बेनी: म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक सोमबारदेखि दैनिक छ घन्टा यातायात सेवा बन्द हुन थालेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, ‘बेलिब्रिज’ निर्माण र सडक विस्तारका लागि यातायात सञ्चालन गर्ने समय तालिका बनाइएको हो । प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले २०८० वैशाख ४ देखि २० गतेसम्म बिहान ६ देखि ९ र दिउँसो १ देखि ३ बजेसम्म यातायात आवतजावत बन्द गरेर निर्माण गरिने जानकारी दिए । यसअघि २०७९ चैत ३ देखि १४ गतेसम्म रुप्से खण्डमा सोही समयमा यातायात बन्द गरिएको थियो । पहिराले क्षति गरेको साँघुरो सडकमा यातायात सञ्चालन, सडक, पुल निर्माण र पहिरो व्यवस्थापनको काम सँगै गर्दा जोखिम भएकाले यातायात रोकेर काम गर्ने समयतालिका बनाइएको सडक आयोजनाले जनाएको छ । निर्माण व्यवसायीले बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत जिल्ला प्रशासन कार्यालय म्याग्दीमा समय व्यवस्थापनका लागि पत्राचार गरेका थिए । म्याग्दीबाट मुस्ताङ जाने र मुस्ताङबाट म्याग्दीतर्फ आउने सवारीसाधनले सडक बन्द हुने समयअगावै रुप्से खण्ड पार गर्नुपर्नेछ । एम्बुलेन्स र अत्यावश्यक सवारीसाधनको हकमा भने सडकमा सहज आवतजावतको व्यवस्था मिलाउने प्रशासनले जनाएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत पर्वतको मालढुङ्गाबाट म्याग्दी हुँदै मुस्ताङको कोरलानाका जोड्ने सडक स्तरोन्नति, विस्तार र कालोपत्र गर्ने काम विभिन्न खण्डमा भइरहेको छ ।
काठमाडौं: नेपाल एअरलाइन्सले दुर्गम क्षेत्रमा उडान बढाउनका लागि तीन वटा साना जहाज किन्ने तयारी गरेको छ । जहाज किन्न निगमले बनाएको उपसमितिले दुर्गम क्षेत्रका नागरिकको माग सम्बोधन र हवाई कनेक्टिभिटी बढाउन तीन वटा जहाज किन्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन निगम व्यवस्थापनलाई बुझाइसकेको छ । विशेष पहल गरी यथाशक्य छिटो जहाज खरिद कार्य सम्पन्न गर्नका लागि निगम सञ्चालक समितिले सञ्चालक समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधिरशमशेर राईको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको छ । यो उपसमितिले कामसमेत सुरु गरिसकेको छ । तीन वटा जहाज निगमले आफ्नै आन्तरिक स्रोतबाट पारदर्शी रूपले निर्माता कम्पनीसँग खरिद गर्न लागेको हो । निगमले नयाँ तीन वटा जहाज खरिद गरेपछि नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुलाई सेवा प्रदान गर्न सकिने जनाएको छ । साथै पर्यटन प्रवर्धन हुने, निगमको उपस्थितिले बजार सन्तुलित भई हवाई भाडा दर केही हदसम्म सुपथ हुने र निगमको सेवा प्रभावकारी भई उपभोक्ता हित संरक्षण हुने विश्वास रहेको निगमको भनाइ छ ।
पोखरा: सामुदायिक वन उपभोक्ता महासंघ नेपाल कास्कीको सातौ अधिवेशनले विश्वनाथ लामिछानेको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । चार बर्षे कार्यकालको सो समितिको उपाध्यक्षमा चुडामणी अधिकारी, सचिवमा पार्वती सुवेदी, कोषाध्यक्षमा अम्विका बुढाथोकी, उपसचिवमा रमेश विश्वकर्मा निर्वाचित हुनु भएको हो । समितिको सदस्यहरुमा अनन्तराज अधिकारी, बुद्धिबहादुर घिमिरे, जिता पौडेल, शोभा आचार्य, शान्ति सापकोटा, इन्द्रबहादुर