काठमाडौं:  सुन चाँदी व्यवसायीहरुले असार २७ गतेसम्म आन्दोलनलाई जारी राख्ने निर्णय गरेका छन् । सरकारले आर्थिक वर्ष २०८२/८३ देखि सुनचाँदीमा लगाएको कर खारेज हुनुपर्ने लगायतका माग राख्दै सुन चाँदी व्यवसा...

काठमाडौं : सांसद् तोसिमा कार्कीले ललितपुरको बखुण्डोल हाइटमा समीट अपार्टमेन्ट निर्माण प्रक्रियामा संलग्नलाई कारबाही गर्न माग गरेकी छन् ।   बुधबार संसद्मा बोल्दै कार्कीले स्थानीयको स्वीकृत बेगर नक्सापास बिनै भवन निर्माण भइरहेकाले संसदीय समिति बनाएर छानविनको माग गरेकी हुन् । उनले भनिन्,'वरपरका घरहरूमा पूर्णरुपमा क्षति पुगेको छ।  भाँसिने चर्किने क्रम जारी छ । स्थानीयले पटकपटक उजुरी दिएपनि कारबाही हुन सकेको छैन । ’   उनले अपार्टमेन्ट निर्माण प्रक्रियाको बैधानिकता खोज्नुपर्ने माग गरिन् । 

कञ्चनपुर : कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले प्लास्टिकका  झोला प्रयोगमा रोक लगाउने भएको छ। आगामी वैशाख १ गतेदेखि लागू हुने गरी जिल्लामा प्लास्टिकका झोला आयात, बिक्री, वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए।   'नयाँ वर्षको वैशाख १ गतेदेखि जिल्लाभर प्लास्टिकको प्रयोग, आयात र बिक्री वितरणमा रोक लगाउने भएका छौँ', उनले भने, 'यसबारे सार्वजनिक सूचनासमेत जारी गरिसकेका छौं।' उक्त कार्यालयले एक महिना अगाडि नै सूचना जारी गरी प्लास्टिकका झोलाको आयात बन्द गर्न निर्देशन दिएको थियो।    चालिस माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला उत्पादन, आयात, बिक्री वितरण र प्रयोग गर्न नपाइने प्रजिअ अर्यालले बताए। नयाँ वर्षदेखि त्यस्ता प्लास्टिकका झोला उत्पादन, आयात, बिक्री वितरण गरेको पाइएमा कारबाही गरिने उनको भनाइ थियो। 'प्लास्टिकको प्रयोग रोक्न नियमित अनुगमन गर्छौँ, पहिलोपटक भेटिएमा सम्झाउँछौँ र  जफत गर्छौं,' उनले भने, 'त्यसपछि पनि त्यस्तो कार्य गरेको भेटिए सम्बद्ध व्यक्तिलाई प्रचलित कानुनअनुसार कारबाहीको दायरामा ल्याउँछौँ।'   प्लास्टिकको प्रयोग तथा बिक्री, वितरण गरेको पाइएमा वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही हुनेछ। प्रतिबन्धित झोला प्रयोग तथा बिक्री गर्नेलाई कसुरको मात्रा हेरेर रु ५० हजारसम्म जरिवाना हुनेछ।    जिल्लाका नौ स्थानीय तहका जनप्रतिनिधिले प्लास्टिकको झोला प्रयोग तथा बिक्री, वितरणमा प्रति​बन्ध लगाउने प्रतिबद्धता जाहोर गरेका छन्। सोहीअनुसार जिल्ला समन्वय समितिको आयोजनामा भएको जिल्ला सभाले प्लास्टिकको झोला, प्लेट, गिलास र गुट्खा बिक्रीमा रोक लगाउने निर्णय गरेको छ।    जिल्ला सभामा कञ्चनपुरका नौ स्थानीय तहका प्रमुख, उपप्रमुखको सहभागिता थियो। प्लास्टिकका झोला, प्लेट, गिलास र गुट्खा बिक्रीमा रोक लगाउँदै कार्यान्वयन गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले बताए। 'अब जिल्लामा प्लास्टिकका झोला र गुट्खा बिक्री, वितरण गर्न पाइने छैन्, प्लास्टिकको विकल्पका रूपमा कपडाको झोला प्रगोग गर्न सकिन्छ', उनले भने।    प्लास्टिकले वातावरणसँगै मानव स्वास्थ्यमा हानी गर्ने हुनाले प्लास्टिक प्रतिस्थापन गर्न उपभोक्ता नै जागरुक हुनुपर्नेमा उनले जोड दिए। 

