेल, ब्रह्मदेव महतो, सन्तोष अधिकारी, अञ्जना थापा, प्रतिभा परियार, राम बिनोद महतो, शुदासा लामिछाने, प्रेम कुमारी थापा, पुनम गुरुङ्ग, कृष्ण कुमारी थापा, मिन कुमारी गुरुङ्ग, मेनुका श्रेष्ठ, धिरज गौतम, अमृत थापा, सपना ढकाल, सुवर्ण गुरुङ्ग, सुस्मिता अधिकारी, पुष्पा ढुङ्गाना, बिशाल बराल, सुनिता श्रेष्ठ, प्रदिप न्यौपाने लगायतको टिमले बिरामीको स्वास्थ्य परिक्षणमा सहजीकरण गरेका थिए । लेखनाथ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु एवं पोखरा २७ का स्वयम सेविकाहरुले पनि शिविरमा सक्रिय भुमिका निभाएका थिए । स्वास्थ्य शिविर कार्यक्रमको शुभारम्भ गर्दै पोखरा महानगरपालिका २७ का वडा अध्यक्ष पुर्ण कुमार गुरुङ्गले स्वास्थ्य संस्थाहरुले आफ्नो सेवालाई सहज र प्रवाभकारी बनाउदै सेवामुलक रुपमा अगाडि बढ्नु पर्नेमा जोड दिए । पद्म नर्सिङ्ग होम सँगको सहकार्यमा आफ्नो वडाका नागरिकहरुलाई घरदैलोमा नै निःशुल्क उपचारको ब्यवस्था गर्न पाउदा खुसी लागेको उनको भनाई थियो । पद्म नर्सिङ्ग होम प्रा.लि.पोखरा–३,नदिपुरका प्रबन्ध निर्देशक नरेन्द्र बास्तोलाले स्वास्थ्य संस्थाहरुको उत्तरदायित्व नाफामुलक मात्रै नभएकोले सेवा भावलाई अगाडि बढाउन आफ्नो संस्था तयार रहेको भन्दै गाउँ घरका दुरदराजमा रहेका जनता सम्म स्वास्थ्य सेवाको पहुँच पुर्याउन आफुहरु प्रयासरत रहने प्रतिबद्धता ब्यक्त गरे । उनले यस निःशुल्क स्वास्थ्य शिविरमा सेवा लिएका र थप उपचार गर्नुपर्ने अवस्था देखिएका बिरामीहरूलाई पोखरा–३ नदिपुर स्थिति पद्म नर्सिङ्ग होम प्रालिबाट विशेष छुटका साथ थप उपचार गराउने समेत बताए ।
पोखरा: पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीमा हरित ज्ञान वाटिकाको शिलान्यास गरिएको छ । पोखरा महानगरपालिका वडा नं. १५ का अध्यक्ष तोरणबहादुर बानियाँले एसओएस बालग्राम गण्डकी परिसरमा आयोजित एक विशेष कार्यक्रमका बीचमा उक्त वाटिकाको शिलान्यास गरेका हुन् । एसओएस बालग्राम गण्डकीभित्र करिब दुई रोपनी क्षेत्रफलमा विद्यालयले निर्माण गर्ने हरित ज्ञान वाटिकामा प्राकृतिक भूबनोटभित्र विभिन्न वृत्ताकार, घनाकार, त्रिभुजाकार, वर्गाकार, आयताकार, पञ्चभुजाकार, षटभुजाकार, सप्तभुजाकार, अष्टभुजाकार, प्रिज्माकारलगायतका गणितीय स्वरूपका आकृति तथा लोपोन्मुख अवस्थामा रहेका नेपालका परम्परागत कृषि औजारहरूसमेत सुरक्षित रहनेछन् । ३५ लाख २५ हजार ७ सय अन्ठाउन्न रुपियाँको कुल लागतमा निर्माण हुने हरित ज्ञान वाटिका निर्माणका लागि विद्यालयले एक समिति नै गठन गरेको छ । एसओएस युवालय गण्डकीका प्रमुख बाबुराम बरालको अध्यक्षतामा गठित उक्त समितिको सचिवमा टीकाराम सुवेदी, कोषाध्यक्षमा समिता मल्ल तथा अन्य सदस्यहरूमा प्रमोद बराल, मिलन खत्री, बुद्धि ठकुरी, धनकुमारी गुरुङ, कल्पना पाण्डे र नीलिमा पौडेल रहेका छन् । एसओएस बालग्राम गण्डकीले उपलब्ध गराउने जग्गामा निर्माण गरिने हरित ज्ञान वाटिका परियोजना निर्माणका लागि पोखरा