पोखरा:   राधाकृष्ण सांस्कृतिक समूहको आयोजना एवम् राधाकृष्ण मन्दिर शान्ति आश्रमको सह आयोजनामा लामेआहालमा आज सम्पन्न १० औं श्रीकृष्ण जन्माष्टमी महोत्सव एवम् भजन चुड्का प्रतियोगितामा महेश्वर खनाल भजन समूह, शुक्लागण्...

काठमाडौँ  ः  उमा महेश्वरसहित दुबोको पूजा गरेर  सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् ।    यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाइन्छ । भाद्र शुक्ल अष्टमी अगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने भाद्र कृष्ण अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउनुहुन्छ । यस वर्ष भाद्र शुक्ल अष्टमीपछि अगस्त्य उदय हुने छ ।     भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । यसैले यस वर्षको गौरालाई उज्याली भनिन्छ । पहिलो पटक व्रत बस्नेले भने भाद्र शुक्ल अष्टमी अर्थात उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधान छ ।   कन्या राशिमा सूर्य गएपछि अर्थात असोज महिना लागेपछि पनि गौरा मनाउनु हुँदैन । सिंह राशिमा सूर्य भएका बेला अर्थात भदौ महिनामा गौरा मनाउनुपर्ने मानसखण्ड, निर्णयसिन्धु, हेमाद्रिलगायत ग्रन्थमा उल्लेख गरिएको छ ।   गौरालाई सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन् । राजधानीमा पनि सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसको बसोबास बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको छ ।    सत्य युगमा हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जङ्गल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन सुरु गरिएको देउडा संस्कृतिविद् गायक नन्दकृष्ण जोशीले जानकारी दिनुभयो ।   गौरा पूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा (सौँ), तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरिन्छ । यसरी बनाइएको देवीलाई भाद्र कृष्ण अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर बर्तालुले निराहार बसी पूजा गर्ने परम्परा रहेको देउडा संस्कृतिविद् जोशीले बताउनुभयो ।   देवीलाई गाउँका नायकले भित्र्याउनुपर्ने चलन छ । यसरी भित्र्याउँदा कसैले पनि हेर्नु नहुने मान्यता छ । गौरा भित्र्याउने घरमा जम्मा भएका गाउँलेले खोज्दा नभेट्ने गरी नायकले लैजान्छन् ।   “यो पर्वका लागि भाद्र शुक्ल पञ्चमीका दिन केराउ, जौ, मस्याङ, मास र गुराँसको गेडा भिजाएर राखिन्छ, यसलाई बिरुडा भनिन्छ, अष्टमीमा भगवतीलाई पूजा गरेर प्रसादका रूपमा बिरुडा चढाइन्छ, भक्तजनलाई पनि प्रसादका रूपमा बिरुडा नै बाँडिन्छ, पाँच किसिमका गेडागुडी भिजाउने दिनलाई बिरुडा पञ्चमी भनिन्छ”, उहाँले भन्नुभयो ।   यसरी दुई÷तीन दिन पूजा गरिसकेपछि मङ्गलबार र शनिबार नपारी देवीलाई नदी, कुवा, पोखरी वा जलाशयमा लगी सेलाइन्छ । जुठो, सूतक परेका बेला देवीलाई विसर्जन गर्न नहुने परम्परा छ । देवीलाई विसर्जन गरेपछि मागल अर्थात् माङ्गलिक कर्ममा गाइने भजन, गीत आदि गाएर रमाइलो गर्ने परम्परा छ ।    देशका अन्य भागमा तीज मनाए जस्तै पश्चिममा यो पर्व विशेषगरी नारीहरुले मनाउने गरेका छन् ।      दुर्वाष्टमी    दुबोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दुर्वाष्टमी पनि भनिन्छ । दुबो जसरी फैलिन्छ त्यसरी नै सन्तान, दर सन्तान फैलियून् भन्ने कामनाले यो पर्वमा उमा महेश्वरको पूजा, उपासना र व्रतसमेत गरिने धार्मिक नियम छ ।    सन्तान राम्रा र गुण सम्पन्न हुन्, आयु तथा स्वास्थ्य राम्रो होस् भन्ने कामनाले पनि गौरा एवं दुर्वाष्टमी पर्व मनाइन्छ ।    