पोखरा: गायक स्रेजल विक्रम भण्डारीको ‘हराएको माया’ सार्वजनिक भएको छ । चङ्गा प्रोडक्सनको व्यानरमा बनेको उक्त गीतको म्युजिक भिडियो प्रोडक्सनको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो । विवेक गुरुङको निर्देशनमा बनेको उक्त भिडियोमा १६ वर्षिय गायक भण्डारी र श्रेया लामा महर्जन (युट्युब स्ट्रिमर) को मुख्य अभिनय रहेको छ । सो म्युजिक भिडियोमा नायक सोम गुरुङ, शीला गुरुङ, धिरज गुरुङ, सहदेव राई, लेख बहादुर गुरुङ र डिल्लीराम गुरुङको समेत अभिनय रहेको छ । भने म्युजिक भिडियोको छायांकन र सम्पादन निकोलस गुरुङले गरेका छन् । भिडियोमा किशोर किशोरीलाई कलिलै उमेरमा विवाह गरिदिन नहुने विषयवस्तुलाई समावेश गरिएको छ । भने बालविवाह विरुद्धको कथावस्तुलाई प्राथमिकता साथ दर्शाइएको छ । भिडियो:
कास्की: अन्नपूर्ण व्याण्ड नेपालले अफिसियल म्युजिक भिडियो ‘भो’ सार्वजनिक गरेको छ । व्याण्डको आधिकारिक युट्युब च्यानलमार्फत ‘भो नगर भो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेको । आशिम गुरुङ र अप्सरा गुरुङको मुख्य अभिनय (फिचरिङ) रहेको उक्त गीतमा कलाकार छुतमान गुरुङले स्वर भरेका छन् । निर्माण पक्षका अनुसार अन्नपूर्ण गाउँपालिकास्थित पर्यटकीय गाउँ धान्द्रुक तथा आसपासका कलाकारलाई पर्दामा देखिने सो म्यूजिक भिडियोको कथा नितेश विक्रम भट्टले बुनेका हुन् भने उक्त भिडियोलाई निर्देशन र सम्पादन नविन थापाले गरेका छन् । यसैगरि भिडियोमा दिपेश गुरुङले कलर सम्पादन गरेका छन् । संगीत मास्टरिङ र एरेन्जिङ द एज व्याण्डका विष्णु गुरुङले गरेका छन् भने सो भिडियोको छायांकन सुमन पराजुलीका गरेका हुन् । गीत रेकर्डिङ साउण्ड इन स्टुडियो पोखरामा गरिएको निर्माण पक्षले जनाएको छ । भिडियो:
पोखरा: गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले गण्डकी प्रदेश सरकार चलचित्र विकास बोर्डको गठनको तयारीमा रहेको बताउनुभएको छ । चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको दुई दिवशीय सूचना, प्रविधि र चलचित्र पत्रकारिता सम्बन्धि कार्यशालाको उद्दघाटन गर्दै मन्त्री थापाले यस्तो बताउनुभएको हो । ‘प्रदेश सरकार चलचित्र विकास बोर्डको गठनको तयारीमा छ । आगामी आर्थिक वर्षका लागि बजेट समेत विनियोजन गरिएको छ , उहाँले भन्नुभयो, ‘चलचित्र विकास बोर्डको गठनका लागि आवश्यक ऐन निर्माण गर्नेगरी अगाडी बढीनेछ ।’ मन्त्री थापाले पोखरामा चलचित्र क्षेत्रको उन्नयनका लागि चलचित्र पत्रकार संघ कास्कीले उल्लेखनीय काम गरेको बताउनुभयो । पोखरा चलचित्र नगरी भएकाले यसको संरक्षण र सम्बद्र्धनमा सबैले ध्यान पुर्याउनुपर्ने आवश्यकतालाई उहाँले औंल्याउनुभएको छ । चलचित्र क्षेत्र समाजको ऐना भएको उल्लेख गर्दै उहाँले चलचित्रका माध्यम पोखरा सँगै गण्डकी प्रदेशकै पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो । मन्त्री थापाले सिक्ने क्रम कहिल्यै नसकिने