चितवन: चितवनको भरतपुर-११ स्थित नयाँकिरण मावि मतदानस्थलमा विवादले स्थगित मतदान पुन: सुरु भएको छ । रास्वपा र अन्य दलका समर्थकबीच विवाद हुँदा ११:१५ मिनेटदेखि मतदान अवरुद्ध भएको थियो । रास्वपा सभापति रवि लामिछाने मतदान केन्द्रमा पुग्दा समर्थकले नाराबाजी गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । मतदान अधिकृत कमला न्यौपानेका अनुसार रास्वपाले आचारसंहिता उल्लंघन गरेको स्वीकार गरी माफी मागेपछि सर्वदलीय सहमतिमा दिउँसो सवा ३ बजेदेखि पुन: मतदान सुरु भएको हो । यो मतदानस्थलमा यसअघि ४० प्रतिशत मत खसिसकेको छ । ‘रास्वपाबाट मतदान भइरहेको समयमा आचारसंहिता उल्लंघन गर्ने कार्यक्रम संचालन भएको पाइयो। उक्त दलबाट क्षमायाचना गर्ने निर्णय गरियो,’ दलहरुबीच भएको सहमतिमा उल्लेख छ । रास्वपाले आचारसंहिता उल्लंघन गरेको जानकारी मुख्य निर्वाचन कार्यालयलाई जानकारी गराउने निर्णय पनि भएको छ। त्यस्तै, मतदानस्थलमा शान्ति सुरक्षा कायम गर्न तीन सय मिटर वरीपरी कुनै गतिविधि नगर्ने सहमति पनि भएको छ।
तनहुँ: तनहुँ क्षेत्र नम्बर-१ मा अहिलेसम्म ३५ प्रतिशत मत खसेको छ । आज भइरहेको उपचुनावअन्तर्गत मतदानमा दिउँसो पौने २ बजेसम्म ३५ प्रतिशत मत खसेको निर्वाचन कार्यालय तनहुँले जनाएको छ । यस क्षेत्रमा एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेका छन् । अहिले एक सय ५२ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान चलिरहेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्नेछ । निर्वाचन क्षेत्रमा व्यास नगरपालिकाका ५ र ६ बाहेक १२ वडा, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिका पर्दछ । तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएपछि रिक्त ठाउँमा उपचुनाव भएको हो । उपचुनावका लागि नेपाली काङ्ग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. स्वर्णिम वाग्ले, राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार प्रतिस्पर्धामा हुनुहुन्छ ।
चितवन: चितवन क्षेत्र नम्बर २ मा भइरहेको उपनिर्वाचनमा भरतपुर –११ नयाँ किरण मावि मतदान केन्द्रमा मतदान स्थगित भएको छ । प्रहरीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने उक्त केन्द्रमा पुगेपछि उनका समर्थकले नाराबाजी गरेपछि अन्य दलका कार्यकर्ताले मतदान केन्द्रमा नाराबाजी गर्न पाइँदैन भन्दै विरोध गर्दा मतदान स्थगित भएको हो । सो क्रममा दुई पक्षबीच धकेलाधकेल भएको थियो। रास्वपाले उक्त धकेलाधकेलमा आफ्ना केन्द्रीय सदस्य दीपक बोहोराको मोबाइल फुटाइएको बताएको छ। उनी भिडिओ खिचिरहेका थिए। स्थगित भएको मदान सुचारू गर्न छलफल भइरहेको छ। अहिले मतदानस्थलमा छलफल जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले जानकारी दिए। नाराबाजी गरेसँगै आचारसंहिता कार्यान्वयन नभएको आरोप अन्य दलका प्रतिनिधिले लगाएका छन्। सर्वदलीय बैठक बसेर मतदान प्रक्रिया सुरू गर्ने तयारी भइरहेको उनले बताए। ‘बैठकको तयारी भइरहेको छ, जटिल समस्या नभएकाले बैठकपछि मतदान सुरू हुन्छ,’ उनले भने।