काठमाडौं: सरकारले राष्ट्रिय परिचयपत्रबारे तत्कालीन उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले गरेको निर्णय खारेज गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्थापन सूचना प्रणालीमार्फत सुरक्षितरूपमा नागरिकको विवरण प्रमाणीकरण तथा अन्तर आबद्धतासम्बन्धी बनेको कार्यविधिमा व्यक्तिगत डाटा र राज्यको सुरक्षाका कुराहरू निजी कम्पनीलाई दिने तत्कालीन उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले गरेको निर्णय खारेज गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारकी प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले तत्कालीन गृहमन्त्री लामिछानेले राष्ट्रिय परिचयपत्रको व्यवस्थापनका लागि निजी कम्पनीलाई ठेक्का दिने गरी स्वीकृत गरेको कार्यविधि खारेज गरिएको बताउनुभयो । उहाँले त्यो कार्यविधिका विषयमा अध्ययन गर्नका लागि छुट्टै समिति बनाउने सरकारले निर्णय गरेको पनि बताउनुभयो । मन्त्री शर्माले सरकारले लामो समयदेखि रोकिएको जग्गा कित्ताकाट खुला गरेको बताउनुभयो । उहाँले सरकारले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको भन्दै नियमावली पास भएसँगै जग्गा कित्ताकाट खुला भएको बताउनुभयो । उहाँले भू–उपयोग नियमावली नबनेका कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबन्डा रोकिएकाले त्यसलाई सहज बनाउनका लागि मन्त्रिपरिषद्ले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको पनि बताउनुभयो । प्रवक्ता शर्माले काठमाण्डौ–तराई द्रुत मार्गमा पर्ने खोकना जग्गासम्बन्धी समस्या समाधान गर्न रक्षामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा समिति बनाउने निर्णय भएको बताउनुभयो । उहाँले त्यो समस्या समाधान गर्न समितिलाई तीन महिनाको समय दिएको पनि बताउनुभयो ।
त्रिवेणी: नवलपुरको वन क्षेत्रमा गत चैतमा ५३ स्थानमा डढेलो लागेको छ । डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमले र जिल्लाका विभिन्न वनका गरी ५३ स्थानका दुई हजार छ सय ५० हेक्टर जमिनमा डढेलो लागेको सूचना प्राप्त भएको जानकारी दिनुभयो । चैतसम्मको प्राप्त तथ्याङ्क भएकाले यो क्षेत्रफल बढ्नसक्ने उहाँले बताउनुभयो । “कतिपय स्थानबाट सूचना आउँदैनन्, सबै गर्दा प्राप्त क्षेत्रफलभन्दा केही धेरै डढेलो लागेको हुन सक्छ”, सूचना अधिकारी गौतमले भन्नुभयो । “नवलपुरमा अहिले करिब तीन हजार पाँच सय हेक्टर जमिनमा डढेलो लागेको छ । चैतको तथ्याङ्कमा दुई हजार छ सय नाघेको छ, केही दिनयता पनि केही ठाउँमा डढेलो लागेको छ, यसले हाल करिब तीन हजार पाँच सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको अनुमान छ”, उहाँले भन्नुभयो । फागुनमा खासै डढेलोका घटना नभए पनि चैत लागेसँगै यहाँ रहेका सामुदायिक वनहरुमा लागेको डढेलो नियन्त्रणमा आए पनि अहिले थप केही क्षेत्रमा नयाँ डढेलो लागेको उहाँको भनाइ थियो । डढेलो नियन्त्रणका लागि चैतको पहिलो साता साताव्यापी कार्यक्रम गरिएको थियो । मानवीय कारणले नै डढेलो लाग्ने भएकाले वन कार्यालयले साताव्यापी सचेतना कार्यक्रम सञ्चालन गरेको हो । यहाँ रहेका सामुदायिक वनले नियमित हेरालुबाहेक डढेलो नियन्त्रणका लागि थप मौसमी हेरालु राख्ने र अग्नि नियन्त्रक समूह निर्माण गर्ने गरे पनि पूर्णरूपमा डढेलोबाट वन जोगाउन भने नसकिएको सूचना अधिकारी गौतमले बताउनुभयो । वनमा आगो लगाउँदा नयाँ घाँस पलाउने, च्याउ उम्रने भन्ने धारणाले आगलागीका घटना हुने गरेका छन् । कहिलेकाँही सिकारीले वन्यजन्तुको सिकार गर्न पनि डढेलो लगाउने गरेका छन् । पहिले पहिले खोरिया फाँड्न वनमा