पोखरा:   राधाकृष्ण सांस्कृतिक समूहको आयोजना एवम् राधाकृष्ण मन्दिर शान्ति आश्रमको सह आयोजनामा लामेआहालमा आज सम्पन्न १० औं श्रीकृष्ण जन्माष्टमी महोत्सव एवम् भजन चुड्का प्रतियोगितामा महेश्वर खनाल भजन समूह, शुक्लागण्...

काठमाण्डौँ:    गोधुली साहित्यिक प्रतिष्ठानले गोधुली साहित्य–सिर्जना सम्मानबाट वरिष्ठ कवि डा दुबसु क्षेत्री सम्मानित हुनुभएको छ ।     प्रतिष्ठानको आइतबार सम्पन्न चौँथो वार्षिक साधारण सभाका अवसरमा गोधुली साहित्य–सिर्जना विशेष अभिनन्दन २०७८ बाट वरिष्ठ कवी क्षेत्री, गोधुली भानुभक्त पोखरेल बाल साहित्य सम्मान २०७८ बाट बाल साहित्यकार निर्मला बराल सम्मानित हुनुभएको हो ।      यस्तै, गोधुली भद्रकुमारी घले आदर्श आमा पुरस्कार २०७८ बाट समाजसेवी पशुपति गुरुङ सम्मानित हुनुभएको छ । सम्मानित गुरुङ संस्कार समाज नेपालको अध्यक्ष समेत हुनुहुन्छ ।      यसैगरी, गोधुली कला सम्मानबाट कलाकार घनश्याम गौतम, गोधुली वर्ष कृति पुरस्कारबाट लेखक वसन्त ओली, गोधुली समाजसेवा सम्मान उर्मिला विश्वकर्मा र वीना बस्नेत, गोधुली युवा सिर्जनशील सम्मान भूपेन्द्र विश्वकर्मा र रोशन विशंखे, गोधुली कुमारमान मास्के स्मृति सम्मान गणेश लकान्द्री र भाइराम खड्गीलाई प्रदान गरिएको छ ।     गोधुली–चिसकुमारी गुरुङ बाल प्रतिभा पुरस्कार बाल कलाकार प्रशन्न श्रेष्ठ र गोधुली सेवा सम्मानबाट पवनलाल श्रेष्ठ सम्मानित हुनुभएको हो । सम्मानित व्यक्तिलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सम्मान गर्नुभएको हो ।      कार्यक्रममा कुलपति उप्रेतीले नेपाल भाषा, साहित्य र कला क्षेत्रको विकास र विस्तारमा लागेका व्यक्तिलाई सम्मान गरेर गोधुली प्रतिष्ठानले राम्रो काम गरेको बताउनुभयो । उहाँले सम्मानित व्यक्तिलाई आगामी दिनमा समेत आफ्नो कला, साहित्य र भाषालाई अगाडि बढाउन आग्रह गर्नुभयो । 

पोखरा:  म्याक्सन फोरडी स्टुडियोको चौथो प्रस्तुतिमा निर्मित मगर समुदायको संस्कार संस्कृतिमा आधारित चलचित्र ‘मीसार’ को विशेष प्रदर्शन पोखरामा हुने भएको छ ।  एसटी क्रियशन म्यानेजमेन्ट प्रालिको आयोजनामा यहि जेष्ठ १२ गते बिहीबार विहान ८ बजे पोखराको मिडटाउन सिनेमा हलमा सो चलचित्र प्रदर्शन हुने भएको हो ।   चलचित्र मगर समुदायको संस्कार र संस्कृतिमा आधारित उक्त चलचित्रमा नेपाली र मगर भाषा प्रयोग गरिएको चलचित्रका निर्देशक सन्तोष पिठाकोटे मगरले जानकारी दिए ।    उनका अनुसार सो चलचित्रमा दवेन्द्र थापा तुमसिं, सनम आले मगर, जेनिता थापा मगर, दिपु मगर, प्रतिक्षा राना मगर, रविन्द्र थापा मगर, भेष गुरुङ, भेष बहदुर पिठाकोटे मगर, कोटबहादुर बाचे मगर, निशा थापा मगर, पबित्रा थापा मगर, प्रेम माया आले मगर, मनिराज थापा मगर, चन्द्र मगर, सुमन आले मगर, धना राना मगर, वसन्त सारु मगर, मनमाया आले मगर लगायतको अभिनय रहेको छ । उक्त चलचित्रको कथा, छायाँकन, सम्पादन र निर्देशन शेरबहादुर पिठा मगर र सन्तोष पिठाकोटे मगरले गरेका छन् ।   

