मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

पोखरा:    नेकपा (एमाले)का नेता दामोदर पौडेल ‘बैरागी’ले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत सरकारले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सबैको काम आफूले गर्न खोजेको आरोप लगाउनुभएको छ । उहाँले भन्नुभयो, “कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको आ-आफ्नैखाले जिम्मेवारी रहन्छन् । ती निकायबीच शक्ति सन्तुलन हुनुपर्छ, चौथो अङ्गका रूपमा सञ्चार जगत्लाई हेरिन्छ । तर सरकारले सबै क्षेत्रको काम मै गर्छु भनेझैँ गरी अघि बढेको देखिन्छ ।” न्याय क्षेत्रमा हस्तक्षेप गर्ने र राष्ट्रपतिलाई विवादमा ल्याउने काम वर्तमान सरकारले गरेको आरोप लगाउँदै नेता बैरागीले सरकारका गतिविधि र सदनको एक वर्षको उपलब्धिबाट आफू सन्तुष्ट नभएको प्रतिक्रिया दिनुभयो । ‘सांसदसँग रासस संवाद’मा उहाँले न्यायालयको फैसलाको भावनाविरुद्ध जघन्य अपराधमा संलग्न कैदीको रिहाइलगायत कतिपय विषय र घटनामा कार्यपालिकाले ‘ओभरटेक’ गरेको आफूलाई अनुभूति भएको प्रतिक्रिया दिनुभयो । कास्की क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने बैरागी नेपाली कम्युनिष्ट आन्दोलनमा विद्यार्थीकालदेखि नै सक्रिय र पार्टीको तल्लो तहबाटै राजनीतिमा सक्रिय हुनुभएको हो ।  विसं २०२३ मा कास्की सल्ल्यान गाउँमा जन्मिनुभएका उहाँ २०३९ मा नेकपा (माले)मार्फत कम्युनिष्ट पार्टीमा आबद्ध हुनुभएको हो । उहाँ २०४५ देखि २०५५ सम्म नेपाल टे«ड युनियन महासङ्घमा संलग्न हुनुभयो । विसं २०५५ देखि २०७६ सम्म नेकपा (एमाले)मा पूर्णकालीन सदस्य बैरागीले विसं २०७० देखि कास्की जिल्ला कमिटी सचिवको जिम्मेवारी सम्हाल्नुभएको हो । प्रतिनिधिसभा सदस्यको जिम्मेवारी बैरागीका लागि नयाँ अनुभव  हो । संसद्को एकवर्षे कार्यकालयमा सामान्य एक–दुईवटा मात्र विधेयक पारित भएको  जनाउँदै उहाँले नयाँ विधेयक नआएको र संशोधनका लागि आएका विधेयक पनि पारित नभएका बताउनुभयो । विधेयक ल्याउनुपूर्व सरकारले सरोकारवालासँग पर्याप्त छलफल गर्न आवश्यक रहेको बताउँदै सांसद बैरागीले सरोकारवालासँग आवश्यक छलफल र बहस गरी ल्याएको विधेयकलाई समृद्ध तुल्याउन सकेमात्र गुणस्तरीय कानुन निर्माण हुने विश्वास व्यक्त गर्नुभयो । “पुरानो कानुन संशोधन गर्न सकिन्छ कि अथवा नयाँ कानुन नै जरुरी हो भन्नेबारेमा पनि  पर्याप्त छलफल हुनुपर्ने देखिन्छ, तर यसरी बहस र विचारविमर्श गरेको भने देखिँदैन”, उहाँले भन्नुभयो । सङ्घीय संसद्मा सचिवालयमा दर्ता भई परिपक्व भएपछि सदनमा टेबल हुने विधेयक  सैद्धान्तिक छलफलपछि विषयगत समितिमा पठाइने र त्यहाँ सशोधन र दफावार छलफलको प्रक्रियाका आधारमा अघि बढ्ने प्रक्रियागत जानकारी सांसद पौडेलले दिनुभयो । संविधानले राष्ट्रिय अखण्डता, गणतन्त्र, समावेशिता, सङ्घीयता, बहुदलीयता, बहुलवादी खुला समाजको कुरा गरेको उल्लेख गर्दै नेता बैरागीले अहिले सडक र सदनमा देखिएका संविधानविरोधी गतिविधिलाई सरकारले बेवास्ता गरेको आरोप लगाउनुभयो । समावेशितामाथि हस्तक्षेप गर्न खोजिएको बताउँदै उहाँले भन्नुुभयो, “राष्ट्रपति र उपराष्ट्रपतिको चुनावका बेला उठेको आवाजलाई गम्भीरताका साथ सम्बोधन हुनुपथ्र्यो, त्यो किन भएन ।” कानुन कार्यान्वयन कानुनसम्मत नियमन गर्ने विषयमा सरकार गम्भीर नदेखिएको बताउँदै उहाँले टिकटक बन्द गर्नुअघि सूचना र सञ्चार क्षेत्रलाई नियमन गर्ने कानुुन बनाउनपर्नेमा सरकारले त्यसमा कमजोरी गरेको आरोप लगाउनुभयो । सरकारले केही नेपाल ऐन संशोधन गर्ने नाममा भूमि, जलस्रोत, गृहलगायत विषय संशोधन गर्दै आएको बताउँदै नेता बैरागीले यस्ता महत्त्वपूर्ण विषयमा कानुन निर्माण गोलमटोल ढङ्गबाट गरिनुहुन्न भन्ने आफ्नो मान्यता रहेको विचार प्रकट गर्नुभयो । संसद्मा विधेयक विचाराधीन भएका अवस्थामा एउटा दफासँग जोडेर केही नेपाल ऐन भनेर ल्याएर पारित गर्नेजस्ता गतिविधि बढेको बताउँदै उहाँले सरकारले लामो समयसम्म सशस्त्र द्वन्द्वका पीडितलाई सङ्क्रमणकालीन न्याय दिन नखोजेको आरोप लगाउनुभयो । नेता बैरागीले भन्नुुभयो, “यतिका वर्ष बित्यो, संविधान पनि कार्यान्वयन भएर हामी दोस्रो कार्यकालमा आएका छौँ  तर सङ्क्रमणकालीन न्याय दिने कुरा आजसम्म भएको छैन । द्वन्द्वमा परेको मानिसका एक पुस्ता मरेर गइसके । बीस वर्षभनेको थोरै समय होइन, एक पुस्ताले आशै मारिसक्यो न्याय पाउँछौँ भनेर ।”   जनताले सुशासनको अनुुभूूति गर्न नसक्दा निराश बनेको बताउँदै सांसद बैरागीले सुशासनको अनुुभूति नहुँदा युवा जनशक्ति पलायन भएको जनाउनुभयो । उहाँले उनीहरूलाई स्वदेशमै बस्ने किसिमको वातावरण तयार गर्ने गरी लाग्न जरुरी भएको सुझाव दिनुभयो । नेता बैरागीका अनुसार दक्ष जनशक्ति, युवा र विद्यार्थी देशबाट पलायन हुने खतरा बढेको छ । त्यसलाई रोक्नका लागि सरकारले सुशासनसँगै उनीहरूलाई यहीँ बस्ने वातावरण तयार गर्नुपर्छ । प्राविधिक जनशक्ति तयार भएमा यहीँ उनीहरूको श्रम र सीपको उपयोग हुन्छ । त्यसका लागि प्राविधिक क्याम्पसहरू सञ्चालनमा ल्याउनुपर्छ । आफ्नो निर्वाचन क्षेत्र प्रकृति र संस्कृतिले सम्पन्न भएको बताउँदै उहाँले तीनको संरक्षण र उपयोगमार्फत समृद्धि हासिल गर्न सकिने धेरै सम्भावना रहेका बताउनुुभयो । सांसद बैरागी भन्नुहुन्छ, “पर्यटकीयरूपमा अन्नपूर्ण, माछापुच्छ्रे, मर्दी, तातोपानी, सेती गण्डकी, फेवाताल, विन्ध्यवासिनी, नारायणस्थान, बाराही, शान्तिस्तुप, महादेव मन्दिर, पञ्चासे, कास्कीकोट, सराङकोट, उल्लेरी, विरेठाटी, मेश्रम बराहजस्ता धेरै पर्यटकीयस्थल यही छन् ।” पुुष्पलाल