काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका अपार स्रोत, सम्पदा र सम्भावनाको उद्घाटन गरी एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध हुनुपर्नेमा जोड दिनुभएको छ । नव वर्ष २०८० को उपलक्ष्यमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले व्याप्त निराशालाई चिर्दै देशमा राजनीतिक स्थिरता र सुशासन कायम गरी श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “सार्वभौमिक सत्ता सम्पन्न जनताका प्रतिनिधिहरूबाट निर्मित विधि र पद्धतिबमोजिम संसदीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था चल्ने चलाउने भन्ने नै संवैधानिक राष्ट्रिय प्रतिज्ञा र घोषणा भएकाले मुलुक सोहीअनुरूप अघि बढ्नु पर्दछ भन्नेमा मेरो प्रतिबद्धता छ ।” राष्ट्रपति पौडेलले संवैधानिक कर्तव्य र जिम्मेवारी पूरा गर्दा वा जुनसुकै कार्य पनि लोकतान्त्रिक मूल्य, मान्यता र परम्परालाई आत्मसात् गरे मात्र मुलुकमा शान्ति, विकास र समृद्धि कायम भई समाजवादतर्फ उन्मुख हुने विश्वाससमेत व्यक्त गर्नुभएको छ । “तर, जो कसैको पनि स्थापित विधि विपरीतको सक्रियता तथा कुनै निहित स्वार्थ प्राप्तिको आतुरताले बामे सर्दै अघि बढेको लोकतान्त्रिक परिपाटी मजबुत हुँदैन, त्यसतर्फ हामी सबै सचेत हुनुपर्दछ । पारदर्शिता, जवाफदेहिता र सुशासन लोकतन्त्रका आधार स्तम्भ हुन, यिनै अवयवको सही कार्यान्वयनबाट नै लोकतन्त्रप्रति जनताको भरोसा जागृत हुनेछ भन्ने मेरो दृढ विश्वास छ”, शुभकामना सन्देशमा भनिएको छ । नेपालका तल्लो तहका उत्पीडित र थिचिएका जनतासम्म अधिकार निक्षेपित गर्ने काम भएको बताउँदै त्यसको सान्दर्भिकताका साथै गहिराइ बुझ्ने, अनुभूति गर्ने र आत्मसात् गर्नेमा कसैले पनि हेलचेक्र्याइँ गर्न नहुने उहाँको भनाइ छ । राष्ट्रपति पौडेलले भन्नुभएको छ, “चरम दलगत र गुटगत राजनीतिभन्दा माथि रही विधिको ख्याल राखी यसको सीमा भित्रैबाट प्रकट हुने क्रियाशीलता, विचार र अभिव्यक्तिको स्वतन्त्रताको अभ्यासले मात्र मुलुकमा अमनचैन राख्न राष्ट्रिय अखण्डता, सामाजिक सद्भाव तथा नेपाली–नेपालीबीच अपनत्व र भ्रातृत्व बढाउन तथा मुलुकको सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्न थप मद्दत पु¥याउन सक्नेछ र त्यसले क्रमशः मुलुकमा स्थापित लोकतान्त्रिक पद्धति फलित र सुवासित हुँदै जानेछ भन्ने मलाई लाग्दछ ।” आर्थिकरूपमा देश सबल र सक्षम हुनुपर्दछ भन्ने मान्यता सबैको भए पनि केही समययता बाह्य एवं आन्तरिक कारणहरूले अर्थतन्त्रमा परेको प्रतिकूल असर र जनतालाई यसले पारेको नकारात्मक प्रभावबाट जतिसक्दो छिटो मुलुकले निकास पाउनुपर्ने उहाँको भनाइ छ । राष्ट्रपति पौडेलले मानव समाजमाझ बढिरहेको पदार्थवादी महत्वाकाङ्क्षा र प्रकृतिको निर्मम दोहनले विश्वव्यापी जलवायु परिवर्तन, जैविकीय विविधताको ह्रास साथै बढ्दो प्रदूषण आज चुनौतीका रूपमा हामी सामुन्ने देखापरेका भन्दै त्यस चुनौतीबाट हाम्रो मुलुक पनि अछुतो नरहेको उल्लेख गर्नुभयो । “हाम्रो हिमाली भेग, उच्च पहाडका साथै चुरे र तराईका फाँटहरूसम्म पनि जलवायु परिवर्तनको प्रतिकूल प्रभाव टड्कारो रूपमा पाइन्छन्, त्यस भौगोलिक क्षेत्रमा नै खानेपानीको मुहानका रूपमा रहेको हिमाली क्षेत्र अहिले सङ्कटपूर्ण अवस्थामा रहेको यथार्थ यहाँ दोहो¥याउन चाहन्छु”, सन्देशमा उल्लेख छ । वातावरणीय चुनौती, आर्थिक मन्दी तथा राजनीतिक सङ्क्रमणबीच नेपाल आगामी तीन वर्षभित्र अति–कम विकसित देशबाट विकासोन्मुख देशको श्रेणीमा स्तरोन्नति हुने चरणमा प्रस्ट पार्दै उहाँले ती सबै कठिन परिवेशमाझ हरेक प्रकारले सजग रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालाहरूको सहयोग र सद्भाव लिई हाम्रा कदमहरू अगाडि बढ्ने विश्वस्त व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “नव वर्ष २०८० सालको आरम्भमा यहाँहरूको सुख, शान्ति, समृद्धि एवं हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु, नयाँ वर्षले विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई पनि स्वस्थ जीवन र खुसी प्रदान गर्न सकोस्, विधातासँग यही मेरो प्रार्थना छ ।”
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रको आर्थिक र सामाजिक जीवनमा रचनात्मक परिवर्तन ल्याउने बताउनु भएको छ । नयाँ वर्ष २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्रीले भन्नुभएको छ, ‘‘यो वर्ष केवल क्यालेण्डर परिवर्तन गर्ने छैनौं, राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउनेछौं ।’’ साथै उहाँले यो वर्ष भरोषा र आशाको वर्ष हुने विश्वास पनि व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले दिनुभएको शुभकामनाको पूर्ण विवरण यसप्रकार छ : आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू, नयाँ वर्ष २०८० को पुनित अवसरमा देश तथा विदेशमा रहनुभएका समस्त नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । मलाई विश्वास छ, नयाँ वर्ष हामी आफैंमाथि भरोषा र आशाको वर्ष हुनेछ । हरेक नयाँ वर्ष एउटा सुरुवात हो । विगतको समीक्षासहित नयाँ संकल्प गर्ने दिन हो । हामीले आत्मसमीक्षा गर्नैपर्छ तर हामीलाई निराश हुने छुट छैन । राष्ट्र–निर्माणको साझा संकल्पका लागि नयाँ वर्षभन्दा उपयुक्त समय अरु हुनै सक्दैन । राष्ट्रले मलाई दिएको भूमिकामाथि आभार प्रकट गर्दै प्रधानमन्त्रीका रूपमा म समस्त नेपाली जनसमुदायसँग संकल्प गर्दछु, नयाँ वर्षका मेरा हरेक दिन र हरेक क्षण संविधानको कार्यान्वयन, गणतन्त्रको सुदृढीकरण, स्थिरता र समृद्धिका लागि समर्पित हुनेछन् । मेरा केही ठोस संकल्प छन् । निर्देशनको तहलाई कार्यान्वयनमा लैजान परम्परागत अवरोधबीच पनि यो बीचमा सकारात्मक सुरुवात भएको छ । अर्थतन्त्रमा देखिएका संकट र चुनौती क्रमशः कम हुँदै गएका छन् । वैदेशिक रोजगार व्यवस्थित हुँदै गएको छ, श्रमिकको अधिकार सुरक्षित गर्न महत्वपूर्ण सामाजिक सुरक्षा अभियानमा उनीहरू जोडिएका छन् । नागरिकले प्राप्त गर्ने सेवाहरू झन्झटमुक्त