पोखरा: भारतले अनुदानमा दिएको १५ मुर्रा राँगा ७ वटा पोखरा आइपुगेका छन् । नेपालले पाएका १५ राँगामध्ये पोखरालाई ७ वटा पोखरा आइपुगेका हुन् । पोखराको राष्ट्रिय पशु प्रजनन कार्यालयमा ७ वटा राँगा राखिएको छ । नेपालगन्जबाट बुटवल पाल्पा हुँदै पोखरा ल्याइएको राँगालाई प्रजनन कार्यालयमा ल्याएको हो । सबै राँगा करिब १ महिना क्वारेन्टिनमा राखिने र त्यसपछि मात्रै वीर्य सङ्कलनमा लगिने कार्यालय प्रमुख डा.जगदीश पाण्डेले बताए । उन्नत जातका मुर्रा राँगोबाट एकै पटकमा ३ सय डोज हाराहारी वीर्य सङ्कलन हुन्छ । १ वर्षमा १५ देखि २० हजार डोज सङ्कलन हुने पाण्डेको भनाई छ । ‘यो निकै नै उन्नत जातको राँगो हो । नेपालमा अहिले भइरहेका भन्दा निकै उन्नत,’ उनले भने, ‘नेपालमा भएका मुर्राबाट क्रस गराउँदा जन्मिने भैँसीले एक बेतमा एभरेज १५ सय केजी दूध उत्पादन हुन्छ । यो राँगाबाट क्रस गराउँदा ३ हजार केजी भन्दा बढी दूध उत्पादन दिन्छ ।’ नश्ल सुधारमा कार्यालयले उल्लेख्य काम गरेको छ । हाल बर्सेनि ७ लाख पशु वस्तुमा कृत्रिम गर्भाधान यही फार्मबाट सङ्कलन गरिएको वीर्यबाट हुन्छ । कृत्रिम गर्भाधान गराइएका पशु वस्तुको गर्भ रहने सम्भावना ६० प्रतिशत भन्दा बढी हुन्छ । यहाँ सङ्कलन गरिएका वीर्य देशैभर सप्लाई हुन्छ । पशु प्रजनन कार्यालयमा हाल १ सय ७८ वटा भैँसी, ५२ वटा गाई, २ सय ५ वटा बोयर बोका, २ सय ६७ वटा बंगुर र ७ हजार भन्दा बढी कुखुरा तथा ८४ वटा भेडा छन् । राँगा र साँढे ६० वटा छन् । उनीहरूबाट वीर्य सङ्कलन गरेर किसानको गोठमा पठाइन्छ । प्राप्त भएका १५ राँगा मध्ये ७ वटा पोखरा आएको छ भने ५ वटा लहान र ३ वटा नेपालगन्जमा राखिएको छ ।
पोखरा: पोखरामा गएराति मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा टंकबहादुर कुमालको मृत्यु भएको छ । मालेपाटनमा मोटरसाइकलको ठम्ककरबाट गम्भिर घाइते भएका टंकबहादुरको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जानकारी दिएको छ । पस्र्याङबाट जिरोकिलोमिटरतर्फ जाँदै गरेको ग १९ प ९३३२ नम्बरको मोटरसाइकलले हिजो (बिहिबार) राति १०ः३० बजेको समयमा पैदल यात्री खोटाङ घर भई पोखरा बस्दै आएका टंकबहादुरलाई मालेपाटनमा ठक्कर दिँदा गम्भिर घाइते भएका थिए । घटनामा मोटरसाइकल चालक तनहुँ घर भई पोखरा–शान्तिनगर बस्ने थरबत थापा समेत घाइते भएका छन् । उनको अहिले पोखराको फिस्टेल हस्पिटलमा उपचार भइरहेको ट्राफिक कार्यालय कास्कीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
पोखरा: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सुरु भएको १ वर्षपछि आजदेखि अध्यागमन कार्यालय सञ्चालनमा आएको छ । उपसचिव लिलाभल्लव न्यौपानेको नेतृत्वमा आजबाट सञ्चालनमा आएको हो ।न्यौपानको नेतृत्वमा १० जना कर्मचारीले अध्यागमनको जिम्मेवारी सम्हाल्नेछन् । केही अन्तरराष्ट्रिय चाटर्ड उडान भएपनि अध्यागमनको काम भएको थिएन । मंसिर ९ गतेदेखि पोखरामा हुन लागेको माउन्टेन क्रसकन्ट्री दौड प्रतियोगितामा भाग लिन आउने चिनियाँ खेलाडी बोकेर चिनियाँ सरकारको सहयोग हिमालय एअरलाइन्सको चाटर्ड जहाज पोखरा आउन लागेको हो । सोही चार्टड जहाजमा आउने खेलाडी नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा खुलेको अध्यागमन कार्यालयको पहिलो सेवाग्राही हुनेछन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक ६ असारमा चीनको छेन्दुबाट चाइना–नेपाल ड्रागन बोटरेस प्रतियोगितामा भाग लिने चिनियाँ खेलाडी बोकेर सिचुवान एयरलाइन्सको विमान पोखरा आएको थियो । त्यसको करिब २ महिनापछि भदौ २३ गते रोयल भुटान एअरलाइन्सको ड्रुक एअरले पोखरा विमानस्थलका लागि पहिलो पटक व्यवसायिक अन्तर्राष्ट्रिय उडान भरेको थियो । त्यसयता थप २ वटा चिनियाँ चार्टड उडान भइसकेका छन् ।