मध्यपहाडी लोकमार्ग पनि त्यहीबाट गएकाले धेरै सम्भावना रहेता पनि कतै कानुनको अभाव त कतै सरकारको कमजोरीका कारण उपयोग हुनसकेको उहाँको बुझाइ छ । आफूसम्बद्ध पार्टी नेतृत्वको सरकारले राजनीतिक स्थायित्व र  समृद्धि तथा  सङ्क्रमणकालीन न्यायमार्फत जनताका आकाङ्क्षालाई सम्बोधन गर्ने ध्येयका साथ अघि बढेको दाबी उहाँले गर्नुभयो । उहाँले भन्नुभयो, “मध्यपहाडी लोकमार्गमा समृद्धिका लागि सङ्कल्प यात्रामार्फत ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ भन्ने नाराका साथ सञ्चालन भएको जनताका समस्याबारे जानकारी लिने अभियान सफल भएको छ ।”

चितवन:    नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक चार घण्टा सवारी बन्द हुने भएको छ । सो सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले यही पुस ७ देखि सवारी बन्द गर्न लागिएको हो ।  बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गर्न लागिएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड ९नारायणगढ–मुग्लिन०का सूचना अधिकारी ई कृष्ण आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा तीन हप्ताका लागि सडक रोकेर भित्तो काटिने छ ।  गत वर्ष सो ठाउँमा पुल निर्माणका लागि भित्तो काटिएको भए पनि कडा चट्टान भएकाले काम कठिन भएपछि विस्फोटका लागि रोकिएको थियो । विस्फोटको अन्तिम तयारी हुँदै गर्दा पुनः एकपटक सडक रोकेर काट्ने तयारी गरिएको हो । शनिबार कुरिनटारमा चितवन, गोरखा र धादिङका प्रमुख जिल्ला अधिकारीसहितको उपस्थितिमा बसेको अन्तर जिल्ला बैठकले सडक रोकेर काम गर्ने निर्णय गरेको हो । सूचना अधिकारी आचार्यका अनुसार ६० मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको छ । बाँकी ३५ मिटर ‘रक स्पिलटर’ र ‘हाइड्रोलिन ज्याक हेम्भर’ प्रयोग गरेर फोर्ने तयारी गरिएको छ । उहाँले भन्नुभयो, “टनेल, खानीलगायतमा प्रयोग गरिने विधि प्रयोग गरेर अन्तिम प्रयास गर्दैछौँ ।” यसबाट पनि फोर्न नसकिएमा अन्तिम विकल्पका रूपमा विस्फोट गराइने उहाँले जानकारी दिनुभयो । सो सडकका १९  पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । अन्य कतिपय निर्माण सम्पन्न भएका छन् भने कतिपय अन्तिम चरणमा छन् । यो पुल भित्तो भत्काउन नसक्दा काम थाल्न सकिएको छैन ।  उहाँका अनुसार काली, नम्सी, रिग्दी, सिमलताल, भोर्ले, खोर, खहरे र जुगेडी पुल दुई महिनाभित्रमा सञ्चालनमा आउनेछन् । उहाँका अनुसार चारवटा एक महिनामै सञ्चालनमा आउँछ । आठवटै पुल सञ्चालनमा ल्याउन दुई महिना लाग्छ । ती पुलको पहुँचमार्ग बनाउने र रङरोगनलगायतका काम भइरहेको छ । गत मङ्सिरमा डुम्रे, चिसेन्जी, तोपे र लामो बालुवाको पुल सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो । थप आठ पुल सञ्चालनमा आएपछि नयाँ बन्दै गरेका १५ पुलमध्ये दुईवटा मात्र बन्न बाँकी रहन्छन् । आचार्यका अनुसार खहरेको पुल छ महिनाभित्रमा सञ्चालनमा आउने छ । यसपछि एउटा पुलमात्रै बाँकी रहने छ ।  