बनाउने अभियान सुरू भएको छ । बैंक ब्याजदर कम हुँदै गएको छ । व्यवसायीहरुको बैंक ब्याज सम्बन्धी चिन्तालाई सम्बोधन गर्न सकारात्मक छलफल भइरहेको छ । राजश्व संकलनमा वृद्धि भइरहेको छ । परम्परागत प्रकृतिको विकासको मोडेल र योजना तर्जुमा प्रक्रियामा हामी क्रमभंग गर्न गइरहेका छौं । एउटा सकारात्मक वातावरण बनिरहेको छ तर हाम्रै पुस्ता र नयाँ पिँढीको गुणस्तरीय भविष्यका लागि हामीले अझै धेरै मेहेनत गर्नु छ । सामूहिकताको संस्कृति विकास गर्दै थुप्रै चुनौतीलाई सहमति र सहकार्यबाट परास्त गरेका सफल अनुभव हामीसँग छन् । नयाँ वर्षलाई पनि सहमति र सहकार्यमार्फत समृद्ध नेपालको आधार निर्माण गर्ने वर्षका रूपमा मनाउन म आम जनसमुदायमा विशेष अपील गर्दछु । नयाँ वर्षमा हामी विश्वास,आशा र साहसका साथ राष्ट्रका कमजोरी होइन, राष्ट्रका क्षमता उजागर गर्नेछौं । संकल्प गरौं, सिंगो राष्ट्रको साझा संघर्ष र संकल्पबाट यो वर्ष केवल क्यालेण्डर परिवर्तन गर्ने छैनौं, राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउनेछौं । २०८० लाई राष्ट्रिय उपलब्धिहरूको ऐतिहासिक वर्ष बनाउने प्रणसहित समस्त नेपाली जनसमुदायको शान्ति, प्रगति र सुस्वास्थ्यको कामना गर्दछु । धन्यवाद । १ बैशाख, २०८० पुष्पकमल दाहाल ‘प्रचण्ड’
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित हुनुभएको छ । बुधबार भएको निर्वाचनको पहिलो चरणमा तीन प्रतिस्पर्धीमध्ये कसैले पनि ५० प्रतिशत मत प्राप्त नगरेपछि आज अपराह्न २ बजेका लागि दोस्रो चरणको निर्वाचन हुने तय भएको थियो । पहिलो चरणको त्रिपक्षी प्रतिस्पर्धामा अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघई हुनुहुन्थ्यो । पहिलो चरणबाट संघई बाहिरिएपछि अञ्जन र उमेशलालबीच दोस्रो चरणको निर्वाचन हुने तय भएको थियो । दोस्रो चरणको निर्वाचन हुनुभन्दा अघि गरिएको सहमतिको प्रयास सफल भएपछि उहाँ वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएको घोषणा गरिएको हो । महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचन हुनका लागि कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ । महासङ्घको बुधबार निर्वाचन भएको थियो । पहिलो चरणको निर्वाचनको आज बिहान सकिएको मतगणनामा जिल्ला नगर, वस्तुगत र एसोसिएटमा खसेको कुल मतभारतमध्ये अञ्जनले सबैभन्दा धेरै ३७ दशमलव ९९ प्रतिशत मत प्राप्त गर्नुभएको थियो भने उमेशलालले ३१ दशमलव ५१ मत प्राप्त गर्नुभएको थियो । साथै संघईले ३० दशमलव ४६ मत प्राप्त गर्नुभएको थियो । मतपरिणाम अनुसार एसोसिएटतर्फ कुल खसेको एक हजार छ सय २० मतमध्ये संघईले छ सय १३ मत प्राप्त गर्नुभयो साथै अञ्जनले पाँच सय ७३ मत र उमेशलालले चार सय २६ मत प्राप्त गर्नुभयो । साथै आठ मत बदर भए । जिल्ला नगरतर्फ कुल खसेको एक सय १७ मतमध्ये अञ्जनले ४७, संघईले ३९ र उमेशलालले २८ मत प्राप्त गर्नुभयो । साथै तीन मत बदर भए । वस्तुतगतर्फ खसेको एक सय २३ मतमध्ये उमेशलालले ६९, अञ्जनले ४१ र संघईले १२ मत प्राप्त गर्नुभयो भने एक मत बदर भएको थियो । महासङ्घको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी कार्यकालका लागि स्वतः अध्यक्ष हुनुहुनेछ । साथै बुधबारको निर्वाचनमा जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण बैद्य निर्वाचित हुनुभएको छ भने एसोसिएट उपाध्यक्षमा ज्योत्सना सुब्बा श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित हुनुभएको छ ।
पोखरा: युनाइटेड क्लब पोखराले आफ्नो स्थापनाको १३ औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ । २०६७ साल बैशाख ७ गते स्थापना भएको युनाइटेड क्लबले स्थापना कालदेखीनै पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी महोत्सवको आम्दानीबाट बचत रकमले सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ । क्लबले १३ औं वार्षिकोत्सवको अवसर पारेर बिहिबारदेखि सप्ताहव्यापी कार्यक्रम अन्र्तगत आज (बिहिबार) महिला कानुनी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा प्रमुख अतिथि जिल्ला अदालत कास्कीका न्यायधीश माननीय अवनि मैनालीले महिलाहरुले कानुन आफ्नो पक्षमा छ भन्दैमा पुरुषहरुलाई पिडा दिने गरी कानुनको दुरुपयोग गर्न नहुने बताइन । पछिल्लो समय महिलाहरुले कानुनलाई आधार मानेर विभिन्न मुद्धा मामिलाहरु अगाडी बढाउदा पुरुषहरु पिडित बनेको उनको भनाइ रहेको थियो । घरभित्रको हरेक काममा पुरुषहरुले सहकार्य गरेको खण्डमा महिलाहरुलाई हरेक काममा सहज हुने र महिलाहरु अगाडी बढ्न सक्ने बताइन । आधा भन्दा वढी महिलाको संख्या रहेकाले महिलालाई अगाडी बढाउनकै लागि महिलाको हकको ब्यवस्था गरिएको उनको भनाइ रहेको थियो । त्यस्तै जिल्ला अदालत कास्कीका नायव सुब्बा महेन्द्र प्रसाद तिमिल्सिनाले महिला दिदीबहिनीहरुले कानुनी कुराहरु नजान्दाखेरी विभिन्न समस्यामा परिरहेको बताउदै यस्ता कार्यक्रमले महिला दिदीबहिनीहरुलाई केही मात्रामा भएतापनि कानुनी जानकारी दिन पाउदा खुसी लागेको बताए । कार्यक्रममा सहभागी कालिका मन्दिर परिसर महिला समुहका अध्यक्ष माया केसीले बजारमा भन्दापनि गाउका दुर दराजमा रहेका महिलाहरु अझैपनि कानुनको बारेमा जानकारी नहुदा दुख पाइरहेको वताउदै यस्ता कार्यक्रमहरुलाई गाउ तर्फ केन्द्रीत गर्न सके राम्रो हुने बताइन । आफुहरुलाई थोरै समय भएपनि महिला कानुनको बारेमा जानकारी लिने अवसर प्रदान गरेकोमा आयोजक युनाइटेड क्लबलाई धन्यवाद समेत ब्यक्त गरिन । युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका बरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिएभने कार्यक्रमको सञ्चालन क्लबका महासचिब दिनेश सुनारले गरेका थिए । क्लबका कार्यसमिति सदस्य दिवानी सुवेदीको संयोजनमा सम्पन्न कार्यक्रममा १ सय ६० जना महिला दिदीबहिनीहरुको सहभागीता रहेको थियो ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालयको गणित केन्द्रीय विभागका प्राध्यापक डा. उर्मिला प्याकुरेलको ४२ वर्षको उमेरमा निधन भएको छ । सात वर्षदेखि क्यान्सरको उपचारत उनको बुधबार राति नर्भिक अस्पतालमा निधन भएको उनका भाई राजेन्द्र प्याकुरेलले जानकारी दिए । दिवंगत प्याकुरेलको बिहीवार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । स्व.