भएकाले सिकाईले नै मान्छेलाई सबल र सक्षम बनाउँदै लैजाने बताउनुभयो । प्रशिक्षक एवम् चलचित्र निर्देशक तथा लेखक मनोज पण्डितले दुई दिने कार्याशालामा सहभागीले कथा लेख्न र प्रविधिको प्रयोगबाट प्रभावकारिता बढाउन सिक्ने अवसर प्राप्त गर्ने बताउनुभयो । चलचित्र पत्रकार संघ नेपाल कास्कीका अध्यक्ष अरुण गिरीले पछिल्लो समय प्रविधिको बढ्दो प्रयोगले सहजता सँगै समस्या पनि सिर्जना गरेका कारण चलचित्र पत्रकारहरुले यस्ता कार्याशालाबाट प्रविधिको सही प्रयोग गर्न सिक्ने र चलचित्र पत्रकारिता क्षेत्र मर्यादित र व्यवसायिक बन्न टेवा पुग्ने विश्वास लिएको बताउनुभयो । कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्रालय गण्डकी प्रदेशको सहयोगमा आयोजना गरिएको कार्यक्रममा चलचित्र पत्रकार संघ नेपाल कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देल समेत बोल्नुभएको थियो ।
पाल्पा : पाल्पाको निस्दी गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउने भएको छ । एघारौँ गाउँसभामार्फत नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले पालिकामा बसोबास गर्ने ६० वर्ष उमेर पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ताको व्यवस्था गर्ने बताउनुभयो । साथै ‘ग’ वर्गको अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध गराइने भएको छ । सरकारको नीतिअनुसार यसअघि ‘क’ र ‘ख’ वर्गको परिचयपत्र प्राप्त गर्ने अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध हुँदै आएकामा गाउँपालिकाले ‘ग’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षाभत्ताको व्यवस्था गर्न लागेको हो । गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल सामाजिक सुरक्षाभत्ता कार्यक्रम नीति तथा कार्यक्रममा राखिएको र आगामी साउन १ देखि नै भत्ता दिन सुरु गरिने जानकारी दिनुभयो । उहाँका अनुसार कार्यविधि निर्माण साउन १ गतेबाटै मासिक रु एक हजारका दरले वितरण गरिनेछ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु ६४ करोड ९८ लाख छ हजार ५७० बराबरको बजेटसहित गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष सारुले आगामी पाँच वर्षभित्र निस्दीलाई अतिकम विकसित गाउँपालिकाबाट विकासशील गाउँपालिकामा स्तरोन्नति गर्ने बताउनुभयो ।
महोत्तरी : महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको जलेश्वर नगरपालिका–४ सुगागाउँ घर भई हाल गौशाला–५ स्थित दिनेश यादवको घरमा डेरा लिई बस्दै आएकी २६ वर्षीया पुनम महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । गए राति छतमा सुकाएका कपडा लिन गएकी महतोको छतबाट लड्दा घटनास्थलमै मृत्यु भएको थियो ।
पोखरा : डा तुलसी आचार्यद्वारा लिखित उपन्यास ‘मोचन’ माथि हिमालयन रिडर्स कर्नर पोखरामा छलफल भएको छ । उक्त छलफलमा मोचन उपन्यासलाई विभिन्न कोण र दृष्टिकोणबाट हेर्न सकिने कुरा उपस्थित वक्ता तथा समालोचकहरूले राख्नुभएको थियो । साहित्यकार सरुभक्तले २१औँ शताब्दीलाई सम्बोधन गर्ने शक्तिशाली साहित्यिक विधा आख्यान भएको उल्लेख गर्दै मोचनलाई विभिन्न दृष्टिकोणबाट हेरेर व्याख्या गर्नसकिने बताउनुभयो । “साहित्य रचनापश्चात् पाठकको हातमा पुग्दा उनीहरुले आफ्नै दृष्टिले पढ्छन् र लेखकको दृष्टिको कुनै अर्थ हुँदैन”, उहाँले भन्नुभयो । आजभोलि कृति लेखिसकेपछि लेखकको मृत्यु हुन्छ भन्ने उत्तर आधुनिक चिन्तन छ भन्दै उहाँले त्यही भएर पाठकका लागि कुनै पनि लेख व्याख्या गर्न खुल्ला रहन्छ उल्लेख गर्नुभयो । धैर्यता र साधनाले लेखनलाई परिष्कृत गर्छ भन्ने कुरामा सरुभक्तले जोड दिनुभयो । नेपाली लेखक सङ्घका अध्यक्ष तीर्थ श्रेष्ठले कथा आदिम परम्परा भएको बताउनुभयो । उहाँले कथाको महत्वलाई प्रस्ट्याउनुभयो । जन्मदेखि मृत्युसम्म कथा भएको भन्दै विज्ञानका कुरा भन्नलाई पनि कथा चाहिने श्रेष्ठको राय थियो । उहाँले नेपाली भाषा र त्यसमा राज्यको जिम्मेवारी हुनुपर्ने कुरामा जोड दिनुभयो । राज्य उत्तरदायी हुन नसकेकोमा पनि उहाँले दुःखेसो पोख्नुभयो । त्यसैगरी गजलकार प्रकट पगेनी ’शिव’ले कविता, गीत र गजलभन्दा उपन्यास लेखन कठिन भएको र त्यसमा धैर्यताको साधना चाहिने बताउनुभयो । कार्यक्रममा अन्नपूर्ण पोस्टका पत्रकार गोपीकृष्ण ढुङ्गानाले नेपालमा हुँदा सामाजिक संरचना र संस्कारका कारण बाँधिने र पश्चिमा देशमा पुग्दा त्यहाँको संस्कार र सभ्यताले स्वतन्त्र बनाई प्रेम पनि बदलिने दृश्यले आचार्यको उपन्यास मोचन फिल्म हेरेजस्तै लाग्ने बताउनुभयो । मोचनमाथिको परिचर्चामा समीक्षात्मक टिप्पणी राख्दै उहाँले भन्नुभयो “यो एउटा पढ्न लायक उपन्यास हो ।” उपन्यासका बलिया र कमजोर पक्षको बारेमा उल्लेख गर्दै ढुङ्गानाले भन्नुभयो, “मोचन एउटा गतिलो उपन्यास हो र यसलाई अझ लयात्मक बनाउन सकिन्थ्यो ।” उहाँले मोचनलाई ‘सेतो धर्ती” सँग तुलना गर्नुभयो । यस्तै लेखक आचार्यले पुरुष मनोविज्ञानमाथि पुरुष लेखकबाटै लेखिएका कमै कृतिमध्ये आफ्नो उपन्यास आएको बताउनुभयो । उहाँले भन्नुभयो “लेखकलाई जिम्मेवार बनाउने जिम्मेवारी समीक्षकहरूको हो ।” श्रीमान् श्रीमतीको सम्बन्धमा दरार आयो भने यसको असर कति भयानक हुनसक्छ भन्ने कुराको उदाहरण मोचनले दिन खोजेको कुरा डा आचार्यको भनाइ थियो । प्रेम, सम्बन्ध, परिवेश र अमेरिकी समाज तथा संस्कृति बुझ्न पनि मोचन पढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । अभियानका संयोजक सञ्जीव पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रम सचिव मोहन भण्डारीले सञ्चालन गर्नुभएको थियो ।
