काठमाडौं: आज रातीदेखि उपनिर्वाचनको मौन अवधि सुरु हुदैँछ । बैशाख १० गते हुन गईरहेको उपनिर्वाचनका लागि आज राति १२ बजेबाट मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएकाे हो । निर्वाचन आयोगका अनुसार उपनिर्वाचन प्रयोजनका लागि कुनै पनि खाले प्रचारप्रसार गर्न आज राति १२ बजेबाट पाइने छैन र प्रचार प्रसार गरेको पाईएमा कारवाही हुनेछ । आगामी बैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ ।
काठमाडौं: वैशाख शुक्ल औँसी अर्थात् वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीका अनुसार यो ग्रहण नेपालबाट नदेखिने भएका कारण यसको नेपालमा कुनै दोष पर्दैन । उहाँले यसबाट कुनै राशिका व्यक्तिलाई अशुभ वा शुभको फल प्राप्त नहुने बताउनुभयो । यस दिन दोष नपर्ने भएका कारण बार्नु पनि नपर्ने अधिकारीको भनाइ छ । आगामी कार्तिक ११ गते पूर्णिमाका दिन लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिने उहाँको भनाइ छ । आज लाग्ने ग्रहण चीन, मङ्गोलियालगायत देशबाट मात्र देखिने अधिकारीको भनाइ छ ।
काठमाडौं: भारतको नयाँ दिल्लीमा रहेको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार सुरु भएको छ । उहाँलाई बुधवार बिहान श्री एअरको एअर एम्बुलेन्समार्फत भारत लगिएको थियो । नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्य र डाक्टरले थप उपचारका लागि भारत लैजान सुझाव दिएसँगै पौडेललाई भारत लगिएको हो । राष्ट्रपति पौडेलको छातीमा सङ्क्रमण देखिएको थियो । राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य र सात जना डाक्टरको टोली छ ।
हेटौँडा: कवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका १५ सएफुटस्थित चुरियामाई सामुदायिक वनमा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् । बुधबार बिहान घरबाट करिब दुई सय मिटर पर रहेको चुरियामाई सामुदायिक वनमा बाख्रा चराउने क्रममा बाघले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार बाघको आक्रमण परी घाइते हुनेमा हेटौँडा १५ का वर्ष १७ का सुमन घलान र वर्ष ६५ का कृष्णबहादुर थिङ रहनुभएको हो । घलानको दाहिने कुम, ढाडको बायाँ साइड र छातीमा टोकेको र अवस्था मध्यम रहेको छ । यस्तै, थिङको घाँटीमा गहिरो चोट लागेको र अवस्था गम्भीर छ । दुवै जनाको हेटौँडा अस्पताल मकवानपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान ६ घण्टा उडान र अवतरण अवरुद्ध हुने भएको छ । विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रियतर्फका सबै उडान बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म अवरुद्ध हुने भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढीकरणका लागि विमानस्थलमा सेवा अवरुद्ध हुने भएको हो । विमानस्थलमा विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढीकरण गर्ने सिलसिलामा अनलाइन यूपीएस जडान गरिने भएकाले सेवा अवरुद्ध हुने महाप्रबन्धक तिवारीले सूचना जारी गरेर जनाएका छन् । उक्त समयमा यात्राको कार्यतालिका रहेका यात्रुलाई विमानस्थलले सम्बन्धित विमान सेवा कम्पनीसँग सम्पर्क गरी आवश्यकताअनुसारको व्यवस्था मिलाउन अनुरोध गरेको छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत् भारतको