काठमाडौं: हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले बदली र वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार आज सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहनुका साथै गण्डकी, कोशी र बागमती प्रदेशको केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ ।
काठमाडौं: मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडिओ सार्वजनिक भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले चुनावको मुखमा उक्त अडिओ सार्वजनिक हुनु पार्टीविरूद्धको षडयन्त्र भएको बताएका छन्। बुधबार साँझ उनका बारेमा निर्णय गर्न रास्वपा केन्द्रीय समितिको बैठक बसिरहेका बेला रास्वपा मुख्यालयमा श्रेष्ठले पत्रकार सम्मेलन गरेका हुन्। ‘जनवरीमा कुराकानी भएको अडिओ अहिले ल्याएर हाल्नु सुनियोजित हो, यो हाम्रो पार्टीलाई चारैतिरबाट प्रहार गर्न खोजेको हो। तीन वटै निर्वाचन क्षेत्रमा हराउन खोजेको हो,’ उनले भने,‘यो एउटा सुनियोजित योजना हो।’ उनले यो विषयमा आफू अदालत गइसकेको र छिट्टै क्लिनचिट ल्याएर आउने दाबी गरे। उक्त अडिओ आफ्नो नभएको र एडिट गरेर बनाइएको पनि उनको दाबी छ। पत्रकारले सोधेका प्रश्नको भने श्रेष्ठले जवाफ दिएनन्।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सुरू भएको छ । रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले पार्टी कार्यालय धुमबाराहीमा बसेको केन्द्रीय समितिको बैठकले सांसद ढाकाकुमार श्रेष्ठको विषयमा निर्णय गर्ने जानकारी दिए। पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद श्रेष्ठको अडियो टेप प्रकरणसम्बन्धी प्रतिवेदन मंगलबार नै पार्टी सभापति रवि लामिछानेलाई बुझाएको थियो । बैठकपछि आज नै पत्रकारसम्मेलन गरी सांसद श्रेष्ठबारे पार्टीको निर्णय सुनाउने प्रमुख सचेतक परियारले जानकारी दिए। रास्वपा सांसद श्रेष्ठले आफू स्वास्थ्य मन्त्री बन्नका लागि व्यापारी दुर्गा प्रसाईसँग २ करोड घुस मागेको अडियो सार्वजनिक भएको छ।
काठमाडौं : कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप एक संक्रमितको मृत्यु भएको हो। मंगलबार पनि तीन महिनापछि एक संक्रमितको मृत्यु भएको थियो। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार २२ पुगेको छ। त्यस्तै पछिल्लो २४ घन्टामा थप १२१ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि ६२० जनाको पीसीआर परीक्षण गर्दा ५८ र १७५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै ८१ जना कोरोनामुक्त भएका छन्। नेपालमा सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ।
काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। बुधबार गृह मन्त्रालयमा भएको भेटवार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को आसन्न भारत भ्रमण, नेपाल-भारत ऐतिहासिक सम्बन्ध, निरन्तरको सहकार्य र सीमा सुरक्षालगायतका विषयमा छलफल भएको छ। उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यक्रम छिट्टै तय हुने र आफ्नो तथा वर्तमान सरकारको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप घनिष्ट हुने विश्वास व्यक्त गरे। उनीहरूबीच सीमा व्यवस्थापन र सीमापार अपराध नियन्त्रणजस्ता संवेदनशील विषयमा