पोखरा: पोखराको चिसाखोला स्थित एकघरमा जुवा (कौँडां) खेलिरहेको स्थानमा प्रहरीले छापा मार्न जाँदा एकथान हर्नेटसहित २४ राउण्ड गोलि र ६ जना जुवाडेलाई प्रकाउ गरेको छ । पोखरा महानगरपालिका २२ चिसाखोला स्थित भेष बहादुर गुरुङको आँगनमा जुवा (कौँडा) खेलिरहेको अवस्थामा १६ थान कौँडा, ८२ हजार ८ सय २५ रुपैयाँ र जिन्सीसहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले प्रकाउ गरेको हो । गुरुङलाई नियन्त्रणमा लिएर घर खानतलासी गर्दा कोठामा लुकाई छिपाई राखेको (लाईसेन्स नभएको)पइन्ट २२ हर्नेट र २४ राउण्ड गोली र एकथान म्यागजिन बरामद गरेको कास्की प्रहरीले जनाएको छ । अहिले थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: पोखराका रोशन केसी माछापुच्छ्रे बैंकको अध्यक्षमा नियुक्त भएका छन्। बैंकका निर्वतमान अध्यक्ष डा।उपेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै केसीलाई नयाँ अध्यक्षमा चयन गरेको हो। बैंकको बिहीबार बसेको ४९१औं सञ्चालक समितिको बैंठकले केसीलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो। उनी अध्यक्षमा नवनियुक्त हुनु अघि यसै बैंकमा संस्थापक सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका थिए।
मुस्ताङ: मुस्ताङको तीनवटा स्थानीय तहले आफ्नो भूगोललाई निषेधित क्षेत्रबाट हटाउन माग गरेका छन् । लोमान्थाङ, लोघेकर दामोदरकुण्डको सबै र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ लाई सरकारले निषेधित क्षेत्र तोकेको छ । निषेधित क्षेत्रमा बढी शुल्क तिर्नुपर्ने हुँदा पर्यटक आगमन बढ्न नसक्दा स्थानीयको जनजीवन तथा आर्थिक गतिविधि प्रभावित भएकाले निषेधित क्षेत्र हटाउन माग गरिएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङले बताउनुभयो । “उपल्लो मुस्ताङलाई निषेधित क्षेत्र कायम राख्न पर्यटक आगमनमा कमी भई यहाँको पर्यटन व्यवसाय प्रभावित भएको छ,” उहाँले भन्नुभयो, “शुल्कसमेत अत्यधिक बढी भएकाले उक्त निषेधित क्षेत्रलाई हटाउन माग गरेका हौँ ।” प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र वन तथा वातावरणमन्त्री डा। वीरेन्द्रकुमार महतोसँग तीन स्थानीय तहका अध्यक्षले निषेधित क्षेत्र हटाउनका लागि स्थानीयवासी, होटल व्यवसायी र गाउँपालिकाको निर्णयसहितको निवेदन बुझाएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार गत असोज र कात्तिकमा उहाँहरू मुस्ताङ आएका समयमा ज्ञापनपत्र बुझाइएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मा समेटिएको उपल्लो मुस्ताङ भ्रमण गर्न विदेशी पर्यटकले दश दिनका लागि पाँच सय अमेरिकी डलर शुल्क तिर्नुपर्छ । दश दिनभन्दा बढी भ्रमण गर्न प्रतिदिन रु ५० का दरले शुल्क तिर्नुपर्ने नियम छ । मुस्ताङका साथै मनाङ र गोरखाका केही भूगोललाई सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ । निषेधित क्षेत्र कायम गरेका कारण विदेशीहरू सजिलै छिर्न नपाउने र स्थानीयको आर्थिक उपार्जनमा समस्या भएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बताउनुभयो । आर्थिक वर्ष २०७९/८० मा मुस्ताङमा ७१ हजार सात सय सातजना विदेशी पर्यटक आएकामा अर्ध निषेधित क्षेत्रका रूपमा रहेको उपल्लो मुस्ताङमा तीन हजार तीन सय ८८ पर्यटकले भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन आयोजनाले जनाएको छ । सन् २०२३ को नौ महिनाको अवधिमा पनि उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या तीन हजारभन्दा बढी रहेको एक्याप जोमसोमले जनाएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा क्षेत्रमा रहेको उपल्लो मुस्ताङलाई सरकारले अर्ध निषेधित क्षेत्र घोषणा गरेको छ । सरकारले सन् १९९२ मा उपल्लो मुस्ताङमा पर्यटकलाई भ्रमणका लागि खुल्ला गरेको थियो । सबै वर्ग र आर्थिक हैसियतका पर्यटकका लागि अनुकूल हुने किसिमको शुल्क निर्धारण र प्रक्रिया बनाउन आवश्यक रहेको गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले बताउनुभयो । कलात्मक पहाड, उजाड मरुभूमिजस्तै भूगोल, माटोले बनाइएका घर, हिमाली जीवनशैली, पुरानो तिब्बती संस्कृति, ऐतिहासिक महत्वका दरबार, गुम्बा, छोर्तेन, कोरला नाका उपल्लो मुस्ताङका आकर्षण हुन् ।