अष्टमीका दिनमा पूरै ज्येष्ठा र मूल नक्षत्र परेमा भने दुबोको पूजा गर्न नहुने शास्त्रीय मान्यता रहेको पनि धर्मशास्त्रविद् गौतमले बताउनुभयो । अष्टमी तिथिभर ज्येष्ठा र मूल नक्षत्र नपरेमा भने दुबोको पूजा गर्नहुन्छ भन्ने शास्त्रीय मान्यता छ ।    यस वर्ष शनिबार राति ९ः१८ बजेसम्म अनुराधा नक्षत्र र त्यसपछि ज्येष्ठा नक्षत्र परेको छ । यस दिन दुबो र गौराको पूजा गरे सौभाग्य, सन्तान प्राप्त हुने, कार्य सिद्धि हुने धर्मग्रन्थ हेमाद्रिमा उल्लेख गरिएको छ ।   यो दिनमा सूदुरपश्चिमवासीले देउडा गीत गाएर नृत्य गरी रमाइलो  गर्दछन् । काठमाडौँको टुँडिखेलमा पनि यस दिन देउडा गीत र नृत्य गरी सूदुरपश्चिमवासीले मनोरञ्जन गर्ने गरेका छन् ।

काठमाडौँ  ः  प्रधानमन्त्री शेरबहादुर देउवाले गौरा पर्वका अवसरमा गाइने विभिन्न धार्मिक, सांस्कृतिक गीत, भजन तथा देउडालगायतका नाच नेपालका अमूल्य लोक संस्कृति भएको उल्लेख गर्नुभएको छ ।   गौरा पर्वको उपलक्ष्यमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गर्दै उहाँले ती लोक संस्कृतिले हाम्रो जीवनको सुख दुःखको कथा, इतिहास र परम्परा बोकेको बताउनुभएको छ । ती लोक संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्नु सबैको राष्ट्रिय दायित्व भएको उहाँले उल्लेख गर्नुभएको छ । गौरा पर्व विशेषगरी नेपालको कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा ठूलो उत्साह र उमङ्गका साथ मनाइन्छ ।   गौरा पर्व हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ । गौरा पर्वमा व्रतालु तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा पाँच प्रकारका अन्नको मिश्रणबाट बनेका बिरुडालाई अक्षता र प्रसादका रूपमा चढाउने तथा ग्रहण गर्ने गरिन्छ ।   धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी ९गौरा०को पूजाआजा गर्ने गरिन्छ । गौरा भित्र्याइसकेपछि बिसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, धमारी, ढुस्को आदि खेल खेलेर रमाइलो गर्ने चलन रहेको प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।   गौरापर्वले परिवार तथा सामाजिक जीवनमा आपसी प्रेम, विश्वास र सद्भाव प्रगाढ बढाउनुका साथै ब्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुख, शान्ति, प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ । उहाँले गौरा पर्वको सांस्कृतिक, धार्मिक महत्वलाई आगामी दिनमा अझ बढी प्रचारप्रसार गर्दै यसलाई राष्ट्रिय चाडको रूपमा स्थापित गर्न सबैले जोड दिन आवश्यक रहेको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले गौरा पर्व २०७९ को पुनीत अवसरमा कर्णाली तथा सुदूरपश्चिम प्रदेशका सम्पूर्ण आमा, दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै यस अवसरमा आयोजना हुने सबै कार्यक्रमको पूर्ण सफलताको कामना गर्नुभएको छ ।

महेन्द्रनगर    :    ‘गौराको बिरुडो ठूलो, दशैँको जमरा                            आउनी रए झानी रए तै लोली गमरा’   बिहीबार महेन्द्रनगरस्थित खुलामञ्चमा देउडिया (गीतकार) रमेश पन्तले यसै गीतबाट देउडा खेल सुरु गर्नुभयोे । देउडा खेल सुरु गर्दा माहोल रोमाञ्चक बन्यो । महेन्द्रनगरमा दुई वर्षपछि बिहीबार देउडा भाका गुञ्जिएको हो । हरेक वर्ष महेन्द्रनगरको खुलामञ्चमा महिनौँसम्म चल्ने देउडा खेल दुई वर्ष कोरोना महामारीका कारण हुन सकेन ।    “बल्ल दुई वर्षपछि देउडा खेल्न पाइयो यसपटक रहर पूरा गर्छु ।” देउडिया पन्तले भन्नुभयो, “दुई वर्षपछि देउडा खेल्न पाउँदा निकै खुसी छु ।” दुई वर्षपछि देउडा खेल्न पाउँदा भीमदत्त नगरपालिका–७ का परमानन्द भट्ट पनि उत्साही देखिन्थे । “देउडामा रमाउन पाउँदा अर्कै जोश जाँगर आउँछ, दुई वर्ष घरभित्रै थुनिए ।” उहाँले भन्नुभयो, “देउडामार्फत हुने सवाल–जवाफ रोचक हुन्छ, यो साथीभाइको भेटघाट हुने माध्यम पनि बनेको छ ।”   