काठमाडौँ: तामाङ मेगास्टार कुमार मोक्तान अभिनित ‘अल्लारे सोझो म्हीँ’ बजारमा आएको छ । ओेएसआर डिजिटलबाट शुक्रवार उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । तामाङ मेगास्टार कुमार मोक्तान वर्तमान तामाङ चलचित्र संघका अध्यक्ष समेत हुन । प्रतिक मोक्तानले लेखेको उक्त गीतलाई जोगलाल लामाले संगीत र संगीत संयोजन गरेका हुन । गायक प्रकाश लामा र गायिका बिना घलेको आवाज रहेको गीतलाई दिपेश प्रधानले मिक्सिङ गरेका हुन । अजय स्याङ्तानको निर्देशनमा बनेको उक्त भिडियोलाई नरेन मोक्तानले कोरियोग्राफी, बिक्रम मोक्तानले छायांकन, राजेन्द्र मोक्तानले कलर गरेका हुन । भिडियोको तामाङ मेगास्टार कुमार मोक्तान र रोहनी लामाको आवाज रहेको छ ।
पोखराः कास्कीको अन्नपूर्ण गाउँपालिका १० र ११ घान्द्रुकमा गुरुङ जातिको मौलिक चाड ल्होछार पर्वको अवसरमा ल्होछार कार्यक्रम आयोजना गरिएको छ । २५ औं ल्होछार रजत जयन्तीको अवसरमा ङग्युुर दोर्जे साङाग छयोएलिङ्ग गुम्बा ल्होछार पर्वको कार्यक्रम आयोजना गरिएको हो । २५ औं ल्होछार रजत जयन्तीको अवसरमा बाघ वर्गको विदाई र विरालो वर्गको आमगनको अवसरमा घान्द्रुकमा पुस ११ गते धर्म गुरुहरुको उपस्थितिमा जगे(किलखोर) स्थापना भएको छ, भने पुष १२ देखि १४ गतेसम्म हयुमपाठ वाचन तथा पुजा भइरहेको लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुुरुङले जानकारी दिए । ‘पुस १५ गते बिहान ७ः३० देखि ८ बजेसम्म पितृ पुजा, ९ देखि ११ बजेसम्म कङग्युर (त्रिपिटक) ह्युम पुस्तकसहित गाउँ परिक्रमा गर्दछौं, गुरुङले भने, ‘१२ बजेदेखि १ सम्म गुरु ढकर रिन्पोछे बाहुल्यबाट आयु छेवाङ ( अभिषेक) दिने र दिउँसो २५ औं ल्होछार जयन्तीको अवसरमा शुभकामना तथा सास्कृतिक कार्यक्रम आयोजना गर्दै छौं ।’ २५ औं ल्होछार रजत जयन्तीको अवसरमा बाघ वर्गको विदाई र विरालो वर्गको आमगनको अवसरमा घान्द्रुक गुम्बा परिसरमा ल्होछारको सुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।
काठमाडौं: अभिनेत्री सुहाना थापाले नयाँ व्यवसाय सुरू गरेकी छन्। उनले समुन्द्र भट्टको निर्देशनमा तयार भएको फिल्म ‘गुलाबी’ बाट फिल्म वितरण व्यवसाय थालेकी हुन्। उनी सीइओ रहेको कम्पनी त्रिनेत्रम डिस्ट्रिब्युसनले ‘गुलाबी’ वितरणबारे सम्झौता गरेको हो। मंगलबार सुहाना र निर्देशक भट्टबीच औपचारिक सम्झौतापत्र आदान-प्रदान गरिएको छ। फिल्मको प्रदर्शन र डिजिटल अधिकार एकसाथ बिक्री भएको छ। डिजिटल अधिकार भने ओएसआरले खरिद गरेको छ। ओएसआर प्रमुख ओम अग्रवाल र भट्टबीच डिजिटल अधिकारमा सम्झौता भएको हो। राम्रो प्रस्ताव र आकर्षक लगानी आएपछि दुवै कम्पनीसँग सम्झौता गरिएको निर्देशक भट्टले बताइन्। फिल्ममा समावेश एक गीतको छायांकन गरेसँगै फिल्मको पनि छायांकन सम्पन्न भएको छ। दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा नाजिर हुसैन मुख्य अभिनेता छन्। पारलैङ्गिकताको कथा बोल्ने फिल्ममा नाजिरसँगै सुशिल सिटौला, सञ्चिता लुइँटेल, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’, शिशिर राणालगायतको अभिनय छ। फिल्मको कथा निर्देशक भट्टकै हो भने पटकथा तथा संवाद लेखनमा रामकुमार श्रेष्ठ र नाजिर हुसैनले सहकार्य गरेका छन्। यो फिल्मलाई आलोक शुक्लाले छायांकन गरेका हुन्। फिल्मको प्रदर्शन मिति भने तय भइसकेको छैन। अभिनेत्री सुहाना थापा निर्माता सुनिलकुमार थापा र अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी हुन्। उनी पछिल्लो समय ‘ए मेरो हजुर ४’ मा देखिएकी थिइन्। उनी यतिबेला फिल्म ‘भगवत् गीता’ मा व्यस्त छिन्।