प्याकुरेल त्रिभुवन विश्वविद्यालयकै गणित विषयकी कान्छी प्राध्यापक हुन् । उनले क्यान्सर लागेकै बेला त्रिभुवन विश्वविद्यालयबाट ३५ वर्षको उमेरमा विद्यावारिधि उपाधि हासिल गर्नुभएको थियो भने ४१ वर्षको उमेरमै प्राध्यापक पदमा बढुवा भएकी थिइन् । व्यावहारिक गणितमा अनुसन्धानमा रुचि राख्ने उहाँ अनुसन्धानकै क्रममा जर्मनीको अलेक्जेन्डर वोन हम्बोल्ट फाउन्डेसनमा फेलोसिपमा थिईन । उनको अनुसन्धान नेपालको ट्राफिक जामको समस्या समाधान कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रित थियो । जर्मनी र नेपालमा रहँदाको उपचार खर्च करिब साढे चार करोड रुपियाँ आफैँले खर्च गरेसकेकी उनले पछिल्लो समय क्यान्सरको नवीन र महँगो उपचार गर्नु परेकाले सहयोगका लागि सार्वजनिक आह्वान गरेकी थिइन् । उनले गर्नुपरेको नयाँ उपचार इम्युनोथेरापीको एक उपचार चक्रको मात्र करिब चार लाख रुपियाँ पर्ने र हरेक २१ दिनमा करिब एक वर्ष उपचार गर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर गत फागुन २४ गते सहयोगको अपिल गरेकी थिईन । तर दुई उपचार चक्र पूरा नहुँदै उहाँको निधन भएको हो । उनले आह्वानका कारण नेपाल र विदेशबाट पनि सङ्कलित रकम र खर्चको विवरण दैनिक सामाजिक सञ्जालबाट आफैँले सार्वजनिक गरेकी थिइन् । उनको अप्रत्यासित निधन भएका कारण अबदेखि त्यस्तो सहयोग रोक्न उहाँको परिवारले अपिल गरेको छ । उनका भाई प्याकुरेलले भने, “उहाँको उपचार सहयोग सङ्कलनका लागि थालिएको अभियान अन्त्य भएको व्यहोरा परिवारका तर्फबाट सबैमा जानकारी गराउँछौँ । यहाँहरुले गर्नुभएको माया, सद्भाव र सहयोगप्रति आभारी छौँ । यहाँहरुले गर्नुभएको सहयोग तर उपचारमा प्रयोग हुन नपाएको सङ्लित स्रोतलाई उहाँकै स्मृतिमा यहाहरुसँगको परामर्शमा उपयोग गरिने व्यहोरा अवगत गराउँछौँ ।”
दमौली: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले तनहुँबाट निर्वाचित भएको सांसदले तनहुँमात्र नभएर देशलाई कुन दिशामा लैजाने भन्ने विषयमा पनि योगदान रहने बताएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ बरादीमा आज आयोजित कोणसभामा सभापति लामिछानेले तनहुँबाट निर्वाचित भएको सांसदले तनहुँमात्र नभएर देशलाई कुन दिशामा लैजाने भन्ने विषयमा पनि योगदान रहने बताए । तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य उम्मेदवार डा स्वर्णिम वाग्लेले तनहुँका जनता चेतनशील भएकाले कस्तो नेतृत्व आवश्यक पर्छ भन्नेमा मूल्याङ्कन गर्न आग्रह गरे । ‘ यहाँका जिल्लावासीले गर्व गर्न लायक सांसद बन्ने चाहना राखेका छन्, उनले भने, ‘तनहुँबाट निर्वाचित भएको सांसदले तनहुँमात्र बनाउँदैन, देशलाई कुन दिशामा लैजाने भन्ने विषयमा पनि योगदान रहन्छ ।’ उनले देशका समस्या सबैका साझा भएकाले समाधानका लागि आपसी सहमति र सहकार्य आवश्यक रहेको बताए । गुणस्तरीय शिक्षा, बेरोजगारी अन्त्य, सुलभ स्वास्थ्य सबै दलका साझा मुद्दा भएकाले यसमा सहकार्य गरेर अगाडि बढ्नुको विकल्प नरहेको सभापति लामिछानेको भनाइ छ । ‘मुलुकका समस्या सबै दलका साझा समस्या हुन्, पार्टीबीच सैद्दान्तिक मतभेद होला, तर मुलुकका साझा एजेण्डामा दलबीच फरक मतभेद हुनुहुँदैन ।’उनले भने । ‘अहिले वादविवाद गर्ने, झै–झगडा गर्ने बेला नभइ देशको विकासका लागि जुट्ने बेला हो, उनले भने, ‘रास्वपा कुनै दलको दुश्मन नभइ आम जनताको असलमित्र बन्न चाहेको छ, नागरिकका आम समस्या समाधानमा लागेका छौं, देशको अवस्थाबारे विचार गरी जनताले मत परिवर्तन गर्न आवश्यक छ ।’ उनले इमानको राजनीतिमा सम्झौता नगर्ने बताउँदै गलत काम गर्ने कसैलाई पनि छुट दिन नसकिने स्पष्ट पारे । ‘सांसद ढाकाकुमार श्रेष्ठ सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले पैसाको बार्गेनिङ गरेको थाहा पाएपछि हामीले ऐतिहासिक निर्णय गरेका छौँ, उनले भने, ‘राजनीतिक यात्रा सुरु भएपछि हरेक किसिमका मानिस पार्टीमा जोडिने भएकाले गलत कुराको सधै विरोध गछौं ।’
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने भएको छ । तीन प्रतिस्पर्धी रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठमध्ये पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसक्दा पुनः निर्वाचन हुन लागेको हो । पहिलो चरणको निर्वाचनबाट रामचन्द्र संघई बाहिरिनुभएको छ । अब दोस्रो चरणमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ । जिल्ला नगर, वस्तुगत र एसोसिएटमा खसेको कुल मतभारतमध्ये अञ्जन श्रेष्ठले सबैभन्दा धेरै ३७ दशमलव ९९ प्रतिशत मत प्राप्त गर्नुभएको छ भने उमेशलाल श्रेष्ठले ३१ दशमलव ५१ मत प्राप्त गर्नुभएको छ । साथै रामचन्द्र संघईले ३० दशमलव ४६ मत प्राप्त गर्नुभएको छ । महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचन हुनका लागि कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ । महासङ्घको बुधबार भएको निर्वाचन भएको थियो । जसमध्ये वरिष्ठ उपाध्यक्षतर्फको मतगणना आज बिहान सकिएको हो । मतपरिणाम अनुसार एसोसिएटतर्फ कुल खसेको एक हजार छ सय २० मतमध्ये संघईले ६१३ मत प्राप्त गर्नुभयो साथै अञ्जन श्रेष्ठले ५७३ मत र उमेशलाल श्रेष्ठले ४२६ मत प्राप्त गर्नुभयो । साथै ८ मत बदर भयो । जिल्ला नगरतर्फ कुल खसेको ११७ मतमध्ये अञ्जन श्रेष्ठले ४७, रामचन्द्र संघईले ३९ र उमेशलाल श्रेष्ठले २८ मत प्राप्त गर्नुभयो । साथै ३ मत बदर भयो । वस्तुगततर्फ खसेको १२३ मतमध्ये उमेशलाल श्रेष्ठले ६९, अञ्जन श्रेष्ठले ४१ र रामचन्द्र संघईले १२ मत प्राप्त गर्नुभयो भने एक मत बदर भयो । महासङ्घको विधान अनुसार हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी कार्यकालका लागि स्वतः अध्यक्ष हुनुहुनेछ । निर्वाचन आजै वरिष्ठ उपाध्यक्षका लागि आजै निर्वाचन हुनेछ । मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलका अनुसार वरिष्ठ उपाध्यक्षका लागि आज दिउँसो २ बजेदेखि ५ बजेसम्म निर्वाचन हुनेछ ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटकीय स्थल पञ्चासेमा नेपाली नयाँ वर्ष २०८० को पहिलो दिन बैशाख १ गते सुनाखरी पदयात्रा हुने भएको छ । पञ्चासेको पर्यापर्यटन प्रबर्द्धन, ग्रामीण होमस्टेको प्रचारप्रसार एबं सुनाखरी लगायत जैबिक विविधता संवर्धनको सन्देश दिने हेतुले उक्त पदयात्रा आयोजना हुन लागेको हो । पञ्चासे क्षेत्रको ५७०० हेक्टर बनजङ्गलमा पाईने १४७ प्रजातीको सुनाखरीलगायत जैबिक बिविधताको प्रचार र संरक्षणको सन्देश दिनु कार्यक्रमको मूल उद्देश्य रहने आयोजकले बताएको छ । पञ्चासेको पदमार्ग पर्यटन र ग्रामीण पर्यटनको महत्त्व उजागर गर्ने अभिप्रायले आयोजना गरिएको पञ्चासे सुनाखरी पदयात्रा कार्यक्रम भदौरे पञ्चासे पदमार्गको मूलद्वारबाट सुरुवात हुने जनाईएको छ। साथै पञ्चासे क्षेत्र पर्यावरण र पर्यापर्यटन अध्ययनको खुला बिश्वबिद्धालय रहेको सन्देश दिँदै पदयात्रा मार्फत हजारौं आन्तरिक पर्यटकलाई पञ्चासे अवलोकनका लागि आह्वान गर्नु पनि कार्यक्रमको उद्देश्य रहेको कास्की अन्नपूर्ण गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष आईन्दल गुरुङले बताए । सोही दिन प्रदेश सरकारको सहयोगमा निर्माण हुँदै गरेको पञ्चासेको छाँयाचित्रका रुपमा रहेको पञ्चासे जैबिक बिबिधता पार्क समुद्घाटन समेत गरिने कार्यक्रम आयोजक पञ्चासे ईको टुरिजम प्रालिले जनाएको छ। पर्यावरणमैत्री ढंगले निर्माण गरिएको सो पार्कको प्रारम्भिक काम सम्पन्न भएको र आगामी दिनमा ५० रोपनी क्षेत्रफलमा निर्माण कार्य सम्पन्न गरिने पार्क निर्माण समितिका अध्यक्ष नवराज पौडेलले जानकारी दिए ।
पोखरा: पोखराको एकीकृत पर्यटकीय परियोजनाको सम्भाव्यता अध्ययनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । पोखरा महानगरपालिका, नगर विकास कोष काठमाडौँ र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेड (निफ्रा) काठमाडौँ बिच बुधवार समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा पोखरा नगरपालिकाका प्रमुख धनराज आचार्य, नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गर्नुभएको छ । समझदारी अनुसार पक्षहरूका बिचमा पोखराको एकीकृत पर्यटकीय परियोजनाको सम्भाव्यता अध्ययन, लगानी, निर्माण, व्यवस्थापन एवं सञ्चालनका गतिविधिहरू संयुक्त रूपमा गरिनेछन् । स्थानीय तह अन्तर्गत रही आफ्नो अधिकार क्षेत्र भित्रको विषयगत कानुन बनाउने, बजेट बनाउने, निर्णय गर्ने, नीति तथा योजना तयार गर्ने, त्यसको कार्यान्वयन गर्ने तथा स्थानीय सरकारले संविधान अनुसार प्रवाह गर्नु पर्ने सम्पूर्ण सेवा सुविधा प्रवाह गर्ने महानगरपालिकाको दायित्व हुनेछ भने, नगर विकास कोषले स्थानीय तहहरूबिच वित्तीय मध्यस्थता गर्नेछ । निफ्राले पूर्वाधार विकास सम्बन्धी परियोजनाहरूमा लगानी गर्ने सम्झौतामा उल्लेख छ । महानगरपालिका