आगो लगाउने चलन भए पनि नवलपुरमा भने हाल यस्तो घटना भएको पाइएको छैन । गलत धारणाका कारण मानिसले जानाजानी वनमा आगो लगाउँदा नयाँ बुट्यानहरु जलेर नष्ट हुने, वन्यजन्तु आगोमा जलेर मर्ने, धुवाँका कारण मानव स्वास्थ्यमा समेत असर पर्ने हुँदा यस्ता कार्य नगर्न र यदि कतै डढेलो लागिहाले समयमै नियन्त्रणमा लिन सबै लाग्नुपर्ने हुन्छ । वन क्षेत्रमा लागेको डढेलोका कारण यहाँको वायुमण्डल धुवाँले ढाकेको छ । जिल्लाको सबैजसो क्षेत्रमा अहिले धुवाँको बादल देखिन्छ । वायुमण्डल धुवाँले ढाक्दा कतिपय मानिसको आँखा पोल्ने र श्वासप्रश्वासमा समस्या हुने मध्यविन्दु जिल्ला अस्पतालका जनस्वास्थ्य अधिकृत छविलाल सुवेदीले बताउनुभयो । आँखाको सुरक्षाका लागि चस्मा प्रयोग गर्ने, बेलाबेलामा चिसोपानीले आँखा धुने र श्वासप्रश्वासमा समस्या हुन नदिन मास्क लगाउनेजस्ता उपाय अपनाउन सकिने उहाँको भनाइ थियो । नवलपुरमा करिब ७० हजार चार सय हेक्टर जमिनमा वन रहेको छ । RSS
काठमाडौं: निर्माणाधीन काठमाडौं-तराई/मधेश द्रुतमार्गको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (मङ्गलबार) अवलोकन गर्नुभएको छ । राष्ट्रिय गौरवको सो परियोजना प्रधानमन्त्री प्रचण्डको दोस्रो कार्यकालमा नेपाली सेनालाई जिम्मेवारी दिनुभएको थियो । हाल सो आयोजनाको निर्माण जारी छ । प्रधानमन्त्री प्रचण्डलगायत नेपाल सरकारका उच्च अधिकारी सम्मिलित टोलीले निर्माण भइरहेका विभिन्न खण्डहरूमा पुगी अवलोकन गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डको साथमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, भौतिक तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वाला, अर्थमन्त्री डा। प्रकाशशरण महत, मुख्य सचिव शङ्करदास वैरागी, नेपाल सरकारका सचिव र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालगायतको सहभागिता थियो । काठमाडौंलाई तराईरमधेशसँग जोड्ने सबैभन्दा छोटो दूरीको सो आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ । रासस
म्याग्दी: म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एकजनाको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार एकजना बेपत्ता छन् भने अर्का एकजनाको जीवितै उद्धार गरिएको छ। काठमाडौँको पायोनिर ट्रेकिङ कम्पनीमार्फत अन्नपूर्ण आरोहणमा जानुभएकी भारतीय आरोही बलजित कौरको सात हजार पाँच सय मिटर उचाइबाट कैलाश एयरको हेलिकप्टरमार्फत आज दिउँसो उद्धार गरिएको उद्धारमा खटिएका म्याग्दी दानाका इन्द्रसिंह शेरचनले जानकारी दिए। उनका अनुसार ‘सेभेन समिट ट्रेक्स ’बाट आरोहणमा गएका आरोही नोयल हन्नाको मृत्यु भएको छ। उनको शव छ हजार मिटरको उचाइबाट आज दिउँसो आधार शिविरमा ल्याइएको छ। उनीहरु दुवैजना आज बिहानदेखि बेपत्ता भएका थिए। सेभेन समिट ट्रेक्सबाट आरोहणमा गएका भारत राजस्थान किसनगढका ३४ वर्षीय अनुराग मालु वेपत्ता भएका छन्। सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईंका अनुसार सफलतापूर्वक आरोहण गरी आधार शिविर फर्कने क्रममा सोमबार दिउँसोदेखि सात हजार पाँच सय मिटरको उचाइबाट उनी वेपत्ता भएका थिए। उद्धार गरिएका आरोही र मृतकको शवलाई आधार शिविरबाट काठमाडौँ लैजाने तयारी गरिएको छ। बेपत्ता मालुको खोजीमा निजी कम्पनीका चारवटा हेलिकोप्टर परिचालन गरिएको छ। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्छ। रासस