गतको हिउँदमा सडक रोकेर दुईवटा पुल बनाउन ढिस्को भत्काउन थालिएको थियो । सँगै भत्काउन थालिएको चिसेन्जी खोलाको आडको ढिस्को भत्काएर पुलसमेत निर्माण गरिसकिएको छ । यो ठाउँमा ४० मिटर अग्लो ढिस्को भत्काएर पुल बनाइएको हो ।  तुइनखोलाको ढिस्को भत्काउन नसकिएपछि विस्फोटका लागि प्रक्रियागत काम पूरा गर्न समय लागेकाले गत हिउँदमा नै विस्फोट गर्ने गृहकार्य गरिएको भए पनि काममा ढिलाइ भएको थियो । उहाँका अनुसार ढिस्को भत्काउन विस्फोटक पदार्थ ल्याउनका लागि अनुमतिप्राप्त भइसकिएको छ । आयोजनाले विभाग हुँदै गृह मन्त्रालय, रक्षा मन्त्रालय, पुनः गृह मन्त्रालय भएर अन्तिम अनुमति भारतीय राजदूतावासबाट पाएको जनाइएको छ । विस्फोटक पदार्थ ल्याउन केही ढिलाइ हुने भएपछि अन्तिम प्रयासको रूपमा भत्काउने तयारी गरिएको हो ।  विसं २०७६ चैत १० गतेबाट पुलको निर्माण थालिएको हो । पुलको लागत रु एक अर्ब २८ करोड छ । पछिल्लोपटक थप गरिएको म्याद यही पुस १० गते सकिँदैछ । अनक कन्सट्रक्सनले पुलको ठेक्का पाएको थियो । यो राजमार्गलाई एसियाली विकास बैंक ९एडिबी०को सहयोगमा एसियन मापदण्डअनुसार बनाइएको हो । पुल ११ मिटर चौडा छन् । सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ । राजधानी बाहिरिने र भित्रने प्रमुख सडकका रूपमा यो सडक रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन् ।

तनहुँ:   मुग्लिनबाट पोखरा आउँदै गरेको बस तनहुँको व्यास नगरपालिका–१२, कमलबारीमा आज दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् ।  ग२ख १४५९ नम्बरको बसले टिप्परलाई ‘ओभरटेक’ गर्ने क्रममा सडकबाट तल खस्न गई दुर्घटना भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । घाइते हुनेमा तनहुँ भानु नगरपालिका–१, साजबोटेका १० वर्षीया असिमा साही, भानु नगरपालिका–३, चाम्बासका २१ वर्षीया सविता सुनार,  १९ वर्षीया सविना सुनार, मोरङ कटेरी गाउँपालिका–२ का ३० वर्षीय प्रदीप गोदार छन् ।   त्यस्तै, भोजपुर टेम्केमैयुङ गाउँपालिका–९, हिलेखर्कका ४० वर्षीय सुरन राई, व्यास नगरपालिका–२ का ३४ वर्षीया पिल्लिमाया थापा, बन्दीपुर गाउँपालिका–१ का ५२ वर्षीया ज्ञानदेवी श्रेष्ठ र  २० वर्षीया स्नेहा श्रेष्ठ, व्यास नगरपालिका–२ का २१ वर्षीय एन्जल भट्टराई, आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीका ४१ वर्षीय पूर्णबहादुर गुरुङ पनि घाइते भएका छन् ।  साथै भानु नगरपालिका–१, साझबोटेका २६ वर्षीया बबिता थापा, ३० वर्षीया नविन थापा, १२ वर्षीया दुर्गा थापा, सात वर्षीया नविना थापा, व्यास नगरपालिका–२, डाङग्रे खोल्सीका ४० वर्षीया दीपा थापा, भोजपुर टेम्केमैयुङ गाउँपालिका–९, हिलेखर्कका ५० वर्षीया सुमित्रा राई, व्यास नगरपालिका–११ मूलपानीका ३६ वर्षीया जुनु भट्टराई र आठ वर्षीया पूर्णिमा भट्टराई छन् ।  घाइतेमध्ये १० जनाको दमौली अस्पतालमा र आठ जनाको पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