खत्री, मेधनाथ पराजुली, विमला खनाल, तिर्थ पौडेल, कविता विश्वकर्मा र रमादेवी गौतम रहनु भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सचिव ठाकुर भण्डारीले अधिवेशनको उद्घाटन गर्दै दिगो वन व्यवस्थापनका आधारमा वन पैदावारको उपयोग गर्नु पर्ने आवश्यकता औल्याउनुभयो । वनको संरक्षण सम्वद्र्धन र विकासमा जोड दिंदंै आएका उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्दै प्राकृतिक श्रोतलाई राज्यको समृद्धिमा उपयोग गर्नुपर्नेमा जोड दिंदै उहाँले प्राकृतिक श्रोतको उपयोगमा तीनै तहका सरकार जिम्मेवार हुनु पर्ने बताउनुभयो । वन ऐन, विनियम र समूहको विधान एवम् कार्ययोजनाका आधारमा वन पैदावार उपयोग गर्न समुह सचेत हुनु पर्ने जोड दिंदै भण्डारीले भन्नुभयो, समुहको अधिकार कुण्ठित हुने गरि हुने भएका कुनै पनि निर्णय महासंँघलाई मान्य हुने छैन । महासंघका केन्द्रीय सदस्य एवम् जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सरिता कुमालले महासंघले नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । अर्का केन्द्रीय सदस्य हरिप्रसाद बास्तोलाले सामुदायिक वन समूहले प्राकृतिक श्रोतको भरपुर उपयोग गर्दै वन पैदावारमा आधारित उद्योग सञ्चालनमा जोडदिनु पर्ने आवश्यकता औल्याउनुभयो । महासंघ केन्द्रीय सदस्य सुनमाया नेपाली, गण्डकी प्रदेश अध्यक्ष कालिदास सुवेदीले वन उद्यम सञ्चालन गर्न सजह नितीको खाँचो औल्याउनुभयो । कार्यक्रममा पोखरा २५ हेमजास्थित पानी उद्योग सञ्चालन गर्ने फुर्केटारी र लप्सीको अचार उत्पादन गर्ने वनपाले सामुदायिक वन समुहलाई सम्मानपत्रले सम्मान गरिएको थियो । महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ मादी गाउँपालिकाका अध्यक्ष सिर्जना पौडेल जिल्ला उपाध्यक्ष चुडामणी अधिकारी लगायतले वन्यजन्तु नियन्त्रणमा सरकार जिम्मेवार हुनु पर्ने आवश्यकता औल्याउनुभयो । अधिवेशनमा सचिव पार्वती सुवेदीले सांगठनिक र कोषाध्यक्ष अम्विका आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
काठमाडौं: वर्ष २०७९ मा गृह मन्त्रालयअन्तर्गत केही महत्वपूर्ण कार्य सम्पन्न भएको छ । मुख्यगरी विसं २०७९ साल चुनावी वर्ष नै बन्न पुगेको छ । वैशाख ३० गते स्थानीय तहको निर्वाचन, मङ्सिर ४ मा सङ्घ र प्रदेशकको निर्वाचन सफलतापूर्वक सम्पन्न भयो भने त्यसपछि फागुन २५ मा राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन भयो । ती निर्वाचनमा शान्ति र सुरक्षाको जिम्मा पाएको गृह मन्त्रालयले भयररिहत वातावरणमा निर्वाचन सम्पन्न गरी महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । गृहचिव विनोदप्रकाश सिंह सफतापूर्वक सबै चुनाव सम्पन्न गर्नाका साथै अन्य धेरै काम गृहले २०७९ मा गरेको बताउनुहुन्छ । उहाँ मिटरव्याज पीडितको अबस्था अध्ययनपछि पीडितसँग सम्झौता गरी आयोग नै गठन गरिएको र उक्त कार्य कसुर हुने गरी कानून संसोधनको प्रक्रियामा जानु महत्वपूर्ण र ऐतिहासिक कार्य भएको बताउनुहुन्छ । यो समस्या लामो समयदेखि जकडिएर रहेको थियो । पीडितहरु घरबारविहीन अबस्थामा पुगेका थिए । गएको वर्ष गृहमन्त्रालयको तदारुकताले मिटब्याज पीडितसँग ऐतिहासिक सम्झौता भएको र सम्झौता अहिले