पोखरामा जारी पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत बुधबार (आज) फुटबल, कबड्डी, खोखोका खेल सुरु भएका छन् । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था युनिप्स नेपालको आयोजनामा तेश्रो दिन छात्र मावीतर्फ फुटबल, छात्रा मावीतह खोखो र आधारभुत तह कक्षा १–५ अन्तर्गत छात्ररछात्रा कबड्डीका खेलहरु सुरु भएका हुन् । प्रतियोगितामा मावी छात्रतर्फ भएको फुटबलमा वेलनन एकेडेमी, स्माइल स्मल हेभन बोर्डिङ स्कुल, होली एन्जल र एकता अन्तिम चारमा प्रवेश गरेका छन् । प्रतियोगितामा फुटबलतर्फ १० टिमको सहभागिता रहेको थियो । वेलननले शिलसिला लाई ६–० र पिनाकललाई टाइव्रेकरमा ३–१ गोलले पराजित गर्दै सेमीफाइनल यात्रा शुरक्षित गरेको हो । त्यस्तै एकताले टाइव्रेकरमा कालिकालाई ४–३ र होली एन्जलले माउन्ट हेभनलाई ६–० ले र गेफलाई ३–१ गोलले पराजित गरि सेमीफाइनलमा प्रवेश गरेको छ । फुटबलको सेमीफाइनल खेल भोली सञ्चालन हुने आयोजकले जनाएको छ । त्यस्तै मावी छात्रतर्फ भएको खोखो प्रतियोगितामा कालिका इङलिश सेकेण्डरी प्रथम, एकता दोश्रो, वेलनन तेश्रो र शिलसिला चौथो भएको छ । कालिकाले फाइनलमा एकतालाई १३–७ अंकले पराजित गर्न सफल भएको हो । आधारभुत तह (कक्षा १–५) छात्ररछात्रा कवड्डी अन्तर्गत आज पहिलो चरणका खेलहरु सम्पन्न भएको पाँचौ युनिप्स खेलकुद महोत्सव उपसमितिका संयोजक विनोद कुमार नेपालीले जानकारी दिएका छन् । कबड्डी छात्रतर्फ ६ र छात्रा तर्फ ५ गरि कुल १२ खेलहरु सम्पन्न भएका छन् । कवड्डीतर्फ कुल २४ टिमको सहभागिता रहेको छ । खेल महोत्सव अन्तर्गत बिहिबार मावी स्तरिय (कक्षा ९–१०) छात्र फुटबलको सेमीफाइनलका खेल र आधारभुत तह (कक्षा १–५) छात्ररछात्रा कवड्डीका खेलहरु जारी रहने युनिप्सका अध्यक्ष शान्त बहादुर गुरुङले जानकारी दिएका छन् । महोत्सवको औपचारिक उद्घाटन भोली १४ गते बिहिबार पोखरा रंगशालामा हुनेछ । जस अन्तर्गत एथलेटिक्सका खेल संगै मार्चपास समेत हुने अध्यक्ष गुरुङले बताए । प्रतियोगितामा युनिप्समा आवद्ध रहेका १८ विद्यालयका ४ हजार भन्दा बढि खेलाडीहरुले सहभागिता जनाएका छन् । सहभागि विभिन्न खेलका ६ सय खेलाडीहरुलाई पुरस्कृृत गरिने भएको युनिप्स सचिवालयका संयोजक शिव सुवेदीले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न करिव १२ लाख खर्च हुने आयोजकले जनाएको छ ।
पोखरा: नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने भएको छ । आठौं संस्करणको उक्त महोत्सव मंसिर २२ गतेदेखि २६ गतेसम्म पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, रातोपैह्रोमा हुने भएको हो । यसअघि महोत्सव ३ दिन मनाइँदै आइएको थियो । संयुक्त राष्ट्रसंघले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएको छ । सोही दिन पारेर नेपाल पर्वतारोहण संघले ८ वर्षदेखि