काठमाडौंः चार दिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कदै हुनुहुन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो । दिल्लीको भ्रमण सकेपछि विशेष विमानमार्फत इन्दौर प्रस्थान गर्नुभएको प्रधानमन्त्री नयाँ दिल्ली भएरै आज (शनिबार) स्वदेश फर्कन लाग्नुभएको हो । भ्रमणका क्रममा द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धलाई थप सबल बनाउने प्रतिबद्धता दुवै देशले व्यक्त गरेका छन् । सो अवसरमा दुई प्रधानमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र सहकार्यका व्यापक क्षेत्रबारे समीक्षा भएको छ । व्यापार र पारवहन, जलविद्युत, ऊर्जा व्यापार र प्रसारण लाइन, अन्तरदेशीय रेल्वे, पक्की पुल, पेट्रोलियम पाइपलाइन र एकीकृत जाँच चौकी, सिँचाइ, बाढी नियन्त्रण, कृषि, संस्कृति तथा नागरिक उड्डयनलगायत क्षेत्रबारे समीक्षा भएको हो । समानता, आपसी सम्मान र आपसी विश्वासका आधारमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा सवल बनाउने प्रतिबद्धता व्यक्त भएको छ । दुवै पक्षबीच निर्माणाधीन परियोजनाको समीक्षा गर्दै ती परियोजना निर्धारित समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिइएको छ । प्रधानमन्त्री प्रचण्डले पनि चार दिने भारत भ्रमण पूर्ण रूपमा सफल भएको बताउनुभएको छ ।
पोखरा: सृजना माध्यामिक विद्यालय पोखरा–८ मा युवा रेडक्रस सर्कस गठन भएको छ । विद्यार्थीलाई मतदान गर्ने अभ्यास गराउँदै निर्वाचन मार्फत नै युवा रेडक्रस सर्कलमा नयाँ नेतृत्व चयन गरिएको हो । शुक्रबार विद्यालयमा भएको निर्वाचनमा युवा रेडक्रस सर्कलको अध्यक्षमा १५३ मतसहित अप्सन बरुवाल निर्वाचित भए् । सचिवमा २३५ मतसहित स्वस्तिक सिंह, सह–सचिवमा १९२ मतसहित कृष ज्वार्चन, कोषाध्यक्षमा १९५ मतसहित अस्विना केसी र सह–कोषाध्यक्षमा ९२ मतसहित अंकित क्षेत्री निर्वाचित भएका निर्वाचन अधिकृत मीनप्रसाद प्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार सदस्यमा विधान सुवेदी, सचिन थापा, राजश्री अधिकारी र अविसेक पौडेल निर्वाचित भएका छन् । सुवेदीले ३३६, थापाले १५१, अधिकारीले १३९ र पौडेलले १०६ मत ल्याएर निर्वाचित भएका हुन् । अध्यक्षमा ६, सचिवमा ७, सहसचिवमा ६, कोषाध्यक्षमा ८, सह–कोषाध्यक्षमा ११ र सदस्यमा ३८ जनाले मनोनय दर्ता गरेका थिए । पादाधिकारी र ४ सदस्य सहित ११ सदस्यीय समितिका लागि ७६ जना विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । नेतृत्व चयनका लागि ६ सय ५० विद्यार्थी मतदाता रहेकोमा ६४१ मत खसेको थियो । त्यस मध्ये १६ मत बदर भएको र ६२५ मत सदर भएको निर्वाचन अधिकृत तिवारीले बताए । सर्कलको पदाधिकारी र सदस्यका लागि धेरै विद्यार्थी इच्छुक देखिए पछि निर्वाचनबाट नेतृत्व चयन गरिएको विद्यालयका निर्देशक सिता पाण्डेले बताइन् । कक्षा ४ देखी १० सम्मका विद्यार्थी मतदानमा सहभागी भएको पाण्डेले बताइन् । प्राविधिक कारणले निर्वाचनमा सहभागी हुन नसकेका कक्षा ११ र १२ का विद्यार्थीमध्यबाट समितिको उपाध्यक्ष र एक सदस्यमा मनोनय गरिने पाण्डेले जानकारी दिइन् । मतदानको अघिल्लो दिन बिहिबार उम्मेद्वार बनेका विद्यार्थीहरुले मतदातासंग आफ्नो एजेन्डा सहित मत मागेका थिए । निर्वाचनका लागि ३ वटा मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको थियो । पदाधिकरीका लागि र सदस्यका लाग छुट्टाछुट्टै मतपत्र बनाइएको थियो । विद्यालयका संस्थापक प्राचार्य डोलराज पाण्डेले युवा रेडक्रस सर्कल गठनका माध्यमबाट विद्यालय तहमा बालबालिकालाई निर्वाचनको महत्व, भोट गर्ने तरिका र निर्वाचन प्रकृयाको बारेमा शिक्षा दिन सफल भएको बताए ।