पोखरा:    वडा नम्बर ३२ मा नेकपा एमालेको तर्फबाट वडाअध्यक्षका उमेद्वार खुमबहादुर पुनले बेगनास सिंचाई परियोजना कार्यलाई अघि सार्ने बताएका छन् । उनले घरदैलो कार्यक्रममा मतदातामाझ वडाअध्यक्ष पदमा जितेको खण्डमा पहिलो प्रथामिकता सिंचाईलाई दिने बताएका हुन् ।   उनले ३२ वडामा रहेका सुकुम्वासी जनताको समस्या हल गर्ने बताए । ‘नेपाल सरकारले सुकुम्वासीलाई हेर्नुपर्छ ।’ उनले भने, ‘यहाँका जनताले मलाई विश्वास गरेर जिताउनुभयो भने सुकुम्वासीको समस्या समाधान गर्नेछु । उहाँहरुलाई लालपूर्जा दिलाउनेछु ।’ जनताले आफूप्रति निकै आस गरेको उनले बताए ।   जनताको प्रत्येक घरदैलोको बाटोमा ढलान गरिदिने उनले आश्वासन दिएका छन् । ‘तल्लो गगनगौडादेखि राजाको चौतारा जाने बाटो बनाउनेछु । यो बाटो बैकल्पिक बाटो पनि हो । त्यसको स्तरोन्नतीमा लाग्नेछु ।’ उनले भने, ‘माथिल्लो गगनगौंडादेखि सातमुहाने जाने बाटो मरेको लास लान पनि नसक्ने अवस्था छ । त्यसको मुहार फेर्नेछु ।’ उनले विकास र पूर्वाधारलाई महत्व दिएर नमुना वडा बनाउने प्रतिबद्धता जनाएका छन् ।   उनले लामेआहाल, तल्लो गगनगौडामा हुने बाढी पहिरोबाट बर्षेनी हुने डुवान क्षेत्रलाई सुधार्ने बताए । लामेआहालमा बन्न लागेको क्षेत्रीय पोखरा बसपार्क निर्माण गर्नको लागि सहयोग गर्ने उनले बताए । उनले युवाका लागि खेलकुद मैदान बनाएर खेलाडी उत्पादन समेत गर्ने बताएका छन् । ‘एक गाउँ एक खेलकुद मैदान बनाउनेछौं ।’ उनले भने, ‘प्रत्येक वर्ष वडाको आयोजनामा खेलकुद प्रतियोगिता आयोजना गरिनेछ ।’ जेष्ठ नागरिकले पाउने बृद्धा भत्ता घरघरमा पुर्‍याउने  उनले जनतामाझ घोषणा गरेका छन् ।   उनले कुनै पनि ठाउँ, नहेरी वडाको समान विकास गर्नको लागि ५ वर्षसम्म लागि पर्ने उनले बताए । ‘मैले जिते भने एमालेले मात्र जित्ने होइन सम्पूर्ण राजनीतिक पार्टीले जित्ने हो ।’ उनले भने, ‘अन्य पार्टीका साथीसँग सहकार्य गरेर वडा विकासमा लागि पर्नेछु ।’ ढोडबेंसी र मालेपाटनमा उखु खेती गर्ने किसानलाई व्यवसायिक बनाउनेमा पहल गर्ने बताए । ‘फेदी, ढोडवेंशी, मालेपाटन हुँदै राजाचौतारा जाने भत्केको बाटोलाई चुनाव जितेलगत्तै मर्मतको काम गर्नेछु ।’ उनले भने ।  

काठमाडौं:    काठमाडौं चःमतीकी सलिना महर्जनले मिस नेवाः नेपाल ११४२ को उपाधि जितेकी छिन् । नेप्लिज फेसन होमद्वारा प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रतियोगिताको १६ औं संस्करणमा १८ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ताज जितेकी हुन् ।   उपाधि जितेसँगै उनले एक लाख रुपैयाँ नगद प्राप्त गरिन् । मिस नेवाः नेपाल ११४१ कृषा महर्जनले सलिनालाई ताज पहि¥याइदिएकी थिइन् । साथै उनी क्योकुसिन सेइसिन काइकान करातेको सद्भावना दूत नियुक्त भएकी छन् । मुख्य निर्णायक गैरआवासीय नेपाली संघ बेलायतका पूर्वअध्यक्ष अशोकबाबु श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयर हुनलाई तपाईंमा के–के गुण हुन जरुरी छ भनेर प्रश्न सोधेका थिए ।   