पोखरा:   सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाको १७ औ बार्षिक उत्सवको अवसरमा लायन्स क्लव अफ पोखरा दर्पणको संयुत्त आयोजनामा खुल्ला रत्तदान गरेको छ। रत्तदान कार्यक्रममा ३३ युनिट रगत संकलन भएको थियो । मानवीय कार्यमा सहकार्यको भावना भन्ने उद्देश्य सहित रत्तदान गरीएको सहकारीका अध्यक्ष कृष्ण बहादुर थापाले बताए । कार्यक्रम शुभारम्भ गदै संस्थाका पुर्ब अध्यक्ष एवं लायन्स डिष्टिक प्रमुख प्रेम बहादुर जि.सी ले पहिलो रत्तदातालाई आकस्मीक रत्तदान समुहका प्रमुख हरिश्चन्द्र शर्मा, क्लवका अध्यक्ष एवं इन्जिनियर किरण के।सी लाई ब्लड ब्याग हस्तानतरण गदै सदस्य सेवा सङ्गै सामाजिक कार्यमा लाग्नु नै सच्चा मानवसेवा भएको बताए । सहकारीका अध्यक्ष कृष्ण बहादुर थापाको सभापत्तित्वमा भएको कार्यक्रममा क्लवका जोन प्रमुख विजेन्द्र शर्मा पुर्व अध्यक्ष राममणी पौडेल, रत्तसंचार केन्द्रका प्रमुख अर्जुन ज्ञवाली , लायन्स लिर्डर अमृत वराल , बालकृष्ण बराल ,जनप्रिय क्याम्पसका कोषाअध्यक्ष गणेश बहादुर अधिकारी , कार्यक्रम संयोजक शिव बहादुर थापा ,लायन्स रत्तदान कार्यक्रम प्रमुख जितेन्द्र शाक्य , संस्थाका सचिव कुल प्रसाद सुवेदी लगायतले आ आफ्नो धारणा राखेका थिए । २०६३मा स्थापित सहकारीले स्थापना देखी नियमित रत्तदान सहित विविध सामाजिक कार्यमा सकृय रहदै कुल ६० करोड को कारोबार सहित कर्जा लगानी ५३ करोड रहेको छ । संस्थाले समुदायको लागी रेडियो सराङ्गकोट संचालन गदै आएको छ ।

झापा:     डेढ महिनाअघि भारतबाट जिल्लाको बाहुनडाँगी सीमा नाका हुँदै नेपाल प्रवेश गरेका ३६ जङ्गली हात्तीका कारण कोशी प्रदेशका तीन जिल्लाका बासिन्दा त्रसित छन् । झापा, मोरङ र सुनसरी क्षेत्रका जङ्गलमा विचरण गर्दै आएका ती हात्तीबाट जीउधनको सुरक्षा कसरी गर्ने भन्ने चिन्ता बढेको छ । एक महिनामा हात्तीको आक्रमणमा परेर झापामा दुई, मोरङमा एक र सुनसरीमा एक गरी चारजनाको मृत्यु भइसकेको छ । मेचीनगर नपा–४ का हात्ती संरक्षण अभियानकर्मी शङ्कर लुइँटेलका अनुसार गत कात्तिक ३ गते बाहुनडाँगीको सीमा क्षेत्रबाट ती हात्ती नेपाल पसेका थिए । हात्तीको बथानमा छावा पनि छन् । ती हात्ती हालसम्म नफर्किएको उनले बताए । हिउँद याममा बर्सेनि यसरी नै भारतबाट हात्तीको ठूलो बथान नेपाल आउने गरेका छन् । लुइँटेलका अनुसार त्यस्ता हात्ती नेपालबाट १० देखि १५ दिनभित्रमा भारततिरै फर्कने गरेका थिए । डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरेले हाल ती हात्ती मोरङको कानेपोखरी जंगलमा आश्रय लिएर बसेको बताए । उनका अनुसार चार छावासहित आएका हात्तीलाई सो क्षेत्र आसपासमा दिनहुँ देखिने गरेका छन् । मोरङको कानेपोखरी जङ्गल आसपासका बस्ती र खेतमा मकैलगायत हात्तीलाई मन पर्ने खाद्यान्न प्रशस्त पाइने गरेका कारण तिनीहरु भारततिर नफर्किएको अनुमान गरिएको छ । सडक छेउछाउ र बजारमा पोलेर बिक्रीका लागि सो क्षेत्रमा बेमौसमी मकैको खेती हुने गरेको छ । बेलबारी नगरपालिका–८ र १० का स्थानीय किसानले ठूलो क्षेत्रफलमा मकै खेती लगाएका छन् । ‘मकै हात्तीले असाध्यै मन पराउँछ’, डिभिजन वन कार्यालय मोरङका प्रमुख घिमिरेले भने, ‘मोरङको अन्य पालिकाभन्दा यहाँ मकै खेती प्रशस्त हुने गरेको छ, हात्तीले प्रशस्त आहार पाएका कारण यतै बसेका हुन् कि भन्ने अनुमान छ ।’ उनले बिहान–बेलुका हिँड्डुल गर्दा र जङ्गल प्रवेशमा सतर्कता अपनाउन तीन जिल्लाकै बासिन्दालाई आग्रह गरेका छन् । वन कार्यालय, प्रहरी र स्थानीय बासिन्दाले हात्ती धपाउन प्रयास गरे पनि सम्भव भएको छैन । गत वर्ष बाहुनडाँगी हुँदै नेपाल प्रवेश गरेका ३२ हात्तीमध्ये १२ वटा मात्रै भारत फर्किएको हात्तीको गणना र अध्ययनसमेत गर्दै आएका अभियानकर्मी लुइँटेलले बताए । भारत नफर्किएका २० हात्ती झापा र मोरङकै जङ्गलमा छारिएर रहेको उनको भनाइ छ । उनले हाल तीन जिल्लामा ६० देखि ६५ हात्ती जङ्गलभित्र रहेको दाबी गरे ।

काठमाडौं:     सर्वोच्च अदालतले अभिनेता पल शाह विरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न अनुमति प्रदान गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय शुष्मालता माथेमा र हरिप्रसाद फुयालको संयुक्त इजलासले मुद्दा दाहोर्‍याएर हेर्न अनुमति दिएको हो ।  सर्वोच्चले पीडितको बकपत्र र प्रतिवादीको बयान तथा शारीरिक परीक्षण प्रतिवेदन तथा चिकित्सकको बकपत्र, पीडित र प्रतिवादीबीचको अडियो रकर्ड र त्यसको प्रतिवादीबाट अदालतको बयानमा रहेको स्वीकारोक्ति समेतका प्रमाणको समुचित मूल्यांकन नगरी उच्च अदालत पोखराले गत वर्षको फागुन ११ मा फैसला गरेको भन्दै पलबारेको उक्त फैसला दोहोर्याउन निस्सा प्रदान गरेको हो ।  उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले पल शाहलाई सफाइ दिएको थियो।  शाहले बलात्कार गरेको भन्दै एक नाबालिग पीडितले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा जाहेरी दिएकी थिइन् । 