काठमाडौं : सांसद् ज्ञानेन्द्र शाहीले बास्तविक मिटरब्याजी सरकार भएको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद् शाहीले  वर्तमान सरकारनै वास्तविक मिटरब्याजी भएको बताएका हुन् ।   शाहीले भने,‘पछिल्लो आठ महिनामा चालु खर्च ५१.४६प्रतिशत र पुँजीगत खर्च २२.१५ प्रतिशत र व्यवस्थापकीय खर्च ३७.४१ प्रतिशत खर्च गरेको छ । भएभरको पैंसा असारमा मात्रै खर्च गर्ने प्रवृत्ति छ । पुँजीगत खर्च ७८ प्रतिशत गर्न बाँकी छ । सबै पैंसा सरकारले बैंकमा राखेर ब्याज खाइरहेको छ । वास्तविक मिटरब्याजी कोहि छ भने त्यो सरकार हो । बैंकमा पैंसा राखेर जनतालाई अलमलमा नराखियोस् । कर्मचारीले तलब खान पाएका छैनन् । निर्माण व्यवसायीको हालत विजोग छ । ’   बेलैमा ब्याज तिर्न नसकेर मान्छेले मृत्युवरण गर्नुपर्ने अवस्था आएको उनले बताए । शाहीले भने,‘नेपाल सरकारले २ खर्ब ११ अर्ब मात्रै फिक्स डिपोजिट गरेको छ । निर्माण व्यवासी र अन्यलाई रकम नदिएर ३ खर्ब ६२ अर्ब रुपैयाँ सरकारी खातामा राखेर ब्याज खाइरहेको छ । बेलैमा ब्याज तिर्न नसकेर मान्छेले मृत्युवरण गर्नुपर्ने अवस्था छ ।’

काठमाडौँ:  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढदै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दैनिकरुपमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढदै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको हो ।    भारतमा कोरोना भाइरसको देखिएको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ पछिल्लो समय नेपालमा पनि देखिन थालेको छ । मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। चुमनलाल दासले अहिले देखा परेको भेरियन्ट सङ्क्रामक रहेकाले अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको जानकारी दिनुभयो ।    “कोरोना भाइरसको नयाँ भेरियन्टले धेरै जनालाई सङ्क्रमण सार्ने गर्ने सम्भावना छ”, उहाँले भन्नुभयो, “सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्नका लागि सबै अस्पताललाई तयारी अवस्थामा बस्न निर्देशन दिइसकेका छौँ ।”   मन्त्रालयका अनुसार हाल वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, निजामती कर्मचारी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, नेपाल प्रहरी अस्पताल लगायतका अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।   कोरोना सङ्क्रमणका कारण बुधबार एक जनाको निधन भएको छ । वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले कोभिड–१९ केन्द्रीय युनिफाइड अस्पताललाई तयारी अवस्थामा राखिएको बताउनुभयो । उहाँले चिकित्सक, सघन उपचार कक्ष (आइसियु), भेन्टिलेटर र अक्सिजनलाई तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ ।    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा विमल चालिसेले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबारे सचेत रहँदै आफूृहरु तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।    “अहिले ने आत्तिनुपर्ने अवस्था छैन तर सजग भने हुनुपर्छ”, उहाँले भन्नुभयो, “सङ्क्रमणको सम्भावित जोखिम नहोस् भनेर तयारी अवस्थामा रहेका छौँ ।” अस्पतालमा एक जना भेन्टिलेटर र दुई जना कोरोना सङ्क्रमित सघन उपचार कक्ष (आइसियु)मा उपचाररत रहेको उहाँले जानकारी दिनुभयो ।    बुधबार मात्रै देशभर एक सय छ जना नयाँ सङ्क्रमित देखा परेका थिए । हाल काठमाडौँ उपत्यकामा २४ जना आइसोलेसन, १३ जना सघन उपचार कक्ष (आइसियु)मा र ५ जना भेन्टिलेटरमा उपचाररत छन् ।    महाशाखाले नेपाल प्रवेश हुने सीमा नाकामा कडाइ गरिएको जनाएको छ । सीमा नाकाबाट नेपाल प्रवेश गर्नेहरुको कोरोना परीक्षण सुरु गरिएको छ ।