नयाँदिल्ली लगिएको छ । मंगलबार बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार नदेखिएपछि आज बिहान श्री एयरलाइन्सको एयर एम्बुलेन्स मार्फत् नयाँदिल्ली लगिएको हो । उनको उपचार नयाँदिल्लीको एम्स अस्पतालमा हुनेछ । राष्ट्रपति पौडेलसँगै त्रिवि शिक्षण अस्पतालका दुई जना चिकित्सक र एक जना नर्स पनि भारत गएका छन् । यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल १८ चैतमा पाँच दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । त्यसको फलोअपका लागि उनी सोमबार पुनः अस्पताल पुगेका थिए । त्यहाँ उनको पेटको तल्लो भागबाट पानी निकालेर परीक्षणका लागि पठाइएको थियो । इन्फेक्सन नघटेको पाइएपछि उनलाई भारत लगेर उपचार गराउन चिकित्सकहरुले सुझाव दिएका थिए । उनको उपचारमा डा. रोशन शर्मा, दिनेश राई लगायतको टोली सहभागी थियो । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले नर्भिक अस्पतालका चिकित्सकहरुसँग पनि राष्ट्रपति पौडेलको स्वास्थ्यबारे परामर्श गरेका थिए ।
काठमाडौं: केही दिनदेखि बढेको गर्मी अबको तीन दिन घट्ने अनुमान गरिएको छ । आज, भोलि र पर्सि हिजो अस्तिको जस्तो गर्मी नहुने मौसमविद्ले बताएका छन् । मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज दिउँसोपछि पश्चिमी वायुको प्रणाली नेपाल भित्रदैछ । यही प्रणालीका कारण दिउँसोपछि मौसम बद्ली भई पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना छ । आज दिउँसोपछि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसमविद् मानन्धरले जानकारी दिनुभयो । यस्तै, वाग्मती र कोशी प्रदेशका पहाडी क्षेत्रका एक दुई ठाउँमा पनि पानी पर्ने अनुमान छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका जिल्लामा तीब्र गतिमा हावाहुरी चल्ने अनुमान गरिएको छ । आज भन्दा भोलि र पर्सि पश्चिमी वायुको प्रभाव धेरै पर्ने देखिएको मौसमविद् मानन्धरले बताउनुभयो । उहाँका अनुसार भोलि र पर्सि देशभर नै मौसम बद्ली हुने अनुमान छ । यसले गर्दा तापक्रम केही घट्ने अनुमान छ । केही दिनदेखि पानी नपर्दा र डढेलो लगायतका कारण तापक्रम ह्वात्तै बढ्दा जनजीवन प्रभावित भएको छ । खासगरी तराईका जिल्लामा गर्मी र तातो हावाको असर देखिन थालेको छ । हिजो भैरहवाको अधिकतम तापक्रम ४२ दशमलव ४ डिग्री सेल्सियस पुगेको थियो । यस्तै, जनकपुरको ४० दशमलव ८, नेपालगञ्जको ४० दशमलव ५ र सिमराको ४० दशमलव ३ डिग्री सेल्सियस पुगेको थियो । दीपायल, धनगढी र विराटनगरको अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस भन्दा धेरै छ । आज दिउँसोसम्म गर्मी भए पनि दिउँसो पछि भने मौसम बद्ली भई धेरै ठाउँमा शीत्तल हुने अनुमान गरिएको छ ।
तनहुँ: तनहुँ-१ मा हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले यही वैशाख १० मा हुन लागेको उपनिर्वाचनका लागि एक सय ५२ मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत नियुक्त गरेको हो । नियुक्त भएका मतदान र सहायक मतदान अधिकृतका लागि आज वैशाख ५ र ६ गते अभिमुखीकरण प्रदान गरिने निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो । अभिमुखीकरण पश्चात् ७ गतेबाट मतदान अधिकृतलाई आवश्यक सामग्रीसहित सम्बन्धित