जवाफमा महर्जनले नेतृत्व विकासको क्षमता हुनुपर्ने, नेवारी कला संस्कृति र भाषाको प्रवद्र्धन गर्नुपर्ने, काठमाडौंलाई स्मार्ट मात्र नभई हेरिटेज सिटीका रुपमा विकास गर्नुपर्ने, घोषणापत्रमा मात्र सीमित नभई वास्तविक रुपमा काम गर्ने क्षमता हुनुपर्छ भन्ने जवाफ दिएकी थिइन् ।

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियाको रियादमा सिधा उडान सुरु गरेको छ । निगमको वाइड बडी ए ३३० जहाजले रियादमा शुभारम्भ उडान भरेको हो ।   उद्घाटन उडानमा विभिन्न मन्त्रालयका उच्च अधिकारी, निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित विभिन्न विभागका प्रतिनिधि, व्यवसायीलगायत सहभागी छन् ।   निगमका अध्यक्ष अधिकारीले विविध बाधा अवरोधलाई पन्छाउँदै रियादमा ऐतिहासिक उडान सुरु गरिएको बताउनुभयो । राष्ट्रिय ध्वाजाबाहकको यो नयाँ गन्तव्यको सुरुआतका लागि सहयोग गर्ने सम्पूर्णमा विशेष आभार व्यक्त गर्दछु”, अध्यक्ष अधिकारीले भन्नुभयो ।   उहाँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको नेतृत्व र मन्त्रालयको टिम तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको समन्वयमा रियाद उडान सञ्चालन गर्न सफल भएकोमा सबैप्रति आधार प्रकट गर्नुभयो । साथै उहाँले परराष्ट्र मन्त्रालयलगायत सबै शुभेच्छुक एवं सहयोगीप्रति धन्यवाद व्यक्त गर्नुभयो ।   निगमले हालै रियाद, दमाम र जेद्दामा उडानको अनुमति पाएको थियो । रियादस्थित नागरिक उड्डयन कार्यालयको जेनरल अथोरिटी अफ सिभिल एभिएसन्सले त्यहाँका तीनवटा सहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको थियो । एकतर्फी ३७ हजार भाडा   काठमाडौँ–रियाद गन्तव्यका लागि एकतर्फी भाडादर रु ३७ हजार कायम गरिएको जनाइएको छ । निगमका प्रवक्ता अर्चना खड्काले हाललाई एकतर्फी भाडादर कायम गरिएको बताउनुभयो । निगमले साउदी अरेबिया उडानका लागि वाइडबडी र न्यारोबडी दुवै जहाजले उडान गर्नेगरी ‘स्लट’ पाएको छ ।   यो गन्तव्यको उडानमा निगमले सहुलियतपूर्ण भाडादर, यात्रुलाई सुविधा ‘इनफ्लाइट’ खाना तथा रियादबाट फर्कंदा यात्रुले ४० केजी लगेज सुविधा पाउनेछन् । काठमाडौँ–रियाद एकतर्फी उडान अवधि ६ घण्टा १५ मिनेट र रियाद-काठमाडौँ उडान अवधि चार घण्टा ५० मिनेटको हुने निगमले जनाएको छ ।   नेपाली कामदारको बाहुल्य रहेको मुलुक साउदी अरबको उडानले निगमलाई आर्थिकरूपमा लाभ हुनसक्ने अनुमान गरिएको छ । विभिन्न पेसा व्यवसायमा पनि साउदीका विभिन्न गन्तव्यमा नेपाली छन् । अन्य मुलुकबाट ट्रान्जिट भएर आउन पनि यात्रुलाई सहज हुने भएकाले यो गन्तव्य उपयोगी हुने विश्वास गरिएको छ । आठ देशका १० गन्तव्यमा उडान विस्तार नेपाली ध्वजावाहक वायुसेवा निगमको रियादको उडानसँगै अब आठ देशका १० गन्तव्यमा नियमित उडान हुने भएको छ । निगमले यसअघि भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको थियो । निगमले भारतको नयाँदिल्ली, मुम्बई, बैंग्लोर, दुबई, दोहा, क्वालालम्पुर, हङकङ, बैङ्कक र जापानको नारितामा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।   