दशैँ आयो, पिङ हरायो

बाग्लुङ | असोज १५, २०७९

दशैँ आयो, पिङ हरायो

“उति बेला दशैँ आउनभन्दा १० दिन अगाडि नै चौतारा, डाँडामा पिङ हाल्ने चलन थियो ।

 

युवाले पिङ हाल्ने युवतीले राति धजा बान्ने चलन थियो, अहिले त न पिङ हाल्छन् न धजा बान्छन्, के–के चलन आएआए, पुराना संस्कृतिहरु सबै हराए ।” बागलुङ निसीखोला–४ की ७३ वर्षीया मनकली घर्ती पुराना संस्कृति हराउँदै गएकोमा चिन्तित हुनुहुन्छ । जब–जब  दशैँ तिहार जस्ता पर्व आउँछन् तबतब उहाँलाई पुराना दिनका सम्झनाले सताउँछ ।

 

पिङ हालेको, खेलेको र रमाइलो गरेको याद उहाँका मानसपटलमा अझै ताजै छन् । उहाँ भन्नुहुन्छ, “ दशैँ आयो भने मान्छे सबैभन्दा पहिले पिङ खेल्ने सम्झिन्छन्, उहीले पिङ बनाउने र खेल्ने चलन निकै थियो, अहिले सबै संस्कृति हटे कसले संरक्षण गर्ने ? युवा पुस्ताले चासो दिएनन् ।” युवाले पिङ हालेपछि युवतीले धजा बान्ने र पछि गएर उनीहरुको विवाहसमेत हुने गथ्र्यो ।

 

पिङमा बाँधेको धजाले सम्बन्धलाई बलियो बनाउने जनविश्वास भएको हुँदा पिङ हाल्ने र धजा बाँध्ने प्रचलन चल्दै आएको बताइन्छ । “ अहिले यो प्रचलन त छँदै छैन, धजा बाँन्दा कोही पनि पिङबाट नलड्ने जनविश्वास पनि थियो”, उहाँले भन्नुभयो ।

 

पिङले आफन्त र धेरै समयदेखि छुटेका सङ्गीसाथीसँग भेटाउने र आत्मियता बनाउने काम गथ्र्यो । सुख, दुःख र वेदनाका कुरा गर्ने अवसर पिङले जुराउथ्यो । उहाँले भन्नुभयो, “अहिले पिङ पनि बनाउँदैनन्, आफन्तसँग भेट हुन पनि पाइँदैन, फोनमा कुरा गर्‍यो , फोनमै भट्यो ।” स्थानीय ७० वर्षीय नरबहादुर क्षेत्रीले विस्तारै समाजका युवाले आधुनिक कला संस्कृतिलाई अँगाल्न लागेपछि पिङप्रति बेवास्ता बढेको बताउनुभयो ।

 

वर्षमा एक चोटी धर्ती छाड्नुपर्छ भन्ने जनविश्वास रहे पनि विस्तारै टुट्दै गएको छ ।

 

मेला महोत्सवमा राखिने आधुनिक प्रविधिको पिङ खेल्न पाइने भएपछि परम्परागत लिङ्गे पिङप्रति चासो हराउन थालेको छ । “बाउबाजेले वर्षमा एक चोटी धर्ती छाड्नुपर्छ भन्नुहुन्थ्यो, यही मान्यता राखेर दसैँमा पिङ हाल्ने र खेल्ने गरिन्थ्यो, अहिले पिङ पनि हाल्दैनन्, उस्तै परे वर्षभरीमा एकपटक पनि धर्ती छोड्दैनन्”, क्षेत्रीले भन्नुभयो, “जमाना फेरिए, मान्छेको आनीबानी पनि फेरियो, मेला महोत्सव लाग्यो भने आधुनिक प्रविधिको बिजुलीबाट चल्ने पिङ खेल्ने गर्छन्, लिङ्गे पिङ त देख्न पनि छोडियो ।”

 

उहाँले  दशैँ आउनुभन्दा एक हप्ता पहिले नै गाउँमाथिको डाँडामा मान्छेहरु जम्मा भएर बाँसको लिङ्गा गाड्ने र बाबियो काटेर लुठो बाट्ने गरेको स्मरण गर्दै अहिले त्यो परम्परा सङ्कटमा परेको बताउनुभयो । उहाँले भन्नुभयो, “ हाम्ले पिङ हालेको ठाउँ अहिले मोटरबाटो पुगेर भत्किएको छ ।”

 

स्थानीय युवा बिमल बुढामगरले पछिल्लो समय आधुनिक पिङको विकासले परम्परागत पिङ ओझेलमा परेको बताउनुभयो । बुढामगर भन्नुहुन्छ, “हामी सानोसानो हुँदा लिङ्गे पिङ धेरै खेल्ने गरिन्थ्यो, अहिले त गाउँमा लुठो बाट्ने मान्छे पनि भेटिन छोडे, युवाले पनि खास्सै चासो नदिएर पनि होला हराउँदै गएको छ ।”

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ईद–उल–अज्हा (बकर इद)–२०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   आज एक शुभकामना सन्दे...

थप पढ्नुहोस्

काठमाडौं: सरकारले भोलि (शनिवार)  इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  सरकारले पर्वको शुभकामना सहित बिदा दिने निर्णय गरेको...

थप पढ्नुहोस्

पोखरा: पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।    अंग्रेजी हिज्जे प्रतियोगितामा आधारभुत तहमा...

थप पढ्नुहोस्