काठमाडौं:  नेपाल उद्योग वाणिज्य महासङ्घको मतदान रोकिएको छ ।   बुधवार तोकिएको समयभन्दा केही ढिला गरी सुरु भएको मतदान जिल्ला नगरका मतदाता तथा समर्थकहरूले एसोसिएटको मतदान स्थलमा होहल्ला गरेसँगै मतदान केही समयका लागि अवरुद्ध भएको हो ।   महासङ्घको नयाँ कार्यसमिति चयनका लागि बुधवार बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान प्राविधिक तयारी नपुगेको भन्दै दुई घण्टा ढिला सुरु भएको थियो । जिल्ला नगर र वस्तुगततर्फ एक र एसाेसिएटतर्फ तीन वटा बुथ कायम गरिएको छ । निर्वाचनमा मोबाइल, प्रज्वलनशील पदार्थ निषेध गरिएको छ । समर्थकले वरिष्ठ उम्मेदवारको पक्षमा भोट माग्दै हुटिङ गरेका छन् । ‘भोट फर अञ्जन’, भोट फर सघाई, भोट फर उमेशलाल भन्दै समर्थकले होहल्ला गरेसँगै मतदान  स्थगित भएको छ ।   महासङ्घको आगामी नेतृत्वको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ, रामचन्द्र सघाई र उमेशलाल श्रेष्ठबीच प्रतिष्पर्धा भइरहेको छ । महासङ्घको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेकाले निर्वाचनबाट एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चुनिने छन् ।   महासङ्घको विधान अनुसार हाल वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ३० चैतदेखि स्वतः महासङ्घको अध्यक्ष बन्नुहुनेछ । नयाँ नेतृत्व चयन गर्नको लागि उद्योगी व्यवसायीहरूको बिहानदेखि प्रज्ञा भवनमा बाक्लो उपस्थिति रहेको छ ।

दमौली:  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार जनताले निर्वाचित गर्नुपर्ने बताउनुभएको छ । कांग्रेस बन्दीपुर गाउँ कार्यसमितिले बन्दीपुर गाउँपालिका–४ मा आज आयोजना गरेको सभालाई सम्बोधन गर्दै उहाँले जनताले आफ्ना हरेक सुख, दुःखमा सँगै हुने उम्मेदवार खोजेको उल्लेख गर्नुभयो ।   “भाषण गर्ने तर गाउँ ठाउँ नबुझेको व्यक्ति अहिले जनताले चाहेका छैनन्, वैशाख १० गते हुने उपनिर्वाचनमा पक्कै पनि जनताले मूल्याङ्कन गर्नुहुनेछ”, नेता सिंहले भन्नुभयो । हरेक पार्टीमा असन्तुष्टि भए पनि त्यसलाई अहिले थाँती राखेर चुनावमा एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प नरहेको उहाँले जिकिर गर्नुभयो ।    नेता सिंहले सत्ता गठबन्धनका उम्मेदवार जिताउन नसकिए सन्देश राम्रो नजाने बताउनुभयो । “गठबन्धन गरेर हामी चुनावमा गएका छौँ, गठबन्धनकै उम्मेदवारले नजिते नराम्रो सन्देश जान्छ”, उहाँले भन्नुभयो । वर्तमान सरकार विकास र समृद्धिका लागि प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।     तनहुँ क्षेत्र नं. १ का उम्मेदवार गोविन्द भट्टराईले आफ्नो उम्मेदवारी कसैका विरुद्ध नभई तनहुँको विकासका लागि भएको बताउनुभयो । गाउँको उन्नति र प्रगति अहिलेको आवश्यकता भएको भन्दै उहाँले आफू त्यसैमा केन्द्रित भएको बताउनुभयो ।    ४२ वटै वडामा मतदाता शिक्षा   आगामी वैशाख १० गते तनहुँ क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि मतदाता शिक्षा सञ्चालन गरिने भएको छ । उपनिर्वाचनमा बदर मत न्यून गर्न र मतदातालाई मतदान गर्ने तरिकाबारे जानकारी गराउने उद्देश्यसहित निर्वाचन कार्यालयले प्रत्येक वडामा मतदाता शिक्षा सञ्चालन गर्न लागेको हो ।    तनहुँ क्षेत्र नं. १ अन्तर्गतका ४२ वटै वडामा मतदाता शिक्षा सञ्चालनका लागि महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने कार्यालय प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो । एउटा वडामा दुई जनाका दरले स्वयंसेविका परिचालन गरिनेछन् । स्वयंसेविकालाई वैशाख १ देखि ७ गतेसम्म सबै वडामा खटाइने छ ।    गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा तनहुँमा कुल खसेकोमध्ये पाँच दशमलव छ प्रतिशत मत बदर भएको थियो । तनहुँका दुवै क्षेत्रमा गरी एक लाख ३४ हजार चार सय एक मत खसेकामा सात हजार पाँच सय ८१ मत बदर भएको कार्यालयले जनाएको छ ।    तनहुँ क्षेत्र नं. १ अन्तर्गत पाँच स्थानीय तह पर्दछन् । व्यास नगरपालिकाका १२, भानु नगरपालिकाका १३, बन्दीपुर गाउँपालिकाका छ, देवघाट गाउँपालिकाका पाँच र आँबुखैरेनी गाउँपालिकाका छ वडा यो निर्वाचन क्षेत्रमा पर्दछ । उपनिर्वाचनमा एक लाख २३ हजार तीन सय पाँच मतदाता कायम भएका छन् ।    उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नं १ मा नौ जना प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा ९एमाले० बाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा स्वर्णिम वाग्ले, राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार प्रतिस्पर्धामा हुनुहुन्छ । 