निरन्तर पर्वतीय महोत्सव गर्दै आएको हो । आठौं संस्करणमा ५ दिनसम्म विभिन्न कार्यक्रम गरी महोत्सव गर्न लागेको महोत्सवका निर्देशक जिनेश सिन्दुल्करले जानकारी दिए । यसवर्षको महोत्सवमा बर्डस कन्जरभेसनसँगको सहकार्यमा ‘मिसअन्डरस्टुड बर्डस’ नामक नाटक प्रर्दशन मुख्य आकर्षणको रुपमा रहनेछ । आयोजक नेपाल पर्वतारोहण संघका महासचिव मोहन लम्सालका अनुसार उक्त नाटक ललितपुरको परोपकारी विद्यालय चिल्ड्रेन एन्ड युथ फस्र्टका विद्यार्थीले मञ्चन गर्नेछन् । ‘विद्यार्थीहरुले स्टेजमा गिद्धहरुको भेषमा मास्क लगाई गिद्धको महत्वबारे साथसाथै नेपालका चरा तथा जैविक विविधतासम्बन्धी ज्ञान जनसाधारणमा पु¥याउनेछ,’ लम्सालले भने, ‘यो कार्यक्रमको संरक्षणबारे जानकारी दिने विश्वास लिएका छौं ।’ त्यस्तै, महोत्सवमा पाँचै दिन पर्वतारोहण र पर्वतीय जीवनबारे ६ वटा वृत्तचित्र प्रदर्शन गरिने भएको छ । महोत्सवमा पासाङ, माउन्टेन म्यान, सोफी लाभाड, द सेकेन्ड समिट, अई–डेला हट्स भ्यालिस र एभरेस्ट म्यान वृतचित्र मञ्चन हुनेछन् । महोत्सवमा पर्वतारोहणसम्बन्धी विभिन्न विधामा कीर्तिमान बनाएका पर्वतारोहीको फोटो प्रदर्शनीसमेत गरिने महोत्सवकी सदस्य सचिव निर्मला न्यौपानेले जानकारी दिइन् । प्रतियोगितामा यो वर्ष ‘टग अफ वार’ पहिलो पटक समावेश गरिएको छ । ‘यसबाहेक छेलो प्रतियोगिता, जिपलाइन, दोहोरी गीत पनि समावेश गरिएको छ,’ उनले भनिन् ।
पोखरा: फेवातालको ६५ मिटर मापदण्ड कार्यान्वयन गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा ११ सदस्यीय समिति गठन भएको छ । बुधबार पोखरामा बसेको गण्डकी प्रदेश सुरक्षा समितिको बैठकले फेवातालको मापदण्ड कार्यन्वयन गर्न गण्डकीका मुख्यमन्त्री पाण्डेको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो । समितिको सदस्यमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी सरकारकी प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, पृतनापति दीपककुमार बानियाँ, गण्डकीका मुख्य न्यायाधिवक्ता रामचन्द्र उपाध्याय, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे रहेका छन् । त्यस्तै गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी वुद्धिराज गुरुङ, सशत्र प्रहरीका डीआईजी कालिदास धौवजी, राष्ट्रिय अनुसन्धान निर्देशक कृष्ण खनाल, पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा र ताल प्राधिकरण गण्डकीकी निर्देशक कल्पना देवकोटा पनि सदस्य छन् । सर्वोच्च अदालतबाट २०८० साल असोज ९ गते फेवातालको मापदण्ड कार्यान्वयन गर्ने सम्बन्धी फैसलाको पूर्णपाठ सार्वजनिक भएको थियो । पूर्णपाठमा फैसला अनुसार फेवातालको मापदण्ड ६ महिनाभित्र कायम गरेर संरक्षण गर्न भनिएको छ ।