पोखरा: नाटक ‘केस नम्बर ३११’ मञ्चन जारी रहेको छ । गत शुक्रबारबाट पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन भइरहेको नाटक असार ११ गतेसम्म मञ्चन हुनेछ । नाटक पोखरा थिएटरको प्रस्तुतिमा तयार भएको हो । यो नाटकको लेखन तथा निर्देशन पोखरा थिएटरको व्याच ४ र व्याच ५ का प्रशिक्षार्थीले गरेका हुन् । सहजकर्ताको रुपमा पोखरा थिएटरका अध्यक्ष परिवर्तनले सघाउनु भएको छ । नाटकमा झलक थापा, सुशिल बराल, मनिषा के.सी, अदित भुजेल र एलिसा भोगले अभिनय गर्नुभएको छ । यसैगरी गोपाल भुषाल, अनामिका रिजाल, प्रतीक राउत, प्रतिभा रिमाल, पाल्मती थापा, कमल तामाङ, दिप्सना विश्वकर्मा, सुरज तिवारी तथा दिव्य अमृतको अभिनय समेत हेर्न पाइनेछ । नाटक बुधबार बाहेक हरेक दिन साँझ सवा पाँच बजे मञ्चन गरिनेछ । यसका अलावा शनिबार र आइतबार दिउँसो १ बजे समेत नाटक हेर्न पाइन्छ । यो नाटकको परिकल्पना दिव्य अमृत, दिप्सना विश्वकर्मा, सुशिल बरालले गर्नुभएको हो । हिंसाले पिडितमा पार्न सक्ने मानसिक असरलाई चित्रण गर्ने अभिप्रायले समसामयिक विषयमा नाटक तयार पार्न खोजेको निर्देशकत्रयको भनाई छ । नाटक हेरिसकेपछि महिला हिंसा र मनोविज्ञानका सम्बन्धमा नयाँ अवधारणा बन्ने उहाँहरुको अपेक्षा हो । पोखरा थिएटरमा पहिलो पटक इम्प्रोभाइजेस्नल विधिबाट नाटक तयार पारिएको हो । नाटकमा महिलामाथि हुने घटना र घटनाले पार्ने मानसिक असरलाई नयाँ तरिकाले प्रस्तुत गरिएको छ । यो नाटकले मूलतः डिसोसियटिभ आइडेन्टीटी डिसअर्डरको खोजि गर्न प्रेरित गरेको छ । कलाकारको मेहनतका कारण नाटक आकर्षक बनेको छ । नाटक हेर्न पुगेका दर्शकको प्रतिक्रियाका कारण कलाकार समेत उत्साहित बनेका छन् ।
काठमाण्डौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धर्म र संस्कृतिको जगेर्ना गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ । सुदूरपश्चिम प्रदेशकै ठूलो तथा प्रशिद्ध शक्तिपीठ बडिकेदार पदमार्गको शिलान्यास गर्दै मन्त्री आलेले आफ्नो धर्म, कला र संस्कृतिको जगेर्ना सबै मिलेर गर्नुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “देशका पुराना कला, संस्कृति एवं सनातन धर्म हामी नेपालीका पहिचान हुन्, यिनको संरक्षण र सम्वद्र्धन गर्नुपर्छ ।” उहाँले भन्नुभयो “हाम्रा परम्परा, कला र संस्कृति संसारकै अद्वितीय हुन्, यही हेर्न र अध्ययन गर्नकै लागि नेपालमा विश्वबाटै पर्यटक आउने गरेका छन्, त्यसैले हाम्रा यी सम्पत्तिको संरक्षणमा हामी नै लाग्नुपर्छ । विश्वसामु नेपालीको पहिचान दिलाउने धर्म–संस्कृति र कला लोप हुन दिनुहुँदैन ।” पछिल्लो समय नेपाली समाजमा आधुनिकता भित्रिएसँगै लोक–संस्कृति, धर्म तथा कला बोकेका परम्परा सङ्कटमा पर्न थालेकाले तिनको सम्वद्र्धन गरी युवापुस्तासम्म लैजानुपर्नेमा जोड दिनुभयो । डोटी जिल्लाको दक्षिण भेगमा अवस्थित प्रशिद्ध शक्तिपीठ धार्मिक पर्यटकीयस्थल बडिकेदारमा तीर्थयात्रीको सहजताका लागि निर्माण गरिने उक्त पदमार्ग तथा पूर्वाधार योजनाको मन्त्री आलेले आइतबार शिलान्यास गर्नुभएको हो । उक्त पदमार्ग निर्माणका लागि मन्त्री आलेको पहलमा रु नौ करोड बजेट विनियोजन भएको बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत दीपेन्द्रराज सिराडीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त पदमार्गमा विश्रामस्थल, सिँढी तथा रेलिङ निर्माण गरिनेछ । बोगटान क्षेत्रको घना जङ्गलमा अवस्थित उक्त शक्तिपीठमा पूजाआजाका लागि स्वदेश तथा छिमेकी मुलुक भारतबाट दर्शनार्थी आउने गर्दछन् । यहाँ पुग्ने पदमार्ग निर्माण भएपछि पर्यटकलाई तीर्थयात्राका लागि सहज हुने भएपछि स्थानीयवासी खुुसी भएका छन् ।