पोखरा: नेपाल सुटिङसंघ गण्डकी प्रदेशको तदर्थ समिति गठन भएको छ । सो समिति, नेपाल सुटिंग संघको प्रतिनिधि एवं ओलम्पीयन भगवती खत्रीको संयोजन तथा गण्डकी प्रदेश प्रतिनिधि ऋषिराम गौतमको उपथितिमा गठन भएको हो । प्रदेश खेलकुद परिषदको सभाहलमा सम्पन्न सो कार्यक्रममा गण्डकी प्रदेश अन्तरगतका पाँच जिल्लाहरु (कास्की, म्याग्दी, पर्वत र स्याङजा, बाग्लुङ)को प्रतिनिधिहरु एवं खेलाडीहरु को उपस्थिति रहेको थियो । उक्त समितिमा सदस्यहरुमा भगवती खत्री (बाग्लुङ), राम नारायण श्रेष्ठ (कास्की), गोपाल के.सी. (म्याग्दी), सन्दिप गाहा (पर्वत), खम्वा गुरुङ (स्याङजा), राजु श्रेष्ठ (कास्की), आशिक राजभण्डारी (बाग्लुङ), सुर्य बहादुर थापा (स्याङजा) र लक्ष्मी साही (पर्वत) रहेका छन् ।
काठमाडौं: नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित आज (शुक्रबार) तीन जनाको बयान जिल्ला अदालत काठमाडौंमा सुरु भएको छ । बिहान ११ बजेदेखि पूर्वगृहमन्त्री खाण, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल तथा हरिभक्त महर्जनको बयान सुरु भएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद आङटावा शेर्पा र हज कमिटीका अध्यक्ष शमशेर मियाँको बिहीबार बयान सकिएको छ । आरोपितमध्ये बिहीबारसम्म १५ प्रतिवादीले बयान दिइसकेको सूचना अधिकारी दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “सो प्रकरणमा मुछिएकाहरूको बयान यही जेठ १२ गतेदेखि सुरु गरिएकोमा आज तीन जनाको बयान भइरहेको ।” नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितमध्ये १८ जना पक्राउ परेका छन् भने १२ जना अझै फरार रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
काठमाडौं: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का कर्मचारीहरू सवार गाडी सुनकोशी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् । शुक्रबार बिहान सिटिइभिटीका कर्मचारी सवार बा १ झ ७४६७ नम्बरको जिप भक्तपुरबाट खोटाङतर्फ जाँदै गर्दा सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ७ लौकुनको ओरालोमा दुर्घटना हुँदा नदीमा खसेको हो । उद्धारका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट टोली खटाइएको नेपाल प्रहरीका एसपी राजकुमार सिलवालले जानकारी दिए । जिपमा चार जना सवार रहेका र एक जना जीवितै सुनकोशी नदीबाट निस्कन सफल भए पनि बाँकी तीन जनाको अवस्था अज्ञात रहेको उनले बताए । बेपत्ता हुने कर्मचारीमा कृष्णबहादुर केसी, यमप्रसाद भुतेल र भानु पौडेल छन् । उनीहरु सबै अधिकृत स्तरको कर्मचारी रहेको प्रहरीको भनाइ छ । बेपत्ता सबै जनाको खोजीका लागि जिल्लाबाट प्रहरी टोली पठाइएको उनले बताए ।
काठमाडौं: भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मध्यप्रदेशको इन्दोर पुगेका छन् । उनी नयाँदिल्लीबाट विशेष विमानमार्फत् इन्दोर पुगेका हुन् । इन्दोरमा उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहान लगायतका उच्च अधिकारीहरुले स्वागत गरेका थिए । प्रधानमन्त्री प्रचण्डको स्वागतमा सहभागीहरु नेपाल–भारतका झण्डासहित उपस्थित भएका थिए । साँस्कृतिक टोलीले परम्परागत पोशाकसहित नृत्य प्रस्तुत गरेका थिए । इन्दोरका सडक किनार, मुख्य चोक र विद्युतका पोलहरुमा प्रचण्डको स्वागतमा उनको तस्वीरसहित ब्यानर र बोर्डहरु राखिएका छन् । अहिले इन्दोरबाट प्रधानमन्त्री प्रचण्ड उज्जैनतर्फ प्रस्थान गरेका छन् । उनले इन्दोरमा रहेको फोहोर व्यवस्थापन प्लान्टको भ्रमण गर्ने कार्यक्रम छ । इन्दोरको फोहोर व्यवस्थापन नमूनायोग्य मानिन्छ । इन्दोर भारतको सबैभन्दा सफा र फोहोर व्यवस्थापनमा उत्कृष्ट सहरको