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन निर्देशन दिएका छन् । आइतबार बिहान प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारका मुख्यसचिव शङ्करदास वैरागीलाई नेपालमा बनेको सवारी साधन दर्ता नभएको भन्ने गुनासो आएको भन्दै नागरिकको गुनासो सम्बोधन हुनेगरी दर्तासम्बन्धी कानुनको तयारी गर्न र नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले “यात्री” लगायतका नेपालमै उत्पादित सवारी साधनले दर्ता भई काम गर्न नपाएको भनि सञ्चारमाध्यममा आएका गुनासोप्रति आफू गम्भीर रहेको भन्दै सोका लागि आवश्यक कार्यविधिलाई छिटो टुङ्गोमा पुर्याउन मुख्यसचिवलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्रीको निर्देशनलगत्तै मुख्यसचिवले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीलाई तत्कालै नेपालमा उत्पादित सवारी साधनको दर्ता एवम् प्रवर्द्धनसम्बन्धी कानुनको मस्यौदा बनाई पेश गर्न निर्देशन दिएका छन् ।
पाल्पा: बुटवलबाट पाल्पा हुँदै बागलुङको बुर्तिबाङतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ–५, जोरधारा नजिकै बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको र १८ जना घाइते भएको प्रहरीले जनाएको छ । आइतबार बिहान सवा नौ बजे बुटवलबाट पाल्पा हुँदै बागलुङको बुर्तिबाङ्तर्फ गइरहेको लु १ ख ५९५६ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परी १८ जना घाइते भएका छन् । पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले घाइते सबै जनलाई लुम्बिनी मेडिकल कलेज पठाइएको जानकारी दिनुभयो । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
तनहुँ: नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले सवा दस बजे मतदान गरेका छन् । तनहुँको व्यास नगरपालिका ११ स्थित तनहुँसुर स्वास्थ्य चौकीको मतदान केन्द्र ‘क’ मा भट्टराईले मतदान गरेका हुन् । मतदान पश्चात् सुनगाभा न्यूजसँग बोल्दै कांग्रेसको विरासत जोगाउने विश्वास व्यक्त गरे । उनले अन्य प्रतिस्पर्धीलाई अवसरवादी भएको बताउदै स्थानीयले आफुलाई नै जिताउने बताए । तनहुँ १ मा जारी मतदानमा भट्टराई बाहेक एमालेका उम्मेदवार सर्वेन्द्र खनाल र रास्वपाका डा स्वर्णिम वाग्लेले मतदानमा भाग लिन आउने छैनन् । तस्वीरमा हेरौं:
बारा: बारा क्षेत्र नं २ मा उप निर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । बारा–२ का सबै मतदान केन्द्रमा मतदान सुरु भइसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो । बिहान ७ बजेदेखि मतदान सुरु भइसकेको र एक घन्टाको अवधिमा करिब पाँच प्रतिशत मतदाताले मतदान गरिसकेको मुख्य निर्वाचन अधिकृत उपाध्यायले बताउनुभयो । गर्भवती, अशक्त, ज्येष्ठ नागरिकलाई लाइनमा बस्नु नपर्ने र उहाँहरूलाई पहिलो प्राथमिकतामा राखेर मतदान गर्ने व्यवस्था मिलाइएको छ । स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न बारा निर्वाचन क्षेत्र नं २ मा दुई हजार छ सय पाँच सुरक्षाकर्मी परिचालन गरिएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार बारा २ मा एक हजार छ सय ८८ नेपाल प्रहरी, छ सय पाँच सशस्त्र प्रहरी र तीन सय नेपाली सेनालाई निर्वाचनमा परिचालन गरिएको छ । बदनियतपूर्वक कसैले मतपेटिकालाई चलाउन, धाँधली गर्न खोजेको अवस्थामा त्यस्ता व्यक्तिलाई गोली हान्न सक्ने गरी सुरक्षाकर्मीलाई निर्देशन दिइसकेको प्रजिअ सापकोटाले बताउनुभयो । सो क्षेत्रमा ८२ मतदानस्थलमा एक सय ३८ मतदान केन्द्र तोकिएको छ । ती मध्ये ६५ मतदानस्थल अतिसंवेदनशील, १७ समान्य रहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । महागढी र पचरौता नगरपालिका, करैयामाइर्, सुवर्ण र देवताल गाँउपालिकाको ४४ वडा समेटिएको सो निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी कुल एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोजकुमार चौधरीले जानकारी दिनुभयो । सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । रासस
काठमाडौं: बटुवालाई जौँ, चनाको सातु एवं चिसो पानीको सर्वत ख्वाइँदै आज महोत्तरीसहितका मिथिला क्षेत्रमा अक्षय तृतीया पर्व मनाइँदै छ । वैशाख शुक्ल तृतीयाका दिन यो पर्व मनाइन्छ । सघन आवतजावतको बाटोमै बसेर भोका र तिर्खाएका बटुवालाई जौँ र चनाको सातु, सख्खर र चिसो पानीमा बनाइएको गुलियो सर्वत खुवाउने पुरानो मिथिला परम्परा हो । यस पर्वमा सर्वत ख्वाइँदा अक्षय (कहिल्यै नास नहुने) पुण्यप्राप्त हुने मैथिल (मिथिलाका बासिन्दा)को जनविश्वास छ । यस पर्वमा गरिब र अभाव भोगी, खेपिरहेकालाई सातु राखिएका थैला र सर्वत राखिएको घडासहित दान गर्ने परम्परा रहेको साहित्यकार महेश्वर राय बताउनुहुन्छ । यस पर्वको वर्णन भविष्य पुराणमा उल्लेख छ । भगवान् शिव र देवी पार्वतीको विवाह भएको दिन पनि मानिने यो पर्वमा ब्राह्मण, कूलपुरोहित तथा गरिबलाई स्वर्ण (सुन), शीतल खाद्य परिकार र वस्त्र दान गर्नेको कहिल्यै भण्डार खाली नहुने उल्लेख रहेको बर्दिबास-२ का कर्मकाण्डका ज्ञाता महेशकुमार झा बताउनुहुन्छ । यस पर्व सुख र समृद्धिको प्रतीक मानिन्छ । यो पर्वले गर्मीमा पसिना धेरै आएर शरीर शिथिल हुने हुँदा शरीरमा चिनीको मात्रा सन्तुलन राख्न सख्खर र चिनीमा बनाइएको शीतल सर्वत र पुष्टिवद्र्धक अन्न जौँ र चनाको सातु खानपिनको प्रयोगमा जोड दिएको बर्दिबास अस्पतालका चिकित्सक मेडिकल अफिसर डा किशोर अधिकारीको भनाइ छ । पर्वले मौसमअनुसार पुष्टिवद्र्धक भोजन गर्न सन्देश दिनसँगै दीनदुःखी र भोकाएका, तिर्खाएकालाई सेवा दिन नैतिक सन्देश दिएको पाका मैथिल बताउँछन् । पर्वमा कूलपुरोहित ब्राह्मणलाई पूजा गरेर वस्त्र, मिष्टान्न खाद्य परिकार र दक्षिणा दिएर आफ्नो र परिवारका सदस्यहरूको जीवनमा शीतलताको कामना गर्दै जौँ, चनाको सातु र सर्वत खाएर यो पर्व समापन गरिने मैथिल परम्परा छ । भगवान् शिव र पार्वतीको विवाह भएको मानिने यो दिन नयाँ घरबास, नानीहरूको अन्नप्रासन र विवाहलगायतका माङ्गलिक कार्यका लागि अर्को साइत हेर्न नपर्ने आम मैथिल मान्यता छ ।
काठमाडौं: तनहुँ निर्वाचन क्षेत्र नं.१ बारा निर्वाचन क्षेत्र नं. २, चितवन निर्वाचन क्षेत्र नं. २ र मा आज आइतबार बिहान ७ बजेबाट प्रतिनिधि सभा सदस्यका लागि मतदान सुरु भएको छ । मतदानका लागि मतदाताहरू उत्साहजनकरुपमा लाममा छन् । बारा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि, चितवन निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित रवि लामिछाने नागरिकता प्रकरणमा कसुरदार ठहर भएपछि र तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यी स्थानमा सांसद पद रिक्त भएकाले तीनवटै स्थानमा उपनिर्वाचन भइरहेको हो । तीनै निर्वाचन क्षेत्रमा निर्वाचनका कारण अत्यावश्यकबाहेकका सवारी रोकिएका छन् ।