पाेखरा: भारतीय अभिनेता एवं पपस्टार लक्की अली पोखरा आइपुगेका छन् । काठमाडौंबाट पोखरा आइपुगेका उनले पोखराको सबैभन्दा ठुलो क्लब ‘क्याटवाक’मा भोलि शुक्रबार (१६ सेप्टेम्बर) पहिलो पटक सांगीतिक प्रस्तुति दिनेछन् । ‘ना तुम जानो ना हम’, ‘गोरी तेरे आँखे’जस्ता हिट नम्बर दिएका अभिनेता एवं गायक अलीले क्याटवाकमा लाइभ कन्सर्ट गर्ने क्याटवाकका संचालक गुप्त लामाले बताए । उनका अनुसार अलीलाई पोखरा ल्याउने काम भने डिजे फिन्जोकले गरेका हुन् । गत भदौ २ गतेदेिख खहरेचोकमा स्थापना भएको क्याटवाकमा अलीलाई प्रत्यक्ष सुन्न पहिलो चरणको टिकटदर १५ सयदेखि २ हजार रुपैयाँ निर्धारण गरिएको सञ्चालक लामाले जानकारी दिए । उनका अनुसार दोस्रो चरणको प्रवेश शुल्क भने २५ सयदेखि ३ हजार रुपैयाँसम्म पुग्नेछ । छिटो टिकट खरिद गर्नेहरुलाई छूट दिने उद्देश्यले चरणबद्ध टिकट विक्री भइरहेको बताइएको छ । हाल लेकसाइडस्थित ओपन हाउस, माउन्टेन टप र खहरेस्थित सनडाउन कर्माबाट टिकट विक्री भइरहेको छ । उमेरले ६३ वर्ष पुगेका अलीको यो लाइभ कन्सर्ट नै सम्भवतः अन्तिम हुने बताइएको छ । अलिसँगै आएका समूहका अन्य सदस्यले पनि प्रस्तुती राख्नेछन् । करिब ३० करोड रुपैयाँ बढी लगानीमा सञ्चालनमा ल्याइएको क्याटवाकले एकैपटक २ हजार बढीलाई रेस्टुरेन्ट र फ्लोरमा सेवा दिन सक्नेछ । भने क्याटवाकको डान्स फ्लोर, म्युजिक सिस्टम र सुरक्षा प्रणाली अन्तर्राष्ट्रियस्तरको रहेको संचालक समितिले दाबी गर्दै आएको छ ।
पाल्पा: कुनै समय घरका पिँढी, आँगन, गाउँका चौतारीमा आमनेसामने भएर दोहोरी गाएको हेर्न ठूलो भीड लाग्दथ्यो । कलाकारले माया, प्रेम, मिलन, विछोडका टुक्का निकालेर हाँसो, रोदन तथा ठट्यौली शैलीमा दोहोरी गाउँदा दर्शकहरू गीतमा डुबुल्की मार्दथे । वल्लो पिँढी र पल्लो पिँढी दुई समूह (पुरुष र महिला) बसेर रातभर दोहोरी गाउँदा गाउँ नै घन्किने गरेको अनुभव सुनाउनुहुन्छ, कलाकार हरि पोखरेल । आजभन्दा करिब एक दशक अघिसम्म रामपुर क्षेत्रमा सत्यनारायण पूजा, श्री स्वस्थानी व्रतकथा होस् या सन्तान जन्मेको खुसीयालीमा छैँठी, न्वारन, पास्नीमा रातभर दोहोरी गाउने गरिए पनि अहिले भने यो चलन पूर्णरूपमा हराएर गएको उहाँले बताउनुभयो । “रातको समय दोहोरी गाउँदा बिहान उज्यालो भएको पत्तो हुँदैनथ्यो, खैँजडी, मजुरा, मादलको तालमा दोहोरीमा हाँसो ठट्यौली गर्दै धेरै रात बिते”, उहाँले भन्नुभयो, “हिजो गीत गाउने दौँतरी कोही घर गृहस्थीमा लागे, कोही कलाकारितामै रमेका छन्, पहिलेजसो दोहोरीको गाउँमा अहिले झम्को हुनै छाड्यो ।” उहाँ दोहोरी गाउनमा बढी रुचि राख्नुहुन्छ । विभिन्न जिल्लामा पुगेर दोहोरी गाएर उत्कृष्ट पुरस्कार प्राप्त गर्नुभएको छ । अहिले भने आफूलाई दोहोरी गाउने इच्छा भए पनि वातावरण नहुँदा प्रतिभा नै ओझेलमा परेको गुनासो पोख्नुहुन्छ । “कला संस्कृतिको प्रोत्साहनका लागि निश्चित बजेट व्यवस्थापन गरेर कला देखाउने माध्यम बनाउनुपथ्र्यो तर स्थानीय सरकारबाट यससम्बन्धी केही कदम हुन सकेन, देखावटीका लागि नगर प्रोफाइल तयार पारे पनि त्यसमा विस्तृतमा संस्कृति नसमेटिने हुँदा यहाँका कला संस्कृति ओझेल परेको छ”, कलाकार पोखरेलले भन्नुभयो । पहिला गाउँघरमा सन्तान जन्मेको खुसीयालीमा छैटीँ, न्वारन, पास्नी, सत्यनारायण पूजा, स्वस्थानी व्रतकथा, विभिन्न सङ्घसंस्थामा गरेको उन्नति प्रगतिको खुसीयाली, धार्मिक तथा