रुपमा चिनिन्छ । बेलुका उनी मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन् । प्रधानमन्त्री प्रचण्डले इन्दोरमा भाजपाका नेताहरूसँग भेटघाट गर्ने सम्भावनासमेत छ । प्रधानमन्त्री प्रचण्डले शनिबार जेठ २० गते इन्दोरमा रहेको विशेष आर्थिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ । सोही दिन दिउँसो १ बजे प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली फर्किने र अपराह्न ४ः२० बजेको नेपाल एयरलाइन्सको उडानबाट काठमाडौं फर्किने छन् । भारतको चारदिने भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डल जेठ १७ गते नयाँदिल्ली गएको थियो । प्रधानमन्त्री प्रचण्डले जेठ १९ गते प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु लगायतसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्री मोदीसँगको भेटका क्रममा नेपाल र भारतबीच विभिन्न सात सहमतिमा हस्ताक्षर भएको थियो । ऊर्जा, पारवहन लगायतका क्षेत्रमा भएको सहमति ‘ऐतिहासिक’ भएको प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।
चितवन: मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडक खण्डको स्तरोन्नतिको काम थालिएको हो । ३९ किलोमिटर लामो सडक निर्माणको जिम्मा पाएको शर्मा जेडआईसीजी जेभीले सडक विस्तार र स्तरोन्नति गर्न थालेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड का प्रमुख किरण कार्कीले जानकारी दिनुभयो । पहिलो चरणमा पाँच किलोमिटरमा काम भइरहेको छ । चितवनतर्फ १७ किलोमिटर र धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति हुनेछ । सडक विस्तार र स्तरोन्नतिपछि न्यूनतम नौ मिटर कालोपत्र हुनेछ । बजार क्षेत्रमा भने चारदेखि छ लेनको सडक निर्माण हुने कार्कीले जानकारी दिनुभयो । बजार क्षेत्रमा फुटपाथ, डिभाइडर र बत्तीको पोलसमेत निर्माण गरिने छ । यो खण्डमा पुल निर्माणका लागि त्यही कम्पनीसँग सम्झौता भएको छ । काम पनि सँगै सुरु भइसकेको छ । मलेखुसम्म छ पुल निर्माण हुनेछन् । गोमती, चरौदी, खटौटी, हुग्दी, मौवा र बारबाङ खोलामा नयाँ पुल बन्नेछन् । खटौटीमा पुल निर्माण अघि बढेको छ । यो खण्डमा १० ठाउँमा आकाशे पुल निर्माण गरिनेछन् । आयोजनाको यो खण्ड चार अर्ब ८० करोड रुपैयाँको लागतमा विस्तार र स्तरोन्नति गर्न लागिएको हो । केही ठाउँमा रुख काट्न बाँकी छ । यो खण्डमा करिब तीन सय ५० रुख काटिने छन् । ुयो सडक खण्ड निर्माण गर्दा पहाड काट्नेभन्दा पनि नदी किनारमा पर्खाल उठाउने कुरालाई प्राथमिकता दिएका छौँु, उहाँले भन्नुभयो, ुपहाड काट्दा सधैँ पहिराले दुःख दिने सम्भावना हुन्छ ।ु सडक विस्तार र स्तरोन्नतिपछि कम्तीमा सडक २० वर्ष टिक्ने गरी डिजाइन भएको आयोजनाले जनाएको छ । काठमाण्डौ प्रवेश गर्ने र बाहिरिने मुख्य मार्ग भएका कारण पनि यसलाई निर्धारित समयमै सम्पन्न गर्नका लागि आयोजनाले तीव्रगतिमा काम अघि बढाएको छ । विश्व बैंकको आर्थिक सहयोगमा यो राजमार्ग विस्तारको काम थालिएको हो । यसका लागि सरकार र विश्व बैंकबीच सन् २०२० मा सम्झौता भएको थियो । नागढुङ्गा–नौबिसे खण्ड र नौबिसे–मलेखु खण्डमा पनि सडक विस्तारको काम भइरहेको छ ।
काठमाडौं: आज दरबार हत्याकाण्ड भएको २२ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै नाश हुनेगरी राजपरिवारका सबै सदस्यको एकै ठाउँमा हत्या भएको थियो । हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतीसहितको निधन भएको थियो । घटनापछि तत्कालीन सरकारद्वारा गठित समितिले छानबिनपछि तयार पारेको प्रतिवेदनले घटना तत्कालीन युवराज दीपेन्द्रबाटै भएको ठहर गरे पनि यसलाई धेरैले विश्वास गरेका छैनन् । २२ वर्ष बित्दासम्म पनि हत्याकाण्डको तथ्य अझै बाहिर आउन सकेको छैन । हत्याकाण्ड भएको नारायणहिटी दरबारलाई अहिले सङ्ग्रहालय बनाइएको छ ।
