पोखरा: नेपाली कांग्रेस कास्कीका कोषाध्यक्ष एवं उद्योगपति माइकल कर्माचार्यलाई मातृशोक परेको छ । उहाँकी ७० बर्षीय आमा लक्ष्मी सुन्दरी कर्माचार्यको भारतको मेदान्त अस्पतालमा उपचारको क्रममा मंगलबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लामो समयदेखि मृगौला रोगबाट ग्रसित भएपनि पछिल्लो समयमा भने हृदयघातका कारण मृत्यु भएको हो । उहाँका पति चन्द्रकृष्ण कर्माचार्य, एक छोरा माइकल कर्माचार्य, छोरीहरु रेखा र नितु कर्माचार्य हुनुहुन्छ भने दुई नाति र तिन नातिनी हुनुहुन्छ । स्व.लक्ष्मी सुन्दरी कर्माचार्यका पति चन्द्रकृष्ण कर्माचार्य पोख्रेली औद्योगिक घराना कर्माचार्य ग्रुपका अध्यक्ष हुनुहुन्छ । लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष समेत रहनुभएका उहाँ नेपाल उद्योग वाणिज्य महासंघको पूर्व केन्द्रिय सदस्य एवं नेपाल लोकतान्त्रिक उद्योग व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष समेत हुनुुहुन्छ । स्व. कर्माचार्यको पार्थिव शरीर आज बिहीबार नेपाल ल्याइने र शुक्रबार बिहान रामघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
पोखरा: पोखराको वाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयमा भएको रक्तदानमा ७७ युनिट रगत संकलन भएको छ । विद्यालयको ७७ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको पुर्व सन्ध्यामा आज (बिहीवार) रक्तदान कार्यक्रममा आयोजना गरिएको थियोे । कार्यक्रमका प्रमुख अतिथी नेपाल रेडक्रस सोसाईटी कास्कीका उपसभापति उर्मिला खड्काले कार्यक्रम संयोजक एवं विद्यालयका सह प्रधानाध्यापक रामवहादुर वाँनियालाई ब्लड व्याग हस्तान्तरण गरी उद्घाटन गरिन् । ।कार्यक्रममा बोल्दै खड्काले देशकै नमुना विद्यालयले गुणस्तरीय शिक्षासँगसँगै मानविय कार्यमा समेत महत्वपुर्ण योगदान पु¥याएको बताईन् । कार्यक्रम संयोजक एवं विद्यालयका सह प्रधानाध्यापक रामवहादुर बानियाको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले मानविय जीवनमा रक्तदानको महत्वपुर्ण भुमिका रहेको बताउँदै नयाँ रक्तदातालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । । यसैविच विद्यालयमा आजदेखि विज्ञान प्रर्दशनी समेत शुरु भएको छ । विद्यार्थीले निर्माण गरेका विज्ञान र प्रविधीसँग सम्बन्धित बस्तुहरु प्रर्दशनीमा राखिएको प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
पोखरा: गण्डकी प्रदेश पौडी संघ तदर्थ समितिको अध्यक्षमा आनन्द कुंवर सर्वसम्मत चयन भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आह्वानमा बुधबार पोखरामा सम्पन्न भेलाले अध्यक्षमा कुंवरसहित १३ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष कुंवर प्रशिक्षक समेत् हुन् । यसै गरी समितिको उपाध्यक्षमा कृष्णभक्त आचार्य, सचिवमा अनिल थापा, कोषाध्यक्षमा बबिता केसी कार्की चयन भए । यसै गरी कार्यसमिति सदस्यमा जिवन रेग्मी, सूर्य बहादुर सिग्देल, विष्णु प्रसाद पाहारी, अर्जुन नेपाली, अमृत खड्का, रुवी तामाङ, महेन्द्र भुजेल, धर्मेन्द गिरी र राजेन्द्र अधिकारी रहेका छन् । भेलालाई सम्वोधन गर्दै परिषदका सदस्य सचिव श्रीधर शर्माले गण्डकी प्रदेशको पौडी खेलको विकास र खेलाडी उत्पादनमा नवगठित कार्यसमिति सफल हुनेमा आफू विश्वस्त रहेको बताए । उनले प्रदेशका सबै जिल्लाहरुलाई जोडेर पूर्वाद्धार निर्माणका विषयमा समेत सरोकारवालाहरु संग सहकार्य गर्दै अघि बढ्न आग्रह गर्दै त्यसका लागि परिषद सहयोग गर्न तयार रहेको बताए । नवनिर्वाचित अध्यक्ष कुंवरले सबैको साथ, सहयोग र सहकार्यमा नै संघले आफ्ना योजनाहरु तय गर्ने जनाउँदै प्रदेशको पौडी खेल विकासमा आफ्नो योगदान रहि रहने बताए ।
पोखरा: पोखरा पर्यटन परिषद्को आयोजनामा शुक्रबार हुने कन्दरा कन्सर्टको तयारी पूरा भएको छ । पोखरा पर्यटन परिषद्ले पोखरामा आज (बुधबार) पत्रकार सम्मलेन गर्दै कन्दरा कन्सर्टको तयारी पूरा भएको जानकारी दिएको हो । ‘पहिला घरदेश अनि परदेश’ गीत संगित मार्फत नेपालको पर्यटन प्रवद्र्धनको सन्देशसहित मुलुकको सातै प्रदेश र मुख्य शहरमा आयोजना हुन लागेको कन्दरा सांगीतिक अभियानको तयारी पूरा भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । ‘पहिला घरदेश अनि परदेश, भन्ने नारासहित नेपालमा आन्तरिक पर्यटन प्रवद्र्धनको सन्देशसहित सातै प्रदेश र मुख्य शहरमा कन्दरा लाइभ कन्सर्ट गर्दै छौं’, अध्यक्ष श्रेष्ठले भने, ‘पोखरा पर्यटन परिषद्को आयोजना, कन्दरा व्याण्डको व्यवस्थापनमा पुस २७ गते पोखरामा कन्दरा लाइभ कन्सर्ट गर्दै छौं । उनका अनुसार गण्डकी प्रदेशको राजधानी पोखरामा कन्दरा सांगीतिक अभियान पुस २७ गते पोखरा नयाँबजार स्थित पर्दशनी केन्दमा आयोजना हुँदै छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष श्रेष्ठले कन्दरा व्याण्डको लाइभ कन्सर्टमा करिव १० हजार बढी दर्शको उपस्थिति समेत रहने बताए । उनले कन्सर्टमा सहभागी हुन ३ सय र भिआइपीतर्फ १ हजार रुपैयाँको टिकट दर कायम गरेको जानकारी दिए । कन्सर्टमा बचत रकम गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन र विकासमा खर्च गर्ने उल्लेख गरिएको छ । कन्दराको कन्सर्टमा लिड भोकलिस्ट विवेक श्रेष्ठ श्रेष्ठसँगै सुनिल थापा, हरि महर्जन, देव लामा, सुन्दर महर्जन, पंकज झाको समूहले डेढ दर्जन गीत संगीत प्रस्तुत गर्नेछन् । कन्दराले अहिलेसम्म ६ वटा एल्वम बजारमा ल्याएको छ। देश विदेशमा २ सयभन्दा बढी कन्सर्ट गरिसकेको छ ।