पोखराः जिन्दगीको लामो समयसम्म प्रेमका कुरा गरिन । म गाउँले बन्दी जीवन बिताएको मान्छे । गाउँको बन्द समाजमा धेरै कुराहरु बर्जित हुन्छन् । संस्कृति भनेको कृत्रिम चीज हो । संस्कृतिले बन्देजहरु निर्माण गर्छ, बन्चनाहरु निर्माण गर्छ । जीवनमा धरै कर्महरु गरिन्छन्, तर भनिदैनन् । जीवनमा प्रेम गर्न बडो गाह्रो छ । गरिएको प्रेमबारे भन्न त्यो भन्दा गाह्रो छ । तपाईंको प्रेमको प्रारम्भ कसरी भयो भनेर प्रश्न गर्दा सबैको जवाफ यस्तो आउला, ‘मेरो प्रेमको प्रारम्भ पत्नीबाट भयो । मेरो प्रेमको उत्कर्ष पनि मेरो पत्नीमै भयो । मेरो प्रेमको अवशान पनि पत्नीमै हुने छ । जीवनमा कुनै महिलालाई स्पर्श गरिन, आँखा पनि जुधाएको छैन ।’ मलाई लामोसम्म डर लागिरह्यो । मैले आफ्नो प्रेम पत्रको कुरा गरेँ भने, प्रेमको पोल खोलेँ भने, भण्डाफोर गरेँ भने मेरो पत्नीको मनमा त्यसको के प्रभाव पर्ला रु मलाई पिरलो लागि रह्यो । जीवनमा बन्देजमा राखिएका कुराहरु, निषेध गरिएका कुरालाई साहित्यको माध्यमबाट व्यक्ति गरिन्छ । साहित्य यस्तो शसक्त माध्यम हो, जहाँ संस्कृतिले बन्देज लगाएका कुराहरु र तानाशाहीले बन्देज गरेका कुराहरु प्रतीकको माध्यमले र रुपकको माध्यमले व्यक्त गरिन्छ । मेरो प्रेम पनि साहित्यबाट प्रारम्भ भयो । मेरो जन्म पाँचथरमा भयो । पाँचथर र तेह्रथुमलाई छुट्याउँने बीचमा तमोर नदी छ । मेरो गाउँमा हाइस्कुल थिएन । तेह्रथुम गएर हाइस्कुल पढ्नु पथ्र्यो । ९–१० कक्षा पढ्दा मलाई कसैप्रति भावुक अनुराग उत्पन्न भएछ । तर मलाई थाहा थिएन । त्यसबेला साहित्यिक गोष्ठीहरु हुन्थ्यो ।मैले साहित्य गोष्ठीहरु प्रेमबारे कथा लेख्थेँ । अव्यक्त प्रेम, भिजेको रुमाल, एउटा दूरदेशकी परीलाई प्रेमपत्र जस्ता लेख्थेँ । त्यस्ता प्रेमका कथा लेख्दा आम जीवनको भावना व्यक्त गरिरहेको छु जस्तो लाग्थ्यो । अहिले फर्केर हेर्दा के लाग्छ भने, कसैप्रति मेरो अनुराग थियो । भावुक अनुराग थियो । अहिले साहित्यको माध्यमबाट भनेको रहेछु भन्ने लाग्छ । स्कुलमा पढ्ने केटीहरुको संख्या धेरै थिएनन् । केटीहरुको संख्या थोरै थिए । त्यो थोरै केटीहरुतिर धेरै केटाहरु आँखा पथ्र्यो । तीनमाथि देख–अदेख, व्यक्त–अव्यक्त अत्यन्त तृष्ण र कठोर प्रतिस्प्रर्धा हुन्थ्यो । त्यो प्रतिस्पर्धामा स्वाभवत् म पनि थिएँ । म अझै पनि कपितय कुरामा अत्यन्त संकोच छु । यद्यपी कतिपय कुरा बहेरमुखी , कता वाकपटु जस्तो पनि देखिन्छु । यो समाजको लागि म अभद्र किन देखिने रु अरुको दृष्टिमा किन गिरौं भन्ने मनाशयले आफूलाई नै ढाँटिरहन्छु । कतिपय यस्ता कुराहरु म भन्न सक्दिन । संस्कृतिले धेरै बर्जिद गरेको छ । मैले प्रेमका कथा लेख्न थालेपछि साथीहरुले खिज्याउँथे । तर मनमा ठूलो उत्साह जग्थ्यो । मेरो रुम पार्टनरले प्रेम पत्र लेखिदिए ‘म पुर्याईदिन्छु भन्यो । मलाई डर लाग्यो । म कक्षा सधैं प्रथम हुने हुनाले मसँग एउटा शक्ति पनि थियो । सानोतीनो कसुरमा मुक्त हुन्थेँ, म कुटिन्न थिएँ । प्रेमपत्रको भण्डाफोर नै भएछ भनेपनि मेरो शक्ति र सामाथ्र्यले जोगिन्छु कि भनेर मैले प्रेमपत्र लेखेँ । तर प्रेम पत्र लेख्ने प्रारम्भदेखि नै मलाई डर लागि रह्यो । मेरो नोट उसको कापी सरिदिने सर्तमा मेरो प्रेम पत्र मैले मन पराएको केटीलाई दिने । त्यो नोट उसको कापीमा सारिदिन्थेँ । मेरो प्रेमपत्र मैले मन पराएको केटीकहाँ पुर्यादिने सर्त भयो । तर पर्याउँने कसरी । चिठी लेखियो, खाममा पनि हालियो । अर्को फसाद पर्यो । सल्लेरीको नजिबाट त्यो केटी आउँने । उसँग अरुपनि मान्छे पनि हुन्थे । त्यो केटीलाई चिठ्ठी दिन महाभारत भयो । चार–पाँच दिन सल्लेरीमा कुरेपछि चिठ्ठी हात पारिदियो । उसले मलाई आएर भन्यो चिठ्ठी हात पर्यो । मलाई रातभरी निद्रा लागेन । त्यो केटीले हेडसरलाई उजुर गर्ली, त्यसको बाउँ सिस्नु लिएर आउला, मलाई त डर लाग्यो । मलाई कतै भागौं जस्तो लाग्यो । यस्तो ठाउँ होस् जहाँ विलुप्त हौं, हराउँ जस्तो भएँ । उज्यालो भयो, निदहराम भएर आँखा पोलिरहेका छन् । सिताराम प्रसार्इं मेरो साथी थियो, मेरो प्रेम पत्रको हुलाकी थिए । म विहानको स्कुलको प्रर्थनमा गएँ । केटीको अनुहार कुनै परिवर्तन देखिन । कतै मेरो प्रेम पत्रको प्रतिक्षामा त छैन रु उसमा त्यो आँट आएन होला मैले प्रेम पत्र लेखेँ । त्यो दिन केही भएन । धन्य भगवान जोगियो भन्ने लाग्यो । पत्रको त प्रतिक्षा हुन्छ । त्यो पत्र व्यर्थ लेखिएछ जस्तो लाग्यो । त्यत्रो जोखिम उठाएर व्यर्थ लेखिएको होइन थियो । दोस्रो चिठ्ठी चाहि कम डरका साथ लेखेँ, सितारमाले चिठ्ठी दियो । त्यसपछि जवाफ आयो । केटीको परिवार मेरो परिवारभन्दा धनाढ्य थियो । चिठ्ठीमा जवाफ के आयो भने , मेरो विवाह हुने कुरा चलिरहेको छ, यसलाई म काट्न सक्दिन । त्यसैले तिमीसँग विवाह हुन सक्दैन, तिमी भानुभक्त बन भनिन् । पछि फर्केर हेर्दा के लाग्यो भने ठूलो कुरा भनिएको थियो जस्तो लाग्छ । उसको कुनै आरोप थिएन । तिमीसँग विवाह सम्भव छैन । भानुभक्त बन’ मेरो मन खिन्न भयो । मलाइ केको भानुभक्त बन्नु छ । मलाई त केटी चाहिएको थियो । त्यो प्रेमले स्वारुप र आकार ग्रहरण गर्नु पहिले टुंगियो । वास्तवमा त्यो प्रेम थिएन, भावुकता थियो । तथापी केही थियो ।अहिले ७७ वर्ष भएँ, त्यो धेरै पुरानो घटनाको याद अझै छ । यदाकदा त्यो केटीसँग भेट हुन्छ । तर अचम्म के भयो भने, स्कुलमा हुँदासम्म उनीसँग एक वचन पनि बोलचाल भएन । एउटै कक्षा केटी भएदेखि नोट साट्ने वाहना एकदुई बचन बोलिथ्यो होला । त्यो सकियो । अस्वीकृति थिएन, बाध्यता थियो । मैले जीवन जहाँदेखि जहाँसम्म यात्रा गरेँ । तीनको उद्दारका कारणले पनि हो । तिमी भानुभक्त बन भन्ने केटीले ठूलो उदार गरिन जस्तो लाग्छ । उसको र मेरो प्रेमसम्बन्ध जोडिएर विवाह भएको भए तपाईंहरुसँग भेट हुने थिएन । दाम्पत्य जीवनमा बाधिन्थेँ । परिवारको बोझ शिरमाथि हुन्थ्यो । मेरो जीवन त्यही परिवेशमा हुन्थ्यो । त्यही बिलाउँथेँ । उनको स्वीकार नै उद्दार भयो ।
पोखराः ‘लोककथाबाट चियाउँदा समाजको दर्पण कस्तो देखिन्छ ?’ सहजकर्ता दीपक सापकाटाले कवि तथा संस्कृतिविद् तुलसी दिवसलाई सोधे। १ सय २२ ओटा लोककथाको संगालो ‘लोककथा’बाट प्रचलित मौखिक कथाको संग्रहण गरेका दिवसले लोककथाको महत्वबारे बोले । पोखरामा जारी १०औं नेपाल लिट्रेचर फेस्टिभलको सेसन ‘लोककथाको आलोक’मा वक्ता थिए तुलसी दिवस। र सहजकर्ता थिए पत्रकार सापकोटा । दिवसले भने, ‘नेपाल १ सय ४० भन्दा बढी भाषा बोल्ने जातीहरूको सामूहिक स्थल हो। नेपाली बोल्नेको मात्रै होइन । सबैको सामूहिक स्थल भएका कारण इतिहासको अवधारणा आमूल परिवर्तन आउने देखिएपछि लोकसात्यि, संगीत संकलन मात्र हैन आफ्नो इतिहासलाई पूर्ण रुपमा संकलन गर्न आवश्यक छ ।’ उनी नेपाली लोककथालाई प्रकाशमा ल्याउनका लागि कथा संकलन गरिएको बताउँछन् । ‘भूगोल, संस्कृति फरक हुँदा पनि लोककथा किन एकै हुन्छन्?’ सापकोटा सोध्छन्। दिवस संसारका मानिस जहाँ भए पनि समान सोच्ने बताउँछन् । न्याउरी मारी पछुतो लोककथा नेपालमा मात्र नभई आइल्याण्डमा पनि फरक पात्रको रुपमा प्रस्तुत भएको उदाहरण उनी दिन्छन्। ‘हाम्रो न्याउरी मारी पछुतो कथा आइल्याण्डमा पुगेपछि कुकुर मारी पछुतो भयो। किनकि त्यहाँ सर्प नहुँदा, न्याउरीमुसोबाट जे सन्देश दिन खोजेको थियो त्यो पूरा हुन। अनि कुुकुर पात्र राखियो,’ उनी भन्छन्, ‘हरेक लोककथा संसारभरि छन्। पात्र परिवर्तन हुन्छन्। तर कथाको सन्देश एउटै हुन्छ ।’