देशको शान र पहिचान जोडिएको निगमको अन्तर्राष्ट्रिय गन्तव्यको उडानले कूटनीतिक सम्बन्ध विस्तार र बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन राष्ट्रिय ध्वजावाहकको ऐतिहासिक भूमिका रहँदै आएको छ र अगामी दिनमा पनि यो कायमै रहने निगमको विश्वास छ । कार्यकारी अध्यक्ष अधिकारीले निगमको व्यवस्थापन सुधारदेखि सेवा सुदृढीकरण र बजार विस्तारमा निगम व्यवस्थापन अहोरात्र लागिपरेको बताउनुभयो । व्यवस्थापनको मेहनत, कर्मचारीको साथ र सहयोगले नै छोटो समयमा निगमभित्र धेरै सकारात्मक परिवर्तन गरिएको र यसलाई परिणाममुखी बनाउन निगम अग्रसर रहेको उहाँको भनाइ छ । अन्य काममा पनि निगमभित्रका कर्मचारीको सहयोग र तालुकदार मन्त्रालय र नियामक निकायसँगको समन्वयमा केही नतिजामुखी काम भएको पनि अध्यक्ष अधिकारीको जिकिर थियो ।-

काठमाडौं वैशाख ८ गते । गोरखा जिल्लाको दुर्गम मानिने लाप्राकमा भएको तीन दिने 'नेपाल ग्रामीण चलचित्र महोत्सव' सकिएको छ । सेलिब्रेटी नेपालको आयोजनामा भएको महोत्सवमा विभिन्न भाषामा बनेका सांस्कृतिक चलचित्र, वृत्तचित्र, सर्टमुभी, फिचर फिल्मसमेत गरी १६ वटा फिल्म प्रदर्शन गरिएको आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिनुभयो ।   महोत्सवमा जुरी टिमले छनोट गरेका उत्कृष्ट नौ विधामा अवार्डसमेत वितरण गरियो । जसमा भाषाभाषी विधामा प्रितम गुरुङले निर्देशन गर्नुभएको तथा आइतराम गुरुङ निर्मित गुरुङ चलचित्र 'फुङ'लाई अवार्ड प्रदान गरियो ।   यस्तै,  डकुमेन्ट्री विधामा भिमलाल श्रेष्ठ निर्देशित 'मकै विवाह'ले अवार्ड प्राप्त गर्यो भने सर्टफिल्म विधामा केदार श्रेष्ठ निर्देशित 'जुनुको जुत्ता'ले अवार्ड जितेको हो ।   सर्वोकृष्ट अभिनेतामा 'चिसो आत्मा'बाट प्रविन खतिवडा र अभिनेत्रीतर्फ 'मौन प्रतिशोध'बाट शारदा अधिकारीले अवार्ड प्राप्त गर्नुभयो । उत्कृष्ट फिचर फिल्मतर्फ शेखर लामाको निर्माण तथा देवजंग थापा निर्देशत 'टुल्की'ले अवार्ड प्राप्त गरेको हो ।   साथै 'स्क्रिन प्ले'तर्फ 'टुल्की'बाटै शेखर लामा, उत्कृष्ट निर्देशकतर्फ 'टिष्टापारीको साईनो'बाट खिलबहादुर गुरुङले अवार्ड प्राप्त गर्नुभयाे । सिन सुमेश श्रेष्ठ निर्देशित सर्टफिल्म 'मौन प्रतिशोध'लाई जुरी अवार्ड प्रदान गरियो । 