शुभकार्यमा रातभर दोहोरी गाउने प्रचलन थियो । यसरी दोहोरी गाउने प्रचलन हट्दै जाँदा प्रतिभा भएर पनि बाहिर निकाल्ने माध्यम नपाउँदा कलाकारितामा रुचि राख्नेहरू अवसरको पर्खाइमा छन् । अहिले भने बढ्दो आधुनिकताको मोहसँगै परम्परागत कला संस्कृति लोप हुँदै गएको छ । कलाकारलाई जमघट हुने माध्यम भनेको दोहोरी साँझ हो । रामपुरमा दोहोरी साँझको विकास नभएकाले कलाकारिता क्षेत्रको विकास हुन नसकेको कलाकार बताउँछन् । यहाँ गायन, बाद्यवादन, हाँस्य कलाकार, अभिनय, नृत्यलगायतका विभिन्न विद्यामा रुचि राख्ने धेरै छन् । राजनीतिब नेताको अभिनय गर्न कलाकार प्रदीप कँडेल सिपालु हुनुुहुन्छ । सानैदेखि कलाकारितामा रुचि राख्ने उहाँ आफूले प्रतिभा देखाउन चाहना गरे पनि अवसर नपाएको बताउनुहुन्छ । स्थानीय सरकारले आधारभूत तह (कक्षा १–८ सम्म) अतिरिक्त विषयअन्तर्गत कला संस्कृतिसम्बन्धी एउटा विषय समावेश गरेमा कलाकारिता क्षेत्र अगाडि बढ्ने उहाँले बताउनुभयो । कलाकार कँडेल विभिन्न गीत– सङ्गीतका म्युजिक भिडियो छायाङ्कन तथा निर्देशन गर्ने, सम्पादन गर्ने, टेलिशृङ्खलामा कथा लेख्ने गर्नुहुन्छ । करिब एक दशकदेखि कलाकारिता क्षेत्रमा पाइला चाल्नुभएका उहाँ अहिले डकुमेन्ट्री, वेवसिरिज बनाउने कार्यमा व्यस्त हुनुहुन्छ । यस क्षेत्रमा विभिन्न विधामा प्रतिभाशाली व्यक्ति भए पनि आफ्नो कला, गला प्रस्फुटन गर्ने अवसर नपाएको, स्थानीय तहमा पालिकाले प्रस्फुटन गर्ने माध्यम र यसै भूमिमा जन्मेर ख्यातिप्राप्त गरेका राष्ट्रिय कलाकारले अबका नयाँ पुस्तालाई बाटो देखाइदिनुपर्ने लोकदोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पा क्षेत्र नं १ का पूर्व क्षेत्रीय अध्यक्ष प्रेमप्रकाश श्रेष्ठ बताउनुहुन्छ । “कला संस्कृतिको संरक्षणमा स्थानीय सरकारले देखिने गरी काम गर्न सकेन, स्थानीय प्रतिभा सिधै प्रदेश र केन्द्रसँग जोडिन सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “व्यक्तिमा लुकेर रहेको प्रतिभा देखाउने अवसर स्थानीय सरकारले खडा गरेमा राष्ट्रियस्तरसम्म पुग्ने प्रतिभावान् कलाकार धेरै निस्कन्छन् ।” उहाँका अनुसार यहाँ अवसर नपाउँदा राष्ट्रियस्तरसम्म पहिचान बनाउन सक्ने व्यक्ति ओझेलमा परेका छन् । लोकदोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पा क्षेत्र नं १ पाल्पाले केही समय पहिले स्थानीयस्तरमा लुकेर रहेका कलाकारलाई जमघट गराउने, विभिन्न कार्यक्रम आयोजना गरी प्रतिभा प्रस्फुटन गराउने कार्यले यहाँका कला र गला भएका व्यक्ति उत्साहित थिए । अहिले भने संस्था निस्क्रिय अवस्थामा रहँदा पहिलेजसो कलाकारिता जुर्मुराउने माध्यम छैन । कला संस्कृतिको संरक्षणका लागि रामपुरभित्र रहेका सबै जातजातिको मौलिक संस्कृतिलाई समावेश गरेर नगर प्रोफाइल तयार पारेको नगर प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “स्थानीय कला संस्कृतिको संरक्षण गर्दै रामपुर क्षेत्रमा मगर समुदायको बाहुल्यता रहेकाले मगर दिवसका दिन वर्षमा एक दिन स्थानीय सरकारले सार्वजनिक बिदा दिने गरेको छ, लोपोन्मुख अवस्थामा रहेका कला संस्कृतिको जगेर्ना गर्न वडा तथा नगरको तर्फबाट विभिन्न क्रियाकलाप हुने गरेको छ ।” आर्थिक वर्ष २०७९/८० का लागि रामपुर नगरपालिकाको नीति तथा कार्यक्रममा ‘संस्कृति प्रवद्र्धन’ शीर्षकमा नगरपालिकाभित्रका सबै जातजाति, भाषा, धर्म, मौलिक संस्कृति र परम्पराको