कार्यान्वयनको चरणमा छ । मिटरब्याजमा रकम लगानी गरी अनियमितता गर्ने व्यक्ति तथा संस्थाको छानबिन तथा पीडितको न्यायका लागि आवश्यक कानुनको मस्यौदा तयार भएको छ । समस्या समाधानका लागि आयोग गठन गरेर काम अघि बढाइएको छ । गृहमन्त्री र गृह सचिवले तीन दशक अघिदेखि विशेष सुत्र वा सुराकी परिचालनसम्बन्धी खर्चको व्यवस्थालाई सरकारले खारेज गरेको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्रीको कार्यभार सम्हालेपछि उक्त व्यवस्था खारेज गर्न पहिलो निर्णय गर्नुभएको थियो । सोही निर्णयको आधारमा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले अघिल्लो महिना उक्त प्रावधान खारेज गरेको हो । यसअघि तीन दकदेखि गृहसचिवले दैनिक रु २० हजारसम्म र गृहमन्त्रीले रु ५० हजारसम्म खर्च गर्न पाउने व्यवस्था थियो । महालेखालेसमेत यो विषयमा प्रश्न उठाउँदै आएको थियो । यस्तै बहिर्गमित माओवादी लडाकुका लागि रु दुई लाखका दरले राहत दिने सरकारले निर्णय गरेको छ । उक्त निर्णय अहिले कार्यान्वयनको चरणमा रहेको गृहसचिव सिंह जानकारी दिनुहुन्छ । विसं २०७३ देखि नै राहत दिने उक्त विषय अड्किएर बसेकामा यसपाली गाँठो फुकाएर दिन लागिएको हो । अर्को महत्वपूर्ण निर्णय भने सरुवा र बढुवालाई व्यवस्थित गरिएको छ । मन्त्रालयले प्रमुख जिल्ला अधिकारी ९सिडिओ०हरूको सरुवाका लागि सुशासन ९व्यवस्थापन तथा सञ्चालन० नियमावली २०६५ को नियम ९ ले दिएको अधिकार प्रयोग गरी पहिलोपटक कार्यविधि बनाई लागू गरेको छ । यो कार्यविधि पहिलो हो । सबैलाई सबै ठाउँमा अवसर र अनुभव प्राप्त हुने गरी मन्त्रालयले ‘प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाजमा गर्न खटाउनेसम्बन्धी कार्यविधि २०७९’ तयार पारी लागू गरेको हो । उक्त कार्यविधिअनुसार अब भने कुनै पनि प्रजिअले आफ्नो गृहजिल्लामा सरुवा हुन पाउने छैनन्। यसले विगतमा हुँदै आएको भनसुन दबाव र प्रभाव रोक्ने विश्वास गरिएको छ । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने गिरोह तथा नक्कली कागजात पेश गरेर सक्कली नागरिकता लिने गिरोहलाई कानूनी कारबाहीमा ल्याइएको छ । यस्तै नेपालमा बसेर विदेशी नागरिकलाई ठगी गर्ने तथा नेपालभित्रै बसेर अनलाइन ठगी तथा कल सेन्टर खोलेर ठगी गर्ने गिरोहसमेतलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको छ । पृथ्वीबहादुर शाहजस्ता ठगीमा संलग्न रहेका आरोपीलाई पक्राउ गरी कानूनी दायरामा ल्याउँदा यसले समाजमा महत्वपूर्ण सन्देश प्रवाह गरेको गृहको निष्कर्ष छ । वर्ष २०७९ मा गृहले केही महत्वपूर्ण कानूनी व्यवस्थासमेत गरेको छ । फौजदारी कसुर ९कैद कट्टा० नियमावली २०७९, सामाजिक सुरक्षा ९दोस्रो संसोधन० नियावली २०७९, कारागार ऐन २०७९, कारागार ९पन्ध्रौँ संसोधन० नियमावली २०७९, स्वीकृत भइ कार्यान्वयनमा गएको छ । यसपटक अर्को महत्वपूर्ण उलब्धीका रुपमा ससस्त्र द्वन्द्व, जनआन्दोलन तथा मधेश आन्दोलनमा घाइते अपाङ्, द्वन्द्वमा आमाबाबुविहीन भएका १८ वर्ष मुनिका ३४ बालबालिका गरी एक हजार ७७ जनालाई रु १२ करोड १६ लाख ५९ हजार राहत रकम वितरण गरिएको छ । प्रशासनिक कार्यहरु असहज रहेको राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई ७७ वटै जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयबाट विवरण दर्ता गर्न थालिएको छ । त्यसका लागि ८३० स्टेशन स्थापना भइ काम जारी रहेकाले सेवा प्रभावकारी भएको जनाइएको छ । हालसम्म एक करोड १५ लाख नागरिकको विवरण सङ्कलन भएको छ भने ४६ जिल्लामा अभियान सम्पन्न भइ अन्य १७ जिल्लामा जारी रहेको छ । अहिले विगतमा जस्तो राष्ट्रिय परिचयपत्रका लागि ठूलो भिडभाडमा बसेर नागरिकले सास्ती व्यहोर्न परेको छैन । प्रशासन कार्यालयले टाइम कार्ड लागू गरेर विभिन्न सेवा प्रवाह गरिरहेका छन् । गुनासो सुनुवाइलाई प्रभावकारी बनाउन टोल फ्री नम्बर १११२ मा थप चार लाइन जडान गरी गुनासो पोर्टल सञ्चालन गरिएको छ । विद्युतीय शुसासनका लागि गृह र अन्तर्गतका जिल्ला, इलाका र सीमा प्रशासन कार्यालयमा इन्ट्रानेट लिज लाइनमार्फत आफ्नै आइसिटी नेटवर्क स्थापना गरी सञ्चालन गरिएको छ । अध्यागमन विभागबाट जारी हुने सबै प्रकारका हस्तलिखित भिसाको सट्टा क्युआर कोडसहितको सिष्टम जेनेरेटेड भिसा लागू गरिएको छ । सबै अध्ययागमन विन्दु ९पशुपतिनगर, हिल्साबाहेक०बाट आगमन र प्रस्थान हुने यात्रुहरुको जैविक विवरण लिने व्यवस्था मिलाइएको छ । बीस वटा कारागार कार्यालयका २२ सय कैदीबन्दीलाई मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सर्वोच्च अदालतको फैसला बमोजिम बिगो जफत हुने ठहर भएका प्रतिवादीको नाममा विभिन्न बैङ्क खातामा रहेको रु दुई करोड ३५ लाख ६० हजार कसुरजन्य सम्पति व्यावस्थापन कोषमा स्थानान्तरण पनि यही वर्ष गरिएको छ । रासस
दाङ: दाङको घोराहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको । आज (सोमवार घोराही उपमहानगरपालिका वडा नम्बर ११ खैरामा लु २ ख ४८१ नम्बरको ट्रकले लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही ११ खैराका २६ वर्षीय सन्देश बस्नेत र मोटरसाइकलमा सवार खैराकै १७ वर्षीय गोपाल विक रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन गौतमले जानकारी दिनुभयो । मोटरसाइकल चालक बस्नेतको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र मोटरसाइकलमा सवार विकको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार ट्रकलाई ुओभरटेकु गर्ने क्रममा मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो ।
काठमाडौं: हिमाल सफाइ अभियानमा जुटेको नेपाली सेनाको एक टोली अन्नपूर्ण प्रथम् हिमाल आरोहण गर्न सफल भएको छ । सह–सेनानी सुमन पाण्डेको नेतृत्वमा रहेको सेनाको टोलीले आज बिहान ८ः५५ मिनेटमा आठ हजार ९१ मिटरको विश्वको दशौँ अग्लो हिमालको चुचुरोमा पुग्न सफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । टोलीमा प्यूठ् मानसिंह चौधरी, सिपाही नवराज राना, सिपाही ज्ञानेन्द्र डाँगी, मुख्य पथप्रदर्शक छिरिङ जङ्बु शेर्पासहित पाँच शेर्पा सहयोगी हुनुहुन्छ । जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यअनुरुप नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत सेनाको अगुवाइमा वार्षिकरुपमा हिमाल सफाइ अभियान सञ्चालन भइरहेको छ । यसवर्ष सगरमाथा, ल्होत्से, वरुञ्चे र अन्नपूर्ण हिमाल सफाइ भइरहेको छ । सगरमाथा र ल्होत्से हिमालका लागि प्रमुख सेनानी किशोर अधिकारी नेतृत्वको १३ जनाको टोली दोस्रो आधार शिविरमा पुगेको छ । बरुञ्चे हिमाल सफाइ टोली उक्त हिमालको आधार शिविर पुग्ने क्रममा छ । ती टोली हिमाल सफाइ कार्यलाई थप प्रभावकारी बनाउन आफूलाई हिमाली वातावरण अनुकूल तुल्याउन विभिन्न क्रियाकलापमा जुटेका छन् । यसवर्ष सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालबाट करिब ३५ टन फोहर सङ्कलन गर्ने लक्ष्य छ । रासस
काठमाडौं: नेकपा एमालेका अध्यक्ष एव् पुर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूलाई भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएको बताएका हुन् । ओलीले फेसबुकमा लेखेका छन्, ‘ भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ । अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु ।’ अस्वस्थताका कारण बारा–२, चितवन–२ र तनहुँ–१ मा हुने उपनिर्वाचनको प्रचार प्रसारमा सहभागी हुन नसकेको भन्दै उनले स्वास्थ्य ठिक भएपछि उचित समयमा ती ठाउँका मतदाता भेट्न जाने बताएका छन् ।
कैलाली: कैलालीको धनगढीस्थीत सेती प्रादेशिक अस्पतालमा एक कोरोना भाइरस (कोभिड) संक्रमित महिलाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनको आज बिहान साढे ८ बजे अस्पतालको सघन उपचार कक्षमा मृत्यु भएको उहाले बताउनुभयो । मुटुको बिरामी रहेकी ती महिलामा चैत २६ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
दमौली: मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सात किलोमिटर सडक कालोपत्रको तयारी गरिएको छ । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) ले आँबुखैरेनीतर्फबाट सात किलोमिटर सडक कालोपत्रको तयारी गरेको हो । सडक योजनाका पूर्वी खण्ड प्रमुख नरेन्द्र सुवेदीका अनुसार चालु आर्थिक वर्षभित्रै सात किलोमिटर सडकखण्ड कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ । “यो खण्डमा विद्युत् पोल स्थानान्तरण नहुँदा काममा केही समस्या आएको थियो, विद्युत् पोल हटाउँदै गइएको छ”, सुवेदीले भन्नुभयो, “सबै पोल स्थानान्तरण भइसकेको छैन तर हटाउने काम जारी छ ।” विविध कारणले सडक कालोपत्रको काम ढिलाइ भएको बताउँदै सुवेदीले १० दिनभित्र कालोपत्रको काम सुरु हुने जानकारी दिनुभयो । सुवेदीले भन्नुभयो, “ जहाँसम्म लाग्छ १० दिनभित्र काम सुरु हुन्छ ।” उहाँका अनुसार सडक कालोपत्रको परीक्षण भइसकेको छ । “कालोपत्रको ट्रायल भइसक्यो, कालोपत्र सडकलाई छुवाइसक्यौँ”, सुवेदीले भन्नुभयो । आँबुखैरेनीदेखि जामुनेसम्मको उक्त खण्डमा अहिले सडक विस्तार, पुल र कल्भर्ट निर्माणको काम भइरहेको छ । हालसम्मको उक्त खण्डको भौतिक प्रगति २२.५ प्रतिशत रहेको सुवेदीले बताउनुभयो । पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किमि यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । सडक चौडा पार्ने क्रममा निस्किएका निर्माण सामग्रीमा स्थानीय तहबाट रोयल्टी माग भएको साथै निर्माण सामग्री ढुवानी गर्दा प्रत्येक स्थानीय तहलाई ढुवानी शुल्क तिर्नुपर्ने अवस्था रहँदा आयोजनाको काममा केही समय ढिलाइ भएको थियो । तर अहिले उक्त समस्या समाधान भएको बताइएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजार रहेको योजनाले जनाएको छ ।