पोखरा: पोखरा महानगरपालिका–१ टुडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले मंसिर २० गते प्रभातफेरी ¥यालीसहित हीरक महोत्सव मनाउने भएको छ । विं.स. २००६सालमा पब्लिक मिडिल स्कुलको नाममा स्थापना भएको राष्ट्रिय माविले मंसिर २० गते हीरक महोत्सव मनाउन लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विक्रम राणाले बताए । ‘राष्ट्रिय माविको स्थापना वि.स.२००६ साल मंसिर २० गते हालको पोखरा महानगर–३ नारायणस्थान नदीपुरमा पव्लिक मिडिल स्कुलबाट भएको थियो’, अध्यक्ष राणाले भने, ‘यो वर्षलाई हामीले हीरक महोत्सवको रुपमा मनाउँदै छौं ।’ व्यवस्थापन समितिका अध्यक्ष राणाले २००६ सालमा विद्यालयको शिलान्यास भएको स्थानबाट राष्ट्रिय माविको प्रांगणसम्म प्रभातफेरी ¥याली निकाल्ने समेत बताए । राष्ट्रिय माविले हीरक महोत्सव मनाउन विद्यालय व्यवस्थापनसमितिका अध्यक्षको अध्यक्षतामा १००१ सदस्य मूल आयोजक समिति, ४१ सदस्यीय कार्य सम्पादन समिति, १५ सदस्यीय उचित मार्ग दर्शनका लागि सल्लाहकार समिति चयन गरिएको छ । हीरक महोत्सवमा करिव ६० लाख आम्दानी, ५० लाख खर्च हुने अनुमान गरिएको विद्यालयका प्रधानाध्यापक इश्वरी प्रसाद सापकोटाले बताए । विद्यालयमा ४९ जिल्लाका करिव १ हजार ५ सय विद्यार्थीहरु अध्ययरत रहेको बताइएको छ भने, ५७ जना शिक्षक कर्मचारी कार्यरत रहेको विद्यालयले जनाएको छ ।
पोखरा: पोखरा महानगरपालिका वडा नं८ न्युरोडमा सडक छेउमा हुर्किएको रुख काट्ने दुई वटा पसललाई जरिवाना गरिएको छ । फुटपाथमा हुर्किएको रुख काट्ने गिटार सप र स्काई फेसनलाई महानगरपालिकाको आर्थिक ऐन २०८० मा भएको व्यवस्था अनुसार कारबाही गरिएको हो । पसल छेकिएको भन्दै अनुमति विना रुख नै काटेका उनीहरूलाई रु.१५ हजार जरिवाना गरिएको नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले बताउनुभयो । महानगरको आर्थिक ऐनमा सडक छेउको फुटपाथमा लगाइएका रुखहरूको हाँगा अनुमति विना कटान गरेमा प्रति हाँगा रु.५००० र रुख नै काटेमा रु.१५ हजार जरिवाना हुने व्यवस्था छ । एक घर दुई बिरुवाको नीति लिएको पोखरा महानगरपालिकाले पछिल्लो डेढ वर्षमा हजारौँ बिरुवाहरू वृक्षारोपण गरेको छ भने, त्यति नै सङ्ख्यामा फूलका बिरुवाहरू लगाएको छ । सडक छेउमा लगाइएका बिरुवाहरूको संरक्षण गर्न नगरवासीहरूमा नगर प्रमुख धनराज आचार्यले अनुरोध गर्नुभएको छ । पर्यावरणको सन्तुलनमा रुख बिरुवाको निकै महत्त्वपूर्ण भूमिका रहने भन्दै आफ्ना घर अगाडीका बिरुवा तथा फूलहरूको संरक्षणका लागि अनुरोध गर्नुभएको हो ।