संरक्षण गर्ने नीति अवलम्बन गरिने, जाति र स्थान विशेषका धार्मिक तथा संस्कृतिको संरक्षण संवद्र्धन गर्नका लागि विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिने समेटिएको छ । साथै कला, सङ्गीत र साहित्यको संरक्षण र प्रवद्र्धन गर्ने नीति लिइने, सबै प्रकारका मठमन्दिर, मस्जिद, चर्च तथा गुम्बालगायतका धार्मिक संरचना संरक्षण तथा संवद्र्धनका लागि भौतिक अवस्था पहिचान गरी आवश्यकताका आधारमा भवन निर्माण÷मर्मत शीर्षकमा रकम विनियोजन गरिने यस वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ । रामपुर क्षेत्रमा जन्मिएका कलाकार राष्ट्रियस्तरसम्म ख्याति कमाउन सफल बनेका धेरै छन् भने केहीले यस क्षेत्रमा बामे सर्दैछन् । नारायण खनाल लेकाली, बद्री पङ्गेनी, खेम राना, कल्पना देवकोटा, लक्ष्मण देवकोटा, माधव भण्डारी, मोहन खड्का, विमल सुनार, प्रेमकुमार गैरे, विमला गैरे, ज्ञानु ठाडा, हुम बिसी, डिबी कालिज, कल्पना रेग्मी, कमल ज्योति, हरि पोखरेल, युवराज रेग्मी, विनोद पोखरेल, आरती विकलगायतका कलाकारले कलाकारितामा आफ्नो पहिचान बनाउनुभएको छ । स्थानीय सकारकाले हरेक वडास्तरदेखि नै संस्कृति संरक्षण गर्न जोड दिएर विभिन्न कार्यक्रम गर्नुपर्ने, चलनचल्तीमा आएका सबै संस्कृतिलाई समय मिलाएर बेला–बेलामा प्रस्तुत गरेमा कला देखाउने माध्यम बन्नेछ । यहाँ ब्राम्ह्ण, मगर, नेवार, कुमाललगायतका विभिन्न जातजाति, समुदायको आ–आफ्नै खालको कला संस्कृति छ । सोरठी, मारुनी, कौरा, झ्याउरे, भजन, चुड्काजस्ता संस्कृति विभिन्न मेला, पर्वमा मात्रै देखाइने गरिन्छ । कला संस्कृतिको विकास नहुँदा गाउँघरमा हुने सभा, महोत्सव, वार्षिकोत्सवलगायतका कार्यक्रममा मात्रै देखाइने गरिन्छ । कला संस्कृतिको धनी रामपुर भए पनि यहाँका संस्कृतिलाई उजार गर्दै राष्ट्रियस्तरसम्म पुग्न सक्ने सम्भावना बोकेका कलाकारलाई नगर सरकारबाट प्रोत्साहनमूलक कार्यक्रम ल्याउनुपर्ने देखिन्छ ।रासस
पोखरा : पोखरामा आगामी असोज १ गते सरोज गोपाल स्मृति साँझ हुने भएको छ । कालजयी गीतहरूका सङ्कलक तथा गायक सरोज गोपाल बज्राचार्यको आठौँ स्मृति दिवसको अवसर पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा साङ्गीतिक साँझ गर्न लागिएको हो । आफ्नो जीवनकालमा स्व सरोज गोपालले देउराली उकाली चढेर... नक्कलीलाई भगाई लग्यो झिल्केले.. , सँइको घर कहाँ हो कहाँ...करोडौँ मुटुहरुको ढुकढुकी...जस्ता दर्जनौँ चर्चित लोक तथा राष्ट्रिय गीतका माध्यमबाट नेपाली गीत सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुभएको थियो । पोखरेली युवा सांस्कृतिक परिवारका संस्थापक अध्यक्षसमेत रहेका बज्राचार्यको सम्झनामा सरोज गोपाल स्मृति साङ्गीतिक साँझको आयोजन गर्न लागिएको परिवारका अध्यक्ष मोती भुजेलले जानकारी दिनुभयो । सङ्गीतकार सुनिल थापाको सङ्गीत संयोजन रहने उक्त साङ्गीतिक साँझमा बाबा राणा, तारा थापा, रामभक्त जाेजिजु,कर्ण दास, विनोद बानियाँ, इतु जोजीजु, विनित जोजीजु, फिरोज गोपाल बज्राचार्यलगायतकाे स्वरमा सरोज गोपालका गीत सुन्न सकिने जनाइएको छ ।