पोखरा: गण्डकी प्रदेश एथलेटिक्स संघ तदर्थ समितिको अध्यक्ष हरि बरुवाल सर्वसम्मत चयन भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आह्वानमा मंगलबार पोखरामा सम्पन्न भेलाले अध्यक्षमा बरुवालसहित १५ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । यसै गरी संघको उपाध्यक्षहरुमा तोरण बहादुर बानियाँ र इन्द्रा मल्ल चयन भएका छन् भने महासचिवमा मान बहादुर थापा, सचिवमा अरुण गुरुङ, कोषाध्यक्षमा शिरोमणी थापा चयन भए । त्यसै गरी कार्यसमिति सदस्यमा ललित कुमार गुरुङ (नवलपुर), इन्द्र पाठक (बागलुङ), बिनोद कुमार घर्ती (म्याग्दी), जगदिश कुवंर (पर्वत), रत्न बहादुर गुरुङ (स्याङजा) र बिजय खनाल (तनहुँ) रहेका छन् । यस अघि भेलालाई सम्वोधन गर्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले नेपाली खेलकुदमा लोकतान्त्रिक प्रक्रियाका अभ्यासहरु आवश्यक रहने कुरा औंल्याउँदै खेलकुद विकासका लागि सबैको सहकार्य आवश्यक रहने कुरामा जोड दिए । खेलकुदको निति निर्माणमा लैङ्गिक समानताका विषयहरु महत्वपूर्ण रहेको जनाउँदै उनले महिला सहभागितामा विशेष जोड दिएको बताउँदै उनले सफल र सामुहिक नेतृत्वले मात्रै खेलकुद विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्दै भने–“पदका लागि चाहना राख्नु स्वभाविक हो । यसले हरेक खेलको विकासमा गति दिन्छ ।” सो अवसरमा अग्रज अन्तर्राष्ट्रिय खेलाडी एवं परिषदका सल्लाहकार खड्ग बहादुर रानाभाटले खेलकुदमा अग्रजहरुले देखाएको मार्गमा हिड्न सके आशतित सफलता प्राप्त गर्न सकिने बताए । उनले एथलेटिक्स खेल गण्डकी प्रदेशमा सम्भावनामा रहेको विगतको इतिहास समेत रहेको जनाउँदै खेलाडी उत्पादनमा संघले आफ्ना योजना बनाउन आग्रह गरे । कार्यक्रममा प्रदेश खेलकुदका कार्यकारी सदस्य ऋषीराम गौतमले निश्वार्थ रुपमा काम गर्न सके खेलकुद विकासले गति लिने बताए । संघका अध्यक्ष बरुवालले सबैको सल्लाह र सुझावलाई मनन गर्दै संघलाई एक ढिक्का बनाएर खेलाडीहरुको हित र एथलेटिक्स खेलको विकासमा आफ्नो योगदान रहने प्रतिवद्धता व्यक्त गरे । सम्पन्न भेलाले केन्द्रिय प्रतिनिधीमा उपाध्यक्ष इन्द्रा मल्ल र अग्रज खेलाडी खड्ग बहादुर रानाभाटलाई सर्वसम्मत चयन गरेको छ ।
पोखरा: रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान अन्तर्गत कास्कीमा रोटरी युथ लिडरसिप अवार्ड (राइला) हुँदैछ । कास्कीको अन्नपूर्ण गाउँपालिका अन्तर्गत लेवाडेमा यही जनवरी ११ देखि १४ (पुस २६ देखि २९) सम्म हुने सो कार्यक्रमको तयारी पूरा भएको आयोजकले जनाएको छ । १६ देखि २० वर्ष उमेर समूहकाले भाग लिन पाउने उक्त कार्यक्रम विशेषगरी नेतृत्व कौशल विकासका लागि महत्वपूर्ण मानिन्छ । सुन्दर, मनोरम स्थान लेवाडेमा प्रकृतिसँग रमाउँदै ४ दिनसम्म हुने सो कार्यक्रम रोटरीका विभिन्न कार्यक्रममध्ये महत्वपूर्ण रुपमा लिने गरिन्छ । कार्यक्रमका लागि हालसम्म ४५ जनाको रजिष्ट्रेसन भएको डिष्ट्रिक्टको राइला को–चेयर एवं कार्यक्रम संयोजक राजेन्द्र लिगलले बताए । डिष्ट्रिक्टले हरेक वर्ष आयोजना गर्दै आएको राइला कास्कीमा लामो समयपछि हुन लागेको हो । जसमा कास्कीका ९ वटै रोटरी क्लबहरुसहित १७ होस्ट र १० को–होस्ट छन् । डिष्ट्रिक्ट गभर्नर नोमिनी विनोद कोइरालाले राइला रोटरीको अभिन्न अंग रहेको बताउँछन् । उनले युवाहरुमा निहित प्रतिभा प्रस्फुटन र उनीहरुमा नेतृत्व क्षमताको विकासका लागि यो कार्यक्रम निकै महत्वपूर्ण हुने बताए । गत वर्ष गोरखा र काठमाडौंमा यसप्रकारको कार्यक्रम भएको थियो । सहभागीको क्षमता र सिकाइ आधारमा अवार्ड प्रदान गरिनेछ । कार्यक्रमको उद्घाटन डिष्ट्रिक्ट गभर्नर राजेन्द्र ध्वजुले गर्ने रोटरी लेकसाइड अध्यक्ष शोभाकान्त सिग्देलले बताए ।
पोखरा: बाह्रौं संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक यूनाइटेड क्लबले पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । रबि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजनमा आगामी पुषको २६ देखी माघको ८ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने महोत्सवमा २ सय ३० स्टल रहने महोत्सव मुल आयोजक समितिका संयोजक राजु श्रेष्ठले जानकारी दिए । स्थापना कालदेखीनै महोत्सवको आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणको क्षेत्रमा काम गर्दै आइरहेको युनाइटेड क्लबले बाह्रौं संस्करणको पोखरा महोत्सव देखी लेखनाथको अर्चलेमा रहेको आफ्नो जग्गामा बिपन्न विद्यार्थीहरुका लागि आवाशिय छात्राबास निर्माण र सेती नदी एक पर्यटकीय गन्तब्य निर्माणका लागि रकम छुट्याइने संयोजक श्रेष्ठले बताए । बाह्र दिन सम्म सञ्चालन हुने महोत्सवमा २ सय ५० स्टल रहने छन । महोत्सवमा दुई लाख ५० हजार दर्शक आउने अनुमान रहेको छ । महोत्सवमा शारिरीक अशक्त, बृद्धबृद्धा, एकल महिला, विदेशी पर्यटक, पत्रकार, ६ वर्ष मुनिका वालवालिका र सुरक्षाकर्मी (पोषाक सहित) हरुलाइ निशुल्क प्रवेश गराइने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा रेभेल एप मार्फत अनलाइनबाट समेत टिकट सुरक्षित राख्न सक्नेछन । महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पु¥याउनेु, विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पु¥याउने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरुको बजार सहजीकरण गराउने, सवै कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पु¥याउने, आर्थिक चलायमान गराई रोजगार सिर्जना गराउने, क्षेत्रगत बिकासमा टेवा पु¥याउने र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ । महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवशायीक संघ संस्थाहरुको सेवा बारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण , पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचयन एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती संगै कृषिका गतिविधीहरु सञ्चालन हुनेछन । हिमाली भेगमा चौरी गाईको दैनिकी जिवनमा आवश्यक्ता र देशको आर्थिक चलायमानमा याकको भुमिकाको बारेमा जानकारी दिनका लागि बाह्रौं