बिहीबार बिरुडा भिजाएर विधिवतरूपमा गौरापर्व सुरु भएपछि सुदूरका गाउँबस्तीमा देउडा भाका गुञ्जिन थालेका छन् । गौरापर्वको सुरुआतसँगै यहाँको माहोल देउडामय बनेको छ । गौराका अवसरमा गाउँदेखि बजारसम्मका महिला–पुरुष देउडामा रम्न थालेका छन् ।   महेन्द्रनगर बजार क्षेत्रमा मात्रै एक दर्जन बढी थलोमा देउडा खेल सुरु भएको छ । केही थलोमा विभिन्न सङ्घसंस्थाले अगुवाइ गरेका छन् । यहाँको खुलामञ्चमा महाकाली साहित्य सङ्गमले देउडा आयोजना गरेको छ भने महेन्द्र स्मारकमा खप्तड समाजले देउडा प्रतियोगिताको आयोजना गरेको छ । त्यसैगरी अन्यथलोमा समेत देउडा खेल सुरु भएको छ ।   गौरापर्वमा गौराको महत्व छुट्टै भए पनि प्रमुख आकर्षण नै देउडा भएकाले युवायुवतीसमेत देउडामा झुम्ने गरेको देउडिया रमेश पन्त बताउँछन् । “देउडा खेल्दा डेढ पाइला अगाडि र पछाडि सर्ने भएकाले देउडा भनिएको हो”, उहाँले भन्नुभयो, “देउडा लोक नृत्य पनि हो । यो हाम्रो ऐतिहासिक, धार्मिक महत्व र हाम्रो पहिचान पनि हो ।” देउडामा देव गाथाहरूलाई मनोरञ्जनात्मकरूपमा प्रस्तुत गरिन्छ ।   “देउडामा भेदभाव पनि हुँदैन यो खेल नारी पुुरुष, युवा पाका सबै पुुस्ताले खेल्न पाउँछन्, यसमा जातीय विभेद पनि हुँदैन”, उहाँले भन्नुभयो, “यसको संरक्षण र संवद्र्धन गर्नु जरुरी छ ।” उहाँले पछिल्लो समय यसको महत्व अझ बढेको बताउनुभयो ।    देउडामा पुराना धार्मिक र राजनीतिक कथादेखि समाजका गतिविधि गीतमार्फत बाहिर ल्याउने गरिन्छ । गीतमार्फत नै गतल प्रवृत्तिका विरुद्ध प्रहारसमेत हुने साहित्यकार कविराज भट्टले बताउनुभयो । “सुदूरपश्चिममा अन्य चाडपर्व र मेला जात्रामा पनि देउडा खेलिन्छ”,  उहाँले भन्नुभयो, “गौराका बेला देउडाको महत्व झन् बढी हुन्छ ।”  देउडा सुदूरपश्चिमको पहिचानसमेत रहेको उहाँको बताउनुभयो ।    गौरा सुरु भएदेखि यहाँका गाउँबस्तीमा १५–२० दिनसम्म देउडा खेल्ने गरिन्छ । “देउडामा वर्तमान राजनीतिक स्थिति र समाजमा घटेका घटना र विकृतिमाथि ब्यङग्य पनि गरिन्छ । माया प्रेमका कुरासमेत आउँछन्”, उहाँले भन्नुभयो, “देउडालाई सांस्कृतिक चटनीका रूपमा पनि लिन सकिन्छ ।”   गोलो घेरामा एक–आपसमा हात बाँधेर ठूलो समूहले गाउँदै नाच्ने गरिन्छ । त्यसैगरी गौरापर्वकै अवसरमा ढुस्को धुमारीलगायतका खेलहरू पनि खेलिन्छन । “यी जति पनि खेल खेलिन्छन्, सबैमा देवी–देवताको गाथा मनोरञ्जनात्कमरूपमा गाइन्छ ।” स्थानीय टीकादत्त जोशीले भन्नुभयो, “हाम्रा यी परम्परा हराउँदै जान थालेका छन्, युवापुस्ताले यसको संरक्षण गर्नु जरुरी छ ।” संस्कृति मासिँदै गए पहिचानसमेत हराउँदै जाने भएकाले यसको पुस्तान्तरण आवश्यक रहेको उहाँले बताउनुभयो ।   “देउडामा यो ठाउँको इतिहास, संस्कृति र साहित्य छ”, उहाँले भन्नुभयो, “अहिले त मनोरञ्जनका रूपमा मात्रै देउडा खेलिन्छ तर त्यसो होइन, देउडा इतिहास र संस्कृतिसँग जोडिएको छ, अहिलेका पिँढीले यो बुझ्न जरुरी छ ।”  गौरापर्वमा साथीभाइ भेटघाट गर्ने अवसर पनि मिल्ने भएकाले देउडा गीतमा गाउँघरको सम्झना, माया, प्रेम र पुराना चालचलनका भाका हालेर गाइने गरिन्छ । पछिल्लो समय देउडाको मौलिकता हराउन लागेकप्रति पाका पुस्ताले चिन्ता व्यक्त गरेका छन् ।