पोखरा:   सेती नदीमा माछा मार्न गएका एक युवकको मृत्यु भएको छ । शुक्रबार माछा मार्न सेती नदीमा गएका सुनिल श्रेष्ठको भीरमाथिबाट खसेको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  पोखरा तुलसीघाटको सेती नदीमा (हिजो शुक्रबार) सेती नदीमा माछा मार्न गएका  श्रेष्ठलाई भीरमाथिबाट खसेको ढुंगा लागेर गम्भिर घाइते भएको थिए । उनको उपचारको क्रममा चित्किसकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।  यसैबीच, पोखरा रामघाटमा भेटिएको शवको पहिचान भएको छ । बिहीबार रामघाटमा भेटिएको शव पोखरा–३ उमेश गुरुङको भएको उनका दाजु दिनेशले सनाशत गरेको कास्की प्रहरीले जनाएको छ । 

काठमाडौं:    नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको हो । निगमका अनुसार इण्डियन आयल कर्पोरेसनले २९ मंसिरमा पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३ रुपैयाँ ०७ पैसा र डिजलमा ३ रुपैयाँ १६ पैसा मूल्य घटेर आएको छ । निगमले भने ३ रुपैयाँ मात्र मूल्य घटाएको छ । नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र डिपालय क्षेत्रमा पेट्रोलको लिटरको १६७ रुपैयाँ तथा डिजल तथा मट्टीतेल लिटरको १५७ रुपैयाँ पर्नेछ । चारआली, विराटनगर जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटरसम्मको क्षेत्रमा खुद्रा मुल्य पेट्रोलको लिटरको १६४ रुपैयाँ ५० पैसा पर्नेछ । डिजल तथा मट्टीतेलको लिटरको १५४ रुपैयाँ ५० पैसा पर्नेछ । यस्तै सुर्खेत र दाङ डिपोको १५ किलोमिटर सम्मको क्षेत्रमा पेट्रोलको लिटरको १६६ रुपैयाँ डिजल तथा मट्टीतेल लिटरको १५५ रुपैयाँ पर्ने आयल निगमले जनाएको छ ।

पोखरा:    पोखराको प्याराग्लाइडिङ उडान ठप्प भएको छ ।  नेपाल हवाई खेलकुद संस्था (ना) पोखराले बुधवार कम्पनीहरूले आफैँ उडाउन पाउने र दर पनि आफ्नै हिसाबले तोक्न पाउने निर्णय व्यवसायीहरुलाई नै सुम्पिएपछि पोखराका पाइलटहरु उडान ठप्प पारेका हुन् नाको निर्णयले अहिले प्याराग्लाइडिङ पाइलटहरू आन्दोलित भएका छन् । नाले नेपाल नागरिक उड्डयन प्राधिकरणका नियमहरू पालना गर्दै खुला रूपमा उडान गर्न र रेट तोक्न भनेको छ । अहिले यो विषयमा छलफल भइरहेको बताइएको छ ।  यसअघि पोखराका कम्पनीहरूले प्याराग्लाइडिङ उडानको बाह्र हजार शुल्क लिँदै आएका थिए । यो निर्णयपछि पाइलटहरूले उडान ठप्प पारेका छन् । नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबले नयाँ अवस्थामा उडान भर्न नसक्ने जनाएको छ । क्लबका अध्यक्ष दीपक थापाले निर्णयले बजार अस्वस्थ हुने र सुरक्षा चुनौतीसमेत देखिने जनाउँदै अर्को निर्णय नभएसम्मका लागि पाइलटहरूले उडान नभर्ने जानकारी दिए ।    केही पाइलटले भने यो निर्णयले छ, सात हजारमै उडान भर्नुपर्ने अवस्था आउने चिन्ता जनाएका छन् । अहिले ५२ वटा कम्पनी ना सँग आबद्ध छन् । तीमध्ये २१ कम्पनीले छाता संस्थाको निर्णय नमान्ने बताएपछि बुधवार मात्र आफ्नै तरिकाले शुल्क तोक्न र आफैँले सञ्चालन गर्न पाउने निर्णय गरिएको ना अध्यक्ष सुनिल भट्टराईले बताए ।