पोखरा महोत्सवमा याकको प्रदर्शनी गरिने छ । महोत्सवको आकर्षणमा लोकदोहोरी तर्फ बद्री पंगेनी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, प्रिति आले, ज्योती मगर, प्रकाश दुतराज, शान्ति श्री परियार, श्याम राना, समिक्षा अधिकारी, एलिना चौहान, रचना रिमाल, राजु परियार, लगायत स्थानिय कलाकारहरुको प्रस्तुती रहनेछभने कन्सर्ट तर्फ मन्त्र, लाहुरे, सविन राई एण्ड द फेरोह, भिटेन, मेलिना राई, सुगम पोखरेल, जीबब, माइला, श्री ३, रक हेड्स संगै लोकल ब्याण्डहरुको प्रस्तुती रहने छ । त्यसैगरी हांस्य ब्यङ्ग्य प्रस्तुती, नेपाली संस्कृति झल्कने प्रस्तुती, बाल उद्यान, विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता, झांकी प्रदर्शनी लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहनेछन । बाह्रौं पोखरा महोत्सवको प्रायोजकमा हिमश्री फुड्स प्रा.लि.को उत्कृष्ट उत्पादन रारा तैयारी चाउचाउ, भिजन लिंक एजुकेशन कन्सल्टेन्सी, टिकट प्रायोजक सिटीजन फर्निचर एण्ड ट्रेडलिंक प्रालि, प्रवेश पास प्रायोजक सिद्धि अटोपार्टस एण्ड मोटरसाइकल वर्कसप, ब्रोसर प्रायोजकमा रिलायवल लाइफ इन्सुरेन्स, वान डे पास प्रायोजकमा योकोहामा जापानिज ल्याङ्ग्वेज एण्ड ट्रनिङ कन्सल्टेन्सी प्रालि, अफिसियल ड्रिङकिङ वाटरमा सोल्टी प्रोसेस पानी, हस्पिटालिटी पार्टनरमा होटल टास्क इन्टरनेश्नल अमरसिंह चोक, इन्स्योरेन्स पार्टनरमा आइ.जी.आइ प्रुडेन्सियल इन्स्योरेन्स, अनलाईन टिकट पार्टनर रेभल, नेपाल टेलिकम, बैंकिङ पार्टनरमा ग्रीन डेभलपमेन्ट बैंक, अफिसियल इन्टरनेटमा वल्र्डलिंक र महोत्सवको विशेष सहयोगी संस्थामा पोखरा महानगरपालिका सहयोगी संस्थामा अमरसिंह मावि, गण्डकी प्रज्ञा प्रतिष्ठान, प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड, महोत्सवको अफिसियल मिडियामा एबिसी न्युज टेलिभिजन, फेवा टेलिभिजन, एभरेष्ट एफ एम ९३ मेघाहर्ज, आदर्श समाज राष्ट्रिय दैनिक र कोरालाखवर डटकम रहेका छन । पत्रकार सम्मेलनको सञ्चालन क्लबका महासचिव तथा महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले गरेका थिएभने कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष तथा महोत्सव सचिवालय ब्यवस्थापन उपसमिति संयोजक लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिए ।
पोखरा: नेपाल पत्रकार महासंघ कास्कीले विषयवस्तु लेखन तालिम सुरु गरेको छ । आइतबार देखि महासंघको सभाहलमा सुरु भएको तालिम सोमबार सम्म चल्नेछ । तालिममा प्रशिक्षकका रुपमा राष्ट्रिय समाचार समिति (रासस) का प्रधान सम्पादक एकराज पाठक, दि राइजिङ नेपालका पत्रकार मोदनाथ ढकाल रहेका छन् । तालिमकै समय पोखराबाट पत्रकारिता गरिरहेका क्रियाशिल पत्रकारहरुले आफ्नो अनुभव समेत सुनाउनेछन् । आइतबार भएको सेसनमा मोदनाथ ढकालले मिडिया नीति बनाउनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । उनका