भित्र प्राविधिक र आर्थिक रूपमा सम्भावित पर्यटकीय पूर्वाधार परियोजनाहरूको पहिचान गरी सार्वजनिक–निजी साझेदारीको माध्यमबाट सोको एकीकृत विकासका लागि अध्ययन, सोको लागि लगानी व्यवस्थापन र सम्भाव्य परियोजनालाई एकीकृत संरचनामा निर्माण तथा सञ्चालन गर्नको लागि आपसी सहकार्य गर्ने उद्देश्यले समझदारी गरिएको महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो । समझदारी अनुसार पहिचान भएका सम्भाव्य पर्यटकीय पूर्वाधार परियोजनाहरूको एकीकृत विकास गर्न वित्तीय एवं प्राविधिक विश्लेषण, कानुनी, वातावरणीय, विकासकर्ता छनौट एवं निर्माणका लागि आवश्यक सहयोग उपलब्ध गराउने र कोष एवं निफ्राको तर्फबाट वा अगुवाइमा स्वपुँजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग (ज्ञान साझेदार÷विकास साझेदारहरू समेत) को लागि सहकार्य गरिनेछ । यस्तै समझदारीका आधारमा परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन, विश्लेषण, उपयुक्तता परीक्षण र परियोजनाको विकास, निर्माण र सञ्चालन गर्न छुट्टै कम्पनी समेत गठन गरिनेछ । महानगरपालिकाले प्रस्तावित परियोजनाहरूको पहिचान, विकास, एकीकरण तथा कार्यान्वयन गर्ने प्रयोजनका लागि विभिन्न निकायसँग आवश्यक समन्वय गर्नेछ । परियोजनाको लागि आवश्यक पर्ने जग्गा प्राप्तिमा निर्णायक भूमिका खेल्ने, एकीकृत योजनालाई स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारसँग स्वीकृत गरी परियोजनालाई अगाडि बढ्न सक्ने वातावरण सृजना गर्ने, परियोजना विकासको क्रममा सरोकारवालाहरूसँग हुन सक्ने विवाद समाधानका लागि आवश्यक सहजीकरण गरी विवाद साम्य पार्ने, परियोजना सुरुवात गर्ने क्रममा कोष तथा निफ्रालाई परियोजनाको वित्तीय तथा प्राविधिक अध्ययन, विश्लेषण र विकासकर्ता छनौटमा आवश्यकता अनुसार संलग्न ÷सहभागी गराउने कार्य पोखरा महानगरपालिकाले गर्नेछ । कोषले भने परियोजनालाई पूर्णता दिन आवश्यक पर्ने स्रोत सुनिश्चित गर्न परियोजनाको प्रारम्भिक अवस्था देखिनै आफै वा परामर्शदाता मार्फत परियोजनाहरूको सम्भाव्यता, वित्तीय तथा प्राविधिक विश्लेषण, र विकासकर्ता छनौटका लागि आवश्यक सहयोग प्रदान गर्ने कार्यमा संलग्न हुनेछ । साथै परियोजनामा सरकारी एवं विकास साझेदारहरूलाई आवश्यकता अनुसार भित्र्याई परियोजनाको दीर्घकालीन विकास सुनिश्चित गर्न समन्वयकारी भूमिका निभाउनुका साथै परियोजना विकासका लागि आवश्यक पर्ने मापदण्डहरू कायम÷स्वीकृत गर्न नेपाल सरकार, सम्बन्धित मन्त्रालयरविभाग तथा नगरपालिकासँग समन्वय गर्नेछ । निफ्राले परियोजनाको सम्भाव्यता, वित्तीय तथा प्राविधिक विश्लेषण, र विकासकर्ता छनौटका लागि आवश्यक सहयोग प्रदान गर्नुका साथै परियोजना प्राविधिक तथा वित्तीय रूपमा सम्भाव्य देखिएमा उक्त परियोजनामा वित्तीय सल्लाहकार वा नेतृत्वको रूपमा सहभागी हुने र परियोजनाको लागि रणनीतिक साझेदार भित्राउन आवश्यक पहल गर्नेछ । समझदारी अनुसार परियोजनाको कार्यान्वयन अवधि दश (१०) वर्षको हुनेछ ।