समेत खुला छलफल हुनुपर्ने धारणा उपप्रधानमन्त्री श्रेष्ठले राखेका थिए। भर्खरै रुपन्देही भ्रमण गर्दा एउटा 'बोर्डर आउटपोस्ट' निरीक्षण गरेको र सो क्रममा आफूले दुई देशका सुरक्षा निकायबीच राम्रो समन्वय र सहकार्य रहेको देखेको उनले बताए। प्रधानमन्त्री प्रचण्डको प्रस्तावित भारत भ्रमणको कार्यक्रम मिलाउन आफू क्रियाशील रहेको राजदूत श्रीवास्तवले बताए। गृहमन्त्रीजस्तो चुनौतीपूर्ण जिम्मेवारी सफलताका लागि बधाई दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुँदाको सहकार्यका लागि उपप्रधानमन्त्री श्रेष्ठलाई धन्यवाद व्यक्त गरे। भेटवार्तामा सीमामा नियमित वारपार गर्ने नागरिकले अपराधीजस्तै व्यवहारको सामना गर्नु नपरोस् भनेर दुबै पक्ष संवेदनशील हुनुपर्ने राजदुत श्रीवास्तवले बताए। नेपालगञ्ज- रुपेडिया, भैरहवा-सुनौली तथा दोधारा-चाँदनीमा 'इन्टेग्रेटेड चेकपोस्ट' बनाउने विषयमा समेत छलफल भएको थियो। गत वर्ष भारतको नयाँ दिल्लीमा सम्पन्न 'ज्वाइन्ट वर्किङ ग्रुप अन बोर्डर म्यानेजमेन्ट'को बैठकमा कतिपय सीमा नजिकका स्थानमा विकास निर्माणका सम्बन्धमा रहेको विवादलाई थप छलफल गरेर टुङ्ग्याउने सहमति भएको र त्यसका लागि भारतीय पक्ष तयार रहेको समेत राजदूत श्रीवास्तवले बताए। भारतीय सहयोगमा बन्ने नयाँ पुलिस एकेडेमी उच्च गुणस्तरको हुने र निर्धारित समयमै सम्पन्न हुने बताउँदै राजदूत श्रीवास्तवले नेपाल प्रहरी, सशस्त्र प्रहरीजस्ता नेपाली सुरक्षाकर्मीको तालिम तथा क्षमता विकासको कार्यक्रमलाई भारतले सधैं प्राथमिकता दिएको बताए।
काठमाडौं : वैदेशिक रोजगारीका लागि अमेरिका तथा दक्षिण कोरिया पठाइदिने भन्दै करोडौं रकम ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नम्बर १४ स्थायी घर भएका हाल बुढानिलकण्ठ बस्ने ४२ वर्षीय पवन राणा रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए। सूचना अधिकृत प्रहरी उपरीक्षक राठोरका अनुसार पक्राउ परेका राणाले सयौं व्यक्तिलाई वैदेशिक रोजगारीका लागि सहजै अमेरिका र दक्षिण कोरिया पठाइ दिने भन्दै पीडितबाट करोडौं रकम लिइ सम्पर्कविहीन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ।
काठमाडौं: सगरमाथा आरोहणका क्रममा आज बुधबार बिहान हिमपहिरोमा परेर तीनजना शेर्पाको मृत्यु भएको छ । क्याम्प एकभन्दा तल पाँच हजार ७ सय मिटरको खुम्बु आइसफलमा हिमपहिरोमा परी खुम्बु पासाङ गाउँपालिका ५ का तेम्वा तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पाको मृत्यु भएको सगरमाथा आधार शिविरबाट लाक्पा शेर्पाले जानकारी दिनुभयो । मृतकको उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टरबाट प्रयास गरिए पनि शव निकाल्न नसकिएको उद्धारकर्ता शेर्पाले बताउनुभयो । क्याम्प १ तर्फ जानेक्रममा एक्कासि हिमपहिरो आएपछि तीनै जना शेर्पा करिब ५० मिटर तल बगेर पुरिएपछि शव निकाल्न नसकिएको शेर्पाले जानकारी दिनुभयो । इमाजिन ट्रेक प्रालिबाट हिमाल आरोहणका लागि तीनै जना शेर्पाहरू गाइडको रूपमा चुचुरोतर्फ हिँडेका थिए ।