काठमाडौँ, चैत २६ गते । कोरोनाका कारण बन्द भएको स्टेज कार्यक्रम (साङ्गीतिक कार्यक्रम) सुचारु भएसँगै कलाकारको भ्याइनभ्याइ भएको छ । नयाँ वर्ष २०७९ सालका लागि गायक–गायिकाले आफ्नो प्रस्तुति दिन आआफ्नो गन्तव्यतिर लाग्दै हुनुहुन्छ । दशैँ–तिहारदेखि कलाकारले विभिन्न जिल्लामा थुप्रै साङ्गीतिक कार्यक्रम दिएका थिए, अब नयाँ वर्षमा विशेष कार्यक्रम पनि तय हुन थालेको कलाकारहरू बताउँछन् । यसरी स्टेज कार्यक्रम सुरु हुन थालेपछि कलाकारमा उत्साह थपिएको छ । गायक प्रमोद खरेलले अस्ट्रेलियामा आफ्नो दमदार प्रस्तुति दिएपछि शुक्रबार चैत २५ गते झापाको झिलझिलेमा आफ्नो प्रस्तुत दिने जानकारी दिनुभयो । आफूलगायत आफ्नो ब्यान्डको प्रस्तुति रहेको सो कार्यक्रम नयाँ वर्षको उपलक्ष्यमा हुने उहाँले बताउनुभयो । खरेलले भन्नुभयो, “डेढ वर्षपछि दशैँ–तिहारमा काठमाडौँ, नवलपरासी, झापा, इटहरी, सिक्किम, मोरङ दुबईलगायतका स्थानमा साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिएको थिएँ । उहाँले थप्नुभयो, “कार्यक्रमहरू हुन सुरुवात चाँहि भएको छ, यसले कलाकारमा उत्साह थपेको छ” गायक कालिप्रसाद बाँस्कोटा आफूले कोरोनापश्चात् पहिलो पटक स्टेजमा प्रस्तुति दिन लागेकोमा उत्साहित हुनुहुन्छ । उहाँले भन्नुभयो, “अपटाउन म्युजिक फेस्टिभलमा नेपाली नयाँ वर्षको उपलक्ष्यमा गीत गाउनेछु । ” कोरोनाले हामी कलाकार मात्र नभएर सबैको जनजीवन नै उथलपुथल भएको थियो, अब लयमा आउने आशा रहेको बताउनुभयो । यता नेपथ्य पनि नयाँ वर्षको दिनलाई सङ्गीतमय बनाउन चाहने नेपथ्यप्रेमीका निम्ति झापाको फराकिलो मैदानले स्वागत गर्ने भएको छ । दमकको सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा नेपथ्य फेरि एक पटक उभिने भएको छ । नेपथ्यले आफूलाई राजधानी काठमाडौँकै भृकुटीमण्डपमा उपस्थित गराएको थियो । २०७६ साल फागुन १७ गतेको त्यो पछिल्लो कन्सर्ट एउटा गाउँले विद्यालयको पुनर्निर्माणका लागि आयोजना गरिएको थियो । त्यो नै विश्व महामारीअघि नेपथ्यको अन्तिम प्रस्तुति बन्न पुग्यो । यस पटकको नेपथ्य कार्यक्रम दुई वर्षपछिको अन्तरालमा हुँदैछ । “यसबीच मैले लगभग सम्पूर्ण समय कास्कीको अनकन्टार डाँडामा रहेको आफ्नो गोठमा कृषक भएर बिताएँ,” नेपथ्यका अगुवा एवं मुख्य गायक अमृत गुरुङ भन्नुहुन्छ, “जटिल बन्दै गएको कृषि कर्ममा घोत्लिँदै जाँदा विनाश उन्मुख प्रकृति र सङ्कटग्रस्त मानव जीवन बीचको सम्बन्ध अझ खुल्दै गएको छ । ” त्यो एकान्तिक अवधिमा सङ्गीतको अभ्यासलाई पनि जारी राखेको उहाँले बताउनुभयो । गायिका रचना रिमाल भने नयाँ वर्षका लागि इजरायलमा आफ्नो प्रस्तुति दिने भएकी छिन् भने गायक शिव परियार सुदूरपश्चिम समाजको आयोजनामा अस्ट्रेलियाको सिड्नीमा नयाँ वर्षको अवसरमा कार्यक्रमा गर्ने भएका छन् । गायिका रचना रिमालले कोरोनापश्चात् धेरै स्टेज कार्यक्रममा आफ्नो प्रस्तुति दिनुभएको थियो । उहाँले कीर्तिपुर, सिमरा, गाईघाट, उर्लाबारी, दुबईलगायतका स्थानमा स्टेज कार्यक्रम दिनुभइसकेको जानकारी दिनुभयो । “नयाँ वर्षका लागि थुप्रै ठाउँबाट निम्तो आइरहेको छ,” रिमालले भन्नुभयो, “केही