काठमाडौं: बिहीबार अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन ट्राफिक प्रहरीले अनुरोध गरेको छ । बिहीबार भोलि राष्ट्रिय युवा सङ्घ नेपाल र दुर्गा प्रसाईँले उपत्यकाका विभिन्न स्थानमा विरोध प्रदर्शनका कार्यक्रम आयोजना गरेका छन् । सोही प्रदर्शनले उपत्यका भरी सवारी आवागमनमा असहजता सिर्जना हुने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । ट्राफिक प्रहरीले अत्यावश्यक अवस्थामा मात्रै बाहिर निस्कन अनुरोध गरेको हो । उक्त प्रदर्शनलाई मध्यनजर गर्दै उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । यसैगरी, ट्राफिक प्रहरीले सडकमा निस्कन पूर्व १०० वा १०२ मा टेलिफोन गर्नुहुन र ट्राफिक एफ.एम.९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाबारे जानकारी लिन पनि अनुरोध गरेको छ । सुरक्षा र ट्राफिक व्यवस्थापन गर्ने क्रममा सवारी सधान जुनसुकै ठाउँबाट डाइभर्सन गर्न सकिने पनि ट्राफिक प्रहरीले जनाएको छ ।
काठमाडौं: नेपाल विद्युत् प्राधिकरणले पालिकाबाट सडक बत्तीबापत उपभोग गरेको बक्यौता महशुल भुक्तानी गर्न ताकेता गरेको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले आज सूचना निकालेर विभिन्न केन्द्रहरुबाट पालिकाले सडक बत्तीबापत विद्युत् उपभोग गरेको बक्यौता महशुल भुक्तानी गर्न र बिना मिटर प्रयोग गरेको सडक बत्तीका लागि रीतपूर्वक मिटर जडान गर्न अनुरोध गरेको छ । प्राधिकरणले भुक्तानीका लागि पालिकालाई यसअघि असोज ६ गते ४५ दिनको समयसीमा दिएको थियो । त्यस्तै मिटर जडान गर्न बाँकी रहेका सडक बत्तीहरुका लागि सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरी ७ दिनभित्र मिटर जडान गरी ग्राहक कायम गराउन पनि भनिएको छ । यो अवधिभित्र मिटर लिइ ग्राहक नबनेमा त्यस्ता बिना मिटरका सडक बत्तीहरु सम्बन्धित वितरण केन्द्रबाट हटाउने उल्लेख छ । साथै सडक बत्तीको बक्यौता महशुल नबुझाउने पालिकाको हकमा प्राधिकरणको विद्युत् महशुल सङ्कलन विनियमावली २०७८ को विनियम १० अनुसार कारबाही हुने सूचनामा उल्लेख छ ।
काठमाडौं: नेपाल प्रहरीको साइबर ब्युरोले भिपिएन र डिएनएस प्रयोगले आर्थिक दुरूपयोगका घटना बढिरहेको बताएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै उपनिर्देशक एवं प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले भिपिएन र डिएनएस असुरक्षित र अवैध भएको जनाएको हो। ‘पूर्ण रूपमा प्रसारणमा बन्देज लगाएको सामाजिक सञ्जाल टिकटक, भिपिएन र डिएनएसजस्ता असुरक्षित अवैध माध्यमबाट सञ्चालनमा छ भन्ने सूचना प्राप्त हुन आएको छ,’ विज्ञप्तिमा भनिएको छ। यसको प्रयोगले प्रयोगकर्ताको डिभाइसमा पहुँच पुर्याएर आर्थिक दुरूपयोग समेत हुनसक्ने ब्युरोले जनाएको छ। ‘महत्वपूर्ण डाटा, व्यक्तिगत विवरण, बैंकिङ विवरणहरूको पहुँच पुर्याएर चोरी भई आर्थिक दुरूपयोगका घटना साइबर सुरक्षाको दृष्टिकोणले बढिरहेको पाइएको छ,’ ब्युरोले भनेको छ। यसको प्रयोगले कति जनाको आर्थिक दुरूपयोग वा डाटा चोरी भएको भन्नेबारे ब्युरोले विज्ञप्तिमा खुलाएको छैन। गैरकानुनी कुरा संप्रेषण गर्ने, चरित्रहत्या गर्ने, सार्वजनिक नैतिकता, जातीय, भाषिक, धार्मिक सद्भाव खलबल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने लगायत दुष्प्रभाव सिर्जना गर्ने गतिविधि समेत टिकटकको माध्यमबाट हुने ब्युरोले बताएको छ।