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उर्जा क्षेत्र समृद्धिको बलियो आधार भएकाले ऊर्जा क्षेत्रमा थप लगानी बढाउन आवश्यक रहेको बताउनुभएको छ । मङ्गलवारदेखि सुरु भएको आठौँ पावर समिट-२०२३ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले नीतिगत र व्यावहारिक रूपमा नै ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधार मानेर अघि बढेकाले ऊर्जा क्षेत्रमा थप लगानी बढाउन आवश्यक रहेको बताउनुभयो । आर्थिक रूपमा बलियो बनाएर अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्न पनि हरित ऊर्जाको आवश्यकता महत्त्वपूर्ण भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘हामी सुक्खा मौसममा पनि बिजुली आयात गर्न आवश्यक नपर्ने गरी सन् २०२५ सम्म निर्यात हुने अपेक्षा गर्छौँ । त्यसैले हामी हरित ऊर्जाका लागि बजार फराकिलो बनाउनका लागि उत्तम रणनीतिका साथ यस क्षेत्रमा कार्यरत स्वदेशी तथा विदेशीको अनुभवबाट सिक्न यहाँ भेला भएका छौँ । देशका सबै नागरिकलाई बिजुली उपलब्ध गराउने लक्ष्यका साथ ग्रिड विस्तार गर्न र अफ ग्रिड प्रविधिमा लगानी विस्तार गरिरहेका छौँ ।’ प्रधानमन्त्री प्रचण्डले प्रसारण र वितरण लाइन विस्तार गर्न तथा स्थिर बिजुली आपूर्ति सुनिश्चित गर्न सरकारले पहल गरिरहेको उल्लेख गर्नुभयो । उहाँले स्वदेशमा उत्पादन हुने बिजुली आन्तरिक रूपमा उपयोग गर्न पर्याप्त पूर्वाधार निर्माण नगर्दासम्म यस क्षेत्रमा भइरहेको ठूलो लगानी जोगाउन पनि निर्यात गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले धेरै बिजुली खपत गर्न सक्ने क्षेत्रको प्रवर्धन, प्रतिव्यक्ति खपत बढाउन सक्ने वातावरण तय गर्दै व्यापार घाटालाई कम गर्न बिजुलीको उपभोग बढाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।
काठमाडौं: शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको भन्दै मिटरब्याज पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । हिजो सोमबार शान्तिबाटिकामा प्रहरीको लाठी प्रहारबाट घाइते समेत भएका उनीहरुले आज गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध नाराबाजी लगाउँदै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । आफूहरुको माग सम्बोधन गर्नुको साटो गृहमन्त्री श्रेष्ठले प्रहरी प्रशासन लगाएर दमन गरेकाले त्यसको विरोधमा प्रदर्शन गर्नु परेको मिटरब्याज विरुद्ध किसान–मजदुर सङ्घर्ष समितिका संयोजक अवधेश कुशवाहले बताए । उनले आफूहरुको समस्या समाधान गर्न सरकार गम्भीर नभएको भन्दै माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने समेत बताए । मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि सरकारले बनाएको छानबिन समितिले पनि आफ्नो कामलाई तीव्रता नदिएको पीडित पक्षले गुनासो गर्दै आएका छन्।
काठमाडौं: नयाँ शैक्षिक सत्र शुरुवात हुँदै गर्दा देशका ५९ जिल्लामा पाठ्यपुस्तक पुगेका छन् । बाँकी रहेका १८ जिल्लामा पनि वैशाख १० गतेभित्र पुस्तक पुर्याइने लक्ष्य रहेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । विगत वर्षमा शैक्षिक सत्र शुरु भएको महिनौ दिनसम्म पनि विद्यार्थीले पाठ्यपुस्तक नपाउने समस्या रहेकोमा यो सत्रमा समयमै पाठ्यपुस्तक पुग्ने भएको छ । विद्यार्थीहरुका लागि पाठ्यपुस्तक छपाइ तथा वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पुस ५ गतेदेखि २४ सै घन्टा पुस्तक छाप्ने काम गरेका कारण शैक्षिक सत्र शुरु हुनुभन्दा अगाडि नै पर्याप्त मात्रामा पुस्तकहरु उत्पादन भएका हुन् । जनक शिक्षाले मात्रै यस वर्षका लागि १ करोड ५० लाख भन्दा धेरै वटा पुस्तक छापेको छ । सामुदायिक विद्यालयका लागि ६ देखि १० कक्षासम्मका पुस्तक जनक शिक्षाले छापेको छ । सबै निजी तथा संस्थागत विद्यालयमा पढाइ हुने अंग्रेजी, नेपाली र सामाजिक शिक्षा