सप्तरी: सप्तरीको चार पालिकामा आगलागी हुँदा दुई जना घाइते भएका छन् भने छ घर जलेर नष्ट भएको छ ।   जिल्लाको कञ्चनरुप नगरपालिका, रुपनी गाउँपालिका, महादेव गाउँपालिका र शम्भुनाथ नगरपालिकामा आगलागी भएको हो । आगलागीबाट २४ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।   कञ्चनरुप नगरपालिका १ बैरवामा आगलागी हुँदा दुई जना घाइते भएका छन् भने तीन घर जलेर नष्ट भएको छ । साथै नौ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।   जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले स्थानीय बिनय खंगको भान्सा कोठाबाट खाना पकाउने क्रममा मङ्गलबार लागेको आगो फैलिएर छिमेकी रामेश्वर खंग र धुरेन्द्र खंगको घर पनि नष्ट भएको जानकारी दिनुभयो ।   आगो निभाउने क्रममा ५२ वर्षीय बिनय खंग र ३५ वर्षीय गजिन्द्र सदा घाइते हुनुभएको छ । घाइतेमध्ये विनयलाई उपचारका लागि धरानस्थित बीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ भने गजेन्द्रको स्थानीय धर्मेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।   रुपनी गाउँपालिकामा आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ भने १० लाख बराबरको क्षति भएको छ ।   यसैगरी, वडा नं. २ स्थित रामनारायण साहको घरमा विद्युत सर्ट भई आगलागी हुँदा छिमेकी शिवनारायण साहको समेत घर जलेर नष्ट भएको डीएसपी सिंहले जानकारी दिनुभयो ।   आगलागीमा तीन वटा पशुचौपायासमेत जलेर मरेको उहाँले बताउनुभयो  । दुवै ठाउँको आगलागी नियन्त्रणका लागि शम्भुनाथ नगरपालिका, कंचनरुप नगरपालिका र मधेश प्रदेश प्रहरी तालिम केन्द्रको वारुणयन्त्र तथा प्रहरी र स्थानीयवासीको मद्दतले दुई घण्टाको प्रयासपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।   यस्तै, महादेबा २ बस्ने जयकुमात पैकराको घरमा विद्युत सर्ट भई आगलागी हुँदा तीन तलाको फुसको घर पूर्णरुपमा नष्ट हुँदा चार लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ ।   यसैगरी, जिल्लाको शम्भुनाथ नगरपालिकास्थित सब डिभिजन वन कार्यालयको प्राङ्गणमा राखिएको पुरानो काठहरूमा अचानक आगलागी भएको छ । सो आगलागीमा १५ वटा गुलिया काठ जलेर नष्ट हुँदा एक लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

काठमाडौं:  अछाममा स्कुटरसहित सडकबाट खसेर एक जनाको मृत्यु भएको छ।   बुधबार साँफेबगर नगरपालिका-१ वैद्यनाथ कालिमाटिका अन्दाजी ५० वर्षीय गणेश नाथको  स्कुटरसहित सडकबाट खसेर मृत्यु भएको हो।   जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी नारायण डाँगीले सेती राजमार्गको कालिमाटी खण्डमा स्कुटरसहित सडकबाट तल खसेर उनको मृत्यु भएको बताए।   आफन्तहरू घटनास्थलमा पुगेपछि उनको शव उठाइने छ।   प्रहरीका अनुसार उनी मंगलबार राति स्कुटर दुर्घटनामा परेका हुन्। उक्त ठाउँमा यसअघि पनि सवारी दुर्घटना भइसकेका छन्।   घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौं:  बुधबार अमेरिकी डलरको भाउ बढेको छ। आज डलर एकको खरिददर १३१ रुपैयाँ ११ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७१ पैसा कायम गरिएको छ।    मंगलबार  एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४८ पैसा कायम गरिएको छ।  यो मूल्य अघिल्लो दिनको तुलनामा २३ पैसा बढेको हो।   त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४३ रुपैयाँ ९ पैसा र बिक्रीमा १४३ रुपैयाँ ७५पैसा पाइन्छ।  मंगलबार युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ७८ पैसा र बिक्रीमा १४३ रुपैयाँ ४३ पैसा पाइन्छ।    क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ११ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५६ पैसा पाइन्छ।   त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ २९ पैसा र बिक्रीमा ८७ रुपैयाँ ६९ पैसा तोकिएको छ।   बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज ३६२ रुपैयाँ १२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८७ पैसा तोकिएको छ।    यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ११ पैसा तोकेको छ।   युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७०  पैसा र बिक्रीमा ३५ रुपैयाँ ८६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २९ रुपैयाँ ६७ पैसा र बिक्रीमा २९ रुपैयाँ ८१ पैसा पाइन्छ।   मंगलबार कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ ९६ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ९२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ३७ पैसा तोकिएको छ।