गलेश्वर : मगर संस्कृतिको धरोहर मानिने जयसिङ्गे राजा र हैमती रानीको स्मरणमा आधारित प्राचीन सोरठी नृत्य लोपलोपोन्मुख अवस्थामा पुगेपछि मगर समुदायका अगुवाले चिन्ता व्यक्त गर्न थालेका छन् । जयसिङ्गे राजा र हैमती रानीको कथामा आधारित उक्त नृत्य मगर समुदायको मौलिक नृत्य हो । देवी, देउता, पौराणिक घटना र कथामा आधारित रहेर सोरठी गाउने र नाच्ने गरिन्छ । सोरठी गीतमा मानिसका दुःख, वेदना, समस्यालगायत चाडपर्वका शुभकामनालाई पनि लयवद्धरुपमा प्रस्तुत गरिन्छ । मगर समुदायमा सोरठी नाच विवाह, व्रतबन्ध, मृत्यु संस्कारदेखि अन्य मेलापर्वमा समेत नाच्ने गरिन्छ । यो नाचलाई पुख्र्यौली नाच पनि भन्ने गरिन्छ । सोरठीमा पुरुषले महिलाको वेशमा कलात्मक ढङ्गले मादलको तालमा ताल मिलाएर नाच्छन् । महिलाको वेशमा सजिएका पुरुष कलाकारलाई मारुनी भनिन्छ । सोरठीमा ठाउँअनुसार दुईदेखि तीनजना मारुनी बनेका हुन्छन् । त्यस्तै मादले पनि दुईदेखि तीन जना हुन्छन् । म्याग्दीमा पनि गाउँघरमा मगर समुदायमा चाडबाड, विवाह, व्रतबन्ध, मृत्यु संस्कारदेखि अन्य मेलापर्वमासमेत नाच्ने गरिँदै आएको छ । जिल्लाको उत्तरी र पश्चिम भेगका मगर बस्तीमा पहिलेजस्तो सोरठी गीत र नाच छ्यापछ्याप्ती देख्न सकिँदैन ।सोरठी गाएर नाच्नुपूर्व सबै देवीदेवताको नाम लिएर तीन तालमा मादल ठोक्नुपर्ने मान्यता छ । यसैलाई सरस्वती उतार्ने पनि भनिन्छ । सोरठी नृत्यमा पहिले सरस्वती जगाइ सकेपछि मादलको तालमा नाच्ने गरिन्छ। परम्परागत मान्यताअनुसार चोखो हृदय भएको मान्छे तीन ताल मादल बजाउँदा हल्लिन्छ र उसलाई विधिपूर्वक थामथुम पारेर बसाल्नुपर्छ । सरस्वती पुज्ने, आँगन पुज्ने, मादल पुज्ने, आंशिक दिनेलगायतविधि पूरा गरेपछि मात्र सोरठी सुरु हुने म्याग्दी पुख्र्यौली सङ्घका अध्यक्ष थप्रसाद गर्बुजाले बताउनुभयो । गाउँ र ठाउँ अनुसार सोरठी गीतको लय र विधि पनि फरक–फरक हुने उहाँको भनाइ थियो । सोरठीमा गाउन र नाच्न मादले, मारुनी, पुरुसुङ्गेसहित कम्तीमा २० कलाकार आवश्यक पर्छ । मादलकै तालबाट मूल गायकको निर्देशनअनुसार अन्य कलाकारले गायनमा साथ दिने गर्छन् । सोरठीको अलिखित इतिहाँस सोरठी नाच्ने र गाउँने चलन कसले र कहिलेदेखि चलाएको हो भन्ने कुराको इतिहास अलिखित छ । यो नाच पछिल्ला पुस्तामा हस्तान्तरण हुन नसक्दा भने बुढापाका चिन्ता व्यक्त गर्छन् । समयअनुसार गाइने सोरठी गीतको आफ्नै विशेषता छ । पछिल्लो समय मगर समुदायमा सोरठी नाच्ने र नाच्नका लागि गाउने गीत तथा कथा वाचन गर्ने जनशक्ति अभाव हुँदै गएको मालिका गाउँपालिका–४ च्युरीबोटस्थित दाजुङ खोलाख्याली सोरठीका अध्यक्ष बोमबहादुर पुनले बताउनुभयो । सोरठी संरक्षण र प्रवद्र्धन गर्न स्थानीय सरकारसँगै युवाले चासो दिन आवश्यक रहेको मालिकागाउँपालिका–४ स्थित नेपाल मगर सङ्घ इकाइ समिति ओखरबोटका अध्यक्ष तुलप्रसाद पुनले जानकारी दिनुभयो । सोरठीमा मारुनीले चोली, धरो, रुमाल, चुरापोते, टीका आदि लगाउने गर्छन् । ठाउँ अनुसार पुरुसुङे पनि मादले र मारुनीको साथमा नाच्दछ । पुरुसुङले दौरा सुरुवाल, स्टकोट लगाएका हुन्छ भने मारुनीले कम्पनी माला र शिरमा सेली पहिरिएका हुन्छन् ।सोरठी नाचमा दैवी शक्ति रहेको विश्वास गरिन्छ ।