अनुसार समाजले अपेक्षा गरेका विषयवस्तु मिडियामा आउनुपर्छ । प्रतिस्पर्धाले मिडियामा कन्टेन्टको मागलाई सिर्जना गर्ने उनले बताए । पत्रकारमा सबै भन्दा महत्वपूर्ण कुरा लेख्न सक्ने खुबी हुनुपर्ने धारणा उनको छ । फण्डामेण्टल स्किल नै नभएको पत्रकार काम नभएको उनले उल्लेख गरे । ‘पत्रकारले के लेख्न सक्छ त्यो महत्वपूर्ण हो’, उनले भने,‘तपाईले सिर्जना गर्ने कन्टेन्टले तपाई बिक्नु हुन्छ ।’ सूचना खोज्न सक्ने खुबी पत्रकारमा हुनुपर्ने ढकालले बताए । स्रोतसँगको सम्बन्ध सबै भन्दा महत्वपूर्ण भएको भनाई उनको छ । पढ्ने, हेर्ने, सुन्ने मान्छेले पत्रकारलाई पत्याउने गरी कन्टेन्ट तयार पार्नुपर्ने उनले बताए । पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले विषयवस्तुको लेखन सम्बन्धि तालिम आवश्यक रहेकाले आयोजना गरिएको जानकारी गराइन् । ‘पत्रकारितामा आजको समय भनेको विषयवस्तुको खोजी हो’, उनले भनिन्, ‘जसमा हामी कतिपय पत्रकार कमजोर छौं । यो तालिमले विषयवस्तुको पहिचान र छनोट गर्न सहज बनाउने छ ।’ भण्डारीले पत्रकारितालाई निखार्न विषयवस्तु सम्बन्धि दुई दिने तालिम गरिएको बताइन् । पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेलले विषयवस्तु लेखन सम्बन्धि तालिमको आयोजना गरेर पत्रकार महासंघ कास्कीले सह्रानिय काम गरेको उल्लेख गरे । उनका अनुसार आजको समय विषयवस्तुको छनोट मूल कुरा हो । तालिम संयोजक पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले स्वागत गरेको तालिमको पहिलो दिन आज पोखराका क्रियाशिल पत्रकार भरत कोइराला (आदर्श समाज), केशव शरण लामिछाने (अन्नपूर्ण पोष्ट), बासुदेव मिश्र (नेपाल खबर), दिपक परियार (कान्तिपुर) ले आफ्नो अनुभव सुनाएका थिए । तालिममा पोखरामा पत्रकारिता क्षेत्रमा लागिरहेका प्रशिक्षार्थीहरुको सहभागिता छ ।
पोखरा: पोखराको लेकसाइडमा रहेको थाउजेन माइल्स ट्राभल्स एण्ड टुरिजम प्रा।लि। दोस्रो बर्षमा प्रवेश गरेको छ । ट्राभल्सले टिकेटिङ, टुर, ट्रेकिङको क्षेत्रमा सेवा प्रदान गर्दै आइरहेको म्यानेजिङ डाइरेक्टर देवेन्द्र अधिकारीले बताए । विश्वभरी नेपालको सौन्दर्य र विविधतालाई फैल्याउनु ट्राभल्सको मुख्य उद्देश्य रहेको र लुकेर रहेका पर्यटकीय गन्तब्यहरुको पहिचान गरी यात्रा गराउने लक्ष्य ट्राभल्सको रहेको अधिकारीको भनाई छ । नेपालमै बसेर पनि केहि गर्न सकिन्छ भन्ने योजनाका साथ ट्राभल्स सञ्चालन गरिएको र सञ्चालनको एक बर्षमा नै धेरैको मन जित्न सफल हुनुका साथै धेरैको रोजाइमा पर्नै गरेको जनरल म्यानेजर बिजय पौडेलले जनाए । हाल देशका युवा बिदेशिने क्रम बढ्दै गएको समयमा पनि रोजगारी र अवसर देखेर ट्राभल्स सगैँ टुरिजमको क्षेत्रमा कामको सुरुवात गरिएको पौडेलको भनाई छ । अहिले सम्म ट्राभल्सले ५ सय जना बिदेशी र २ सय जना नेपालीलाई सेवा प्रदान गरिसकेको छ ।