काठमाडौं : संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न सांसदहरूले जोड दिएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा अधिकांश सांसदहरूले निजामती सेवा ऐन ल्याउन सरकारले ढिलासुस्ती गरेको भन्दै आपत्ती जनाए। सांसद् राजेन्द्र पाण्डेले संघीय निजामती सेवा ऐन ल्याउन सरकारले ढिलासुस्ती गरेको बताए। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई प्रश्न गर्दै सांसद् पाण्डेले संघीय निजामती सेवा ऐन कति गते ल्याउनुहुन्छ ? भन्दै प्रश्न गरे । पाण्डेले भने,‘ऐन ल्याउन अझै ढिला गर्न खोज्दै हुनुहुन्छ जस्तो लाग्यो ? अझै तयारी नपुगेको जस्तो लाग्यो मलाई । तपाईंले प्रशासनिक प्रमुख पठाउन गाह्रो भयो भन्नुभयो । बागमती प्रदेशमा गाह्रो भएको त देखिदैन । ’ यस्तै रास्वपा सांसद् सुमना श्रेष्ठले कर्मचारीलाई उत्प्रेरणा दिन सरकारले के गरिरहेको छ ? भन्दै प्रश्न गरिन् । अतिरिक्त बजेटबाट कति जनाको तलब जाँदैछ ?, कर्मचारीलाई मोटिभेसनको प्रोसेस के छ ?, कुनै ठाउँमा कर्मचारीलाई पठाउँदा टीवआर दिन्छौं की दिदैनौं ? भन्दै प्रश्न गरिन् । मुल्यांकन फर्म सबै मन्त्रालयमा एउटै प्रकृतीको भएको भन्ने सुनिएको बारे स्पष्ट पार्न आग्रह गरिन् । उनले सुगम र दुर्गममा कर्मचारी पठाउने मापदण्डबारे जिज्ञासा राखिन् । सांसद् महेश बर्तौलाले निजामती कर्मचारीले अहिले पनि कालोपट्टी बाँध्नुपर्ने अवस्था आएको भन्दै यो अवस्थाको अन्त्य कहिले हुने भन्ने प्रश्न गरे । सांसद् ज्ञानेन्द्र शाहीले कर्मचारी जनताको कि पार्टीको भन्दै प्रश्न गरे । शाहीले कर्मचारीले तलब खाएर राजनीति गर्दै आएको भन्दै कर्मचारीमाथिको विभेद अन्त्य गर्न आवश्यक रहेको बताए । यस्तै नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले संघीय निजामती सेवा ऐन संसदमा कहिले पेश गर्ने भन्दै प्रश्न गरे।
काठमाडौं: नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको घटनामा थप एक जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली शरणार्थी बनाउने गिरोहका थप एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सन्देश शर्मा छन्। उनलाई कार्यालयको टोलीले बुधबार दिउँसो पक्राउ गरेको हो। नेपालीलाई भुटानी शरणार्थी बनाएर पठाउने घटनामा सन्देश शर्माको पनि प्रमुख भूमिका रहेको अनुसन्धानमा संलग्न प्रहरीले बताएको छ। यसअघि कार्यालयकै टोलीले केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ र सागर राईलाई पक्राउ गरेको थियो। उनीहरूले विभिन्न व्यक्तिहरूबाट ५ देखि ४५ लाखसम्म रुपैयाँ उठाएर भुटानी शरणार्थी बनाएर विदेश पठाइदिने आश्वासन दिएको आरोप छ। गिरोहले यसरी करोडौं रकम उठाएको अनुसन्धानमा संलग्न प्रहरीले बताएको छ। भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै ठगी गरेको उजुरी परेपछि कार्यालयले अनुसन्धान अघि बढाएको थियो। यसको थप अनुसन्धान जिल्ला प्रहरी परिसर काठमाडौंबाट भइरहेको छ। २०७६ सालमा गृह मन्त्रालयले भुटानी शरणार्थीको पहिचान गर्न गृह मन्त्रालयका सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदल बनेको थियो। उक्त कार्यदलले छुटेका भुटानी शरणार्थीको पहिचान गरेको थियो। परिसरले उक्त कार्यदलको प्रतिवेदन मन्त्रालयसँग मागेको थियो। गृहले मंगलबार उक्त प्रहरीलाई उपलब्ध गराएको छ। ‘आरोपीहरूसँग यसअघि नै भएको प्रतिवेदन र गृहको प्रतिवेदन भिडाएर हेर्ने काम भइरहेको छ,’ स्रोतले भन्यो।