पोखराः पोखराबारे थुप्रै गीत लेखिएका छन्, गाइएका छन् । गीतकै कारण पोखरा मानिसका हृदयहरूमा बसिरहन्छ । पोखरा, फेवाताल वा माछापुच्छ«े सर्जकका सिर्जनामा आइरहन्छन् । नेपाल लिट्रेचर फेस्टिभलको चौथो दिन ‘हेर्दा राम्रो माछापुच्छ्रे’ सेसनमा सजकर्ता दीपक परिवार कवि तीर्थ श्रेष्ठलाई पहिलो प्रश्न सोध्छन्, ‘काठमाडौंभन्दा बढी गीत पोखराबारे गाइएका छन् । साँच्चै ती गीतले पोखराको वास्तविक प्रतिबिम्बन गरेका छन् ?’ कवि तीर्थ श्रेष्ठ भन्छन्, ‘एउटै गीतमा सिंगो पोखराको प्रतिनिधित्व हुन सक्दैन। कुनै गीतमा पोखराको प्राकृतिक सौन्दर्य र कुनै गीतमा सांस्कृति सौन्दर्य जोडिएको हुन्छ। कुनै गीतले इतिहास पनि जोडिदिएको छ। गीतले जिज्ञासालाई पनि जीवन्त बनाउने रहेछ ।’ कार्यक्रममा कवि तीर्थ श्रेष्ठसँगै गायक धर्मेन्द्र सेवान र गायिका रज्नी ‘रिदम’राई पनि सहभागी थिए । तीर्थ गीतले इतिहासका कुरालाई कसरी जोड्छ भन्ने प्रसंगमा थप्छन्, ‘एउटा गीतमा ढुंगेसाउँको मेला बाँचेको छ। तर अहिले त्यो त बाँकी छैन नि ।’ तीर्थ गीतले स्रष्टालाई पनि जीवन्त राखेको बताए। यद्यपि, पोखराई अझै लेखिन बाँकी रहेको उनी बताउँछन् । धर्मेन्द्र आफूले ०५५ सालमा ‘नेपाली तारा’ रियालिटी शो चल्दा पोखराले निकै माया गरेको सम्झन्छन् । ‘भर्खर उदाएका युवा पुस्ताका कलाकारलाई पोखराले सधैं मञ्च प्रदान गरेको छ,’ उनी भन्छन्। धर्मेन्द्र आफूले ‘हेर्दा राम्रो माछापुच्छ्रे’ गाउँदा ‘पोखरेली कान्छो’भनेर पाउको माया कहिल्यै बिर्सन्नन् । तर धर्मेन्द कामको शिलशिलामा काठमाडौं छन्। तर उनलाई बस्ने रहर पोखरामै छ। ‘तर जता लागे पनि संगीतमा भने सधैं रहन्छु,’ उनी भन्छन् । दार्जिलिङबाट आएर पोखरामा कर्मथलो बनाएकी रजनी रिदम राई पोखराबारे गाएका गीतका कारण चर्चित छिन्। उनी आफू पोखरा आउँदा पहिलो पटक पाएको अवसरबारे सझिन्छिन् । आफू संघर्षरत् कलाकार हुँदा पहिलो पटक अवसर दिने सर्वज्ञमान शाक्यलाई सम्झन्छिन्। आफूले गाएको पहिलो गीतले नै अवार्ड दिएकोमा फुरुङग भएको उनी सम्झन्छिन् । तीर्थलाई दीपक जिज्ञासा राख्छन्, ‘हरिदेवी कोइरालाकै पहिलो रेकर्डेड गीतमा बैदाम ताल सुन्छौं। धेरैलाई बैदाम ताल र फेवातालको सन्दर्भ थाहा छैन। फेवा र बैदामको प्रसंग भनिदिनुस् न ?’ फेवातालको पुरानो नाम हो बैदाम ताल। यहाँ तालनजिकै बदाम खेती हुने हुनाले बैदाम ताल नामाकरण गरिएको प्रसंग उनी कोट्याउँछन् । फेवाताल कसरी रहन गयो भन्ने कुरा अनुसन्धानको विषय रहेको तीर्थ बताउँछन् ।
पोखराः चर्चित कांग्रेसी नेता गगन थापा काठमाडौंमा जन्मिएँ, काठमाडौंकै हावापानीमा हुर्कि ए। लेखक बुद्धिसागर कर्णालीमा जन्मिएँ, त्यहीँको माटोमा पले बढे। यस्तो पृष्ठभूमिले काठमाडौंलाई हेर्ने यी दुईको नजर फरक हुने नै भयो । नेता थापा र लेखक बुद्धिसागरले नेपाल लिटरेचर फेस्टिभलको चौथो दिन हिजो आइतबार साँझ काठमाडौंसँगको यस्तै फरक अनुभूति साटे । कथा काठमाडौं शीर्षकमा भएको कुराकानीमा बुद्धिसागरले आफू पहिलो पटक काठमाडौं सहर प्रवेश गर्दाको समय सम्झिँदै भने, मेरो एसएलसीको मार्कसिटमा एउटा अक्षर छुटेछ। अनि म त्यो चापागाइंमा छुटेको एउटा पि थप्न आएको हुँ। मलाई मेरो त्यो पि छुट्नु नै म यहाँ पुग्नु हो जस्तो लाग्छ। म भन्दा अगाडि मेरो फेमिलीबाट एक जना दाइ काठमाडौं आउनुभएको थियो, उहाँको मेन्टल प्रोवलम भयो। अनि हाम्रो परिवारमा चपाइंहरु काठमाडौं जान हुन्न बौलाउँछन् भन्ने भयो । साथै एक जना सुभचिन्तक साथीले आफूलाई नेपाली साहित्यको गगन थापा भनेको र पहिलो पटक थापाको नाम त्यतिवेलै सुनेको पनि उनले बताए । आफ्ना बाबुको काठमाडौं आउँदाको कथा र यहाँको भोगाइ बुद्धि सागरसँग बढी मिल्ने बताउँदै गगनले भने, मलाई कसैले घर कहाँ भन्यो भने म काठमाडौं भन्छु। मेरो बाले सोलुखुम्बु भन्नुहुन्छ। घर भनेको एउटा नेटवर्क पनि हो, बाल्यकालको कल्पनाशिलताको परिवेश पनि हो। घर भन्ने बित्तिकै म मेरो बाल्यकाल, खेलेको खेत मेरा आफ्ना कुरा सम्झन्छु। मेरा बासँग त्यो सबै सम्झना सोलुखुम्बुको छ । काठमाडौं भनेको एउटा सहरको नाम मात्रै नभएर प्रवृत्तिको रुपमा आफूले बुझ्ने गरेको बुद्धिसागरले बताए । काठमाडौंको बारेमा मेले सुनेको तीन चिज मात्रै थियो। एउटा रत्नपार्क, अर्को धरहरा र अर्को असन भन्ने ठाउँ छ। उनले भने, सबै कविहरुले आफ्नो आफ्नो तरिकाले व्याख्या गर्नुहुन्छ मेरो लागि काठमाडौं अवसर चाहिँ हो। काठमाडौं सहरको नाम भए पनि यो प्रवृत्ति हो जस्तो लाग्छ। जुन हामी बाहिरबाट जानेहरुले नै बनाएको हो । काठमाडौंकै परिवेशको कथा रहेको बुदिध् सागरको भर्खरै प्रकाशित उपन्यासको प्रसंग सुरु गर्दै गगनले सोधे, यो पढिसकेपछि सहरमा अवसर छैन कि, दुखैदुख मात्रै छ कि जस्तो किन लाग्यो ? म आफूले पर्सनल नजरियाले देखेको चिजहरु गर्छु । जस्तो एक्लोमा कुनै नेवार पात्र छैन। किनभने काठमाडौंमा मेरो संगत नै भएन । गगनको प्रश्नलाई सम्बोधन गर्दै बुद्धिसागरले भने, काठमाडौं त्यस्तो क्रुर छैन। अवसर सबैले पाउँछन् कसैले क्यास गर्छन्, कसैले सक्दैनन्। काठमाडौं एउटा स्प्रिङ जस्तो हो, तपाईंको वजन चाहिँ हुनुपर्यो । ग्गनले काठमाडौं मुम्बइ, न्युयोर्क जस्तो बन्न याग्य सहर नरहेको भन्दै मानिसहरुले सपनाको सहर नाम दिएर काठमाडौंलाई भारी बोकाइरहेका त छैनौँ भन्ने जिज्ञासा राखे । गगनलाई सम्बोधन गर्दै बुद्धिसागरले भने, काठमाडौंमा अवसर छ जस्तो किन लाग्छ भने सबै चिज यहीँ छ । काठमाडौंमा जे छ त्यो सबै सहरहरुमा फैलिनुपर्छ जस्तो लाग्छ तर त्यो असम्भव छ । काठमाडौं भित्र थुप्रै काठमाडौंहरु बनेको र अब काठमाडौं कसको हो ? भन्ने अर्थ राजनीतिक प्रश्न सुरु भएको गगनले बताए । आफ्नो वडामा रहेको स्वास्थ्य केन्द्रको उदाहरण दिँदै उनले भने, मेरो वडाका वडाध्यले प्राप्त गरेको मत २ हजार हो। १०, १२ हजार मतदाता हुनुहुन्छ । तर त्यहाँ बसोबास गर्ने मान्छे एक लाख हाराहारी होला। कहिलेकाहीँ मैले यो सहरी संरचना कसको लागि सञ्चालन गर्ने हो ? भन्नुहुन्छ, त्यहाँको रजिष्टर जनसंख्या १० हजार छ, जबकी मान्छे त बस्छन ्। त्यो सहरको स्वास्थ्यको सुविधा घर हुनेले मात्र पाउने हो? भाडामा बस्नेले नपाउने हो ? अथवा भाडामा पनि बस्न नपाउनेले पाउने कि नपाउने? सहर कसको हो ? काठमाडौं कसको हो ? तपाईंलाई के लाग्छ ? काठमाडौंमा म यहीँ छु भनेर देखाउने प्रमाण केही छैन। म तीनटा खाले काठमाडौं देख्छु । एउटा त्यहीँको स्थानिय जसको घर छ, अर्को पछि गएर घर बनाएका र अर्को पछि गएर घर बनाउने सपना बोकेका। बुद्धि सागरले भने, सामान्य हिसाबमा जसको घर छ काठमाडौं उसैको होला भनिन्छ । समग्रमा काठमाडौं विहानदेखि बेलुकासम्म पसिना बगाउने सबैको हो । आफू काठमाडौं आउँदा विशालनगरको हिँड्ने भर्याङ देखेर छक्क परेको प्रसंग जोड्दै बुद्धि सागरले काठमाडौं मै जन्मे हुर्केका गगनलाई केके कुराले चकित बनायो भन्ने जिज्ञासा राखे । गगनले भने, सायद