समाजमा सानो, ठूलो, जातभात, धनी ,गरिब नभनिकन सबै मिलेर गाइने र नाचिने सोरठी नाचले सामाजिक सद्भाव र एकतालाई बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको संरक्षण अभियन्ताले बताए । युवा पुस्ताले यो नाच सिक्न चाहेर पनि समय अभावले पुस्तान्तान्तरण हुन नसकेको नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति अध्यक्ष डकमाया पाइजाले बताउनुभयो । जिल्लाका अधिकांश मगर बस्तीमा नाचिने यो नाच संरक्षण र प्रवद्र्धनका लागि अहिले मगर समुदायका युवा जुटेका छन् । युवा पुस्तामा मौलिक संस्कार हस्तान्तरण हुन आवश्यक रहेको उहाँको भनाइ थियो । “सोरठी मौलिक संस्कार संस्कृति मात्र नभइ हाम्रो पहिचान पनि हो । यसको संरक्षण र प्रवद्र्धनमा राज्यले चासो दिनुपर्छ,” अध्यक्ष पाइजाले भन्नुभयो । लामो इतिहास बोकेको मौलिक तथा अत्यन्तै लोकप्रिय सोरठी नाचको बारेमा र यसको सङ्गीत र लयको बारेमा पछिल्लो पुस्ताले सिक्न आवश्यक रहेको अधिवक्ता मनोज घर्तीगरले बताउनुभयो । “यो नाच नेपालकै परम्परागत नृत्य हो । नयाँ पुस्ताले यो नाच सिक्न आवश्यक छ,”उहाँले भन्नुभयो,“यसको संरक्षण र पुस्तान्तरणमा अग्रजले युवालाई पुराना ज्ञान सिकाउन जरुरी छ ।” जिल्लामा सोरठीको संरक्षण र प्रचारप्रसारका लागि केही सोरठी संरक्षण समिति बनेका छन् । समुदायमा प्रचलित सोरठी नाचको संरक्षण र जगेर्ना गर्नका लागि आफूले गाउँपालिकाबाट योजना बनाएर सहयोग उपलब्ध गराउने धवलागिरि गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । “यो नाच मगरसमुदायको मात्र नभइ साझा मौलिक संस्कार हो”, उहाँले भन्नुभयो,“सोरठी नाच संरक्षण, जगेर्ना र प्रवद्र्धन गर्न सोरठी संरक्षण समितिसँग छलफल गरेर आवश्यकताअनुसार सहयोग गर्ने योजना बनाएको छु ।” जिल्लाका अधिकांश ठाउँमा अतिथिको सत्कारमा सोरठी नाच्ने गरिएको छ । सोरठी गाउने र नाच्नेलाई दान दिने र सोही दानले कलाकारले खर्च चलाउने चलन परापूर्वकालदेखि रहँदै आएको छ ।
पोखरा : पोखराको चिप्लेढुुङ्गास्थित रुपाहिल दोहोरी साँझले तेस्रो वार्षिकोत्सव मनाउने भएको छ । भोली (सोमबार) देखि आगामी २४ सम्म राष्ट्रिय कलाकारहरुको साथमा सांगीतिक माहौलसँग वार्षिकोत्सव मनाउने तुम कलाकार संघ गण्डकीका अध्यक्ष समेत रहेका गायक गायक सुरेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार ५ दिनसम्म सञ्चालन हुने सो साँस्कृतिक कार्यक्रम बेलुकी ७ बजेदेखि राती १ बजेसम्म सञ्चालन हुनेछ । भोलिदेखि सुुरु हुने सांगीतिक साँझमा २० गते भागिरथ चलाउने, २१ गते श्याम राना, २२ गते प्रिती आले र डान्सर शेखर घर्ति मगर, २३ गते शिला आले मगर र २४ गते चन्द्र शर्मा लगायत सुरेन्द्र गुरुङ, असु गुरुङ लगायत रुपाहिल दोहोरी साँझका नियमित कलाकारहरुको बेजोड प्रस्तुती रहने दोहोरी साँझका सञ्चालकले अमृत गुरुङले जानकारी दिए ।
काठमाडौँ ः राष्ट्रपति विद्यादेवी भण्डारीले गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षण गर्दै समाजमा विद्यमान अन्धविश्वास, विभेद, विकृति एवम् विसङ्गतिलाई अन्त्य गरी सभ्य, सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । गौरा पर्व २०७९ का अवसरमा दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । “गौरा पर्व मनाउने सन्दर्भमा परदेश गएका घर फर्कने, विवाहिता महिला माइत जाने, गहुँ, केराउ, गहतलगायत पाँच प्रकारका अन्नको मिश्रणबाट बनेको ‘बिरुडा’लाई प्रसादको रूपमा ग्रहण गरी देउडा, धमारी र ढुस्को खेल्दै रमाइलो गर्ने प्रचलन रहेको छ”, सन्देशमा भनिएको छ, “यस पर्वले पारिवारिक तथा सामाजिक जीवनमा आपसी प्रेम, विश्वास र सम्बन्ध प्रगाढ बनाउनुका साथै विविध जातजाति, भाषाभाषी र सांस्कृतिक परम्परा बोकेका सम्पूर्ण नेपालीबीचको भावनात्मक एकतालाई बलियो बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन महत्वपूर्ण भूमिका खेलिरहेको छ भन्ने मलाई लागेको छ ।”