बागलुङ ।  “उति बेला तीजमा वर्ष दिनको भेट भइन्थ्यो, माइतीमा आएका दिदीबहिनीसँग चौतारामा, गाउँको डाँडामा बसेर घरमा पाएको दुःख सुखका कुरा गरी तीजका गीत गाइन्थ्यो, नाचिन्थ्यो, गीत पनि आफ्नो जीवनमा भएका घटनाका आधारमा गाइने गरिन्थ्यो, अहिले त गीत पनि के–के हुनु के–के, न दुःखका कुरा छन्, न भोगाइका, अहिले त उही माया प्रेमकाबाहेक अरु छैनन् ।”   ढोरपाटन नगरपालिका–२ का ६६ वर्षीया सीता शर्मालाई अहिलेको तीज पटक्कै मन पर्न छोड्यो । उहाँलाई तीज मन नपर्नुको कारण हो मौलिकता हराउनु । उहाँ भन्नुहुन्छ, “अहिले मौलिकता भन्ने छँदैछैन, गीत पनि विदेशी, पहिरन पनि विदेशी, हुँदाहुँदा यहाँका मान्छे आफ्नो पहिचान भुलेर विदेशीजस्तै बने, पहिले तीज आउँदा कति धेरै रमाइलो हुन्थ्यो, अहिलेका मान्छे सबै स्वार्थी भए, आफ्नो धर्मकर्म, संस्कार र परम्परा सबै बिर्सिए ।”   उहाँले जमानासँगै संस्कार, संस्कृति र परम्परा पनि मेटिन थालेकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले पहिले तीज आउनुभन्दा एक साता अगाडिदेखि गाउँमा नाचगान सुरु गर्ने भन्दै अहिले एक महिना अगाडिदेखि दर खान सुरु गर्ने गरेको बताउनुभयो । दर खाने नाममा स्थानीय उत्पादनलाई छोडेर विदेशी मदिरा र महँगा–महँगा परिकार खाने गरेको उहाँको भनाइ छ ।   “हाम्रो पालामा दर खाने त माइत गएर हो, माइत पनि तीजको दुई दिन अगाडि गइन्थ्यो, अहिले त तीज आउन १५÷२० दिन छँदै दरखाने भनेर ठूल्ठुला होटल धाउँछन्, हामी त माइत जाँदा आमाले केरा, दही मिसाएर दर बनाउनुहुन्थ्यो, गोठमा रहेका गाईभैँसी दुहेर खिर बनाउनुहुन्थ्यो, हाम्ले त्यसलाई दर भनेर खान्थ्यौँ”, उहाँले भन्नुभयो, “अहिले त दरखान तीज आउनुभन्दा १५ दिन अगाडिनै सुरु गर्छन्, दरमा न दही, न केरा , नर खिर हुन्छ ।”   महिलामा तीज पर्वको छुट्टै रौनक र उत्साहहुन्छ । घर, चोक, चौतारी, पाटीपौवामा बसेर वर्षभरको मनको दुःख, वेदनापोखेर खुलेर नाँच्ने, बाँच्ने एक महत्वपूर्ण उत्सवका रुपमा लिइन्छ तीजलाई । पछिल्लो समय तीजका अवसरमा एक महिना अगाडिदेखि नै दर खाने र खुवाउने सार्वजनिक कार्यक्रम आयोजना गर्ने क्रम बढ्दो छ । यसले मौलिक परम्परालाई चटक्कै भुलेको छ ।   यस पर्वले महिलामा मात्र होइन, पारिवारिक भेटघाट, एकता, सद्भावको विकास गराउने, वर्षभरको दुःख, पीडा, वेदनाबाट मुक्त भएर अघि बढ्नका लागि नयाँ ऊर्जाको सञ्चार गराउने कार्यसमेत गर्दछ ।  पछिल्लो केही समय यता तीज पर्व हिन्दू संस्कार, संस्कृतिसँग सम्बन्धित भए पनि यसको दायरा केही फराकिलो बन्दै गएको बूढापाका बताउँछन् । तीजपर्वले महिलाको मनमा गुम्सिएका दुःख, वेदना पोख्ने मात्र नभई, वर्षभरको दुःख भुलेर नयाँ ढङ्गले जीवन बाँच्न प्रेरित गर्ने गरी मनाउनुपर्ने उहाँहरुको भनाइ छ ।   ऐतिहासिक महत्व बोकेका संस्कृतिसँग जोडिएको पर्वलाई मौलिकरुपमा बनाउन छोडिएको बडिगाड गाउँपालिका–५ की ममता खत्रीले बताउनुभयो । उहाँले पछिल्ला दिनमा देखिएका केही विकृत सोच, पात्र र प्रवृत्तिले तीजपर्व पनि विकृत र बदनाम बन्न थालेको बताउनुहुन्छ । अहिले दर खाने र खुवाउने नाममा दारुखाने र खर्चिला भड्किला गतिविधि गर्दा संस्कृतिको अवमूल्यन भएको उहाँको भनाइ छ ।   “बजारमा केही वर्षदेखिनै भड्किलो पर्व बनाउने संस्कार बसेको थियो, अहिले त गाउँमा समेत भित्रिन थाल्यो, बढ्दो आधुनिकताले गर्दा पनिहोला पहिले गाउँमा मादल, खैजडी, बाँसुरी बजाएर नाचिन्थ्यो भने अहिले ठूला साउनबक्स बजाएर नाचछन्, पुराना मौलिक गीत त झन सुन्नै पाइँदैन”, उहाँले भन्नुभयो, “कतिपय तीजगीत र अश्लिलरुपमा नाचेका नाच सामाजिक सञ्जालमा हाल्ने गर्दा त्यसले नयाँ पुस्तालाई पनि त्यतैतिर डोहो¥याएको छ ।”   उहाँले परम्परादेखि पतिको सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै निराहर व्रतसमेत बस्ने चलनसमेत हराउन थालेको बताउनुभयो । संस्कृतिका नाममा हुने गलत गतिविधिले चाडपर्वको महत्वलाई नै विकृत बनाइदिएको उहाँको भनाइ छ । संस्कृतिलाई समयसापेक्ष संस्कृतिकै रुपमा मनाउनुपर्ने तर, बदलिँदो समयलाई बाहना बनाएर भड्किला गतिविधि गर्न नहुने उहाँले बताउनुभयो ।   “चाडपर्वलाई मौलिकरुपमै मनाउनुपर्छ, पहिलेपहिले पतिको सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै व्रतसमेत बस्ने चलन थियो, अहिले यो हराउँदै गएको छ, दरका नाममा दारु खाने, खर्चिलो र भड्किलो रुपमा मनाउने कुराले संस्कृतिलाई बदनाम गराउँदै गएको छ, चाडपर्व, संस्कार, संस्कृतिसँग जोडिएका परम्परागत खराब प्रवृत्तिको निरुत्साहित गर्नुपर्छ, यसप्रति सरकारले पनि ध्यान दिनुपर्छ,” उहाँले भन्नुभयो, “ सरकाले चाडपर्वलाई भड्किलोरुपमै मनाउन दिने हो भने पछिल्लो पुस्ताले मौलिक संस्कृतिको अनुभव गर्न पाउने छैनन् ।”

काठमाडौँ : ‘हाम फालेर मरौँकी त्रिशुलीको पानीमा’ घरमा बसु सौता त माइत सानीमा’ ‘सबले गर्छन् घर माइत आफ्नो बरै छैनन् कोही’ ‘लेख्या रैछ कर्ममै बाच्नुपर्ने रोइ’   गायिका शर्मिला गुरुङले गाउनुभएको यो  गीतले महिलाको बेदना बोलेको छ ।  सङ्गीतकार राजकुमार बगरले सङ्कलन गर्नुभएको यो शब्दमा भनिएजस्तै महिलाका बेदनाका तीज गीत पछिल्लो समय कमै सङ्कलन गरिन्छ । आजकालको तीजमा माइती र चेलीबीचको सम्बन्धका बारेमा भन्दा पनि व्यावसायिक र सस्तो लोकप्रिय हाँसिल हुने किसिमका  गीत बजारमा आएका छन् ।     पछिल्ला वर्षका तीजका गीतमा मौलिकता हराउन थालेको छ । नेपाली समाजमा आधुनिकताको प्रभावले यस्ता गीतमा मौलिकताको अभाव बढिरहेकै बेला सरोकारवालाले भने विकृति र विसङ्गति रोक्न चासो देखाएका छन् । हिन्दू नारीहरुको मुख्य पर्वका रुपमा पहिचान बनाएको हरितालिका तीजका अवसरमा गाइने गीत समाज रुपान्तरणमा गुञ्जिनुपर्ने थियो तर, तीजका गीतमा मौलिकपन भेटाउन मुस्किल हुन थालेको गुनासो पनि त्यतिकै मात्रामा नागरिक स्तरबाट सुनिन्छ ।    घरपरिवारसँगै बसी सुन्न र हेर्न नसकिने खालका तीजका गीतले प्रश्रय पाइरहेकै छन् । समाजले पचाउन नसकेका छाडा प्रकृतिका गीतहरु बजारमा एकपछि अर्को सार्वजनिक भइरहेकै छन् ।  यस्ता गीतप्रति आमनागरिक, कलाकार तथा स्रटाहरुले अश्लिलपना हटाउन र मौलिकपन भरिएका शब्दमा गीत रचना हुनुपर्ने धारणा बाहिएका छन् ।    काठमाडौँ अनामनगरकी ६० वर्षीया हरिकला अधिकारलाई आजकाल बजारमा आएका तीज गीत कति पनि मन पर्दैन । गीतमा चेलीका बेदना, कथा व्यथाभन्दा पनि भड्काउ खालका परिवारसँगै बसेर हेर्न र सुन्नसमेत नसकिने खालका तीज गीत भएका कारण उहाँलाई सुन्न मन नलागेको हो । उहाँले भन्नुभयो, “हाम्रा पालामा चेलीबेटीले भोगेका दुःख, दर्दका गीतहरु गाइन्थ्यो, चेलीले वर्षदिन भरी भोगेका पीडालाई गीतको माध्यमबाट सुनाउने गर्दथे, तीजका गीतमा कति मीठा शब्द राखिएको हुन्थ्यो, तर अहिले सुन्न पनि नसक्ने खालका तीज गीत बजारमा आएका छन्, सुन्न पनि नसकिने असभ्य लाग्ने खालका छन् ।”   हरिकलाले भनेजस्तै अहिले बजारमा कतपय तीज गीत परिवारसँगै बसेर सुन्न र हेर्न नसक्ने खालका आएका छन् । एक महिनाअघि बजारमा ल्याइएको ‘पापाकी परी’ नामको गीत श्रृङ्खल शब्द र दृश्य राखिएको जनाउँदै विवादमा तानिएको थियो ।   गायक तथा सङ्गीतकार शिव हमालले सिर्जना गर्नुभएको सो गीतमा ‘मोडल’ करिष्मा ढकालले पेटिकोट लगाएर पानी पँधेरोमा नुहाउँदै, गाउँदै नाच्दै गरेको भिडियो देख्न सकिन्छ । गीतमा ‘के हुन्छ होला है बिहेको राति, अँध्यारो कोठामा अन्जान साथी, सम्झेर गइसक्यो सातो बरिलै’ भन्ने शब्द राखिएको छ । गायिका सुशीला पाठकले गाउनुभएको यो तीज गीत मात्रै होइन उत्ताउलो पहिरन, पश्चिमी शैलीको नृत्य, म्युजिक भिडियो पनि उस्तै खालका हेरिनसक्नु छन्, ती म्युजिक भिडियो बजारमा प्रशस्तै भेटिन्छन् ।   गायक राजु परियारले हरितालिका तीजका गीतमा मौलिकता हराउँदै गएकोमा चिन्ता व्यक्त गर्नुहुन्छ । उहाँले भन्नुभयो, “बजारमा आएका सबै तीज गीतमा होइन, केही तीजका गीतमा मौलिकताको कमी हुँदै गएको पाइन्छ, पहिले पहिलेका तीज गीतमा झै अहिलेका तीजका गीतमा मेहनत कमी हुँदा विकृति विसङ्गति बढेको हो ।”    