कार्यक्रम प्रस्तुति गर्न नयाँ वर्षका लागि इजरायल जानेछु । ” गत वर्ष कोरोनाका कारण देशभित्र मेला–महोत्सव खासै हुन सकेका थिएनन् । यस वर्ष विभिन्न जिल्लामा मेला–महोत्सव भएको तथा विदेशमा पनि बोलाएका कारण आफूहरू त्यसमा व्यस्त भएको रिमालले बताउनुभयो । नेपाल आइडलको विजेता सज्जा चौलागाईंले पनि झापाको बिर्तामोडमा नयाँ वर्षको अवसरमा प्रस्तुति दिने भएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बीजी साङ्गीतिक कार्यक्रमहरू हुन सुरु भएसँगै लोकदोहोरी कलाकारमा उत्साह थपिएको बताउनुहुन्छ । चर्चामा रहेका गायक–गायिकाको स्टेज कार्यक्रममा राम्रो माग हुने गर्छ । उनीहरूको आम्दानीको मुख्य स्रोत नै स्टेज कार्यक्रम मानिन्छ तर कोरोनाका कारण साङ्गीतिक कार्यक्रम नहुँदा स्टेजमा व्यस्त हुने कलाकार मर्कामा थिए ।

काठमाडौं, चैत्र २४ गते । कोरोनाले ठप्प बनाएको क्षेत्रहरु विस्तारै लयमा फर्किएका छन् । सिनेमा हलमा चलचित्र प्रदर्शनमा आउने क्रम जारी नै छ । कोरोना संक्रमणको तेस्रो लहरको महामारीको प्रभाव न्यून भएसँगै नेपाली फिल्मको रिलिज मिति घोषणा पनि भइरहेका छन् । फिल्म वितरक करण श्रेष्ठका अनुसार कोरोनाकालमा धेरै चलचित्र बने र थन्किए । कुनै चलचित्र पूरै हलमा प्रदर्शन हुन सकेन । बिचमै रोक्नुपरेको थियो । कोरोनाका कारण रोकिएको नेपाली चलचित्र जस्तै ‘चपली हाइट‘ र ‘कठ्पुतली’ फेरि प्रदर्शनमा आए पनि सोचेजस्तो कमाई गर्न सकेनन् । दर्शकहरुले पुन प्रदर्शनमा आएका यी चलचिहरुलाई पत्याउनुभएन । त्यसपछि ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनमा आयो । श्रेष्ठका अनुसार यस फिल्मले चलचित्र क्षेत्रमा नयाँ माहोल बनायो । यो फिल्मले दर्शहरुलाई हलसम्म तान्न सफल भयो । कोरोनापछि फाल्गुन १३ गते ‘म यस्तो गीत गाउँछु’ प्रदर्शनमा आएको पहिलो नयाँ चलचित्र हो । कोरोनाका कारण घरमै थन्किएका दर्शकहरुलाई ‘म यस्तो गीत गाउँछु’ ले सिनेमा हलमा तान्न सफल भएको थियो । पुःन प्रदर्शनमा आएका चलचित्रले भन्दा ‘म यस्तो गीत गाउँछु २’ उत्कृष्ट कमाई गर्ने चलचित्र बन्यो । यस लगतै अरु चलचित्रहरु प्रदर्शनमा आउन सुरु भयो । ‘लप्पन छप्पन’, ‘आकासे खेती’ र ‘चिसो एष्ट्रे’ प्रदर्शन भयो । तर यी चलचित्रले सोचे जस्तो कमाई गर्न नसकेको फिल्म वितरकहरुको भनाई छ । नेपाली चलचित्र हिन्दी चलचित्रको मारमा पर्ने गरेको श्रेष्ठको भनाई छ । उहाँ भन्नुहुन्छ, ‘चिसो एष्ट्र’ दर्शकले धेरै मन पराउनुभयो तर हिन्दी चलचित्र ‘आरआरआर’ प्रदर्शनमा आएपछि चिसो एष्ट्रेको व्यापार घटेको हो ।’ उहाँका अनुसार चललचित्रका कथा सन्देशमूलक हुनुपर्छ । ‘कथा राम्रो हुनेबित्तिकै दर्शक सिनेमा हलसम्म पुग्छन्’, उहाँ भन्नुहुन्छ, चिसो एष्ट्रले चलचित्रमार्फत परिवर्तन ल्याउन खोजेको छ ।’ यस्तै, ‘ए मेरो हजुर ४’ नयाँ वर्षलाई लक्षित गरेर प्रदर्शनमा ल्याउने तयारीमा छ । यस बाहेक ‘मन्त्र’ (वैशाख १५ गते), ‘लक्का जवान’ (वैशाख २३ गते), ‘लाइफ इन एलए’ (जेठ ६ गते), प्रेमगञ्ज (भदौ ३ गते) ‘चिसो मान्छे’ (असार ३ गते) दशैंमा ‘छक्का पञ्जा ४’, तिहारमा ‘परस्त्री’ चलचित्र प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म वितरक किरण श्रेष्ठले जानकारी दिनुभयो । नेपाली फिल्मका निर्माता, निर्देशकले वितरकसँग सेट गरेको नेपाली फिल्मको रिलिज क्यालेन्डर यस्तो छ । ए मेरो हजुर ४ झरना थापाको निर्देशनमा बनेको चलचित्र ‘ए मेरो हजुर ४’ आगामी वैशाख १ मा प्रदर्शनमा आउने भएको छ । सञ्जय लामाको छायांकन रहेको फिल्मलाई सुनिलकुमार थापाले निर्माण गर्नुभएको हो । चलचित्रमा अभिनेता अनमोल केसी र सुहाना थापालाई देख्न सकिन्छ । मन्त्र सौगात मल्ल अभिनित फिल्म ‘मन्त्र’ आउँदो १६ वैशाखबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ । हिमाली भेगको प्रेमकथामा आधारित फिल्ममा सौगातसँगै दीया पुनको अभिनय हेर्न सकिनेछ । खिलबहादुर गुरुङको निर्देशनमा बनेको यस चलचित्रमा बुद्धि तामाङ, नमिता घिसिङ, वीरबहादुर लामा, पासाङ टी शेर्पालगायत अन्य कलाकारको अभिनय छ । कार्यकारी निर्मातामा देवेन्द्र मानन्धर र निर्मातामा रविराज कार्की, सुरेश कार्की र शुभ श्रेष्ठ हुनुहुन्छ । यस्तै, चलचित्रमा साम्तेन भुटियाको कथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन, मित्र डी गुरुङको सम्पादन र सुजिल कर्माचार्यको संगीत रहेको छ । लक्का जवान हाँस्य कलाकार शिवहरि पौडेलको निर्देशनमा तयार पारिएको चलचित्र ‘लक्का जवान’ वैशाख २३ मा सिनेमा हलमा प्रदर्शनमा आउने तयारीमा छ । दिलीप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, सुशील पोखरेल, सरोज खनाल, अनुसुयषा श्रेष्ठ, सुरेन्द्र केसी, जयनन्द लामा, सविता गुरुङ, यमन श्रेष्ठ, विमला गिरीलगायतका कलाकारहरूको अभिनय रहेको फिल्मले पाका उमेरका मानिसहरूको कथा देखाइएको छ । फिल्ममा वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ अतिथि भूमिकामा देखिनुहुनेछन् । ध्रुव दत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुतिमा किरण केसी, दिलीप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माताका रहेको फिल्म ‘लक्का जवान’ को सह–निर्मातामा सुशील अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी, दिपेन्द्र खनियालगायत हनुहुन्छ । ‘आमा बंगलामुखी फिल्म प्रोडक्सन’ को ब्यानरमा बनेको ‘लक्का जवान’ स्वदेशसँगै विदेशमा पनि प्रदर्शनमा आउने भएको छ । ‘लाइफ इन एलए’ अमेरिका र नेपालमा छायांकन गरिएको चलचित्र ‘लाइफ इन एलए’ जेठ ६ गतेबाट सिनेमा हलमा आउने भएको छ । सुर्य एन श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रको गीतमा त्रिकोणात्मक प्रेमकथालाई प्रस्तुत गरिएको छ । यो चलचित्रमा गौरव पहारी, वुद्दि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकको साथमा जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको अभिनय छ । ब्यास इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई ब्यास बिस्सुले निर्माण गर्नुभएको हो । संसार अञ्जान सुवेदी कार्यकारी निर्माता रहेको चलचित्रमा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्माताको रुपमा छन् । प्रेमगञ्ज ‘प्रेमगञ्ज’ युनिटले भिडियोमार्फत ३ भदौमा प्रदर्शनमा आउने घोषणा गरेको हो । परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको फिल्ममा बेनिशा हमाल, तेज गिरी, सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, नरेश पौडेल, रश्मि भट्ट, गीता अधिकारीलगायतका कलाकारको अभिनय छ । स्पट व्यायका रूपमा लामो समय काम गरेका राजु फुयालको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायांकन रहेको छ । चिसो मान्छे निर्देशक दीपेन्द्र के खनालको फिल्म ‘चिसो मान्छे’ आगामी असार ३ गते सिनेमा हलमा प्रदर्शन हुने भएको छ । चलचित्रमा श्रम बेच्न मलेसिया पुगेका नेपाली कामदारको मृत्यु भएपछि उनको शव नेपाल ल्याउन गरिएको संघर्ष देखाइएको छ । छक्का पञ्जा ४ नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा ४’ तिहारमा रिलिज हुने तयारीमा रहेको फिल्म वितरक किरन श्रेष्ठले जानकारी दिनुभयो । ‘छक्का पञ्जा’ सिरिजलाई दीपाश्री निरौलाले निर्देशन गर्दै आउनुभएको छ । चलचित्रमा दीपाश्री निरौलासँगै दीपकराज गिरी, केदार घिमिरे, जीतु नेपाल र अन्य कलाकारको अभिनय देख्न सकिन्छ । परस्त्री निर्देशक सुरज पाण्डेको निर्देशनमा बनेको परस्त्री आउँदो वर्ष ६ कात्तिकमा रिलिज हुने तयारीमा रहेको छ । नेपाली र हिन्दी गरी दुई भाषामा निर्माण गरिने फिल्म डिएस डिजिटलको व्यानरमा निर्माण गरिएको हो । फिल्ममा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिशा क्षेत्री, अशान्त शर्मालगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

काठमाडौं, चैत २४ गते । नमूना कलेज अफ फेसन टेक्नोलोजीले बिहीबार साँझ ग्र्याजुएशन फेसन शो आयोजना गरेको छ । सिर्जनात्मक प्रस्तुतिका दृष्टिले नेपाली फेसन बजारमा उत्कृष्ट परिचय स्थापित गरेको उक्त समूहले शोको १६औँ संस्करण प्रस्तुत गरेको हो । काठमाडौंको होटल सोल्टीमा आयोजित उक्त शोमा मोडलहरुले आ–आफ्ना प्रस्तुति पस्किएका थिए । नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानीशोभा तुलाधरसहितका मोडलहरू रनवेमा उपस्थिति भएसँगै सुरु भएको उक्त शोमा फरक ११ वटा ‘थिम’ मा विविध ८२ विद्यार्थीको कलात्मक प्रस्तुति आयोजना गरिएको थियो । उक्त शोमा २३ मोडल युवती र आठ युवा मोडलको प्रस्तुति थियो । उक्त फेसन शोको कोरियोग्राफी र निर्देशन सञ्चारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले गर्नुभएको थियो । अद्वितीय प्रतिविम्ब नाम दिइएको सो फेसन सो करिब तीन घण्टाको थियो ।