पहिलो पटक मोबाइलले छक्क गरायो होला। हाम्रोमा टेलिभिजन हुने घर थियो, टेलिफोन हुने घर थियो। यसरी हेर्दा धेरै पटक सप्र्राइजहरु दियो। साथै आफूले हेर्दा हेर्दैै काठमाडौंका खोली बिग्रेर ध्वस्त भएको पनि उनले बताए । आफू काठमाडौं आएपछि हेर्दा हेर्दै भुइँ कुहिरो र रुखहरु पनि हराएको बताउँदै पार्क, रुख, चराहरु, खोला आदिका लागि मानिसहरुले चासो दिने नगरेको बुद्धिसागरले बताए। साथै आवश्यकता तथा पाउनुपर्ने अधिकारका बारेमा धेरैलाई थाहा नभएको हो कि भन्ने जिज्ञासा पनि राखे। जसमा काठमाडौंमा चराको विषय, रुखको विषय आलोचना गर्नुपर्दा उठ्ने तर सार्वजनिक विमर्शको विषय कहिल्यै पनि बन्ने नगरेको कुरा गगनले जोडे । पञ्चायत कालमा काठमाडौं उपत्यका संरक्षण्का लागि भएको प्रयास सम्झँदै गगनले भने, काठमाडौंको यो अवस्था हुनु हाम्रो कलेक्टिभ फेलियर हो। कहाँनेर गल्ती भयो जस्तो लाग्छ भने २०३५ सालमा काठमाडौंको सहरीकरणमा ध्यान दिएर अहिले नै व्यवस्थापनका लागि केही गरिएन भने अबको २०, २५ वर्ष पछिको काठमाडौंको हालत वेहाल हुन्छ भन्ने ठानेर डा. प्रकाशचन्द्र लोहनीले काठमाडौं उपत्यका विकास प्राधिकरणको परिकल्पना गरेर त्यसको ऐन पनि पारित भएको रहेछ। त्यतिवेला काठमाडौंको नदि, वन, वातावरण सबै कुरालाई एउटै युनिटको रुपमा हेरे कसरी काठमाडौंको विकास गर्ने भनेर सोचिएको रहेछ । तर, २०४६ सालको परिवर्तन पछाडि धेरै अवसरहरु आएको र एउटा सानो समय काठमाडौंले धेरै मानिसलाई तानेको उनले बताए। साथै त्यो वेलामा पञ्चायतका सबै कुरा छोडेर जानुपर्छ भन्ने क्रममा काठमाडौं उपत्यका विकास प्रधिकरणको बनिसकेको ऐन पनि छुट्नु काठमाडौ अहिलेको अवस्थामा आउनुको एउटा मुख्य कारण रहेको पनि उलने बताए। काठमाडौंको खोलानाला, वातवरण सबैलाई सँगै राखेर विकासको मोडल बनाउनुपर्ने र अबको आफ्नो जोड त्यसैमा हुने पनि गगनले बताए ।
पोखराः पोखरामा जारी १०औं नेपाल लिटरेचर फेस्टिभलको सेसन ‘फिल्म समीक्षकको समीक्षक’ सेसनमा फिल्म समीक्षाबारे बहस भएको थियो। बहसमा अभिनेत्री स्वस्तिमा खड्का, फिल्म समीक्षक अनुप सुवेदी र फिल्म निर्देशक दीपेन्द्र लामा थिए। समीक्षक सुरज सुवेदी कार्यक्रमका सहजकर्ता थिए । फिल्म समीक्षा नेपालमा किन सुध्रेन र विश्वसनीय भएन भन्नेबारे छलफल भएको थियो। मिडिया हाउसले समीक्षामाथि लगानी नगर्नुले समीक्षामा सुधार नआएको वक्ताहरूले बताए । स्वस्तिमाले फिल्ममेकरहरूले समीक्षालाई नस्विकार्ने बताइन्। तर उनी आफूले रोज्ने फिल्म, निर्देशकको छनोट र टिममा गर्ने कामलाई समीक्षाले योगदान गरेको बताउँछिन्। ‘तर समीक्षकले रुचाएको फिल्म आममासले रुचाउँदैन, फिल्म लिट्रेसी भएका दर्शकले रुचाएका कतिपय फिल्म आममासले रुचाउँदैन,’ स्वस्तिमाको बुझाइ छ । अनुप सुवेदी फिल्म समीक्षक आम दर्शक भन्दा बढी बुझेको हुनुपर्ने बताउँछन्। दर्शकलाई ‘कन्भिन्स्ड’ गर्नसक्ने तर्क समीक्षकमा हुनुपर्ने बताउँछन्। तर समीक्षकको विश्वसनीयतामाथि दर्शकमा प्रश्न उठिरहने गर्छ। कारण के त? ‘एउटा समीक्षके पत्रकारिता गर्नुपर्छ, अन्तर्वार्ता गर्नुपर्छ। अनि समीक्षा पनि गर्नुपर्छ। यदि पाठकले त्यो समीक्षकलाई विश्वास गर्छ भने घात पनि गर्नुभएन नि,’ दीपेन्द्र भन्छन् । स्वस्तिमा समीक्षामा विश्वसनीयता कम भएको भाव प्रकट गर्छिन्। ‘एउटा पत्रकारले शनिबार गसिप र आइतबार समीक्षा गरिरहेको हुन्छ भने समीक्षा कस्तो लेखिरहेको हुन्छ त? मैले यसको अनुभूत गरेको छु,’ स्वस्तिमा भन्छिन् । अनुप समीक्षक पाठकप्रति उत्तरदायी हुनुपर्ने बताउँछन् । उनी नेपालका समीक्षकले