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका उपाध्यक्ष राधिका हमालले विकृति विसङ्गतिमा हटाउनका निम्ति प्रतिष्ठान लागिपरेको बताउनुभयो । गीतमा मौलिकता हराउनुभन्दा पनि समयअनुसार गीतहरु गाउन थालिएको उहाँको भनाइ छ । तीजका विवादित गीतप्रति प्रतिष्ठानको निगरानी र सचेतनाका कारण यसपालि विकृति र विसङ्गतिले भरिएका गीतमा न्यूनीकरण हुँदै गएको उहाँको भनाइ छ ।    पछिल्लो समय बजारमा आएका तीज गीतमा चेली र माइतीका बेदनाभन्दा पनि माया प्रेम, महिलाले लगाएको पहिरनको बयानलगायतको विषयमा तीजका गीत गाउने गरिएको छ । यस वर्ष बजार आएका ‘झमझम झम्कना लाउ कि नलाउ मँ’, ‘मै मोटी’, ‘दोदोरो मादल’, ‘ढुङ्गे धारा’, ‘मै राम्रो छैन’, ‘राधा’, र ‘डुबाउला रानीलाई’ लगायतका तीज गीत चर्चामा छन् ।    गायक तथा सङ्गीतकार नारायण रायमाझीले पछिल्लो पटकका तीजका गीतमा मौलिकता गुमेकोे र विकृति विसङ्गति बढ्दै गएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “तीजको महत्व, माइती र चेलीबीच सम्बन्धसँग जोडिएको हुन्छ, तर, यसको महत्व विस्तारै घट्दै गएको छ, पछिल्ला पटकका गीतमा व्यावसायिकताको नाममा विकृति र विसङ्गति बढिरहेको छ ।” तीजको गीत गाउनेमा महिलाभन्दा पुरुषको आकर्षण बढेको उहाँको धारण छ ।    त्यसो त विगतका वर्षमा तीजका समयमा उत्ताउला खालका तीजका गीतहरु नल्याइएको होइन । ‘पोइल जान पाम’, ‘डिस्कोमा तीज’, ‘छोटो लुगा’, ‘देखियो जामा फाटेर’ ‘तीजमा दरको साटो रक्सी खाइन्छ’ जस्ता गीत पनि शब्द र ‘भिडियो’का कारण विवादमा परेका थियो । 

नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा १ स्थित पुरानो टुडिखेलमासुरु ऐतिहासिक तीज मेला २०७९ जारी छ । शुक्रबार देखि सुरु भएको मेला १६ भदौसम्म संचालन हुनेछ ।   नेपाली कला संस्कृतीको संरक्षण गर्ने उदेश्य सहित इन्द्रेणी एकिकृत विकास केन्द्र, पोखरा १ को आयोजना तथा सुरताल इभेन्ट एण्ड मल्टिमिडिया प्रा.लिको व्यवस्थापनमा सुरु भएको मेलामा आईतबारदेखि आजदेखि विभिन्न प्रतियोगिताहरु सुरु हुदैछन् ।   मेलामा आमा समुह स्तरीय मौलिक तीजगीत प्रतियोगिता, खुल्ला तीज गृहिणी नृत्य प्रतियोगिता, अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, गण्डकी प्रदेश स्तरीय छेलो लगायतका विभिन्न प्रतियोगिताहरु हुने छ ।    आजदेखि मेलामा आमा समुह स्तरीय मौलिक तीजगीत प्रतियोगिता, खुल्ला तीज गृहिणी नृत्य प्रतियोगिता सुरु हुने आयोजक केन्द्रका भानुभक्त अधिकारीले जानकारी दिए ।   मेलामा दैनिक उपभोग्य सामान, कृषि, हस्तकला, बैक तथा वित्तिय संस्था, लत्ताकपडा लगायतका विभिन्न स्टलहरुसगै रेष्टुरेन्ट र वाल उद्यान समेत रहेको छ ।  साथै मेलामा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहनेछ ।    शुक्रबारदेखी सुरु भएको मेलामा शनिवार कृष्ण अखेली, अमर धिताल, सुनीता नेपाली र निशा पोखरेल लगायतका कलाकारहरुले आ-आफनो प्रस्तुती मार्फत दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए ।    शनिबार मेलाको करिव ५ हजारको हाराहारीमा दर्शकले अवलोकलन गरेका आयोजक केन्द्रका कार्यसमिति सदस्य दुर्गादत्त भुगाईले जानकारी दिए ।    प्रतियोगिताका अलावा आज रामजी खाँड, कृष्ण अखेली, मञ्जु विक, रामजी पौडेल, बिन्द्रा परियार लगायतका कलाकारहरुको  प्रस्तुती रहने छ । 