पोखरा: फेवातालको सिमसार क्षेत्र पुर्ने काम तत्कालका लागि रोक्न उच्च अदालत पोखराले अन्तरिम आदेश जारी गरेको छ। अधिवक्ता मनोज घर्ती मगरले दायर गरेको रिटमा उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराम आचार्यको एकल इजलासले विभिन्न पाँचबुँदे अन्तरिम आदेश जारी गरेको हो। रिटमाथिको प्रारम्भिक सुनुवाइमा रिट निवेदक अधिवक्ता मगर, वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगर, अधिवक्ता मिलन आले, अधिवक्ता रच्चु आलेले बहस गरेका थिए। उच्चले रिट निवेदनको अन्तिम टुंगो नलागुन्जेलसम्म टिपरबाट माटो बोकेर फेवातालको सिमसार र रामसार पुर्ने काम रोक्न अन्तरिम आदेश दिएको हो। “पोखरा महानगरपालिकाद्वारा देवेन्द्र केसीका नाउँमा मिति २०७९/११/२ मा कृषि प्रयोजनका लागि डोजर चलाउन च.नं। ५१२८ को पत्रद्वारा दिएको २ दिनको अख्तियारीको अवधि तत्काल नै समाप्त भइसकेको र सो अख्तियारी (स्वीकृत)का आधारमा डोजर चलाउने कार्यलाई निरन्तरता दिनु कानून विपरीत हुने हुँदा प्रस्तुत आदेशको प्रतिलिपि प्राप्त हुँदासाथ पुण्यप्रसाद पौडेलको संयोजकत्वमा गठित समितिले मिति २०७७/११/१८ मा दिएको प्रतिवेदनमा उल्लेखित फेवातालको चार किल्ला (सिमाना) भित्र कुनै प्रकारको व्यक्तिगत वा संस्थागत निर्माण कार्य गर्न नदिनु र कुनै पनि प्रकारले डोजर चलाउने कार्य हुन नदिई हाल जे जस्तो अवस्थामा छ सोही अवस्थामा कायम राख्नु,” आदेशमा भनिएको छ, “उल्लिखित क्षेत्रलाई तत्कालका लागि निर्माण निषेध क्षेत्र घोषणा गरी सो क्षेत्रमा अनधिकृत रूपमा प्रवेश गर्ने डोजर टिपरलाई नियन्त्रणमा लिई सम्बन्धित चालकहरूको सम्बन्धमा समेत प्रचलित कानून बमोजिम कारबाही गर्नु गराउनु भनी विपक्षी मध्येको पोखरा महानगरपालिकामा लेखी पठाउनु।” उच्चले जारी गरेको आदेशमा सिमसार क्षेत्र पुर्ने काम तत्काल रोक्नका लागि प्रहरी निरीक्षकको नेतृत्वमा आवश्यक सुरक्षा व्यवस्था मिलाउन भनिएको छ। साथै, प्रदेश वातावरण ऐन २०७६ को दफा ५ बमोजिम वातावरण संरक्षण तथा जलवायु प्रदूषण परिवर्तन परिषद् गठन गर्ने र सो परिषद्लाई प्रभावकारी बनाउन लिखित जवाफ पेश गर्नुअघि नै सोको प्रतिलिपि देखाउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आदेश दिइएको छ। गण्डकी प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई तालको अवस्थाबारे जाँच गर्न समिति गठन गर्ने आदेश दिएको छ। त्यस्तै, विपक्षीका नाममा कारण देखाऊ आदेशसमेत जारी गरेको छ। साथै आदेशमा अग्राधिकार पाउने गरी पेशी व्यवस्थापन गर्न समेत भनिएको छ। रिटमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री सुरेन्द्र पाण्डे, गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पोखरा र मन्त्री दीपेन्द्रबहादुर थापा, ताल संरक्षण तथा विकास प्राधिकरण प्रमुख कल्पना देवकोटा, पोखरा महानगरपालिकाको कार्यालय र नगरप्रमुख धनराज आचार्यसमेतलाई विपक्षी बनाइएको छ। रिट निवेदक अधिवक्ता मगरले रिटमा फेवातालको सिसमार क्षेत्र प्रदेश सरकार र सरकारका निकाय तथा पोखरा महानगरपालिकाले संरक्षण नगर्दा अहिलेको अवस्था आएको जिकिर गरेका छन्। वातावरणमा प्रतिकूल असर पर्ने, प्रदूषण बढ्ने, वर्षादीको कमी हुँदा राज्यले विश्वसमुदायसँग गरेको प्रतिबद्धता पूरा नहुने, वातावरणीय सन्तुलनमा समेत असर पर्ने भएकोले अन्तर्राष्ट्रिय रूपमा सूचिकृत सिमसार क्षेत्र फेवातालको अहित हुने र वातावरण एवं जैविक विविधतामा असर पार्ने काम भइरको रिटमा उल्लेख छ। उकालो