महानगरपालिका वडा नं. १५ ले आर्थिक सहयोग गर्नेछ । त्यस्तै निर्मित परियोजनाको रेखदेख, संरक्षण, सरसफाइ एवम् मर्मतसम्भारको दायित्व एसओएस स्कुल गण्डकीले लिनेछ । शिलान्यास कार्यक्रमपछि बालग्राम परिसरमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै पोखरा महानगरपालिका वडा नं. १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले एसओएस गण्डकीमा निर्माण हुने हरित ज्ञान वाटिका विद्यालयका लागि मात्रै नभएर वडा र सिङ्गो पोखरा महानगरकै एउटा गौरवशाली परियोजनाका रूपमा रहने बताए । ‘१५ नम्बर वडाभित्रका विद्यालयहरूको गुणस्तरीय शिक्षाका लागि गर्न सकिने राम्रा कामका लागि वडाकार्यपालिका सधैँ तत्पर छ ।’ वडाध्यक्ष बानियाँले भने, ‘एसओएस गण्डकीमा निर्माण हुने यस परियोजनालाई पूर्णता दिने कार्यमा आगामी दिनमा पनि वडाको निरन्तर सहयोग रहनेछ ।’ एसओएसका विद्यार्थीहरूलाई प्राकृतिक वातावरणमा आफ्नो मौलिक पहिचान झल्काउने परम्परागत औजारहरूको चिनारीसँगै गणित शिक्षणलाई सरल र प्रभावकारी बनाउने ध्येय राखेर हरित ज्ञान वाटिका निर्माणको अवधारणा अघि सारिएको एसओएस गण्डकीका प्राचार्य चूडामणि सुवेदीले बताए । परियोजना निर्माणको सफलतासँगै एसओएस गण्डकी पोखरा महानगरपालिकाभित्रका अन्य सामुदायिक विद्यालयहरूसँग हातेमालो गर्दै अगाडि बढ्ने पनि प्राचार्य सुवेदीले जानकारी दिए ।
पोखरा: नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघ गण्डकी प्रदेशको अध्यक्षतामा रामबहादुर विक निर्वाचित भएका छन् । पोखरामा सम्पन्न भएको नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघ गण्डकी प्रदेशको प्रथम अधिवेशनमा रामबहादुरको अध्यक्षतामा १५ सदस्य कार्यसमिति निर्वाचित भएका हुन् । महासंघको उपाध्यक्षमा पदमबहादुर विश्वकर्मा, महासचिवमा सालिकराम गहतराज, सचिवमा इश्वरबहादुर विक र कोषाध्यक्षमा बलबहादुर विक निर्वाचित भएका छन् । यस्तै सदस्यमा गोपाल सुनार, भिम वहादुर विक, कमला विक, पदम वहादुर विक, मनोज कुमार स्वर्णकार, राम माया सुनार, श्रेया सुनार, विष्णु देवि विक चयन भएका छन् ।
पोखरा: प्रेस क्लब गण्डकी प्रदेशको दोस्रो साधारणसभा शनिबार सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ को रिंजे नाशा होमस्टेमा सम्पन्न साधारणसभाको उद्घाटन प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागीले उद्घाटन गरे । उनले कार्यक्रममा बोल्दै पत्रकारहरुले सत्य र तथ्यमा आधारित रहेर सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । उनले सानो कमजोरीले ठुलो समस्या उत्पन्न हुने भन्दै सहि र तथ्यमा आधारित समाचारले समाज परिवर्तनमा भुमिका खेल्ने बताए । अहिले सञ्चार कानुन निर्माणको तयारी भैरहेको बताउदै पत्रकारमैत्री बनाउन आफनो तर्फबाट भुमिका खेल्ने बताए ।उनले प्रेस क्लब गण्डकीले बहसमुलक कार्यक्रमलाई प्राथमिकतामा राखेर गतिविधि सञ्चालन गर्न आग्रह समेत गरे । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा क्लबका सल्लाहाकार सरिता पंगेनि तिमिल्सिनाले क्लबले छोटो समयमा राम्रो काम गरेको बताउदै अझै सशक्त रुपमा समाजमा रहेका विभिन्न विषयमा बहसमुलक कार्यक्रम सञ्चालन गर्न सुझाव दिइन् । क्लबका सल्लाहकार सुष्मा पौडेल, पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदी, नेपाल पत्रकार महासंघ कास्कीका सचिव माधव बराल, पोखरा महानगरपालिका न्यायिक समिति सदस्य कालिदास पोखरेल लगायतले प्रेस क्लब स्थापनाको औचित्य पुष्टि गरेको बताउदै सबैलाई समेटेर अगाडि बढन आग्रह गरे । क्लबका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको उद्घाटन सत्रको सञ्चालन सचिव गौरव त्रिपाठीले गरेका थिए । यसैबीच साधारण सभाको बन्द सत्रमा क्लबका सचिव गौरव त्रिपाठीको प्रतिवेदन र कोषाध्यक्ष राजु गिरीको आर्थिक प्रतिवेदन व्यापक छलफलपछि पारित गरेको छ । साधारणसभाले भावि कार्यक्रम पारित गर्दै क्लब दर्ता भएको दिनलाई स्थापना दिवसका रुपमा मनाउने र बार्षिक ५० हजार रुपैयाँले प्रत्येक वर्ष ब्यक्ति वा संस्थालाई सम्मान गर्ने निर्णय समेत गरेको अध्यक्ष एकराज गिरीले बताए । समाजका महत्त्वपूर्ण योगदान पुर्याउने ब्यक्ति तथा संस्थालाई सम्मान गरिने अध्यक्ष गिरीले बताए ।
पोखरा: आगामी माघको पहिलो साता हुन गइरहेको वडा स्तरिय दोश्रो बृहत खेलकुद महोत्सवको तयारी स्वरूप खेल मैदान क्षेत्रमा सरसफाई गरिएको छ । पोखरा महानगरपालिका वडा नं (१५ को आयोजनामा हुन गइरहेको दोश्रो बृहत खेलकुद महोत्सवको तयारी स्वरूप बन विज्ञान अध्ययन संस्थानको खेल मैदानका साथै बाटो वरपर सरसफाई गरिएको हा े। सरसफाई कार्यक्रममा वडाका जनप्रतिनिधि, स्थानीय आमा समुहहरूको सहभागिता रहेको थियो । खेलकुदले वडावासी नागरिकमा आपसी मेलमिलाप, भाइचारा, तथा सहयोगको भावना जगाउनुका साथै नागरिकको स्वास्थ्यको लागि महत्त्व राख्ने हुँदा यस वर्षपनि खेल महोत्सवलाई निरन्तरता दिइएको वडाध्यक्ष तोरण बानियाँले जानकारी दिए। गत वर्ष पहिलो खेल आयोजनामा नै वडावासीको उल्लेखनिय सहभागिताले उत्साहित बनेको भन्दै यसपाली यो संख्या अझ बढ्ने उनले दाबी गरे । महोत्सवमा पुरुष, महिला, विद्यालय तथा अपाङ्गता भएका व्यक्तिहरुविच फरक फरक इभेण्टहरुमा प्रतिस्पर्धा हुने वडा सदस्य तथा खेलकुद कार्यक्रमका संयोजक आशिष भण्डारीले बताए । भण्डारीका अनुसार पुरुषतर्फ टोल तथा क्लहरुविच फुटबल, भलिबल, ५० वर्ष माथिकाहरुको सडक दौड, डबल्स ब्याडमिण्टन हुने छ भने, महिलातर्फ भलिबल, रस्साकसी, ४० वर्ष माथिकाहरुको सडक दौड, डबल ब्याडमिण्टन र विद्यालय स्तरिय फुटबल तथा अपाङ्गता भएका व्यक्तिहरुविच बास्केट बल प्रतियोगिता हुने संयोजक भण्डारीले जानकारी दिए । प्रतियोगिताका विभिन्न इभेण्टमा जित हाँसिल गर्ने टिमहरुले नगद सहित शिल्ड मेडल प्रमाण–पत्र पुरस्कार प्राप्त गर्नेछन् । खेल महोत्सव बन बिज्ञान अध्ययन संस्थानको खेल मैदानमा आगामी माघ २ गतेदेखि ४ गतेसम्म संचालन हुनेछ ।