समीक्षामा फिल्म निर्देशकलाई सिकाइरहेको पाउँछन्। ‘समीक्षकले त पाठकलाई सचेत गराउने हो नि। तर मेकरलाई सिकाइरहेको पाइन्छ,’ उनी भन्छन् । अनुप अहिलेको समीक्षा कथासारजस्ता मात्र भएको बताउँछन। ‘कथासार लेख्यो, यसले राम्रो गर्यो, यसले गरेन भन्नेमात्र छ । किन राम्रो गर्यो किन गरेन भन्ने तर्क आउन्नन्। त्यसको डिटेलिङ छैन। हाम्रो समीक्षकले फिल्म भनेको कथामात्र हैन, अरु कुरा पनि हो भनेर नबुझेको हो कि,’ उनी थप्छन् । दीपेन्द्र नेपालमा फिल्म समीक्षा एकदमै न्यून भएको पाउछन्। ‘संख्यात्मक रुपमा समीक्षा दयनीय अवस्थामा छ। सम्पादकले प्राथमिकतामा नराखेर हो कि,’ उनी भन्छन् । समीक्षकको स्तर बढिदिए हुन्थ्यो भन्ने अपेक्षा छ दीपेन्द्रको। ‘कमजोरी एकातिर छ, नचाहिने कुरामा समीक्षा घुमिरहेको छ,’ उनी भन्छन् । नेपालमा ‘पेइड रिभ्यू’को ‘ट्रेन्ड’बारे पनि दीपेन्द्र भन्छन्। ‘नेपालमा पेड रिभ्युको चलन छ। विज्ञापन राम्रो छ भने त्यो अनलाइनले राम्रो लेखिदिन्छ। यदि विज्ञापन दिएन भने उसले आफ्नो अनलाइनलाई समीक्षा त लेख्छ लेख्छ। फिल्म नै पूरा नहेरी लेख्छ,’ उनी भन्छन् ।
पोखरा: पछिल्लो समय सबैभन्दा बढी चर्चामा आएको लिपुलेक, लिम्पियाधुरा र कालापानी भएको पालिका दार्चुलाको ब्यास गाउँपालिका पर्छ । तर, त्यहाँका स्थानीय आफ्नै देशका अन्य ठाउँमा जान पनि भारतीय बाटो भएर जानुपर्छ । आफ्नो देशमा स्तरीय बाटो नहुँदा तेस्रो मुलुकको बाटो प्रयोग गर्नु त्यहाँका स्थानीयलाई पीडा त छ नै, त्यसमाथि भारतीय सुरक्षाकर्मीको हप्कीदप्कीले नेपाली हैरान छन् । उक्त गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द बडू पनि भारतीय बाटो हुँदै पोखरामा जारी नेपाल लिटरेचर फेस्टिबलमा सहभागी हुन आएका छन् । बडू आफूले पनि भारतीय सुरक्षाकर्मीको हप्कीदप्की खाँदै उक्त बाटो प्रयोग गरिरहनुपरेको सुनाउँछन् । दुखेसो पोख्छन्, ‘हाम्रोतिर बाटो नभएकै कारण भारतको बाटो भएर आउनुपर्छ । त्यसमाथि त्यहाँका सुरक्षाकर्मीको हेपाहा प्रवृत्ति सबैले व्यहोर्नुपर्छ ।’ बडू ‘सुदूरका सिंहदरबार’ विषयक सत्रमा सहभागी हुन पोखरा आएका हुन् । पोखरा फेवा किनारमा जारी फेस्टिबलको पाँचौं दिनको उक्त सत्रमा बडूसँगै मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्ष कोन्जो तेन्जिङ लामा र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका उपाध्यक्ष शान्ताकुमारी आङबुहाङ सहभागी थिए । भौगोलिक विकटता र सीमित आर्थिक व्यवस्थाले गर्दा पनि नेपालतर्फ बाटोको दीर्घकालीन व्यवस्थापन गर्न नसकिएको बडू सुनाउँछन् । तर, नेपालतर्फ बाटो हुँदै नभएको भने होइन । भएका बाटो बाढी, पहिरोले भत्काउँदा वर्षमा २, ३ पटक नै मर्मत गरिरहनुपर्ने बाध्यता भएको उनले बताए । ‘हाम्रोतिर वर्षमै २ पटकभन्दा बढी बाटो बनाएर बस्नुपर्छ । मनसुनमा नदीको बाढीले बगाइदिन्छ, हिउँदमा हिमपहिरोले खाइदिन्छ,’ बडूले भने, ‘कहिले त बनाउँदाबनाउँदै पनि भत्काइदिन्छ । गएको भदौमा मर्मत गर्दागर्दै दुर्घटना हुँदा केही साथीहरु घाइते पनि हुनुभयो ।’ उस्तै कथा छ, मनाङको नार्पाभूमि गाउँपालिकाको पनि । गण्डकी प्रदेशमा सडक सञ्जालले नछोएका २ पालिकामध्ये एक पालिका हो, नार्पाभूमि । गाउँमा सडक सञ्जाल नभएकै कारण त्यहाँका जनप्रतिनिधिले गाडी होइन, घोडा उपहार पाउँछन् । नेपालकै सबैभन्दा थोरै जनसंख्या भएको नार्पाभूमि गाउँपालिकाले अझै पनि स्थानीयले गाउँमै सिंहदरबारको अनुभूति गर्नैै नपाएको उक्त गाउँपालिका अध्यक्ष कोन्जो तेन्जिङ लामा बताउँछन् । एउटै वडाबाट अर्को वडामा पुग्न पनि २, ३ दिन लाग्ने भएकाले पालिकाको अस्थायी कार्यालय जिल्ला सदरमुकाम अथवा काठमाडौं राख्नै पर्ने आफूहरुको बाध्यता रहेको उनी सुनाउँछन् । ‘हाम्रो पनि गाउँपालिका सडकले छोएको छैन । यसरी हेर्दा गाउँमा सिंहदरबार त खडा भयो । तर, जति पूर्वाधार संरचना बन्नुपर्ने थियो, त्यति भएन,’ उनले भने, ‘सडक र मौसम प्रतिकुलताले गर्दा पनि हामीले चामे, काठमाडौंमा अस्थायी केन्द्र राख्नुपर्ने हुन्छ । यो हाम्रो बाध्यता हो ।’ नार्पा र ब्याँसभन्दा केही सुगम छ–ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका । भौगोलिक हिसाबले सुगम भए पनि पूर्वाधारको हिसाबले पछि नै रहेको उपाध्यक्ष शान्ताकुमारी आङबुहाङ सुनाउँछिन् । गाउँका केही भागमा सडक सञ्जाल पुगे पनि स्तरीय नहुँदा गाउँलाई सम्भावना हुँदा पनि पर्वद्धन गर्न नसकिएको दुखेसो छ । ‘बाटो बन्छ । बर्खामा भत्काइहाल्छ । पालिकाको बजेटले पूर्वाधार बनाउनै सक्दैनौं,’ उनले भनिन् । उनले स्थानीय तह गठनपछि धेरै काम भएको दाबी गरिन् । उनले जनतासँग प्रत्यक्ष जोडिने भएकाले स्थानीय तहसधैं जनताको साथमा रहने सुनाइन् । ‘गाउँपालिकाहरुले राम्रो पनि काम गरिराखेका छन् । महिला, अपांगताता भएका व्यक्तिको क्षेत्रमा थुप्रै काम भइरहेका छन् । संघ प्रदेश र अधिकार बाझिएका कारणले केहीमा डिबेट हुन्छन्,’ उनले भनिन्, ‘तर, गाउँमा धेरै कामचाहिँ भएका छन् ।’ ‘स्थानीय तहमा कर्मचारी अभाव’ सत्रमा सहभागी तीन वटै वक्ताले स्थानीय तहमा कर्मचारीको अभाव रहेको बताए । उनीहरुले आआफ्नो पालिकाको दृष्टान्त राख्दै कर्मचारी आउँदा पनि सक्षम कर्मचारी नआउने समस्या रहेको उनीहरुले बताए । बडू निमित्त प्रशासकीय अधिकृतका रुपमा रहेको ब्याँस गाउँपालिकामा कुनै पनि कर्मचारी ६ महिना बढी टिक्दैनन् । उनले हिमाली जिल्लाका पालिकामा कर्मचारीहरु आफ्नो नम्बर पु¥याउनमात्रै आउने गरेको सुनाए । ‘यो प्रवृत्ति एकदमै छ । प्रमुख प्रशासकीय अधिकृत जानुहुन्छ । तर, आफ्नो अंक पुगेपछि फर्किहाल्नुहुन्छ,’ बडू अनुभव बाँड्छन्, ‘गएकाहरु पनि काम गर्दागर्दै सरुवा हुनुहुन्छ । अनि काम लथालिंगै हुन्छ । यो प्रवृत्तिलाई निरुत्साहित गर्नै संघीय मामिलामन्त्रालय नै कडा नीति लिनुपर्छ ।’ सत्रमा सहभागी हुन आएका सबै वक्ताले आफ्नो पालिकामा दरबन्दीअनुसार पनि कर्मचारी नहुँदा काम गर्नै समस्या रहेको बताए । आठराई गाउँपालिका उपाध्यक्ष आङबुहाङ्ले पालिकामा कर्मचारी नहुँदा एउटै कर्मचारीले धेरै शाखा व्यहोर्नु परेको सुनाइन् । ‘एउटै व्यत्तिले ४, ५ वटा शाखा हेर्नुैपर्ने बाध्यता छ । काजमा पठाइएकाहरु पनि मन्त्रालयमा पुगिसकेपछि स्थानीय तहमा फर्किनै मान्नुहुन्न,’ आङ्बुहाङ्ले भनिन्, ‘लेखाको अधिकृतले गर्नुपर्ने काम लेखापालले गरिराख्नु परेको छ ।’ नार्पाभूमि गाउँपालिका प्रमुख कोन्जो तेन्जिङ लामा पालिकामा कर्मचारीको ठूलो अभाव रहेको सुनाए । उनले हिमालील जिल्लाका पालिकामा कर्मचारी आउनै नचाहने, आए पनि सक्षम कर्मचारी नआउने सुनाए । ‘यसले हामीलाई धेरै ठूलो समस्यामा पारेको छ,’ उनले भने । राज्यले कानुन तथा अधिकारको सुनिश्चित गरेमा संघीयता सफल हुने तीनवटै वक्ताले आफ्नो धारणा राखे । संघीयतापछि पनि सरकारले अधिकार केन्द्रीकृत गर्दा स्थानीय तथा प्रदेश सरकार खुल्नै नपाएको उनीहरुको भनाइ थियो । ‘प्रदेशकोे बजेट, योजना हेर्दा परिपक्व हुन अझै केही समय लाग्छ कि भन्ने लाग्छ । तर, पनि प्रदेश सरकार चाहिन्छ भन्ने नै लाग्छ,’ नार्पाभूमि गाउँपालिका अध्यक्ष कोन्जोले भने, ‘कार्य क्षमता बढाउँदै लग्यो भने सायद राम्रै हुन्छ होला भन्ने लाग्छ ।’