भदौ १० गते प्रदर्शनका तयारीमा रहेको चलचित्र प्रकाशमा दिया मास्केले जुम्लाको एक विपन्न विवाहित महिलाको भूमिका निर्वाह गरेकी छन् । यसअघि सार्वजनिक फर्स्टलुक पोस्टर र टिजरमा उनको गेटअपले धेरैले आश्चर्य बनाएको थियो । बुधबार उनले फेसबुकमा आफू फिचर ‘प्रकाश’को एक पोस्टर सार्वजनिक गर्दै फिल्ममा आफू सीताको चरित्रमा रहेको जानकारी दिएकी छन् । यो पोस्टर शेयर गर्दा मन ढक्क फूलेको उल्लेख गरेकी छिन् । उनले लेखेकी छन्, ‘चलचित्रमा साहित्य चेत बढेसँगै चलचित्र अभिनयमा पनि गहिराई आउन थालेको छ । महिला पात्रहरु विस्तारै उपस्थिति जनाउने तत्वहरु मात्र नभएर, चलचित्र न्यारेटिभको अभिन्न अङ्ग बन्न थालेका छन्, जसको उदाहरण हो ‘प्रकाश’ चलचित्रको प्रतिनिधि पात्र ‘सिता’। उनले दीयाबाट सीता बनिरहँदा छायांकन स्थलमा रहेर जुम्लाको भाषा सिक्न र त्यहाँको रहनसहनसँग बानी पार्न सजिलो नभए पनि कठिन महशुस पनि नभएको उल्लेख गरेकी छन् । गरिरहेको कामप्रति इमान्दार नहुनु भनेको पात्रलाई गिज्याउनु रहेको उनको तर्क छ । अभिनेत्री मास्के अगाडि लेखेकी छन्, ‘कथा छनौट र त्यसको उठानमा नै मिहिनेत गर्न कन्जुस्याइँ गर्ने हामी, झनै पात्र छनौट र चरित्र निर्माणमा त पटक्कै ध्यान दिँदैनौ । कहिले काहीँ त झन्, हाम्रा चलचित्रहरुमा महिला पात्रहरु केवल कोटा भर्न उभ्याइएका सहभागी पात्रहरु जस्तो मात्र प्रतित हुन्छ । हामी उनीहरुको चारित्रिक विशेषता खोज्न तिर शून्य बराबर नै समय खर्चिने गर्छौँ ।’ फिल्ममा आफूले गरेको कामको बारेमा अहिले नै बोल्ने हतार हुने भए पनि एकपछि अर्को सशक्त भूमिकाद्वारा फिल्मलाई नै धान्ने शक्तिका रुपमा महिला पात्रहरुलाई आख्यानमा स्थापित गर्न थलिएकोमा खुशी व्यक्त गर्दै उनले अब नेपाली फिल्ममा कलाकारहरु बन्नका लागि राम्रो समय आएको बताएकी छन् । सार्वजनिक पोस्टरमा उनी जुम्लेली लुक्समा प्रस्तुत छिन् भने काँधमा हलो र जुवा बोकेर देखिएकी छन् । फिल्ममा उनी अभिनेता प्रदीप खड्काको आमाको भूमिकामा छिन् । यस फिल्ममा रेनु योगी, प्रकाश घिमिरे, रामबाबु रेग्मी, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, लोकेन्द्र लेखक, निरज पन्थीलगायतको पनि अभिनय छ । भदौ १० गतेबाट प्रदर्शनमा आउने फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् । दिनेश राउत निर्देशित फिल्ममा विकास सुवेदीको कथा, राजेश श्रेष्ठको छायांकन, जिवन थापाको सम्पादन, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत छ ।