काठमाडौँ ः उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाइन्छ । भाद्र शुक्ल अष्टमी अगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने भाद्र कृष्ण अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउनुहुन्छ । यस वर्ष भाद्र शुक्ल अष्टमीपछि अगस्त्य उदय हुने छ । भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । यसैले यस वर्षको गौरालाई उज्याली भनिन्छ । पहिलो पटक व्रत बस्नेले भने भाद्र शुक्ल अष्टमी अर्थात उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधान छ । कन्या राशिमा सूर्य गएपछि अर्थात असोज महिना लागेपछि पनि गौरा मनाउनु हुँदैन । सिंह राशिमा सूर्य भएका बेला अर्थात भदौ महिनामा गौरा मनाउनुपर्ने मानसखण्ड, निर्णयसिन्धु, हेमाद्रिलगायत ग्रन्थमा उल्लेख गरिएको छ । गौरालाई सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन् । राजधानीमा पनि सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसको बसोबास बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको छ । सत्य युगमा हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जङ्गल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन सुरु गरिएको देउडा संस्कृतिविद् गायक नन्दकृष्ण जोशीले जानकारी दिनुभयो । गौरा पूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा (सौँ), तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरिन्छ । यसरी बनाइएको देवीलाई भाद्र कृष्ण अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर बर्तालुले निराहार बसी पूजा गर्ने परम्परा रहेको देउडा संस्कृतिविद् जोशीले बताउनुभयो । देवीलाई गाउँका नायकले भित्र्याउनुपर्ने चलन छ । यसरी भित्र्याउँदा कसैले पनि हेर्नु नहुने मान्यता छ । गौरा भित्र्याउने घरमा जम्मा भएका गाउँलेले खोज्दा नभेट्ने गरी नायकले लैजान्छन् । “यो पर्वका लागि भाद्र शुक्ल पञ्चमीका दिन केराउ, जौ, मस्याङ, मास र गुराँसको गेडा भिजाएर राखिन्छ, यसलाई बिरुडा भनिन्छ, अष्टमीमा भगवतीलाई पूजा गरेर प्रसादका रूपमा बिरुडा चढाइन्छ, भक्तजनलाई पनि प्रसादका रूपमा बिरुडा नै बाँडिन्छ, पाँच किसिमका गेडागुडी भिजाउने दिनलाई बिरुडा पञ्चमी भनिन्छ”, उहाँले भन्नुभयो । यसरी दुई÷तीन दिन पूजा गरिसकेपछि मङ्गलबार र शनिबार नपारी देवीलाई नदी, कुवा, पोखरी वा जलाशयमा लगी सेलाइन्छ । जुठो, सूतक परेका बेला देवीलाई विसर्जन गर्न नहुने परम्परा छ । देवीलाई विसर्जन गरेपछि मागल अर्थात् माङ्गलिक कर्ममा गाइने भजन, गीत आदि गाएर रमाइलो गर्ने परम्परा छ । देशका अन्य भागमा तीज मनाए जस्तै पश्चिममा यो पर्व विशेषगरी नारीहरुले मनाउने गरेका छन् । दुर्वाष्टमी दुबोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दुर्वाष्टमी पनि भनिन्छ । दुबो जसरी फैलिन्छ त्यसरी नै सन्तान, दर सन्तान फैलियून् भन्ने कामनाले यो पर्वमा उमा महेश्वरको पूजा, उपासना र व्रतसमेत गरिने धार्मिक नियम छ । सन्तान राम्रा र गुण सम्पन्न हुन्, आयु तथा स्वास्थ्य राम्रो होस् भन्ने कामनाले पनि गौरा एवं दुर्वाष्टमी पर्व मनाइन्छ । अष्टमीका दिनमा पूरै ज्येष्ठा र मूल नक्षत्र परेमा भने दुबोको पूजा गर्न नहुने शास्त्रीय मान्यता रहेको पनि धर्मशास्त्रविद् गौतमले बताउनुभयो । अष्टमी तिथिभर ज्येष्ठा र मूल