नौ दिन आठ रात मनाइने भक्तपुरको गाईजात्रा आज सम्पन्न भएको छ । भक्तपुरमा जनै पूर्णिमाको साँझ सुकुलढोकास्थित नाट्यश्वरी मन्दिरमा गुठी संस्थानले विधिपूर्वक पूजा गरी सरकारी घिन्ताङघिसी नाचलाई नगरपरिक्रमा गराऐसँगै गाईजात्रा शुरु भएको थियो ।   गाईजात्राको अन्तिम दिन आज पनि भक्तपुरका विभिन्न स्थानबाट हास्यव्यङ्ग्यसहितको ख्याली प्याखँ (हास्य नाच) प्रदर्शन गरिएको थियो । मानिसहरु अनेक प्रकारका वेशभूषामा सजिएर जात्रा अवलोकन गर्नेहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । विभिन्न टोलटोलबाट आज पनि घिन्ताङघिसी नाच प्रदर्शन गरिएको थियो ।   आजै भक्तपुरको सूर्यमढीस्थित वाकुपतिनारायणलाई दीप प्रज्वलनसहित नगरपरिक्रमा गराइएको थियो । सो नगरपरिक्रमा कार्यक्रममा हजारौँ स्थानीय बासिन्दाहरु परम्परागत नेवारी पोशाकमा हातमा धूप बालेर सहभागी भएका थिए । सो अवसरमा हातमा दियो बालेरसमेत स्थानीयवासी सहभागी भएका थिए ।    गाईजात्राको समापनसँगै गाईजात्राको अवसरमा प्रदर्शन गरिएका देवी नाच, महाकाली नाच, भैरव नाच, लाखे नाच, बाँदर नाचलगायतका साँस्कृतिक र पौराणिक नाचहरुको प्रदर्शनसमेत सम्पन्न भएको छ ।

बागलुङ : शरदयामको छेकोमा यहाँको माहोल जात्रामय बनेको छ । झरी थामिएर घमाएका दिनले चाडबाड आउन लागेको सङ्केत गरिरहेका छन् । ठूला पर्व सुरु हुनुअघि यहाँ सांस्कृतिक जात्रा र नाचको छुट्टै रौनक चल्छ ।   जनैपूर्णिमादेखि कृष्णाष्टमीसम्म भदौरे जात्रा निकाल्ने प्रचलन छ । जसलाई बर्खे नाचले पनि चिनिन्छ । भदौरै जात्राअन्तर्गत लाखे, बास्सा, रोपाइँ, होवा, जोगी, कटुवाल, घोडालगायतका नाच तथा झाँकी प्रदर्शन गरिन्छ । रैथाने नेवार समुदायले आफ्नो पुस्तैनी संस्कृतिका रूपमा जात्राको परम्परालाई धान्दै आएको छ । नेवार युवाहरूको संस्था ‘नेवाः ल्याम पुच’ का अध्यक्ष जय राजभण्डारीले शुक्रबार ९आज० घोडा नाच देखाएपछि यो वर्षको भदौरे जात्रा सकिने बताउनुभयो ।   सोही संस्थाको अगुवाइमा मङ्गलबार रोपाइँ नाच र बुधबार शाक्य कल्याण समाजले जोगी नाच निकालेको थियो । त्यसअघि समाजले लाखे नाच र ल्याम पुचले होवा र कटुवाल नाच देखाएको थियो । “शाक्य कल्याण समाजबाट लाखे र जोगी नाच निकल्छन्, अरु नाच नेवाः ल्याम पुचले देखाउँछ”, अध्यक्ष राजभण्डारीले भन्नुभयो ।   ऐतिहासिक नाच तथा जात्राको संरक्षणमा नेपाल भाषा मंकाः खलः, नेवाः ल्याम पुच र शाक्य कल्याण समाज सक्रिय छ । झण्डै तीन सय वर्षअघि भक्तपुर, धुलिखेल र भादगाउँबाट यहाँ भित्रिएका नेवार जातिले भदौरे जात्राको प्रचलन बसालेको संस्कृतिकर्मी प्रेम छोटाले बताउनुभयो ।   “भाइचारा, मेलमिलाप, सामाजिक सन्देश र मनोरञ्जनको माध्यमका रूपमा जात्रालाई लिइन्छ”, उहाँले भन्नुभयो, “जात्राभित्र विभिन्न परम्परा झल्कने गीत, नाच प्रदर्शन हुने गरेको छ, गाईजात्रा पर्वको दिनदेखि नै बर्खे नाच निकाल्न सुरु हुन्छ ।”   गाईजात्रामा वर्ष दिनभित्र दिवङ्गगत भएका आफन्तको सम्झनामा तायामचाः र बास्सा नाच निकालिएको थियो । त्यसयता लाखे, होवा, कटुवाल, रोपाइँ, जोगी नाच प्रदर्शन भइसकेको छ । कृष्णाष्टमीका दिन घोडा नाच निकाल्ने तयारी छ । उक्त नाचमा मानिसलाई घोडाको आकृति दिएर टिन र झ्यालीको तालमा जिस्काउँदै बजार परिक्रमा गराउने चलन छ ।   कटुवाल नाचमा पनि युवा विभिन्न रूपका मुखुन्डो धारण गरेर मृदङ्गको तालमा नाच्ने र कटुवालको भूमिका निभाउनेले रोपाइँको सन्देश दिने चलन छ । हली, बाउसे, खेताल्नीलाई भोलिपल्ट हुने रोपाइँको सन्देश दिन कटुवाल नाच निकाल्ने गरिन्छ ।   कटुवाल नाचपछि हुने रोपाइँ नाच पनि यहाँको पुरानो जात्रामध्येमा पर्छ । रोपाइँ नाचमा नेवार समुदायका युवा, वयस्क महिलाका भेष धारणा गरेर नाचमा सहभागी हुन्छन् । हातमा धानको बीउ समातेर असारे भाकामा गीत गाउँदै बजार परिक्रमा गर्छन् । असारे नाचमा पनि आफ्ना भावना, विचारलाई गीतको माध्यमबाट स्वतन्त्र ढङ्गले प्रस्तुत गर्ने गरिन्छ ।   