पोखरा: कास्की जिल्ला टेनिस संघको आयोजनामा सोमबारदेखि पोखरामा आइटीएफ जे–३० टेनिस प्रतियोगिता शुरु भएको छ । गण्डकी प्रदेशका सामाजिक, स्वास्थ्य तथा खेलकुद मन्त्री सुसिला सिंखडाले प्रतियोगिताका प्राविधिक निर्देशक प्रविण नायक र प्रतियोगिता निर्देशक अजय विष्टलाई बल हस्तान्तरण गर्दै उद्घाटन गरिन् । सो अवसरमा मन्त्री सिंखडाले टेनिस संघले आयोजना गर्दै आएको अन्र्तराष्ट्रिय प्रतियोगिताहरुले पोखराको पर्यटन विकासमा महत्वपूर्ण भूमिंका निर्वाह गरेको बताइन् । उनले टेनिस विकासका लागि मन्त्रालयको तर्फबाट अभिभावकको भूंमिका निर्वाह गर्ने मन्त्री प्रतिवद्धता जाहेर गरिन् । उद्घघाटन समारोहमा बोल्दै नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयका निमित्त कार्यालय प्रमुख नविन पोखरेलले विदेशबाट आएका खेलाडीहरुलाई हिमाल मुनिको टेनिस कोर्टमा स्वागत गर्दै आफ्नों देशमा पनि पोखराको सौन्दर्यता सुनाइदिन आग्रह गरे । अन्र्तराष्ट्रिय क्षेत्रबाट पर्यटक भित्र्याउने कार्यक्रमलाई सरकारी स्तरबाटै सहयोगको खाँचो रहने उनले औल्याए । आयोजक संघका अध्यक्ष लोक गुरुङ्गको अध्यक्षतामा भएको उद्घाटन समारोहमा उपाध्यक्ष नविन चालिसेले स्वागत तथा सचिव नविन श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए । ब्वाइज सिंगलतर्फ भएको प्रतियोगिताको उद्घाटन खेलमा एलेक्जे सिभइवले भारतका एस पन्चाछरीलाई ६–०, ५–० (रिटायर्ट हर्ट)मा, भारतका प्रनिल शर्माले नेपालका निहाल जंगबहादुर थापालाई ६–४,६–१ ले, अमेरिकाका आरब सम्राट हाडाले भारतका सौर्य भारद्वाजलाई ६–२, ६–१ ले, भारतका अनिकेत बेन्करटामनले जापानका इपे माट्सुसिमालाई ६–३,६–१ ले, नेपालका प्रनव मानन्धरले भारतका आहन सेट्टीलाई ६–४,६–२ ले, नेपालकै आर्यन गिरीले भारतका आयन सेट्टीलाई ७–५,६–२ ले पराजित गर्दै दोश्रो चरणमा स्थान बनाए । त्यस्तै, भारतका आरब बर्माले क्वानडाका जसराज सिंह जगदेवलाई ६–७, ६–१ र ६–२ ले, जापानका रिकु हिगासीले भारतका डिगान्त एमलाई ६–४,२–६ र ६–० ले तथा नेपालका आयुषमान हजुर घलेले भारतका दक्ष कुक्रेटीलाई ६–३, ६–४ ले पराजित गरे । गल्र्स सिंगलतर्फ भारतका यासिका सोकिनले नेपालका सुनिरा थापालाई ६–१ ,६–१ ले पराजित गरिन् ।
पोखरा: पोखरा महानगरपालिका–२९ पट्नेरीमा आवाज संस्थाले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा १ सय २० जनाले सेवा लिएका छन् । समानताको लागि आवाज भन्ने मूलक नारासहित पोखरामा क्रियाशिल रहेको ‘आवाज नामक संस्था’ले पोखरा इएनटी अस्पतालको समन्वयमा पोखरा २९ पट्नेरीमा नाक,कान र घाँटीको निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो । पोखरा इएनटी अस्पतालका नाक कान घाँटी विशेषज्ञ डा.राजेन्द्र नेपाली, मेडिकल अफिसर डा. एलिसा सुर्खेती, आवाज संस्था सचिव फार्मसिस्ट अनिल वि.क. र सदस्य ल्याव टेक्नीसियन दिपक के.सि ले निशुल्क स्वास्थ्य शिविरमा स्थानीयहरुको नाक, कान र घाँटीको परिक्षण र औषधी वितरण गरेका थिए । स्वास्थ्य शिविरलमो जनजागृती युवा क्लब र नमुना टोल विकास संस्थाले सहकार्य गरेका थिए ।
पोखरामा सम्पन्न फिसटेल रेसिङ कप २०२३ को उपाधि अजय तामाङले जितेका छन् । आइतबार पोखरा रंशगशालामा सम्पन्न ३८ जना वाइकर्सहरुलाई उछिन्दै अजयले उपाधि जितेका हुन् । उनले उपाधि संगै नगद १ लाखसहित ट्रफि र प्रमाणपत्र हात पारेका छ्न् । नेपाल रेसिङ स्पोर्टस एसोसियसनको आयोजना तथा भिआर ४६ को समन्वयमा तिन दिन सम्म भव्य रुपमा सञ्चालन भएको प्रतियोगितामा सुजन थापा मगर दोश्रो भए । उनले नगद रु ७५ हजार हात पार्दा मोहमद फरहान तेश्रो हुँदै नगद रु २५ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै महिलातर्फ ५ जना वाइकर्स सहभागि थिए । महिलातर्फको एक मात्र उपाधि वर्षा बस्नेतले जितिन् । उनले नगद रु २० हजारका साथमा ट्रफी प्राप्त गरिन् । नेपाल रेसिङ स्पोर्टस एसोसियसनले पहिलो पटक उक्त प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा बाइकर्सहरुले स्टन्ट गर्नुका साथै म्युजिकल शो समेत प्रदर्शनीको रुपमा आयोजना गरिएको थियो । प्रतियोगिताका विजेताहरुलाई प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, राखेपका सदस्य राजेश गुरुङलगायतले ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए । पोखरा रंगशाला भित्रको पिच सडकलाई फिसटेल रेसिङ ट्रयाकको रुपमा घोषणा गरि निरन्तर रुपमा प्रतियोगिताहरु आयोजना गर्ने नेपाल रेसिङ स्पोर्टस एशोसियसनका अध्यक्ष माइकल थापाले जनाएका छन् । उनले भने–“यो सुरुवात मात्रै हो । हामी पोखरा सहित अन्य प्रदेशमा समेत यस्तै प्रतियोगिताहरु आयोजना गर्ने गरि अगाडी बढ्दैछौं ।
पाेखरा: पोखरास्थित यातायात व्यवस्था कार्यालय कास्कीले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको छ । ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गरेपछि मात्र सेवाग्राहीलाई आधिकारिक कागजात उपलब्ध गराइने कार्यालय प्रमुख डिल्ली रिजालले जानकारी दिनुभयो । उहाँले यातायात व्यवस्था विभागको परिपत्र र कार्यालयको निर्णयानुसार नयाँ दर्ता हुने सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडानलाई अनिवार्य गरिएको उल्लेख गरे । “इम्बोस्ड नम्बर प्लेट जडान त पोखरामा पहिलेदेखि नै सुरु भएको हो, तर त्यति प्रभावकारी हुनसकेको थिएन”, कार्यालय प्रमुख रिजालले भने, “अबदेखि नयाँ सवारीसाधनमा अनिवार्य गरिएको छ, पुराना सवारीसाधनमा पनि नियमितरूपमा इम्बोस्ड नम्बर प्लेट जडान सुरु हुन्छ ।” कार्यालयले सेवाग्राही र अटो व्यवसायीमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर’ जडानका लागि सूचितसमेत गरेको छ । “अब उप्रान्त यस कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधन दर्तापश्चात अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट’ दर्ता जडान गरेपछि मात्र आधिकारिक कागजात उपलब्ध गराइनेछ”, कार्यालयको सूचनामा उल्लेख छ । प्रविधिमा आधारित ‘इम्बोस्ड नम्बर प्लेट’मा सवारीसाधन तथा सवारीधनीको सम्पूर्ण विवरण उल्लेख हुने कार्यालय प्रमुख रिजालले बताए ।