मतदान केन्द्रमा खटाइने ढकालले बताउनुभयो । “सदरमुकामबाट टाढा दूरीमा रहेका मतदान केन्द्रमा ७ गतेबाटै आवश्यक सबै सामग्री दिएर कर्मचारी खटाउँछौ,” ढकालले भन्नुभयो । कुल एक सय ५२ मतदान केन्द्रमध्ये १६ मतदान केन्द्रमा महिलालाई जिम्मेवारी दिइएको छ । भानु नगरपालिकामा कार्यरत भगवती शर्मालाई भानु-२ स्थित होमराज लोहनी शारदा शिक्षा सदन, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा कार्यरत पार्वती पौडेललाई भानु-३ स्थित मस्र्याङ्दी आधारभूत विद्यालय, कृषि विकास बैंकमा कार्यरत रसिला श्रेष्ठलाई भानु-६ स्थित पड्केपसल आधारभूत विद्यालय (ख), शुक्लागण्डकीमा कार्यरत दुर्गा अधिकारी तिमिल्सिनालाई व्यास-२ स्थित सत्यवती माध्यमिक विद्यालय (ख), तनहुँ अदालतमा कार्यरत देवी भण्डारी चापागाईँलाई सत्यवती माध्यमिक विद्यालय (ग) मतदान केन्द्रमा मतदान अधिकृतको जिम्मा दिइएको छ । शुक्लागण्डकीमा कार्यरत मञ्जु सुवेदीलाई व्यास-४ स्थित मदर्शा आधारभूत विद्यालय (ग), सडक डिभिजन कार्यालयमा कार्यरत बबिता शर्मालाई व्यास-७ स्थित पञ्चज्योति आधारभूत विद्यालय (ख), शुक्लागण्डकीमा कार्यरत अस्मिता सुवेदीलाई पञ्चज्योति आधारभूत विद्यालय (ग), व्यासमा कार्यरत कल्पना खनाललाई आँबुखैरेनी-३ स्थित रामशाह माध्यमिक विद्यालय (ख), भानुमा कार्यरत सरस्वती गुरुङ ढकाललाई बन्दीपुर-१ स्थित विष्णु माध्यमिक विद्यालय (ख) केन्द्रमा मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । आँबुखैरेनीमा कार्यरत निर्मला कँवरलाई बन्दीपुर-१ स्थित पवित्रा माध्यमिक विद्यालय (ख), तनहुँ अदालतमा कार्यरत लक्ष्मी रिमाल पराजुलीलाई बन्दीपुरस्थित भानु माध्यमिक विद्यालय (ख), भिमादमा कार्यरत टेकावती ढकाललाई बन्दीपुरस्थित दिल आधारभूत विद्यालय (ख), व्यासमा कार्यरत सावित्री आचार्य कोइरालालाई बन्दीपुरस्थित जगदीश्वर आधारभूत विद्यालय (ख), व्यासमा कार्यरत लक्ष्मी गुरुङलाई बन्दीपुरस्थित चन्द्रोदय आधारभूत विद्यालय (ख) र देवघाटमा कार्यरत पुष्पादेवी बरामलाई व्यासस्थित जलदेवी माध्यमिक विद्यालय (ङ) केन्द्रमा मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति बन्नुभएपछि यस क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि विसं २०८० वैशाख ९ गतेसम्म १८ वर्ष पूरा हुने एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।RSS
पोखरा: म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौर घैयारामा बुलेट बाइकको ठक्करबाट चितुवाको मृत्यु भएको छ । बागलुङदेखि बेनीतर्फ आउँदै गरेको बा २ प ४०७१ नम्बरको बुलेट बाइकले बेनी नगरपालिका १ घैयारामा सडक माथिबाट एक्कासी आएको चितुवा बाइकसँग ठोक्किदा चितुवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी किरण लामाले जानकारी दिए । ‘आज साँझ अन्दाजी ७ः१० बजेको समयमा बागलुङदेखि बेनी तर्फ आउँदै गरेको बुलेट बाइकसँग रत्नेचौरको घैयारामा सडक माथिबाट एक्कासी आएको चितुवा बाइकसँग ठोक्किदा चितुवाको मृत्यु भएको हो, ‘लामाले भने, बाइकको ठक्करबाट चितुवाको मृत्यु भएपनि बाइकमा सवार दुईजना सामान्य रहेका छन् ।’ बाइकको ठक्करबाट मृत्यु भएको चितुवालाई मुचुल्का उठाएर डिभिजन वन कार्यालय म्याग्दी लगिएको छ ।