जोगी नाच भदौरे जात्राको अर्को आकर्षण हो । नेवारभित्र पनि शाक्य समुदायले यसको संरक्षण गर्दै आएको छ । जोगीको भेषमा सजिएर बाजाको विभिन्न तालमा लस्कर लागेर नाच्ने प्रचलन रहेको शाक्य कल्याण समाज सचिव मञ्जुल शाक्यले बताउनुभयो । उहाँले बागलुङको जोगी नाच पनि तीन सय वर्ष पुरानो भएको उल्लेख गर्नुभयो ।    जोगी नाचले सामाजिक एकता, भाइचारा बढ्ने, आसुरी प्रवृत्तिको नाश हुने र सहकाल आउने विश्वास गरिन्छ । जोगी नाचमा धेरै कलाकार चाहिने र खर्चिलो हुने हुँदा संरक्षणमा जटिलता थपिँदै गएको समाजका सचिव शाक्यले बताउनुभयो ।    जात्राले गीत, नृत्य र अभिनयबाट व्यङ्ग, पौराणिक कथा, जनजीवनका भोगाइ र स्वस्थ मनोरञ्जनलाई समेट्ने गरेको छ । प्रायः नाच गाईजात्राकै भिन्न स्वरुपजस्ता देखिन्छन् । “जात्राले सामाजिक विकृति, विसङ्गतिप्रति व्यङ्ग मात्र गर्दैन”, संस्कृतिकर्मी छोटाले भन्नुभयो, “मौलिक र परम्परागत मूल्य, मान्यताले पनि यो सुसज्जित छ ।”    सबै भदौरे नाचको कथा, पृष्ठभूमि, स्वरुप र शैली भने भिन्न–भिन्न पाइन्छ । गाईजात्राका दिन निकालिने तायामचाः र बास्सा नाच दिवङ्गत आफन्तको सम्झना र मोक्ष प्राप्तिको कामनासहित निकाल्ने गरिन्छ । बास्सा नाचमा देवी, देवताको वेषभूषा र बान्कीमा सजिएर भगवान् राम, कृष्ण, विष्णु आदिका लीला प्रदर्शन गर्ने चलन छ ।   नेपाल भाषा मंकाः खलःका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले पहिले–पहिले भदौरे नाच हेर्नकै लागि गाउँ–गाउँबाट बागलुङ बजार झर्ने गर्थे । “दिनभर जात्रामा रमाउने र चाडबाडलाई किनमेल गरेर साँझ घर फर्कने चलन थियो”, उहाँले भन्नुभयो, “ग्रामीण बजार, सडकको विस्तार आदिले अहिले त्यो चलन हट्यो ।”   पछिल्लो समय जात्राको रौनक खुम्चँदै गए पनि संस्कृति र परम्परा जोगाउन नेवार समुदाय लागिपरेको छ । जिल्लाको हरिचौर, हटिया, बलेवालगायत नेवार जातिको बसोबास रहेका ठाउँमा पनि बर्खे नाच देखाउने गरिन्छ । संरक्षण अभावमा कतिपय नाच भने हराएर गएको नेवार अगुवा बताउँछन् ।    “पुस्तान्तरणको अभावमा कतिपय परम्परागत नाच सङ्कटमा छन्, अहिले आप्रवासन बढ्दो छ, युवापुस्ता बाहिर छ, यसले पनि पुरानो संस्कृति संरक्षणमा चुनौती थपेको छ”, खलःका अध्यक्ष राजभण्डारीले भन्नुभयो, “नयाँ पुस्तालाई पनि आफ्नो इतिहास, भाषा, कला र संस्कृतिबारे बुझाउनुपर्ने खाँचो छ ।”

श्रीकृष्ण जन्माष्टमीको दिन आज बिहानैदेखि श्यामा श्यामाधाम राधेराधेस्थित भक्ति मन्दिरमा कृष्ण जन्माष्टमी महोत्सव सुरु भएको छ । श्री राधा माधव समितिको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको दिन आज बिहान ५ बजेदेखि नै दर्शनार्थीका लागि खुला गरेको शक्ति मन्दिरमा बिहानैदेखि दर्शनार्थी लामबद्ध भएर राधा-कृष्णको पूजा एवं दर्शन गरेका छन् ।    कोरोना भाइरसको महामारीका कारण विगत दुई वर्ष सर्वसाधारणका लागि खुला गर्न नसके पनि यस वर्ष बिहानैदेखि दर्शनार्थीका लागि मन्दिर खुला गरेको श्री राधा माधव समितिका केन्द्रीय सदस्य राजेन्द्र सिग्देलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बिहानैदेखि मेला भर्न सत्सङ्गी एवं अन्य भक्तजन लामबद्ध भएका छन् । राति १२ बजेसम्म नै श्यामा श्यामाधाममा विभिन्न पूजन कार्यक्रम भइरहन्छ ।”    सत्सङ्गीका लागि दिनभर साधना गर्ने, श्रीकृष्णको महाभोग गर्ने, श्रीकृष्णलाई अभिषेक गर्ने र साँझ ५ बजे महाआरती गर्ने, कृष्णलाई माखन अर्पण गर्ने, दिनभर कृष्णलीला प्रस्तुत गर्ने र मध्यराति १२ बजे जन्माष्टमी महोत्वस सम्पन्न गरिनेछ । महोत्सवलाई व्यवस्थित गर्न राधा माधव समितिअन्तर्गत डिभाइन युथ क्लबले स्वयंसेवीको भूमिका निर्वाह गरिरहेको छ ।