नक्षत्र नपरेमा भने दुबोको पूजा गर्नहुन्छ भन्ने शास्त्रीय मान्यता छ । यस वर्ष शनिबार राति ९ः१८ बजेसम्म अनुराधा नक्षत्र र त्यसपछि ज्येष्ठा नक्षत्र परेको छ । यस दिन दुबो र गौराको पूजा गरे सौभाग्य, सन्तान प्राप्त हुने, कार्य सिद्धि हुने धर्मग्रन्थ हेमाद्रिमा उल्लेख गरिएको छ । यो दिनमा सूदुरपश्चिमवासीले देउडा गीत गाएर नृत्य गरी रमाइलो गर्दछन् । काठमाडौँको टुँडिखेलमा पनि यस दिन देउडा गीत र नृत्य गरी सूदुरपश्चिमवासीले मनोरञ्जन गर्ने गरेका छन् ।
काठमाडौँ ः प्रधानमन्त्री शेरबहादुर देउवाले गौरा पर्वका अवसरमा गाइने विभिन्न धार्मिक, सांस्कृतिक गीत, भजन तथा देउडालगायतका नाच नेपालका अमूल्य लोक संस्कृति भएको उल्लेख गर्नुभएको छ । गौरा पर्वको उपलक्ष्यमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गर्दै उहाँले ती लोक संस्कृतिले हाम्रो जीवनको सुख दुःखको कथा, इतिहास र परम्परा बोकेको बताउनुभएको छ । ती लोक संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्नु सबैको राष्ट्रिय दायित्व भएको उहाँले उल्लेख गर्नुभएको छ । गौरा पर्व विशेषगरी नेपालको कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा ठूलो उत्साह र उमङ्गका साथ मनाइन्छ । गौरा पर्व हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ । गौरा पर्वमा व्रतालु तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा पाँच प्रकारका अन्नको मिश्रणबाट बनेका बिरुडालाई अक्षता र प्रसादका रूपमा चढाउने तथा ग्रहण गर्ने गरिन्छ । धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी ९गौरा०को पूजाआजा गर्ने गरिन्छ । गौरा भित्र्याइसकेपछि बिसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, धमारी, ढुस्को आदि खेल खेलेर रमाइलो गर्ने चलन रहेको प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । गौरापर्वले परिवार तथा सामाजिक जीवनमा आपसी प्रेम, विश्वास र सद्भाव प्रगाढ बढाउनुका साथै ब्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुख, शान्ति, प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ । उहाँले गौरा पर्वको सांस्कृतिक, धार्मिक महत्वलाई आगामी दिनमा अझ बढी प्रचारप्रसार गर्दै यसलाई राष्ट्रिय चाडको रूपमा स्थापित गर्न सबैले जोड दिन आवश्यक रहेको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले गौरा पर्व २०७९ को पुनीत अवसरमा कर्णाली तथा सुदूरपश्चिम प्रदेशका सम्पूर्ण आमा, दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै यस अवसरमा आयोजना हुने सबै कार्यक्रमको पूर्ण सफलताको कामना गर्नुभएको छ ।
महेन्द्रनगर : ‘गौराको बिरुडो ठूलो, दशैँको जमरा आउनी रए झानी रए तै लोली गमरा’ बिहीबार महेन्द्रनगरस्थित खुलामञ्चमा देउडिया (गीतकार) रमेश पन्तले यसै गीतबाट देउडा खेल सुरु गर्नुभयोे । देउडा खेल सुरु गर्दा माहोल रोमाञ्चक बन्यो । महेन्द्रनगरमा दुई वर्षपछि बिहीबार देउडा भाका गुञ्जिएको हो । हरेक वर्ष महेन्द्रनगरको खुलामञ्चमा महिनौँसम्म चल्ने देउडा खेल दुई वर्ष कोरोना महामारीका कारण हुन सकेन । “बल्ल दुई वर्षपछि देउडा खेल्न पाइयो यसपटक रहर पूरा गर्छु ।” देउडिया पन्तले भन्नुभयो, “दुई वर्षपछि देउडा खेल्न पाउँदा निकै खुसी छु ।” दुई वर्षपछि देउडा खेल्न पाउँदा भीमदत्त नगरपालिका–७ का परमानन्द भट्ट पनि उत्साही देखिन्थे । “देउडामा रमाउन पाउँदा अर्कै जोश जाँगर आउँछ, दुई वर्ष घरभित्रै थुनिए ।” उहाँले भन्नुभयो, “देउडामार्फत हुने सवाल–जवाफ रोचक हुन्छ, यो साथीभाइको भेटघाट हुने माध्यम पनि बनेको छ ।” बिहीबार बिरुडा भिजाएर विधिवतरूपमा गौरापर्व सुरु भएपछि सुदूरका गाउँबस्तीमा देउडा भाका गुञ्जिन थालेका छन् । गौरापर्वको सुरुआतसँगै यहाँको माहोल देउडामय बनेको छ । गौराका अवसरमा गाउँदेखि बजारसम्मका महिला–पुरुष देउडामा रम्न थालेका छन् । महेन्द्रनगर बजार क्षेत्रमा मात्रै एक दर्जन बढी थलोमा देउडा खेल सुरु भएको छ । केही थलोमा विभिन्न सङ्घसंस्थाले अगुवाइ गरेका छन् । यहाँको खुलामञ्चमा महाकाली साहित्य सङ्गमले देउडा आयोजना गरेको छ भने महेन्द्र स्मारकमा खप्तड समाजले देउडा प्रतियोगिताको आयोजना गरेको छ । त्यसैगरी अन्यथलोमा समेत देउडा खेल सुरु भएको छ । गौरापर्वमा गौराको महत्व छुट्टै भए पनि प्रमुख आकर्षण नै देउडा भएकाले युवायुवतीसमेत देउडामा झुम्ने गरेको देउडिया रमेश पन्त बताउँछन् । “देउडा खेल्दा डेढ पाइला अगाडि र पछाडि सर्ने भएकाले देउडा भनिएको हो”, उहाँले भन्नुभयो, “देउडा लोक नृत्य पनि हो । यो हाम्रो ऐतिहासिक, धार्मिक महत्व र हाम्रो पहिचान पनि हो ।” देउडामा देव गाथाहरूलाई मनोरञ्जनात्मकरूपमा प्रस्तुत गरिन्छ । “देउडामा भेदभाव पनि हुँदैन यो खेल नारी पुुरुष, युवा पाका सबै पुुस्ताले खेल्न पाउँछन्, यसमा जातीय विभेद पनि हुँदैन”, उहाँले भन्नुभयो, “यसको संरक्षण र संवद्र्धन गर्नु जरुरी छ ।” उहाँले पछिल्लो समय यसको महत्व अझ बढेको बताउनुभयो । देउडामा पुराना धार्मिक र राजनीतिक कथादेखि समाजका गतिविधि गीतमार्फत बाहिर ल्याउने गरिन्छ । गीतमार्फत नै गतल प्रवृत्तिका विरुद्ध प्रहारसमेत हुने साहित्यकार कविराज भट्टले बताउनुभयो । “सुदूरपश्चिममा अन्य चाडपर्व र मेला जात्रामा पनि देउडा खेलिन्छ”, उहाँले भन्नुभयो, “गौराका बेला देउडाको महत्व झन् बढी हुन्छ ।” देउडा सुदूरपश्चिमको पहिचानसमेत रहेको उहाँको बताउनुभयो । गौरा सुरु भएदेखि यहाँका गाउँबस्तीमा १५–२० दिनसम्म देउडा खेल्ने गरिन्छ । “देउडामा वर्तमान राजनीतिक स्थिति र समाजमा घटेका घटना र विकृतिमाथि ब्यङग्य पनि गरिन्छ । माया प्रेमका कुरासमेत आउँछन्”, उहाँले भन्नुभयो, “देउडालाई सांस्कृतिक चटनीका रूपमा पनि लिन सकिन्छ ।” गोलो घेरामा एक–आपसमा हात बाँधेर ठूलो समूहले गाउँदै नाच्ने गरिन्छ । त्यसैगरी गौरापर्वकै अवसरमा ढुस्को धुमारीलगायतका खेलहरू पनि खेलिन्छन । “यी जति पनि खेल खेलिन्छन्, सबैमा देवी–देवताको गाथा मनोरञ्जनात्कमरूपमा गाइन्छ ।” स्थानीय टीकादत्त जोशीले भन्नुभयो, “हाम्रा यी परम्परा हराउँदै जान थालेका छन्, युवापुस्ताले यसको संरक्षण गर्नु जरुरी छ ।” संस्कृति मासिँदै गए पहिचानसमेत हराउँदै जाने भएकाले यसको पुस्तान्तरण आवश्यक रहेको उहाँले बताउनुभयो । “देउडामा यो ठाउँको इतिहास, संस्कृति र साहित्य छ”, उहाँले भन्नुभयो, “अहिले त मनोरञ्जनका रूपमा मात्रै देउडा खेलिन्छ तर त्यसो होइन, देउडा इतिहास र संस्कृतिसँग जोडिएको छ, अहिलेका पिँढीले यो बुझ्न जरुरी छ ।” गौरापर्वमा साथीभाइ भेटघाट गर्ने अवसर पनि मिल्ने भएकाले देउडा गीतमा गाउँघरको सम्झना, माया, प्रेम र पुराना चालचलनका भाका हालेर गाइने गरिन्छ । पछिल्लो समय देउडाको मौलिकता हराउन लागेकप्रति पाका पुस्ताले चिन्ता व्यक्त गरेका छन् ।