विषयका पुस्तक पनि जनक शिक्षाले नै छापेको छ । छापिएका पुस्तकहरु वितरण गर्दा दुर्गम हिमाली जिल्ला र पहाडी जिल्लालाई पहिलो प्राथमिकता दिइएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक अनिल कुमार झाले बताउनुभयो । अहिलेसम्ममा कर्णाली अंचलका सबै र केही पहाडी र तराइका जिल्लाहरु समेत गरेर ५९ जिल्लामा आवश्यक जति सबै पाठ्यपुस्तक पुर्याइएको प्रबन्ध निर्देशक झाले जानकारी दिनुभयो । सामुदायिक विद्यालयका लागि चाहिने १ देखि ५ कक्षासम्मका करिब १ करोड १३ लाख वटा पुस्तक निजी क्षेत्रका छापाखानाहरुले छापेर सम्बन्धित जिल्लाहरुमा पुर्याइसकेको पाठ्यक्रम विकास केन्द्रकामहानिर्देशक बैकुण्ठ प्रसाद अर्यालले जानकारी दिनुभयो । केन्द्रका अनुसार अब सोलुखुम्बु, धनकुटा, मोरङ, सुनसरी लगाएत १८ वटा जिल्लामा पुस्तक पुर्याउन बाँकी रहेको छ । ती जिल्लाहरुका लागि आवश्यक पर्ने सबै पुस्तक छापिइसकेको र वैशाख १० गतेभित्रै पुर्याइसक्ने जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । यसैबीच पाठ्यपुस्तक छपाइ तथा ढुवानीको निरन्तर अनुगमन गरी सहजीकरण गरिरहेको प्रधानमन्त्रीको सचिवालयको टोलीले सोमबार पनि स्थलगत अनुगमन गरेको छ । प्रधानमन्त्रीका स्वकीय सहसचिव गोकर्ण भट्ट र आइटी विज्ञ प्रकाश रायमाझीले स्थलगत अनुगमन गरी पाठ्यपुस्तक छपाइ तथा ढुवानीका लागि प्रधानमन्त्री कार्यालयको केही सहयोग चाहिएमा आफूहरुलाई जानकारी गराउन जनक शिक्षाका अधिकारीहरुलाई आग्रह गर्नुभयो । विगत वर्षमा शैक्षिक सत्र शुरु भएको महिनौ दिन बितिसक्दा पनि पाठ्यपुस्तक अभावका कारण पठनपाठनमा समस्या हुने गरेकोमा अब त्यस्तो हुन नदिइने प्रधानमन्त्री स्वकीय सहसचिव भट्टले बताउनुभयो ।
सिन्धुपाल्चोक: तातोपानी नाका खुलाउन तथा सीमा सुरक्षाका विषयमा चीन र नेपालतर्फको सम्बन्धित सुरक्षा निकायबीच द्विपक्षीय बैठक सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामकुमार यादवले नेपालतर्फका सुरक्षा निकायका प्रतिनिधि र चीनतर्फका सुरक्षा निकायका प्रतिनिधिबीच सीमानाका व्यवस्थापन, अपराध नियन्त्रण तथा अन्य समसामयिक विषयमा बैठकमा छलफल भएको जानकारी दिनुभयो । बैठकमा यही १८ वैशाखबाट तातोपानी नाका नियमित सञ्चालन गर्ने, सीमा सुरक्षा तथा कोरोना सङ्क्रमण एवं सुरक्षाको विषयलाई प्राथामिकता दिएको उहाँले बताउनुभयो । दुवै देशबीच कोभिड सङ्क्रमणसम्बन्धी सावधानी अपनाउने तथा सूचना सम्प्रेषण गर्ने, अन्तरदेशीय सिमाना सुरक्षा व्यवस्था अझ बलियो बनाउने, अपराध नियन्त्रण र न्यूनीकरणमा संवेदशील रही आवश्यकतानुसार संयुक्त तालिम, गस्ती गर्ने, थप चेक प्वाइन्ट राख्ने व्यवस्था मिलाउने, सीमा सुरक्षासम्बन्धी सम्पूर्ण सूचना तत्कालै आदान–प्रदान गर्ने, विगतमा भएजस्तै आगामी दिनमा समेत आपसी सुरक्षासम्बन्धी काम कारबाहीमा सहयोग र समन्वयात्मक कार्यमा अझ बढी संवेदशील रही सुरक्षा व्यवस्थालाई बलियो बनाउनेलगायत बैठकमा छलफल भएको जनाइएको छ । नेपालबाट सिन्धुपाल्चोकका जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख तथा चीनका न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन, सुरक्षा निकायलगायतका अधिकारीबीच बैठक भएको हो । लामो समयदेखि नाका नियमित हुनसकेको छैन ।
काठमाडौं: मंगलबारका लागि तय भएको राष्ट्रिय सभा बैठक स्थगित भएको छ । मंगलबार दिउँसो २ः३१ बजे बस्ने गरी निर्धारण गरिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको संघीय संसद सचिवालयले जनाएको छ । राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठकको मिति अर्को सूचनाबाट तोकिने उल्लेख छ ।